सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ५९

दाऊद किन भाग्दै हिंड्‌छ

दाऊद किन भाग्दै हिंड्‌छ

दाऊदले गोल्यतलाई मारेपछि इस्राएलका प्रधान सेनापति अबनेरले दाऊदलाई शाऊलकहाँ लैजान्छ। शाऊल दाऊदसित धेरै खुशी हुन्छ। उसले दाऊदलाई आफ्नो सेनाको कप्तान बनाएर आफ्नै घरमा राख्छ।

केही समयपछि पलिश्‍तीहरूसित लडाइँ गरेर सिपाहीहरू फर्कंदा आइमाईहरू यसो भन्दै गाउँछन्‌: ‘शाऊलले हजारौं-हजारलाई मारे तर दाऊदले चाहिं लाखौं-लाखलाई।’ यो सुनेर शाऊललाई डाह लाग्छ। किनभने उसको भन्दा दाऊदको बढी मान गरेको उसलाई मन पर्दैन। तर शाऊलको छोरा जोनाथनले डाह गर्दैन। ऊ दाऊदलाई धेरै माया गर्छ। दाऊदले पनि जोनाथनलाई माया गर्छ। यसकारण ती दुवैले सधैं एकअर्काको मित्र भइरहने वाचा बाँध्छन्‌।

दाऊदलाई राम्ररी वीणा बजाउन आउँछ र उसले बजाएको धुन सुन्‍न शाऊललाई असाध्यै मन पर्छ। तर एकदिन शाऊलले डाहको झोंकमा धेरै नै नराम्रो काम गर्छ। दाऊदले वीणा बजाइरहेको बेला शाऊलले यसो भन्दै आफ्नो भाला हान्छ: ‘म दाऊदलाई भित्तैमा उनिने गरी रोपिदिन्छु!’ तर दाऊदले छल्छ। पछि अर्को पटक पनि शाऊलले भित्तैमा उनिने गरी भाला हिर्काउँदा दाऊदले फेरि छल्छ। त्यहाँदेखि दाऊद निकै होसियार हुन थाल्छ।

शाऊलले के प्रतिज्ञा गरेको थियो, तिमीलाई याद छ? गोल्यतलाई जसले मार्छ, उसको बिहे आफ्नै छोरीसित गरिदिन्छु भनेर शाऊलले प्रतिज्ञा गरेको थियो। तर उसले तुरुन्तै आफ्नो प्रतिज्ञा पूरा गर्दैन। पछि बल्ल एकदिन शाऊलले दाऊदलाई आफ्नी छोरी मीकलसित बिहे गराइदिन्छु भन्छ। तर मिकलसित बिहे गर्न दाऊदले १०० जना पलिश्‍तीलाई मार्नुपर्छ भनेर शाऊलले शर्त राख्छ। वास्तवमा पलिश्‍तीहरूले दाऊदलाई मारोस्‌ भन्‍ने शाऊलको इच्छा थियो। तर तिनीहरूले मार्न सक्दैनन्‌ र शाऊलले आफ्नी छोरीको बिहे दाऊदसित गराइदिन्छ।

एकदिन शाऊलले जोनाथन र आफ्ना सबै नोकरचाकरलाई दाऊदलाई मार्ने आफ्नो इच्छा प्रकट गर्छ। तर जोनाथनले आफ्नो बुबालाई यसो भन्छ: ‘दाऊदलाई केही पनि नगर्नुहोस्‌। उसले कहिल्यै तपाईंको खराबी गरेको छैन। बरु उसले गरेको सबै कामले तपाईंलाई फाइदा भएको छ। उसले आफ्नो ज्यान खतरामा पारेर गोल्यतलाई माऱ्‍यो। त्यो देख्नुभएर तपाईं पनि त रमाउनुभएको थियो।’

शाऊलले आफ्नो छोराको कुरा सुन्छ र दाऊदलाई हानि नगर्ने प्रतिज्ञा गर्छ। त्यसपछि दाऊद फेरि फर्केर शाऊलको घरमा पहिलेझैं काम गर्न थाल्छ। तर एकदिन दाऊदले बाजा बजाइरहेको बेला शाऊलले फेरि दाऊदलाई भाला हिर्काउँछ। दाऊदले यसपालि पनि छल्छ र भाला सोझै भित्तामा लाग्छ। शाऊलले दाऊदलाई भाला हिर्काएको यो तेस्रो पटक थियो! अब भने दाऊदले त्यहाँबाट भागेर जाने निधो गर्छ!

त्यही रात दाऊद आफ्नो घर फर्कन्छ। तर शाऊलले उसलाई मार्न केही मान्छे पठाउँछ। आफ्नो बुबाले दाऊदलाई मार्न लागेको छ भनेर मीकलले थाह पाउँछे। यसकारण उसले आफ्नो पतिलाई यसो भन्छे: ‘तपाईं आज राति नै भाग्नुभएन भने भोलिसम्ममा तपाईंलाई मार्नेछन्‌।’ त्यही रात मीकलले दाऊदलाई झ्यालबाट भाग्न मदत गर्छे। शाऊलको हातबाट बच्न दाऊद सात वर्षसम्म ठाउँ-ठाउँमा लुक्दै बस्नुपर्छ।