सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ६४

सुलेमान मन्दिर बनाउँछ

सुलेमान मन्दिर बनाउँछ

यहोवाले दाऊदलाई उहाँको मन्दिरको नक्सा दिनुभएको थियो। यो नक्सा दाऊदले आफू मर्नुअघि सुलेमानलाई दिन्छ। सुलेमानले आफू राजा भएको चौथो वर्षमा मन्दिर बनाउन सुरु गर्छ र सबै काम सिद्धिन साढे सात वर्ष लाग्छ। हजारौं मान्छे मन्दिर बनाउने काममा लाग्छन्‌। मन्दिर बनाउन थुप्रै पैसा खर्च हुन्छ। किनकि मन्दिर बनाउन सुलेमानले धेरै सुन र चाँदी प्रयोग गर्छ।

मोशाले बनाएको बासस्थानमा जस्तै सुलेमानको मन्दिरमा पनि दुई वटा विशेष कोठा छ। तर बासस्थानमा भएका कोठाहरूभन्दा यी कोठाहरू दोब्बर ठूला छन्‌। मन्दिरको भित्री कोठामा सुलेमानले करारको सन्दुक राख्न लगाउँछ र बासस्थानका अरू सामानचाहिं अर्को कोठामा राख्छ।

मन्दिर बनाउन सिद्धिएपछि ठूलो उत्सव मनाइन्छ। त्यतिखेर सुलेमानले मन्दिरअघि घुँडा टेकेर प्रार्थना गर्छ। चित्रमा हेर त, उसले यहोवालाई यसो भन्दै प्रार्थना गर्छ: ‘हे यहोवा तपाईं महान्‌ हुनुहुन्छ। सारा स्वर्ग पनि तपाईंका लागि सानो हुन्छ। यसकारण मैले बनाएको यो मन्दिर त झन्‌ केही पनि होइन। तापनि हे मेरा परमेश्‍वर, तपाईंका जनहरूले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा कृपया सुन्‍नुहोस्‌।’

सुलेमानले प्रार्थना गरिसकेपछि स्वर्गबाट आगो झर्छ। बलिदान चढाइएका जनावरहरू जम्मै आगोले भस्म हुन्छ। यहोवाको चम्किलो ज्योतिले मन्दिर भरिन्छ। यसरी यहोवाले सुलेमानको प्रार्थना सुनेको अनि उसको प्रार्थना र मन्दिरसित उहाँ खुसी भएको देखाउनुहुन्छ। त्यसपछि इस्राएलीहरूले बासस्थानको सट्टा मन्दिरमा गएर यहोवाको उपासना गर्न थाल्छन्‌।

सुलेमानले धेरै वर्षसम्म राम्ररी शासन गर्छ। उसका प्रजाहरू पनि खुसी हुन्छन्‌। तर यहोवाको उपासना नगर्ने अरू देशका थुप्रै आइमाईसित सुलेमानले बिहे गर्छ। चित्रमा हेर त, सुलेमानकी एउटी पत्नीले मूर्तिपूजा गरिरहेकी छे। अन्तमा उसका पत्नीहरूले सुलेमानलाई पनि अरू देवताको पूजा गर्न लगाउँछन्‌। सुलेमानले यसो गर्दा के हुन्छ, तिमीलाई थाह छ? उसले आफ्ना प्रजाहरूसित कठोर व्यवहार गर्न थाल्छ। ऊ निर्दयी बन्छ। यसपछि उसका प्रजाहरू पनि खुसी हुँदैनन्‌।

यसले गर्दा यहोवा सुलेमानसित रिसाउनुहुन्छ। उहाँले सुलेमानलाई यसो भन्‍नुहुन्छ: ‘म तेरो राज्य खोस्नेछु र अर्कै मान्छेलाई दिनेछु। यो म तँ मरेपछि तेरो छोराको पालोमा गर्नेछु। तर म तेरो छोराको हातबाट जम्मै प्रजा खोस्नेछैनँ।’ यो कसरी हुँदो रहेछ, हामी अर्को कथा पढौं।