सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ६८

मरिसकेका दुई ठिटा फेरि जिउँदा हुन्छन्‌

मरिसकेका दुई ठिटा फेरि जिउँदा हुन्छन्‌

मरिसकेको छोरोलाई फेरि जिउँदो भेट्‌न पाउँदा उसकी आमालाई कस्तो लाग्ला? ऊ असाध्यै खुसी हुन्छे नि, होइन त। तर के मरिसकेको मान्छे फेरि जिउँदो हुन सक्छ र? के यस्तो पहिले कहिल्यै भएको छ?

यहाँ चित्रमा हेर त। तिमीले चित्रमा देखेको लोग्नेमान्छे अगमवक्‍ता एलिया हो। आइमाईचाहिं सारपत सहरकी विधवा हो अनि त्यो ठिटो उसको छोरो हो। एकदिन, त्यो ठिटो बिरामी हुन्छ। ऊ झन्‌झन्‌ सिकिस्त हुन्छ र अन्तमा मर्छ। अनि एलियाले उसकी आमालाई यसो भन्छ: ‘तिम्रो छोरो मलाई देऊ।’

एलिया मरेको ठिटोलाई लिएर माथिल्लो तलामा जान्छ र उसलाई खाटमा राख्छ। अनि यसो भन्दै ऊ प्रार्थना गर्न थाल्छ: ‘हे यहोवा, यो ठिटोलाई फेरि जिउँदो पारिदिनुहोस्‌।’ एलियाले प्रार्थना गर्ने बित्तिकै ठिटोले सास फेर्न थाल्छ! त्यसपछि एलियाले त्यो ठिटोलाई उसकी आमाकहाँ लैजान्छ र भन्छ: ‘हेर, तिम्रो छोरो जिउँदो भयो!’ त्यसैले उसकी आमा त्यत्ति धेरै खुसी छे।

यहोवाको अर्को एक जना मुख्य अगमवक्‍ता एलीशा थियो। उसले एलियालाई मदत गर्ने काम गर्थ्यो। पछि यहोवाले एलीशालाई पनि थुप्रै चमत्कारहरू गर्ने शक्‍ति दिनुहुन्छ। एकदिन एलीशा शुनैम सहर जान्छ। त्यहाँ हुँदा एउटी आइमाईले उसलाई असाध्यै मदत गर्छे। केही समयपछि यो आइमाईले एउटा छोरो जन्माउँछे।

अलि ठूलो भएपछि त्यो छोरो एकदिन बिहानीपख आफ्नो बुबालाई भेट्‌न खेतमा जान्छ। अचानक रुँदै उसले यसो भन्छ: ‘मेरो टाउको दुख्यो, मेरो टाउको दुख्यो!’ घरमा लग्नासाथै त्यो केटो मरिहाल्छ। उसकी आमा असाध्यै दुःखी हुन्छे। अनि तुरुन्तै उसले एलीशालाई बोलाएर ल्याउँछे।

एलीशा मरेको केटोलाई लिएर कोठामा पस्छ। उसले यहोवालाई प्रार्थना गर्छ र लासमाथि लम्पसार परेर सुत्छ। एकछिनपछि केटोको शरीर तातो हुँदै आउँछ अनि उसले सात पटक छिउँ काढ्‌छ। कोठाभित्र पसेर आफ्नो छोरोलाई जिउँदो फेला पार्दा उसकी आमा असाध्यै रमाउँछे!

अहिलेसम्ममा थुप्रै मान्छे मरिसकेका छन्‌। यसले गर्दा उनीहरूका परिवार र साथीहरू धेरै दुःखी भएका छन्‌। मरिसकेका मान्छेहरूलाई जिउँदो पार्ने शक्‍ति हामीसित छैन। तर यहोवासित छ। उहाँले कसरी लाखौं मान्छेलाई फेरि जिउँदो पार्नुहुनेछ, हामी पछि बुझ्नेछौं।