सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ७२

राजा हिजकियाहलाई परमेश्‍वर मदत गर्नुहुन्छ

राजा हिजकियाहलाई परमेश्‍वर मदत गर्नुहुन्छ

यो मान्छेले किन प्रार्थना गरिरहेको होला? अनि उसले यहोवाको वेदीको अगाडि चिट्ठीहरू किन राखेको होला? यो मान्छेको नाउँ हिजकियाह हो। ऊ दक्षिण इस्राएलको दुई गोत्रे राज्यको राजा हो। अहिले ऊ ठूलो संकटमा परेको छ। किन तिमीलाई थाह छ?

अश्‍शूरको सेनाले उत्तरको दस गोत्रलाई नाश गरिसकेको छ। त्यहाँका मान्छेहरू धेरै खराब भएको हुँदा यहोवाले त्यस्तो हुन दिनुभयो। अब अश्‍शूरको सेना दुई गोत्रे राज्यलाई पनि नाश गर्न चाहन्छ।

अश्‍शूरको राजाले हिजकियाह राजालाई भर्खरै मात्र चिट्ठी पठाएको छ। यही चिट्ठी हिजकियाहले परमेश्‍वरको वेदीको अगाडि राखेको हो। चिट्ठीमा अश्‍शूरको राजाले यहोवालाई ठट्टामा उडाएको छ र हिजकियाहलाई पनि आफ्नो हार स्वीकार्नू भनेको छ। यसैकारण हिजकियाहले यसो भन्दै प्रार्थना गर्छ: ‘हे यहोवा, हामीलाई अश्‍शूरको राजाको हातबाट बचाउनुहोस्‌। अनि तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ भनेर सबै जातिहरूले जानून्‌।’ के यहोवाले हिजकियाहको प्रार्थना सुन्‍नुभयो?

हिजकियाह असल राजा थियो। ऊ इस्राएलको १० गोत्रे राज्यका खराब राजाहरू जस्तो छैन। ऊ आफ्नो खराब बुबा, राजा आहाज जस्तो पनि छैन। हिजकियाहले यहोवाले भन्‍नुभएका सबै कुरा ध्यान पुऱ्‍याएर मान्दै आएको छ। त्यसकारण हिजकियाहले प्रार्थना गरेर सिध्याउने बित्तिकै यशैया अगमवक्‍ताले हिजकियाहलाई यहोवाको यो खबर पठाउँछ: ‘अश्‍शूरका राजा यरूशलेमभित्र पस्नेछैन। न त त्यसका सिपाहीहरू यरूशलेमको छेउछाउसम्म पुग्नेछन्‌। तिनीहरूले यो सहरतिर एउटा काँडसमेत हान्‍नेछैनन्‌।’

फेरि चित्र हेर त। यहाँ मरेका सिपाहीहरू को हुन्‌, के तिमी भन्‍न सक्छौ? तिनीहरू अश्‍शूरीहरू हुन्‌। यहोवाले पठाउनुभएको स्वर्गदूतले एकै रातमा १,८५,००० अश्‍शूरी सिपाहीहरूलाई मार्छन्‌। त्यसपछि अश्‍शूरका राजा हार स्वीकार्दै आफ्नो घर फर्कन्छ।

यसरी दुई गोत्रे राज्य बच्छ र केही समयका लागि त्यहाँ शान्ति हुन्छ। हिजकियाह मरेपछि उसको छोरो मनश्‍शे राजा हुन्छ। मनश्‍शे र उसको छोरो आमोन दुवै जना असाध्यै खराब हुन्छन्‌। देशभरि फेरि अपराध र हिंसा बढ्‌न थाल्छ। राजा आमोनलाई उसको आफ्नै सेवकहरूले हत्या गरेपछि उसको छोरो योशियाह दुई गोत्रे राज्यको राजा बन्छ।