कथा ७४
निडर मान्छे
चित्रमा हेर त, मान्छेहरूले त्यो युवकलाई कस्तो ठट्टामा उडाइरहेका छन्। यो युवक को हो तिमी भन्न सक्छौ? ऊ यर्मिया हो। ऊ परमेश्वरको महत्त्वपूर्ण अगमवक्ताहरूमध्ये एक हो।
राजा योशियाहले आफ्नो देशबाट मूर्तिहरू हटाउन थालेको केही समयपछि नै यहोवाले यर्मियालाई आफ्नो अगमवक्ता बनाउनुहुन्छ। आफ्नो उमेर कम भएकोले सुरुमा त यर्मिया अगमवक्ता हुन मान्दैन। तर यहोवाले मदत गर्छु भन्नुभएपछि उसले मान्छ।
यर्मियाले इस्राएलीहरूलाई खराब काम गर्न छोड्न भन्छ। उसले यसो भन्छ: ‘अरू जातिको मान्छेले पूज्ने देवताहरू झूटा हुन्।’ तर थुप्रै इस्राएलीहरू साँचो परमेश्वर यहोवाको उपासना गर्नुको सट्टा मूर्तिहरूकै उपासना गर्न मन पराउँछन्। दुष्ट काम गरेकोले उनीहरूलाई परमेश्वरले सजाय दिनुहुनेछ भन्दा मान्छेहरू यर्मियाको ठट्टा गर्दै हाँस्छन्।
वर्षौं बित्छ। योशियाह पनि मर्छ र ऊ मरेको तीन महिनापछि उसको छोरो यहोयाकीम राजा हुन्छ। ‘तिमीहरूले खराब काम गर्न छाडेनौ भने यरूशलेम नाश हुनेछ’ भनेर यर्मिया मान्छेहरूलाई भनिरहन्छन्। तर पूजाहारीहरू यर्मियालाई समातेर यसो भन्दै कराउँछन्: ‘यस्तो कुरा गर्ने मान्छेलाई त मार्नुपर्छ।’ पूजाहारीहरू इस्राएलका शासकहरूलाई यसो भन्छन्: ‘यर्मियालाई मार्नुपर्छ। किनभने त्यसले हाम्रो सहरको विरुद्धमा बोलेको छ।’
अब यर्मियाले के गर्ला? ऊ डराउँदैन! बरु उसले उनीहरू सबैलाई यसो भन्छ: ‘तिमीहरूलाई यो कुरा भन्न मलाई यहोवाले पठाउनुभएको हो। तिमीहरूले खराब काम छाडेनौ भने उहाँले यरूशलेमलाई नाश गर्नुहुनेछ। तिमीहरूले मलाई माऱ्यौ भने निर्दोष मान्छेलाई मारेको हुनेछ भनेर तिमीहरूले नबिर्स।’
शासकहरूले यर्मियालाई मार्दैनन्। इस्राएलीहरूले पनि नराम्रो काम गर्न छोड्दैन। पछि, बाबेलका राजा नबूकदनेसर आएर यरूशलेमसित लडाइँ गर्छ। अन्तमा, नबूकदनेसरले इस्राएलीहरूलाई आफ्नो कमारा बनाउँछ। उसले हजारौं इस्राएलीहरूलाई पक्रेर बाबेल लैजान्छ। कहिल्यै नचिनेको मान्छेले तिमीलाई घरबाट टाढा लग्यो भने तिमीलाई कस्तो लाग्ला, सोच त।