सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ७९

दानियल सिंहको खोरमा

दानियल सिंहको खोरमा

ओहो! दानियल ठूलो संकटमा परेछ जस्तो छ नि। तर सिंहहरूले उसलाई केही पनि गरेको छैन! किन तिमीलाई थाह छ? तर पहिले दानियललाई कसले सिंहको खोरमा हाल्यो हामी पत्ता लगाऔं।

यतिखेर बाबेलमा दाराले शासन गरिरहेको छ। उसले दानियललाई असाध्यै मन पराउँछ। किनभने दानियल असाध्यै दयालु र बुद्धिमान्‌ छ। दाराले दानियललाई आफ्नो राज्यको मुख्यमन्त्री बनाएको थियो। यसले गर्दा अरू मन्त्रीहरू दानियलको आरिस गर्छन्‌। उनीहरू दानियललाई फसाउने विचार गर्छन्‌।

उनीहरू दाराकहाँ गएर यसो भन्छन्‌: ‘हे महाराज हामी सबैले यो सल्लाह गरेका छौं, अबको ३० दिनभित्र हजुरलाई बाहेक अरू कुनै देवता वा मान्छेलाई बिन्ती-प्रार्थना गर्ने व्यक्‍ति सिंहको खोरमा हालियोस्‌।’ यी मान्छेहरूले यस्तो नियम किन बनाउँदैछन्‌ भनेर दारालाई थाह थिएन। राजालाई त्यो विचार राम्रै लाग्छ। त्यसैले उसले यस नियमलाई लेखेर राख्न लगाउँछ। त्यतिखेर लेखेर राखेको नियमलाई फेर्न पाइँदैनथ्यो।

यो नियम सुन्‍ने बित्तिकै दानियल घर जान्छ र पहिलेजस्तै प्रार्थना गर्छ। दानियलले यहोवालाई प्रार्थना गर्न छाड्‌नेछैन भनेर दुष्ट मन्त्रीहरूलाई थाह थियो। त्यसकारण दानियललाई हटाउने योजना सफल हुन्छ भनेर उनीहरू खुसी छन्‌।

दुष्ट मन्त्रीहरूले किन त्यस्तो नियम बनाएका रहेछन्‌ भनेर थाह पाएपछि राजा दारा असाध्यै दुःखी हुन्छ। तर उसले नियम बदल्न सक्दैन। त्यसकारण उसले दानियललाई सिंहको खोरमा फाल्ने आदेश दिन्छ। तर राजाले दानियललाई यसो भन्छ: ‘तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई बचाऊन्‌।’

दारालाई असाध्यै चिन्ता लाग्छ। उसलाई रातभरि निद्रा लाग्दैन। भोलिपल्ट बिहानै ऊ दगुर्दै सिंहको खोरमा जान्छ। चित्रमा हेर त, राजा दारा सिंहको खोरबाहिर छ। राजा दारा यसो भन्दै कराउँछ: ‘हे दानियल, जीवित परमेश्‍वरका सेवक! के तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूदेखि बचाउनसक्नुभयो?’

दानियल यस्तो जवाफ दिन्छ: ‘परमेश्‍वरले आफ्नो दूत पठाउनुभएर सिंहहरूको मुख थुनिदिनुभयो। तिनीहरूले मलाई केही हानि गरेनन्‌।’

यो सुनेर राजा असाध्यै खुसी हुन्छ। उसले दानियललाई खोरबाट बाहिर निकाल्न लगाउँछन्‌। यसपछि राजाले दानियललाई हटाउन खोज्ने मन्त्रीहरूलाई नै सिंहको खोरमा फाल्ने हुकुम दिन्छ। तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले झम्टेर तिनीहरूको हड्डीसमेत कऱ्‍याककुरुक खाइदिन्छन्‌।

त्यसपछि राजा दाराले आफ्नो राज्यका सबै प्रजालाई यो उर्दी पठाउँछ: ‘सबैले दानियलको परमेश्‍वरको भय मानून्‌। किनकि उहाँले ठूला-ठूला चिह्न अनि अचम्मका कामहरू गर्नुहुन्छ। उहाँले दानियललाई सिंहहरूको मुखबाट बचाउनुभयो।’