सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ८१

परमेश्‍वरले दिनुहुने मदतमा भरोसा गर्ने

परमेश्‍वरले दिनुहुने मदतमा भरोसा गर्ने

हजारौं इस्राएलीहरू बाबेलबाट यरूशलेम फर्केका थिए। यरूशलेम पुग्दा त्यहाँ उनीहरूले सबै कुरा तहसनहस भएको पाउँछन्‌। त्यहाँ कोही पनि थिएन। अब इस्राएलीहरूले सबै कुरा आफैले बनाउनुपर्छ।

उनीहरू सबैभन्दा पहिले वेदी बनाउँछन्‌। वेदी बनाएपछि उनीहरू यहोवालाई पशुहरूको बलिदान चढाउन सुरु गर्छन्‌। केही महिनापछि इस्राएलीहरू मन्दिर पनि बनाउन थाल्छन्‌। तर उनीहरूले यसरी मन्दिर बनाएको छेउछाउका शत्रुहरूलाई मन पर्दैन। यसकारण इस्राएलीहरूलाई तर्साएर तिनीहरूले काम रोक्न खोज्छन्‌। अन्तमा, यी शत्रुहरूले फारसका नयाँ राजालाई निर्माण काम बन्द गर्ने कानुन बनाउन लगाउँछन्‌।

त्यसपछि वर्षौं बित्छ। अब त इस्राएलीहरू बाबेलबाट फर्किएको पनि १७ वर्ष भइसक्यो। यहोवाले आफ्ना अगमवक्‍ता हाग्गै र जकरिया पठाउनुभएर इस्राएलीहरूलाई फेरि निर्माण सुरु गर्न लगाउनुहुन्छ। इस्राएलीहरूले परमेश्‍वरमा भरोसा राख्छन्‌ र यी अगमवक्‍ताहरूले भनेको मान्छन्‌। निर्माण गर्नु हुँदैन भन्‍ने नियम हुँदाहुँदै पनि इस्राएलीहरूले फेरि निर्माण सुरु गर्छन्‌।

इस्राएलीहरूले मन्दिर बनाउन थाले भन्‍ने खबर पाउने बित्तिकै कसले बनाउने आज्ञा दियो भनेर सोध्न तत्तनै नाउँ भएको फारसी अफिसर त्यहाँ आइपुग्छ। इस्राएलीहरूले उनीहरू बाबेलमा छँदा नै राजा कोरेसले ‘अब यरूशलेम जाऊ र तिमीहरूको परमेश्‍वर यहोवाको मन्दिर निर्माण गर’ भनेर हुकुम गरेका थिए भनेर तत्तनैलाई बताउँछन्‌।

तर त्यतिन्जेलसम्ममा कोरेस मरिसकेको थियो। यसकारण कोरेसले साँच्चै त्यसो भनेको थियो कि थिएन भनेर पत्ता लगाउन तत्तनैले बाबेलमा चिट्ठी पठाउँछ। फारसको नयाँ राजाले तुरुन्तै चिट्ठीको जवाफ पठाउँछ। कोरेसले साँच्चै त्यस्तो हुकुम गरेका थिए भनेर चिट्ठीमा लेखिएको हुन्छ। त्यसमा नयाँ राजाले यो पनि लेखिपठाएको हुन्छ: ‘इस्राएलीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन देऊ। अनि उनीहरूलाई तिमीहरूले पनि मदत गर्नू भनेर म हुकुम गर्छु।’ लगभग चार वर्षपछि मन्दिर बनाउने काम सिद्धिन्छ र इस्राएलीहरू असाध्यै खुसी हुन्छन्‌।

त्यसपछि अरू धेरै वर्ष बित्छ। अब त मन्दिर बनाउने काम सकिएको पनि झन्डै ४८ वर्ष भइसक्यो। तर यरूशलेमका मान्छेहरू गरिब छन्‌। सहर र परमेश्‍वरको मन्दिरको अवस्था पनि त्यति राम्रो थिएन। बाबेलमै बसेको एक जना इस्राएली एज्राले परमेश्‍वरको मन्दिरलाई मर्मत गर्नुपर्छ भनेर सुन्छ। त्यसपछि उसले के गर्छ, तिमीलाई थाह छ?

एज्रा फारसका राजा आर्ट-जारसेजलाई भेट्‌न जान्छ। यो असल राजाले एज्रालाई यरूशलेम लैजान थुप्रै सर-समान दिन्छ। यी सामान बोकेर यरूशलेम लैजान एज्राले बाबेलमा बस्ने इस्राएलीहरूसित मदत माग्छ। लगभग ६,००० जना यरूशलेम जान तयार हुन्छन्‌। उनीहरूले थुप्रै सुन, चाँदी र अरू बहुमूल्य चीजहरू बोकेर लैजानुपर्थ्यो।

यो देखेर एज्रा चिन्तित हुन्छ। किनभने बाटोमा थुप्रै बदमास मान्छेहरू थिए। यी मान्छेहरूले सुन र चाँदी खोसेर उनीहरूलाई मार्न पनि सक्थे। यसकारण एज्राले के गर्छ चित्रमा हेर त। उसले सबैलाई एकै ठाउँमा भेला गर्छ। अनि यरूशलेम जाने लामो यात्रामा यहोवाले सुरक्षा गरून्‌ भनी उनीहरू सबै मिलेर प्रार्थना गर्छन्‌।

यहोवाले साँच्चै उनीहरूलाई बचाउनुहुन्छ। लगभग चार महिना हिंडेपछि अन्तमा उनीहरू सकुशल यरूशलेम पुग्छन्‌। यहोवाले उहाँमाथि भरोसा गर्ने जतिलाई जोगाउनुहुन्छ भनेर हामीले यो कथाबाट सिक्यौं नि, होइन त?