सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ८८

यूहन्‍ना येशूलाई बप्तिस्मा दिन्छ

यूहन्‍ना येशूलाई बप्तिस्मा दिन्छ

मान्छेमाथि झर्दै गरेको ढुकुरलाई हेर त। त्यो मान्छे येशू हुनुहुन्छ। उहाँ अहिले लगभग ३० वर्षको हुनुभयो। उहाँसँगै उभिरहेको मान्छेचाहिं यूहन्‍ना हो। हामीले अगाडिको कथामै उसको विषयमा केही कुरा थाह पाइसक्यौं। मरियम आफ्नी नातेदार इलीशिबालाई भेट्‌न जाँदा इलीशिबाको गर्भको बच्चा खुसी भएर उफ्रेको कुरा तिमीलाई याद छ? त्यसरी गर्भमा उफ्रने बच्चा यूहन्‍ना थियो। तर अहिले यूहन्‍ना र येशू यहाँ के गर्दैछन्‌?

यूहन्‍नाले येशूलाई यर्दन नदीको पानीमा चोपलेर निकालेको एकछिन मात्र भयो। यसलाई बप्तिस्मा भनिन्छ। बप्तिस्मा दिंदा पहिले पानीमा चोपलेर पानीबाट फेरि बाहिर निकालिन्छ। यूहन्‍नाले बप्तिस्मा दिने गरेकोले उसलाई बप्तिस्मा दिने यूहन्‍ना भनिन्छ। तर यूहन्‍नाले येशूलाई किन बप्तिस्मा दिएको?

किनभने, येशू आफैले यूहन्‍नालाई ‘मलाई बप्तिस्मा देऊ’ भन्‍नुभएको थियो। आफूले गरेको खराब काम सम्झेर दुःखी भएका मान्छेहरूलाई यूहन्‍नाले बप्तिस्मा दिने गर्थ्यो। त्यसोभए के येशूले पनि कुनै खराब काम गर्नुभएको थियो? थिएन। येशूले त्यस्तो काम कहिल्यै गर्नुभएन। किनभने उहाँ परमेश्‍वरको आफ्नै छोरा हुनुहुन्छ। उहाँ स्वर्गबाट यो पृथ्वीमा आउनुभएको हो। येशूले अर्कै कारणले बप्तिस्मा लिनुभयो त्यो कारण के हो, हामी हेरौं।

यूहन्‍नालाई भेट्‌नुअघि येशू सिकर्मी काम गर्नुहुन्थ्यो। काठको टेबुल, मेच अनि अरू सर-सामान बनाउने मान्छेलाई सिकर्मी भनिन्छ। मरियमको पति यूसुफ सिकर्मी थियो। त्यसैले उसले येशूलाई पनि सिकर्मी काम सिकायो। तर यहोवाले आफ्नो छोरोलाई सिकर्मी बनाउन पृथ्वीमा पठाउनुभएको थिएन। येशूले विशेष काम गर्नुपरेको थियो र अब त्यो काम गर्ने समय भएको थियो। त्यसैले उहाँ आफ्नो बुबाको इच्छा गर्न आउनुभएको हो भनेर देखाउन येशू यूहन्‍नाकहाँ बप्तिस्मा लिन जानुभएको हो। के परमेश्‍वर यो देखेर खुसी हुनुभयो?

उहाँ धेरै खुसी हुनुभयो। येशू पानीबाट बाहिर निस्कनुभएपछि स्वर्गबाट यसो भन्‍ने आवाज आयो: ‘यिनी मेरो प्यारो छोरा हुन्‌, जोसँग म खुसी छु।’ त्यतिखेर स्वर्ग पनि उघ्रेर एउटा ढुकुर येशूमाथि ओर्लेर आएको जस्तो देखिन्छ। तर त्यो साँच्चैको ढुकुर थिएन। त्यो ढुकुर जस्तो देखिएको मात्र थियो। त्यो त वास्तवमा परमेश्‍वरको पवित्र आत्मा थियो।

अब येशूले थुप्रै कुरा सोच्नुपर्छ। त्यसैले उहाँ ४० दिनसम्म एकान्त ठाउँमा जानुहुन्छ। त्यहाँ शैतान आउँछ र येशूले परमेश्‍वरका आज्ञा नमानोस्‌ भनेर शैतानले उहाँलाई तीन-तीन खेप फसाउने कोसिस गर्छ। तर येशू फस्नुहुन्‍न।

त्यसपछि येशू त्यहाँबाट फर्कनुहुन्छ। बाटोमा उहाँले केही मान्छेहरूलाई भेट्टाउनुहुन्छ। उनीहरू पछि उहाँका प्रथम चेलाहरू बन्छन्‌। उनीहरूमध्ये केहीको नाउँ हो: अन्द्रियास, पत्रुस (जसलाई शिमोन पनि भनिन्छ), फिलिप र नथनेल (जसलाई बारथोलोमाइ पनि भनिन्छ)। येशू आफ्ना नयाँ चेलाहरूलाई लिएर गालील जिल्लातिर जानुहुन्छ। गालीलमा उहाँहरूले नथनेलको सहर कानामा केही समय बिताउनुहुन्छ। त्यहाँ येशू ठूलो बिहे भोजमा जानुहुन्छ र पहिलो पटक चमत्कार गर्नुहुन्छ। त्यो चमत्कार के थियो तिमीलाई थाह छ? उहाँले पानीलाई दाखमद्य बनाइदिनुहुन्छ।