सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ८९

येशू मन्दिर सफा बनाउनुहुन्छ

येशू मन्दिर सफा बनाउनुहुन्छ

येशू यहाँ रिसाउनुभएको जस्तो देखिन्छ नि। उहाँ किन त्यसरी रिसाउनुभएको, तिमीलाई थाह छ? यरूशलेममा भएको परमेश्‍वरको मन्दिरमा काम गर्ने मान्छेहरू असाध्यै लोभी भएकोले। यी लोभी मान्छेहरू मन्दिरमा परमेश्‍वरको उपासना गर्न आउने भक्‍तालुहरूलाई ठगेर थुप्रै पैसा कमाउन खोज्थे।

चित्रमा तिमीले साँढे, भेडा र ढुकुरहरू पनि देख्यौ कि? यी सबै जनावर ती लोभी मान्छेहरूले मन्दिरमा बेच्न ल्याएका हुन्‌। किन, तिमीलाई थाह छ? किनभने परमेश्‍वरको निम्ति बलिदान चढाउन इस्राएलीहरूलाई पशुपंक्षी चाहिन्थ्यो।

कुनै इस्राएलीले नराम्रो काम गऱ्‍यो भने उसले परमेश्‍वरलाई पशुपंक्षीको बलिदान चढाउनुपर्छ भनेर परमेश्‍वरले नियम दिनुभएको थियो। यसबाहेक अरू बेला पनि इस्राएलीहरूले बलिदान चढाउनुपर्थ्यो। तर बलिदान चढाउन इस्राएलीहरूले कहाँबाट पशुपंक्षी ल्याउँथे?

केही इस्राएलीहरू आफैले पशुपंक्षी पाल्थे। उनीहरूले त्यसैलाई बलिदान चढाउन सक्थे। तर धेरैजसो इस्राएलीहरूसित आफ्नै पशुपंक्षी हुँदैनथ्यो। कोही त टाढा-टाढाबाट यरूशलेम आउने भएकोले उनीहरूले घरबाटै पशुपंक्षी ल्याउन सक्दैनथे। यी इस्राएलीहरू यहाँ मन्दिरमै आएर आफूलाई चाहिएको पशुपंक्षी किन्‍ने गर्थे। तर ती लोभी व्यापारीहरूले उनीहरूलाई ठगेर बढ्‌ता पैसा लिने गरिरहेका थिए। यसबाहेक, परमेश्‍वरको मन्दिरभित्रै त्यसरी पशुपंक्षी बेच्न हुँदैनथ्यो।

त्यसैले येशू असाध्यै रिसाउनुहुन्छ। उहाँले तिनीहरूको पैसा राख्ने टेबुल पल्टाइदिनुहुन्छ र तिनीहरूको जम्मै पैसा हुऱ्‍याइदिनुहुन्छ। उहाँले डोरी बाटेर कोर्रा बनाउनुहुन्छ र सबै पशुलाई मन्दिरबाहिर लघार्नुहुन्छ। ढुकुर बेचिरहेका व्यापारीहरूलाई उहाँ यसो भन्‍नुहुन्छ: ‘यी सबै यहाँबाट लैजाओ! मेरो बुबाको घरलाई व्यापारको घर नबनाओ।’

येशूका केही चेलाहरू मन्दिरमा उहाँसित थिए। येशूले गर्नुभएको कुरा देखेर उनीहरू छक्क पर्छन्‌। अनि उनीहरू बाइबलमा परमेश्‍वरको छोराबारे लेखिएको यो कुरा सम्झन्छन्‌: ‘परमेश्‍वरको घरको जोसले उहाँलाई खाइहाल्नेछ।’

येशूले यरूशलेममा निस्तार चाड मनाउनुहुँदा थुप्रै चमत्कारहरू गर्नुहुन्छ। केही समयपछि उहाँ यहूदियाबाट निस्केर फेरि गालीलतिर जानुहुन्छ। तर बाटोमा उहाँ सामरिया पस्नुहुन्छ। त्यहाँ के हुन्छ, हामी अर्को कथा पढेर थाह लगाऔं।