सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ९४

येशू साना केटाकेटीहरूलाई माया गर्नुहुन्छ

येशू साना केटाकेटीहरूलाई माया गर्नुहुन्छ

हेर, यहाँ येशूले कति माया गरेर सानो केटोलाई अँगालो हाल्नुभएको छ। येशूले साना केटाकेटीहरूलाई साँच्चै मन पराउनुहुन्छ। नजिकै उभिएर हेरिरहेका मान्छेहरू चाहिं उहाँका प्रेरितहरू हुन्‌। येशूले उनीहरूलाई के भन्दै हुनुहुन्छ?

येशू र उहाँका प्रेरितहरू लामो यात्राबाट भर्खरै फर्केका छन्‌। बाटोमा प्रेरितहरू आपसमा बहस गरिरहेका थिए। अब येशूले तिनीहरूलाई सोध्नुहुन्छ: ‘बाटोमा तिमीहरू के बहस गरिरहेका थियौ हँ?’ उनीहरूले के बहस गरिरहेका थिए, येशूलाई थाह थियो। तर प्रेरितहरूले बताउँछन्‌ कि बताउँदैनन्‌ भनेर येशू जान्‍न चाहनुहुन्थ्यो।

प्रेरितहरू जवाफै दिंदैनन्‌। किनभने सबैभन्दा ठूलो को हो भनेर उनीहरू बाटोमा बहस गरिरहेका थिए। केही प्रेरितहरू अरूभन्दा ठूलो हुन चाहन्छन्‌। तर सबैभन्दा ठूलो हुन खोज्नु ठीक होइन भनेर अब येशूले उनीहरूलाई कसरी भन्‍नुहुन्छ होला?

उहाँले एउटा सानो केटोलाई बोलाउनुहुन्छ र उसलाई उनीहरू सबैको बीचमा उभ्याउनुहुन्छ। त्यसपछि चेलाहरूलाई यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले यो एउटा कुरा राम्ररी सिकिराख। तिमीहरू बद्‌लिएर यी साना केटाकेटीहरू जस्ता भएनौ भने परमेश्‍वरको राज्यमा कदापि पस्न पाउनेछैनौ। जो यो सानो बालकजस्तो बन्छ, त्यही परमेश्‍वरको राज्यमा सबैभन्दा ठूलो बन्‍नेछ।’ येशूले किन त्यसो भन्‍नुभएको, तिमीलाई थाह छ?

साना केटाकेटीहरू अरूभन्दा ठूलो हुन खोज्दैनन्‌। त्यसैले येशूका प्रेरितहरूले केटाकेटी जस्तै हुन सिक्नुपर्छ। उनीहरूले सबैभन्दा ठूलो को हो भनेर झगडा गर्नु हुँदैन।

अरू बेला पनि येशूले साना केटाकेटीहरूलाई माया देखाउनुहुन्छ। केही महिनापछिको कुरा हो, केही मान्छेले आफ्ना छोराछोरीहरू येशूकहाँ ल्याउँछन्‌। तर प्रेरितहरूले उनीहरूलाई परै राख्न खोज्छन्‌। तब येशू आफ्ना प्रेरितहरूलाई यसो भन्‍नुहुन्छ: ‘साना केटाकेटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो।’ त्यसपछि येशूले केटाकेटीहरूलाई अँगालो हाल्नुहुन्छ र तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ। येशूले साना केटाकेटीहरूलाई धेरै माया गर्नुहुँदो रहेछ भन्‍ने जानेर के तिमीलाई खुसी लागेन?