सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ९६

येशू बिरामी निको पार्नुहुन्छ

येशू बिरामी निको पार्नुहुन्छ

येशू आफू जहाँ-जहाँ जानुहुन्छ त्यहीं-त्यहीं बिरामीहरूलाई निको पार्दै हिंड्‌नुहुन्छ। त्यसपछि उहाँको कीर्ति वरिपरिका गाउँघर अनि सहर चारैतिर फैलिन थाल्छ। मान्छेहरूले उहाँकहाँ अपांग, अन्धा, बहिरा अनि नानाथरीका रोग लागेकाहरूलाई ल्याउँछन्‌। येशू उनीहरू सबैलाई निको पार्नुहुन्छ।

यूहन्‍नाले येशूलाई बप्तिस्मा दिएको पनि अब तीन वर्ष भइसक्यो। येशूले अब उहाँ छिट्टै यरूशलेम जानुहुनेछ र त्यहाँ मारिनुहुनेछ तर त्यसपछि बिउँतनुहुनेछ भनेर आफ्ना प्रेरितहरूलाई बताउनुहुन्छ। तैपनि अहिले त्यो समय नआइसकेकोले उहाँ बिरामीहरूलाई निको पारिरहनुहुन्छ।

एक पटक येशूले विश्राम दिनमा शिक्षा दिइरहनुभएको हुन्छ। विश्राम दिन भनेको यहूदीहरूले आराम गर्ने दिन हो। तिमीले यहाँ चित्रमा देखिरहेको आइमाई असाध्यै बिरामी थिई। ऊ १८ वर्षदेखि कुप्री थिई र सोझो भएर उभिनै सक्दिन थिई। येशू ऊमाथि आफ्नो हात राख्नुहुन्छ। त्यसपछि ऊ फेरि सोझो भएर उभिन थाल्छे।

यो देखेर धर्मगुरुहरू असाध्यै रिसाउँछन्‌। तीमध्ये एक जनाले यसो भन्दै भीडलाई गाली गर्छ: ‘काम गर्नुपर्ने छ दिन छन्‌, यसकारण ती दिनमा आएर निको होओ, विश्राम दिनमा होइन।’

तर येशूले यो जवाफ दिनुहुन्छ: ‘ए कपटीहरू हो! तिमीहरूमध्ये कसले विश्राम दिनमा आफ्नो गधालाई फुकाएर पानी पिउन लैजादैनौ? के यो १८ वर्षदेखि बिरामी परेकी बिचरी आइमाईलाई चाहिं विश्राम दिनमा निको पार्नु गलत भयो?’ येशूको जवाफ सुनेर ती खराब धर्मगुरुहरूलाई लाज लाग्छ।

केही समयपछि येशू र उहाँका प्रेरितहरू यरूशलेम जान्छन्‌। उहाँहरू यरीहो सहरबाहिर पुग्दा येशू त्यो बाटोबाट जानु हुँदैछ भन्‍ने कुरा दुई जना अन्धा माग्नेले सुन्छन्‌। तब उनीहरू यसो भन्दै कराउन थाल्छन्‌: ‘हे येशू, हामीलाई दया गर्नुहोस्‌!’

येशूले ती अन्धा माग्नेहरूलाई बोलाएर सोध्नुहुन्छ: ‘मैले तिमीहरूलाई के गरिदिऊँ भन्‍ने तिमीहरूको इच्छा छ?’ उनीहरू भन्छन्‌: ‘प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्‌।’ येशूले उनीहरूको आँखा छुनुहुन्छ र उनीहरूले तुरुन्तै देख्न थाल्छन्‌! येशूले यस्ता अचम्मलाग्दा कामहरू किन गर्नुहुन्छ, तिमीलाई थाह छ? किनभने उहाँ मान्छेहरूलाई माया गर्नुहुन्छ र उनीहरूले उहाँमाथि विश्‍वास गरोस्‌ भनेर चाहनुहुन्छ। साथै, उहाँ राजा हुनुभएपछि पृथ्वीमा कोही पनि बिरामी हुनेछैन भनेर हामी पक्का हुन सक्छौं।