सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ९९

माथिल्लो तलाको कोठामा

माथिल्लो तलाको कोठामा

यो घटना दुई दिनपछि, बिहीबार रातीको हो। येशू आफ्ना १२ प्रेरितसित निस्तार चाडको भोज खान माथिल्लो तलाको यो ठूलो कोठामा भेला हुनुभएको छ। कोठाबाट निस्कदैं गरेको मान्छे यहूदा इस्करयोती हो। अब ऊ येशूलाई कसरी पक्रने भनेर पूजाहारीहरूलाई बताउन जाँदैछ।

केही दिनअघि यहूदाले पूजाहारीहरूकहाँ गएर यो प्रश्‍न गरेको थियो: ‘येशूलाई पक्रन मदत गरें भने तपाईंहरू मलाई के दिनुहुन्छ?’ उनीहरूले चाँदीका तीस टुक्रा दिने वचन दिन्छन्‌। अब येशूलाई समात्न लगाउन यहूदा ती पूजाहारीहरूलाई लिन जाँदैछ। यहूदा कति दुष्ट रहेछ!

निस्तार चाडको भोज सकिएपछि येशूले अर्को विशेष भोज सुरु गर्नुहुन्छ। उहाँ आफ्ना प्रेरितहरूलाई रोटी दिंदै यसो भन्‍नुहुन्छ: ‘यो खाओ किनभने तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो।’ त्यसपछि उहाँले एक कचौरा दाखमद्य दिदैं यसो भन्‍नुहुन्छ: ‘यसलाई पिओ किनभने यो तिमीहरूको निम्ति बगेको मेरो रगत हो।’ येशूले सुरु गर्नुभएको यो भोजलाई बाइबलले ‘प्रभुको साँझको भोज’ अथवा ‘प्रभुको भोज’ भन्छ।

मिश्रमा परमेश्‍वरको स्वर्गदूतले इस्राएलीहरूको घरलाई ‘नाघेर’ मिश्रीहरूका परिवारका सबै जेठाहरूलाई मारेको दिनको सम्झना गर्न इस्राएलीहरू निस्तार भोज मनाउने गर्थे। तर अबदेखि येशू आफ्ना चेलाहरूले उहाँलाई अनि उहाँले उनीहरूका निम्ति कसरी जीवन दिनुभयो, त्यो सम्झेको चाहनुहुन्छ। यसैकारण उहाँ आफ्ना चेलाहरूलाई हरेक वर्ष यो विशेष भोज मनाउनू भन्‍नुहुन्छ।

प्रभुको साँझको भोज खाएपछि येशूले प्रेरितहरूलाई आफ्नो विश्‍वास बलियो बनाउनू अनि साहसी हुनू भन्‍नुहुन्छ। अन्तमा आफ्ना चेलाहरूसित परमेश्‍वरको भजन गाएपछि येशू त्यहाँबाट निस्कनुहुन्छ। उहाँहरू बाहिर निस्कँदा मध्य रात भइसकेको हुन्छ। हेरौं, उहाँहरू अब कहाँ जानुहुन्छ