सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा १०४

येशू स्वर्ग फर्कनुहुन्छ

येशू स्वर्ग फर्कनुहुन्छ

येशू आफ्ना चेलाहरूकहाँ धेरै पटक देखा पर्नुहुन्छ। एकचोटि ५०० जना जति चेलाहरूले एकै ठाउँमा उहाँलाई देख्छन्‌। त्यतिखेर येशूले कुन विषयमा कुरा गर्नुहुन्छ, तिमीलाई थाह छ? परमेश्‍वरको राज्यको विषयमा। येशू परमेश्‍वरको राज्यकै विषयमा सिकाउन पृथ्वीमा आउनुभएको थियो। मरेर बिउँतनुभएपछि पनि उहाँ त्यसै गरिरहनुहुन्छ।

परमेश्‍वरको राज्य के हो, तिमीलाई याद छ? परमेश्‍वरको राज्य भनेको स्वर्गबाट चल्ने परमेश्‍वरको सरकार हो। परमेश्‍वरले येशूलाई यो राज्यको राजा बनाउनुभएको छ। उहाँ असाध्यै असल राजा हुनुहुन्छ। किनभने उहाँले भोकाहरूलाई खुवाउन सक्नुहुन्छ, रोगीहरूलाई निको पार्न सक्नुहुन्छ अनि मरिसकेका मान्छेहरूलाई समेत फेरि बिउँताउन सक्नुहुन्छ। उहाँले पृथ्वीमा हुनुहुँदा यी सबै कुरा गर्नुभएको थियो भनेर हामीले पढेका थियौं नि, होइन?

उसोभए, येशूले स्वर्गबाट हजार वर्षसम्म राज्य गर्नुहुँदा हाम्रो पृथ्वीमा चाहिं के हुनेछ? हो, पूरै पृथ्वी सुन्दर बगैंचा हुनेछ। फेरि लडाइँ हुनेछैन, अपराध, रोग पनि हुनेछैन। मान्छेहरू कहिल्यै मर्नुपर्ने छैन। यी सबै कुरा पक्कै हुनेछ भनेर हामी ढुक्क हुन सक्छौं। किनभने परमेश्‍वरले यो पृथ्वी बनाउनुहुँदा सबै मान्छेहरू खुसी भएर बसून्‌ भनेर चाहनुभएको थियो। यसैकारण त उहाँले अदनको बगैंचा बनाउनुभएको थियो नि। अब येशूले परमेश्‍वरको यो इच्छा पूरा गरिछाड्‌नुहुनेछ।

येशू ४० दिनसम्म आफ्ना चेलाहरूकहाँ देखा परिरहनुहुन्छ। उहाँ फेरि बिउँतनुभएको हो भनेर चेलाहरू अब पक्का भइसकेका छन्‌। त्यसैले अब येशू स्वर्ग फर्कने बेला भएको छ। तर आफ्ना चेलाहरूलाई छोडेर जानुअघि उहाँ यसो भन्‍नुहुन्छ: ‘पवित्र आत्मा नपाउन्जेलसम्म तिमीहरू यरूशलेमबाट कतै नजाओ।’ पवित्र आत्मा भनेको बहिरहेको बतासजस्तै परमेश्‍वरको सक्रिय शक्‍ति हो। यसले चेलाहरूलाई परमेश्‍वरको इच्छा गर्न मदत दिनेछ। अन्तमा येशू भन्‍नुहुन्छ: ‘अब तिमीहरूले मेरो विषयमा टाढा-टाढासम्म प्रचार गर्नू।’

येशूले यति भनिसक्नुभएपछि अचम्मको कुरा हुन्छ। उहाँ माथि-माथि स्वर्गतिर उचालिन थाल्नुहुन्छ। येशू माथि-माथि जाँदै गर्नुभएको यहाँ चित्रमा हेर त। उहाँ माथि जाँदाजाँदै बादलले उहाँलाई ढाकिहाल्छ र चेलाहरूले त्यसपछि येशूलाई देख्नै सक्दैनन्‌। माथि-माथि उचालिंदै येशू स्वर्ग जानुहुन्छ। त्यसपछि उहाँले आफ्ना चेलाहरूमाथि शासन गर्न थाल्नुहुन्छ।