सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्वर्गमा भएको विद्रोह

स्वर्गमा भएको विद्रोह

हव्वाले सर्प अर्थात्‌ सैतानको कुरा सुनेर परमेश्‍वरको विद्रोह गरिन्‌

यहोवा परमेश्‍वरले बनाउनुभएको सबै स्वर्गदूतहरू असल थिए। तर तिनीहरूमध्ये एक जना पछि गएर खराब भयो। त्यो स्वर्गदूतलाई सैतान भनिन्छ। सैतान पृथ्वीका मानिसहरूले यहोवाको नभई त्यसको उपासना गरेको चाहन्थ्यो।

अदनको बगैँचामा मीठामीठा फल लाग्ने थुप्रै रूखहरू थिए। यहोवाले आदम र तिनकी पत्नी हव्वालाई ती रूखहरूबाट चाहेजति फलहरू खान सक्छौ भन्‍नुभयो। तर परमेश्‍वरले तिनीहरूलाई एउटा रूखको फल भने खाँदै नखानू भनेर आज्ञा गर्नुभयो। त्यस रूखको फल खाएमा उहाँले तिनीहरू पक्कै मर्नेछन्‌ भन्‍नुभयो।—उत्पत्ति २:९, १६, १७.

एकदिन हव्वा एक्लै हुँदा सर्पले तिनीसित कुरा गऱ्‍यो। सर्पले पक्कै पनि बोल्न त सक्दैन। वास्तवमा सैतानले सर्पले बोलेको भनेर हव्वालाई झुक्क्याइरहेको थियो। परमेश्‍वरले नखानू भनेर आज्ञा दिनुभएको रूखको फल खायो भने हव्वा परमेश्‍वरजस्तै बुद्धिमान्‌ हुनेछ भनेर सैतानले भन्यो। तिनी कदापि मर्नेछैनन्‌ भनेर पनि त्यसले भन्यो। सैतानले भनेको यी दुवै कुरा झूटो थियो। तैपनि हव्वाले पत्याइन्‌ र त्यो फल टिपेर खाइन्‌। पछि तिनले त्यो फल आदमलाई दिइन्‌ र उनले पनि त्यो फल खाए।—उत्पत्ति ३:१-६.

यो घटनाबाट सैतान विद्रोही र झूटा हो भनेर थाह पाउँछौँ। त्यसले हव्वालाई परमेश्‍वरको आज्ञा मानेनौ भने मर्नेछैनौ भन्यो। त्यो झूट थियो। हव्वा र आदम दुवै मरे। सैतान त्यतिखेरै त मरेन तर अन्तमा भने मर्नेछ। किनभने त्यसले पनि परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गऱ्‍यो। तर अहिले भने सैतान जिउँदै छ र मानिसहरूलाई बहकाउँदै छ। त्यो झूटा हो र मानिसहरूलाई बहकाएर परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गराउने कोसिस गर्दै छ।—युहन्‍ना ८:४४.

अरू स्वर्गदूतहरूले पनि विद्रोह गरे

पछि अरू स्वर्गदूतहरू पनि खराब भए। तिनीहरूले पृथ्वीमा भएका सुन्दर स्त्रीहरूमा नजर लगाउन थाले र तिनीहरूलाई आफ्नो पत्नी बनाउन खोजे। तिनीहरू पुरुषको रूप धारण गरेर पृथ्वीमा आए। त्यसपछि तिनीहरूले ती स्त्रीहरूसित विवाह गरे। तर त्यसो गर्नु यहोवाको इच्छाविपरीत थियो।—उत्पत्ति ६:१, २; यहुदा ६.

दुष्ट स्वर्गदूतहरूले पृथ्वीका स्त्रीहरूसित विवाह गरेर परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे

यो घटनाले गर्दा मानिसजातिले पनि दुःख पायो। ती स्वर्गदूतहरूको पत्नीले छोराछोरी जन्माए। तर ती छोराछोरी अरू केटाकेटीभन्दा धेरै फरक थिए। तिनीहरू ठूलो भएर अजङ्‌ग र हिंस्रक भए। पृथ्वी हिंसाले भरिएकोले यहोवाले दुष्ट मानिसहरूलाई ठूलो प्रलय ल्याएर नाश गर्ने निर्णय गर्नुभयो। त्यो प्रलयमा नुह नाम गरेका असल मानिस र तिनको परिवारबाहेक कोही पनि बचेनन्‌।—उत्पत्ति ६:४, ११; ७:२३.

ती खराब स्वर्गदूतहरू भने मरेनन्‌। तिनीहरू स्वर्गमै फर्किए। तर तिनीहरूलाई सजाय दिइयो। तिनीहरूलाई असल स्वर्गदूतहरू मिलेर बनेको परमेश्‍वरको परिवारबाट निकालियो। साथै यहोवाले तिनीहरूलाई मानिसको रूप धारण गर्न निषेध गर्नुभयो। यहोवा परमेश्‍वरले तिनीहरूलाई न्यायको दिनमा मृत्युदण्ड दिनुहुनेछ।—२ पत्रुस २:४; यहुदा ६.

सैतानलाई स्वर्गबाट फालियो

सैतान र त्यसका खराब स्वर्गदूतहरू स्वर्गबाट फालिए

बीसौँ शताब्दीको सुरुतिर स्वर्गमा लडाइँ भयो। त्यसबारे बाइबलले यसो भन्छ: “तब स्वर्गमा लडाइँ भयो: माइकल [येसु ख्रिष्ट] र उनका [असल] स्वर्गदूतहरूले त्यस अजिङ्‌गरसित [सैतान] अनि अजिङ्‌गर र त्यसका [खराब] स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे। तर त्यो अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले जित्न सकेनन्‌ र तिनीहरूको निम्ति स्वर्गमा कुनै ठाउँ बाँकी रहेन। त्यसैले दियाबल अनि सैतान भनिने र सारा संसारलाई ठग्ने त्यो ठूलो अजिङ्‌गर अर्थात्‌ पुरानो सर्पलाई तल पृथ्वीमा हुर्ऱ्याइयो अनि त्योसँगसँगै त्यसका [खराब] स्वर्गदूतहरू पनि हुर्ऱ्याइए।”

नतिजा के भयो? बाइबल यसो भन्छ: “हे स्वर्ग अनि त्यसमा बास गर्नेहरू हो, रमाओ!” असल स्वर्गदूतहरू रमाए किनभने सैतान र खराब स्वर्गदूतहरू स्वर्गबाट निकालिए। तर पृथ्वीका मानिसहरूमा भने यो घटनाको कस्तो असर पऱ्‍यो? बाइबल यसो भन्छ: “पृथ्वी र समुद्रलाई भने धिक्कार छ किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी छ भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ।”—प्रकाश १२:७-९, १२.

सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूले पृथ्वीका मानिसहरूलाई बहकाएर धेरै दुःख दिइरहेका छन्‌। ती दुष्ट स्वर्गदूतहरूलाई प्रेत भनिन्छ। तिनीहरू परमेश्‍वरको शत्रु हुन्‌। तिनीहरू सबै नै दुष्ट छन्‌।