सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मृतकहरूका लागि पक्का आशा

मृतकहरूका लागि पक्का आशा

पच्चिस वर्षकी एक युवतीले यसो भनिन्‌: “मेरी आमा १९८१ मा क्यान्सरले गर्दा बित्नुभयो। आमा बित्नुभएपछि म र मेरो भाइलाई धेरै गाह्रो भयो। त्यतिबेला म १७ वर्षकी थिएँ अनि भाइचाहिँ ११ वर्षको मात्र थियो। मलाई उहाँको धेरै याद आउँथ्यो। मलाई उहाँ स्वर्गमा हुनुहुन्छ भनेर बताइएको थियो। त्यसैले उहाँसँग हुन म पनि मर्न चाहन्थेँ। उहाँ मेरो सबैभन्दा मिल्ने साथी हुनुहुन्थ्यो।”

मृत्युको कारण आफूले माया गरेको व्यक्‍ति गुमाउनु असाध्यै अन्यायी कुराजस्तो देखिन्छ। प्रियजनको मृत्यु हुँदा अबउसो ऊसँग बसेर कुरा गर्न, हाँस्न वा उसलाई माया गरेर सुमसुम्याउन सकिँदैन भन्‍ने कुरा सोच्दा मात्रै पनि असह्‍य हुन्छ। कसैले ऊ अहिले स्वर्गमा छ भन्दैमा हाम्रो पीडा कम हुँदैन।

तर बाइबलले दिएको आशा भने भिन्‍नै छ। हामीले अगाडि पनि बुझेझैँ बाइबलले अब चाँडै मरिसकेका प्रियजनहरूलाई फेरि भेट्‌न पाउनेछौँ भनी बताउँछ। तर हामीले कहिल्यै नदेखेको स्वर्गमा होइन, बरु यसै पृथ्वीमा शान्ति र धार्मिकताले भरिएको अवस्थामा। अनि त्यतिबेला मानिसहरूले स्वस्थ भएर जीवनको आनन्द उठाउन सक्नेछन्‌ र तिनीहरू फेरि कहिल्यै मर्नेछैनन्‌। तर कसै-कसैलाई यस्तो आशा ‘आकाशको फल, आँखा तरी मर्‌’ जस्तो मात्रै लाग्न सक्छ।

यो पक्का आशा हो भनेर तपाईँ कसरी विश्‍वस्त हुन सक्नुहुन्छ? यसको लागि तपाईँ यो प्रतिज्ञा गर्नुहुने व्यक्‍ति आफ्नो प्रतिज्ञा पूरा गर्न इच्छुक हुनुहुन्छ र सक्षम पनि हुनुहुन्छ भन्‍ने कुरामा पक्का हुनुपर्छ। त्यसोभए मृतकहरू फेरि जीवित हुनेछन्‌ भनेर प्रतिज्ञा गर्नुहुने व्यक्‍ति को हुनुहुन्छ त?

इस्वी संवत्‌ ३१ को वसन्त ऋतुमा येसु ख्रिष्टले निर्धक्क भई यस्तो प्रतिज्ञा गर्नुभयो: “जसरी बुबाले मरेकाहरूलाई ब्युँताएर जीवित पार्नुहुन्छ, त्यसरी नै छोराले पनि जसलाई इच्छा लाग्छ, उसलाई जीवित पार्छ। यसमा अचम्म नमान किनभने बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले [येसुको] स्वर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।” (युहन्‍ना ५:२१, २८, २९) हो, मरिसकेका लाखौँ मानिस फेरि जीवित हुनेछन्‌ र तिनीहरूले शान्तपूर्ण अवस्थामा र सुन्दर बगैँचारूपी पृथ्वीमा सधैँभरि बाँच्ने आशा पाउनेछन्‌ भनेर येसु ख्रिष्टले प्रतिज्ञा गर्नुभयो। (लुका २३:४३; युहन्‍ना ३:१६; १७:३; भजन ३७:२९ र मत्ति ५:५ तुलना गर्नुहोस्‌) येसु स्वयम्‌ले यस्तो प्रतिज्ञा गर्नुभएकोले उहाँ यो प्रतिज्ञा पूरा गर्न इच्छुक हुनुहुन्छ भन्‍ने कुरामा त कुनै शङ्‌का छैन। तर के उहाँ यो प्रतिज्ञा पूरा गर्न सक्षम हुनुहुन्छ?

यो प्रतिज्ञा गर्नुभएको दुई वर्षपछि येसुले उहाँ मरिसकेकाहरूलाई फेरि जीवित पार्न इच्छुक मात्र होइन, सक्षम पनि हुनुहुन्छ भन्‍ने कुरा एउटा चमत्कारद्वारा देखाउनुभयो।

“ए लाजरस, बाहिर आऊ!”

दृश्‍य अत्यन्तै हृदयविदारक थियो। लाजरस सिकिस्त बिरामी परेका थिए। तिनका दुई दिदी मरियम र मार्थाले यर्दन नदीपारि हुनुभएका येसुकहाँ यस्तो खबर पठाए: “प्रभु, हेर्नुहोस्‌, जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनी बिरामी परेका छन्‌।” (युहन्‍ना ११:३) येसु लाजरसलाई माया गर्नुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। के येसु आफ्नो बिरामी साथीलाई भेट्‌न चाहनुहुन्‍नथ्यो होला र? तर अचम्मको कुरा, येसु तुरुन्तै बेथानि जानुको सट्टा अर्को दुई दिन त्यहीँ बस्नुभयो।—युहन्‍ना ११:५, ६.

येसुले लाजरस बिरामी भएको खबर पाउनुभएको केही समयपछि तिनको मृत्यु भयो। उहाँले लाजरसको मृत्युको खबर पाउनुभयो र त्यसबारे केही गर्ने विचार गर्नुभयो। येसु बेथानि पुग्नुहुँदा त उहाँको प्रिय साथी लाजरस मरेको चार दिन भइसकेको थियो। (युहन्‍ना ११:१७, ३९) मृत्यु भएको चार दिन भइसकेको व्यक्‍तिलाई के येसुले फेरि जीवित पार्न सक्नुहुनेछ?

येसु आइरहनुभएको खबर पाएपछि जाँगरिली मार्था दौडेर उहाँलाई भेट्‌न गइन्‌। (लुका १०:३८-४२ तुलना गर्नुहोस्‌) उनलाई कत्ति पीडा भइरहेको छ भन्‍ने देखेर येसुले उनलाई यस्तो आश्‍वासन दिनुभयो: “तिम्रो भाइ ब्युँतनेछ।” उनले भविष्यमा मृतकहरू फेरि जीवित हुने आशामाथि आफ्नो विश्‍वास व्यक्‍त गर्दा येसुले उनलाई स्पष्टसित यसो भन्‍नुभयो: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ। जसले ममाथि विश्‍वास गर्छ, ऊ मऱ्‍यो भने पनि फेरि जीवित हुनेछ।”—युहन्‍ना ११:२०-२५.

चिहानमा पुगेपछि येसुले चिहानको मुखमा राखिएको ढुङ्‌गा हटाउने आदेश दिनुभयो। त्यसपछि उहाँले ठूलो स्वरमा प्रार्थना गर्नुभयो र यसो भन्‍नुभयो: “ए लाजरस, बाहिर आऊ!”—युहन्‍ना ११:३८-४३.

मानिसहरू एकटक लगाएर चिहानतर्फ हेरिरहेका थिए। त्यसपछि चिहानको अन्धकारबाट एक जना मानिस बिस्तारै बाहिर निस्क्यो। उसको हातखुट्टा कपडाले बेरिएको थियो अनि उसको अनुहारमा पनि कपडा बेरिएको थियो। त्यसपछि येसुले यस्तो आदेश दिनुभयो: “उसलाई फुकाइदेओ र जान देओ।” लाजरसलाई बेरेको कपडा सबै निकालियो। हो, तिनी चार दिनअघि मरेका लाजरस नै थिए।—युहन्‍ना ११:४४.

के यो साँच्चै भएको थियो?

लाजरस फेरि जीवित भएको विवरण युहन्‍नाको सुसमाचारको किताबमा एउटा ऐतिहासिक घटनाको रूपमा रेकर्ड गरिएको छ। यस घटनाको एक-एक कुरा यति जीवन्त छ कि यसलाई केवल दन्त्य-कथा मात्र भन्‍न सकिँदैन। यसको ऐतिहासिक सत्यतामा शङ्‌का गर्नु भनेको येसु ख्रिष्ट फेरि जीवित हुनुभएको कुरा र बाइबलमा उल्लिखित सम्पूर्ण चमत्कारमा शङ्‌का गर्नु हो। अनि येसु फेरि जीवित हुनुभएको कुरामा शङ्‌का गर्नुको अर्थ पूरै ख्रिष्टियन विश्‍वासमै शङ्‌का गर्नु हो।—१ कोरिन्थी १५:१३-१५.

हामी परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छौँ भने मरेकाहरू फेरि जीवित हुने आशामा पनि विश्‍वास गर्न सक्छौँ। उदाहरणको लागि, मानिसहरूले टिभीमा वर्षौँअघि मरिसकेको कुनै गायकले गीत गाइरहेको अथवा कुनै राजनैतिक नेताले भाषण दिइरहेको दृश्‍य देख्न सक्छन्‌। एक सय वर्षअघि यो कुरा असम्भव नै देखिन्थ्यो। अहिले पनि असाध्यै विकट ठाउँमा बसोबास गर्ने मानिसहरूलाई टिभीमा धेरै पहिले मरिसकेको मान्छे बोलेको वा हिँडडुल गरेको देख्दा चमत्कार जस्तै लाग्न सक्छ। यदि सृष्टिकर्ताले स्थापना गर्नुभएको वैज्ञानिक नियमहरूको आधारमा मानिसहरूले यस्तो श्रव्यदृश्‍य उपकरण बनाउन सक्छन्‌ भने के सृष्टिकर्ताले त्योभन्दा उत्तम काम गर्न सक्नुहुन्‍न होला र? कुनै मानिसलाई बनाउनुहुने सृष्टिकर्ताले उसलाई फेरि सृष्टि गर्न सक्नुहुन्छ भन्‍नु तार्किक छैन र?

लाजरस फेरि जीवित भएको विवरणले येसुमाथि र मरेकाहरू फेरि जीवित हुने आशामाथि हाम्रो विश्‍वासलाई अझ बलियो बनाउँछ। (युहन्‍ना ११:४१, ४२; १२:९-११, १७-१९) यस विवरणले यहोवा र उहाँको छोरा येसु मरेकाहरूलाई फेरि जीवित पार्न इच्छुक हुनुहुन्छ भन्‍ने कुरा हृदयस्पर्शी ढङ्‌गमा प्रदर्शित गर्छ।

‘परमेश्‍वरले तीव्र इच्छा गर्नुहुनेछ’

लाजरसको मृत्यु हुँदा येसुले देखाउनुभएको प्रतिक्रियाबाट उहाँ कोमल करुणाले भरिपूर्ण हुनुहुन्छ भन्‍ने कुरा प्रस्ट हुन्छ। यतिबेला उहाँले देखाउनुभएको गहिरो भावनाले उहाँ मरेकाहरूलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भन्‍ने कुरा सङ्‌केत गर्छ। बाइबलमा यस्तो लेखिएको छ: “जब मरियम येसु हुनुभएको ठाउँमा आइपुगिन्‌ र उहाँलाई देखिन्‌, तब तिनी उहाँको पाउमा घोप्टो परिन्‌ र यसो भनिन्‌: ‘हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।’ तिनलाई र तिनीसित आएका यहुदीहरूलाई रोइरहेको देखेपछि येसु अत्यन्तै व्याकुल हुनुभयो र सुस्केरा हाल्नुभयो। अनि उहाँले सोध्नुभयो: ‘तिमीहरूले उसलाई कहाँ राखेका छौ?’ तिनीहरूले उहाँलाई भने: ‘प्रभु, आएर हेर्नुहोस्‌।’ तब येसु रुनुभयो। यो देखेर यहुदीहरूले भन्‍न थाले: ‘हेर त, उहाँले तिनलाई कत्ति माया गर्नुहुँदो रहेछ!’”—युहन्‍ना ११:३२-३६.

यहाँ येसुले महसुस गर्नुभएको करुणालाई तीन वटा अभिव्यक्‍तिद्वारा सङ्‌केत गरिएको छ: “सुस्केरा हाल्नुभयो,” “अत्यन्तै व्याकुल हुनुभयो” र “रुनुभयो।” यो हृदयस्पर्शी विवरणमा चलाइएका मूल भाषाका शब्दहरूले आफ्नो प्रिय साथी लाजरसको मृत्यु हुँदा येसु अत्यन्तै दुःखित हुनुभएको र लाजरसका दिदीहरू रोइरहेको देखेर उहाँको आँखाबाट बरबरी आँसु झरेको कुरालाई बुझाउँछ। *

उल्लेखनीय कुरा त के छ भने येसुले यसअघि पनि मरिसकेका दुई जनालाई जीवित पारिसक्नुभएको थियो। अब उहाँले लाजरसलाई पनि जीवित पार्न लाग्नुभएको थियो। (युहन्‍ना ११:११, २३, २५) तैपनि उहाँ “रुनुभयो।” त्यसैले मानिसहरूलाई जीवित पार्ने कुरा येसुको लागि केवल एउटा कर्तव्यबोधले गर्ने काम मात्र त होइन। बरु यस अवसरमा देखिएको उहाँको कोमल र गहिरो भावनाले उहाँ मृत्युलाई नामेट पार्न तीव्र इच्छा गर्नुहुन्छ भनेर स्पष्ट रूपमा सङ्‌केत गर्छ।

लाजरसलाई फेरि जीवित पार्दा येसुमा देखिएको कोमल र गहिरो भावनाले उहाँ मृत्युलाई नामेट पार्न तीव्र इच्छा गर्नुहुन्छ भनेर स्पष्ट पार्छ

येसु “परमेश्‍वरको प्रतिरूप हुनुहुन्छ।” त्यसैले मृतकहरूलाई फेरि जीवित पार्ने सन्दर्भमा यहोवाको भावना पनि येसुको जस्तै छ भनेर हामी आशा गर्न सक्छौँ। (हिब्रू १:३) मृतकहरूलाई फेरि जीवित पार्ने यहोवाको इच्छाबारे वफादार व्यक्‍ति अय्युबले यसो भने: “मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र? . . . तपाईँले मलाई बोलाउनुहुनेछ र म जवाफ दिनेछु। आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ।” (अय्युब १४:१४, १५) यहाँ परमेश्‍वर मृतकहरूलाई फेरि जीवित पार्न “तीव्र इच्छा” गर्नुहुन्छ भनेर बताइएको छ। (उत्पत्ति ३१:३०; भजन ८४:२) यहोवा मृतकहरूलाई फेरि जीवित पार्ने समयलाई उत्सुक भई कुर्दै हुनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

के हामी मृतकहरू फेरि जीवित हुने प्रतिज्ञामा साँच्चै विश्‍वास गर्न सक्छौँ? पक्कै सक्छौँ। यहोवा र उहाँको छोरा यो प्रतिज्ञा पूरा गर्न इच्छुक मात्र होइन, सक्षम पनि हुनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। यस प्रतिज्ञाले तपाईँको लागि कस्तो अर्थ राख्छ? तपाईँसित मरिसकेका आफ्ना प्रियजनहरूलाई यसै पृथ्वीमा, बिलकुलै फरक अवस्थामा फेरि भेट्‌न पाउने आशा छ।

यहोवा परमेश्‍वरले पहिलो मानवलाई एउटा सुन्दर बगैँचामा राख्नुभएको थियो। महिमित राजा येसु ख्रिष्टको अधीनमा भएको उहाँको स्वर्गीय राज्यद्वारा यस पृथ्वीलाई फेरि सुरुको जस्तै सुन्दर बगैँचा बनाउने प्रतिज्ञा उहाँले गर्नुभएको छ। (उत्पत्ति २:७-९; मत्ति ६:१०; लुका २३:४२, ४३) त्यो सुन्दर बगैँचारूपी पृथ्वीमा मानिसजातिले सदाको लागि जीवनको आनन्द उठाउन पाउनेछन्‌ र तिनीहरूले कुनै पनि किसिमको रोगबिमार झेल्नुपर्ने छैन। (प्रकाश २१:१-४; अय्युब ३३:२५; यसैया ३५:५-७) त्यतिबेला घृणा, जातीय पूर्वाग्रह, हिंसा अनि आर्थिक दमन सबै विगतको कुरा हुनेछ। हो, सफा पारिएको यस्तो पृथ्वीमा यहोवा परमेश्‍वरले येसु ख्रिष्टमार्फत मृतकहरूलाई जीवित पार्नुहुनेछ।

ख्रिष्ट येसुको फिरौतीको बलिदानको आधारमा मृतकहरूलाई फेरि जीवित पारिँदा सबै मानिसजाति आनन्दित हुनेछन्‌

यस भागको सुरुमा उल्लेख गरिएको ती युवतीले पनि अहिले त्यस्तै आशा पाएकी छिन्‌। आमाको मृत्यु भएको सात वर्षपछि यहोवाका साक्षीहरूले तिनलाई बाइबलको गहिरो अध्ययन गर्न मदत गरे। तिनी भन्छिन्‌: “फेरि जीवित हुने आशाबारे सुन्दा म धुरुधुरु रोएँ। आमालाई फेरि भेट्‌न पाउँछु भन्‍ने कुरा थाह पाउँदा मेरो खुसीको सीमै रहेन।”

तपाईँ पनि आफूले गुमाएको प्रियजनलाई फेरि भेट्‌ने तीव्र इच्छा गर्दै हुनुहुन्छ भने बाइबलले दिएको यस्तो साँचो आशामाथिको विश्‍वास बलियो बनाउन यहोवाका साक्षीहरू तपाईँलाई मदत गर्न तयार छन्‌। तपाईँलाई पायक पर्ने सभाभवनमा गएर वा पृष्ठ ३२ मा उल्लिखित ठेगानामा सम्पर्क राखेर तपाईँ यहोवाका साक्षीहरूलाई भेट्‌न सक्नुहुन्छ।

^ अनु. 20 “सुस्केरा हाल्नुभयो” भनेर अनुवाद गरिएको ग्रीक क्रियाले (एम्ब्रिमाओमाइ) अत्यन्तै वा गहिरो पीडा हुनु भन्‍ने अर्थ दिन्छ। एक बाइबलविद्‌ यसो भन्छन्‌: “यहाँ यसले पक्कै पनि गहिरो भावनाले गर्दा येसुको मनबाट स्वतः सुस्केरा निस्कन पुगेको कुरालाई जनाउँछ।” “व्याकुल हुनुभयो” भनेर अनुवाद गरिएको ग्रीक शब्दले (टारास्सो) औडाहा हुनुलाई बुझाउँछ। एक कोशकारअनुसार यसको अर्थ हो, “भित्रभित्रै छटपटी हुनु, . . . गहिरो पीडा वा दुःखले गर्दा प्रभावित हुनु।” “रुनुभयो” भन्‍ने शब्द एउटा ग्रीक क्रियाबाट (डाक्रेओ) आएको हो, जसको अर्थ हो, “आँसु बगाउनु, सुँक्क-सुँक्क गर्दै रुनु।”