सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय पाँच

बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌

बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌

१, २. छोराछोरी हुर्काउँदा आमाबाबुले कसबाट सहायता लिनुपर्छ?

 “हेर छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌।” यो अभिव्यक्‍ति करीब ३,००० वर्षअघि एक जना कृतज्ञ बुबाले गरे। (भजन १२७:३) साँच्चै, आमाबाबु हुने आनन्द परमेश्‍वरले दिनुहुने अनमोल पुरस्कार हो। यो पुरस्कार विवाहित व्यक्‍तिहरूलाई मात्र उपलब्ध छ। तथापि, छोराछोरी जन्माउनेहरूले आनन्दबाहेक जिम्मेवारीहरू पनि वहन गर्नुपर्छ।

विशेषगरि आज, छोराछोरी हुर्काउनु ठूलो चुनौती भएको छ। तापनि यसलाई धेरैले सफलतापूर्वक पूरा गरेका छन्‌ र त्यसो गर्ने तरिकाबारे ईश्‍वरप्रेरित भजनरचयिताले यसो भने: “परमप्रभुलेनै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्‌।” (भजन १२७:१) यहोवाले दिनुभएका निर्देशनहरू जति मन लाएर पालन गर्नुहुन्छ, तपाईं उति नै राम्रो आमा वा बुबा बन्‍नुहुनेछ। बाइबल भन्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌।” (हितोपदेश ३:५) बच्चा हुर्काउने यो २० वर्षे कार्यक्रम आरम्भ गर्नुहुँदा के तपाईं यहोवाको निर्देशन स्वीकार्न तयार हुनुहुन्छ?

बाइबलको दृष्टिकोण स्वीकार्ने

३. छोराछोरी हुर्काउँदा बुबाको जिम्मेवारी के हो?

विश्‍वभरि, थुप्रै परिवारका लोग्नेमानिसले बच्चालाई प्रशिक्षण दिने काम विशेषतः स्वास्नीमान्छेको मात्रै हो भन्ठान्छन्‌। हो, परमेश्‍वरको वचनमा पनि बुबालाई मुख्यतः रोटी कमाउने जिम्मेवारी दिइएको छ। बाइबल भन्छ: “सबैभन्दा पहिले घरका बाहिरका कुराहरू सह्‍माल्‌। खेतमा सबै तयार गर्‌, त्यसपछि मात्र घरको प्रबन्ध मिला।” (हितोपदेश २४:२७) अतः परमेश्‍वरको दृष्टिमा बच्चालाई प्रशिक्षण दिने काम आमा र बुबा दुवैको हो।—हितोपदेश १:८, ९.

४. हामीले छोराहरूलाई छोरीहरूभन्दा किन उच्च श्रेणीको ठान्‍नु हुँदैन?

आफ्ना छोराछोरीलाई तपाईं कुन दृष्टिले हेर्नुहुन्छ? प्राप्त रिपोर्टअनुसार, एसियाली आमाबाबु “छोरी जन्मँदा अक्सर खुशी हुँदैनन्‌।” छोरीलाई तुच्छ ठान्‍ने यो प्रवृत्ति ल्याटिन अमेरिकाका केही “पठित परिवारहरूमा” समेत अझै देखिन्छ। तर छोरीहरू निम्नस्तरका सन्तान होइनन्‌। पुरातन समयको प्रख्यात पिता याकूबले आफ्ना जम्मै छोरा तथा त्यतिखेरसम्म जन्मेका छोरीहरूलाई समेत “परमेश्‍वरले [मलाई] अनुग्रह गरी दिनुभएको” सन्तान भनेर स्वीकारे। (उत्पत्ति ३३:१-५; ३७:३५) यस्तैगरि येशूले पनि उहाँको सामु ल्याइएका सबै “बालकहरूलाई” (केटाकेटी दुवै) आशिष्‌ दिनुभयो। (मत्ती १९:१३-१५) त्यहाँ उहाँले निश्‍चय नै यहोवाको दृष्टिकोण प्रकट गर्नुभयो।—व्यवस्था १६:१४.

५. पतिपत्नीले छोराछोरी जन्माउने फैसला गर्नुअघि कुन कुन कुरालाई विचार गर्नुपर्छ?

के तपाईंको समाजमा स्वास्नीमान्छेले सकेसम्म धेरै सन्तान जन्माएको अपेक्षा गरिन्छ? तर कति जना छोराछोरी जन्माउने हो, यो त वास्तवमा पतिपत्नी आफैले फैसला गर्ने कुरा हो। किनकि थुप्रै छोराछोरीलाई खानेकुरा, लाउने लुगा तथा शिक्षा दिने साधन आमाबाबुसित छैन भने नि? छोराछोरी जन्माउनअघि दम्पतीले यी कुराहरूमाथि निश्‍चयै विचार गर्नुपर्छ। कुनै कुनै दम्पती आफ्ना जम्मै बच्चाको पालनपोषण गर्न असमर्थ हुन्छन्‌। अतः आफ्ना केही बच्चाको रेखदेख नातेदारहरूलाई सुम्पिन्छन्‌। के यो चलन राम्रो हो? होइन। यसो गर्दैमा आमाबाबु छोराछोरीको दायित्वबाट मुक्‍त हुँदैनन्‌। किनकि बाइबल भन्छ: “तर कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्‍वासलाई इन्कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) आफ्नो “परिवार[मा]” कति जना छोराछोरी हुनेछन्‌, यसको फैसला जिम्मेवार दम्पतीहरूले पहिले नै गर्ने कोसिस गर्छन्‌। यसो गर्दा तिनीहरू ‘आफ्नो परिवारको पालनपोषण’ गर्न सक्षम हुनेछन्‌। परिवार नियोजन गर्ने कि नगर्ने? यो एउटा व्यक्‍तिगत फैसला हो। र पतिपत्नीले परिवार नियोजन गर्ने फैसला गरेपछि कुन चाहिं गर्भनिरोध उपाय अपनाउने हो, त्यसको छनौट पनि तिनीहरू आफैले गर्नुपर्छ। “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।” (गलाती ६:५) तर कुनै पनि रूपमा गर्भपात गराउने गर्भनिरोध बाइबल सिद्धान्त विपरीत हुन्छ। यहोवा परमेश्‍वर “जीवनको मूल” हुनुहुन्छ। (भजन ३६:९) अतः गर्भधारण गरिसकेको जीवनलाई नष्ट गर्नु घोर अनादर तथा हत्या सरह हुन्छ।—प्रस्थान २१:२२, २३; भजन १३९:१६; यर्मिया १:५.

आफ्नो बच्चाका आवश्‍यकताहरू पूरा गर्ने

६. बालकको प्रशिक्षण कहिलेदेखि थाल्नुपर्छ?

हितोपदेश २२:६ भन्छ: “बालकलाई ठीक बाटोमा लगाऊ।” छोराछोरीलाई प्रशिक्षण दिनु आमाबाबुको अर्को ठूलो जिम्मेवारी हो। तर यस्तो प्रशिक्षण कहिलेदेखि थाल्नुपर्छ? कलिलै उमेरमा। तिमोथीले “बाल्यकालदेखि” प्रशिक्षण पाएका थिए र यसको चर्चा प्रेरित पावलले गरेका छन्‌। (२ तिमोथी ३:१५) यहाँ प्रयोग गरिएको युनानी शब्दको अर्थ शिशु अथवा गर्भको बच्चा दुवै हुनसक्छ। (लूका १:४१, ४४; प्रेरित ७:१८-२०) अतः तिमोथीले कलिलै उमेरदेखि प्रशिक्षण पाएको थियो र यो अति उपयुक्‍त थियो। किनकि बच्चाको प्रशिक्षण शैशवकालदेखि नै थाल्नुपर्छ। शिशु पनि ज्ञानको भोको हुन्छ।

७. (क) आमाबाबु दुवैले बच्चासित घनिष्ठ सम्बन्ध विकास गर्नु किन महत्त्वपूर्ण हो? (ख) यहोवा र उहाँको एक मात्र पुत्रबीच सुरुदेखि नै कस्तो सम्बन्ध थियो?

एउटी आमा भन्छिन्‌: “आफ्नो बच्चा देख्नासाथै म उसलाई माया गर्न थालें।” र अधिकांश आमाहरू यसै भन्छन्‌। जन्मपश्‍चात्‌ आमा र बच्चाले एकअर्कासित समय बिताउँदै जाँदा तिनीहरूबीचको त्यो सुन्दर बन्धन बढ्‌दै जान्छ। आमाले बच्चालाई आफ्नो दूध खुवाउँदा त्यो बन्धन अझ बलियो हुन्छ। (तुलना गर्नुहोस्‌ १ थिस्सलोनिकी २:७) बच्चाका भावनात्मक आवश्‍यकताहरू पूरा गर्न आमाले उसलाई छुनु, ऊसित कुरा गर्नु असाध्यै जरुरी छ। (तुलना गर्नुहोस्‌ यशैया ६६:१२) तर बुबाको भूमिकाबारे नि? उसले पनि आफ्नो नवजात शिशुसित घनिष्ठ सम्बन्ध गाँस्नुपर्छ। यसको उदाहरण स्वयं यहोवा हुनुहुन्छ। हितोपदेशको पुस्तकमा यहोवा र उहाँको एक मात्र पुत्रबीचको सम्बन्ध चित्रित गरिएको छ। त्यहाँ प्रतीकात्मक भाषामा येशू यसो भन्‍नुहुन्छ: “परमप्रभुको सृष्टिको प्रारम्भनै म हुँ, . . . म उहाँको . . . प्रिय र आनन्दको पात्रझैं दिनहुँ उहाँकै सामने खेल्दै बस्थें।” (हितोपदेश ८:२२, ३०; यूहन्‍ना १:१४) यस्तैगरि, असल बुबाले आफ्नो बच्चासित सुरुदेखि नै मायालु तथा न्यानो सम्बन्ध खेती गर्छ। एक जना बुबा यसो भन्छन्‌: “असाध्यै माया गर्नुहोस्‌। कुनै पनि बच्चा धेरै माया पाएर मरेको अझसम्म सुनिएको छैन।”

८. आमाबाबुहरूले शिशुको दिमागलाई सकेसम्म चाँडो सचेत पार्न के गर्नसक्छन्‌?

तर बच्चालाई यतिले मात्र पुग्दैन। जन्मेदेखि तिनीहरूको दिमाग विभिन्‍न जानकारी हासिल गर्न तथा थुपार्न तयार हुन्छ। र यस्तो ज्ञान तिनीहरूले प्रथमतः आमाबाबुबाट टिप्छन्‌। उदाहरणका लागि, भाषालाई लिनुहोस्‌। बालकले कति राम्ररी कुरा गर्न तथा पढ्‌न सिक्नेछ, त्यो “आमाबाबुसितको प्रारम्भिक अन्तरक्रियामा भर गर्छ।” यसकारण तपाईंको बच्चासित ऊ शिशु छँदादेखि नै कुरा गर्नुहोस्‌, उसलाई पढेर सुनाउनुहोस्‌। चाँडै ऊ तपाईंको नकल गर्न इच्छुक हुनेछ। र तपाईं उसलाई पढाउन थाल्न सक्नुहुनेछ। सम्भवतः स्कूल जानअघि नै उसले पढ्‌न सक्नेछ। विशेषगरि तपाईंको देशमा शिक्षकहरू कम र विद्यार्थीहरू प्रशस्त छन्‌ भने यो धेरै फायदाजनक हुनसक्छ।

९. आमाबाबुहरूले सम्झनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

तर मसीही आमाबाबु प्रथमतः बच्चाको आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्न इच्छुक हुन्छन्‌। (हेर्नुहोस्‌ व्यवस्था ८:३) किन? किनभने तिनीहरू आफ्नो बच्चालाई मसीही व्यक्‍तित्व विकास गर्न अर्थात्‌ “नयाँ व्यक्‍तित्व” धारण गर्न मदत दिन चाहन्छन्‌। (एफिसी ४:२४) यसका लागि आमाबाबुले सही निर्माण सामग्री र उचित निर्माण प्रणाली छान्‍नुपर्छ।

आफ्नो बच्चालाई सच्चाइ सिकाउनुहोस्‌

१०. छोराछोरीले के कस्ता गुनहरू विकास गर्नुपर्छ?

१० कुनै पनि भवनको गुणस्तर त्यसमा प्रयोग भएका सामग्रीहरूमा भर पर्छ। मसीही व्यक्‍तित्वका लागि सबैभन्दा असल निर्माण सामग्रीहरू “सुन, चाँदी र बहुमूल्य पत्थर” हुन्‌ भनी प्रेरित पावलले भने। (१ कोरिन्थी ३:१०-१२) यी सुन, चाँदी र बहुमूल्य पत्थरहरू वास्तवमा विश्‍वास, बुद्धि, समझशक्‍ति, वफादारी, श्रद्धा यहोवा र उहाँका नियमहरूप्रति मायालु मूल्यांकनका प्रतीकहरू हुन्‌। (भजन १९:७-११; हितोपदेश २:१-६; ३:१३, १४) आमाबाबुले आफ्ना छोराछोरीलाई सानैदेखि यी गुनहरू विकास गर्ने मदत कसरी दिनसक्छन्‌? उहिले नै प्रस्तुत एउटा प्रणाली अपनाएर।

११. इस्राएली आमाबाबुले छोराछोरीलाई ईश्‍वरीय व्यक्‍तित्व विकसित गर्ने मदत कसरी दिन्थे?

११ इस्राएलीजाति प्रतिज्ञा गरिएको देशमा पस्न केही समयअघि यहोवाले इस्राएली आमाबाबुलाई भन्‍नुभयो: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्नो छोरा-छोरीहरूलाई होशियारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठ्‌दा तिनको चर्चा गर।” (व्यवस्था ६:६, ७) हो, आमाबाबु स्वयं उदाहरण, मित्र, विचार आदानप्रदान गर्ने साथी तथा शिक्षक बन्‍नुपर्छ।

१२. आमाबाबुहरू स्वयं राम्रो उदाहरण बन्‍नु किन अत्यावश्‍यक छ?

१२ उदाहरण बन्‍नुहोस्‌। प्रथमतः यहोवाले भन्‍नुभयो: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख।” त्यसपछि मात्र उहाँले यो थप्नुभयो: “त्यो तिमीहरूले आफ्नो छोराछोरीलाई होशियारीसाथ सिकाओ।” यसकारण, ईश्‍वरीय गुनहरू सर्वप्रथम आमाबाबुको हृदयमा हुनुपर्छ। आमाबाबुले सच्चाइलाई माया गर्नुपर्छ तथा त्यसैअनुरूप जीवन बिताउनुपर्छ। यसो गरेमा मात्र उसले छोराछोरीको हृदयमा प्रभाव पार्न सक्नेछ। (हितोपदेश २०:७) किन? किनभने केटाकेटी सुनेकोभन्दा देखेको कुराबाट बढी प्रभावित हुन्छन्‌।—लूका ६:४०; १ कोरिन्थी ११:१.

१३. केटाकेटीलाई ध्यान दिने सम्बन्धमा मसीही आमाबाबुहरूले येशूको उदाहरण कसरी अनुकरण गर्नसक्छन्‌?

१३ मित्र बन्‍नुहोस्‌। यहोवाले इस्राएली आमाबाबुहरूलाई भन्‍नुभयो: ‘आफ्ना छोराछोरीसित घरमा बस्ता, बाटोमा हिंड्‌दा कुरा गर।’ यसको अर्थ, आमाबाबुहरू जति नै व्यस्त भए तापनि तिनीहरूले केटाकेटीसित समय बिताउनुपर्छ। येशूले समेत केटाकेटीलाई आफ्नो समय दिनुपर्छ भनेर सम्झनुभयो। उहाँको सेवकाईको अन्ततिर “मानिसहरूले ससाना केटाकेटीहरूलाई उहाँले तिनलाई छोइदिऊन्‌ भन्‍ने खातिरले, उहाँकहाँ ल्याए।” तब येशूले के गर्नुभयो? “उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।” (मर्कूस १०:१३, १६) येशूसित धेरै समय थिएन। उहाँको मृत्युको घडी तीव्र गतिले नजीक आइरहेको थियो। र पनि, उहाँले ती केटाकेटीहरूलाई आफ्नो समय र ध्यान दिनुभयो। कति राम्रो उदाहरण!

१४. आमाबाबुहरूले छोराछोरीसित समय बिताउनु किन जरुरी छ?

१४ विचार आदानप्रदान गर्नुहोस्‌। आफ्नो बच्चासित समय बिताउने गर्नुभयो भने, ऊसित विचार आदानप्रदान गर्न सक्नुहुन्छ। तपाईंले जति त्यसो गर्नुहुन्छ, उसको व्यक्‍तित्व विकासमा त्यति नै ध्यान दिन सक्नुहुन्छ। तथापि, विचार आदानप्रदान गर्नुको अर्थ ऊसित कुरा मात्र गर्नु होइन। ब्राजिलकी एउटी आमाले यसो भनी: “मैले सुन्‍ने कला अर्थात्‌ मन लगाएर सुन्‍न सिक्नुपऱ्‍यो।” यस आमाको धैर्य फलदायी भयो। उसको छोराले पनि ऊसित मन खोलेर कुरा गर्न थाल्यो।

१५. मनोरञ्जनबारे कुन कुरा सम्झनुपर्छ?

१५ छोरोछोरीलाई “हाँस्ने एउटा समय . . . नाच्ने एउटा समय” अर्थात्‌ रमाइलो गर्ने समय चाहिन्छ। (उपदेशक ३:१, ४; जकरिया ८:५) आमाबाबु तथा छोराछोरी मिलेर रमाइलो गर्दा निकै लाभप्रद हुनसक्छ। तर दुःखको कुरा, धेरै घरहरूमा रमाइलो गर्नुको अर्थ टिभी हेर्नु हो। टिभीमा प्रस्तुत केही कार्यक्रमहरू राम्रा भए तापनि धेरैजसो कार्यक्रमहरू चाहिं हानिकारक हुन्छन्‌। साथै, टिभी हेर्ने बानीले परिवारमा विचारहरूको आदानप्रदान गर्ने समय खानसक्छ। अतः आफ्ना छोराछोरीसित मिलेर केही सृजनात्मक काम गरे कसो होला? गीत गाउनुहोस्‌, खेल खेल्नुहोस्‌, साथीहरूसित भेटघाट गर्नुहोस्‌ अथवा रमाइला ठाउँहरू हेर्न जानुहोस्‌। यस्ता गतिविधिहरूद्वारा अझ खुलेर विचारको आदानप्रदान गर्न सकिन्छ।

१६. आमाबाबुहरूले आफ्ना छोराछोरीलाई यहोवाबारे के सिकाउनुपर्छ र कसरी?

१६ शिक्षक हुनुहोस्‌। यहोवाले भन्‍नुभयो: “ती [आज्ञा] आफ्ना छोरा-छोरीहरूलाई होशियारीसाथ सिकाओ।” के सिकाउने तथा कसरी सिकाउने, त्यो सन्दर्भबाट बुझ्न सकिन्छ। प्रथमतः “तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर।” (व्यवस्था ६:५) यसपछि, ‘ती आज्ञा तिमीहरूले आफ्ना छोराछोरीलाई सिकाओ।’ यहोवा तथा उहाँका नियमहरूप्रति पूर्ण हृदयदेखि प्रेम विकास गराउने उपदेश दिनुहोस्‌। (तुलना गर्नुहोस्‌ हिब्रू ८:१०) “सिकाओ” भन्‍ने शब्दको अर्थ हो बारम्बार दोहोऱ्‍याएर सिकाउनु। अतः वास्तवमा आफ्ना छोराछोरीमा ईश्‍वरीय व्यक्‍तित्व विकसित गराउने मुख्य तरिका तिनीहरूसित बारम्बार कुरा गरिरहनु हो भनेर यहोवा भन्‍नुहुन्छ। यसमा तिनीहरूसित नियमित रूपमा बाइबल अध्ययन गर्नु समावेश छ।

१७. आमाबाबुले आफ्नो बच्चामा के विकास गर्नु आवश्‍यक पर्नसक्छ? किन?

१७ तर केटाकेटीको दिमागमा कुनै असल कुरा पसाउनु सजिलो हुँदैन। यो धेरैजसो आमाबाबुहरूलाई थाह छ। प्रेरित पत्रुसले आफ्ना सँगी मसीहीहरूलाई यसरी प्रोत्साहन दिए: “नयाँ जन्मेका बालकहरूजस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू मुक्‍तिको निम्ति बढ्‌दै जाओ।” (१ पत्रुस २:२) “तृष्णा गर” भन्‍नाले साधारणतया धेरै जना आत्मिक खानेकुराको भोको हुँदैनन्‌ भन्‍ने कुरा बोध हुन्छ। अतः छोराछोरीमा यस्तो भोक जगाउन आमाबाबुहरूले अनेकौं प्रयास गर्नु जरुरी हुनसक्छ।

१८. आमाबाबुलाई येशूका कुन कुन शिक्षण प्रणालीको अनुकरण गर्न प्रोत्साहित गरिन्छ?

१८ येशूले उदाहरणहरूद्वारा मानिसहरूको हृदय प्रभावित पार्नुभयो। (मर्कूस १३:३४; लूका १०:२९-३७) यो शिक्षाप्रणाली विशेषगरि केटाकेटीसित निकै प्रभावशाली हुन्छ। सम्भवतः बाइबलका कथाहरू भएको मेरो पुस्तक-बाट लिएका रोचक तथा रमाइला कथाहरू भन्दै बाइबल सिद्धान्तहरू सिकाउनुहोस्‌। a केटाकेटीको ध्यानाकर्षित गर्नुहोस्‌। तिनीहरूलाई बाइबल घटनाहरूको चित्र कोर्न तथा अभिनय गर्न दिनुहोस्‌। येशूले पनि प्रश्‍नहरू चलाउनुहुन्थ्यो। (मत्ती १७:२४-२७) परिवारसित अध्ययन गर्दा उहाँको यो शिक्षण प्रणाली नकल गर्नुहोस्‌। परमेश्‍वरको आज्ञा सोझै बताउनुको साटो यस्ता केही प्रश्‍नहरू पनि सोध्नुहोस्‌: यहोवाले हामीलाई किन यो आज्ञा दिनुभयो? यो पालन गऱ्‍यौं भने के हुनेछ? यो उल्लंघन गरेमा के हुनेछ? यस्ता प्रश्‍नहरूले केटाकेटीलाई सोच्न बाध्य गराउँछ। साथै, परमेश्‍वरका आज्ञाहरू कति व्यवहारिक तथा लाभप्रद छन्‌, त्यो बुझ्ने मदत पनि उक्‍त प्रश्‍नहरूले दिनसक्छन्‌।—व्यवस्था १०:१३.

१९. आफ्ना छोराछोरीसित व्यवहार गर्दा आमाबाबुले बाइबलका सिद्धान्तहरू अनुसरण गरेमा छोराछोरी कसरी लाभान्वित हुनेछन्‌?

१९ उदाहरण, मित्र, विचारहरूको आदानप्रदान गर्ने साथी तथा शिक्षक बन्‍नुभएर तपाईंले आफ्नो बच्चालाई सानै उमेरदेखि यहोवा परमेश्‍वरसित नजीकको सम्बन्ध गाँस्ने मदत दिन सक्नुहुन्छ। यो सम्बन्धले गर्दा तपाईंको बच्चा एक जना सुखी मसीही बन्‍न प्रोत्साहित हुनेछ। मैत्र दबाब तथा प्रलोभनहरू आइपर्दा पनि विश्‍वासमा अडिग रहन उसले हर प्रयास गर्नेछ। यो अनमोल सम्बन्धको मूल्यांकन गर्न उसलाई सधैं मदत गर्नुहोस्‌।—हितोपदेश २७:११.

अनुशासनको खास आवश्‍यकता

२०. अनुशासन के हो र त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ?

२० अनुशासन मन तथा हृदय सुधार्ने प्रशिक्षण हो। केटाकेटीलाई यसको निरन्तर खाँचो पर्छ। निरन्तर “बालकहरूलाई प्रभुको शिक्षा र चे[ता]उनीमा पालन-पोषण” गर्ने सल्लाह प्रेरित पावल बुबाहरूलाई दिन्छन्‌। (एफिसी ६:४) आमाबाबुले यहोवाले जस्तै प्रेमपूर्वक अनुशासन दिनुपर्छ। (हिब्रू १२:४-११) प्रेममा आधारित अनुशासन तर्कसहित दिन सकिन्छ। यसैकारण हामीलाई “अर्ती [अनुशासन, NW] सुन” पनि भनिएको छ। (हितोपदेश ८:३३) अनुशासन कसरी दिनुपर्छ?

२१. छोराछोरीलाई अनुशासनमा राख्दा आमाबाबुहरूले कुन कुन सिद्धान्तहरूलाई ध्यान दिनुपर्छ?

२१ कुनै कुनै आमाबाबुको विचारमा छोराछोरीलाई अनुशासनमा राख्नुको अर्थ तिनीहरूलाई धम्काउनु, गाली गर्नु अथवा तिनीहरूको अपमानसमेत गर्नु हो। तर सोही विषय छलफल गर्दा प्रेरित पावल भन्छन्‌: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ।” (एफिसी ६:४) सबै मसीहीहरूलाई “सबैप्रति भला [हुन र] . . . विरोध गर्नेहरूलाई नम्रसँग” सच्याउन आग्रह गरिएको छ। (२ तिमोथी २:२४, २५) अतः, मसीही आमाबाबुहरूले आफ्ना छोराछोरीलाई अनुशासन दिंदा दृढ हुनुको साथै उपरोक्‍त शब्दहरूलाई पनि ध्यानमा राख्छन्‌। आपसमा तर्कसहित कुरा गरेर पनि कहिलेकाहीं अनुशासन दिन सकिन्छ। तर कहिले चाहिं कुनै न कुनै सजाय दिनु आवश्‍यक पर्नसक्छ।—हितोपदेश २२:१५.

२२. बच्चालाई सजायको खाँचो पर्दा उसलाई कुन कुरा बुझ्ने मदत दिनु आवश्‍यक छ?

२२ बेग्लाबेग्लै केटाकेटीलाई बेग्लाबेग्लै प्रकारको अनुशासन चाहिन्छ। केहीलाई “कुराले मात्र” सुधार्न सकिंदैन। यस्ता अनाज्ञाकारीहरूलाई सजाय दिनु नै तिनीहरूका लागि लाभदायक हुनसक्छ। (हितोपदेश १७:१०; २३:१३, १४; २९:१९) तथापि, बच्चाले किन सजाय पाउँदैछ, त्यो उसलाई राम्ररी बुझाउनुपर्छ। “बेंत र हप्काइले बुद्धि दिन्छ।” (हितोपदेश २९:१५; अय्यूब ६:२४) तर सजायको सीमा हुन्छ। यहोवाले आफ्ना जनहरूलाई यसो भन्‍नुभयो: “ठीकसँग म तँलाई चेताउनी दिनेछु।” (यर्मिया ४६:२८ख) बच्चालाई चोट वा हानि पुग्नेगरि रीसको झोंकमा चाबुक लाउनु तथा जोडसित पिट्‌नु बाइबलमा कदापि स्वीकार्य छैन।—हितोपदेश १६:३२.

२३. सजाय पाउने बेला बच्चाले कुन कुरा बुझ्न सक्नुपर्छ?

२३ यहोवाले आफ्ना जनहरूलाई अनुशासन दिनअघि यो अग्रिम सूचना दिनुभयो: “नडरा। . . . किनभने म तँसित छु।” (यर्मिया ४६:२८क) यस्तैगरि आमाबाबुले बच्चालाई अनुशासन दिनुपर्छ। तर त्यसो गर्दा बच्चालाई कहिले पनि त्यजित अथवा एक्लो महसुस गर्न दिनुभएन। (कलस्सी ३:२१) उपयुक्‍त सजाय पाउँदासमेत बच्चाले आमाबाबु ‘ऊसितै’ छन्‌ अथवा उसैको पक्षमा छन्‌ भनी महसुस गर्न सक्नुपर्छ।

बच्चालाई हानिबाट बचाउनुहोस्‌

२४, २५. बच्चाहरूलाई आजभोलि जोगाउनुपर्ने एउटा कुप्रभाव के हो?

२४ थुप्रै वयस्कहरूले आफू केटाकेटी हुँदा बिताएका क्षणहरू खुशीका दिन थिए भनी सम्झन्छन्‌। तिनीहरूले सुरक्षाको त्यो न्यानोपन अझै सम्झन्छन्‌। जे आइपरे तापनि आमाबाबुले तिनीहरूको रेखदेख गर्नेछन्‌ भनी तिनीहरू ढुक्क थिए। यस्तै भावना छोराछोरीमा होस्‌ भनी आमाबाबु चाहन्छन्‌। तर आजको यो बिग्रँदो संसारमा छोराछोरीलाई सुरक्षित राख्नु झन्‌ झन्‌ गाह्रो भइरहेछ।

२५ हालसालै उठेको एउटा डरलाग्दो समस्या हो, केटाकेटीलाई गरिने यौन दुर्व्यवहार। प्राप्त रिपोर्टअनुसार, मलेसियामा केटाकेटीको यौन दुर्व्यवहार यही दश वर्षभित्र चार गुणा बढेको छ। जर्मनीमा हरेक वर्ष करीब ३,००,००० केटाकेटीलाई यौन दुर्व्यवहार गरिन्छ। एउटा दक्षिण अमेरिकी देशमा गरिएको अध्ययनअनुसार यौन दुर्व्यवहारको शिकार हुने बच्चाहरूको संख्या त्रासलाग्दो गरी ९०,००,००० पुगेको छ! र सबैभन्दा दुःखको कुरा चाहिं धेरैजसो केटाकेटीहरूलाई तिनीहरूको आफ्नै घरमा आफूले चिनेका तथा विश्‍वास गरेका व्यक्‍तिहरूले नै दुर्व्यवहार गरेका हुन्छन्‌। तथापि, यहोवाका साक्षीहरूका बच्चाहरूले आफ्ना विश्‍वासी आमाबाबुबाट ठूलो सुरक्षा पाएको हुनुपर्छ। अब यी आमाबाबुहरूले आफ्ना बच्चाहरूलाई कसरी बचाउनसक्छन्‌?

२६. छोराछोरीलाई सुरक्षित राख्ने उपायहरू के हुन्‌ र ज्ञानले बच्चालाई कसरी बचाउनसक्छ?

२६ प्राप्त अनुभवअनुसार, यौन विषयबारे कम ज्ञान हुने केटाकेटीहरू प्रायः यौन दुर्व्यवहारको शिकार हुन्छन्‌। अतः यस विषयबारे बच्चालाई सानै उमेरदेखि शिक्षा दिनु सुरक्षाको निम्ति चालिएको प्रथम खुड्‌किलो हो। ज्ञानले बच्चालाई “खराब चालबाट र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।” (हितोपदेश २:१०-१२) तर कुन प्रकारको ज्ञान? नैतिक तवरमा के सही र के गलत हो भन्‍नेबारे बाइबल सिद्धान्तहरूको ज्ञान। साथै, केही वयस्कहरूले समेत खराब काम गर्छन्‌ र तिनीहरूले यस्तो अनुचित कार्य गर्ने सुझाउ दिंदा मान्‍नु पर्दैन भनी बच्चालाई थाह हुनुपर्छ। (तुलना गर्नुहोस्‌ दानियल १:४, ८; ३:१६-१८) यस्तो सल्लाह एक दुइ पटक मात्र दिएर पुग्दैन। केटाकेटीले अक्सर जुनसुकै कुरा पनि बारम्बार सुनेपछि मात्र राम्ररी सम्झन्छन्‌। केटाकेटी हुर्कंदै जाँदा बुबाले छोरीलाई प्रेमपूर्वक जवान स्त्रीलाई जस्तैगरि कदर गर्नुपर्छ। र आमाले पनि छोरालाई जवान पुरुषलाई झैं आदर दिनुपर्छ। फलतः बच्चाले उचित पारस्परिक व्यवहार कस्तो हुनुपर्छ, त्यो अझ स्पष्टसित बुझ्नेछ। साथै, बच्चालाई यौन दुर्व्यवहारबाट बचाउने सर्वोत्तम उपाय तपाईं आमाबाबुहरूको निरीक्षण हो।

ईश्‍वरीय निर्देशन खोज्नुहोस्‌

२७, २८. बच्चा हुर्काउने चुनौतीको सामना गर्दा आमाबाबुहरूले सबैभन्दा ठूलो मदत कहाँबाट पाउनसक्छन्‌?

२७ हो, बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनु वास्तवमा चुनौती हो। तर विश्‍वासमा भएका आमाबाबुले यो चुनौतीको सामना एक्लै गर्नुपर्दैन। पुरातन समयका न्यायकर्ताहरूको पालोमा मानोहा नाउँ भएको एक जना मान्छे थियो। बुबा बन्‍न लागेको कुरा थाह पाएपछि उसले यहोवासित आफ्नो बच्चा हुर्काउने निर्देशन माग्यो। अनि यहोवाले पनि उसको प्रार्थना सुन्‍नुभयो।—न्यायकर्त्ता १३:८, १२, २४.

२८ यस्तैगरि विश्‍वासमा भएका आमाबाबुले आज पनि छोराछोरी हुर्काउँदा यहोवालाई प्रार्थना गर्नसक्छन्‌। हो, आमाबाबुले कडा परिश्रम गर्नुपर्छ। तर यसको प्रतिफल राम्रो हुन्छ। हवाईमा बस्ने एउटा मसीही दम्पती भन्छन्‌: “निर्णायक किशोरावस्था आउनअघि बच्चालाई प्रशिक्षण दिन तपाईंले १२ वर्ष पाउनुहुन्छ। ती १२ वर्षभरि तपाईंले बाइबल सिद्धान्तहरू प्रयोगमा ल्याउन पूरा परिश्रम गर्न सक्नुहुन्छ। त्यसपछि तपाईंका छोराछोरी स्वेच्छासाथ यहोवाको सेवा गर्न इच्छुक हुँदा तपाईंले आनन्द तथा शान्तिको लामो श्‍वास फेर्न सक्नुहुन्छ।” (हितोपदेश २३:१५, १६) तपाईंका छोराछोरीले त्यस्तो फैसला गर्दा तपाईंले पनि यो उद्‌गार गर्नुहुनेछ: “हेर छोराहरू [र छोरीहरू ] ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌।”

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।