सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय सात

घरमा कोही विद्रोही छ कि?

घरमा कोही विद्रोही छ कि?

१, २. (क) यहूदी धर्मगुरुहरूको अविश्‍वासिलोपनलाई औंल्याउन येशूले के उदाहरण दिनुभयो? (ख) येशूको उदाहरणबाट हामी बालिगहरूबारे के सिक्नसक्छौं?

 येशूले आफ्नो मृत्युको केही दिनअघि यहूदी धर्मगुरुहरूसमक्ष एउटा गहिरो प्रश्‍न राख्नुभयो। उहाँले सोध्नुभयो: “तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुइ छोराहरू थिए। उसले जेठोकहाँ आएर भन्यो, ‘ए छोरा, गएर आज दाखबारीमा काम गरिदे।’ अनि त्यसले भन्यो, ‘म जान्छु।’ तर गएन। औ कान्छोकहाँ आएर उसले त्यसैगरि भन्यो। त्यसले भन्यो, ‘म जान्‍नँ।’ तर पछिबाट पछताएर गयो। अब यी दुइमा कुन चाहिंले बाबुको आज्ञा पालन गऱ्‍यो?’ यहूदी नेताहरूले जवाफ दिए, ‘कान्छो चाहिंले।’ ”—मत्ती २१:२८-३१, NW.

येशूले यहाँ यहूदी धर्मगुरुहरूको अविश्‍वासलाई औंल्याउँदै हुनुहुन्थ्यो। तिनीहरू त्यो जेठो छोराजस्तै थिए। तिनीहरूले परमेश्‍वरको इच्छा गर्ने प्रतिज्ञा गरेका भए तापनि पछि त्यो पूरा गरेनन्‌। तर येशूको यो उदाहरण सामान्यतः परिवारमा हुने कुराजस्तै छ भनी धेरै आमाबाबुहरू सहमत हुन्छन्‌। येशूको उदाहरणमा जस्तै जवान मानिसहरू के सोच्दैछन्‌ अथवा तिनीहरू पछि कस्ता हुनेछन्‌, त्यो ठम्याउनु अक्सर गाह्रो हुन्छ। किशोरकिशोरी छँदा धेरै दुःख दिने छोराछोरी पछि जिम्मेवार तथा आदरणीय वयस्क बन्‍नसक्छन्‌। किशोर विद्रोहबारे छलफल गर्दा यस कुरालाई ध्यानमा राख्नु बेस हुनेछ।

कस्तोलाई विद्रोही भन्‍ने?

३. आमाबाबुले आफ्नो छोराछोरीलाई किन तुरुन्तै विद्रोही ठान्‍नु हुँदैन?

आफ्नो आमाबाबुको खुलेआम विद्रोह गर्ने किशोरकिशोरीहरूबारे हामी अक्सर सुन्छौं। तपाईंले किशोरावस्थामा पुगेको छोरा वा छोरीलाई नियन्त्रणमा राख्न अत्यन्त गाह्रो भइरहेको परिवारलाई पनि चिन्‍नुहुन्छ होला। तथापि, आफ्नो छोरा वा छोरी वास्तवमा विद्रोही हो या होइन, ठम्याउन सधैं सजिलो हुँदैन। साथै एउटै परिवारका केही छोराछोरी किन विद्रोही हुन्छन्‌ तथा केही किन हुँदैनन्‌, यो पनि बुझ्न गाह्रो छ। तर आमाबाबुले आफ्नो कुनै छोरा वा छोरी खुलेआम विद्रोही हुन लागेको देखेमा के गर्नसक्छन्‌? यसको जवाफ दिनअघि विद्रोही कसलाई भनिन्छ, त्यसबारे कुरा गरौं।

४-६. (क) विद्रोही कसलाई भनिन्छ? (ख) किशोरकिशोरीहरू समय समयमा अनाज्ञाकारी हुँदा आमाबाबुले कुन कुरा ध्यानमा राख्नुपर्छ?

साधारणतः आफूभन्दा ठूलोको अख्तियारको बारम्बार अवज्ञा अथवा विद्रोह गर्ने व्यक्‍तिलाई विद्रोही भनिन्छ। निस्सन्देह, “बालकको हृदयभित्र मूर्खता गाडिएको” हुन्छ। (हितोपदेश २२:१५) यसकारण सबै छोराछोरीले कुनै न कुनै समयमा आमाबाबु अथवा अन्य अख्तियारको विद्रोह गर्छन्‌। यस्तो विशेषगरि किशोरावस्थामा गरिन्छ किनकि यो नै केटाकेटीहरूको शारीरिक तथा भावनात्मक विकास हुने बेला हो। जीवनमा कुनै एउटा परिवर्तनसमेत तनाउपूर्ण हुन्छ भने किशोरावस्था त परिवर्तनले भरिभराउ हुन्छ। तपाईंको छोरा वा छोरी अब बाल्यकाल छाडेर वयस्क हुने बाटोमा लागिरहेको हुन्छ। यसैकारण किशोरकिशोरी तथा तिनीहरूको आमाबाबुलाई अक्सर मिलेर बस्नु गाह्रो हुन्छ। आमाबाबुले छोराछोरीको परिवर्तनको गतिलाई कम पार्ने कोसिस गर्दा अक्सर छोराछोरीले चाहिं त्यो परिवर्तनको गति बढाउन खोज्छन्‌।

विद्रोही किशोर वा किशोरीले आमाबाबुका नैतिक मूल्यहरू तिरस्कार गर्छ। तथापि, नबिर्सनुहोस्‌, एक दुइ पटक आज्ञा नमान्दैमा छोराछोरीलाई विद्रोही भन्‍न मिल्दैन। केही छोराछोरीले आध्यात्मिक कुरा तथा बाइबलप्रति कम वा रत्तिभर चासो नदेखाउलान्‌। तर यतिमै तिनीहरू विद्रोही भई हाल्दैनन्‌। तपाईं आमाबाबु हुनुहुन्छ भने, आफ्नो सन्तानलाई तुरुन्तै विद्रोही घोषित गर्न आतुर नहुनुहोस्‌।

के सबै किशोरकिशोरीहरूले आमाबाबुको अख्तियारको विद्रोह गर्छन्‌? गर्दैनन्‌। वास्तवमा, देखे बुझेअनुसार थोरै किशोरकिशोरीहरूले मात्र घोर विद्रोह गर्छन्‌। तर आफ्नो छोरा वा छोरी अटेरी भएर निरन्तर विद्रोह गर्ने भयो भने के गर्ने? यसको मूल कारण के हुनसक्छ?

विद्रोहका कारणहरू

७. शैतानी वातावरणले छोराछोरीमाथि कसरी विद्रोह गर्ने प्रभाव पार्नसक्छ?

विद्रोहको एउटा मुख्य कारण संसारको शैतानी वातावरण हो। “सारा संसार . . . दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) शैतान अधीनस्थ यो संसारमा अत्यन्त हानिकारक संस्कृति विकसित भएको छ। यस्तो संस्कृतिसित मसीहीहरू डट्‌नु परेको छ। (यूहन्‍ना १७:१५) यो संस्कृति पहिलेभन्दा धेरै असभ्य, खतरनाक र खराब प्रभावहरूले भरिभराउ छ। (२ तिमोथी ३:१-५, १३) अतः आमाबाबुले छोराछोरीलाई समयमै सिकाउनुपर्छ, चेताउनी दिनुपर्छ तथा सुरक्षित राख्ने कदम चाल्नुपर्छ। नत्र भने छोराछोरी “अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा[को]” सजिलै शिकार बन्‍नेछन्‌। (एफिसी २:२) यो सांसारिक प्रभावमा साथीहरूको दबाब पनि सम्मिलित छ। बाइबल भन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ। मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) यस्तैगरि, संसारको आत्मामा भिजेकाहरूसित संगत गर्नेहरू सम्भवतः सोही आत्माको वशमा पर्नसक्छन्‌। तथापि, ईश्‍वरीय सिद्धान्तहरू पालन गर्नु सर्वोत्तम जीवनशैलीको जग हो भनेर किशोरकिशोरीले बुझ्नुपर्छ। यसका लागि तिनीहरूलाई निरन्तर मदत दिनु आवश्‍यक हुन्छ।—यशैया ४८:१७, १८.

८. के कस्ता कुराहरूले गर्दा छोराछोरी विद्रोही बन्‍नसक्छन्‌?

विद्रोहको अर्को कारण घरको वातावरण पनि हुनसक्छ। उदाहरणका लागि, आमा वा बुबा मतवाला छ, मादक पदार्थ सेवन गर्छ वा आफ्नो पति वा पत्नीसित हिंसात्मक व्यवहार गर्छ भने किशोरकिशोरीले जीवनप्रति गलत दृष्टिकोण अपनाउनसक्छन्‌। छोराछोरीले आमाबाबुको मायालु चासो महसुस नगर्दा शान्त परिवारहरूमा समेत विद्रोही भावना उर्लनसक्छ। तथापि किशोर विद्रोह बाहिरी कारणहरूले गर्दा मात्र हुँदैन। ईश्‍वरीय सिद्धान्तहरू प्रयोगमा ल्याउने तथा छोराछोरीलाई संसारको प्रभावबाट बचाउन खोज्ने आमाबाबुका नैतिक स्तरहरूलाई पनि केही छोराछोरीले तिरस्कार गर्छन्‌। किन? यसको कारण हाम्रो समस्याको एउटा अर्को जड, मानव असिद्धता हो। पावलले भने: “यसैकारण जसरी एउटै मानिसद्वारा [आदम] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरी नै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) आदम स्वार्थी विद्रोही थियो। ऊबाट उसका सारा सन्तानले खराबबाहेक अरू केही पाएका छैनन्‌। अतः आफ्नो पुर्खा आदमजस्तै केही किशोरकिशोरीहरू पनि विद्रोही हुन रुचाउँछन्‌।

फितलो एली तथा कठोर रहबाम

९. छोराछोरीको रेखदेखबारे कस्तो असन्तुलित दृष्टिकोण अपनाउँदा छोराछोरी विद्रोही हुनसक्छन्‌?

छोराछोरी हुर्काउँदा आमाबाबुले अपनाएको असन्तुलित दृष्टिकोण किशोर विद्रोहको एउटा अर्को कारण हो। (कलस्सी ३:२१) केही सावधान आमाबाबुले आफ्नो छोराछोरीलाई ज्यादै कडा अनुशासनमा राख्छन्‌। तर केही आमाबाबु चाहिं फितलो स्वभावका हुन्छन्‌। आफ्ना अनुभवविहीन जवान छोराछोरीको सुरक्षाका लागि तिनीहरूले केही निर्देशन दिंदैनन्‌। यी दुइ गलत धारणाहरूबीच सन्तुलन कायम राख्नु सधैं सजिलो हुँदैन। साथै बेग्लाबेग्लै केटाकेटीका बेग्लाबेग्लै आवश्‍यकताहरू हुन्छन्‌। एउटालाई भन्दा अर्कोलाई बढी रेखदेखको खाँचो पर्नसक्छ। तर ज्यादै फितलो अथवा ज्यादै कठोर हुनु किन खतरनाक हो, त्यो बुझ्ने मदत बाइबलका दुइटा उदाहरणहरूले दिन्छन्‌।

१०. एली असल पूजाहारी भए तापनि सफल पिता किन भएनन्‌?

१० प्राचीन इस्राएलका प्रधानपूजाहारी एली पिता पनि थिए। उनले ४० वर्षसम्म परमेश्‍वरको सेवा गरे। निस्सन्देह, उनी परमेश्‍वरको वचनमा पोख्त थिए। सम्भवतः एलीले पूजाहारी सेवा विश्‍वासिलो भएर गरे तथा आफ्ना छोराहरू, होप्नी र पीनहासलाई पनि परमेश्‍वरको व्यवस्था राम्ररी सिकाएको हुनुपर्छ। तथापि, एलीले आफ्ना छोराहरूलाई जथाभावी गर्न दिए। होप्नी र पीनहास दुवै पूजाहारी थिए। तर तिनीहरू आफ्नै भोक तथा अनैतिक अभिलाषाहरू तृप्त पार्न चाहने “दुष्ट” जन थिए। तिनीहरूले पवित्र भूमिमै घृणास्पद कामहरू गरे। तैपनि एलीले तिनीहरूलाई पूजाहारी पदबाट हटाउने आँट गरेनन्‌। उनले तिनीहरूलाई हल्का हप्की मात्र दिए। आफ्नो फितलो स्वभावको कारण एलीले परमेश्‍वरको भन्दा आफ्नै छोराहरूको आदर गरे। फलतः उनका छोराहरूले यहोवाको शुद्ध उपासनाको विद्रोह गरे र एलीको पूरै परिवारमाथि विपत्ति आइपऱ्‍यो।—१ शमूएल २:१२-१७, २२-२५, २९; ३:१३, १४; ४:११-२२.

११. एलीको गलत नमूनाबाट आमाबाबुले के सिक्नसक्छन्‌?

११ यी घटनाहरू हुँदा एलीका छोराहरू वयस्क भइसकेका थिए। तापनि अनुशासन नदिनु कति खतरनाक हुनसक्छ, यस ऐतिहासिक वृत्तान्तबाट प्रदर्शित हुन्छ। (तुलना गर्नुहोस्‌ हितोपदेश २९:२१) केही आमाबाबुले प्रेम र फितलोपनबीचको भिन्‍नता बुझेका हुँदैनन्‌। उनीहरू छोराछोरीका लागि स्पष्ट, सामञ्जस्यपूर्ण तथा मनासिब नियमहरू तोक्दैनन्‌। ईश्‍वरीय सिद्धान्तहरू उल्लंघन हुँदासमेत प्रेमपूर्ण अनुशासन लागू गर्न उनीहरू बेवास्ता गर्छन्‌। यस्तो फितलोपनले गर्दा छोराछोरी आमाबाबुको अथवा हरप्रकारको अख्तियारलाई मान्यता दिन छाड्‌छन्‌।—तुलना गर्नुहोस्‌ उपदेशक ८:११.

१२. अख्तियार प्रयोग गर्दा रहबामले के गल्ती गरे?

१२ अख्तियारको अर्को असन्तुलित प्रयोग रहबामद्वारा प्रदर्शित भएको छ। रहबाम संयुक्‍त इस्राएल राज्यको अन्तिम राजा थिए। तर उनी असल राजा थिएनन्‌। रहबामका बुबा सुलेमानले देशका मानिसहरूलाई गह्रौं बोझहरू बोक्न लाएका थिए र यसले गर्दा मानिसहरू असन्तुष्ट भए। यस्तै असन्तुष्टिको बेला रहबामले राज्य गर्न थाले। तर के रहबामले विचारशीलता प्रदर्शन गरे? गरेनन्‌। मानिसहरूको प्रतिनिधि मण्डलले रहबामकहाँ आएर केही अत्याचारपूर्ण नियमहरू हटाउने प्रस्ताव राखे। तर उनले आफ्ना पाका सल्लाहकारहरूको उपदेश नसुनेर मानिसहरूको बोझ अझ गह्रौं बनाउने आदेश दिए। उनको यो अहंकारको परिणामस्वरूप उत्तरका दश कुलहरूले विद्रोह गरे। राज्य दुइ भागमा विभाजित भयो।—१ राजा १२:१-२१; २ इतिहास १०:१९.

१३. रहबामले गरेको गल्ती नदोहोऱ्‍याउन आमाबाबुले के गर्नसक्छन्‌?

१३ रहबामको यो वृत्तान्तबाट आमाबाबुले केही महत्त्वपूर्ण पाठहरू सिक्नसक्छन्‌। उनीहरूले प्रार्थनाद्वारा “परमप्रभुको खोजी” गर्नुपर्छ। उनीहरूले छोराछोरी हुर्काउने आफ्नो प्रणालीलाई बाइबल सिद्धान्तहरूसित तुलना गर्नसक्छन्‌। (भजन १०५:४) उपदेशक ७:७ भन्छ, “छल गर्दा [शोषणले, NW] बुद्धिमान मानिसको मति बिग्रन्छ।” राम्ररी सोचेर लगाइएका प्रतिबन्धहरूको सीमाभित्र किशोरकिशोरीहरूले बढ्‌ने मौकाका साथै सुरक्षा पनि पाउँछन्‌। तर साह्रै कडा तथा उकुसमुकुस हुने वातावरणमा छोराछोरीलाई हुर्काउनु हुँदैन। नत्र भने तिनीहरूमा आवश्‍यक आत्मबल तथा आत्मविश्‍वास विकसित हुन पाउँदैन। आमाबाबुले आवश्‍यक स्वतन्त्रता तथा सुस्पष्ट र अकाट्य प्रतिबन्धहरूबीच सन्तुलन कायम राख्ने कोसिस गर्दा धेरैजसो किशोरकिशोरीहरूमा विद्रोही भावना पलाउँदैन।

आधारभूत आवश्‍यकताहरूको पूर्तिद्वारा विद्रोह थाम्न सकिन्छ

किशोरावस्थामा अनुभव गर्ने समस्याहरू सामना गर्ने मदत छोराछोरीले पाएमा तिनीहरू पछि स्थिर स्वभावका वयस्कहरू बन्‍नसक्छन्‌

१४, १५. हुर्कंदै गरेको छोराछोरीप्रति आमाबाबुले कस्तो दृष्टिकोण अपनाउनुपर्छ?

१४ छोराछोरी बाल्यकालदेखि किशोरावस्थामा पुगेको देख्दा आमाबाबु खुशी हुन्छन्‌। तर किशोरावस्थामा पुगेको छोराछोरी आमाबाबुदेखि बिस्तारै स्वतन्त्र भएर चाहिंदो मात्रामा आत्मनिर्भर हुन थाल्दा आमाबाबु प्रायः चिन्तित हुनसक्छन्‌। परिवर्तनको यस दौडान तपाईंको छोरा वा छोरी अलिकता अटेर भएमा छक्क नपर्नुहोस्‌। नबिर्सनुहोस्‌, मसीही आमाबाबुको लक्ष्य परिपक्व, स्थिर तथा जिम्मेवार मसीही हुर्काउनु हो।—तुलना गर्नुहोस्‌ १ कोरिन्थी १३:११; एफिसी ४:१३, १४.

१५ किशोरकिशोरीले अलिकता बढी स्वतन्त्रता माग्नासाथै उनीहरूलाई हरेक पटक नकार्ने बानी आमाबाबुले जति नै गाह्रो लागे तापनि त्याग्नैपर्छ। बच्चाले सकारात्मक तवरमा आफ्नो व्यक्‍तित्व विकास गर्ने मौका पाउनुपर्छ। हुन त केही किशोरकिशोरीहरूले सानै उमेरमा वयस्कको जस्तै दृष्टिकोण व्यक्‍त गर्न थाल्छन्‌। उदाहरणका लागि, बाइबलमा योशियाह राजाबारे यसो भनिएको छ: “तिनी [लगभग १५ वर्षको] बालकै छँदा तिनले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरको अगुवाइ खोज्न शुरू गरे।” यो उल्लेखनीय किशोर स्पष्टतः जिम्मेवार व्यक्‍ति थिए।—२ इतिहास ३४:१-३.

१६. छोराछोरीले बढ्‌दो जिम्मेवारीका साथसाथै के पनि स्वीकार्नुपर्छ?

१६ तथापि, स्वतन्त्रताको साथसाथै जिम्मेवारी पनि आउँछ। अतः हुर्कंदै गरेको वयस्क छोराछोरीलाई केही फैसला तथा कामहरूको परिणाम भोग्न दिनुहोस्‌। “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ” भन्‍ने सिद्धान्त वयस्कहरूका लागि मात्र होइन, किशोरकिशोरीहरूका लागि पनि हो। (गलाती ६:७) छोराछोरीलाई सधैं छेकेर राख्न सकिंदैन। तर तपाईंको छोरा वा छोरीले कुनै पूर्णतः अस्वीकार्य काम गर्न चाहेमा नि? जिम्मेवार आमाबाबुको हैसियतमा तपाईंले ‘हुँदैन’ भन्‍न सक्नुपर्छ। अनि यसका कारणहरू बताउँदै जानु हुँदा आफ्नो हुँदैनलाई कहिल्यै हुन्छमा परिणत नगर्नुहोस्‌। (तुलना गर्नुहोस्‌ मत्ती ५:३७) तथापि, शान्त मिजास तथा विवेकशीलतासाथ ‘हुँदैन’ भन्‍ने कोसिस गर्नुहोस्‌। किनभने “मीठो जवाफले क्रोधलाई शान्त गर्छ।”—हितोपदेश १५:१.

१७. किशोरकिशोरीहरूका केही आवश्‍यकताहरू के हुन्‌, जसलाई आमाबाबुले पूरा गर्नुपर्छ?

१७ जवान मानिसहरू प्रतिबन्ध तथा नियमहरू सहजै स्वीकार्न अक्सर तयार हुँदैनन्‌। तापनि तिनीहरूलाई नियमित रीतिले अनुशासन दिइरहन छाड्‌नु हुँदैन। तर आमाबाबुको मुड सँगसँगै नियमहरू पनि बदलिरह्‍यो भने छोराछोरीलाई दिक्क लाग्नसक्छ। बरु किशोरकिशोरीहरूलाई संकोच तथा लाज लाग्ने बानी अथवा आत्मविश्‍वासको अभावसित डट्‌ने प्रोत्साहन अथवा मदत दिएमा तिनीहरू प्रायः स्थिर वयस्क बन्‍नेछन्‌। आमाबाबुको दृष्टिमा आफू भरपर्दो साबित हुँदा पनि किशोरकिशोरीहरू त्यसको मूल्यांकन गर्छन्‌।—तुलना गर्नुहोस्‌ यशैया ३५:३, ४; लूका १६:१०; १९:१७.

१८. किशोरकिशोरीबारे कुन कुन कुरा निकै उत्साहवर्धक छन्‌?

१८ आमाबाबुका लागि एउटा खुशीको कुरा के हो भने, घरमा शान्ति, स्थायित्व र प्रेम हुँदा छोराछोरीहरू प्रायः फस्टाउँछन्‌। (एफिसी ४:३१, ३२; याकूब ३:१७, १८) तर कति यस्ता जवानहरू पनि छन्‌, जो घरमा मतवालापन, हिंसा अथवा अन्य हानिकारक प्रभावहरूको सामना गर्नुपर्दा पनि असल वयस्क बनेका छन्‌। अतः घरमा तपाईंको छोराछोरीले सुरक्षा, तपाईंको प्रेम, स्नेह र मायालु चासो महसुस गर्नुपर्छ। तब भने, धर्मशास्त्रीय सिद्धान्तअनुरूप प्रतिबन्ध तथा अनुशासन अनुभव गर्नु परे तापनि तिनीहरू सम्भवतः राम्रो वयस्क बनेर आमाबाबुलाई प्रसन्‍न पार्नसक्छन्‌।—तुलना गर्नुहोस्‌ हितोपदेश २७:११.

छोराछोरी कुनै समस्यामा पर्दा

१९. आमाबाबुले बालकलाई ठीक मार्गमा हुर्काउनु परे तापनि के गर्ने जिम्मेवारी चाहिं छोराछोरीको हो?

१९ आमाबाबुले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दा ठूलो फरक पर्छ। हितोपदेश २२:६ भन्छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” तर असल आमाबाबु हुँदाहुँदै पनि गम्भीर समस्याहरूमा फस्ने छोराछोरीबारे के भन्‍न सकिन्छ? तर के यस्तो पनि हुनसक्छ र? हो, हुनसक्छ। हितोपदेशको सही अर्थ निकाल्न अन्य पदहरूलाई पनि ध्यानमा राख्नुपर्छ। विशेषगरि ती पदहरू जहाँ छोराछोरीले आमाबाबुको कुरा ‘सुन्‍ने’ तथा पालन गर्ने जिम्मेवारीमाथि जोड दिइएको छ। (हितोपदेश १:८) परिवारमा मेल कायम राख्न आमाबाबु तथा छोराछोरी दुवैले धर्मशास्त्रीय सिद्धान्तहरू प्रयोगमा ल्याउनुपर्छ। आमाबाबु तथा छोराछोरीबीच सहयोग नहुँदा कठिनाइहरू उत्पन्‍न हुन्छन्‌।

२०. छोराछोरीले विचार नपुऱ्‍याएर गल्ती गर्दा आमाबाबुले कसो गरे बुद्धिमानी हुनेछ?

२० किशोरावस्थामा पुगेका छोरा वा छोरीले गल्ती गर्दा अथवा ऊ कुनै समस्यामा पर्दा आमाबाबुले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? यस्तो बेला विशेषतः जवान छोरा वा छोरीलाई मदतको खाँचो पर्छ। साथै, आफ्नो बच्चा अनुभवविहीन छ भनी आमाबाबुले सम्झिराख्नुपर्छ। यसो गरेमा उनीहरू ज्यादै व्याकुल हुनेछैनन्‌। पावलले मण्डलीका परिपक्व जनहरूलाई यो सल्लाह दिए: “मानिस कुनै अपराधमा पक्राउ पऱ्‍यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर।” (गलाती ६:१) विचार नपुऱ्‍याएर गल्ती गर्ने किशोर वा किशोरीसित व्यवहार गर्दा आमाबाबुले त्यही तरिका प्रयोगमा ल्याउनसक्छन्‌। गलत के हो र त्यसलाई फेरि नदोहोऱ्‍याउन के गर्नुपर्छ, यी सबै कुरा आमाबाबुले स्पष्ट पार्नुपर्छ। साथै, गलत आचरण खराब हो, युवक खराब होइन भन्‍ने कुरा पनि खुलस्त बताउनुपर्छ।—तुलना गर्नुहोस्‌ यहूदा २२, २३.

२१. छोराछोरीबाट कुनै गम्भीर गल्ती हुँदा आमाबाबुले मसीही मण्डलीको अनुकरण गर्दै कस्तो प्रतिक्रिया व्यक्‍त गर्नसक्छन्‌?

२१ तर किशोर वा किशोरीको गल्ती साह्रै गम्भीर छ भने नि? यस्तो अवस्थामा उसलाई विशेष मदत तथा निपुण निर्देशन चाहिन्छ। मण्डलीको कुनै सदस्यले घोर पाप गर्दा उसलाई पश्‍चात्ताप गर्न तथा प्राचीनहरूको मदत लिन प्रोत्साहित गरिन्छ। (याकूब ५:१४-१६) उसले पश्‍चात्ताप गरेपछि प्राचीनहरूले उसको आध्यात्मिकतालाई पुनः स्वस्थ पार्ने कोसिस गर्छन्‌। परिवारमा गल्ती गर्ने किशोरकिशोरीलाई मदत दिने जिम्मेवारी आमाबाबुलाई सुम्पिएको छ। तथापि, आमाबाबुले पनि प्राचीनहरूसित समस्याको छलफल गर्नसक्छन्‌। प्राचीनहरूसित कुरा गर्दा तिनीहरूले आफ्नो छोरा वा छोरीले गरेको घोर पाप लुकाउने प्रयास गर्नु हुँदैन।

२२. आफ्नो छोराछोरीबाट गम्भीर गल्ती हुँदा आमाबाबुले यहोवाको अनुकरण गर्दै कस्तो मनोवृत्ति कायम राख्नसक्छन्‌?

२२ आफ्नै छोरा वा छोरी विथोलित भएको कुनै पनि गम्भीर समस्या ठूलो चिन्ताको कारण हुन्छ। आवेशमा आएर आमाबाबुले बदमाश छोरा वा छोरीलाई धम्काउनसक्छन्‌। तर यसो गर्दा छोराछोरी झन्‌ क्रुद्ध मात्र हुनेछ। नबिर्सनुहोस्‌, उसको यो निर्णायक उमेरमा गरिने व्यवहारमै उसको भविष्य निर्भर हुनसक्छ। साथै, आफ्ना जनहरू सही मार्गबाट हटेर जाँदा यहोवा उनीहरूलाई क्षमा गर्न तयार हुनुहुन्थ्यो। उनीहरूले मात्र पश्‍चात्ताप गर्नु परेको थियो। उहाँका यी मायालु शब्दहरूलाई सुन्‍नुहोस्‌: “‘आऊ, हामी बसेर आफ्ना कुरा छलफल गरौं। तिमीहरूका पाप सिन्दूरे रङ्‌गका भए, तापनि ती हिउँजस्तै सेता हुनेछन्‌। गाढ़ा राता रङ्‌गका भए, तापनि ती ऊनजस्तै हुनेछन्‌।’” (यशैया १:१८) आमाबाबुका लागि कति असल उदाहरण!

२३. आफ्नो कुनै छोरा वा छोरीले गम्भीर गल्ती गर्दा आमाबाबुले के गर्नुपर्छ तथा के गर्नु हुँदैन?

२३ यसकारण, बाटो बिराउने त्यो छोरा वा छोरीलाई आफ्नो मार्ग सुधार्ने प्रोत्साहन दिनुहोस्‌। अनुभवी आमाबाबु तथा मण्डलीका प्राचीनहरूबाट स्वास्थ्यकर सरसल्लाह लिने कोसिस गर्नुहोस्‌। (हितोपदेश ११:१४) कुनै पनि कुरा आवेशमा आएर नगर्नुहोस्‌। त्यस्तो केही कुरा नभन्‍नुहोस्‌ जसले गर्दा तपाईंको छोरा वा छोरीलाई पश्‍चात्ताप गर्नु अझ गाह्रो परोस्‌। आफ्नो क्रोध तथा मनको वेदनालाई वशमा राख्नुहोस्‌। (कलस्सी ३:८) तुरुन्तै हार नमान्‍नुहोस्‌। (१ कोरिन्थी १३:४, ७) खराबीलाई घृणा गर्नुहुँदा आफ्नो बच्चासित कठोर तथा क्रुद्ध नबन्‍नुहोस्‌। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, आमाबाबु स्वयं असल उदाहरण बन्‍नुपर्छ। परमेश्‍वरमाथिको आफ्नो विश्‍वास बलियो राख्ने कोसिस गर्नुपर्छ।

जानाजानी विद्रोह गर्ने बच्चासित के गर्ने

२४. मसीही परिवारमा कहिलेकाहीं कस्तो दुःखदायी स्थिति खडा हुनसक्छ र यस्तो हुँदा आमाबाबुले के गर्नु उचित हो?

२४ कुनै कुनै जवानले चाहिं विद्रोह गर्ने अनि मसीही मूल्यहरूलाई तिरस्कार गर्ने निधो नै गरिसकेको छ भन्‍ने कुरा देखिंदै जान्छ। यस्तो हुँदा आफ्नो भएभरको ध्यान विद्रोही बच्चालाई दिनुको साटो घरका बाँकी छोराछोरीलाई जोगाउने प्रयास गर्नुहोस्‌। परिवारका सदस्यहरूबाट कुरा लुकाउन नखोज्नुहोस्‌। बरु शान्तपूर्वक तिनीहरूलाई पनि उचित मात्रामा जानकारी दिनुहोस्‌।—तुलना गर्नुहोस्‌ हितोपदेश २०:१८.

२५. (क) आफ्नो छोरा वा छोरी पूर्णतः विद्रोही साबित हुँदा आमाबाबुले मसीही मण्डलीको अनुकरण गर्दै के कदम चाल्नसक्छन्‌? (ख) आफ्नो छोरा वा छोरी विद्रोही भयो भन्दैमा आमाबाबुले के बिर्सनु हुँदैन?

२५ सम्झाउँदा बुझाउँदा पनि सुध्रनै नचाहने मण्डलीका विद्रोही सदस्यबारे प्रेरित यूहन्‍नाले यसो भने: “त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू।” (२ यूहन्‍ना १०) आफ्नो बालिग छोरा वा छोरी पूर्णतः विद्रोही भएमा आमाबाबुले पनि त्यस्तै अडान लिनु आवश्‍यक पर्नसक्छ। निस्सन्देह, यसो गर्न गाह्रो अनि अत्यन्त दुःखदायी हुनसक्छ। तैपनि बाँकी परिवारको सुरक्षाका लागि त्यसो गर्नु कहिलेकाहीं अत्यावश्‍यक हुनसक्छ। परिवारलाई तपाईंको रक्षा तथा रेखदेखको अझ पनि खाँचो छ। अतः तिनीहरूलाई सुस्पष्ट तथा मनासिब निर्देशन दिन नछाड्‌नुहोस्‌। अन्य छोराछोरीसित विचारको आदानप्रदान गर्नुहोस्‌। स्कूल तथा मण्डलीमा तिनीहरू के के गर्दैछन्‌, त्यसमा चासो लिनुहोस्‌। साथै, विद्रोही छोरा वा छोरीको कामप्रति घृणा व्यक्‍त गर्नु भए तापनि उसलाई चाहिं घृणा गर्नु हुन्‍न भनी स्पष्ट पार्नुहोस्‌। छोरा वा छोरीको होइन, खराब कार्यको निन्दा गर्नुहोस्‌। याकूबका दुइटा छोराहरूको क्रूरताको कारण समाजबाट तिरस्कृत हुनुपर्दा याकूबले छोराहरूलाई होइन, तिनीहरूको हिंस्रक क्रोधलाई श्राप दिए।—उत्पत्ति ३४:१-३१; ४९:५-७.

२६. आफ्नो कुनै एक जना छोरा वा छोरी विद्रोही हुँदा विवेकशील आमाबाबुले कुन कुराबाट सान्त्वना पाउनसक्छन्‌?

२६ तपाईंको परिवारमा भएको घटनाका लागि शायद तपाईंले आफूलाई दोषी ठान्‍नुहोला। तर तपाईंले प्रार्थनापूर्वक तथा यथाशक्य यहोवाको निर्देशन पालन गर्दै आउनुभएको छ भने, बित्थैमा आफ्नो आलोचना गरिरहनु खाँचो छैन। नबिर्सनुहोस्‌, कुनै आमाबाबु सिद्ध हुन नसक्ने भए तापनि तपाईंले चाहिं असल आमाबाबु हुने प्रयास गर्नुभयो। (तुलना गर्नुहोस्‌ प्रेरित २०:२६) हो, परिवारको एक जना सदस्य कठोर विद्रोही बन्‍नु हृदयविदारक अनुभव हो। तर यस्तो स्थितिको सामना गर्नु परेमा नबिर्सनुहोस्‌, परमेश्‍वरले तपाईंको दुःख बुझ्नुहुन्छ। उहाँले आफ्ना भक्‍त सेवकहरूलाई कहिल्यै त्याग्नुहुनेछैन। (भजन २७:१०) अतः परिवारका बाँकी छोरीछोरीका लागि आफ्नो घरलाई सुरक्षित तथा आध्यात्मिक शरणस्थान बनाइराख्ने दृढ संकल्प गर्नुहोस्‌।

२७. उडाउ पुत्रको उखानलाई सम्झँदै विद्रोही छोराछोरीका आमाबाबुले सधैं के आशा गर्नसक्छन्‌?

२७ तपाईंले कहिल्यै पनि आशा मार्नु हुँदैन। बाटो बिराउने बच्चालाई तपाईंले सुरुमा दिनुभएको राम्रो प्रशिक्षण अन्ततः काम आउनसक्छ। कुनै दिन त्यसको असर परेर उसको होश फर्कनसक्छ। (उपदेशक ११:६) अन्य मसीही परिवारहरूले पनि तपाईंकै जस्तो समस्या जेलेका छन्‌। येशूले भन्‍नुभएको उडाउ पुत्रको पिताले जस्तै केही आमाबाबुले आफ्नो छोराछोरी फर्केको देखेका छन्‌। (लूका १५:११-३२) तपाईंले पनि यस्तै अनुभव गर्न सक्नुहुन्छ।