सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय दश

परिवारमा कोही बिरामी हुँदा

परिवारमा कोही बिरामी हुँदा

१, २. शैतानले अय्यूबको निष्ठालाई विपत्ति तथा रोगद्वारा कसरी भंग गर्ने कोसिस गऱ्‍यो?

 पारिवारिक जीवनको आनन्द उठाउनेहरूमध्ये निश्‍चय अय्यूब पनि एक थिए। बाइबलमा उनलाई “पूर्वका सबै मानिसहरूमध्ये सबैभन्दा महान्‌” भनिन्छ। उनका सात छोरा र तीन छोरी अर्थात्‌ जम्मा दश छोराछोरी थिए। उनीसित परिवारको राम्रो रेखदेख गर्ने साधन पनि थियो। तर योभन्दा महत्त्वपूर्ण कुरा, उनले आध्यात्मिक गतिविधिहरूमा अगुवाइ लिन्थे। आफ्ना छोरीछोरीसित यहोवा प्रसन्‍न हुनुहुन्छ वा हुनुहुन्‍न, यसबारे पनि अय्यूब चिन्तित रहन्थे। यी सबै कुराले गर्दा तिनको परिवारका सदस्यहरूबीच आनन्द तथा मेलमिलाप थियो।—अय्यूब १:१-५.

अय्यूबको यो सुख यहोवाको मुख्य शत्रु शैतानबाट लुकेको थिएन। सधैं परमेश्‍वरका सेवकहरूको निष्ठा तोड्‌न खोज्ने शैतानले अय्यूबमाथि आक्रमण गऱ्‍यो। त्यसले अय्यूबको सुखी परिवारलाई छिन्‍नभिन्‍न पारिदियो। अनि “अय्यूबको टाउकोदेखि पैतालासम्म खटिरा उब्जाइदियो।” विपत्ति तथा रोगको प्रयोगद्वारा शैतानले अय्यूबको निष्ठा तोड्‌न खोज्यो।—अय्यूब २:६, ७.

३. अय्यूबको रोगका लक्षणहरू के थिए?

अय्यूबलाई खास कुन प्रकारको रोग लाग्यो, बाइबलले किटेर बताएको छैन। तथापि, रोगको लक्षण चाहिं उल्लेख गरिएको छ। शरीरमा कीरा परेको थियो। छाला घावैघावले भरिएर मासु कुहिन लागेको थियो। अय्यूबको श्‍वास र शरीर दुवै गनाउँथ्यो। उनी हरबखत पीडित रहन्थे। (अय्यूब ७:५; १९:१७; ३०:१७, ३०) व्यथित अय्यूब खपेटाले घाउ कन्याउँदै खरानीमाथि बस्थे। (अय्यूब २:८) कस्तो दयनीय दृश्‍य!

४. हरेक परिवारले समय समयमा के अनुभव गर्छ?

तपाईंलाई यस्तो डरलाग्दो रोग लागेको भए तपाईंको प्रतिक्रिया कस्तो हुन्थ्यो? आज शैतानले अय्यूबलाई जस्तै परमेश्‍वरका सेवकहरूलाई रोगी तुल्याउँदैन। तर असिद्धता र हाम्रो वरपरको बिग्रँदो वातावरणले गर्दा समय समयमा परिवारका सदस्यहरू बिरामी हुन्छन्‌। हुन त अय्यूबले जतिको दुःख कमैले भोग्नु परे तापनि सबै निरोधक उपायहरूको बावजूद रोगबाट हामी कोही पनि मुक्‍त छैनौं। परिवारमा रोगको सामना गर्नु वास्तवमा चुनौती हुनसक्छ। अतः मानिसजातिको यो पुरानो शत्रुको सामना गर्न बाइबलमा के मदत पाइन्छ, हामी अब हेरौं।—उपदेशक ९:११; २ तिमोथी ३:१६.

तपाईंलाई यसबारे कस्तो लाग्छ?

५. अल्पकालीन रोग आइ पर्दा परिवारका सदस्यहरूको अक्सर कस्ता प्रतिक्रिया हुन्छ?

आफ्नो दिनचर्या भंग हुँदा जसलाई पनि गाह्रो लाग्छ। तर धेरै दिनको रोग यसको कारण बन्दा स्थिति झनै कठिन हुन्छ। केही समयका लागि मात्र बिरामी पर्दा पनि छाँटकाँट, अदलबदल तथा त्याग गर्नु आवश्‍यक हुन्छ। बिरामीलाई आराम होस्‌ भनेर परिवारका स्वस्थ सदस्यहरू शान्त भएर बस्नु आवश्‍यक पर्नसक्छ। केही गतिविधिहरूमा भाग नलिन पनि जरुरी पर्नसक्छ। परिवारमा साधारणतः केटाकेटीहरूले समेत आफ्नो दाजुभाइ, दिदीबहिनी वा आमाबाबु बिरामी पर्दा सहानुभूति दर्साउँछन्‌। तथापि कहिलेकाहीं अझ विचारशील हुन सम्झाउनुपर्छ। (कलस्सी ३:१२) थोरै समयका लागि कोही बिरामी पर्दा आवश्‍यक कुराहरू गर्न अक्सर परिवार तयार हुन्छ। र आफू बिरामी पर्दा परिवारको हरेक सदस्यले यस्तै विवेकपूर्ण व्यवहार पाउने आशा राख्छ।—मत्ती ७:१२.

६. परिवारको कुनै सदस्य सिकिस्त तथा दीर्धकालीन रोगले पीडित हुँदा कहिलेकाहीं के कस्तो प्रतिक्रिया देखिन्छ?

तर कोही सिकिस्त बिरामी पर्दा अथवा दिनचर्या पूर्णतः तथा लामो अवधिसम्म भंग हुँदा नि? उदाहरणका लागि, परिवारको कुनै सदस्य पक्षाघात, अल्झेमर्स डिजिज अथवा यस्ता कुनै रोगको कारण चलहल गर्न असमर्थ भएमा के गर्ने? वा परिवारको कुनै सदस्य सिजोफ्रेनिया जस्तो मानसिक रोगको शिकार हुँदा कसो गर्ने? प्रथमतः दया पलाउँछ। आफूले माया गरेको व्यक्‍ति यसरी पीडित भएको देख्दा दुःख लाग्छ। तथापि, दयापश्‍चात्‌ अन्य प्रतिक्रियाहरू उत्पन्‍न हुनसक्छन्‌। बिरामीले गर्दा परिवारका अन्य सदस्यहरूको स्वतन्त्रतामा निकै बाधा पर्दा मनमनै अप्रसन्‍नता जाग्नसक्छ। “यो सबै मलाई नै किन भइरहेछ?” भन्‍ने प्रश्‍न तिनीहरूको मनमा खेल्नसक्छ।

७. अय्यूब बिरामी हुँदा उनकी पत्नीले कस्तो प्रतिक्रिया देखाइन्‌ र तिनले कुन कुरा बिर्सेकी हुनसक्छिन्‌?

यस्तै कुरा अय्यूबकी पत्नीलाई पनि भएजस्तो देखिन्छ। तिनले भर्खरै मात्र छोराछोरी गुमाएकी थिइन्‌। एकपछि अर्को ती दुःखद घटनाहरू हुँदै जाँदा तिनी झन्‌ झन्‌ विचलित भइन्‌। अन्ततः आफ्ना सक्रिय तथा हृष्टपुष्ट पति पनि पीडाजनक तथा घृणास्पद रोगको शिकार भए। यो देखेपछि तिनले यी सबै दुर्घटनाहरूलाई माथ गर्ने सर्वमहत्त्वपूर्ण कुरा अर्थात्‌ परमेश्‍वरसित तिनी र तिनका पतिको सम्बन्ध नै बिर्सिन्‌ जस्तो छ। बाइबल भन्छ: “तब तिनका [अय्यूबकी] पत्नीले तिनलाई भनिन्‌: ‘के तपाईं आफ्नो निष्ठामा अझै अडिनै रहनुहुन्छ? परमेश्‍वरलाई सरापेर मरे असल हुन्छ।’ ”—अय्यूब २:९.

८. परिवारको कुनै सदस्य सिकिस्त बिरामी पर्दा अन्य सदस्यहरूलाई सही दृष्टिकोण कायम राख्न कुन शास्त्रपदले मदत दिनसक्छ?

अर्को व्यक्‍तिको रोगले गर्दा आफ्नो जीवन पूर्णतः परिवर्तित हुँदा धेरै जना दिक्क मान्छन्‌, रिसाउँछन्‌ पनि। तथापि, यस्तो स्थितिलाई विचार गर्ने मसीहीले चाहिं यसलाई साँचो प्रेम प्रकट गर्ने मौका ठान्छन्‌। किनकि साँचो “प्रेम धीरजी र दयालु हुन्छ। . . . प्रेमले . . . आफ्नै भलाइ खोज्दैन। . . . सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ।” (१ कोरिन्थी १३: ४-७) तसर्थ, नकारात्मक विचारहरूलाई प्रबल हुन नदिनुहोस्‌। बरु त्यसलाई वशमा ल्याउने यथाशक्य कोसिस गर्नुहोस्‌।—हितोपदेश ३:२१.

९. परिवारको एक जना सदस्य सिकिस्त बिरामी हुँदा सम्पूर्ण परिवारको आध्यात्मिक तथा भावनात्मक हितका लागि कुन आश्‍वासनले बल दिनसक्छ?

एक जना सदस्य सिकिस्त बिरामी पर्दा परिवारको आध्यात्मिक तथा भावनात्मक हितका लागि के गर्न सकिन्छ? बेग्लाबेग्लै रोगमा बेग्लाबेग्लै किसिमको उपचार तथा स्याहार आवश्‍यक हुन्छ। तसर्थ यस प्रकाशनमा कुनै खास उपचार अथवा घरेलु स्वास्थ्य सेवा सिफारिश गर्नु उचित हुँदैन। तापनि आध्यात्मिक तवरमा यहोवाले “निहुरेकाहरू सबैलाई उठाउनुहुन्छ।” (भजन १४५:१४) राजा दाऊदले लेखे: “त्यो धन्यको हो, जसले निर्धाहरूको चिन्ता गर्दछ। परमप्रभुले त्यसलाई विपत्तिको दिनमा छुटकारा दिनुहुनेछ। परमप्रभुले त्यसलाई रक्षा गरेर जीवित राख्नु हुनेछ। . . . त्यसलाई रोग लाग्दा तपाईंले त्यसको ओछ्यान बनाइदिनुहुन्छ।” (भजन ४१: १-३) यहोवाका सेवकहरू भावनात्मक रीतिले खप्नै नसक्नेगरि क्लान्त हुँदासमेत उहाँले तिनीहरूलाई आध्यात्मिक तवरमा जीवित राख्नुहुन्छ। (२ कोरिन्थी ४:७) परिवारमा ठूलठूलो रोगको सामना गरेका थुप्रै व्यक्‍तिले यी शब्दहरू दोहोऱ्‍याएका छन्‌: “म ज्यादै दुःखित भएको छु। हे परमप्रभु, तपाईंको वचनअनुसार मलाई जीवित राख्नुहोस्‌।”—भजन ११९:१०७.

निको तुल्याउने आत्मा

१०, ११. (क) परिवारले रोगसित सफलतापूर्वक डट्‌न के गर्नु अत्यावश्‍यक छ? (ख) एउटी स्त्रीले आफ्नो पति बिरामी पर्दा यसको सामना कसरी गरिन्‌?

१० बाइबलको एउटा नीतिअनुसार: “मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर आत्माले चोट लागेको छ भने कसले त्यसलाई निको तुल्याउनसक्छ?” (हितोपदेश १८:१४) मानसिक चोटले परिवारको मनोवृत्ति र “मानिसको आत्मा” दुवैलाई पीडित पार्नसक्छ। तर “शान्त मनले मानिसलाई स्वस्थ बनाउँछ।” (हितोपदेश १४:३०) परिवारले गम्भीर रोगको सफलतापूर्वक सामना गर्नसक्छ या सक्दैन, त्यो परिवारका सदस्यहरूको मनोवृत्ति अथवा आत्मामा भर गर्छ।—तुलना गर्नुहोस्‌ हितोपदेश १७:२२.

११ विवाह गरेको छ वर्षपछि नै एउटी मसीही स्त्रीको पतिलाई पक्षाघात भयो। तिनी भन्थिन्‌: “त्यसपछि मेरा पति स्पष्टसित बोल्नै सकेनन्‌। उहाँसित कुरा गर्नु एकप्रकारले असम्भवै भयो। उहाँले भन्‍न खोजेका कुरा बुझ्न ठूलो संघर्ष गर्नुपर्थ्यो।” अर्कोतिर पतिको वेदना र अशान्ति कल्पना गर्नुहोस्‌। यो दम्पतीले के गऱ्‍यो? तिनीहरू मसीही मण्डलीबाट धेरै टाढा बसे तापनि त्यस मसीही बहिनीले आफूलाई आध्यात्मिक तवरमा बलियो राख्ने हर प्रयास गरिन्‌। संगठनद्वारा प्रकाशित सबै नयाँ जानकारी तथा प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाहरूमा दिइएका आत्मिक आहार जम्मै लिने गर्थिन्‌। यसबाट तिनले अझ चार वर्षसम्म अर्थात्‌ पतिको मृत्यु नहोऊञ्जेल उनको सेवा गर्ने बल पाउन सकिन्‌।

१२. अय्यूबले जस्तै बिरामी व्यक्‍तिले पनि कहिलेकाहीं कस्तो योगदान पुऱ्‍याउनसक्छ?

१२ अय्यूबको सम्बन्धमा चाहिं पीडित व्यक्‍ति नै बलियो भएर बस्न सके। उनले पत्नीलाई सोधे: “परमेश्‍वरबाट सुख चाहिं भोगेर हामीले दुःख नभोग्नू र?” (अय्यूब २:१०) नभन्दै पछि गएर चेला याकूबले अय्यूबलाई धैर्य तथा सहनशीलताको ज्वलन्त उदाहरणको रूपमा उल्लेख गरे। याकूब ५:११ भन्छ: “हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” यस्तैगरि, आज पनि परिवारको रोगी सदस्य साहसी हुँदा घरका अन्य जनहरूले सकारात्मक दृष्टिकोण कायम राख्ने मदत पाएका छन्‌।

१३. घरमा कोही सिकिस्त बिरामी पर्दा परिवारका सदस्यहरूले के कस्तो तुलना गर्नु उचित होइन?

१३ तथापि, परिवारका सदस्यहरूलाई सुरुसुरुमा वास्तविकताको सामना गर्न सजिलो हुँदैन। घरमा रोगसित मुकाबिला गरिसकेका धेरै जनाले यसलाई स्वीकारेका छन्‌। साथै, परिस्थितिलाई कुन दृष्टिले हेरिन्छ, यो पनि अत्यन्त महत्त्वपूर्ण हो। घरको दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ। तापनि, प्रयत्न गरेमा नयाँ स्थितिअनुसार काम गर्न सकिन्छ। तर आफ्नो परिस्थितिलाई घरमा कोही बिरामी नभएकाहरूसित तुलना गर्नु हुँदैन। उनीहरूको जीवन आफ्नो जीवनभन्दा कति सुखी छ र ‘यो कस्तो अन्याय हो’ भनी सोच्नु हुँदैन। किनकि अरूले के कस्ता बोझ बोकिरहेका हुन्छन्‌, हामी जान्दैनौं। यथार्थमा, सबै मसीहीहरूलाई येशूका यी शब्दहरूमा पाइने सान्त्वनाको खाँचो छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।”—मत्ती ११:२८.

प्राथमिकताहरूको निर्धारण

१४. सही प्राथमिकताहरू कसरी निर्धारित गर्न सकिन्छ?

१४ घरमा सिकिस्त बिरामीको सामना गर्नु पर्दा परिवारले यी प्रेरित शब्दहरू सम्झनु बेस हुनेछ: “परामर्श विनाको योजना विफल हुन्छ, तर धेरै सोचेर गरेको योजना सफल हुन्छ।” (हितोपदेश १५:२२) रोगले गर्दा उब्जेको परिस्थितिलाई सपरिवार मिलेर छलफल गर्नु मिल्छ कि? अवश्‍य मिल्छ। उनीहरूले प्रार्थनापूर्वक परमेश्‍वरको वचनबाट चाहिंदो निर्देशन खोज्नसक्छन्‌। (भजन २५:४) यस्तो छलफलको दौडान के कस्ता कुराहरू विचार गर्नु उचित हुन्छ? एउटा त, उपचारात्मक, आर्थिक तथा अन्य पारिवारिक फैसलाहरू छलफल गर्न सकिन्छ। बिरामीको सुसारे को हुने हो? सुसारेलाई सपरिवार मिलेर कसरी सहयोग दिन सकिन्छ? यस सम्बन्धमा मिलाइने प्रबन्धहरूले परिवारको प्रत्येक सदस्यमाथि कस्तो असर पार्नेछ? बिरामीको सुसारेको आध्यात्मिक तथा अन्य आवश्‍यकताहरू कसरी पूरा गरिनेछन्‌?

१५. घरमा सिकिस्त रोगी भएका परिवारहरूलाई यहोवाले कस्तो आड दिनुहुन्छ?

१५ प्रार्थनापूर्वक यहोवाको निर्देशन माग्दा, उहाँको वचनमाथि मनन गर्दा र बाइबलमा इंगित मार्ग अपनाउँदा कहिल्यै आशा नगरिएका आशिष्‌हरू पाउन सकिन्छ। परिवारको सदस्यको रोग सधैं निको नहोला। तर यहोवामा भर पर्दा चाहिं परिणाम सधैं उत्तम हुन्छ। (भजन ५५:२२) भजनरचयिताले लेखे: “तपाईंको कृपाले मलाई थाम्यो, हे परमप्रभु। मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।”—भजन ९४: १८, १९; भजन ६३: ६-८ पनि हेर्नुहोस्‌।

छोराछोरीका लागि मदत

सपरिवार मिलेर काम गर्दा समस्याको सामना गर्न सकिन्छ

१६, १७. केटाकेटीहरूसित तिनीहरूका दाजुभाइ, दिदीबहिनीको रोग छलफल गर्दा कुन कुन कुरा ध्यानमा राख्नुपर्छ?

१६ परिवारमा कोही सिकिस्त बिरामी पर्दा छोराछोरीका लागि समस्या हुनसक्छ। आइपरेका आवश्‍यकताहरू र त्यसमा छोराछोरीले के मदत गर्नसक्छन्‌, आमाबाबुले बुझ्ने सहायता दिनुपर्छ। जस्तो कि, घरमा सानो बच्चा बिरामी पर्दा स्वाभाविकतः उसको बढी हेरविचार गरिन्छ। तर यसको अर्थ अरू छोराछोरीलाई कम माया गरेको होइन भनी बिरामी बच्चाका दाजुभाइ, दिदीबहिनीलाई सम्झाउनु आवश्‍यक हुन्छ। आमाबाबुले छोराछोरीबीच डाह अथवा असन्तोषको भाव बढ्‌न दिनु हुँदैन। बरु मिलेर रोगको सामना गर्दा केटाकेटीलाई एकआपसमा अझ घनिष्ठ र स्नेहपूर्ण सम्बन्ध गाँस्ने मदत दिनुपर्छ।

१७ कलिला केटाकेटीहरूलाई रोगको लामो तथा जटिल व्याख्या बुझ्न गाह्रो हुन्छ। तर बिरामीले कस्तो दुःख वा असुविधा अनुभव गर्दैछ, त्यो चाहिं तिनीहरूले राम्ररी बुझ्नसक्छन्‌। यसकारण परिवारको रोगी सदस्यले कस्तो महसुस गर्दैछ, बुझाउने कोसिस गर्नुहोस्‌। स्वस्थ केटाकेटीले सामान्यतः गर्नसक्ने थुप्रै कुरा बिरामीले गर्न नपाएको देख्दा बिरामीप्रति “भ्रातृ-प्रेम” तथा “कोमल हृदय” बढ्‌नसक्छ।—१ पत्रुस ३:८.

१८. रोगको कारण उठेका समस्याहरू हुर्किसकेका छोराछोरीलाई कसरी बुझाउन सकिन्छ र यसो गर्नु तिनीहरूका लागि किन लाभदायक हुनसक्छ?

१८ हुर्किसकेका छोराछोरीलाई घरमा एउटा अप्ठ्यारो स्थिति खडा भएको छ भनी बुझ्ने मदत दिनुपर्छ। घरमा सबैको सहयोगको खाँचो छ भनी सम्झाउनुपर्छ। चिकित्सक तथा उपचार खर्चले गर्दा शायद सबै छोराछोरीका लागि चाहेअनुसारको खर्च गर्न आमाबाबु असमर्थ हुनसक्छन्‌। यसले गर्दा के छोराछोरी रुष्ट हुनेछन्‌? के आमाबाबुले हेलचक्य्राइँ गरेको तिनीहरूले महसुस गर्नेछन्‌? अथवा परिस्थिति बुझेर आवश्‍यक त्याग गर्न के यी छोराछोरी तयार हुनेछन्‌? मामिला कसरी छलफल गरिन्छ र परिवारले कस्तो दृष्टिकोण अपनाउँछ, त्यसमा जवाफ भर पर्छ। तर धेरै परिवारहरूमा एक जना सदस्य बिरामी पर्दा छोराछोरीलाई पावलको यो सल्लाह अनुसरण गर्न प्रशिक्षण दिने मदत पाइएको छ: “विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर, आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।”—फिलिप्पी २: ३, ४.

उपचारप्रति अपनाइने दृष्टिकोण

१९, २०. (क) परिवारको कुनै सदस्य बिरामी पर्दा परिवारका शिरहरूले के जिम्मेवारी निर्वाह गर्नुपर्छ? (ख) चिकित्साको पुस्तक नभए तापनि बाइबलले रोगको सामना गर्ने मदत कसरी दिन्छ?

१९ सन्तुलित मसीहीहरूले परमेश्‍वरको नियम उल्लंघन नहुने उपचार स्वीकार्छन्‌। परिवारको कुनै सदस्य बिरामी पर्दा तिनीहरू उसको पीडा निवारण गर्नु खोज्छन्‌। तैपनि अक्सर विभिन्‍न उपचारात्मक प्रणालीहरूको छानबिन गर्नु आवश्‍यक पर्छ। साथै, हालसालै नयाँ नयाँ रोग तथा व्यथाहरू उब्जेका छन्‌ जसका लागि कुनै ठोस उपचारै छैन। सही रोग निदान गर्नु समेत कहिलेकाहीं गाह्रो हुन्छ। यस्तो स्थितिमा एक जना मसीहीले के गर्ने?

२० हुन त बाइबलको एउटा लेखक चिकित्सक थिए र प्रेरित पावलले पनि आफ्नो मित्र तिमोथीलाई उपचारात्मक सल्लाह दिए। तैपनि यो धर्मशास्त्र चिकित्साको पुस्तक होइन। बाइबल नैतिक तथा आध्यात्मिक निर्देशन दिने पुस्तक हो। (कलस्सी ४:१४; १ तिमोथी ५:२३) यसकारण उपचारसम्बन्धी सन्तुलित फैसला मसीही परिवारको शिर आफैले गर्नुपर्छ। सम्भवतः तिनीहरूको विचारमा एउटाभन्दा बढी चिकित्सकको राय लिन आवश्‍यक हुनसक्छ। (तुलना गर्नुहोस्‌ हितोपदेश १८:१७) निस्सन्देह तिनीहरू परिवारको बिरामी सदस्यका लागि सकेसम्म राम्रो उपचार चाहनेछन्‌। यसका लागि तिनीहरू अक्सर पेशेवर चिकित्सकहरूकहाँ जाने गर्छन्‌। कसै कसैले चाहिं चिकित्सकहरूको सामान्य उपचारभन्दा बेग्लै उपचार रुचाउलान्‌। यो व्यक्‍तिगत रुचिको कुरा हो। तर स्वास्थ्यसम्बन्धी जुनसुकै समस्याको सामना गर्नु परे तापनि मसीहीहरूले निरन्तर ‘परमेश्‍वरको वचनलाई आफ्नो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो’ मान्‍नेछन्‌। (भजन ११९:१०५) तिनीहरू सधैं बाइबलमा दिइएको मार्गनिर्देशनअनुसार हिंडने गर्छन्‌। (यशैया ५५: ८, ९) फलतः प्रेतवादको छनक हुने निदान प्रणालीहरू तथा बाइबलका सिद्धान्त उल्लंघन गर्ने उपचारहरूबाट तिनीहरू अलग बस्छन्‌।—भजन ३६:९; प्रेरित १५: २८, २९; प्रकाश २१:८.

२१, २२. बाइबल सिद्धान्तको आधारमा एउटी एसियाली स्त्रीले कसरी तर्क गरिन्‌ र तिनको परिस्थितिमा त्यस्तो निर्णय किन सही प्रमाणित भयो?

२१ एउटी जवान एसियाली स्त्रीको यो उदाहरणलाई विचार गर्नुहोस्‌। यहोवाका साक्षीहरूसित अध्ययन गरेर बाइबलको ज्ञान लिन थालेको केही समयपछि तिनको बच्चा समयभन्दा धेरै अघि जन्मियो। बच्चाको वजन १ किलो ४७० ग्राम मात्र थियो। बौद्धिक तथा शारीरिक तवरमा बच्चा पूर्णतः अविकसित हुनेछ र कहिल्यै हिंड्‌ने छैन भनी चिकित्सकले बताए। यो सुनेर तिनी भरंग भइन्‌। साथै, यस्ता बच्चाहरूको हेरविचार गर्ने आश्रममा यो बच्चालाई छाडिदिने सुझाउ चिकित्सकले दिए। यस्तो स्थितिमा के गर्ने हो, तिनको पति पनि निश्‍चित थिएनन्‌। तिनी कसलाई गुहार्न सक्थिन्‌?

२२ तिनी भन्छिन्‌: “‘छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌, गर्भको फलचाहिं उहाँको इनाम हो’ भनी बाइबलमा पढेको मलाई सम्झना भयो।” (भजन १२७:३) अतः तिनले यो “इनाम[लाई]” घरमा लगेर त्यसको स्याहारसुसार गर्ने फैसला गरिन्‌। सुरुसुरुमा निकै गाह्रो भयो। तर यहोवाका साक्षीहरूको स्थानीय मण्डलीका मसीही मित्रहरूको मदतद्वारा यस स्त्रीले बच्चाको विशेष रेखदेख गर्न सकिन्‌। बाह्र वर्षपछि यो छोरी राज्य भवनका सभाहरू धाइरहेकी तथा अरू बच्चाहरूसित खेलिरहेकी थिइन्‌। आमा भन्छिन्‌: “बाइबल सिद्धान्तहरूद्वारा सही कदम चाल्न प्रेरणा पाएकोमा म अत्यन्त कृतज्ञ छु। बाइबलबाट मैले यहोवा परमेश्‍वरसामु सफा विवेक कायम राख्ने मदत पाएँ। साथै आजीवन पीडित पार्ने पछितोको भावबाट पनि म उम्कन सकें।”

२३. रोगीहरू तथा तिनीहरूको स्याहार गर्नेहरूका लागि बाइबलमा के सान्त्वना पाइन्छ?

२३ हामीले सधैं रोगको सामना गर्नु पर्दैन। अगमवक्‍ता यशैयाले त्यो समयको चर्चा गरे जब पृथ्वीका “बासिन्दाहरूले . . . ‘म बिरामी परें’ ” भन्‍ने छैनन्‌। (यशैया ३३:२४) यो प्रतिज्ञा तीव्र गतिले नजीक आइरहेको नयाँ संसारमा पूरा हुनेछ। तर त्यो समय नआऊञ्जेल हामीले रोग तथा मृत्युसित डट्‌नैपर्छ। तथापि हामी एक्लो छैनौं। हामीसित परमेश्‍वरको वचनको निर्देशन तथा मदत छ। बाइबलमा प्रस्तुत आधारभूत नियमहरू चिरस्थायी छन्‌। असिद्ध मानवका परिवर्तनशील रायहरूभन्दा उच्च छन्‌। यसैकारण, भजनरचयिताका यी शब्दहरूसित बुद्धिमान मानिस सहमत हुन्छन्‌: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। . . . परमप्रभुको न्यायको वचन सच्चा र बिल्कुलै धर्ममय छन्‌। . . . ती पालन गरेमा ठूलो इनाम छ।”—भजन १९:७, ९, ११.