सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय तेह्र

विवाह टुट्‌नै लागेको छ भने

विवाह टुट्‌नै लागेको छ भने

१, २. वैवाहिक जीवन संकटमा पर्दा के प्रश्‍न सोध्नुपर्छ?

 इटालेली स्त्री लुसिया सन्‌ १९८८ मा अत्यन्त निराश थिइन्‌। a दश वर्षपछि तिनको विवाह टुट्‌नै लागेको थियो। तिनले पतिसित धेरै पटक मेल गर्ने कोसिस गरिसकेकी थिइन्‌। तर मेल हुन सकेन। अन्ततः आपसी अनमेलको कारण तिनी पतिबाट अलग भइन्‌। दुइ जना छोरी हुर्काउने भार पनि तिनी एक्लैले बोक्नुपऱ्‍यो। त्यो समय सम्झंदै लुसिया भन्छिन्‌: “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्‍तैन भनी म निश्‍चित थिएँ।”

तपाईंको वैवाहिक जीवन पनि समस्याग्रस्त छ भने, तपाईं लुसियाको मर्म राम्ररी बुझ्न सक्नुहुन्छ। तपाईंको पनि वैवाहिक जीवनमा समस्याहरू उठेका हुनसक्छन्‌। अतः यो विवाहलाई बचाउन सकिन्छ या सकिंदैन भनी तपाईं पनि सोच्दै हुनुहुन्छ होला। तर पहिले आफूलाई यो प्रश्‍न सोध्नु बेस हुन्छ: वैवाहिक जीवनलाई सफल तुल्याउन परमेश्‍वरले बाइबलमा दिनुभएको सबै सल्लाह के मैले प्रयोगमा ल्याएको छु?—भजन ११९:१०५.

३. पारपाचुके आज सामान्य भए तापनि पारपाचुके गरेका मानिसहरू तथा तिनीहरूको परिवारबारे के सुनिन्छ?

पतिपत्नीबीच चर्को मतभेद हुँदा पारपाचुके गर्नु नै सबैभन्दा सजिलो लाग्नसक्छ। तर हालसालै धेरै देशहरूमा टुक्रिएका परिवारहरूको संख्या अकासिएको छ भने पारपाचुके गरेका धेरै पुरुष तथा स्त्रीहरूले पछितो गर्दैछन्‌। साथै, पारपाचुके नगर्ने पतिपत्नीहरूभन्दा पारपाचुके भएका पुरुष तथा स्त्रीहरू नै मानसिक तथा शारीरिक रोगले अक्सर पीडित हुन्छन्‌। आमाबाबुले पारपाचुके गर्दा छोराछोरीले प्रायः वर्षौंपछि पनि आफ्नो जीवन अस्तव्यस्त अनि नीरस भएको महसुस गर्छन्‌। यसरी टुक्रिएका परिवारहरूका आमाबाबुहरू पनि दुःखी हुन्छन्‌। तर विवाहको आरम्भक परमेश्‍वरले यस्तो स्थितिलाई कुन दृष्टिले हेर्नुहुन्छ?

४. वैवाहिक जीवनका समस्याहरूको समाधान कसरी गर्नु उचित हो?

अघिका केही अध्यायहरूअनुसार, विवाहलाई एउटा आजीवन बन्धन बनाउनु परमेश्‍वरको उद्देश्‍य थियो। (उत्पत्ति २:२४) त्यसो भए आज यतिका थुप्रै विवाहहरू किन टुक्रिन्छन्‌? यो टुक्रिने प्रक्रिया अक्सर रातारात हुँदैन। पहिले चिन्हहरू देखिन्छन्‌। पतिपत्नीबीच उठ्‌ने स-साना समस्याहरू बढ्‌दै जाँदा अन्ततः त्यसले भयंकर रूप लिनसक्छ। तर बाइबलबाट मदत लिंदै तिनीहरूको तुरुन्तै समाधान गरेमा चाहिं थुप्रै विवाह बच्नसक्छ।

व्यवहारिक हुनुहोस्‌

५. सबैको वैवाहिक जीवनमा कुन चाहिं वास्तविकताको सामना गर्नुपर्छ?

कहिलेकाहीं पति वा पत्नीले एकअर्काबाट अव्यवहारिक आशा राख्दा समस्या उठ्‌नसक्छ। प्रेमकथा, लोकप्रिय पत्रिका, टिभी कार्यक्रम तथा चलचित्रहरूद्वारा मनमा केही यस्ता आशा तथा सपनाहरू सलबलाउनसक्छन्‌, जुन वास्तविकतादेखि धेरै टाढा हुन्छन्‌। यी सपनाहरू पूरा नहुँदा आफूलाई कसैले ठगेको अथवा धोका दिएको जस्तो लाग्नसक्छ। मनैमन क्रोधित हुनसक्छ। त्यसो भए दुइ जना असिद्ध व्यक्‍तिहरूको वैवाहिक जीवन कसरी सुखी हुनसक्छ? वैवाहिक सफलताका लागि परिश्रम गर्नुपर्छ।

६. (क) विवाहबारे वास्तविक दृष्टिकोण बाइबलले कसरी प्रस्तुत गर्छ? (ख) वैवाहिक जीवनमा अमेल उत्पन्‍न गराउने कारणहरू के हुन्‌?

बाइबल व्यवहारिक छ। वैवाहिक जीवन सुखी हुनसक्छ भनी यसले स्वीकारेको छ भने पतिपत्नीले “शरीरमा कष्ट” भोग्नेछन्‌ भनी चेताउनी पनि दिएको छ। (१ कोरिन्थी ७:२८) हामीले माथि छलफल गरेझैं पतिपत्नी दुवै असिद्ध हुन्छन्‌। पाप गर्ने क्षमता दुवैमा हुन्छ। दुवैको पालनपोषण, मानसिक तथा भावनात्मक बनौट बेग्लै हुन्छ। पतिपत्नीबीच कहिलेकाहीं पैसा, छोराछोरी, वैवाहिक सम्बन्धद्वारा साइनो पर्नेहरूबारे मतभेद हुन्छ। साथै एकसाथ कामकुराहरू गर्न समयको अभाव तथा यौन समस्याहरूले गर्दा पनि अमेल हुनसक्छ। b यस्ता समस्याहरू सुल्झाउन समय लाग्छ। तर हार नमान्‍नुहोस्‌! धेरैजसो पतिपत्नीहरूले यस्ता समस्याहरूसित सफलतापूर्वक डटेका छन्‌, दुवैलाई स्वीकार्य हुने उपायहरू पाएका छन्‌।

भिन्‍नताहरू छलफल गर्नुहोस्‌

७, ८. पतिपत्नीले एकअर्काको चित्त दुखाएका छन्‌ अथवा आपसमा कुनै मनमुटाउ छ भने, यसको समाधान गर्ने धर्मशास्त्रीय तरिका के हो?

धेरैलाई आफ्नो चित्त दुख्दा अथवा मनमुटाउ हुँदा व्यक्‍तिगत असफलताहरूबारे शान्तपूर्वक छलफल गर्न गाह्रो लाग्छ। साफसाफ “मबारे तिम्रो यो धारणा गलत भयो जस्तो छ” भन्‍नुको साटो पति वा पत्नी अति भावुक बन्‍नसक्छन्‌। फलतः समस्या अझ जटिल हुन्छ। “तिमी आफ्नोलागि मात्र सोच्छौं” अथवा “तिमीलाई मेरो माया लाग्दैन” भन्‍ने टिप्पणीहरू गरिन्छ। केही चाहिं बहस गर्न नचाहेर मौनधारण गर्छन्‌।

तर यी सबैभन्दा बेस चाहिं बाइबलको यो सल्लाह मान्‍नु हो: “क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्‌।” (एफिसी ४:२६) आफ्नो विवाहको ६० औं वार्षिकी मनाउने एउटा सुखी दम्पतीलाई तिनीहरूको सफल वैवाहिक जीवनको रहस्य सोध्दा पतिले यसो भने: “सानोभन्दा सानो आपसी भिन्‍नतालाई सुत्नअघि नै हामीले मेटाउने बानी बसाल्यौं।”

९. (क) पारस्परिक कुराकानीको एउटा मुख्य भाग धर्मशास्त्रअनुसार के हो? (ख) साहस तथा नम्रता आवश्‍यक परे तापनि पतिपत्नीहरूले अक्सर के गर्नुपर्छ?

आपसमा पतिपत्नीको कुरा नमिल्दा तिनीहरू दुवै “सुन्‍नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा” हुनुपर्छ। (याकूब १:१९) कुरा ध्यानपूर्वक सुनेपछि शायद दुवैले माफी माग्ने खाँचो महसुस गर्नसक्छन्‌। (याकूब ५:१६) हृदयदेखि “मलाई माफ देऊ। मैले तिम्रो चित्त दुखाएँ” भन्‍नसक्न साहस तथा नम्रता चाहिन्छ। तर यसरी आफ्ना भिन्‍नताहरू मेटाउन खोज्दा पतिपत्नीले पारस्परिक समस्याहरू समाधान गर्ने मदत पाउँछन्‌। आपसमा न्यानो आत्मीयता फस्टाउनेछ र एकअर्कासित बिताइने समय अझ रमाइलो हुनसक्छ।

दाम्पत्य कर्तव्य पूरा गर्ने

१०. पावलले कोरिन्थका मसीहीहरूलाई दिएको कुन चाहिं प्रोत्साहन आज पनि मसीहीहरूमा लागू हुनसक्छ?

१० “ज्यादै व्यभिचार” भएको कारण प्रेरित पावलले आफ्नो पत्रमा कोरिन्थीहरूलाई विवाह गर्न प्रोत्साहित गरे। (१ कोरिन्थी ७:२) आजको संसार प्राचीन कोरिन्थभन्दा खराब छ। सांसारिक मानिसहरूबीच खुलेआम छलफल हुने अनैतिक विषय, तिनीहरूको उत्ताउलो पहिरन तथा पत्रिका, उपन्यास, टिभी र चलचित्रहरूमा प्रस्तुत कामोद्दीपक कथाहरू सबैको लक्ष्य अवैध कामवासना जगाउनु हो। यस्तै वातावरणमा बस्ने कोरिन्थीहरूलाई प्रेरित पावलले भने: “कामाग्निले जल्नुभन्दा विवाह गर्नु असल हो।”—१ कोरिन्थी ७:९.

११, १२. (क) पतिपत्नीले एकअर्काप्रति कुन कर्तव्य कस्तो मनोवृत्तिसाथ पूरा गर्नुपर्छ? (ख) केही समयका लागि दाम्पत्य कर्तव्य पूरा गर्न सकिंदैन भने के गर्नु बेस हुन्छ?

११ अतः बाइबलमा विवाहित मसीहीहरूलाई यो आज्ञा दिइएको छ: “पतिले पत्नीसित गर्नु पर्ने व्यवहार गरोस्‌, औ त्यसैगरी पत्नीले पनि पतिसँग।” (१ कोरिन्थी ७:३) याद गर्नुहोस्‌, यहाँ दिनुमा जोड दिएको छ। माग गर्नुमा होइन। वैवाहिक जीवनमा पतिपत्नीले एकअर्काको आनन्दमा चासो लिंदा मात्र शारीरिक सम्बन्ध सन्तोषजनक हुन्छ। उदाहरणका लागि, बाइबलमा पतिहरूले पत्नीहरूसित “बुद्धिमानीसाथ” व्यवहार गर्नु भनिएको छ। (१ पत्रुस ३:७) यो सिद्धान्त दाम्पत्य कर्तव्य पूरा गर्ने सम्बन्धमा विशेषतः लागू हुन्छ। पत्नीसित कोमल व्यवहार नगर्दा तिनलाई यो वैवाहिक सहवासबाट आनन्द उठाउन गाह्रो हुनसक्छ।

१२ तर पतिपत्नी यो दाम्पत्य कर्तव्य पूरा गर्न कहिलेकाहीं असमर्थ पनि हुनसक्छन्‌। महिनाका केही दिनहरूमा अथवा अन्य कुनै कारणले गर्दा पत्नी अति थकित हुनसक्छे। (तुलना गर्नुहोस्‌ लेवी १८:१९) अथवा आफ्नो काम गर्ने ठाउँमा पतिलाई कुनै खास समस्या आइपरेको हुनसक्छ। ऊ भावशून्य बन्‍नसक्छ। तसर्थ, केही समयका लागि दाम्पत्य कर्तव्य पूरा गर्न सकिंदैन जस्तो छ भने, यसबारे पतिपत्नी दुवैले खुलस्त छलफल गर्नुपर्छ र अन्ततः निर्णय जे भए तापनि त्यसमा दुवैको “सम्मति” हुनुपर्छ। (१ कोरिन्थी ७:५) यसो गर्दा एकअर्काबारे गलत धारणा अपनाउने मौका नै हुँदैन। तथापि, पत्नीले जानाजानी पतिप्रतिको दाम्पत्य कर्तव्य पूरा नगर्दा अथवा पतिले पनि प्रेमपूर्वक पत्नीप्रतिको कर्तव्य पूरा नगर्दा तिनीहरू सजिलैसित परीक्षामा फस्नसक्छन्‌। यस्तो हुँदा वैवाहिक जीवन समस्याग्रस्त हुनसक्छ।

१३. मसीहीहरूले आफ्नो सोचाइलाई कसरी स्वच्छ राख्नसक्छन्‌?

१३ सबै मसीहीहरूले जस्तै परमेश्‍वरका विवाहित सेवकहरू अश्‍लील कुराहरूबाट टाढा रहनुपर्छ। यस्ता अश्‍लील कुराहरूले मनमा अशुद्ध र अप्राकृतिक अभिलाषाहरू जगाउनसक्छन्‌। (कलस्सी ३:५) विपरीत लिंगसित व्यवहार गर्दा विवाहित मसीही स्त्री वा पुरुष आफ्नो सोचविचार तथा आचरणबारे होशियार हुनपर्छ। येशूले चेताउनी दिनुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२८) यौनसम्बन्धी बाइबलको सल्लाह प्रयोग गरेमा दम्पतीहरूले आफूलाई परीक्षा तथा व्यभिचारको पासोबाट बचाउनसक्छन्‌। यौन, विवाहको प्रारम्भक यहोवा परमेश्‍वरले दिनुभएको असल वरदान हो। यसको कदर गर्ने पतिपत्नीहरूले वैवाहिक जीवनको सहवासबाट आनन्द उठाइरहन सक्छन्‌।—हितोपदेश ५:१५-१९.

पारपाचुके गर्ने बाइबलीय आधार

१४. कहिलेकाहीं कुन चाहिं दुःखलाग्दो घटना हुन्छ? किन?

१४ खुशीको कुरा, धेरैजसो मसीही पतिपत्नीबीच समस्याहरू उठ्‌दा त्यसको समाधान गर्न सकिन्छ। तर कहिलेकाहीं यस्तो हुँदैन। किनकि मानिसहरू असिद्ध छन्‌। तिनीहरू शैतान अधीनस्थ यस पापपूर्ण संसारमा बस्छन्‌। फलतः केही विवाहहरू टुट्‌नै लागेका छन्‌। (१ यूहन्‍ना ५:१९) यस्तो कठिन स्थितिको सामना मसीहीहरूले कसरी गर्नुपर्छ?

१५. (क) सम्भवतः पुनर्विवाह गर्न पाउनेगरि पारपाचुके गर्ने एक मात्र धर्मशास्त्रीय आधार के हो? (ख) विश्‍वासघाती पति वा पत्नीसित केहीले पारपाचुके नगर्ने फैसला किन गरेका छन्‌?

१५ यस पुस्तकको दोस्रो अध्यायमा उल्लेख भएझैं करणी गरेको खण्डमा मात्र धर्मशास्त्रीय आधारमा पारपाचुके र सम्भवतः पुनर्विवाह गर्ने स्वीकृति दिएको छ। c (मत्ती १९:९) तपाईंको पति वा पत्नीले तपाईंसित विश्‍वासघात गरेको ठोस प्रमाण छ भने, तपाईंले एउटा गम्भीर निर्णय लिनुपर्छ। यो विवाहलाई के तपाईं कायम राख्नुहुन्छ? अथवा पारपाचुके गर्नुहुन्छ? यसका लागि कुनै नियम छैन। साँचो पश्‍चात्ताप गर्ने आफ्नो पति वा पत्नीलाई केही मसीहीहरूले पूर्णतः क्षमा गरेका छन्‌। यसरी जोगाइएको वैवाहिक जीवनको परिणाम राम्रो भएको छ। कतिले चाहिं छोराछोरीको खातिर पारपाचुके नगर्ने फैसला गरेका छन्‌।

१६. (ख) केहीले चाहिं गलत काम गर्ने आफ्नो पति वा पत्नीसित पारपाचुके गर्ने फैसला किन गरेका छन्‌? (ख) निर्दोष पति वा पत्नीले पारपाचुके गर्ने वा नगर्ने फैसला गर्दा किन कसैले पनि उसको निर्णयको आलोचना गर्नु हुँदैन?

१६ तर सम्भवतः त्यो पापपूर्ण कार्यले गर्दा गर्भाधारण भएको वा यौनजन्य रोग लागेको हुनसक्छ। अथवा स-साना केटाकेटीहरूलाई यौन दुर्व्यवहार गर्ने आमाबाबुबाट बचाउन आवश्‍यक परेको हुनसक्छ। स्पष्टतः फैसला गर्नअघि विचार गर्नुपर्ने धेरै कुरा छन्‌। तथापि, आफ्नो पति वा पत्नीले गरेको विश्‍वासघात थाह भएपछि पनि ऊसित पुनः यौन सम्बन्ध राख्नुको अर्थ, तपाईंले उनलाई क्षमा गर्नुभएको हो। ऊसित वैवाहिक जीवन कायम राख्ने इच्छा प्रकट गर्नुभएको हो। यसपछि पारपाचुके गर्ने वा अरूसित पुनर्विवाह गर्ने, त्यसको धर्मशास्त्रीय आधार रहँदैन। तर तपाईंको फैसलामा कसैले पनि हस्तक्षेप चाहिं गर्नु हुँदैन। नता तपाईंको फैसलाको कसैले आलोचना गर्नु मिल्छ। तपाईंको फैसलाको परिणाम तपाईंले भोग्नुपर्छ। “किनभने हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।”—गलाती ६:५.

छुटेर बस्ने आधारहरू

१७. करणी नभइकन छुट्टिने वा पारपाचुके गर्नेहरूमाथि धर्मशास्त्रमा के प्रतिबन्धहरू लगाइएका छन्‌?

१७ आफ्नो पति वा पत्नीले व्यभिचार गरेको छैन भने पनि के तिनीसित छुट्टिने वा पारपाचुके गर्ने कारणहरू हुनसक्छन्‌? हुनसक्छन्‌। तर यस्तो हुँदा एक जना मसीहीले पछि अर्को विवाह गर्ने हेतुले तेस्रो व्यक्‍तिसित सम्बन्ध बढाउन पाउनेछैन। (मत्ती ५:३२) किनकि बाइबलमा यसरी छुट्टिएर बस्ने अनुमति दिइएको भए तापनि छुटेर जानेले “विवाह नगरी बसोस्‌” अथवा पति वा पत्नीसित फेरि “मिलाप” गरोस्‌ भन्‍ने नियम तोकिएको छ। (१ कोरिन्थी ७:११) तर के कस्ता अत्यन्त कठिन परिस्थितिहरूको सामु पतिपत्नी छुट्टिनु उचित हुनसक्छ?

१८, १९. के कस्ता अत्यन्त कठिन परिस्थितिहरूमा पति वा पत्नीले पुनर्विवाह गर्नु सम्भव नभए तापनि कानुनन्‌ छुट्टिने अथवा पारपाचुके गर्ने विचार गर्नसक्छन्‌?

१८ एक त पतिको खराब बानी तथा घोर आलस्यले गर्दा परिवार दरिद्र बन्‍नसक्छ। d उसले परिवारको आम्दानी जुवा खेलेर अथवा मादक पदार्थ वा मद्यव्यसनमा उडाइरहेको हुनसक्छ। बाइबल भन्छ: “कसैले . . . आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्‍वासलाई इन्कार गर्दछ र विश्‍वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) यस्तो मान्छेले आफ्नो आनीबानी सुधार्नुको साटो पत्नीले कमाएको पैसासमेत लगेर त्यसको दुरुपयोग गर्नसक्छ। यस्तो हुँदा पत्नीले आफ्नो तथा बच्चाहरूको बचाउका लागि कानुनन्‌ छुटेर बस्ने दरखास्त दिनसक्छे।

१९ पतिको व्यवहार अचाक्ली हिंस्रक हुँदा अथवा उसले पत्नीको स्वास्थ्य तथा ज्यानलाई नै जोखिममा पार्नेगरि बारम्बार कुटपिट गर्दा पनि कानुनी कारबाही चाल्न सकिन्छ। यसको अतिरिक्‍त, पति वा पत्नीले जबरजस्ती परमेश्‍वरको कानुन उल्लंघन गर्न लाउन खोज्दा पनि कानुनन्‌ अलग बस्ने विचार गर्न सकिन्छ। आफ्नो आध्यात्मिक जीवन नै खतरामा परिसकेको छ भने, यो कुरा विशेषतः लागू हुन्छ। जोखिममा परेको पति वा पत्नीले “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य” मान्‍न यसबाहेक अर्को कुनै उपाय नहुनसक्छ।—प्रेरित ५:२९.

२०. (क) परिवार टुटेको खण्डमा परिपक्व मित्रहरू तथा प्राचीनहरूले के गर्नसक्छन्‌ र के चाहिं गर्नु हुँदैन? (ख) छुट्टिने तथा पारपाचुकेबारे बाइबलमा गरिएका टिप्पणीहरूलाई पतिपत्नीले के गर्ने निहुँ बनाउनु हुँदैन?

२० तर घरमा पति वा पत्नीको घोर दुर्व्यवहार हुँदा कसैले निर्दोष पति वा पत्नीलाई पनि छुट्टिन वा सँगै बस्न उस्काउनु हुँदैन। परिपक्व मित्र तथा प्राचीनहरूले मदत तथा बाइबल आधारित सल्लाह दिए तापनि यिनीहरूलाई घरभित्र पतिपत्नीबीच हुने सबै कुरा थाह हुँदैन। त्यो त यहोवालाई मात्र थाह हुन्छ। तर कुनै मसीही पत्नीले आफ्नो विवाहलाई रद्द गर्ने निहुँ मात्र खोजिरहेकी छे भने चाहिं परमेश्‍वरले रच्नुभएको वैवाहिक प्रबन्धको ऊ अनादर गर्छे। तथापि, स्थिति अति नै खतरनाक छ र त्यसमा केही सुधार भएन भने, उसले अलगै बस्ने फैसला गर्नसक्छे। साथै, उसको यो फैसलाको कसैले आलोचना गर्न मिल्दैन। यही सिद्धान्त अलग हुन चाहने मसीही पतिमा पनि लागू हुन्छ। “हामी सबै परमेश्‍वरको न्याय-आसनको सामने खड़ा हुन्छौं।”—रोमी १४:१०.

टुटेको विवाह फेरि कसरी जोडियो

२१. विवाहबारे बाइबलमा पाइने सल्लाह व्यवहारिक छ भनेर कुन अनुभवद्वारा प्रदर्शित हुन्छ?

२१ यो अध्यायको सुरुमा चर्चित लुसियाले आफ्नो पतिबाट अलग्गिएको तीन महिनापछि यहोवाका साक्षीहरूलाई भेटिन्‌। तिनले उनीहरूसँग बाइबल अध्ययन गर्न थालिन्‌। तिनी भन्छिन्‌: “बाइबलमा आफ्नो समस्याको व्यवहारिक समाधान देखेर म छक्क परें। एक हप्ता अध्ययन गर्ने बित्तिकै म आफ्नो पतिसित मेल गर्न इच्छुक भएँ। संकटमा परेका विवाहहरूलाई यहोवा साँच्चै बचाउन जान्‍नुहुन्छ भनेर म निर्धक्क भई भन्‍नसक्छु। उहाँका शिक्षाहरूले पतिपत्नीलाई एकअर्काको मोल गर्न सिकाउँछ। यहोवाका साक्षीहरूले परिवारमा फूट उत्पन्‍न गर्छन्‌ भन्‍ने कसैकसैको अनुमान सत्य होइन। मेरो जीवनमा त ठीक विपरीत भयो।” लुसियाले आफ्नो जीवनमा बाइबल सिद्धान्तहरू प्रयोग गर्न सिकिन्‌।

२२. सबै दम्पतीहरूले के कुरामाथि पूरा भरोसा गर्नुपर्छ?

२२ तर यसको एक मात्र उदाहरण लुसिया होइन। वैवाहिक जीवन बोझ होइन, आशिष्‌ हुनुपर्छ। यसका लागि यहोवाले आफ्नो लिखित तथा अनमोल वचन बाइबलमा सर्वोत्तम सल्लाह उपलब्ध गराउनुभएको छ। बाइबलले “निर्बोधहरूलाई बुद्धिमान” तुल्याउनसक्छ। (भजन १९:७-११) त्यसले टुट्‌नै लागेको थुप्रै विवाहलाई बचाउनसकेको छ। साथै, गम्भीर समस्याग्रस्त विवाहहरूमा पनि उन्‍नति ल्याउनसकेको छ। वैवाहिक जीवनका लागि यहोवा परमेश्‍वरले दिनुहुने सल्लाहमाथि सबैले पूरा भरोसा गरून्‌। त्यो सल्लाह साँच्चै व्यवहारिक छ!

a नाम बदलिएको छ।

b यस्ता केही समस्याहरू अघिल्ला अध्यायहरूमा छलफल भइसकेका छन्‌।

c बाइबलमा “करणी[को]” अर्थ व्यभिचार, समसमागमन, पशुसम्भोग तथा जननेन्द्रियहरूको अन्य स्वैच्छिक अवैध प्रयोग हो।

d तर यहाँ ती परिस्थितिहरू समावेश हुँदैनन्‌ जहाँ पति बिरामी अथवा बेकारीले गर्दा नचाहँदा नचाहँदै पनि परिवारको रेखदेख गर्न असमर्थ हुन्छ।