सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वर्तमान समयका लागि व्यवहारिक किताब

वर्तमान समयका लागि व्यवहारिक किताब

वर्तमान समयका लागि व्यवहारिक किताब

सरसल्लाहले भरिएका किताबहरू आजकल निकै लोकप्रिय छन्‌। तर ती सबै सल्लाह पुराना हुन्छन्‌ र चाँडै नयाँ सल्लाहहरू लेखेर पुनः छपाइन्छन्‌ वा नयाँ किताबै तयार पारिन्छ। बाइबल नि? बाइबल लेख्न सकिएको झन्डै २,००० वर्ष बितिसक्यो। तापनि त्यसले दिने सन्देशलाई आजसम्म न सुधार्नै परेको छ नता नवीकरण नै गर्न आवश्‍यक परेको छ। के त्यस्तो किताबमा साँच्चै वर्तमान समयका लागि चाहिने व्यवहारिक सल्लाह पाइन्छ त?

पाइँदैन। कसै कसैले त्यसको ठाडो जवाफ दिन्छन्‌। “अहिले कसैले पनि १९२४ ताकको रासायनिक पाठ्यपुस्तक प्रयोग गर्दै विद्यार्थीहरूलाई पढाउने सल्लाह दिंदैन।” यो थियो, बाइबल किन पुरानो भइसक्यो भन्‍ने प्रश्‍न सोध्दा डा. एलि एस. चेसनले दिएको जवाफ। सुन्दा त ठीकै हो जस्तो लाग्छ। आखिर, बाइबल लेख्न सकिएको समयदेखि यता मानिसले मानसिक स्वास्थ्य एवं मानव व्यवहारबारे थुप्रै कुरा पनि त सिकिसके। अतः आधुनिक समयका लागि त्यति पुरानो किताब कसरी व्यवहारिक हुनसक्छ र?

चिरकालीन सिद्धान्तहरू

हो, समय परिवर्तन भइसकेको छ। तर मानिसजातिको आधारभूत आवश्‍यकता जस्ताको तस्तै छन्‌। इतिहासको पन्‍ना पन्‍नामा मानिसजातिले सधैं प्रेम अनि स्नेहको चाह गरेको हामी प्रशस्त विवरणहरू पाउँछौं। सुखी अनि अर्थपूर्ण जीवन चाहँदै नचाहने मानिस कुन युगमा पो थिए र? मानिसहरूलाई सधैं आर्थिक दबाबको सामना गर्न, वैवाहिक जीवन सफल पार्न अनि आफ्ना छोराछोरीलाई असल नैतिक शिक्षा दिने सल्लाह चाहिएको छ। बाइबल त्यस्तो किताब हो जसले यस्ता आधारभूत आवश्‍यकता पूरा गर्छ।—उपदेशक ३:१२, १३; रोमी १२:१०; कलस्सी ३:१८-२१; १ तिमोथी ६:६-१०.

बाइबलका सल्लाहहरू केलाएर हेर्नुहोस्‌, तपाईंले ती सबै सल्लाहहरूले मानिसजातिको मानसिक बनावटलाई गहिरो ध्यानमा राखेको पाउनुहुनेछ। अब आउनुहोस्‌, बाइबलका सुस्पष्ट अनि चिरकालीन सल्लाहहरू वर्तमान समयका लागि व्यवहारिक छन्‌ कि छैनन्‌, केही उदाहरणहरू विचार गरौं।

वैवाहिक जीवनका लागि व्यवहारिक सल्लाह

परिवार, युन एन क्रनिकल भन्छ, “सबैभन्दा पुरानो अनि सबैभन्दा आधारभूत मानव संगठन हो; परिवार, पुस्ता पुस्ताबीचको सबैभन्दा निर्णायक गाँठो पनि हो।” तथापि, यो “निर्णायक गाँठो” आजकल द्रुत गतिमा फुस्किरहेको हामी पाउँछौं। सोही क्रनिकल अझ यसो भन्छ, “वर्तमान संसारमा थुप्रै परिवारहरूले आफ्नो क्षमता अनि अस्तित्वलाई नै खतरामा पार्ने भयंकर चुनौतीहरू सामना गर्दैछन्‌।” यस्तो परिवारका इकाइलाई जोगाउने कस्तो सल्लाह बाइबलमा छ त?

उदाहरणका लागि, पतिपत्नीलाई नै लिऊँ। पतिपत्नीले आपसमा कस्तो व्यवहार गर्नुपर्छ, त्यस सम्बन्धमा बाइबलले थुप्रै सल्लाहहरू दिएको छ। जस्तै पतिले गर्नुपर्ने कामबारे बाइबलले के सल्लाह दिन्छ, यसलाई विचार गर्नुहोस्‌: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन।” (एफिसी ५:२८, २९) त्यस्तैगरि पत्नीलाई “आफ्ना पतिको डर [“गहिरो आदर गर,” NW]” मान्‍ने सल्लाह दिइएको छ।—एफिसी ५:३३.

अब बाइबलका यी सल्लाह पालन गर्दा नतिजा के हुन्छ, त्यसलाई विचार गरौं। पत्नीलाई “आफ्नै शरीरलाई झैं” प्रेम गर्ने पतिले कहिल्यै पत्नीलाई घृणा गर्दैन अनि हिंस्रक व्यवहार पनि गर्दैन। उसले कुटपिट गर्दैन नता मौखिक वा भावनात्मक तवरमै दुर्व्यवहार गर्छ। बरु, आफूले जत्तिको आफ्नो कदर गर्छ, विचार पुऱ्‍याउँछ, त्यतिकै कदर पत्नीको पनि गर्छ र त्यतिकै विचार उसको पनि पुऱ्‍याउँछ। (१ पत्रुस ३:७) फलतः त्यस्तो पुरुषकी पत्नीले माया अनि दाम्पत्य जीवनको सुरक्षा पाउँछिन्‌। अनि त्यस्तो पुरुषले स्त्रीजातिलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर छोराछोरीका लागि राम्रो नमुना पनि बसालिरहेको हुन्छ। अर्कोतर्फ लोग्नेको “गहिरो आदर” गर्ने पत्नीले आलोचना गरेर होच्याएर लोग्नेको बेइज्जत गर्दिनन्‌। बरु लोग्नेको सम्मान गर्छिन्‌, भरोसा गर्छिन्‌, माया गर्छिन्‌, मूल्याकंन गर्छिन्‌।

के यस्तो सल्लाह आज काम लाग्छ? चाखलाग्दो कुरा त के छ भने, आज पारिवारिक जीवन अध्ययन गरेर खप्पिस भइसकेका विशेषज्ञहरूसमेत त्यही निष्कर्षमा पुगेका छन्‌। उदाहरणका लागि, पारिवारिक परामर्श कार्यक्रमका प्रशासकले के भनिन्‌, ध्यान दिनुहोस्‌: “मैले अहिलेसम्म आमा र बुबाबीच बलियो, गहिरो, मायालु सम्बन्ध हुने परिवार सफल भएको देखेको छु। . . . यस्तो बलियो सम्बन्ध हुनु महत्त्वपूर्ण छ र त्यस्तो सम्बन्ध हुने परिवारहरूमा मैले छोराछोरीहरूले आफूलाई सुरक्षित महसुस गरेको पनि देखेको छु।”

वर्षौंको दौडान, बाइबलले वैवाहिक जीवनबारे दिने सल्लाह वास्तवमा अनगिन्ती असल पारिवारिक परामर्शदाताहरूको सुझाउभन्दा धेरै भरपर्दो साबित भएको छ। नहोस्‌ पनि किन? किनकि दुइ चार वर्षअघिसम्म प्रायजसो विशेषज्ञहरू वैवाहिक जीवनमा कटुता देख्ने बित्तिकै पारपाचुके गरिहाल्ने सजिलो सुझाउ दिन्थे। आजकाल परामर्श दिने थुप्रै मानिसहरू सम्भव होउञ्जेल वैवाहिक जीवनलाई नटुक्राउने सल्लाह दिन्छन्‌। तर यो परिवर्तन पनि पारपाचुकेको कारण परिवार टुक्रिंदा थुप्रै हानि हुने गरेको देखेपछि मात्र भएको हो।

यी सबको दाँजोमा बाइबलले वैवाहिक जीवनका लागि भरपर्दो अनि सन्तुलित सल्लाह दिन्छ। कुनै कुनै परिस्थितिमा पारपाचुके गर्न सकिन्छ भनेर त्यसले मानि लिएको छ। (मत्ती १९:९) तर त्यसो भन्दैमा सानोतिनो कुरामा पनि पारपाचुके गर्न मिल्छ भनेर त्यसले कहिल्यै समर्थन गरेको छैन। (मलाकी २:१४-१६) लोग्ने वा स्वास्नीबाहेक अन्य पुरुष वा स्त्रीसित सम्बन्ध राख्नु गलत हो भनेर पनि त्यसले बताएको छ। (हिब्रू १३:४) बाइबल भन्छ, विवाह, पुरुष अनि स्त्रीबीचको वचनबद्धता हो। “यसैकारण मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” aउत्पत्ति २:२४; मत्ती १९:५, ६.

अतः बाइबलले वैवाहिक जीवनको लागि दिने सबै सल्लाह आज पनि त्यतिकै व्यवहारिक छन्‌ जति बाइबल लेख्दा थियो। लोग्नेस्वास्नीले एकअर्कालाई मायालु व्यवहार अनि सम्मान गर्न थाल्यो, विवाहलाई विशिष्ट सम्बन्ध सम्झन थाल्यो भने वैवाहिक जीवन सफल हुने सम्भावना धेरै हुन्छ र बनिसकेको परिवार टुक्रनदेखि पनि बच्छ।

आमाबाबुका लागि व्यवहारिक सल्लाह

केही दशकअघिसम्म प्रायजसो आमाबाबु “नयाँ विचारधाराले” प्रेरित भई बालकलाई “अनुशासन दिनु हुन्‍न” भन्‍ने विचार राख्थे। केटाकेटीलाई सीमा तोक्दा तिनीहरूलाई भावनात्मक चोट पुग्नसक्छ, हतोत्साहित हुनसक्छन्‌ भनेर डराउँथे। असल मनसाय भएका परामर्शदाताहरूले समेत केटाकेटीलाई हल्काफुल्का अनुशासनबाहेक अरू अनुशासन पटक्कै दिनु हुँदैन भनेर जोड दिन्थे। तर त्यस्ता थुप्रै विशेषज्ञहरू अहिले अनुशासनले खेल्ने भूमिकालाई फेरि विचार गर्दैछन्‌। चिन्तित आमाबाबुहरू अनुशासनबारे अझ स्पष्ट जानकारी माग्दैछन्‌।

तथापि, बालबच्चा हुर्काउने सम्बन्धमा बाइबलले सधैं स्पष्ट, व्यवहारिक सल्लाह दिंदै आएको छ। यस्तै २,००० वर्षअघि बाइबलले यसो भनेको थियो: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर [“अनुशासन देओ,” NW]।” (एफिसी ६:४) यहाँ “अनुशासन” भनी अनुवाद गरिएको युनानी शब्दले “पालन पोषण गर्ने, प्रशिक्षण दिने, निर्देशन दिने” जस्ता कुरा बोध गराउँछ। यस्तो अनुशासन वा निर्देशन आमाबाबुको मायाको प्रमाण हो भनेर बाइबलले जोड दिन्छ। (हितोपदेश १३:२४) सुस्पष्ट नैतिक निर्देशन पाउँदा बच्चाहरूको प्रगति हुन्छ र तिनीहरू ठीक बेठीक छुट्याउनसक्ने हुन्छन्‌। आमाबाबुले कत्तिको चिन्ता गर्छन्‌ अनि आफू कस्तो किसिमको व्यक्‍ति बन्दैछ, यी सबै अनुशासन पाए पछि न केटाकेटीले थाह पाउने कुरा हो।

तर त्यसो भन्दैमा आमाबाबुले आफ्नो अख्तियार अर्थात्‌ “बेंत[को]” दुरुपयोग गर्नु हुँदैन। b (हितोपदेश २२:१५; २९:१५) आमाबाबुलाई सावधान गराउँदै बाइबल यस्तो सल्लाह दिन्छ: “केटाकेटीहरूको बढ्‌तै सुधार नगर, नत्रता तिनीहरू खिन्‍न हुनेछन्‌।” (कलस्सी ३:२१, फिलिप्स) केटाकेटीलाई सिकाउनुछ भने थप्पड लगाउनु प्रायः प्रभावकारी नहुनसक्छ भनेर पनि बाइबलले स्वीकारेको छ। यसै सन्दर्भमा हितोपदेश १७:१० भन्छ: “मूर्ख मानिसले सय मुक्का खाएको भन्दा समझ-शक्‍ति हुने मानिसलाई अर्तीको असर हुन्छ।” अर्तीको अलावा बाइबलले पछि हुनसक्ने कुराहरूलाई ध्यानमा राखेर पहिल्यै अनुशासन दिने सुझाउ पनि दिन्छ। जस्तै, व्यवस्था ११:१९ ले आमाबाबुलाई छोराछोरी सँगै हुँदा कुरैकुरामा नैतिक मूल्य एवं मान्यताहरू सिकाउने सल्लाह दिन्छ।—व्यवस्था ६:६, ७ पनि हेर्नुहोस्‌।

बाइबलले आमाबाबुलाई दिने चिरकालीन सल्लाह स्पष्ट छ। बच्चालाई नियमित रूपमा मायालु अनुशासन दिनु आवश्‍यक छ र त्यस्ता सल्लाहहरू साँच्चै उपयोगी छन्‌ भनेर वास्तविक अनुभवहरूले देखाइसकेका छन्‌। c

मानिसहरूबीच विभाजन ल्याउने तत्त्वहरूलाई पार गर्ने

आजभोलि मानिसहरू जाति, राष्ट्रको नाउँमा विभाजित छन्‌। मानिसले खडा गरेका त्यस्ता पर्खालहरूले गर्दा संसारभरि निर्दोष मानिसहरू बन्दुक र गोलीका शिकार भएका छन्‌। अझ इतिहासका पानाहरूलाई केलाउने हो भने भिन्‍न भिन्‍न जाति वा राष्ट्रका पुरुष तथा स्त्रीहरू कहिल्यै मिलेर बस्ला जस्तो देखिंदैन। “त्यसको समाधान हाम्रो हृदयमा छ,” एक अफ्रिकी राजनीतिज्ञले भने।११ तर के मानिसको हृदयलाई परिवर्तन गर्नु सजिलो छ र? तर बाइबलको सन्देशले कसरी हृदयलाई छुन्छ अनि समान भावना जगाउँछ, निम्न विवरणलाई विचार गरेर हेर्नुहोस्‌।

परमेश्‍वरले “एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो,” भन्‍ने बाइबलको शिक्षाले जातीय घमण्डलाई ठाउँ दिंदैन। (प्रेरित १७:२६) पृथ्वीमा एउटै जाति अर्थात्‌ मानवजाति मात्र छ भनेर त्यसले देखाउँछ। यति मात्र होइन बाइबलले हामीलाई “परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ,” भन्‍ने सल्लाह दिन्छ। (एफिसी ५:१) तर किन? किनकि “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) बाइबललाई गम्भीरतापूर्वक स्वीकार्ने अनि त्यसका शिक्षाअनुरूप जीवन व्यतीत गर्न चाहने व्यक्‍तिलाई यस्तो ज्ञानले तँ-तँ, म-म होइन तर हामी भन्‍न सिकाउँछ। त्यसले व्यक्‍तिविशेषको हृदयलाई असर गर्छ र मानिस-मानिसबीच फूट ल्याउने जति पनि कुराहरू छन्‌ त्यसलाई पगालिदिन्छ। आउनुहोस्‌ केही उदाहरणहरू विचार गरौं।

हिटलरले युरोपभरि रक्‍तपात मच्चाउँदा, युद्धमा भाग लिएर निर्दोष मानिसहरूको हत्या गर्न घोर इन्कार गर्ने मसीहीहरूको एउटा समूह थियो। ती हुन्‌, यहोवाका साक्षीहरू। यहोवाका साक्षीहरू सँगी मानव विरुद्ध ‘तरवार उठाउन’ मानेनन्‌। किन? किनकि तिनीहरू परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहन्थे। (यशैया २:३, ४; मीका ४:३, ५) सबै जाति सबै राष्ट्र बराबर छन्‌ भन्‍ने बाइबलको शिक्षालाई तिनीहरू हृदयदेखि विश्‍वास गर्थे। (गलाती ३:२८) तिनीहरूको यस्तो शान्तिप्रिय अडानले गर्दा यातना शिविरमा हालिने प्रथम कैदीहरू यहोवाका साक्षीहरू नै थिए।—रोमी १२:१८.

तथापि, बाइबलअनुसार चल्छु भनेर दाबी गर्ने सबैले यस्तो अडान लिएनन्‌। दोस्रो विश्‍वयुद्ध अन्त भएपछि लगत्तै जर्मनको प्रोटेस्टन्ट पादरी मार्टिन नेमोलरले के भने, ध्यान दिनुहोस्‌: “परमेश्‍वरलाई [लडाइँको] दोष लगाउनेले या त परमेश्‍वरको वचन जानेको छैन वा जान्‍न चाहँदैन। . . . युगौंयुगदेखि मसीही चर्चहरूले एक पल्ट होइन अनेक पल्ट युद्धलाई, सिपाहीलाई अनि हतियारलाई आशिष्‌ दिएका छन्‌ . . . आफ्ना शत्रुहरूको विनाश होस्‌ भनेर प्रार्थना गरेर गैरमसीही कार्य गरेका छन्‌। यी सबै हाम्रै अनि हाम्रा पितापुर्खाहरूको भूल हो परमेश्‍वरको होइन। अनि हाम्रो त्यस्तो कर्तुतले गर्दा आज यी अर्नेष्ट बाइबल स्टुडेन्ट्‌स [यहोवाका साक्षीहरू] जस्ता पन्थ भनौंदाहरूअगाडि हामी लाजले आफ्नो शिर झुकाउनु परेको छ। यी हजारौंहजार स्टुडेन्ट्‌स यातना शिविरमा जान तयार भए, आफ्नो ज्यान[समेत] दिए तर युद्धमा भाग लिएर मानिसलाई बन्दुक हिर्काउन तयार भएनन्‌।”१२

यहोवाका साक्षीहरू अहिले पनि आफ्नो भ्रातृत्वका लागि चिरपरिचित छन्‌। के अरबी, के यहूदी, के क्रोएसियाली, के सर्बियाली अनि के हुटु, के टुट्‌सी, तिनीहरूको भ्रातृत्वले सबैलाई आपसमा बाँधेको छ। तथापि, त्यस्तो एकता चुट्‌की बजाउँदैमा हुने कुरा होइन भनेर साक्षीहरू स्वीकार्छन्‌। तिनीहरू अरूभन्दा श्रेष्ठ भएर पनि भएको होइन। तर त्यस्तो एकता तिनीहरूबीच छ। किनकि तिनीहरू बाइबलको सन्देशको शक्‍तिद्वारा प्रेरित भएका छन्‌।—१ थिस्सलोनिकी २:१३.

मानसिक सुस्वास्थ्य प्रदान गर्ने व्यवहारिक निर्देशन

मानसिक अनि भावनात्मक स्वास्थ्यले शारीरिक स्वास्थ्यलाई प्रायः असर गर्छ भन्‍ने कुरामा दुइ मत छैन। उदाहरणका लागि, रीसले हानिकारक असरहरू गर्नसक्छन्‌ भनेर वैज्ञानिक अध्ययनहरूद्वारा प्रमाणित भइसक्यो। “हामीसँग भएका प्रायजसो प्रमाणहरूले के नै संकेत गर्छ भने, छिटो रीसाउने मानिसलाई मुटुको रोग (अनि साथै अन्य रोगहरू) लाग्ने धेरै सम्भावना हुन्छ। अनि त्यसका थुप्रै कारणहरू छन्‌। जस्तै, रीसाउने बानीले गर्दा सामाजिक सम्पर्क कम हुँदै जानु, रीसले गर्दा शरीरमा बढी धक्का पुग्नु अनि स्वास्थ्यलाई हानि पुऱ्‍याउने बानी झन्‌ चर्कनु।” यो हो, ड्युक मेडिकल सेन्टरको मानव व्यवहार अध्ययन विभागका निर्देशक डा. रेडफोर्ड विलियम्स अनि तिनकी पत्नी भर्जिनिया विलियम्सद्वारा लिखित रीसले ज्यान लिन्छ (अंग्रेजी) भन्‍ने किताबको अंश।१३

तर बाइबलले यस्ता वैज्ञानिक अध्ययनहरू हुनुभन्दा हजारौं वर्षअघि हाम्रो भावनात्मक अवस्था र शारीरिक स्वास्थ्यबीचको सम्बन्धलाई कसरी सरल अनि स्पष्ट तरिकामा बताइसकेको थियो, निम्न पदलाई ध्यान दिनुहोस्‌: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ, तर क्रोधले त्यसको हड्डी गलाउँछ।” (हितोपदेश १४:३०; १७:२२) त्यसैकारण बाइबलले बुद्धिले भरिएको यो सल्लाह पनि दिएको छ: “रिसाउन छोड़ र क्रोधलाई त्याग्‌।” अनि “रीस देखाउन छिटो नगर्‌।”—भजन ३७:८; उपदेशक ७:९.

यद्यपि, बाइबलले रीस हानिकारक छ भनेर बताएको मात्र छैन, रीस नियन्त्रण गर्ने व्यवहारिक सुझाउ पनि दिएको छ। उदाहरणका लागि, हितोपदेश १९:११ ले के भन्छ हेर्नुहोस्‌: “धीरज धारण गर्नु चातुर्य [“अन्तरदृष्टि,” NW] हो, दोषको वास्ता नगर्नु मानिसको गौरव हो।” “अन्तरदृष्टि” अर्थ लाग्ने हिब्रू शब्दले कुनै कुरा हुनु वा गर्नुको “कारण बुझ्ने ज्ञान[लाई]” संकेत गर्छ।१४ भन्‍नुको तात्पर्य, “कुनै काम गर्नुअघि सोच्ने।” अरूले चित्त दुखाउँदा वा रीस उठाउँदा, अर्को व्यक्‍तिले त्यसरी बोल्नु वा कुनै काम गर्नुको कारण बुझ्ने कोसिस गर्दा धैर्य धारण गर्ने शक्‍ति बढ्‌नसक्छ र रीस नगर्ने मदत पाउन सकिन्छ।—हितोपदेश १४:२९.

अर्को व्यवहारिक सल्लाह हामी कलस्सी ३:१३ मा पाउँछौं। त्यस पदले यसो भन्छ: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर।” यो संसारमा बस्नुपरेपछि कहिलेकाहीं रीस उठ्‌नु स्वाभाविक हो। “एउटाले अर्कोलाई सहेर” भन्‍ने अभिव्यक्‍तिले अरू व्यक्‍तिको मन नपर्ने कुरा सहनु भन्‍ने संकेत गर्छ। कहिलेकाहीं भित्रभित्रै मुरमुरिएर बस्नुभन्दा बिर्सनु नै बेस हुन्छ। आखिर रीस बोकेर पनि के गर्ने? बोझ तपाईंकै बढ्‌ने न हो।—“मानव सम्बन्धका लागि व्यवहारिक सल्लाह” शीर्षक भएको पेटी हेर्नुहोस्‌।

आज, सल्लाह र निर्देशनको केही कमी छैन। तर बाइबलले दिने जस्तो सल्लाह कसैले दिन सक्दैन। किनकि त्यसको सल्लाह कुनै परिकल्पना होइन। नता त्यसका सल्लाहहरूले हामीलाई कहिल्यै हानि नै पुऱ्‍याउँछ। बरु त्यसमा भएका बुद्धिका वचनहरू “साह्रै पक्का” छन्‌। (भजन ९३:५) साथै, बाइबलको सल्लाह चिरकालीन पनि छ। झन्डै २,००० वर्षअघि बाइबल लेख्न सकिएको भए तापनि त्यसका शब्दहरू अझै व्यवहारिक छन्‌। अनि हाम्रो रंग, देश जुनसुकै होस्‌, त्यसका सल्लाहहरूले हामी सबैलाई उत्तिकै लाभ दिन्छ। बाइबलका शब्दहरूमा शक्‍ति पनि छ। मानिसलाई असल बनाउने शक्‍ति। (हिब्रू ४:१२) अतः यो किताब पढेर त्यसका सिद्धान्तहरू व्यवहारमा उतारेमा तपाईंको जीवन अझ सुखमय हुनसक्छ।

[फुटनोटहरू]

a यहाँ “मिलिरहन्छ” भनेर अनुवाद गरिएको हिब्रू शब्द दाभाक-ले “वफादार भएर अनि स्नेह देखाएर कसैसित टाँसेर रहनु” भन्‍ने बोध गराउँछ।मत्ती १९:५ मा “मिलिरहन्छ” भन्‍ने युनानी शब्द चाहिं “गुँदले टाँसिएजस्तो टाँसिनु,” “सिमेन्टले जोडेजस्तो जोडिनु,” “एकअर्कोसित बलियोगरि बाँधिनु” जस्ता अर्थ लाग्ने शब्दहरूसित सम्बन्धित छन्‌।

b बाइबलकालीन मानिसहरू “बेंत” (हिब्रूमा, सेबेत) भन्दा “लट्ठी” वा गोठालोले लिएर हिंड्‌ने “लौरो” बुझ्थे।१० तर यहाँ चलाइएको बेंत शब्दले निर्ममतापूर्वक छोराछोरीलाई कुट्‌नुपिट्‌नुलाई होइन तर मायालु निर्देशनलाई बुझाउँछ।—भजन २३:४ तुलना गर्नुहोस्‌।

c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य भन्‍ने किताबका “बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌,” “तपाईंको किशोरकिशोरीलाई फल्न फुल्न मदत दिनुहोस्‌,” “घरमा कोही विद्रोही छ कि?” अनि “आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्‌” भन्‍ने विषयहरू हेर्नुहोस्‌।

[पृष्ठ २४-मा भएको ठूलो अक्षरको क्याप्सन]

पारिवारिक जीवनका लागि बाइबलले स्पष्ट अनि व्यवहारिक सल्लाह दिन्छ

[पृष्ठ २३-मा भएको पेटी]

सुखी परिवारका विशेषताहरू

केही वर्षअघि अध्यापक अनि परिवार विशेषज्ञले विस्तृत सर्वेक्षण गर्ने विचार गरेर ५०० भन्दा धेरै पेशेवर परामर्शदाताहरूलाई “सुखी” परिवारमा आफूले देखेका गुनहरूबारे टिप्पणी गर्न लगाए। चाखलाग्दो कुरा, तिनीहरूले उल्लेख गरेका प्रायजसो गुनहरू बाइबलले धेरैअघि दिएका सुझाउहरूसँग मिल्दोजुल्दो भएको पाइयो। यी परामर्शदाताहरूले परिवारका सदस्यहरूबीच राम्रो सञ्चार हुनु अनि आपसी मतभिन्‍नताहरू सुल्झाउने प्रभावकारी तरिकाहरू अपनाउनु परिवारलाई सुखी बनाउने सबैभन्दा महत्त्वपूर्ण बुँदा रहेछन्‌ भनेर उल्लेख गरेका थिए। सुखी परिवारहरूबीच तिनीहरूले “रीसको पोको बोकेर ओछ्यानमा नजाने” भन्‍ने नीति रहेको देखे भनेर सर्वेक्षणको प्रवर्तक टिप्पणी गर्छिन्‌। तर बाइबलले १,९०० वर्षअघि नै यस्तो सल्लाह दिइसकेको थियो: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्‌।” (एफिसी ४:२६) बाइबलकालीन संसारमा सूर्यास्तदेखि सूर्यास्तसम्म एक दिन हुन्थ्यो। अतः आधुनिक विशेषज्ञहरूले परिवारको अध्ययन गर्नुभन्दा धेरै अघि नै बाइबलले सल्लाह दिइसकेको थियो कि, दिन बित्नु अगावै आपसी मतभिन्‍नता सुल्झाउनू। सुखी परिवारहरूले “बाहिर जाने बेलामा वा सुत्नअघि गम्भीर विषयहरू निकाल्दैनन्‌ रहेछ” भनेर पनि तिनले पत्ता लगाइन्‌। “त्यस्ता परिवारमा मैले बारम्बार ‘ठीक समय’ भन्‍ने वाक्य दोहरिएको पाएँ,” तिनी भन्छिन्‌। तिनीहरूलाई थाह नहोला, तर त्यस्ता परिवारहरूले वास्तवमा २,७०० वर्षभन्दा अघि बाइबलमा लेखेको कुराको नक्कल गरिरहेका छन्‌। जहाँ यसो भनिएको छ: “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।” (हितोपदेश १५:२३; २५:११) यी सांकेतिक शब्दहरूले शायद बाइबलकालीन मानिसहरू कुँदिएका चाँदीका टोकरीहरूमा राखिएका स्याउ आकारका सुनका गहनाहरूलाई असाध्यै मूल्यवान्‌ अनि सुन्दर सम्झँदा हुन्‌ भन्‍ने संकेत गर्नसक्छ। साँच्चै त्यस्ता गहनाले ठीक समयमा भनेको ठीक शब्द मूल्यवान्‌ अनि सुन्दर हुन्छन्‌ भन्‍ने सन्देश दिन्छ। मानिसहरू तनाउग्रस्त हुँदा ठीक समयमा बोलेको ठीक शब्द ठूलो मूल्यको हुन्छ।—हितोपदेश १०:१९.

[पृष्ठ २६-मा भएको पेटी]

मानव सम्बन्धका लागि व्यवहारिक सल्लाह “रीस ता गर, तर पापचाहिं नगर। तिमीहरूको ओछ्यानमा आफ्ना आफ्ना मनमा गुन, र चूपचाप रहो।” (भजन ४:४) यहाँ भनेजस्तै सानोतिनो कुराले गर्दा रीस उठ्‌दा विचार गरेर बोल्नु र आपसमा भनाभन हुन नदिनु बेस हो। “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” (हितोपदेश १२:१८) विचारै नगरी नबोल्नुहोस्‌। विचार नुपुऱ्‍याइ बोल्दा चोट पुग्नसक्छ, मित्रता टुट्‌नसक्छ। “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।” (हितोपदेश १५:१) शान्त भएर व्यवहार गर्न आत्मसंयमी हुनुपर्छ तर साँच्चै त्यसरी आत्मसंयम देखाउँदा प्रायः आपसी समस्या टल्छ र सम्बन्ध राम्रो पनि हुन्छ। “झगड़ाको शुरू मूल फुटेर निस्केको बेरोक पानीजस्तै हो, यसकारण त्यो बढ़नअघिनै रीस छोड़िदेऊ।” (हितोपदेश १७:१४) रीस थाम्न नसक्नु अगावै संवेदनशील परिस्थितिबाट भागिहाल्नु बुद्धिमानी कुरा हो। “रीस देखाउन छिटो नगर्‌, किनभने रीस मूर्खको मनमा हुन्छ।” (उपदेशक ७:९) भावनाहरू बढेपछि न हात चल्ने हो। त्यसकारण मनमा रीस राख्नु मूर्खता हो। किनकि त्यस्तो रीस राख्ने व्यक्‍तिले अन्ततः या त रूखो बोली बोल्छ नभए हात उठाउँछ।

[पृष्ठ २५-मा भएको चित्र]

यातना शिविरमा हालिने प्रथम कैदीहरू यहोवाका साक्षीहरू नै थिए