सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दानियल—पुर्पक्षको लागि खडा गरिएको पुस्तक

दानियल—पुर्पक्षको लागि खडा गरिएको पुस्तक

अध्याय दुई

दानियल—पुर्पक्षको लागि खडा गरिएको पुस्तक

१, २. कुन अर्थमा दानियलको पुस्तकमाथि आरोप लगाइएको छ र यसको पक्षमा प्रस्तुत प्रमाण विचार गर्नु तपाईं किन महत्त्वपूर्ण ठान्‍नुहुन्छ?

 एउटा महत्त्वपूर्ण मुद्दाको फैसलाको लागि तपाईं अदालतमा हाजिर हुनुभएको दृश्‍य कल्पना गर्नुहोस्‌। एक जना मानिसलाई जालझेल गरेको अभियोग लगाइएको छ। सरकारी वकिल त्यो मानिस दोषी छ भन्‍ने कुरामा अडिग छन्‌। यद्यपि, अभियुक्‍तले पहिल्यैदेखि निष्ठावान्‌ भन्‍ने नाउँ कमाएको छ। यस्तो मुद्दामा के तपाईं प्रतिवादीको बयान सुन्‍न उत्सुक हुनुहुन्‍न र?

बाइबलको पुस्तक दानियलको सन्दर्भमा पनि कुरा त्यस्तै हो। यसका लेखकले निष्ठावान्‌ व्यक्‍ति भन्‍ने नाउँ कमाएका थिए। तिनको नाउँले चिनिने पुस्तकलाई हजारौं वर्षअघिदेखि निकै महत्त्वपूर्ण मानिएको छ। यसका विवरणहरू साँचो इतिहास हुनुका साथै सा.यु.पू. सातौं र छैठौंतिरका हिब्रू अगमवक्‍ता दानियलले लेखेको हो भन्‍ने विश्‍वास गरिन्छ। बाइबलको सही कालक्रमअनुसार यस पुस्तकले सा.यु.पू. ६१८ देखि ५३६ सम्मको अवधिलाई ढाक्छ र यो पछिल्लो मितितिरै लेख्न सिद्धिएको हो। तर यो पुस्तकमाथि आरोप लागेको छ। कुनैकुनै विश्‍वकोश तथा सन्दर्भिकाहरूले यो पुस्तक सरासर जालसाजी हो भन्छन्‌।

३. दानियलको पुस्तकको सत्यताबारे द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका के भन्छ?

उदाहरणका लागि, द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-ले मानिलिएअनुसार कुनै समय दानियलको पुस्तकलाई “साँचो भविष्यवाणीले भरिएको वास्तविक इतिहास” ठानिन्थ्यो। तथापि, ब्रिटानिका-को दाबीअनुसार दानियलको पुस्तक वास्तवमा “राष्ट्रिय संकटको बेला अर्थात्‌ यहूदीहरूले [सिरियाली राजा] एन्टियोकस चौथो एपिफानसको शासनकालमा कठोर सतावट भोगेको समयमा लेखिएको” हो। यो विश्‍वकोशअनुसार दानियलको पुस्तक सा.यु.पू. १६७ र १६४ को बीचतिर लेखिएको हो। यही पुस्तकले अरू के पनि भनेको छ भने, दानियलले भविष्यबारे अगमवाणी गरेको होइन तर “विगतमा भोगेका कुराहरूलाई भविष्यमा हुने घटनाहरूजस्तै” लेखेका मात्र हुन्‌।

४. दानियलको पुस्तकमाथि कहिलेदेखि आरोप लगाउन थालियो र हालैका शताब्दीहरूमा त्यस्तै आरोपहरू कसरी थुप्रिएका छन्‌?

यस्ता धारणाहरू कहाँबाट सुरु भए? दानियलको पुस्तकको आलोचना गरिनु कुनै नौलो कुरा होइन। यस्तो आलोचना सा.यु. तेस्रो शताब्दीका पोरफेरी भन्‍ने दार्शनिकले थालेका हुन्‌। रोमी साम्राज्यका अरू थुप्रै मानिसहरूले जस्तै तिनले पनि मसीहीधर्मको प्रभावबाट खतरा महसुस गरे। तिनले यस “नयाँ” धर्मलाई कमजोर तुल्याउन १५ वटा पुस्तक लेखे। यसमध्ये १२ औं पुस्तक दानियलको पुस्तक विरुद्ध लेखिएको थियो। पोरफेरीले दानियलको पुस्तक सा.यु.पू. दोस्रो शताब्दीमा कुनै यहूदीले लेखेको किर्ते हुनुपर्छ भने। अनि १८ औं र १९ औं शताब्दीमा पनि यस्तै आलोचना गरिए। बाइबलका समालोचक तथा तर्कविद्‌हरूको दृष्टिकोणमा भविष्यमा हुने घटनाहरूको भविष्यवाणी गर्नु असम्भव छ। दानियल सबैको तारो भयो। वास्तवमा तिनी र तिनको पुस्तकमाथि मुद्दा हालिएको थियो। दानियलको पुस्तक तिनी बेबिलोनमा निर्वासित हुँदा होइन तर शताब्दीयौंपछि अर्कै व्यक्‍तिले लेखेको हो भन्‍ने प्रशस्त प्रमाण पाइन्छ भनी आलोचकहरूले दाबी गरे। a एकपछि अर्को गर्दै यति धेरै आरोप थुप्रियो कि दानियलको पक्ष लिंदै एक जना लेखकले डानियल इन द क्रिटिक्स डेन नामक पुस्तकसमेत लेखे।

५. दानियलको पुस्तकको सत्यताबारे उठेको प्रश्‍न किन महत्त्वपूर्ण छ?

के यी समालोचकहरूको कुराको कुनै प्रमाण छ? अथवा के प्रमाणले प्रतिवादीलाई समर्थन गर्छ? यसमा थुप्रै गहन विषयहरू मुछिएका छन्‌। यो एउटा पुरातन पुस्तकको नाउँ बदनाम हुने कुरा मात्र होइन। यसमा हाम्रो भविष्य मुछिएको छ। दानियलको पुस्तक जालसाजी हो भने मानवजातिको भविष्यका लागि गरिएका सबै प्रतिज्ञाहरू खोक्रो हुनेछन्‌। तर यसमा साँचो भविष्यवाणीहरू छन्‌ भने ती अहिले हाम्रोलागि कसरी अर्थपूर्ण छन्‌ भनी जान्‍न तपाईं उत्सुक हुनुहुन्छ होला। यसलाई ध्यानमा राख्दै दानियलमाथि लगाइएका केही आरोपहरू केलाएर हेरौं।

६. दानियलको पुस्तकमा लिपिबद्ध इतिहास विरुद्ध कहिलेकाहीं कस्तो आरोप लगाइन्छ?

उदाहरणका लागि, दी इन्साइक्लोपीडिया अमेरिकाना-मा लिपिबद्ध यो आरोपलाई लिनुहोस्‌: दानियलको पुस्तकमा भएका “[उदाहरणका लागि, बेबिलोनी निर्वासन जस्ता] प्रारम्भिक समयको थुप्रै ऐतिहासिक विवरणहरू एकदमै गोलमाल” छन्‌। तर के यो कुरा साँच्चै सत्य हो त? आउनुहोस्‌, दानियलको पुस्तकमा गल्ती भनेर आरोप लगाइएका तीनवटा बुँदाहरूलाई एक एक गरी केलाऔं।

बेनाम राजाको कुरा

७. (क) दानियलले बेलसजरको नाउँ उल्लेख गरेको हुँदा बाइबल आलोचकहरू किन दंग परे? (ख) बेलसजर केवल एउटा काल्पनिक पात्र हुन्‌ भन्‍ने धारणा पछि के भयो?

दानियलले नबूकदनेसरका “छोरा” बेलसजरले राज गरिरहेको बेला बेबिलोनको पराजय भयो भनी लेखे। (दानियल ५:१, ११, १८, २२, ३०) धेरै समयअघिदेखि आलोचकहरूले कोट्याइरहेको कुरा यही हो। किनभने बाइबलबाहेक अरू कतै पनि बेलसजरको नाउँ लेखिएको पाइएन। पुरातन इतिहासकारहरूले नबूकदनेसरको उत्तराधिकारी, बेबिलोनको अन्तिम राजा नाबोनिडस थिए भने। तसर्थ, १८५० मा फर्डिनान्ड हिड्‌सिकले बेलसजर, लेखकको परिकल्पना मात्र हो भने। तर के तपाईंलाई हिड्‌सिकको कुरा अलि अतार्किक लागेन? एकदमै कम विवरणहरू मात्र उपलब्ध भएको समयावधिको इतिहासमा एक जना शासकको नाउँ उल्लेख नहुँदैमा के तिनको अस्तित्व नै थिएन भनेर प्रमाणित हुन्छ र? जे होस्‌, सन्‌ १८५४ मा हाल दक्षिणी इराकमा अवस्थित पुरातन बेबिलोनी शहर ऊरको भग्नावशेषमा बेलना आकारका स-साना माटाका भाँडाहरू फेला परे। यी कीलाक्षर शिला राजा नाबोनिडसका थिए र त्यसमा “मेरो जेठो छोरा, बेलसारुसुरको” भनी लेखिएको नाबोनिडसका प्रार्थना पनि थिए। आलोचकहरूसमेत यस कुरामा सहमत हुन करै लाग्यो: दानियलका पुस्तकको बेलसजर यिनै थिए।

८. दानियलले बेलसजर शासनारूढ राजा थिए भनी बताएको विवरण कसरी प्रमाणित भएको छ?

यद्यपि, आलोचकहरूलाई चित्त बुझेन। “यसले केही पनि प्रमाणित गर्दैन” भनी एच. एफ. टल्बटले भने। त्यो लेखोटमा उल्लिखित व्यक्‍ति निर्बोध बालक हुनसक्छ जबकि दानियलले तिनी शासक थिए भनी बताएका छन्‌ भन्‍ने तिनको तर्क थियो। टल्बटका टिप्पणीहरू प्रकाशित भएको एक वर्षपछि अरू कीलाक्षरहरू भेट्टिए र त्यसमा उल्लेख गरिएअनुसार बेलसजरका थुप्रै सचिव तथा भारदारहरू थिए। यो सानो बालकको वर्णन पटक्कै हुन सक्दैन! नाबोनिडस कहिलेकाहीं वर्षौंसम्म पनि बेबिलोनबाहिर हुन्थे भनी अरू शिलालेखहरूले प्रस्ट पारेपछि बल्ल यो विवादको टुंगो लाग्यो। यी शिलालेखहरूले यसताका तिनले आफ्नो जेठो छोरालाई (बेलसजर) बेबिलोनको “राजपद सुम्पे” भनेर पनि प्रस्ट पाऱ्‍यो। यतिखेर बेलसजर नै राजा अर्थात्‌ तिनको बुबाका सहशासक थिए। b

९. (क) दानियलले कुन अर्थमा बेलसजरलाई नबूकदनेसरको छोरा भनेको हुनुपर्छ? (ख) दानियलले नाबोनिडसको अस्तित्वबारे संकेतसमेत गरेका छैनन्‌ भन्‍ने आलोचकहरूको तर्क किन गलत हो?

अझै चित्त नबुझेर केही आलोचकहरू बाइबलले बेलसजरलाई नाबोनिडसको होइन तर नबूकदनेसरको छोरा भनेको छ भन्‍ने गुनासो गर्छन्‌। अरू कति जनाचाहिं दानियलले नाबोनिडसको अस्तित्वबारे अलिकता पनि संकेत गरेको छैन भनी जिद्दी गर्छन्‌। तथापि, यी दुवै आरोपको कुनै ठोस आधार छैन। यसो हेर्दा, नाबोनिडसले नबूकदनेसरकी छोरीसित विवाह गरेका थिए जस्तो बुझिन्छ। त्यसो हो भने बेलसजर, नबूकदनेसरका नाति भए। हिब्रू र अरामी भाषामा “हजुरबुबा” वा “नाति” अर्थ बुझाउने शब्द छैन। त्यसकारण, “छोराको” अर्थ “नाति” वा “सन्तान[समेत]” हुनसक्छ। (मत्ती १:१ तुलना गर्नुहोस्‌।) यसबाहेक, बाइबलको विवरणले बेलसजरलाई नाबोनिडसको छोरा भनेर चिनाउन सकिने संकेत दिन्छ। भित्तामा अनिष्टकारी अक्षरहरू देखेर तर्सिएका बेलसजरले त्यसको अर्थ खुलाउन सक्नेलाई राज्यको तेस्रो दर्जा दिने घोषणा गर्छन्‌। (दानियल ५:७) दोस्रो दर्जा नदिएर किन तेस्रो? यसले पहिलो र दोस्रो दर्जा अरू कसैले ओगटिसकेको थियो भन्‍ने जनाउँछ। वास्तवमा, त्यो पहिलो र दोस्रो दर्जा नाबोनिडस र तिनको छोरा बेलसजरको थियो।

१०. अन्य पुरातन इतिहासकारहरूले भन्दा दानियलले बेबिलोनी राजघरानाबारे विस्तृत विवरण प्रस्तुत गर्न सक्नुको कारण के हो?

१० अतः दानियलले बेलसजरबारे उल्लेख गर्नु “एकदमै भद्रगोल” इतिहासको प्रमाण होइन। त्यसको विपरीत, दानियलले बेबिलोनको इतिहास लेखेको नभए तापनि बेबिलोन राजतन्त्रबारे हेरोडोटस, जेनोफोन र बेरोससजस्ता पुरातन इतिहासकारहरूले भन्दा विस्तृत विवरण दिन्छन्‌। तिनीहरूले उल्लेख नगरेका विवरणहरू दानियलले लेख्न सक्नुको कारण के हो? किनभने तिनी बेबिलोनमै थिए। तिनको पुस्तक केही शताब्दीपछि जालझेल गरी लेखिएको नभई प्रत्यक्षदर्शीको विवरण हो।

मादी दारा को थिए?

११. दानियलअनुसार मादी दारा को थिए तर तिनीबारे के भनिएको छ?

११ बेबिलोनको पतन हुँदा “मादी राजा दाराले” शासन गर्न थाले भनी दानियल बताउँछन्‌। (दानियल ५:३१) बाइबलबाहेक अन्य पुस्तक वा पुरातात्त्विक विवरणमा मादी दाराबारे उल्लेख गरिएको पाइँदैन। त्यसैकारण, द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-ले दारा राजा “काल्पनिक व्यक्‍ति” हो भन्छ।

१२. (क) बाइबल आलोचकहरूले मादी दाराको अस्तित्व नै थिएन भन्‍नुभन्दा कुन कुरा थाह पाउनुपर्ने हो? (ख) सम्भवतः मादी दारा को पनि हुनसक्छन्‌ र यो कुन प्रमाणले देखाउँछ?

१२ कोही कोही शास्त्रविद्‌ भने यस्तो आरोप लगाउन अलि सतर्क भएका छन्‌। किनभने कुनै समय यी आलोचकहरूले बेलसजरलाई पनि “काल्पनिक” व्यक्‍ति भनेका थिए। निस्सन्देह, दाराको सन्दर्भमा पनि ती आलोचकहरू गलत साबित हुनेछन्‌। फारसी कोरेसले विजय हासिल गर्ने बित्तिकै “बेबिलोनको राजा” भन्‍ने पदवी लिएनन्‌ भनी कीलाक्षर शिलालेखहरूले प्रकट गरिसकेका छन्‌। एक जना अनुसन्धानकर्ता यस्तो टिप्पणी गर्छन्‌: “‘बेबिलोनको राजा’ भन्‍ने नाउँ ग्रहण गर्ने व्यक्‍ति स्वयम्‌ कोरेस नभई कोरेसको अधीनता स्वीकार्ने सामन्ती राजा थिए।” उसोभए के दारा, बेबिलोनको जिम्मामा सुम्पिएको शक्‍तिशाली मादी हाकिमको पदवी थियो होला त? कसै कसैको विचारमा गुबारु भन्‍ने व्यक्‍ति दारा हुनसक्छन्‌। कोरेसले गुबारुलाई बेबिलोनको बडाहाकिम नियुक्‍त गरे अनि अन्य विवरणहरूले देखाएअनुसार तिनी निकै शक्‍तिसम्पन्‍न व्यक्‍ति थिए। एउटा कीलाक्षर शिलालेखअनुसार तिनले बेबिलोनमा थुप्रै उप-बडाहाकिम नियुक्‍त गरे। चाखलाग्दो कुरा के छ भने, दाराले बेबिलोन राज्यमाथि शासन गर्न १२० जना प्रान्तीय बडाहाकिम नियुक्‍त गरेका थिए भनी दानियलले उल्लेख गरेका छन्‌।—दानियल ६:१.

१३. दानियलको पुस्तकमा मात्र मादी दाराको नाउँ उल्लेख हुनुको एउटा चित्तबुझ्दो कारण के हो?

१३ समयको दौडान यस राजाको सही चिनारी दिने सुस्पष्ट प्रमाणहरू पत्ता लाग्नसक्छ। तर जे होस्‌, पुरातात्त्विक प्रमाण भेटिएन भन्दैमा दारालाई “काल्पनिक” व्यक्‍ति भन्‍नु नमिलेझैं दानियलको पूरै पुस्तक किर्ते ठानेर बेवास्ता गर्नु झन्‌ कहाँ मिल्छ र। तसर्थ, दानियलको विवरणलाई प्रत्यक्षदर्शी प्रमाणको रूपमा लिनु नै बढी व्यावहारिक हुनेछ, जुन अन्य उपलब्ध लेखोटहरूभन्दा विस्तृत छ।

यहोयाकीमको शासन

१४. यहोयाकीमको शासनकालबारे दानियल र यर्मियाबीच किन कुनै भिन्‍नता छैन?

१४ दानियल १:१ मा यसो भनिएको छ: “यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा बाबेलका राजा नबूकदनेसरले यरूशलेममा आएर त्यसलाई घेरे।” आलोचकहरूले यो पदमा पनि त्रुटि भेट्टाएका छन्‌ किनभने यो यर्मियाको विवरणसित मेल खाँदैन जहाँ राजा यहोयाकीमको शासनकालको चौथो वर्ष, बेबिलोनका राजा नबूकदनेसरको शासनकालको पहिलो वर्ष थियो भनी बताइएको छ। (यर्मिया २५:१; ४६:२) के दानियल र यर्मियाको कुरा आपसमा मेल खाँदैन? थप जानकारी पाएपछि यो कुरा स्पष्ट भइहाल्छ। फिरऊन नेकोले यहोयाकीमलाई सा.यु.पू. ६२८ मा पहिलो चोटि राजा बनाउँदा तिनी यस मिश्री शासकको कठपुतली थिए। यो घटना, सा.यु.पू. ६२४ मा नबूकदनेसर बेबिलोनमा आफ्नो बुबाको सिंहासनमा बस्नुभन्दा तीन वर्षअघिको हो। त्यसको लगत्तैपछि (सा.यु.पू. ६२० मा) नबूकदनेसरले यहूदामाथि आक्रमण गरे अनि यहोयाकीमलाई बेबिलोनका सामन्ती राजा बनाए। (२ राजा २३:३४; २४:१) बेबिलोनमा बस्ने यहूदीको लागि यहोयाकीमको “तेस्रो वर्ष” बेबिलोनका सामन्ती शासकको रूपमा तिनले शासन गरिरहेको तेस्रो वर्ष नै हुने थियो। दानियलले त्यो दृष्टिकोणबाट लेखेका थिए। तथापि, यर्मियाले भने यरूशलेममा जीवन बिताइरहेका यहूदीहरूको दृष्टिकोणबाट लेखे। अतः फिरऊन नेकोले यहोयाकीमलाई राजा बनाएको समयदेखि यर्मियाले तिनको शासन हिसाब गरे।

१५. दानियल १:१ को मिति मिल्दैन भन्‍नु किन कमजोर तर्क हुनेछ?

१५ त्यसकारण, कुरा मिलेन भन्‍ने यस्तो आरोपले बेबिलोनमा यहूदीहरूसित निर्वासनमा छँदै दानियलले आफ्नो पुस्तक लेखेको हो भनी झनै प्रमाणित हुन्छ। तर दानियलको पुस्तक विरुद्ध लगाइएको आरोपमा अर्को त्रुटि स्पष्ट छ। यो कुरा नबिर्सनुहोस्‌, दानियलको पुस्तकका लेखकसित यर्मियाको पुस्तक थियो र तिनले त्यसको उल्लेखसमेत गरेका छन्‌। (दानियल ९:२) दानियलको पुस्तकका लेखक आलोचकहरूले भने जस्तो किर्ते गर्न खप्पिस भएको भए तिनले यर्मियाजस्तो सम्मानित स्रोत अनि अझ त्यसमाथि पनि पुस्तकको पहिलो पदसित नमिल्ने विवरण लेख्थे होलान्‌ र? अहँ, पटक्कै लेख्ने थिएनन्‌!

ठोस विवरणहरू

१६, १७. पुरातात्त्विक प्रमाणले दानियलको निम्न विवरणहरूलाई कसरी समर्थन गर्छ (क) सबै मानिसहरूले दण्डवत्‌ गरून्‌ भनेर नबूकदनेसरले खडा गरेको विशाल मूर्ति? (ख) बेबिलोनका निर्माण परियोजनाहरूबारे नबूकदनेसरको घमण्ड?

१६ अब हामी नकारात्मक होइन सकारात्मक पक्षतिर ध्यान देऔं। आफूले लेखेका विभिन्‍न घटना विवरणहरूको दानियल प्रत्यक्षदर्शी थिए भनी देखाउने केही अन्य विवरणहरू विचार गर्नुहोस्‌।

१७ पुरातन बेबिलोनका सानातिना घटनाहरूसमेत दानियललाई राम्ररी थाह भएको हुँदा यो विवरण सत्य हो भन्‍ने अझ जोडदार प्रमाण पाउँछौं। उदाहरणका लागि, दानियल ३:१-६ अनुसार सबै मानिसहरूले दण्डवत्‌ गरून्‌ भनेर नबूकदनेसरले एउटा विशाल मूर्ति खडा गरे। यस राजाले आफ्ना प्रजाहरूलाई राष्ट्रवादी तथा धार्मिक रीतिथितिहरूमा सकेसम्म सहभागी गराउन खोजेका थिए भनी पुरातत्त्वविद्‌हरूले थप प्रमाण भेट्टाएका छन्‌। त्यस्तै गरी, नबूकदनेसरले आफूले निर्माण गरेका थुप्रै कुराहरूको घमण्ड गरेका थिए भनेर पनि दानियलले लिपिबद्ध गरेका छन्‌। (दानियल ४:३०) बेबिलोनमा भएका थुप्रै निर्माण कार्यहरूमा नबूकदनेसरको साँच्चै ठूलो हात थियो भनी हाल पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका प्रमाणहरूले पुष्टि गर्छन्‌। नबूकदनेसर कतिसम्म फूर्ति लगाउनु पर्ने मान्छे थिए भने, तिनले हरेक इँटामा आफ्नो नाउँ छापेका थिए! दानियलका आलोचकहरूले चित्त बुझ्ने जवाफ दिन नसकेको कुरा के हो भने, मक्काबीको समयमा (सा.यु.पू. १६७-६३) जालझेल गर्ने व्यक्‍तिले ती निर्माण परियोजनाहरूबारे लगभग चार शताब्दीपछि र पुरातत्त्वविद्‌हरूले पत्ता लगाउनुअघि नै कसरी थाह पाए होलान्‌ त।

१८. बेबिलोनी शासन र फारसी शासनअन्तर्गत दिइने बेग्लाबेग्लै प्रकारको सजायबारे दानियलले दिएको विवरणले कसरी सत्यता झल्काउँछ?

१८ दानियलको पुस्तकले बेबिलोन र मादी-फारसीहरूको नियमबीचको मुख्यमुख्य भिन्‍नता पनि उल्लेख गर्छ। उदाहरणका लागि, दानियलका तीन जना साथीहरूले राजाको आज्ञा पालन नगरेको हुँदा बेबिलोनको नियमअनुसार तिनीहरूलाई दन्केको आगोको भट्टीमा फ्याँकियो। दशकौंपछिको कुरा हो, फारसी नियमले माग गरेअनुसार दानियलले आफ्नो अन्तस्करण विपरीत चल्न नमानेको हुँदा तिनलाई सिंहको खोरमा फ्याँकियो। (दानियल ३:६; ६:७-९) कसै कसैले यो आगोको भट्टीको विवरण केवल दन्त्यकथा हो भनेर टार्न खोजे तर यस्तो सजायबारे किटान गरिएका पत्रहरू पुरातत्त्वविद्‌हरूले पुरातन बेबिलोनमा पत्ता लगाएका छन्‌। तथापि, मादी र फारसीहरू आगोलाई पवित्र मान्थे। अतः तिनीहरूले सजाय दिने अर्कै क्रूर तरिकाहरू अपनाए। यसर्थ, तिनीहरूले सिंहको खोरलाई सजाय दिने माध्यमको रूपमा चलाउनु कुनै अचम्मलाग्दो कुरा होइन।

१९. दानियलको पुस्तकले बेबिलोनी र मादी-फारसी कानुनी व्यवस्थाबीचको कुन भिन्‍नता स्पष्ट पार्छ?

१९ अर्को एकदमै नमिल्ने कुरा पनि छ। नबूकदनेसरले मनलागी नियम बनाउनुका साथै छिनभरमै त्यो हेरफेर गर्न पनि सक्थे भनी दानियल बताउँछन्‌। दाराले “मादी र फारसीहरूको कानुन” त के कुरा, आफैले बनाएका नियमहरूसमेत हेरफेर गर्न सक्दैनथे! (दानियल २:५, ६, २४, ४६-४९; ३:१०, ११, २९; ६:१२-१६) इतिहासकार जोन सि. ह्विटकम यस्तो लेख्छन्‌: “बेबिलोनको कानुन राजाको नियन्त्रणमा हुन्थ्यो तर मादी-फारसका राजाहरू भने कानुनको अधीनमा हुन्थे भनी पुरातन इतिहासले पुष्टि गर्छ।”

२०. बेबिलोनी प्रचलनहरूबारे दानियललाई राम्ररी थाह थियो भनी बेलसजरको भोजसित सम्बन्धित कुन विवरणले देखाउँछ?

२० दानियल अध्याय ५ मा बेलसजरको भोजको जीवन्त विवरण लिपिबद्ध गरिएको छ। सुरुमा त यो हल्का खानपिन मात्र थियो किनभने धेरै चोटि दाखमद्यबारे उल्लेख गरिएको पाइन्छ। (दानियल ५:१, २, ४) भनौं भने, यस्तै प्रकारका अन्य भोजहरूमा दाखमद्य मात्र सेवन गरिन्थ्यो भनी विभिन्‍न आकृतिहरूले देखाउँछन्‌। प्राप्त प्रमाणअनुसार ती उत्सवहरूका लागि दाखमद्य एकदमै महत्त्वपूर्ण मानिन्थ्यो। यो भोजमा राजाका उपपत्नी र रखौटीहरू पनि उपस्थित थिए भनी दानियल उल्लेख गर्छन्‌। (दानियल ५:३, २३) यस बेबिलोनी प्रचलनलाई पुरातत्त्व विज्ञानले समर्थन गर्छ। भोजभतेरमा पत्नीहरूलाई सामेल गराउनु मक्काबी युगका यहूदी तथा युनानीहरू आपत्तिजनक ठान्थे। सायद यसैकारणले होला, दानियलको युनानी सेप्टुआजिन्ट अनुवादका सुरुसुरुका संस्करणहरूमा स्त्रीहरूबारे गरिएको उल्लेखलाई हटाइएको छ। c यद्यपि, दानियल पुस्तकको कथित किर्ते मक्काबी युगमा भएको भए, त्यसको दोषी पनि त्यही युनानी संस्कृतिमा हुर्केको र सेप्टुआजिन्ट प्रकाशन गरेको युगकै हुने भयो नि!

२१. बेबिलोनीहरू निर्वासनमा परेको समय र त्यहाँका प्रचलनहरूबारे दानियललाई राम्ररी थाह थियो भनी देखाउने सबैभन्दा चित्तबुझ्दो विवरण के हो?

२१ यी विवरणहरू हेर्दा दानियलको पुस्तकका लेखकलाई निर्वासनमा बिताएको जीवनबारे “अस्पष्ट तथा गलत” जानकारी थियो भन्‍ने ब्रिटानिका-को भनाइ अलि नसुहाउँदो हुनेछ। घटना भएको निकै पछि मात्र किर्ते गर्ने व्यक्‍तिलाई पुरातन बेबिलोनी र फारसी चलनहरूबारे यी सबै जानकारी कसरी भयो होला? यो पनि नबिर्सनुहोस्‌, सा.यु.पू. दोस्रो शताब्दी सुरु हुनुभन्दा निकैअघि यी दुवै साम्राज्यहरूको पतन भइसकेको थियो। त्यतिबेला अवश्‍य पनि पुरातत्त्वविद्‌हरू थिएनन्‌; न त त्यस समयका यहूदीहरू विदेशी संस्कृति तथा इतिहासबारे ज्ञान भएकोमा गर्व नै गर्थे। त्यतिबेलाको घटना तथा समयका प्रत्यक्षदर्शी अगमवक्‍ता दानियलले नै दानियलको पुस्तक लेखेको हुनुपर्छ।

के बाह्‍य तथ्यहरूले दानियलको पुस्तक किर्ते हो भनी प्रमाणित गर्छ?

२२. हिब्रू धर्मशास्त्रको लेखोटमा दानियलको पुस्तक समावेश गरिनुबारे आलोचकहरू कस्तो दाबी गर्छन्‌?

२२ दानियलको पुस्तक विरुद्ध सामान्यतया लगाइने अर्को आरोप हो, यो हिब्रू धर्मशास्त्रको लेखोटमा कसरी पर्न गयो। पुरातन रब्बीहरूले हिब्रू धर्मशास्त्रलाई तीनवटा समूहमा वर्गीकरण गरेका थिए: व्यवस्थाको पुस्तक, अगमवक्‍ताहरूको पुस्तक तथा लेखोटहरू। तिनीहरूले दानियलको पुस्तकलाई अगमवक्‍ताहरूको समूहमा नराखेर लेखोटहरूको समूहमा राखे। यसकारण, अरू अगमवक्‍ताहरूको पुस्तक संकलन गर्दा यो पुस्तक अस्तित्वमा नभएको हुनुपर्छ भनी आलोचकहरू तर्क गर्छन्‌। तिनीहरूको विचारमा दानियलको पुस्तक पछि मात्र संकलन गरिएको हुँदा यसलाई लेखोटहरूको समूहमा राखिएको हुनुपर्छ।

२३. पुरातन यहूदीहरूले दानियलको पुस्तकलाई कुन दृष्टिले हेर्थे अनि हामी यो कसरी थाह पाउँछौं?

२३ तैपनि, पुरातन रब्बीहरूले एकदमै कट्टर भएर धर्मशास्त्रको वर्गीकरण गरे वा अगमवक्‍ताहरूको समूहमा दानियललाई समावेश गरेनन्‌ भन्‍ने कुरामा सबै बाइबल अनुसन्धानकर्ताहरू सहमत छैनन्‌। रब्बीहरूले दानियलको पुस्तकलाई लेखोटहरूको समूहमा राखेकै भए तापनि के त्यसले यो पछि लेखिएको पुस्तक हो भनी प्रमाणित गर्ने थियो त? थिएन। रब्बीहरूले दानियलको पुस्तकलाई अगमवक्‍ताहरूको समूहमा नराख्नुका थुप्रै कारणहरू प्रतिष्ठित शास्त्रविद्‌हरूले बताएका छन्‌। हुनसक्छ, त्यो पुस्तकले तिनीहरूलाई रिस उठाएको थियो वा विदेशी मुलुकमा जागिर खाएका दानियललाई तिनीहरूले अरू अगमवक्‍ताहरूभन्दा बेग्लै ठाने। जेसुकै होस्‌, महत्त्वपूर्ण कुरा के हो भने: पुरातन यहूदीहरूले दानियलको पुस्तकको गहिरो सम्मान गर्थे अनि त्यसलाई धर्मशास्त्रको एउटा भाग सम्झन्थे। यसबाहेक, सा.यु.पू. दोस्रो शताब्दी सुरु हुनुभन्दा निकैअघि हिब्रू धर्मशास्त्र संकलन गर्ने काम पूरा भइसकेको थियो भनी प्रमाणहरूले देखाउँछ। सा.यु.पू. दोस्रो शताब्दीतिर लेखिएको कुनै कुनै पुस्तकलगायत अरू कुनै पनि पुस्तकलाई हिब्रू धर्मशास्त्रमा थप्न दिइएन।

२४. दानियलको पुस्तकलाई झूटो प्रमाणित गर्न एक्लिजियास्टिकस नाउँको अप्रमाणित पुस्तकलाई कसरी अघि सारिएको छ र यो तर्क गलत छ भनेर कुन कुराले देखाउँछ?

२४ एउटा नमिल्ने कुरा के छ भने, धर्मशास्त्रमा समावेशै नगरिएको पुस्तकलाई दानियलको पुस्तक विरुद्ध चलाइएको छ। त्यो हो, जिजस बेन सिराकले सा.यु.पू. १८० तिर लेखेको एक्लिजियास्टिकस नाउँको अप्रमाणित पुस्तक। धर्मीहरूको लामो सूचीमा दानियलको नाउँ समावेश गरिएको छैन भनी आलोचकहरू भन्‍ने गर्छन्‌। तिनीहरूको विचारमा त्यतिबेलाका मानिसहरूलाई दानियलबारे थाहै नभएकोले यसो भएको हुनसक्छ। शास्त्रविद्‌हरू यो तर्कलाई निकै मान्यता दिन्छन्‌। तर यो कुरा विचार गर्नुहोस्‌: यही सूचीमा एज्रा र मोर्दकै (निर्वासनबाट फर्केका यहूदीहरूको नजरमा यी दुवै महान्‌ पुरुषहरू थिए), असल राजा यहोशापातको नाउँ समावेश गरिएको छैन; त्यति थुप्रै न्यायकर्ताहरूमध्ये शमूएलको नाउँ मात्र उल्लेख गरिएको छ। d धर्मशास्त्रमा समावेश नगरिएको अनि पर्याप्त विवरणको दाबी नगर्ने सूचीमा ती पुरुषहरूको नाउँ समावेश गरिएको छैन भन्दैमा के तिनीहरू सबै काल्पनिक पात्रहरू हुन्‌ भन्‍ने निष्कर्ष निकाल्नु ठीक होला र? यस्तो धारणासमेत बेकारको छ।

दानियलको समर्थनमा बाह्‍य प्रमाण

२५. (क) दानियलको विवरण सत्य छ भनेर जोसेफसले कसरी पुष्टि गरे? (ख) अहिले थाह भएको इतिहाससित महान्‌ सिकन्दरबारे जोसेफसको विवरण र दानियलको पुस्तक कसरी मेल खान्छ? (दोस्रो पादटिप्पणी हेर्नुहोस्‌।) (ग) भाषिक प्रमाणले दानियलको पुस्तकलाई कसरी समर्थन गर्छ? (पृष्ठ २६ हेर्नुहोस्‌।)

२५ अब हामी अर्को सकारात्मक पक्षलाई हेरौं। भनिन्छ, हिब्रू धर्मशास्त्रको अरू कुनै पनि पुस्तक दानियल जत्तिको प्रमाणित छैन। उदाहरणका लागि: प्रख्यात यहूदी इतिहासकार जोसेफसले यसको सत्यताबारे पुष्टि गर्छन्‌। सा.यु.पू. चौथो शताब्दीमा महान्‌ सिकन्दर फारससित युद्ध गरिरहेको बेला यरूशलेम आए र त्यहाँका पूजाहारीहरूले तिनलाई दानियलको पुस्तकको एक प्रति देखाएका थिए भनी तिनी भन्छन्‌। फारस विरुद्धको आफ्नो सैन्य अभियानबारे दानियलको भविष्यवाणीमा बताइएको रहेछ भनी स्वयम्‌ सिकन्दरले बताए। e यो कुरा आलोचकहरूले “किर्ते” भएको समय भनेर औंल्याएको भन्दा साढे एक शताब्दीअघिको कुरा हुनुपर्छ। हो, आलोचकहरूले जोसेफसको यस पद्यांशमाथि शंका गरेका छन्‌। दानियलको पुस्तकका कतिपय भविष्यवाणीहरू पूरा भए भनी लेखेकोमा पनि आलोचकहरूले टीकाटिप्पणी गरेका छन्‌। यद्यपि, इतिहासकार जोसेफ डि. विल्सनले यस्तो टिप्पणी गरे, “यसबारे [जोसेफसलाई] संसारका बाँकी सबै आलोचकहरूलाई भन्दा राम्ररी थाह थियो।”

२६. डेड सि स्क्रोलले दानियलको पुस्तकको सत्यता कसरी पुष्टि गरेको छ?

२६ इजरायलको कुम्रानस्थित ओडारमा डेड सि स्क्रोल पत्ता लाग्दा दानियलको पुस्तक सही हो भनेर झनै प्रमाणित भयो। अचम्मको कुरा, सन्‌ १९५२ मा फेला परेका थुप्रै मुठा र साना अंशहरू यही दानियलको पुस्तककै थिए। यसरी पत्ता लागेका मुठाहरूमध्ये सबैभन्दा पुरानो सा.यु.पू. दोस्रो शताब्दीको अन्ततिरको थियो। तसर्थ, त्यतिअघि नै दानियलको पुस्तक चिरपरिचित हुनुका साथै सबैले आदर गरेको पुस्तक भइसकेको थियो। जन्डरभान पिक्टोरियल इन्साइक्लोपीडिया अफ द बाइबल यस्तो टिप्पणी गर्छ: “दानियलको पुस्तकको मक्काबी मितिलाई अब गलत मान्‍नै परेको छ। किनभने, त्यस मितिले दानियलको पुस्तक तयार हुनु र त्यसका प्रतिहरू मक्काबी धर्मपन्थको पुस्तकालयमा संरक्षित हुनुबीच जति समयावधि संकेत गर्छ त्यो अपर्याप्त छ।”

२७. बेबिलोनी निर्वासनको बेला दानियल चिरपरिचित व्यक्‍ति थिए भनेर देखाउने सबैभन्दा पुरानो प्रमाण के हो?

२७ तथापि, दानियलको पुस्तकको प्रमाणिकता देखाउने त्योभन्दा पुरानो तथा भरपर्दो प्रमाण छ। दानियलका समकालीनहरूमध्ये अगमवक्‍ता इजकिएल पनि थिए। बेबिलोनी निर्वासनमा तिनले पनि अगमवक्‍ताको हैसियतमा सेवा गरेका थिए। इजकिएलको पुस्तकले निकै चोटि दानियलको नाउँ तोकेरै उल्लेख गरेको छ। (इजकिएल १४:१४, २०; २८:३) दानियलले सा.यु.पू. छैठौं शताब्दी अर्थात्‌ आफू जीवित छँदै धर्मी र बुद्धिमान्‌ मानिस भन्‍ने नाउँ कमाउनुका साथै नूह र अय्यूबजस्ता ईश्‍वरभीरु मानिसहरूको दर्जामा उनको नाउँ पुगिसेको थियो भनेर यस्ता विवरणहरूले देखाउँछन्‌।

सबैभन्दा महान्‌ साक्षी

२८, २९. (क) दानियलको पुस्तक साँचो हो भन्‍ने सबैभन्दा पत्यारिलो प्रमाण के हो? (ख) येशूले दिनुभएको पुष्टिलाई हामीले किन स्वीकार्नुपर्छ?

२८ अन्तमा, दानियलको पुस्तकको सत्यताको पुष्टि दिने सबैभन्दा महान्‌ साक्षीलाई ध्यान देऔं। त्यो साक्षी, कुनै साधारण मानिस नभई स्वयम्‌ येशू ख्रीष्ट हुनुहुन्छ। आफ्ना आखिरी दिनहरूबारे छलफल गर्नुहुँदा येशूले “दानियल अगमवक्‍ता” र दानियलको एउटा भविष्यवाणीबारे उल्लेख गर्नुभयो।—मत्ती २४:१५; दानियल ११:३१; १२:११.

२९ आलोचकहरूले भनेअनुसार मक्काबी धारणा सही हुँदो हो त यी दुईमध्ये एउटा कुरा साँचो हुनुपर्छ। या त येशू यो किर्तेद्वारा ठगिनुभयो वा मत्तीले उल्लेख गरेका कुराहरू उहाँले भन्‍नु भएकै होइन। दुइटै कुरा मनासिब छैन। मत्तीरचित सुसमाचारको कुरा हामी पत्याउन सक्दैनौं भने बाइबलका अरू भागहरूको कुरा कसरी पत्याउने? यी वाक्यहरू रद्द गर्ने हो भने, पवित्र धर्मशास्त्रबाट अरू कतिवटा शब्दहरू झिक्नुपर्ने होला? प्रेरित पावलले यसप्रकार लेखे: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, . . . सच्याउनालाई, . . . उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) अतः यदि दानियल जाली हुन्‌ भने, पावल पनि जाली नै भए! के येशू धोकामा पर्नुभएको हुनसक्छ? अहँ, हुनसक्दैन। दानियलको पुस्तक लेखिंदा उहाँ स्वर्गमा जीवित हुनुहुन्थ्यो। येशूले यसो समेत भन्‍नुभयो: “अब्राहाम हुनुभन्दा अघिदेखिनै म छँदैछु।” (यूहन्‍ना ८:५८) दानियलको पुस्तकको सत्यताबारे सोध्नु छ भने अहिलेसम्म बाँचेका सबै मानिसहरूमध्ये येशूलाई सोध्नु अत्युत्तम हुनेछ। तर हामीले त्यसो गर्नुपर्ने खाँचो छैन। हामीले देखिहाल्यौं, उहाँले एकदमै स्पष्टसित पुष्टि गरिसक्नुभएको छ।

३०. येशूले दानियलको पुस्तकबारे थप पुष्टि कसरी दिनुभयो?

३० येशूले आफ्नो बप्तिस्माको बेलामै पनि दानियलको पुस्तकको सत्यताको पुष्टि दिनुभयो। बप्तिस्मापछि उहाँ मसीह हुनुभयो र ६९ हप्ताबारे दानियलको पुस्तकमा गरिएको भविष्यवाणी उहाँमा पूरा भयो। (दानियल ९:२५, २६; यो पुस्तकको अध्याय ११ हेर्नुहोस्‌।) कसैकसैले दाबी गरेअनुसार दानियलको पुस्तक पछि मात्र लेखिएको हो भने तापनि यसका लेखकलाई लगभग २०० वर्षपछिको कुरा पहिल्यै थाह रहेछ। निस्सन्देह, परमेश्‍वरले किर्ते गर्ने ठगलाई कुनै गलत उपनाउँ प्रयोग गरेर साँचो भविष्यवाणीहरू गर्न प्रेरित गर्नुहुने थिएन। परमेश्‍वरका वफादार जनहरूले येशूको साक्षी सहर्ष स्वीकारेका छन्‌। संसारभरिका सारा विशेषज्ञ र आलोचकहरू दानियलको विरुद्धमा खडा भए तापनि येशूको प्रमाणले ती सबैलाई गलत साबित गर्नेछ किनभने उहाँ “विश्‍वासयोग्य र साँचो साक्षी” हुनुहुन्छ।—प्रकाश ३:१४.

३१. दानियलको पुस्तकको सत्यताबारे दिइएका प्रमाणहरूको बावजूद थुप्रै बाइबल आलोचकहरूलाई चित्त नबुझ्नुको कारण के हो?

३१ थुप्रै बाइबल आलोचकहरूलाई यति प्रमाणले पनि चित्त बुझ्दैन। यति विस्तृत विचारविमर्शपछि पनि अझ चित्त बुझ्दैन भने अरू जतिसुकै प्रमाण दिए पनि केही फाइदा होला जस्तो देखिंदैन। अक्सफर्ड विश्‍वविद्यालयका एक जना प्राध्यापकले यस्तो लेखे: “‘परमेश्‍वरले भविष्यवाणी गरेको हुन सक्दैन’ भन्‍ने पुरानो पूर्वाग्रह रहुञ्जेल जस्तोसुकै स्पष्टीकरण पेस गरे तापनि तिनीहरूको चित्त बुझ्दैन।” अतः त्यस्तो पूर्वाग्रहले तिनीहरूको समझलाई अन्धा तुल्याउँछ। तर यो तिनीहरूकै छनौट हो र तिनीहरूकै नोक्सान पनि हो।

३२. दानियलको पुस्तक अध्ययन गरेर हामीले के पाउनेछौं?

३२ तपाईं नि? दानियलको पुस्तकमाथि शंका गर्नुपर्ने कुनै खास कारण देख्नुहुन्‍न भने तपाईंले थुप्रै रोमाञ्चकारी कुराहरू पत्ता लगाउन सक्नुहुनेछ। तपाईंलाई दानियलको पुस्तकका विवरणहरू रोचक अनि यसका भविष्यवाणीहरू आश्‍चर्यमय लाग्नेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, हरेक अध्यायले तपाईंको विश्‍वासलाई अझ बलियो बनाउँदै लैजानेछ। दानियलको भविष्यवाणीलाई गहिरिएर केलाउनुभएकोमा तपाईं कहिल्यै पछुताउनु हुनेछैन!

[फुटनोटहरू]

a कोहीकोही आलोचक किर्ते गरेको अभियोगलाई अलि फितलो बनाउँदै भन्छन्‌, यसका लेखकले पनि पुरातन समयका अन्य लेखकहरूले जस्तै दानियल भन्‍ने उपनाम प्रयोग गरे। तथापि, बाइबल समालोचक फर्डिनान्ड हिड्‌सिकले यसो भने: “दानियलको पुस्तक अर्कै [लेखकले] लेखेको हुँदो हो त, कुरै अर्को हुन्छ। त्यसो हो भने, यो लेखोट किर्ते हुनुपर्छ र त्यसले पाठकहरूकै हितलाई विचार गरेर झुक्याएको हुनुपर्छ।”

b बेबिलोनको पतन हुँदा नाबोनिडस त्यहाँ थिएनन्‌। त्यसैकारण, बेलसजरलाई त्यतिबेलाको राजा भन्‍नु उचित छ। तर बाइबलबाहेक अन्य विवरणहरूमा बेलसजरलाई राजाको पदवी दिइएको कुनै औपचारिक प्रमाण छैन भनी आलोचकहरू कचकच गर्छन्‌। तथापि, पुरातन प्रमाणहरू केलाउँदा त्यतिबेलाका मानिसहरूले राज्यपाललाई पनि राजा भनेर सम्बोधन गर्ने गर्थे जस्तो देखिन्छ।

c हिब्रू शास्त्रज्ञ सि.एफ. किल दानियल ५:३ बारे यस्तो लेख्छन्‌: “मेसिडोनियाली, युनानी तथा रोमीहरूको चलनलाई ध्यानमा राख्दै LXX ले यहाँ र पद २३ मा आइमाईहरूबारे उल्लेख गरेको छैन।”

d प्रेरित पावलले हिब्रू ११ मा उल्लेख गरेका विश्‍वासी पुरुष तथा स्त्रीहरूको सूचीले दानियलले लेखेका घटनाहरूलाई संकेत गर्न खोजेको जस्तो देखिन्छ। (दानियल ६:१६-२४; हिब्रू ११:३२, ३३) तथापि, प्रेरित पावलको सूचीमा पनि सबैको नाउँ समावेश गरिएको छैन। त्यो सूचीमा यशैया, यर्मिया, इजकिएललगायत थुप्रै व्यक्‍तिहरूको नाउँ समावेश गरिएको छैन तर त्यसको मतलब तिनीहरूको अस्तित्व नै थिएन भन्‍न खोजेको चाहिं पटक्कै होइन।

e फारसीहरूका पुराना साथीहरू अर्थात्‌ यहूदीहरूप्रति सिकन्दर एकदमै दयालु हुनुको कारण पनि यही हुनुपर्छ भनी केही इतिहासकारहरूले भनेका छन्‌। त्यतिबेला सिकन्दर, फारसका सबै मित्रहरूलाई खत्तम गर्ने अभियानमा लागेका थिए।

तपाईंले के बुझ्नुभयो?

• दानियलको पुस्तक विरुद्ध कस्तो आरोप लगाइएको छ?

• दानियलको पुस्तक विरुद्ध आलोचकहरूले गरेको आक्रमण किन निराधार छ?

• दानियलको विवरणको सत्यतालाई कुन प्रमाणले समर्थन गर्छ?

• दानियलको पुस्तक सही हो भन्‍ने सबैभन्दा पत्यारिलो प्रमाण के हो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको पेटी]

भाषाको कुरा

दानियलको पुस्तक लेख्ने काम सा.यु.पू. ५३६ तिर पूरा भयो। यो मुख्यतया हिब्रू र अरामी भाषामा लेखियो अनि छिटपुट युनानी तथा फारसी शब्दहरू पनि प्रयोग भएका छन्‌। त्यति धेरै भाषाहरू प्रयोग हुनु अनौठो कुरा हो तर धर्मशास्त्रमा यस्ता अरू उदाहरण पनि छन्‌। बाइबलको किताब एज्रा पनि हिब्रू र अरामी भाषामा लेखिएको थियो। यद्यपि, दानियलको पुस्तकका लेखकले तीनवटा भाषा प्रयोग गर्नुबाट तिनले सा.यु.पू. ५३६ भन्दा पछि उक्‍त पुस्तक लेखेका थिए भन्‍ने कुरा प्रस्ट हुन्छ भनी कतिपय आलोचकहरू भन्छन्‌। दानियलले आफ्नो लेखोटमा युनानी शब्दहरू प्रयोग गर्नुले नै त्यो अलि पछि नै लेखिएको हुनुपर्छ भन्‍ने प्रमाणित हुन्छ भन्‍ने एक जना आलोचकको तर्क छ। तिनी भन्छन्‌, हिब्रू भाषाले पछि लेखिएको हो भन्‍ने तर्कलाई समर्थन गर्छ र अरामी भाषाले पनि सा.यु.पू. दोस्रो शताब्दीतिर मात्र लेखिएको हुनसक्ने सम्भावना खडा गर्छ।

तथापि, सबै भाषाविद्‌हरू यस कुरामा सहमत छैनन्‌। कोही कोही विशेषज्ञले दानियलले प्रयोग गरेका हिब्रू भाषा इजकिएल र एज्राको भाषासित मिल्छ अनि एक्लिजियास्टिकसजस्ता अप्रमाणित पुस्तकहरूको भाषाभन्दा बेग्लै छ भनेका छन्‌। दानियलले अरामी भाषा प्रयोग गरेको सन्दर्भमा डेड सि स्क्रोलमा भेटिएका दुइटा कागजातलाई विचार गर्नुहोस्‌। ती दुवै अरामी भाषामा लेखिएका छन्‌ र यो सा.यु.पू पहिलो तथा दोस्रो शताब्दीतिरको हो अर्थात्‌ दानियलले गरेको कथित किर्तेभन्दा धेरै पछिको होइन। तर शास्त्रविद्‌हरूले यी कागजात र दानियलको पुस्तकको अरामी भाषाबीच ठूलो भिन्‍नता देखेका छन्‌। तसर्थ, दानियलको पुस्तक आलोचकहरूले अड्‌कल काटेभन्दा निकै पुरानो हुनुपर्छ भन्‍ने कसै कसैको भनाइ छ।

दानियलको पुस्तकका “शंकास्पद” युनानी शब्दहरू नि? यीमध्ये कुनै कुनै शब्द कहाँ युनानी हुनु, फारसी पो रहेछन्‌! युनानी शब्द नै हुनुपर्छ भन्‍ने अनुमान लगाइएका शब्दहरू तीनवटा बाजाहरूको नाउँ हुन्‌। के यी तीनवटा शब्दहरूले दानियलको पुस्तक पछि लेखिएकै हुनुपर्छ भनेर दाबी गर्छ? गर्दैन। ग्रीस विश्‍वशक्‍ति हुनुअघि नै युनानी संस्कृतिले प्रभाव पार्न थालेको शताब्दीयौं भइसकेको थियो भनेर पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका छन्‌। युनानी संस्कृति र भाषा सर्वव्याप्त भइसकेको समय अर्थात्‌ सा.यु.पू दोस्रो शताब्दीमा दानियलको पुस्तक लेखिएको हो भने के यसमा तीनवटा मात्र युनानी शब्द हुन सक्लान्‌ त? अवश्‍य थुप्रै शब्द हुन्थे होलान्‌। अतः भाषिक प्रमाणले पनि दानियलको पुस्तकको सत्यतालाई प्रमाणित गर्छ।

[पृष्ठ १२-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ २०-मा भएको चित्र]

(तल) बेबिलोनी मन्दिरको कीलाक्षरमा राजा नाबोनिडस र तिनका छोरा बेलसजरको नाउँ

(माथि) यसमा नबूकदनेसरले आफ्ना निर्माण परियोजनाहरूबारे गरेको घमण्ड कुँदिएको छ

[पृष्ठ २१-मा भएको चित्र]

नाबोनिडसको विवरणअनुसार कोरेसको सेना कुनै संघर्षविना बेबिलोन घुसे

[पृष्ठ २२-मा भएको चित्र]

(दायाँ) “नाबोनिडसका पदहरूको विवरण[अनुसार]” नाबोनिडसले शासनाधिकार आफ्नो ज्येष्ठ पुत्रलाई दिएका थिए

(बायाँ) यहूदामाथि नबूकदनेसरको आक्रमणको बेबिलोनी विवरण