सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जाँचिएको—तर यहोवाप्रति वफादार!

जाँचिएको—तर यहोवाप्रति वफादार!

अध्याय तीन

जाँचिएको—तर यहोवाप्रति वफादार!

१, २. कस्ता उल्लेखनीय घटनाहरूबाट दानियलको विवरण सुरु हुन्छ?

 अन्तरराष्ट्रिय जगत्‌मा उल्लेखनीय परिवर्तनहरू भइरहेकै बेलाको विवरणबाट दानियलको भविष्यसूचक पुस्तकको सुरुआत हुन्छ। अश्‍शूरले भर्खरै मात्र आफ्नो राजधानी शहर निनवे गुमाएको थियो। मिश्र पनि यहूदाको दक्षिणमा अवस्थित एउटा सानो शहर बन्‍न पुगेको थियो। अनि विश्‍वमा प्रभुत्व जमाउन अघि बढिरहेको बेबिलोनको निकै जगजगी भइरहेको थियो।

सा.यु.पू. ६२५ मा मिश्री फिरऊन नेकोले बेबिलोनीहरूलाई दक्षिणतिर विस्तार हुनदेखि रोक्ने अन्तिम प्रयास गरे। यसो गर्न तिनले आफ्नो सेना यूफ्रेटिस नदीको तीर कर्कमीशमा लगे। कर्कमीशको युद्ध भनेर चिनिने उक्‍त युद्ध निर्णायक तथा ऐतिहासिक घटना थियो। राजकुमार नबूकदनेसरको नेतृत्वमा आएको बेबिलोनी सेनाको हातबाट फिरऊन नेकोले अपमानजनक हार स्वीकार्नुपऱ्‍यो। (यर्मिया ४६:२) आफ्नो विजयदेखि हर्षित नबूकदनेसरले अराम र पलिस्ती आफ्नो कब्जामा पारे अनि त्यस प्रान्तमाथिको मिश्री प्रभुत्व अन्त गरिदिए। तिनको बुबा नेबोपोलासारको मृत्युले गर्दा मात्र यो विजय अभियान केही समयको लागि सुस्त भयो।

३. नबूकदनेसरले यरूशलेममाथि प्रथम चोटि आक्रमण गर्दा परिणाम कस्तो भयो?

त्यसपछिको वर्ष, बेबिलोनको राजा भइसकेका नबूकदनेसरले अराम र पलिस्ती विरुद्ध पुनः सैनिक अभियान सुरु गरे। त्यही बेला तिनी पहिलो चोटि यरूशलेम आए। बाइबल यस्तो रिपोर्ट गर्छ: “तिनका शासनकालमा बाबेलका राजा नबूकदनेसर लड़ाइँ गर्न आए, र यहोयाकीम तिनका अधीनमा राजा भए। तर तीन वर्षपछि तिनले आफ्नो सम्बन्ध तोड़ेर विद्रोह गरे।”—२ राजा २४:१.

यरूशलेममा नबूकदनेसर

४. “राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा” भन्‍ने दानियल १:१ को अभिव्यक्‍ति कसरी बुझ्नुपर्छ?

“तीन वर्ष” भन्‍ने अभिव्यक्‍ति हाम्रोलागि विशेष चासोको विषय हो किनभने दानियलले सुरुमै यसो भनेका छन्‌: “यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा बाबेलका राजा नबूकदनेसरले यरूशलेममा आएर त्यसलाई घेरे।” (दानियल १:१) सा.यु.पू. ६२८ देखि ६१८ सम्म शासन गर्ने यहोयाकीमको शासनकालको तेस्रो वर्षमा नबूकदनेसर “बाबेलका राजा” होइन राजकुमार मात्र थिए। सा.यु.पू. ६२० मा नबूकदनेसरले यहोयाकीमलाई कर तिर्न लगाए। तर लगभग तीन वर्षपछि यहोयाकीमले विद्रोह गरे। तसर्थ, सा.यु.पू. ६१८ मा अर्थात्‌ बेबिलोनको सामन्ती राजाको हैसियतले शासन गरेको तेस्रो वर्षमा विद्रोही यहोयाकीमलाई दण्ड दिन राजा नबूकदनेसर दोस्रो चोटि यरूशलेम फर्के।

५. नबूकदनेसरले यरूशलेममाथि दोस्रो चोटि आक्रमण गर्दा कस्तो नतिजा भयो?

यो आक्रमणपछि “परमप्रभुले परमेश्‍वरको भवनका केही भाँड़ा–कुँड़ाहरू र यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्पिदिनुभयो।” (दानियल १:२) सम्भवतः यो आक्रमणको सुरुतिर यहोयाकीमको हत्या भयो वा तिनी विद्रोहमा मारिए। (यर्मिया २२:१८, १९) सा.यु.पू. ६१८ मा तिनको १८ वर्षीय छोरा, यहोयाकीन राजा भए। तर यहोयाकीनको शासन तीन महिना दस दिनसम्म मात्र चल्यो र तिनले सा.यु.पू. ६१७ मा आत्मसमर्पण गरे।—२ राजा २४:१०-१५ तुलना गर्नुहोस्‌।

६. नबूकदनेसरले यरूशलेमको मन्दिरका पवित्र भाँडाकुँडाहरूलाई के गरे?

नबूकदनेसरले यरूशलेमको मन्दिरबाट पवित्र भाँडाकुँडाहरू लुटे अनि “ती सबै भाँड़ा–कुँड़ा शिनार देशमा आफ्नो देवताको मन्दिरमा ल्याए, र भाँड़ा–कुँड़ा चाहिं आफ्नो देवताको भण्डारमा राखे।” तिनको त्यो देवतालाई हिब्रूमा मार्डुक वा मरोदक भनिन्थ्यो। (दानियल १:२; यर्मिया ५०:२) मार्डुकको मन्दिरबारे एउटा बेबिलोनी लेखोटमा नबूकदनेसरले यसो भनेको पाइयो: “मैले सुनचाँदी र बहुमूल्य रत्नहरू थुपारें . . . अनि मेरो राज्यको ढुकुटीमा राखें।” हामी यी पवित्र भाँडाकुँडाहरूबारे राजा बेलसजरको विवरणमा फेरि पढ्‌नेछौं।—दानियल ५:१-४.

यरूशलेमका उत्कृष्ट युवाहरू

७, ८. दानियल १:३, ४ र बाट दानियल अनि तिनका तीन जना साथीहरूको पृष्ठभूमिबारे कस्तो जानकारी हासिल गर्नसक्छौं?

यहोवाको मन्दिरबाट धनसम्पत्तिहरू मात्र नभई अरू कुराहरू पनि बेबिलोनमा ल्याइएको थियो। विवरण यसो भन्छ: “तब बाबेलका राजाले बँधुवाइमा लगिएका इस्राएलीहरूमध्येका राजकीय र भारादार घराना दुवैका कुनै खोट नभएका, सुन्दर र सारा बुद्धिमा निपुण, औ ज्ञानले परिपूर्ण भएका, समझदार र राजदरबारमा सेवा गर्नसक्ने सुयोग्यहरूलाई कल्दीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अशपनजलाई हुकूम गरे।”—दानियल १:३, ४.

को को छानिए? यसबारे यसो भनिएको छ: “तिनीहरूमध्ये दानियल, हनन्याह, मीशाएल र अजर्याह चाहिं यहूदाका कुलका थिए।” (दानियल १:६) दानियल र तिनका साथीहरूबारे पर्याप्त जानकारी उपलब्ध नभए तापनि यसले केही कुरा भने प्रस्ट पार्छ। जस्तै, तिनीहरू शाही कुल अर्थात्‌ “यहूदाका कुलका” थिए। तिनीहरू शाही घरानाका होऊन्‌ या नहोऊन्‌, तिनीहरू प्रतिष्ठित तथा उच्च घरानाका थिए भन्‍ने कुराचाहिं पक्का छ। तिनीहरू बाठा अनि स्वस्थ हुनुका साथै अन्तर्दृष्टि, बुद्धि, ज्ञान र समझले भरिएका थिए। अनि त्यो पनि भर्खरै किशोरावस्थामा पुगेको बेला अर्थात्‌ तिनीहरू “केटाकेटी” भनेर सम्बोधन गर्न मिल्ने कलिलो उमेरका थिए। दानियल र तिनका साथीहरू यरूशलेमका युवाहरूभन्दा एकदमै भिन्‍न र उत्कृष्ट थिए होलान्‌।

९. दानियल र तिनका तीन जना हिब्रू साथीहरूको आमाबाबु ईश्‍वरभीरु थिए भनेर हामी किन निश्‍चित हुन सक्छौं?

यी केटाहरूका आमाबाबु को थिए, त्यसबारे विवरणले केही बताएको छैन। तर जे होस्‌, तिनीहरू आमाबाबुको हैसियतमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारीलाई गम्भीरतासाथ लिने ईश्‍वरभीरु व्यक्‍तिहरू नै हुनुपर्छ। त्यतिबेला यरूशलेममा विशेष गरी ‘शाही घराना र कुलीनहरूमा’ व्याप्त नैतिक तथा आध्यात्मिक पतनलाई हेर्दा दानियल र तिनका तीन जना साथीहरूका उत्कृष्ट गुणहरू साधारण थिएनन्‌ भनेर स्पष्ट हुन्छ। आफ्ना छोराहरूलाई टाढा मुलुकमा लगिएको हेर्नुपर्दा आमाबाबुको मुटु पक्कै छियाछिया भएको हुनुपर्छ। तर पछि के हुनेछ भनेर पहिल्यै थाह भएको भए तिनीहरूले कस्तो गर्व गर्ने थिए होलान्‌! आमाबाबुले आफ्ना छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नु कत्तिको महत्त्वपूर्ण रहेछ!—एफिसी ६:४.

मनमा द्वन्द्व

१०. जवान हिब्रूहरूलाई के सिकाइयो र यसको उद्देश्‍य के थियो?

१० यी जवान केटाहरूको मनमा द्वन्द्व सुरु हुन धेरै समय लागेन। यी हिब्रू किशोरहरूलाई बेबिलोनी ढाँचामा ढाल्न नबूकदनेसरले तिनीहरूलाई “कल्दीहरूका भाषा र साहित्य सिकाउन” आफ्ना अफिसरहरूलाई हुकुम गरे। (दानियल १:४) यो कुनै साधारण शिक्षादीक्षा थिएन। दी इन्टरनेसनल स्टाण्डर्ड बाइबल इन्साइक्लोपीडिया यसो भन्छ, यो शिक्षादीक्षामा “सुमेरु, अक्काडी, अरामी . . . तथा अन्य भाषाहरूका साथै ती भाषाहरूसित सम्बन्धित साहित्यको व्यापक अध्ययन” समावेश थियो। यो “विस्तृत साहित्य[मा]” इतिहास, गणित, खगोल विषयहरू पनि सिकाइन्थ्यो। तथापि, “त्यस्ता साहित्यसित सम्बन्धित धार्मिक पद्य, शकुन-अपशकुन र खगोल विद्याको . . . निकै ठूलो भूमिका थियो।”

११. हिब्रू युवाहरूलाई बेबिलोनी शाही रहनसहनमा ढाल्न के-कस्ता कदमहरू चालिए?

११ यी हिब्रू केटाहरूले बेबिलोनी राजपरिवारको सारा प्रचलन तथा संस्कारहरू सिकून्‌ भनेर “राजा आफैले खाने गरेका मीठा मीठा भोजन र पिउने दाखमद्य तिनीहरूलाई दिनू भनी अह्राए। औ तीन वर्षसम्म तालिम दिएर तिनीहरूलाई राजाको सामने पेश गर्ने आज्ञा गरे।” (दानियल १:५) यसबाहेक, “नपुंसकहरूका प्रधानले तिनीहरूका नाउँ बदली गरिदिए—दानियललाई बेलतसजर, हनन्याहलाई शद्रक, मीशाएललाई मेशेक र अजर्याहलाई अबेद्‌नगो नाउँ राखिदिए।” (दानियल १:७) मानिसको जीवनमा कुनै महत्त्वपूर्ण घटनालाई संकेत गर्न नयाँ नाउँ दिनु बाइबलकालीन प्रचलन नै थियो। उदाहरणका लागि, यहोवाले अब्राम र साराईको नाउँ अब्राहाम र सारा राख्नुभयो। (उत्पत्ति १७:५, १५, १६) कुनै मानिसले अरू कसैको नाउँ परिवर्तन गर्नु उसको अख्तियार वा प्रभुताको चिह्न हो। यूसुफ मिश्रको खाद्य प्रशासक हुँदा फिरऊनले तिनको नाउँ साप्‌नत्‌-पानेह राखे।—उत्पत्ति ४१:४४, ४५; तुलना गर्नुहोस्‌ २ राजा २३:३४; २४:१७.

१२, १३. जवान हिब्रूहरूको नाउँ परिवर्तन गर्नु तिनीहरूको विश्‍वास दबाउने प्रयास थियो भनेर किन भन्‍न सकिन्छ?

१२ दानियल र तिनका तीन जना हिब्रू साथीहरूको नाउँ परिवर्तन गरिनु उल्लेखनीय थियो। तिनीहरूका आमाबाबुले यहोवाको उपासनाअनुरूपका नाउँहरू दिएका थिए। “दानियल” नाउँको अर्थ हो, “परमेश्‍वर मेरो न्यायकर्ता हुनुहुन्छ।” “हनन्याह” नाउँको अर्थ हो, “यहोवाले अनुग्रह देखाउनुभएको छ।” मीशाएलको अर्थ सम्भवतः “परमेश्‍वरजस्तो को हुनुहुन्छ?” हो। अजर्याहको अर्थ हो, “यहोवाले मदत गर्नुभएको छ।” निस्सन्देह, आफ्ना छोराहरू यहोवा परमेश्‍वरको डोऱ्‍याइमा हुर्केर उहाँको विश्‍वासी तथा वफादार सेवक होऊन्‌ भन्‍ने तिनीहरूका आमाबाबुको उत्कट आशा थियो।

१३ तथापि, यी चार जना हिब्रूहरूलाई दिइएका नयाँ नाउँहरू झूटा देवताहरूसित सम्बन्धित थियो र ती नाउँहरूले बेबिलोनी देवीदेवताहरूको तुलनामा साँचो परमेश्‍वर दोस्रो दर्जामा हुनुहुन्छ भनी बुझाउन खोजिएको स्पष्ट हुन्छ। यी जवान मानिसहरूको विश्‍वासलाई दबाउने कस्तो धूर्त प्रयास!

१४. दानियल र तिनका तीन जना साथीहरूलाई दिइएको नयाँ नाउँको अर्थ के हो?

१४ दानियलको नाउँ परिवर्तन गरेर बेलतसजर राखियो र त्यसको अर्थ हो, “राजाको जीवनको सुरक्षा गर्नुहोस्‌।” स्पष्टतः यो नाउँ बेबिलोनको प्रमुख देव, बेल वा मार्डुकलाई पुकार्ने छोटो नाउँ हुनसक्छ। नबूकदनेसरले नै दानियलको नाउँ छानेका हुन्‌ या होइनन्‌, स्पष्ट नभए तापनि “[आफ्नो] देवताको जस्तै” नाउँ राख्न पाएकोमा तिनी गर्व गर्थे। (दानियल ४:८) हनन्याहको नाउँ शद्रक राखियो र केही विशेषज्ञहरू यस मिश्रित नाउँको अर्थ “अकुको आज्ञा” हो भन्छन्‌। चाखलाग्दो कुरा, अकु सुमेरु देवको नाउँ थियो। मीशाएलको नाउँ मेशक (सायद, मिशाकु) राखियो। “परमेश्‍वरजस्तो को छ?” भन्‍ने नाउँलाई बंग्याएर “अकुजस्तो को छ?” बनाउन सो नाउँ दिइएको हुनुपर्छ। अजर्याहको बेबिलोनी नाउँ अबेद्‌नगो थियो र त्यसको अर्थ “नेगोको सेवक” हुनुपर्छ। “नेगो,” “नेबो” शब्दको पर्यायवाची हो र थुप्रै बेबिलोनी शासकहरूको नाउँ यस देवको नाउँबाट राखिन्थ्यो।

यहोवाप्रति वफादार रहन कटिबद्ध

१५, १६. दानियल र तिनका साथीहरूले कस्तो खतराको सामना गर्नुपऱ्‍यो अनि तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?

१५ बेबिलोनी नाउँ, शैक्षिक कार्यक्रम, विशेष भोजन इत्यादि दानियल र तिनका तीन जना हिब्रू साथीहरूलाई बेबिलोनी जीवनशैलीमा ढाल्ने प्रयास मात्र थिएन तर तिनीहरूलाई यहोवा परमेश्‍वर र तिनीहरूको धार्मिक प्रशिक्षण तथा पृष्ठभूमिबाट बहकाउने प्रयास पनि थियो। यस्तो दबाउ र प्रलोभनको सामना गर्नुपर्दा यी जवानहरूले के गर्ने थिए?

१६ प्रेरित विवरण यसो भन्छ: “राजाले तिनीहरूलाई दिनू भनी अह्राएका भोजन र दाखमद्य खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्‍चय गरे।” (दानियल १:८क) दानियलको नाउँ मात्रै उल्लेख भए तापनि घटनाक्रमले देखाएअनुसार तीन जना साथीहरूले पनि तिनको निर्णयलाई समर्थन गरेका थिए। “निश्‍चय गरे” भन्‍ने अभिव्यक्‍तिले आफ्नो मातृभूमिमा छँदा दानियलका आमाबाबु र अरूहरूले सिकाएका कुराहरू तिनको हृदयमा गडेको रहेछ भन्‍ने कुरालाई देखाउँछ। निस्सन्देह, यस्तै प्रशिक्षणले बाँकी तीन जना हिब्रू केटाहरूलाई पनि डोऱ्‍याएको थियो। हाम्रा छोराछोरी कुरा राम्ररी नबुझ्ने सानै उमेरका भए तापनि तिनीहरूलाई सिकाउनु कत्तिको महत्त्वपूर्ण छ भनेर यस उदाहरणबाट बुझ्न सक्छौं।—हितोपदेश २२:६; २ तिमोथी ३:१४, १५.

१७. दानियल र तिनका साथीहरूले किन अरू प्रबन्धको नभई राजाले दैनिक भोजनको लागि गरेको प्रबन्धको मात्र विरोध गरे?

१७ यी हिब्रू जवानहरूले अरू प्रबन्धहरूको विरोध नगरेर किन विभिन्‍न परिकार तथा मद्यको मात्र विरोध गरे? दानियलको तर्कले यसको स्पष्ट जवाफ दिन्छ: “आफूलाई अशुद्ध नपार्ने दानियलले निश्‍चय गरे।” “कल्दीहरूका भाषा र साहित्य” सिक्ने अनि बेबिलोनी नाउँ ग्रहण गर्नुपर्ने बाध्यता आपत्तिजनक भए तापनि यी कुराहरूले मानिसलाई अशुद्ध पार्छ नै भन्‍ने थिएन। लगभग १,००० वर्षअघिको मोशालाई लिनुहोस्‌। “मिश्रीहरूका सारा विद्यामा निपुण” भए तापनि मोशा यहोवाप्रति वफादार रहे। आफ्नो जन्म दिने आमाबाबुले दिएको लालनपालन तिनको निम्ति बलियो जग साबित भयो। फलतः “विश्‍वासैबाट मोशा जवान भएपछि फिरऊनकी छोरीको छोरा कहलिनालाई इन्कार गरे। केही समयसम्म पापको सुख भोग्नभन्दा बरू परमेश्‍वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजे।”—प्रेरित ७:२२; हिब्रू ११:२४, २५.

१८. राजाले गरेको प्रबन्धले यी जवान हिब्रूहरूलाई कुन कुन तरिकामा अशुद्ध पार्ने थियो?

१८ बेबिलोनी राजाले गरेका प्रबन्धहरूले यी जवान केटाहरूलाई कसरी अशुद्ध पार्ने थियो? सर्वप्रथम त, यी भोजनहरूमा मोशाको व्यवस्थाले निषेध गरेका खानाहरू समावेश भएको हुनसक्थ्यो। उदाहरणका लागि, बेबिलोनीहरू इस्राएलीहरूको व्यवस्थाले खान निषेध गरेको अशुद्ध जनावरहरू खान्थे। (लेवी ११:१-३१; २०:२४-२६; व्यवस्था १४:३-२०) दोस्रो, बेबिलोनीहरू जनावर मारेर खानुअघि त्यसको रगत निथार्दैनथे। रगत ननिथारीकन जनावरको मासु खानु यहोवाले रगतबारे दिनुभएको आज्ञा ठाडै उल्लंघन गरे बराबर हुने थियो। (उत्पत्ति ९:१, ३, ४; लेवी १७:१०-१२; व्यवस्था १२:२३-२५) तेस्रो, झूटो देवका उपासकहरू मूर्तिलाई चढाएपछि मात्र प्रसादको रूपमा भोजन लिने गर्थे। यहोवाका सेवकहरूले ती कुनैमा पनि भाग लिनु उचित हुने थिएन! (१ कोरिन्थी १०:२०-२२ तुलना गर्नुहोस्‌।) अनि, असाध्यै चिल्लो भोजन तथा मद्य दिनदिनै खानु कुनै पनि उमेरको मानिसको लागि स्वास्थ्यकर होइन, केटाकेटीहरूको लागि स्वास्थ्यकर हुने त कुरै भएन।

१९. हिब्रू युवाहरूले कस्तो तर्क गर्न सक्थे तर सही निष्कर्षमा पुग्न तिनीहरूलाई कुन कुराले मदत गऱ्‍यो?

१९ के गर्नुपर्छ भनेर थाह पाउनु एउटा कुरा हो तर दबाउ वा प्रलोभनको सामु त्यसो गर्ने साहस जुटाउनु अर्कै कुरा हो। दानियल र तिनका तीन जना साथीहरूले आफू आमाबाबु र साथीभाइहरूबाट टाढा भएको कारण जे गरे पनि कसैले थाह पाउनेछैन भन्‍ने तर्क गर्नसक्थे। अब राजाले हुकुम गरेपछि अरू उपाय नै के रह्‍यो र भन्‍ने तर्क पनि तिनीहरूले गर्नसक्थे। अरू युवाहरूले भने त्यो प्रबन्ध खुसीसाथ स्वीकारे र यसमा सहभागी हुन पाउनु कठिनाइ होइन बरु सुअवसर हो भन्ठाने। तर त्यस्तो गलत सोचाइले गोप्यमा पाप गर्ने खतरा निम्त्याउन सक्छ र यो धेरै जवानहरूको निम्ति पासो हो। यी हिब्रू युवाहरूलाई “परमप्रभुको नजर . . . सर्वत्र रहन्छ” अनि “हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्‌ हरेक गुप्त कुराको न्याय परमेश्‍वरले गर्नुहुनेछ” भनेर थाह थियो। (हितोपदेश १५:३; उपदेशक १२:१४) यी विश्‍वासी युवाहरूले अपनाएको बाटोबाट हामी सबैले पाठ सिकौं।

साहस र लगनशीलताले इनाम दियो

२०, २१. दानियलले कस्तो कदम चाले र परिणाम कस्तो भयो?

२० आफूलाई अशुद्ध पार्ने कुराहरूको विरोध गर्ने दृढ निश्‍चय गरिसकेपछि दानियल आफ्नो निर्णयअनुरूप चले। “यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस्‌ भनी नपुंसकहरूका प्रधानलाई तिनले बिन्ती गरे।” (दानियल १:८ख) “बिन्ती गरे”—यो एउटा सोचनीय अभिव्यक्‍ति हो। प्रायजसो अवस्थामा, प्रलोभनको विरोध गर्न वा कुनै कमजोरीलाई आफ्नो नियन्त्रणमा राख्न लगातार प्रयास गरिरहनुपर्छ।—गलाती ६:९.

२१ दानियलको लगनशीलताको राम्रो परिणाम भयो। “परमेश्‍वरले नपुंसकहरूका प्रधानको मनमा दानियलप्रति करुणा र दया भरिदिनुभयो।” (दानियल १:९) दानियल र तिनका साथीहरू आकर्षक र बुद्धिमान्‌ मानिसहरू भएकाले यी सबै कुरा राम्रो भएको होइन। तर यहोवाको आशिष्‌ले गर्दा यसो भएको हो। निस्सन्देह, दानियलले यो हिब्रू भनाइ सम्झेको हुनुपर्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌ र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटाहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:५, ६) यो सल्लाह पालन गर्नु साँच्चै इनामदायी साबित भयो।

२२. नपुंसकहरूका प्रधानले कस्तो जायज आपत्ति जनाए?

२२ सुरुमा त नपुंसकहरूका प्रधानले नमानेर यसो भने: “तिमीहरूका खाने र पिउने कुरा खटाउनुहुने मेरा स्वामी महाराजाधिराजले तिमीहरूका चेहरा तिमीहरूकै उमेरका अरू जवानहरूका चेहराभन्दा उदास भएको देख्नुभयो भने तिमीहरूले मेरो शिर खतरामा पार्नेछौ भनी मलाई डर लाग्छ।” (दानियल १:१०) आपत्ति जनाउने र डराउनुपर्ने यी ठोस कारणहरू थिए। कसैले आफ्नो आज्ञा पालन नगरेको खण्डमा नबूकदनेसरलाई एकदमै असह्‍य हुने थियो र राजाको हुकुम नमानेको खण्डमा यस नपुंसकहरूका प्रधानलाई आफ्नो “शिर” खतरामा पर्नेछ भनेर थाह थियो। अब दानियलले के गर्ने थिए?

२३. दानियलले कसरी अन्तरदृष्टि र बुद्धि देखाए?

२३ यस्तै अवस्थाका लागि अन्तरदृष्टि र बुद्धि चाहिएको थियो। जवान दानियलले पक्कै पनि यस भनाइलाई बिर्सेका थिएनन्‌ होला: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।” (हितोपदेश १५:१) दानियलले एकोहोरो जिद्दी गर्दै बेकारमा दुःख झेल्नु पऱ्‍यो भनी कचकच गरेर अरूलाई रिस उठाउनुको साटो चुपो लागेर बसे। उपयुक्‍त समय रोजेर दानियलले “कारिन्दालाई” आफ्नो कुरा बताए किनभने तिनी राजाप्रति प्रत्यक्षतः जवाफदेही नभएकोले केही छुट दिन तयार थिए।—दानियल १:११.

दश दिने परीक्षाको प्रस्ताव

२४. दानियलले कस्तो परीक्षण प्रस्ताव राखे?

२४ आफ्नो परीक्षा गरियोस्‌ भन्‍ने प्रस्ताव राख्दै दानियलले कारिन्दालाई यसो भने: “हामीलाई दश दिनसम्म जाँच गर्नुहोस्‌। हामीलाई खानलाई साग–सब्जी र पिउनलाई पानी मात्र दिनुहोस्‌, त्यसपछि हाम्रा चेहरा र राजाका मीठा मीठा भोजन खाने अरू जवानहरूका चेहरा तपाईंले दजाउँनुहोस्‌, र जस्तो तपाईं देख्नुहुन्छ हामीप्रति त्यस्तै गर्नुहोस्‌।”—दानियल १:१२, १३.

२५. दानियल र तिनका तीन जना साथीहरूलाई दिइएको “साग-सब्जीमा” के के समावेश थियो होला?

२५ दश दिनसम्म ‘साग-सब्जी र पानी’ मात्र पिउँदा के तिनीहरू अरूभन्दा “ख्याउटे” हुने थिए? यहाँ “साग-सब्जी” भनी अनुवाद गरिएको शब्द “बीउहरू” भन्‍ने अर्थ बुझाउने हिब्रू शब्दबाट लिइएको हो। कुनै कुनै बाइबल अनुवादले यसलाई “दाल” भनेर अनुवाद गरेको छ, जसको अर्थ “गेडागुडी खाद्यान्‍नको बीज (जस्तै, कोसा, सिमी वा मुसुरो दाल)” हो। केही शास्त्रविद्‌हरूको विचारमा यसप्रकारको भोजनमा बीउहरू मात्र थिएनन्‌। यसबारे एउटा पुस्तक यसो भन्छ: “दानियल र तिनका साथीहरूले शाही भोजनमा हुने चिल्लो, मासुको परिकारको सट्टा साधारण जनताले खाने भोजन पाऊँ भन्‍ने बिन्ती गरेका थिए।” तसर्थ, साग-सब्जीमा सिमी, काँक्रो, लसुन, तरबुजा, प्याज र विभिन्‍न प्रकारका अन्‍नले बनाएको रोटी इत्यादि समावेश गरिएको हुनुपर्छ। अवश्‍य यस्तो भोजन खाने कसैलाई पनि भोकभोकै बसेको भन्‍न मिल्दैन। यसो हेर्दा, कारिन्दाले दानियलको कुरा बुझेजस्तो देखिन्छ। “यसैले यस विषयमा तिनले उनीहरूका कुरा सुने, र दश दिनसम्म उनीहरूको जाँच गरे।” (दानियल १:१४) यसको परिणाम?

२६. दस दिने परीक्षाको परिणाम के भयो र परिणाम त्यस्तो हुनुको कारण के थियो?

२६ “दश दिनपछि राजाका मीठा मीठा भोजन खाने ती सबै जवानहरूभन्दा यिनीहरूका चेहरा झन्‌ राम्रो र पुष्टिएका देखिए।” (दानियल १:१५) यस घटनालाई पोषिलो, मांसाहारी भोजनभन्दा शाकाहारी भोजन उत्तम हो भन्‍ने प्रमाणको रूपमा लिनुहुँदैन। भोजन जस्तोसुकै होस्‌, दश दिनको छोटो अवधिमै त्यस्तो कुनै आमूल परिवर्तन देखिंदैन तर आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाको लागि भने त्यो दस दिन छोटो समय पक्कै थिएन। उहाँको वचन यसो भन्छ, “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।” (हितोपदेश १०:२२) यी चार जना हिब्रूहरूले यहोवामाथि विश्‍वास र भरोसा राखे अनि उहाँले तिनीहरूलाई त्याग्नुभएन। शताब्दीयौंपछि येशू ख्रीष्ट ४० दिनसम्म भोकै रहन सक्नुभयो। यस सन्दर्भमा उहाँले व्यवस्था ८:३ मा उल्लिखित यो कुरा उद्धरण गर्नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ।” यस मामिलामा दानियल र तिनका साथीहरूले गरेको निर्णयलाई उत्कृष्ट उदाहरणको रूपमा लिन सकिन्छ।

स्वादिष्ट भोजन र दाखमद्यको साटो अन्तरदृष्टि र बुद्धि

२७, २८. दानियल र तिनका तीन जना साथीहरूले छानेको भोजनले तिनीहरूलाई कसरी भविष्यमा हुने ठूलठूला कुराहरूको निम्ति तयार पार्ने थियो?

२७ यो दश दिन त एउटा परीक्षा मात्र थियो तर परिणाम एकदमै सन्तोषजनक भयो। “यसैले त्यस कारिन्दाले दाखमद्य बन्द गरेर तिनीहरूलाई साग–सब्जीनै दिनलागे।” (दानियल १:१६) प्रशिक्षणमा सामेल भएका अरू युवाहरूले दानियल र तिनका साथीहरूबारे के सोचे होलान्‌, तपाईं आफै कल्पना गर्न सक्नुहुन्छ। राजाले प्रबन्ध गरेका भोजन इन्कार गरेर दिनदिनै सागसब्जी मात्र खान रोज्नु तिनीहरूको नजरमा एकदमै मूर्ख देखिएको हुनुपर्छ। तर ठूलठूला परीक्षाहरू हुनेवाला थियो र यी हिब्रू युवाहरू पूर्णतया सतर्क तथा आत्मसंयमी हुनुपर्थ्यो। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवामाथि विश्‍वास र भरोसा राखेको खण्डमा तिनीहरू विश्‍वासको परीक्षामा सफल हुने थिए।—यहोशू १:७ तुलना गर्नुहोस्‌।

२८ यहोवाले यी युवकहरूलाई साथ दिइरहनुभएको थियो भनी त्यसपछिको विवरणले देखाउँछ: “परमेश्‍वरले यी चारै युवकहरूलाई विद्या, बुद्धि र सबै कुराको ज्ञान दिनुभयो। औ दानियलमा सबै दर्शन र सपनाहरूको अर्थ खोल्ने ज्ञान भयो।” (दानियल १:१७) तिनीहरूले अब सामना गर्नुपर्ने कठिन परिस्थितिको लागि शारीरिक बल र सुस्वास्थ्य मात्र भएर पुग्ने थिएन। “बुद्धि तेरो मनभित्र गाड़िनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्‍तिले तेरो रक्षा गर्नेछ। त्यसले तँलाई खराब चालबाट र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।” (हितोपदेश २:१०-१२) यी चार जना विश्‍वासी युवकहरूलाई तिनीहरूले सामना गर्नुपर्ने परिस्थितिको लागि तयार बनाउन यहोवाले उक्‍त कुराहरू दिनुभयो।

२९. दानियलले ‘सबै प्रकारको दर्शन र सपनाको अर्थ खोल्न’ सक्नुको कारण के थियो?

२९ दानियलसित “सबै दर्शन र सपनाहरूको अर्थ खोल्ने ज्ञान” थियो। यसको मतलब तिनी अन्तर्यामी भए भन्‍न खोजेको होइन। चाखलाग्दो कुरा, दानियललाई महान्‌ हिब्रू अगमवक्‍ता मानिलिए तापनि तिनी “परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ” वा “सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ” भन्‍ने जस्ता घोषणाहरू गर्न कहिल्यै प्रेरित भएनन्‌। (यशैया २८:१६; यर्मिया ६:९) यद्यपि, परमेश्‍वरको पवित्र आत्माको डोऱ्‍याइ पाएर मात्र दानियलले यहोवाका उद्देश्‍यहरू प्रकट गर्ने दर्शन तथा सपनाहरू बुझेर त्यसको अर्थ खोल्न सकेका हुन्‌।

अन्तमा, निर्णायक परीक्षा

३०, ३१. दानियल र तिनका साथीहरूले रोजेको मार्ग कसरी तिनीहरूका लागि लाभदायक साबित भयो?

३० तीन वर्षे शिक्षादीक्षा तथा विशेष तालिमको अवधि समाप्त भयो। अब, एउटा निर्णायक परीक्षामा सामेल हुने समय आइपुग्यो। त्यो थियो, राजासँग व्यक्‍तिगत अन्तरवार्ता। “राजाले तिनीहरूलाई आफ्नो सामने हाजिर गराउनू भनी तोकेका समयमा नपुंसकका प्रधानले उनीहरूलाई राजाको सामने हाजिर गराए।” (दानियल १:१८) अब यी चारै जना युवकहरूले आफ्नो लेखा दिनुपर्ने समय आएको थियो। के तिनीहरूका लागि बेबिलोनी मार्गमा चल्नुभन्दा यहोवाको व्यवस्था पालन गर्नु लाभदायक साबित हुने थियो?

३१ “तब राजाले तिनीहरूसित बातचीत गरे, र ती सबैमा कसैलाई पनि दानियल, हनन्याह, मीशाएल र अजर्याहको बराबरी पाएनन्‌। यसरी यिनीहरू राजाको काममा नियुक्‍त भए।” (दानियल १:१९) तिनीहरूले तीन वर्षसम्म जे जति गरे, त्यसको कस्तो राम्रो परिणाम! तिनीहरूले आफ्नो विश्‍वास र अन्तस्करणअनुसारको मार्ग अपनाउनु कुनै मूर्खता रहेनछ। एकदमै सानोजस्तो देखिने कुरामा समेत विश्‍वासी भएकाले दानियल र तिनका साथीहरूले निकै ठूलठूला आशिष्‌ पाए। यस प्रशिक्षणमा भाग लिने सबै जवानहरूको मुख्य लक्ष्य भन्‍नु नै “राजाको काममा नियुक्‍त” हुनु थियो। यी चार जना हिब्रू युवकहरू मात्रै छानिए वा अरू पनि थिए, त्यसबारे बाइबलले केही पनि बताएको छैन। तर जे होस्‌, यहोवाप्रति वफादर रहेर तिनीहरूले “ठूलो इनाम” पाए।—भजन १९:११.

३२. दानियल, हनन्याह, मीशाएल र अजर्याहले किन अरू दरबारियाले भन्दा ठूलठूला सुअवसर पाए भन्‍न सकिन्छ?

३२ “निपुण कारीगरले राजाको सेवा गर्छ, त्यसले साधारण मानिसको सेवा गर्दैन” भनी धर्मशास्त्र बताउँछ। (हितोपदेश २२:२९) यसप्रकार, नबूकदनेसरले राजाको सामु हाजिर हुन दानियल, हनन्याह, मीशाएल र अजर्याहलाई नियुक्‍त गरे अर्थात्‌ तिनीहरू शाही भारदार भए। यी सबैबाट, यहोवाले यी जवान मानिसहरू र अझ विशेष गरी दानियलमार्फत ईश्‍वरीय उद्देश्‍यका महत्त्वपूर्ण पक्षहरू प्रकट गर्न कामकुरालाई आफ्नो हातमा लिनुभएको हामी देख्छौं। नबूकदनेसरको शाही भारदार नियुक्‍त हुनु कम सम्मानजनक कुरा थिएन तर त्योभन्दा पनि ठूलो सम्मानको कुराचाहिं, सार्वभौम महाराजा, यहोवाको हातबाट त्यस्तो अद्‌भुत ढंगमा चलाइनु थियो।

३३, ३४. (क) जवान हिब्रूहरू देखेर राजा किन प्रभावित भए? (ख) चार हिब्रूहरूको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

३३ यहोवाले यी चार जना हिब्रू युवकहरूलाई दिनुभएको बुद्धि तथा अन्तरदृष्टि, दरबारका अन्य सल्लाहकार तथा बुद्धिजीवीहरूको भन्दा एकदमै उत्कृष्ट रहेछ भनेर बुझ्न नबूकदनेसरलाई धेरै समय लागेन। “बुद्धि र ज्ञानको जे जे कुरामा राजाले तिनीहरूसित परामर्श लिन्थे राज्यभरिमा सबै ज्योतिषी र मंत्र–तंत्र गर्नेहरूभन्दा यिनीहरूलाई दश गुणा असल पाए।” (दानियल १:२०) त्यसो नहुने त कुरै भएन नि! “ज्योतिषी” तथा “मंत्र-तंत्र गर्ने” पूजाहारीहरूले बेबिलोनका निरर्थक अनि अन्धविश्‍वासमा आधारित शिक्षामा भरोसा राख्थे जबकि दानियल र तिनका साथीहरूले माथिबाट आउने बुद्धिमा भरोसा राख्थे। यी दुईबीच तुलनासमेत गर्न मिल्दैन!

३४ शताब्दीयौंपछि अहिले पनि खासै फरक भएको छैन। सा.यु. प्रथम शताब्दीमा युनानी दर्शन तथा रोमी व्यवस्था लोकप्रिय भइसकेको जमानामा प्रेरित पावलले प्रेरणा पाएर यस्तो लेखे: “संसारको ज्ञान परमेश्‍वरको अगि मूर्खता हो। किनकि लेखिएको छ, ‘उहाँले बुद्धिमानहरूलाई तिनीहरूका धूर्त्याइँमा पक्रनुहुन्छ।’ औ फेरि, ‘प्रभुले बुद्धिमानहरूका तर्कहरू व्यर्थका हुन्‌ भनी जान्‍नुहुन्छ।’ यसैले मानिसहरूमा कसैले घमण्ड नगरोस्‌।” (१ कोरिन्थी ३:१९-२१) आज, यहोवाले हामीलाई सिकाउनुभएका कुराहरू पक्रिराख्नुपर्छ र संसारको रमझम देखेर बहकिनु हुँदैन।—१ यूहन्‍ना २:१५-१७.

अन्तसम्मै विश्‍वासी

३५. दानियलका तीन जना साथीहरूबारे हामीलाई के कति बताइएको छ?

३५ नबूकदनेसरले दूराको मैदानमा खडा गरेको सुनको मूर्ति र दन्केको आगोको परीक्षाबारे दानियल अध्याय ३ मा गरिएको विवरणमा हनन्याह, मीशाएल र अजर्याहले देखाएको बलियो विश्‍वास नाटकीय ढंगमा चित्रण गरिएको पाउँछौं। यी ईश्‍वरभीरु हिब्रूहरू मृत्युसम्मै यहोवाप्रति विश्‍वासी रहे। हामी यसो भन्‍न सक्छौं, किनभने प्रेरित पावलले “विश्‍वासद्वारा . . . आगोका ज्वाला निभाए” भनी पक्कै पनि तिनीहरूलाई नै संकेत गरिरहेको हुनुपर्छ। (हिब्रू ११:३३, ३४) तिनीहरू यहोवाका जवान तथा वृद्ध सबै सेवकहरूका लागि उल्लेखनीय उदाहरण हुन्‌।

३६. दानियलको जीवनकाल कस्तो उल्लेखनीय सेवामा बित्यो?

३६ दानियलबारे अध्याय १ को अन्तिम पदले यसो भन्छ: “दानियल चाहिं कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म काममा रहिरहे।” इतिहासअनुसार सा.यु.पू. ५३९ मा कोरेसले एकै रातमा बेबिलोनी सत्तालाई पल्टाइदिएका थिए। त्यसपछि पनि दानियलले आफ्नो पहिलेको प्रतिष्ठा र ओहदामा रहेर कोरेसको सेवा गरिरहे। वास्तवमा, “फारसका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा” यहोवाले दानियललाई एउटा उल्लेखनीय कुरा प्रकट गर्नुभयो भनी दानियल १०:१ हामीलाई बताउँछ। यदि तिनी सा.यु.पू. ६१७ मा बेबिलोन ल्याइँदा किशोरै थिए भने त्यो अन्तिम दर्शन पाउँदा तिनी लगभग १०० वर्ष पुगिसकेको हुनुपर्छ। तिनले यहोवाको सेवामा कत्ति धेरै समय बिताए र कस्तो आनन्ददायी सुअवसर हासिल गरे!

३७. दानियल अध्याय १ विचार गरेर हामी के-कस्ता पाठ सिक्न सक्छौं?

३७ दानियलको पुस्तकको सुरुको अध्यायले विश्‍वासको परीक्षामा सफल भएका चार जना विश्‍वासी जवानहरूबारे मात्र बताएको छैन। आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले जोसुकैलाई प्रयोग गर्न सक्नुहुन्छ भनेर पनि त्यसले देखाउँछ। यहोवाले अनुमति दिनुभएको खण्डमा सुरुमा विपत्तिजस्तो देखिए तापनि त्यसले राम्रो परिणाम ल्याउनसक्छ भनी उक्‍त विवरणले प्रमाणित गर्छ। अनि सानो कुरामा वफादार हुँदा ठूलो इनाम पाइन्छ भनेर पनि देखाउँछ।

तपाईंले के बुझ्नुभयो?

• दानियल र तिनका तीन जना साथीहरूको पृष्ठभूमिबारे के भन्‍न सकिन्छ?

• राम्रो लालनपालन पाएका चार जना हिब्रूहरूको कसरी परीक्षा गरियो?

• यहोवाले चार हिब्रूहरूले लिएको साहसिक अडानको कस्तो इनाम दिनुभयो?

• दानियल र तिनका तीन जना साथीहरूबाट यहोवाका वर्तमान सेवकहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ३०-मा भएको पृष्ठभरिको चित्र]