सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विशाल मूर्तिको उत्थान र पतन

विशाल मूर्तिको उत्थान र पतन

अध्याय चार

विशाल मूर्तिको उत्थान र पतन

१. राजा नबूकदनेसरले दानियल र अरू मानिसहरूलाई दासत्वमा लगेको एक दशकपछि भएको घटनामा हामीले किन चासो लिनुपर्छ?

 राजा नबूकदनेसरले दानियल र “देशका अग्रगण्य मानिसहरूलाई” कैद गरेर बेबिलोनको दासत्वमा ल्याएको एक दशक भइसक्यो। (२ राजा २४:१५) जवान दानियलले राजदरबारमा सेवा गरिरहेको बेला तिनको ज्यानै खतरामा पर्ने परिस्थिति आइपर्छ। यो घटना हाम्रोलागि किन चासोको विषय हुनुपर्ने हो? किनकि यहोवा परमेश्‍वरले जुन किसिमले यस घटनामा हस्तक्षेप गर्नुभयो त्यसले दानियल र अरू मानिसहरूको ज्यान बचाउनुका साथै अहिले हाम्रो समयसम्म बाइबल भविष्यवाणीमा उल्लिखित विश्‍वशक्‍तिहरू कसरी देखा परे, त्यसको पूर्वझलक पनि दिन्छ।

राजासामु एउटा जटिल समस्या खडा हुन्छ

२. नबूकदनेसरले पहिलो भविष्यसूचक सपना कहिले देखे?

अगमवक्‍ता दानियलले यसप्रकार लेखे, “नबूकदनेसर राजाको शासनकालको दोस्रो वर्षमा राजाले एउटा सपना देखे। तिनको मन घबरायो र तिनलाई फेरि निद्रा लागेन।” (दानियल २:१) यो सपना देख्ने व्यक्‍ति बेबिलोनी साम्राज्यका राजा नबूकदनेसर थिए। यहोवा परमेश्‍वरले सा.यु.पू. ६०७ मा यरूशलेम र त्यसको मन्दिर विनाश गर्न नबूकदनेसरलाई चलाउनुहुँदा तिनी विश्‍व शासक बन्‍न पुगे। विश्‍व शासकको (सा.यु.पू. ६०६/६०५) हैसियतमा नबूकदनेसरले शासन गरेको दोस्रो वर्षमा परमेश्‍वरले तिनलाई एउटा डरलाग्दो सपना देखाउनुभयो।

३. कसले राजाको सपनाको अर्थ खुलाउन सकेनन्‌ र नबूकदनेसरले के गरे?

यो सपनाले गर्दा नबूकदनेसर एकदमै विचलित भए र सुत्नसमेत सकेनन्‌। त्यसैले, तिनी सपनाको अर्थ बुझ्न उत्सुक हुनु स्वाभाविकै हो। तर यस पराक्रमी राजाले सपना बिर्सिसकेका थिए! त्यसकारण, तिनले बेबिलोनका जादुगर, तंत्र-मंत्र गर्ने र बिजुवाहरूलाई बोलाए अनि तिनीहरूलाई सपना बताएर त्यसको अर्थ खुलाउने आज्ञा दिए। यो तिनीहरूको क्षमताले भ्याउन नसक्ने काम थियो। तिनीहरूले अर्थ खोल्न नसक्दा नबूकदनेसर असाध्यै झोकिए अनि “बाबेलका सारा ज्ञानी पुरुषहरूलाई मार्ने” हुकूम दिए। यो हुकुमले गर्दा अगमवक्‍ता दानियलको पनि मृत्यु हुनसक्थ्यो। किन? किनभने तिनी र तिनका तीन जना हिब्रू साथीहरू हनन्याह, मीशाएल र अजर्याह पनि बेबिलोनका ज्ञानी पुरुषहरूमा गनिन्थे।—दानियल २:२-१४.

दानियलले मदत गर्छन्‌

४. (क) दानियलले नबूकदनेसरको सपना र त्यसको अर्थ कसरी थाह पाए? (ख) दानियलले यहोवा परमेश्‍वरप्रति कृतज्ञता व्यक्‍त गर्दै के भने?

नबूकदनेसरको यस्तो कठोर हुकुम सुनेपछि “दानियलले भित्र राजाको सामने गएर सपनाको अर्थ बताइदिनलाई केही समय दिनुहोस्‌ भनी राजालाई बिन्ती गरे।” राजाले बिन्ती मन्जुर गरे। त्यसपछि दानियल घर फर्के र आफ्ना तीन जना हिब्रू साथीहरूसँगै “स्वर्गका परमेश्‍वरले दयासाथ यो रहस्य खोलिदिऊन्‌” भनी बिन्ती गर्दै प्रार्थना गरे। त्यही रात दर्शनमा यहोवा परमेश्‍वरले दानियललाई सपनाको रहस्य खोलिदिनुभयो। आफ्नो कृतज्ञता व्यक्‍त गर्दै दानियलले यसो भने: “परमेश्‍वरको नाउँ सदा सर्वदा धन्यको होस्‌, बुद्धि र पराक्रम उहाँकै हुन्‌। उहाँलेनै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ। उहाँलेनै राजाहरूलाई हटाउनु र बसाल्नुहुन्छ। उहाँले ज्ञानीहरूलाई ज्ञान दिनुहुन्छ, र समझदारहरूलाई बुद्धि दिनुहुन्छ। उहाँले गहीरा गहीरा रहस्यहरू प्रकट गर्नुहुन्छ। अन्धकारमा के छ भनी उहाँ जान्‍नुहुन्छ औ उज्यालोले उहाँमा बास गर्छ।” त्यस्तो अन्तरदृष्टिको लागि दानियलले यहोवाको प्रशंसा गरे।—दानियल २:१५-२३.

५. (क) राजासामु हाजिर हुँदा दानियलले कसरी यहोवालाई श्रेय दिए? (ख) दानियलले दिएको बयान किन अहिले हाम्रोलागि चासोको विषय हो?

त्यसको भोलिपल्ट दानियल, प्रमुख अंगरक्षक अर्योकलाई भेट्‌न गए। राजाले बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न उनलाई नियुक्‍त गरेका थिए। दानियलले सपनाको अर्थ खुलाउन सक्छन्‌ भनी थाह पाएपछि अर्योकले तिनलाई जति सक्दो चाँडो राजाको सामने लगे। दानियलले सपनाको अर्थको श्रेय पटक्कै लिएनन्‌ बरु नबूकदनेसरलाई यसो भने: “स्वर्गमा एक ईश्‍वर हुनुहुन्छ, औ अन्तका दिनमा के के हुनेछन्‌ सो उहाँलेनै महाराज नबूकदनेसरलाई बताइदिनु भएको छ।” दानियल बेबिलोनी साम्राज्यको भविष्य मात्र होइन तर नबूकदनेसरको समयदेखि हाम्रो समय र पछिसम्मको विश्‍व घटना बताउन तयार थिए।—दानियल २:२४-३०.

सपना फेरि ताजा भयो

६, ७. दानियलले राजालाई पुनः स्मरण गराएको सपना के थियो?

दानियलले बताउँदै जाँदा नबूकदनेसरले ध्यान दिएर सुने: “हे महाराज, हजूरले हेरिरहनुहुँदा एउटा विशाल मूर्ति देख्नुभयो। हजूरको सामने खड़ा भएको त्यो मूर्ति विशाल र अत्यन्तै चहकिलो थियो, हेर्दा त्यसको रूप अति भयंकर थियो। त्यस मूर्तिको टाउको निखुर सुनको, त्यसका छाती र हातहरू चाँदीका, त्यसका पेट र फिला पित्तलका, त्यसका गोड़ाहरू फलामका र त्यसका खुट्टाहरू केही फलामका र केही माटाका थिए। हजूरले हेरिरहनुहुँदा पहराबाट एउटा ढुंगा फोरियो, तर मानिसका हातले होइन, र त्यो आएर त्यस मूर्तिको फलाम र माटाका खुट्टामा लाग्यो, र त्यो चक्नाचूर पारिदियो। त्यसपछि त्यो फलाम, माटो, पित्तल, चाँदी र सुन जम्मै चक्नाचूर भए, औ ग्रीष्मऋतुमा खलाबाट भूस उड़ाएझैं नाउँ निशानै नपाइने गरी बतासले उड़ाएर लगिहाले। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्‌गा बढ़दै एउटा ठूलो पहाड भएर सारा पृथ्वीलाई ढाक्यो।”—दानियल २:३१-३५.

दानियलले सपनाबारे बताउँदा नबूकदनेसर कस्तो दंग परे होलान्‌! तर पर्खनुहोस्‌! सपना मात्र बताएर पुग्दैन! दानियलले सपनाको अर्थ पनि खोलेको खण्डमा मात्र बेबिलोनका ज्ञानी पुरुषहरूको ज्यान बच्ने थियो। आफू र आफ्ना तीन जना हिब्रू साथीहरूको तर्फबाट बोल्दै दानियलले यसो भने: “सपना यही थियो। अब हामी महाराजलाई त्यसको अर्थ खोलिदिनेछौं।”—दानियल २:३६.

अत्यन्तै विशिष्ट राज्य

८. (क) दानियलले सुनको टाउकोको अर्थ के हो भने? (ख) सुनको टाउको कहिले अस्तित्वमा आयो?

“हे महाराज, हजूर राजाहरूका पनि राजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य, सामर्थ्य, अधिकार र मान दिनुभएको छ, र जहाँ जहाँ मानिसका सन्तान, जंगलका पशु र आकाशका पक्षीहरू बसेका छन्‌, तीमाथि अधिकार गर्नलाई जसको अधीनमा दिनुभएको छ—हजूरनै त्यो सुनको टाउको हुनुहुन्छ।” (दानियल २:३७, ३८) यहोवाले सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश गर्न नबूकदनेसरलाई चलाउनु हुँदा यी शब्दहरू पूरा भए। हामी त्यसो भन्‍नसक्छौं किनभने यरूशलेमका राजाहरू, यहोवाले नियुक्‍त गर्नुभएका राजा दाऊदको कुलका हुन्थे। यहूदाको राजधानी यरूशलेम थियो र त्यो राज्य पृथ्वीमा यहोवाको सार्वभौमिकताको प्रतिनिधित्व गर्ने राज्य थियो। सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश भएपछि परमेश्‍वरको यो प्रतिरूपक राज्यको अस्तित्व खतम भयो। (१ इतिहास २९:२३; २ इतिहास ३६:१७-२१) त्यसपछि, क्रमशः विभिन्‍न विश्‍वशक्‍तिको चित्रण गर्ने त्यस मूर्तिका विभिन्‍न धातुहरूले संसारमाथि प्रभुता जमाउँदा परमेश्‍वरको प्रतिरूपक राज्यले कुनै हस्तक्षेप गर्ने थिएन। पुरातन समयको सबैभन्दा बहुमूल्य धातु, सुनले बनेको टाउकोद्वारा प्रतिनिधित्व गरिएको नबूकदनेसर राजाले यरूशलेमको विनाश गर्ने सुअवसर पाए। (पृष्ठ ६३ मा “योद्धा राजाले साम्राज्य खडा गर्छन्‌” शीर्षकको पेटी हेर्नुहोस्‌।)

९. सुनको टाउकोले कुन कुराको प्रतिनिधित्व गऱ्‍यो?

नबूकदनेसरले ४३ वर्षसम्म शासन गरे अनि बेबिलोनी साम्राज्यमाथि शासन गर्ने राजकुलका प्रमुख भए। यस राजकुलमा तिनको ज्वाइँ नाबोनिडस र जेठो छोरा, एबील-मरोदक थिए। यो राजकुल सा.यु.पू. ५३९ मा नाबोनिडसको छोरा बेलसजरको मृत्यु नहोउञ्जेल अर्को ४३ वर्षसम्म चल्यो। (२ राजा २५:२७; दानियल ५:३०) अतः सपनामा देखेको मूर्तिको सुनको टाउकोले केवल नबूकदनेसरलाई मात्र नभई सम्पूर्ण बेबिलोनी राजकुललाई चित्रण गर्थ्यो।

१०. (क) बेबिलोनी विश्‍वशक्‍ति रहिरहनेछैन भनेर नबूकदनेसरको सपनाले कसरी देखायो? (ख) बेबिलोनमाथि विजय हासिल गर्ने व्यक्‍तिबारे अगमवक्‍ता यशैयाले कस्तो भविष्यवाणी गरे? (ग) कुन अर्थमा बेबिलोनभन्दा मादी-फारसी निम्न स्तरको थियो?

१० दानियलले नबूकदनेसरलाई यसो भने: “हजूरपछि हजूरभन्दा अलिक कमजोर राज्य खडा हुनेछ।” (दानियल २:३९) मूर्तिको चाँदीको छाती र हातले प्रतिनिधित्व गर्ने राज्यले नबूकदनेसरको राजकुललाई परास्त गर्ने थियो। लगभग २०० वर्षअघि यशैयाले यो राज्यबारे भविष्यवाणी गरिसकेका थिए र यस विजयी राजा कोरेस हुनेछन्‌ भनी नाउँसमेत बताइसकेका थिए। (यशैया १३:१-१७; २१:२-९; ४४:२४–४५:७, १३) यो मादी-फारसी साम्राज्य थियो। टाढा टाढासम्म आफ्नो साम्राज्य विस्तार गर्ने मादी-फारस, बेबिलोन साम्राज्यभन्दा तुच्छ थिएन तैपनि यसलाई सुनभन्दा कमसल धातु, चाँदीले चित्रण गरिएको छ। यसले परमेश्‍वरको राज्यको पार्थिव प्रतिनिधित्व गर्ने यहूदाको राजधानी यरूशलेमलाई आफ्नो कब्जामा लिनेजस्तो ठूलो काम यो साम्राज्यले गर्न नपाएको हुँदा बेबिलोन विश्‍वशक्‍तिभन्दा तुच्छ ठहरियो।

११. नबूकदनेसरको राजकुल कहिले अन्त भयो?

११ सपनाको अर्थ खुलाएको लगभग ६० वर्षपछि दानियलले नबूकदनेसरको राजकुल अन्त भएको देखे। सा.यु.पू. ५३९ अक्टोबर ५/६ को रात, मादी-फारसी सेनाले अजेयजस्तो देखिने बेबिलोनलाई परास्त गरेर राजा बेलसजरको हत्या गर्दा दानियल पनि त्यहीं थिए। बेलसजरको मृत्युपछि सपनाको मूर्तिको सुनको टाउको अर्थात्‌ बेबिलोनी साम्राज्य विश्‍वशक्‍ति रहेन।

निर्वासित मानिसहरूलाई एउटा राज्यले छुटकारा दियो

१२. सा.यु.पू. ५३७ मा कोरेसले जारी गरेको उर्दीले निर्वासनमा परेका यहूदीहरूलाई कसरी फाइदा पुऱ्‍यायो?

१२ सा.यु.पू. ५३९ मा प्रभुत्व जमाएको विश्‍वशक्‍ति बेबिलोनी साम्राज्य नभई मादी-फारसी भयो। मादी दाराले बेबिलोनमाथि कब्जा गरेर त्यसको प्रथम शासक हुँदा तिनी ६२ वर्षका थिए। (दानियल ५:३०, ३१) केही समयको लागि तिनी र फारसी कोरेसले मिलीजुली मादी-फारसी साम्राज्यमाथि शासन गरे। दाराको मृत्युपछि फारसी साम्राज्यको एकल राजा कोरेस भए। बेबिलोनका यहूदीहरूको लागि कोरेसको शासनको अर्थ दासत्वबाट मुक्‍ति थियो। सा.यु.पू. ५३७ मा कोरेसले जारी गरेको एउटा हुकुमको कारण बेबिलोनको निर्वासनमा बाँकी रहेका केही यहूदीहरू आफ्नो मातृभूमि फर्केर यरूशलेम र यहोवाको मन्दिरको पुनर्निर्माण गर्न सक्ने भए। तथापि, यहूदा र यरूशलेममा भने परमेश्‍वरको प्रतिरूपक राज्य पुनर्स्थापित गरिएन।—२ इतिहास ३६:२२, २३; एज्रा १:१–२:२क

१३. नबूकदनेसरले सपनामा देखेको मूर्तिको चाँदीको छाती र हातहरूले केलाई चित्रण गऱ्‍यो?

१३ मूर्तिको चाँदीको छाती र हातहरूले महान्‌ कोरेसबाट सुरु भएका फारसी शासकहरूलाई चित्रण गऱ्‍यो। त्यो राजकुल २०० वर्षभन्दा लामो समयसम्म रह्‍यो। भनिन्छ, कोरेसको मृत्यु सा.यु.पू. ५३० को सैन्य अभियानको दौडान भयो। फारसी साम्राज्य चलाउने कोरेसपछिका १२ जना राजाहरूमध्ये २ जनाले यहोवाका चुनिएका जनहरूसित राम्रो व्यवहार गरे। एक जना, दारा प्रथम (फारसी) र अर्कोचाहिं आर्ट-जारसेज प्रथम थिए।

१४, १५. महान्‌ दारा र आर्ट-जारसेज प्रथमले यहूदीहरूलाई के-कस्तो सहयोग गरे?

१४ महान्‌ कोरेसपछिको तेस्रो फारसी राजा, दारा प्रथम थिए। यसअघिका दुई जना शासकहरू सम्भवतः क्याम्बीसेज दोस्रो अनि तिनको भाइ बार्दिया (अथवा हुनसक्छ, गाउमाता नाउँका ज्योतिषी) थिए। महान्‌ दारा नाउँले चिनिने सम्राट दारा प्रथम सा.यु.पू. ५२१ मा राजगद्दीमा बस्दा यरूशलेमको मन्दिर पुनर्निर्माण कार्यमा प्रतिबन्ध लागेको थियो। कोरेसले गरेको हुकुमको कागजात, एक्बातानाको पुरातन संग्रहमा पत्ता लागेपछि दाराले सा.यु.पू. ५२० मा त्यो प्रतिबन्ध हटाए। त्यति मात्र कहाँ हो र, तिनले मन्दिर पुनर्निर्माण गर्न राजकीय ढुकुटीबाट पैसा पनि दिए।—एज्रा ६:१-१२.

१५ यहूदीहरूलाई पुनर्स्थापन कार्यमा मदत गर्ने अर्को फारसी राजा आर्ट-जारसेज प्रथम थिए। तिनी सा.यु.पू. ४७५ मा आफ्नो बुबा अहासूरसपछि (जारसेज प्रथम) राजा भएका थिए। आर्ट-जारसेजलाई लंगिमानस भन्‍ने उपनाउँ पनि दिइयो किनभने तिनको बायाँ हातभन्दा दायाँ हात लामो थियो। आफ्नो शासनकालको २० औं वर्ष, सा.यु.पू. ४५५ मा तिनले मद्य टक्य्राउने यहूदी नहेम्याहलाई यहूदाको राज्यपाल नियुक्‍त गरे र यरूशलेमको पर्खाल पुनर्निर्माण गर्न खटाए। दानियलको ९ औं अध्यायमा उल्लिखित “सत्तरी हप्ता” यही घटनाबाट सुरु भयो र त्यसले नासरतको येशू अर्थात्‌ मसीह वा ख्रीष्ट देखा पर्ने समयको अनि उहाँको मृत्यको मिति तय गऱ्‍यो।—दानियल ९:२४-२७; नहेम्याह १:१; २:१-१८.

१६. कहिले र कुन राजाको शासनकालमा मादी-फारसी विश्‍वशक्‍तिको अन्त भयो?

१६ आर्ट-जारसेज प्रथमपछि फारसी साम्राज्य छ जना राजाहरूको हातमा पऱ्‍यो र तीमध्ये अन्तिम राजा, दारा तृतीय थिए। पुरातन निनवे नजिकै, गाउगामेलामा महान्‌ सिकन्दरको हातबाट ठूलो पराजय खप्नुपरेपछि तिनको शासन सा.यु.पू. ३३१ मा अचानक अन्त भयो। यो पराजयपछि नबूकदनेसरले सपनामा देखेको मूर्तिको चाँदीको भागले प्रतिनिधित्व गर्ने मादी-फारसी विश्‍वशक्‍तिको अन्त भयो। यसपछिको विश्‍वशक्‍ति कुनैकुनै पक्षमा उत्कृष्ट थियो भने अन्य पक्षमा निम्न स्तरीय थियो। दानियलले नबूकदनेसरको सपनाको अर्थ खुलाउँदै जाँदा यो कुरा प्रस्ट हुन्छ।

विशाल राज्य तर निम्न स्तरीय

१७-१९. (क) पित्तलका पेट र फिलाले कुन विश्‍वशक्‍तिलाई चित्रण गऱ्‍यो र यसको शासन कत्तिको व्यापक थियो? (ख) सिकन्दर तृतीय को थिए? (ग) युनानी भाषा कसरी अन्तरराष्ट्रिय भाषा बन्‍न पुग्यो र कुन कामको लागि उक्‍त भाषा एकदमै उपयुक्‍त थियो?

१७ त्यस विशाल मूर्तिको पेट र फिलाले “अर्को एउटा तेस्रो राज्य पित्तलको राज्य[लाई]” संकेत गर्छ र “त्यसले सारा पृथ्वीमाथि अधिकार जमाउनेछ” भनी दानियलले नबूकदनेसरलाई बताए। (दानियल २:३२, ३९) बेबिलोनिया र मादी-फारसीपछि यो तेस्रो राज्य देखा पर्ने थियो। चाँदीभन्दा पित्तल निम्न स्तरीय धातु भएझैं यो नयाँ विश्‍वशक्‍तिले यहोवाका जनहरूको उद्धार गर्नेजस्ता सुअवसर नपाउने हुँदा मादी-फारसीभन्दा निम्न स्तरीय हुने थियो। तथापि, पित्तलरूपी राज्यले “सारा पृथ्वीमाथि अधिकार जमाउने” भएकोले यो बेबिलोनिया वा मादी-फारसीभन्दा विशाल हुने थियो। यो विश्‍वशक्‍तिबारे इतिहासले के बताउँछ?

१८ सा.यु.पू. ३३६ मा महत्त्वाकांक्षी सिकन्दर तृतीय २० वर्षको उमेरमा म्यासिडोनियाको राजगद्दीमा बसेको केही समयपछि आफ्नो विजय अभियान थाल्न सुरिए। सैन्य सफलताहरूले गर्दा तिनी महान्‌ सिकन्दर भनी चिनिन थाले। एकपछि अर्को विजय हासिल गर्दै तिनी फारसी इलाकामा घुसे। तिनले सा.यु.पू. ३३१ मा गाउगामेलाको युद्धमा दारा तृतीयलाई हराएपछि फारसी साम्राज्यको पतन हुन थाल्यो र सिकन्दरले नयाँ विश्‍वशक्‍तिको रूपमा युनानलाई स्थापित गरे।

१९ गाउगामेलाको विजयपछि सिकन्दरले बेबिलोन, सुसा, पर्सिपोलिस र एक्बातानाजस्ता फारसी राजधानीहरूलाई आफ्नो अधीनमा पारे। फारसी साम्राज्यको बाँकी भाग पनि कब्जा गरेपछि तिनले आफ्नो विजय अभियान पश्‍चिमी भारतसम्म पुऱ्‍याए। आफूले कब्जा गरेका मुलुकहरूमा युनानी उपनिवेशहरू खडा गरे। यसरी युनानी भाषा र संस्कृति सबैतिर फैलियो। भनौं भने, युनान साम्राज्यअघिका साम्राज्यहरू यो जति ठूलो थिएन। दानियलले भविष्यवाणी गरेझैं पित्तलरूपी राज्यले ‘सारा पृथ्वीमाथि अधिकार जमायो।’ परिणामस्वरूप, युनानी (कोइन) भाषा, अन्तरराष्ट्रिय भाषा बन्‍न पुग्यो। यस भाषामार्फत सही अभिव्यक्‍तिहरू प्रयोग गर्न सकिने हुँदा मसीही युनानी धर्मशास्त्र लेख्न अनि परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन उक्‍त भाषा एकदमै उपयुक्‍त साबित भयो।

२०. महान्‌ सिकन्दरको मृत्युपछि युनानी साम्राज्यको हालत कस्तो भयो?

२० महान्‌ सिकन्दरले विश्‍वशासकको हैसियतमा आठ वर्ष मात्र शासन गर्न पाए। सिकन्दर एउटा भोजमा सामेल भएपछि बिरामी परे अनि त्यसपछि धेरै समय बित्न नपाउँदै सा.यु.पू. ३२३ जून १३ का दिन ३२ वर्षको कलिलै उमेरमा मरे। समयको दौडान यो विशाल साम्राज्यलाई चारवटा भागमा टुक्रा पारियो र तिनका सेनापतिहरूबीच बाँडियो। यसरी एउटा विशाल राज्यबाट चारवटा राज्य उत्पन्‍न भयो र त्यसलाई रोमी साम्राज्यले आफ्नो अधीनमा पाऱ्‍यो। पित्तलरूपी विश्‍वशक्‍ति सा.यु.पू. ३० सम्म मात्र रह्‍यो। यी चारवटा राज्यमध्ये अन्तिम राज्य अर्थात्‌ मिश्रमाथि शासन गरिरहेको टोलेमी राजकुल पनि अन्ततः रोमको अधीनमा पऱ्‍यो।

टुक्रा टुक्रा पारेर तितरबितर पार्ने राज्य

२१. दानियलले “चौथो राज्यको” वर्णन कसरी गरे?

२१ सपनाको मूर्तिको अझ अर्थ खुलाउँदै दानियलले यसो भने: “[बेबिलोन, मादी-फारसी र युनानपछि] फलामजस्तै बलियो चौथो राज्य हुनेछ। फलामले सबै थोकलाई चूर चूर र नष्ट पारेझैं त्यसले सारा पृथ्वीलाई टुक्रा टुक्रा पारेर तितर–बितर पार्नेछ।” (दानियल २:४०) टुक्रा टुक्रा पार्नसक्ने बल र क्षमता भएको यो साम्राज्य फलामजस्तै अर्थात्‌ सुन, चाँदी वा पित्तलले प्रतिनिधित्व गरेका राज्यहरूभन्दा एकदमै बलियो हुने थियो। रोमी साम्राज्य साँच्चै शक्‍तिशाली थियो।

२२. कुन अर्थमा रोमी साम्राज्य फलामजस्तै थियो?

२२ रोमले युनान साम्राज्यलाई टुक्रा टुक्रा पारेर तितरबितर पाऱ्‍यो अनि मादी-फारसी र बेबिलोनी विश्‍वशक्‍तिका बाँकी भागहरूलाई पनि सखाप पाऱ्‍यो। येशू ख्रीष्टले घोषणा गर्नुभएको परमेश्‍वरको राज्यप्रति कुनै आदर नदेखाई सा.यु. ३३ मा शूलीमा लट्‌काएर उहाँलाई माऱ्‍यो। साँचो मसीही धर्मलाई धुजाधुजा पार्ने प्रयासमा रोमले येशूका चेलाहरूलाई सतायो। यसबाहेक, रोमीहरूले सा.यु. ७० मा यरूशलेम र त्यहाँको मन्दिर नष्ट गरे।

२३, २४. मूर्तिको खुट्टाले रोमी साम्राज्यबाहेक अरू कुन कुराको चित्रण गर्छ?

२३ नबूकदनेसरले सपनामा देखेको मूर्तिको फलामे खुट्टाले रोमी साम्राज्य मात्र नभई यसबाट निस्केका अन्य राजनैतिक हाँगाबिंगाहरूलाई पनि चित्रण गर्छ। प्रकाश १७:१० मा लिपिबद्ध यी शब्दहरूलाई विचार गर्नुहोस्‌: “तिनीहरू ती सात राजाहरू हुन—पाँचवटाको पतन भइसक्यो, एउटाचाहिं छँदै छ, र अर्को अझै आएको छैन। औ त्यो आएपछि त्यसले अलि बेर अवश्‍य रहनैपर्छ।” पत्मोस टापुमा रोमीहरूले कैदी बनाएको बेला प्रेरित यूहन्‍नाले उक्‍त शब्दहरू लेखेका थिए। पतन भएका पाँच राजा वा विश्‍वशक्‍ति मिश्र, अश्‍शूर, बेबिलोन, मादी-फारसी र युनान थिए। छैठौं अर्थात्‌ रोमी साम्राज्यको अझै प्रभुता थियो। तर यसको पनि पतन हुने थियो र रोमले कब्जा गरेका इलाकाहरूबाटै सातौं राजा खडा हुने थियो। त्यो विश्‍वशक्‍ति कुन हुने थियो?

२४ कुनै समय बेलाइत, रोमी साम्राज्यको उत्तरपश्‍चिमी भाग थियो। तर १७६३ भित्र यो बेलाइती साम्राज्य अर्थात्‌ सात समुद्रमाथि प्रभुत्व जमाउने ब्रिटानियामा परिणत भइसकेको थियो। सन्‌ १७७६ सम्ममा यसका १३ वटा अमेरिकी उपनिवेशहरूले बेलाइती साम्राज्यबाट स्वतन्त्रता घोषणा गरेर संयुक्‍त राज्य अमेरिका खडा गरे। तथापि, पछि गएर बेलाइत र संयुक्‍त राज्य अमेरिका, युद्ध र शान्ति दुवैका साझेदारहरू भए। यसरी बाइबल भविष्यवाणीमा भनिएझैं सातौं विश्‍वशक्‍तिको रूपमा एंग्लो-अमेरिकी विश्‍वशक्‍ति देखा पऱ्‍यो। रोमी साम्राज्यले जस्तै फलामरूपी अख्तियार चलाएर यसले “फलामको मजबूती” देखायो। यसप्रकार, सपनाको मूर्तिको फलामे खुट्टाहरूमा रोमी साम्राज्य र एंग्लो-अमेरिकी विश्‍वशक्‍ति दुवै समावेश छन्‌।

कमजोर सम्मिश्रण

२५. दानियलले मूर्तिको खुट्टा र औंलाहरूबारे के भने?

२५ त्यसपछि दानियलले नबूकदनेसरलाई यसो भने:“हजूरले खुट्टा र औंला चाहिं केही केही भाग फलामको देख्नुभएझैं त्यो एक विभाजित राज्य हुनेछ। तापनि दर्शनमा हजूरले फलाम र गिलो माटो मिसिएको देख्नुभएझैं त्यसमा फलामको मजबूती रहनेछ। औ खुट्टाका औंलाहरू केही भाग फलाम र केही भाग माटो मिसिएझैं त्यो राज्य केही शक्‍तिशाली र केही सजिलै टुक्रा टुक्रा हुने राज्य हुनेछ। हजूरले फलाम र गिलो माटो मिसिएको देख्नुभएझैं ती राज्यहरू अन्तरजातीय वैवाहिक सम्बन्ध गरेर मिसिनेछ, र फलाम माटोसित मिल्न नसकेझैं ती राज्यहरू एकसाथ अड़िनसक्नेछैनन्‌।”—दानियल २:४१-४३.

२६. मूर्तिले चित्रण गरेको खुट्टा र औंलाको शासन कहिले देखा पर्छ?

२६ नबूकदनेसरले सपनामा देखेको मूर्तिका विभिन्‍न भागहरूले चित्रण गर्ने अंगहरू टाउकोदेखि पैतालासम्मै थिए। त्यसकारण, “फलाम र गिलो माटो मिसिएको” खुट्टा र औंला “अन्तको समय[मा]” चलिरहेको मानव शासनको अन्तिम रूप हुनेछ भन्‍नु तर्कसंगत कुरा हो।—दानियल १२:४.

२७. (क) माटो र फलाम मिसिएको खुट्टा र औंलाहरूले कस्तो विश्‍व परिस्थितिको चित्रण गर्छ? (ख) मूर्तिको दशवटा औंलाहरूले कसलाई चित्रण गर्छ?

२७ बीसौं शताब्दी सुरु हुँदा पृथ्वीको एक चौथाइ जनसंख्या बेलाइती साम्राज्यको अधीनमा थियो। अन्य युरोपेली साम्राज्यहरूले अरू लाखौंलाई आफ्नो नियन्त्रणमा लिए। तर प्रथम विश्‍वयुद्धले गर्दा साम्राज्यहरूको सट्टा राष्ट्रहरूको समूह देखा पर्न थाल्यो। दोस्रो विश्‍वयुद्धपछि यो क्रम झनै तीव्र भयो। राष्ट्रवादको लहर झन्‌ झन्‌ बढ्‌न थालेपछि विश्‍वमा राष्ट्रहरूको संख्यामा पनि निकै वृद्धि भयो। मूर्तिका दशवटा औंलाहरूले त्यस्तै मिलीजुली बनेको शक्‍ति र राष्ट्रलाई चित्रित गर्छन्‌ किनभने बाइबलमा दस संख्याले पार्थिव पूर्णतालाई बुझाउँछ।—प्रस्थान ३४:२८; मत्ती २५:१; प्रकाश २:१० तुलना गर्नुहोस्‌।

२८, २९. (क) दानियलको वर्णनअनुसार माटोले कुन कुराको चित्रण गऱ्‍यो? (ख) फलाम र माटोको मिश्रणबारे के भन्‍न सकिन्छ?

२८ अहिले “अन्तको समय[मा]” हामी मूर्तिको खुट्टाले प्रतिनिधित्व गर्ने शासनको समयमा पुगिसकेका छौं। फलाम र गिलो माटो मिसिएको खुट्टा र औंलाले चित्रण गर्ने कुनै कुनै सरकार फलामजस्तै तानाशाही वा निरंकुश छन्‌। अरू कतिपय भने माटोजस्तै छन्‌। कसरी? दानियलले माटोलाई “मानिसहरू” भनेका छन्‌। (दानियल २:४३, नयाँ संशोधित संस्करण) माटोद्वारा चित्रित मानिस, माटोजस्तै कमजोर भए तापनि फलामरूपी शासनहरू झन्‌ झन्‌ जनसाधारणको कुरा सुन्‍न बाध्य भएका छन्‌ र यी जनसाधारण शासनप्रणालीमा आफ्नो विचार व्यक्‍त गर्न पाउने माग गर्छन्‌। (अय्यूब १०:९) फलामलाई माटोसित मिसाउन नसकिएझैं तानाशाही शासन र जनसाधारणको तालमेल मिल्दैन। मूर्ति चकनाचूर हुने समय आइपुग्दा संसार राजनैतिक तवरले साँच्चै विभाजित भइसकेको हुनेछ!

२९ खुट्टा र औंलाको विभाजित अवस्थाले गर्दा के सिंगो मूर्ति नै ढल्नेछ? यस मूर्तिलाई के हुनेछ?

नाटकीय चरमोत्कर्ष!

३०. नबूकदनेसरको सपनाको चरमोत्कर्ष वर्णन गर्नुहोस्‌।

३० सपनाको चरमोत्कर्षलाई विचार गर्नुहोस्‌। दानियलले राजालाई यसो भने: “हजूरले हेरिरहनुहुँदा पहराबाट एउटा ढुङ्‌गा फोरियो, तर मानिसका हातले होइन, र त्यो आएर त्यस मूर्तिको फलाम र माटाका खुट्टामा लाग्यो, र त्यो चक्नाचूर पारिदियो। त्यसपछि त्यो फलाम, माटो, पित्तल, चाँदी र सुन जम्मै चक्नाचूर भए, औ ग्रीष्मऋतुमा खलाबाट भूस उड़ाएझैं नाउँ निशानै नपाइने गरी बतासले उड़ाएर लगिहाले। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्‌गा बढ़दै एउटा ठूलो पहाड भएर सारा पृथ्वीलाई ढाक्यो।”—दानियल २:३४, ३५.

३१, ३२. नबूकदनेसरको सपनाको अन्तिम भागबारे के भविष्यवाणी गरिएको थियो?

३१ अझ थप विवरण दिंदै दानियल भविष्यवाणी गर्छन्‌: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ। हजूरले एउटा ढुङ्‌गा पहराबाट कसैको हातले नफोरिकनै आफै उप्केर आएको देख्नुभयो, र त्यस ढुङ्‌गाले फलाम, पित्तल, माटो, चाँदी र सुनलाई चूर चूर पारेको थियो, यो राज्य युगयुग स्थायी रहनेछ। हजूरले देख्नुभएको त्यस ढुङ्‌गाको अर्थ यही हो। महान्‌ परमेश्‍वरले हजूर महाराजलाई पछि के हुनेछ सो बताइदिनुभएको हो। यो सपना निश्‍चय पूरा हुनेछ, र यसको अर्थमा केही सन्देह छैन।”—दानियल २:४४, ४५.

३२ आफ्नो सपनाको अर्थ खुलाइ दिएको हुँदा नबूकदनेसरले दानियलको परमेश्‍वर मात्र “ईश्‍वरहरूका परमेश्‍वर, राजाहरूका प्रभु र रहस्य खोलिदिनुहुने हुनुहुँदो रहेछ” भनेर मानिलिए। राजाले दानियल र तिनका तीन जना हिब्रू साथीहरूलाई पहिलेभन्दा झन्‌ ठूला ओहदा दिए। (दानियल २:४६-४९) त्यसोभए, दानियलले खुलाएको ‘विश्‍वासयोग्य अर्थको’ वर्तमान समयका लागि के महत्त्व छ?

‘सारा पृथ्वीलाई ढाक्ने पहाड’

३३. कुन “पहराबाट” ढुंगा निस्कियो र यो कहिले र कसरी भयो?

३३ अक्टोबर १९१४ मा “अन्यजातिको समय” सकिएपछि “स्वर्गका परमेश्‍वरले” आफ्नो अभिषिक्‍त पुत्र येशू ख्रीष्टलाई, “राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभु[को]” रूपमा सिंहासनमा बसाल्नुभएर स्वर्गीय राज्य स्थापित गर्नुभयो। a (लूका २१:२४; प्रकाश १२:१-५; १९:१६) अतः मानिसको शक्‍तिले होइन तर ईश्‍वरीय शक्‍तिद्वारा मसीह राज्यरूपी “ढुंगा” सार्वभौम सत्ताधारी यहोवाको “पहराबाट” निस्किएको रहेछ। यो स्वर्गीय सरकार येशू ख्रीष्टको हातमा छ जसलाई परमेश्‍वरले अमरत्व प्रदान गर्नुभएको छ। (रोमी ६:९; १ तिमोथी ६:१५, १६) यसर्थ, यहोवाको सार्वभौम सत्ताको अभिव्यक्‍ति अर्थात्‌ “हाम्रा प्रभु [परमेश्‍वरको] र उहाँका ख्रीष्टको राज्य” अरू कसैलाई दिइनेछैन। यो सदा सर्वदा रहिरहनेछ।—प्रकाश ११:१५.

३४. “ती राजाहरूका समयमा” कसरी परमेश्‍वरको राज्यको जन्म भयो?

३४ “ती राजाहरूका समयमा” परमेश्‍वरको राज्यको जन्म भयो। (दानियल २:४४) ती राजाहरू भनेको मूर्तिको दशवटा औंलाले चित्रण गर्ने राजाहरू मात्र होइनन्‌ तर फलाम, पित्तल, चाँदी र सुनले चित्रण गर्ने राजाहरू पनि हुन्‌। बेबिलोनी, फारसी, युनानी र रोमी साम्राज्यहरू विश्‍वशक्‍ति नभए तापनि ती साम्राज्यका केही शेष जनहरू १९१४ मा थिए। टर्केली ओटोम्यान साम्राज्यले त्यतिबेलाको बेबिलोनिया इलाका कब्जा गरे अनि फारस (इरान), युनान र रोम, इटालीमा राष्ट्रिय सरकारहरू थिए।

३५. “ढुंगा[ले]” मूर्तिलाई कहिले प्रहार गर्नेछ र कुन हदसम्म मूर्ति चकनाचूर हुनेछ?

३५ परमेश्‍वरको स्वर्गीय राज्यले अब चाँडै मूर्तिको खुट्टामा प्रहार गर्नेछ। फलतः धातुको मूर्तिले प्रतिनिधित्व गर्ने सबै राष्ट्रहरूलाई टुक्रा टुक्रा पारेर अन्त गर्नेछ। निस्सन्देह, “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लड़ाइँ[मा]” त्यो “ढुंगाले” उक्‍त मूर्तिलाई बेतोडले हानेर धूलोपीठो पार्नेछ र परमेश्‍वरको आँधीको बतासले त्यसलाई खलाबाट भुसजस्तै उडाउनेछ। (प्रकाश १६:१४, १६) त्यसपछि, सानो ढुंगा ठूलो भएर पहाड भएझैं परमेश्‍वरको राज्य पनि “सारा पृथ्वीलाई” ढाक्ने सरकार हुनेछ।—दानियल २:३५.

३६. मसीही राज्यलाई किन स्थायी सरकार भन्‍न सकिन्छ?

३६ स्वर्गबाट सञ्चालन हुने मसीहको राज्यले आफ्नो शक्‍ति प्रयोग गरेर पृथ्वीका सारा आज्ञाकारी बासिन्दाहरूलाई आशिष्‌ दिनेछ। यो स्थायी सरकार “कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ।” मरणशील मानव शासकहरूको राज्यजस्तो नभई यो सधैंभरि “युगयुग स्थायी रहनेछ।” (दानियल २:४४) तपाईंले पनि सधैंभरि यसको प्रजा हुने सुअवसर पाऊन्‌।

[फुटनोट]

a यो किताबको अध्याय ६ हेर्नुहोस्‌।

तपाईंले के बुझ्नुभयो?

• नबूकदनेसरको सपनाको विशाल मूर्तिका विभिन्‍न भागहरूले कुन कुन विश्‍वशक्‍तिको चित्रण गर्छ?

• माटो र फलाम मिसिएको खुट्टा र औंलाहरूले कस्तो विश्‍व परिस्थितिलाई चित्रण गर्छ?

• कहिले र कुन “पहराबाट” “ढुंगा” निस्कियो?

• “ढुंगाले” मूर्तिलाई कहिले प्रहार गर्नेछ?

अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ६३-६७-मा भएको पेटी/चित्र]

योद्धा राजाले साम्राज्य खडा गर्छन्‌

बेबिलोनको राजकुमार र तिनको सेनाले अरामको कर्कमीशमा फिरऊन नेकोको मिश्री फौजलाई परास्त गर्छन्‌। पराजित मिश्रीहरू दक्षिणमा मिश्रतर्फ भाग्छन्‌ र बेबिलोनीहरूले तिनीहरूलाई लखेट्‌छन्‌। तर बेबिलोनबाट आएको समाचारले गर्दा यस विजयी राजकुमार बीचैमा रोकिन बाध्य हुन्छन्‌। तिनले आफ्नो बुबा, नेबोपोलासारको मृत्यु भएको खबर पाउँछन्‌। बन्दीहरू तथा लुटको धनमाल ल्याउने जिम्मा आफ्ना सेनापतिहरूलाई सुम्पेर नबूकदनेसर तुरुन्तै घर फर्कन्छन्‌ र रिक्‍त सिंहासनमा बसिहाल्छन्‌।

यसप्रकार, सा.यु.पू. ६२४ मा नबूकदनेसर बेबिलोनको सिंहासनमा बसे र नव-बेबिलोन साम्राज्यको दोस्रो राजा भए। तिनले आफ्नो ४३ वर्ष लामो शासनको दौडान कुनै समय अश्‍शूरी विश्‍वशक्‍तिको कब्जामा भएका इलाकाहरू आफ्नो कब्जामा लिए अनि उत्तरमा अराम, पश्‍चिममा प्यालेस्टाइन र मिश्रको सीमासम्म आफ्नो राज्य फैलाए।—मानचित्र हेर्नुहोस्‌।

आफ्नो शासनकालको चौथो वर्षमा (सा.यु.पू. ६२०) नबूकदनेसरले यहूदालाई आफ्नो सामन्ती राज्य बनाए। (२ राजा २४:१) त्यसको तीन वर्षपछि यहूदी विद्रोहले गर्दा बेबिलोनीहरूले यरूशलेमलाई घेरे। नबूकदनेसरले यहोयाकीन, दानियल र अरू थुप्रैलाई बन्दी बनाएर बेबिलोन लगे। राजाले यहोवाको भवनका कतिपय भाँडाकुँडाहरू पनि लुटेर लगे। तिनले यहोयाकीनको काका, सिदकियाहलाई यहूदाको सामन्ती राजा बनाए।—२ राजा २४:२-१७; दानियल १:६, ७.

केही समयपछि सिदकियाहले पनि विद्रोह गरेर मिश्रसित मिलेमतो गरे। नबूकदनेसरले सा.यु.पू. ६०७ मा यरूशलेमलाई फेरि घेरे अनि यरूशलेमको पर्खाल ध्वस्त पारे, मन्दिरमा आगो लगाइदिए र शहरलाई भस्म पारिदिए। तिनले सिदकियाहका छोराहरू सबैको हत्या गरे र पछि सिदकियाहको आँखा निकालिदिएर साङ्‌लाले बाँधी बेबिलोनमा कैदी बनाएर लगे। नबूकदनेसरले प्रायजसो मानिसहरूलाई कैदी बनाए अनि मन्दिरमा बाँकी रहेका सबै भाँडाकुँडा बेबिलोन लगे। “यसरी यहूदा आफ्नो निज देशबाट कैदमा लगियो।”—२ राजा २४:१८–२५:२१.

नबूकदनेसरले टायरलाई १३ वर्षसम्म घेरा हाले। टायरलाई घेरा हालेको समयमा तिनका सेनाहरूको टाउको रगडिएर “तालु खुइलियो,” घेरा हाल्ने मालसामान बोक्दा बोक्दा तिनीहरूको काँध “पिल्सियो।” (इजकिएल २९:१८) आखिर, बेबिलोनी सेनाको अगाडि टायरले हार स्वीकार्नुपऱ्‍यो।

बेबिलोनको यो राजा कुशल रणनीतिज्ञ थिए। बेबिलोनका कुनै कुनै सन्दर्भसामग्रीले तिनी निष्पक्ष राजा थिए भनी वर्णन गरेको छ। नबूकदनेसर निष्पक्ष राजा थिए भनी धर्मशास्त्रले किटेरै नभने तापनि यर्मिया अगमवक्‍ताले बताएअनुसार सिदकियाहले विद्रोह गर्दा तिनी ‘आफै गएर बाबेलका राजाका हाकिमहरूकहाँ’ गएको खण्डमा निष्पक्ष व्यवहारको आशा गर्नसक्थे। (यर्मिया ३८:१७, १८) यरूशलेमको विनाशपछि नबूकदनेसरले यर्मियासित आदरपूर्ण व्यवहार गरे। यर्मियाको सन्दर्भमा राजाले यस्तो आदेश दिए: “यसलाई चाहिं लगेर राम्ररी हेरचाह गर्नू। यसलाई कुनै किसिमको हानि नगर्नू। त्यसले तिमीलाई भनेझैं त्यसलाई व्यवहार गर्नू।”—यर्मिया ३९:११, १२; ४०:१-४.

प्रशासकको हैसियतमा नबूकदनेसरलाई दानियल र तिनका तीन जना साथीहरू, शद्रक, मेशेक र अबेद्‌नगोका योग्यता र गुणहरू थाह पाउन धेरै समय लागेन। यी केटाहरूको हिब्रू नाउँ हनन्याह, मीशाएल र अजर्याह थियो। राजाले तुरुन्तै तिनीहरूलाई राज्यको महत्त्वपूर्ण ओहदामा नियुक्‍त गरे।—दानियल १:६, ७, १९-२१; २:४९.

नबूकदनेसरको धार्मिक आस्थाबारे कुरा गर्ने हो भने, तिनी विशेष गरी बेबिलोनको प्रमुख देव, मार्डुकका भक्‍त थिए। राजाले आफ्नो विजयका सबै श्रेय मार्डुकलाई दिएका थिए। तिनले बेबिलोनमा मार्डुक र अरू थुप्रै देवदवीहरूको मन्दिर निर्माण गरेर श्रृंगारेका थिए। दूराको मैदानमा बनाइएको सुनको मूर्ति पनि मार्डुकलाई नै समर्पित गरिएको हुनसक्छ। अनि नबूकदनेसरले सैन्य अभियानहरूको योजना तय गर्नुपर्दा जोखनाविद्यामा निकै भर परेको जस्तो देखिन्छ।

चारैतिर पर्खालले घेरिएको त्यतिबेलाको सबैभन्दा शक्‍तिशाली शहर, बेबिलोन निर्माण गर्न पाएकोमा पनि नबूकदनेसर निकै गर्व गर्थे। आफ्नो बुबाले थालेका विशाल दुई पत्रे पर्खालहरूको निर्माणकार्य पूरा गरेर नबूकदनेसरले आफ्नो राजधानी शहर एकदमै मजबुत पारेका थिए। राजाले शहरको मुटुमा अवस्थित पुरानो दरबारको मर्मत गरे अनि ग्रीष्मयामको लागि दरबारदेखि दुई किलोमिटरजति पर उत्तरमा अर्को दरबार बनाए। आफ्नो मातृभूमिको जस्तो पहाड र जंगलहरूको लालसा गर्ने मिद्यानी रानीलाई खुसी पार्न नबूकदनेसरले ह्‍यांगिङ गार्डन (आकाशे बगैंचा) बनाए र यो पुरातन संसारका सात चमत्कारहरूमध्ये एक थियो।

एक दिन बेबिलोनको राजमहलमा टहलिरहेको बेला राजाले यस्तो घमण्ड गरे, “के यो त्यही महान्‌ बाबेल होइन जो मैले आफ्नो ठूलो शक्‍तिले मेरो महोत्तमको गौरवको निम्ति निवासस्थान बनाएको होइन र?” “राजाको मुखबाट यो कुरो निस्किसकेकै थिएन” तिनी बौलाए। दानियलले भविष्यवाणी गरेअनुसार तिनी सात वर्षसम्म शासन गर्न अयोग्य भए, घाँसपात खाएर बसे। सातवर्षपछि नबूकदनेसरलाई शासन फिर्ता दिइयो र सा.यु.पू. ५८२ मा मृत्यु नहोउञ्जेल तिनले शासन गरे।—दानियल ४:३०-३६.

तपाईंले के बुझ्नुभयो ?

नबूकदनेसरका यी पक्षहरूबारे के भन्‍न सकिन्छ

• रणनीतिज्ञ?

• प्रशासक?

• मार्डुकको उपासक?

• निर्माता?

[नक्शा]

(ढाँच मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

बेबिलोन साम्राज्य

लाल समुद्र

यरूशलेम

यूफ्रेटिस नदी

टाइग्रिस नदी

निनवे

सुसा

बेबिलोन

ऊर

[चित्र]

बेबिलोन, चारैतिर पर्खालले घेरिएको त्यतिबेलाको सबैभन्दा शक्‍तिशाली शहर

[चित्र]

ड्रागन, मार्डुकको प्रतीक थियो

[चित्र]

 बिलोनको प्रख्यात ह्‍यांगिङ गार्डन

[पृष्ठ ५६-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

दानियलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू

विशाल मूर्ति (दानियल २:३१-४५)

बेबिलोनिया सा.यु.पू. ६०७ देखि

मादी-फारसी सा.यु.पू. ५३९ देखि

युनान सा.यु.पू. ३३१ देखि

रोम सा.यु.पू. ३० देखि

एंग्लो-अमेरिकी विश्‍वशक्‍ति सा.यु. १७६३ देखि

अन्तको समयमा राजनैतिक तवरमा विभाजित संसार

[पृष्ठ ४७-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ ५८-मा भएको पृष्ठभरिको चित्र]