सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अन्तको समयमा साँचो उपासकहरू चिन्‍ने

अन्तको समयमा साँचो उपासकहरू चिन्‍ने

अध्याय सत्र

अन्तको समयमा साँचो उपासकहरू चिन्‍ने

१. दानियल अध्याय ७ अनुसार हाम्रो समयमा एउटा सानो, निस्सहाय समूहमाथि कस्ता असामान्य घटनाहरू घट्‌ने थिए?

 एउटा सानो, निस्सहाय समूहमाथि पराक्रमी विश्‍वशक्‍तिले निर्ममतापूर्वक आक्रमण गर्छ। त्यसले तिनीहरूलाई कुनै हानि पुऱ्‍याउन सक्दैन बरु अझ बढी स्फूर्ति महसुस गर्छन्‌। तर यो तिनीहरूले आफ्नै सामर्थ्यले नभई यहोवा परमेश्‍वरले तिनीहरूलाई मूल्यवान्‌ ठान्‍नुहुने भएकोले सहन सकेका हुन्‌। दानियल अध्याय ७ मा भविष्यवाणी गरिएका यी घटनाहरू २० औं शताब्दीको सुरुतिर भए। तर यी मानिसहरू को थिए? दानियलको त्यही अध्यायमा तिनीहरूलाई “सर्वोच्चका पवित्र जनहरू” भनिएको थियो। यी व्यक्‍तिहरू पछि गएर मसीही राज्यका सहशासकहरू हुनेछन्‌ भनेर पनि बताइएको थियो!—दानियल ७:१३, १४, १८, २१, २२, २५-२७.

२. (क) यहोवाले आफ्ना अभिषिक्‍त जनहरूको कस्तो सुरक्षा गर्नुहुन्छ? (ख) अहिलेको समयमा कुन मार्ग पछ्याउनु बुद्धिमानी हुनेछ?

हामीले दानियल अध्याय ११ बाट थाह पाएअनुसार उत्तरका राजाले यी वफादार जनहरूको सुरक्षित आध्यात्मिक अवस्थालाई खतरामा पार्न थालेपछि त्यसको विनाश हुनेछ। (दानियल ११:४५; तुलना गर्नुहोस्‌ इजकिएल ३८:१८-२३) हो, यहोवा आफ्ना वफादार अभिषिक्‍त जनहरूको अत्यन्तै सुरक्षा गर्नुहुन्छ। यस सम्बन्धमा भजन १०५:१४, १५ यसो भन्छ: “तिनीहरूको खातिरमा [यहोवाले] राजाहरूलाई पनि यसो भनेर हप्काउनुभयो। ‘मेरा अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्‍ताहरूलाई केही हानि नगर।’” त्यसकारण, अहिलेको संकटकालीन समयमा दिनप्रतिदिन वृद्धि भइरहेको “ठूलो भीड[ले]” यी पवित्र जनहरूसित सकेसम्म घनिष्ठ सम्बन्ध राख्न खोज्नु के बुद्धिमानी होइन र? (प्रकाश ७:९; जकरिया ८:२३) भेडाखाले मानिसहरूले अभिषिक्‍त आध्यात्मिक भाइहरूको काममा समर्थन गरेर तिनीहरूसित घनिष्ठ सम्बन्ध राख्नुपर्छ भनेर येशू ख्रीष्टले भन्‍नुभयो।—मत्ती २५:३१-४६; गलाती ३:२९.

३. (क) येशूका अभिषिक्‍त अनुयायीहरू फेला पारेर तिनीहरूसित घनिष्ठ हुनु किन सजिलो छैन? (ख) यस सन्दर्भमा दानियल अध्याय १२ ले कसरी मदत गर्नेछ?

तथापि, परमेश्‍वरको विरोधी शैतानले अभिषिक्‍त जन विरुद्ध भीषण युद्ध गरिरहेको छ। त्यसले झूटो धर्म फैलाएर संसारभरि झूटा मसीहीहरूको बिगबिगी गराएको छ। यसले गर्दा धेरै मानिसहरू भ्रममा परेका छन्‌। अरू कतिपयले चाहिं साँचो धर्म मान्‍ने व्यक्‍तिहरू भेट्टाउने आशै मारेका छन्‌। (मत्ती ७:१५, २१-२३; प्रकाश १२:९, १७) “सानो बगाल” भेट्टाउने व्यक्‍तिहरूले समेत आफ्नो विश्‍वास ढलपल हुन नदिन कडा परिश्रम गर्नुपर्छ किनभने यो संसारले विश्‍वासलाई सधैं कमजोर बनाउन खोजिरहेको हुन्छ। (लूका १२:३२) तपाईं नि? के तपाईंले “सर्वोच्चका पवित्र जनहरू” फेला पार्नुभएर तिनीहरूसित संगत गरिरहनुभएको छ? तपाईंले भेट्टाउनुभएका व्यक्‍तिहरू साँच्चै परमेश्‍वरले चुन्‍नुभएका जनहरू हुन्‌ भनेर के तपाईंसित ठोस प्रमाण छ? त्यस्तो प्रमाणले तपाईंको विश्‍वास बलियो बनाउनसक्छ। वर्तमान संसारमा धार्मिक गन्जागोल हुनुको कारण अरूलाई बुझाउन पनि यसले मदत गर्छ। दानियल अध्याय १२ मा यस्तो जीवनदायी ज्ञान प्रशस्त छ।

प्रधान राजकुमार अघि बढ्‌नुहुन्छ

४. (क) दानियल १२:१ ले माइकलबारे कुन दुइटा खास कुराहरू बताउँछ? (ख) दानियलको पुस्तकमा राजा “खडा भइरहन्छन्‌” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो?

दानियल १२:१ मा यसो भनिएको छ: “छुटकारा दिने माइकल त्यस बेला माइकल देखा पर्नेछन्‌ [“खडा हुनेछन्‌,” NW], ती ठूला कप्तान माइकल, जसले तिम्रा संगी–देशबासीहरूमाथि रक्षा गरिरहन्छन्‌।” यस पदले माइकलबारे दुइटा खास कुराहरू बताउँछ: एउटा हो, “खडा हुन्छन्‌” र यसले कुनै समयावधिमा हुने घटनाक्रमबारे बताउँछ। दोस्रो, तिनी “खडा हुनेछन्‌” र यसले त्यो समयावधिमा हुने एउटा घटनालाई संकेत गर्छ। सर्वप्रथम, हामी ‘[दानियलका] संगी-देशबासीहरूमाथि रक्षा गर्न’ माइकल खडा हुने समय थाह पाउन चाहन्छौं। स्वर्गीय शासकको भूमिका निर्वाह गर्नुहुँदा येशूलाई दिइएको नाउँ माइकल हो भनेर नबिर्सनुहोस्‌। यसले हामीलाई “खडा भइरहन्छन्‌” भनेर दानियलको पुस्तकको अन्य ठाउँमा पनि यो अभिव्यक्‍ति कसरी प्रयोग भएको छ, त्यो सम्झाउँछ। यसले शाही शक्‍ति ग्रहण गर्ने जस्ता राजाको कार्यलाई संकेत गर्छ।—दानियल ११:२-४, ७, २०, २१.

५, ६. (क) कुन समयावधिमा माइकल खडा भइरहन्छन्‌? (ख) कहिले र कसरी माइकल “खडा” हुन्छन्‌ र परिणाम कस्तो हुन्छ?

स्वर्गदूतले यहाँ अर्कै बाइबल भविष्यवाणीमा बताइएको समयावधिबारे संकेत गरिरहेका थिए भनेर स्पष्ट हुन्छ। येशूले यसलाई उहाँको “आगमन” (युनानी, पारुसिया) भन्‍नुभयो जब उहाँले स्वर्गमा राजाको हैसियतमा शासन गर्नुहुनेछ। (मत्ती २४:३७-३९) यो समयावधिलाई “आखिरी दिन” र “अन्तको समय” पनि भनिन्छ। (२ तिमोथी ३:१; दानियल १२:४,) त्यो समय १९१४ मा सुरु भएदेखि स्वर्गमा राजाको हैसियतमा माइकल खडा हुनुभएको छ।—यशैया ११:१०; प्रकाश १२:७-९ तुलना गर्नुहोस्‌।

तर माइकल कहिले “खडा” हुनुहुन्छ? विशेष कदम चाल्न खडा हुँदा। येशूले भविष्यमा यो कार्य गर्नुहुनेछ। प्रकाश १९:११-१६ ले भविष्यसूचक ढंगमा वर्णन गरेअनुसार स्वर्गदूतहरूको सेनाले सुसज्जित पराक्रमी मसीही राजाको हैसियतमा येशू घोडामा सवार हुनुहुन्छ र उहाँले परमेश्‍वरका शत्रुहरू सबैलाई सर्वनाश गर्नुहुनेछ। दानियल १२:१ अझ यसो भन्छ: “यस्तो सँकष्टको समय आउनेछ, तिनीहरू एक राष्ट्र भएको समयदेखि त्यस बेलासम्म त्यस्तो ता कहिल्यै भएको थिएन।” दण्ड दिन यहोवाले नियुक्‍त गर्नुभएको प्रमुख व्यक्‍तिको हैसियतमा भविष्यवाणी गरिएको “महा संकष्ट[मा]” ख्रीष्टले सम्पूर्ण दुष्ट रीतिरिवाजलाई खतम गर्नुहुनेछ।—मत्ती २४:२१; यर्मिया २५:३३; २ थिस्सलोनिकी १:६-८; प्रकाश ७:१४; १६:१४, १६.

७. (क) “संकष्टको समय[मा]” वफादार जनहरूको लागि कस्तो आशा छ? (ख) यहोवाको पुस्तक के हो र त्यसमा नाउँ हुनु किन अत्यावश्‍यक छ?

यस अन्धकारमय समयमा विश्‍वास गर्ने मानिसहरूको अवस्था कस्तो हुनेछ? दानियललाई अझ यसो भनियो: “त्यसै बेला तेरा जातिहरूले, हरेक जसको नाउँ यस पुस्तकमा लेखिएको छ, तिनीहरूले छुटकारा पाउनेछ।” (लूका २१:३४-३६ तुलना गर्नुहोस्‌।) यो पुस्तक के हो? यहोवा परमेश्‍वरले आफ्नो इच्छा गर्ने मानिसहरूलाई बिर्सनुहुन्‍न र वास्तवमा भन्‍ने हो भने, यो पुस्तकले यहोवाको यही सम्झनालाई बुझाउँछ। (मलाकी ३:१६; हिब्रू ६:१०) यस जीवनको पुस्तकमा नाउँ भएका मानिसहरू संसारका सबैभन्दा सुरक्षित मानिसहरू हुन्‌ किनभने तिनीहरूले ईश्‍वरीय सुरक्षा पाएका हुन्छन्‌। तिनीहरूमाथि जस्तोसुकै हानि नोक्सानी आइपरे तापनि त्यसको असर सधैंभरि रहनेछैन। “संकष्टको” समयअघि तिनीहरूको मृत्यु भए तापनि यहोवाले तिनीहरूलाई कदापि बिर्सनु हुनेछैन। उहाँले तिनीहरूलाई सम्झनुहुनेछ र येशू ख्रीष्टको हजार वर्षीय शासनको दौडान पुनरुत्थान गर्नुहुनेछ।—प्रेरित २४:१५; प्रकाश २०:४-६.

पवित्र जनहरू “ब्यूँझनेछन्‌”

८. दानियल १२:२ ले कस्तो आनन्दमय आशा प्रदान गर्छ?

पुनरुत्थानको आशा साँच्चै सान्त्वनादायी छ। दानियल १२:२ ले त्यसबारे संकेत गर्दै यसो भन्छ: “पृथ्वीको धूलोमा सुत्नेहरू, कतिचाहिं अनन्त जीवनको निम्ति औ कतिचाहिं शर्म र अनन्तका घृणाको निम्ति ब्यूँझनेछन्‌।” (यशैया २६:१९ तुलना गर्नुहोस्‌।) यी शब्दहरूले हामीलाई पुनरुत्थानबारे येशू ख्रीष्टले गर्नुभएको हृदयस्पर्शी प्रतिज्ञा स्मरण गराउँछ। (यूहन्‍ना ५:२८, २९) कस्तो रोमाञ्चकारी आशा! यसो कल्पना गर्नुहोस्‌ त, अहिले मरिसकेका हाम्रा प्रिय साथी तथा परिवारका सदस्यहरूले फेरि जिउने मौका पाउनेछन्‌! तर दानियलको पुस्तकमा यो प्रतिज्ञाले मुख्यतया अर्कै प्रकारको पुनरुत्थानलाई संकेत गर्छ र त्यो पुनरुत्थान भइसकेको छ। त्यो कसरी हुनसक्छ?

९. (क) दानियल १२:२ यस आखिरी दिनको दौडान पूरा हुनेछ भनेर आशा गर्नु किन व्यावहारिक हो? (ख) यस भविष्यवाणीले कस्तो पुनरुत्थानलाई संकेत गर्छ र हामी यो कसरी थाह पाउन सक्छौं?

यस पदको सन्दर्भलाई विचार गर्नुहोस्‌। हामीले भर्खरै पढेअनुसार अध्याय १२ को पहिलो पद यस रीतिरिवाजको अन्त मात्र होइन तर आखिरी दिनको सम्पूर्ण समयावधिमा लागू हुन्छ। भनौं भने, यस अध्यायको अधिकांश भागको पूर्ति आउँदै गरेको पार्थिव प्रमोदवनमा होइन तर अन्तको समयको दौडान पूरा हुनेछ। के यो समयावधिमा पुनरुत्थान भएको छ? प्रेरित पावलले “ख्रीष्टकाहरू जति[को]” “उहाँका आगमनमा” पुनरुत्थान हुनेछ भनी लेखे। तथापि, स्वर्गमा जीवन बिताउन पुनरुत्थान हुनेहरू “अविनाशी” रूपमा ब्यूँताइन्छन्‌। (१ कोरिन्थी १५:२३, ५२) तिनीहरू कोही पनि दानियल १२:२ मा भविष्यवाणी गरिएको “शर्म र अनन्तका घृणाको निम्ति” ब्यूँताइँदैनन्‌। के अर्को प्रकारको पुनरुत्थान पनि छ? बाइबलमा कहिलेकाहीं पुनरुत्थानलाई आध्यात्मिक महत्त्व दिइएको छ। उदाहरणका लागि, इजकिएल र प्रकाशको पुस्तकमा भविष्यसूचक सन्देशहरू समावेश गरिएका छन्‌ र ती आध्यात्मिक पुनर्जागरण अथवा पुनरुत्थानमा लागू हुन्छ।—इजकिएल ३७:१-१४; प्रकाश ११:३, ७, ११.

१०. (क) अभिषिक्‍त शेषजनहरू कुन अर्थमा अन्तको समयमा पुनरुत्थान भए? (ख) पुनः ब्यूँझाइएका कोहीकोही अभिषिक्‍त जनहरूले कसरी “शर्म र अनन्त घृणा” पाए?

१० के अन्तको समयमा परमेश्‍वरका अभिषिक्‍त सेवकहरूको त्यस्तो आध्यात्मिक पुनर्जागरण भएको छ? छ! सन्‌ १९१८ मा विश्‍वासी मसीहीहरूको सानो समूहमाथि आइपरेको असाधारण आक्रमणले तिनीहरूको संगठित जनसेवकाईमा अवरोध खडा गऱ्‍यो भन्‍ने कुरामा इतिहास साक्षी छ। अनि त्यतिबेलाको वातावरण हेर्दा असम्भव देखिए तापनि १९१९ मा तिनीहरूको आध्यात्मिक पुनर्जागरण भयो। यी विवरणहरू दानियल १२:२ मा भविष्यवाणी गरिएको पुनरुत्थानसित मेल खान्छन्‌। त्यतिबेला र त्यसपछि कोहो कोही साँच्चै “ब्यूँझे।” तर दुःखको कुरा, सबै जना आध्यात्मिक तवरमा जीवित रहिरहेनन्‌। ब्यूँझाइएका कसै कसैले मसीहको राज्यलाई इन्कार गरे अनि परमेश्‍वरको सेवा गर्न नमान्‍नेहरूले दानियल १२:२ मा वर्णन गरिएको “शर्म र अनन्तका घृणा” पाए। (हिब्रू ६:४-६) तथापि, विश्‍वासी अभिषिक्‍त जनहरूले आध्यात्मिक तवरमा पुनर्जागृत अवस्थाको पूर्ण सदुपयोग गर्दै मसीही राज्यलाई वफादारीपूर्वक समर्थन गरे। अन्तमा भविष्यवाणीले भनेझैं तिनीहरूको विश्‍वासीपनले गर्दा “अनन्त जीवन” पाउनेछन्‌। अहिले, विरोधको बावजूद आध्यात्मिक जोस जाँगर कायमै राखेकोले तिनीहरूलाई चिन्‍न सजिलो भएको छ।

तिनीहरू ‘ताराहरूझैं चम्कन्छन्‌’

११. अहिलेका “ज्ञानी अगुवाहरू” को हुन्‌ र तिनीहरू कुन अर्थमा ताराजस्तै चम्कन्छन्‌?

११ दानियल १२ अध्यायको यसपछिका दुइटा पदहरूले हामीलाई “सर्वोच्चका पवित्र जनहरू” चिन्‍न अझ मदत गर्छ। पद ३ मा स्वर्गदूतले दानियललाई यसो भन्छन्‌: “ज्ञानी अगुवाहरू उज्ज्वल आकाशझैं चम्कनेछन्‌, औ मानिसहरूलाई सत्य मार्गमा सदा सर्वदाको निम्ति डोऱ्‍याउनेहरूचाहिं ताराहरूझैं चम्कनेछन्‌।” अहिलेका “ज्ञानी अगुवाहरू” को हुन्‌? प्रमाणहरूले फेरि पनि “सर्वोच्चका पवित्र जनहरूलाई” नै संकेत गर्छ। आखिर, विश्‍वासी शेष अभिषिक्‍त जनबाहेक राजाको हैसियतमा १९१४ देखि खडा भएका महान्‌ राजकुमार माइकललाई चिन्‍न सक्ने अरू को नै थिए र? यस्ता सत्य कुराहरू प्रचार गर्नुका साथै मसीही आचरण कायम गरेर तिनीहरू यस आध्यात्मिक अन्धकारमय संसारमा “ज्योतिहरूझैं” देखा परिरहेका छन्‌। (फिलिप्पी २:१५; यूहन्‍ना ८:१२) तिनीहरूबारे येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “तब धर्मीहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्‌।”—मत्ती १३:४३.

१२. (क) अन्तको समयमा अभिषिक्‍त जनहरूले कसरी ‘थुप्रैलाई सत्यको मार्गमा डोऱ्‍याएका’ छन्‌? (ख) अभिषिक्‍त जनहरूले ख्रीष्टको हजार वर्षीय शासनको दौडान कसरी थुप्रैलाई सत्यको मार्गमा ल्याउनेछन्‌ र “ताराहरूझैं चम्कनेछन्‌”?

१२ अन्तको समयमा यी अभिषिक्‍त मसीहीहरू कस्ता काममा व्यस्त हुनेछन्‌ भनेर पनि दानियल १२:३ ले बताउँछ। तिनीहरूले थुप्रैलाई ‘सत्यको मार्गमा डोऱ्‍याउनेछन्‌।’ अभिषिक्‍त शेष जनहरूले ख्रीष्टसित शासन गर्ने १,४४,००० का बाँकी सदस्यहरूलाई जम्मा गर्न थाले। (रोमी ८:१६, १७; प्रकाश ७:३, ४) सन्‌ १९३० दशकको बीचतिर त्यो काम पूरा भएको स्पष्ट भएपछि तिनीहरूले “अरू भेडाको” “ठूलो भीड” जम्मा गर्न थाले। (प्रकाश ७:९; यूहन्‍ना १०:१६) यिनीहरू पनि येशू ख्रीष्टको छुडौतीको बलिदानमा विश्‍वास गर्छन्‌। तसर्थ, तिनीहरू यहोवाको सामु धर्मी ठहरिएका छन्‌। अहिले लाखौंको संख्यामा भएका यी जनहरूले यस दुष्ट संसारको विनाशबाट बच्ने आशा राख्छन्‌। ख्रीष्टको हजार वर्षीय शासनको दौडान येशू र उहाँका १,४४,००० सहराजा तथा पूजाहारीहरूले पृथ्वीका सारा आज्ञाकारी मानवजातिलाई छुडौतीको पूर्ण लाभ पुऱ्‍याउने प्रबन्ध गर्नेछन्‌ अनि आदमबाट पाएको वंशाणुगत पापका सारा असर हटाउन मदत गर्नेछन्‌। (२ पत्रुस ३:१३; प्रकाश ७:१३, १४; २०:५, ६) अभिषिक्‍त जनहरूले ‘थुप्रैलाई सत्यको मार्गमा डोऱ्‍याउँदा’ र तिनीहरू स्वर्गमा ‘ताराहरूझैं चम्कँदा’ भविष्यवाणी पूर्णतया पूरा हुनेछ। के तपाईं ख्रीष्ट र उहाँका सहशासकहरूको महिमित स्वर्गीय सरकारको अधीनमा पृथ्वीमा बाँच्न पाउने आशाको मूल्यांकन गर्नुहुन्छ? परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने काममा “पवित्र जनहरू[सँगसँगै]” भाग लिन पाउनु साँच्चै ठूलो सुअवसर हो!—मत्ती २४:१४.

तिनीहरू “यता र उता जानेछन्‌”

१३. कुन अर्थमा दानियलको पुस्तकका कुराहरू मोहोर लगाएर गोप्य राखियो?

१३ दानियल १०:२० मा दानियललाई स्वर्गदूतले सुनाएको घोषणा यी हृदयस्पर्शी शब्दहरूमा टुंगिन्छ: “तिमीचाहिं, हे दानियल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्तको समयसम्म बन्द गरी मोहोर लगाएर राख। धेरै जना ज्ञान बढाउनलाई यता र उता जानेछन्‌।” (दानियल १२:४, नयाँ संशोधित संस्करण) निस्सन्देह, दानियलले प्रेरित भएर लेखेका थुप्रै कुराहरू गोप्य र मानव समझले बुझ्न नसक्ने थिए। हुन पनि दानियल आफैले यसो भने: “मैले सुन्‍न त सुनें तर बुझिनँ।” (दानियल १२:८) यस अर्थमा दानियलको पुस्तक शताब्दीयौंसम्म गोप्य रह्‍यो। अहिले नि?

१४. (क) “अन्तको समयमा” कसले “यता र उता” अनि कहाँ खोजेका छन्‌? (ख) “यता र उता” खोज्नेहरूलाई यहोवाले आशिष्‌ दिनुभएको छ भन्‍ने के प्रमाण छ?

१४ हामीले दानियलको पुस्तकमा भविष्यवाणी गरिएको “अन्तको समयमा” बाँच्ने सुअवसर पाएका छौं। भविष्यवाणी गरिएझैं थुप्रै विश्‍वासी जनहरूले परमेश्‍वरको वचनभित्र “यता र उता” खोजेका छन्‌। परिणाम? यहोवाको आशिष्‌ले साँचो ज्ञान प्रशस्त मात्रामा उपलब्ध भएको छ। यहोवाका विश्‍वासी अभिषिक्‍त मसीहीहरूले मानिसको पुत्र १९१४ मा राजा हुनुभयो, दानियलको भविष्यवाणीका जनावरहरू के के हुन्‌ भनी बुझ्न र “नाश गर्ने घृणित वस्तु[बारे]” चेताउनी दिन सकेका छन्‌। तर यी त केही उदाहरण मात्र हुन्‌। (दानियल ११:३१) अतः ज्ञानको प्रशस्तता पनि “सर्वोच्चका पवित्र जनहरूको” अर्को चिनारी हो। तर दानियलले थप प्रमाण पाए।

तिनीहरू “छिन्‍न-भिन्‍न” हुन्छन्‌

१५. स्वर्गदूतले कुन प्रश्‍न उठाउँछन्‌ र यस प्रश्‍नले हामीलाई कसको स्मरण गराउँछ?

१५ हामीलाई थाह छ, “ठूलो नदी” हिदेकेल अर्थात्‌ टाइग्रिस नदीको किनारामा दानियलले स्वर्गदूतबाट यी सन्देशहरू पाए। (दानियल १०:४) यहाँ अब तिनले तीन जना स्वर्गदूतहरू देख्छन्‌ र यसो भन्छन्‌: “तब म, दानियलले हेरें, र मेरो सामु दुइ जना उभिए, एक जना नदीको यतापट्टि किनारमा र एक जना अर्कोपट्टि किनारमा। तीमध्ये एक जनाले नदीको पानीमाथि हुने मलमलको लुगा लगाउनेलाई भने, ‘यी अचम्मका कुराहरू पूरा हुन कति समय लाग्ला?’” (दानियल १२:५, ६, नयाँ संशोधित संस्करण) स्वर्गदूतले यहाँ उठाएको प्रश्‍नले हामीलाई पुनः “सर्वोच्चका पवित्र जनहरू” स्मरण गराउन सक्छ। सन्‌ १९१४ मा “अन्तको समयको” सुरुतिर तिनीहरू परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू कहिले पूरा हुनेछन्‌ भनी जान्‍न एकदमै उत्सुक थिए। ती पवित्र जनहरू नै यो भविष्यवाणीको मूल विषय थिए भनेर यस प्रश्‍नको जवाफबाट प्रस्ट हुन्छ।

१६. स्वर्गदूतले कुन भविष्यवाणी गर्छन्‌ र यो पक्कै पूरा हुनेछ भनेर तिनले कसरी जोड दिन्छन्‌?

१६ दानियलले यो थप विवरण दिन्छन्‌: “ती पानीमाथि हुने मलमल लाएका मानिसले आफ्नो दाहिने र देब्रे हात स्वर्गतिर उठाए, औ तिनले सर्वदा जीवित रहनुहुनेको शपथ खाएको मैले सुनें। ‘यो एक समय, दुई समय र आधा समयको निम्ति हुनेछ। जब पवित्र जातिहरूको शक्‍ति छिन्‍न–भिन्‍न हुनुदेखि थामिन्छ, तब यो सबै कुराको अन्त हुनेछ।’” (दानियल १२:७) यो गम्भीर कुरा हो। स्वर्गदूतले शपथ खान दुवै हात उठाउँछन्‌। ठूलो नदीको दुवै किनाराका स्वर्गदूतहरूले देखून्‌ भनेर यसो गरेको हुनसक्छ। यसरी तिनले यो भविष्यवाणी पक्कै पूरा हुनेछ भनेर जोड दिए। तर यो तोकिएको समय कहिले हो? तपाईंले सोच्नुभए जति यस प्रश्‍नको जवाफ पाउन गाह्रो छैन।

१७. (क) दानियल ७:२५, दानियल १२:७ र प्रकाश ११:३, ७, ९ का भविष्यवाणीहरूमा के समानता पाइन्छ? (ख) साढे तीन समय कति लामो समयावधि हो?

१७ यो भविष्यवाणी अरू दुइवटा भविष्यवाणीसित निकै मिल्दोजुल्दो छ। एउटा भविष्यवाणी हामीले यही किताबको अध्याय ९ मा छलफल गऱ्‍यौं, जुन दानियल ७:२५ मा पाइन्छ र अर्कोचाहिं प्रकाश ११:३, ७, ९ मा पाइन्छ। यीबीच भएका केही समानता विचार गर्नुहोस्‌। दुवै अन्तको समयमा पूरा हुने भविष्यवाणी हुन्‌। दुवै भविष्यवाणी परमेश्‍वरका पवित्र सेवकहरूसित सम्बन्धित छ। दुवै विवरणमा तिनीहरू सताइएको र थोरै समयको लागि जनप्रचार कार्य गर्न नसकेको कुरा पाइन्छ। दुवै भविष्यवाणीले परमेश्‍वरका सेवकहरू पुनजागृत भएको अनि सतावट दिनेहरूको प्रयासलाई नाकाम तुल्याएर आफ्नो काम फेरि थालेको वर्णन गर्छन्‌। अनि दुवै भविष्यवाणीले पवित्र जनहरूले कठिनाइ भोग्नुपरेको समयावधिबारे बताउँछन्‌। दानियलका (७:२५ र १२:७) दुवै भविष्यवाणीहरूले ‘एक समय, दुई समय र आधा समयबारे’ बताउँछन्‌। शास्त्रविद्‌हरू यसको मतलब साढे तीन समय हो भन्छन्‌। प्रकाशले त्यही समयावधिलाई ४२ महिना वा १,२६० दिन भनेको छ। (प्रकाश ११:२, ३) यसले, दानियलको पुस्तकमा उल्लिखित साढे तीन समयले ३६० दिनको साढे तीन वर्षलाई बुझाउँछ भनी पुष्टि गर्छ। तर यो १,२६० दिन कहिले सुरु भयो?

१८. (क) दानियल १२:७ अनुसार १,२६० दिन कहिले अन्त हुने थियो? (ख) कहिले “पवित्र जनहरूको शक्‍ति छिन्‍नभिन्‍न” पारियो र यो कसरी भयो? (ग) यो १,२६० दिन कहिले सुरु भयो र अभिषिक्‍त जनहरूले त्यस समयको दौडान कसरी ‘भांग्राको लुगा लाएर अगमवाणी’ बोले?

१८ “पवित्र जातिहरूको शक्‍ति छिन्‍न–भिन्‍न हुनुदेखि” थामिने समयमा यो १,२६० दिन अन्त हुन्छ भनेर भविष्यवाणीले स्पष्टसित बताउँछ। सन्‌ १९१८ को बीचतिर वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका अध्यक्ष, जे. एफ. रदरफोर्डलगायत अरू प्रमुख सदस्यहरूलाई झूटो आरोप लगाइयो र लामो समयको जेल सजाय सुनाएर झ्यालखानामा थुनियो। परमेश्‍वरका पवित्र जनहरूको काम साँच्चै ‘छिन्‍नभिन्‍न’ भएर तिनीहरूको शक्‍ति तोडियो। सन्‌ १९१८ को बीचतिरदेखि साढे तीन वर्षपछाडि गन्दा १९१४ को अन्ततिर पुगिन्छ। त्यतिबेला अभिषिक्‍त जनहरूको सानो समूह सतावटको भीषण प्रहार खप्न तयार भइरहेका थिए। प्रथम विश्‍वयुद्ध सुरु भइसकेको थियो र तिनीहरूको कामको विरोध बढ्‌दै थियो। सन्‌ १९१५ को वार्षिक पदसमेत ख्रीष्टले आफ्ना अनुयायीहरूलाई सोध्नुभएको यो प्रश्‍नमै आधारित राखिएको थियो: “जुन कचौरा मैले पिउनलागेको छु, तिमीहरू पिउनसक्छौ?” (मत्ती २०:२२) प्रकाश ११:३ मा अगमवाणी गरिएअनुसार १,२६० दिनको अवधि अभिषिक्‍त जनहरूको लागि शोकको समय अर्थात्‌ भांग्रा ओडेर भविष्यवाणी गरेसरह थियो। सतावट झन्‌ झनै चर्कन थाल्यो। कतिलाई झ्यालखानामा थुनियो, कतिलाई लुटियो र अरू कतिलाई भने सास्ती दिइयो। सोसाइटीका पहिलो अध्यक्ष सि. टि. रसलको सन्‌ १९१६ मा मृत्यु हुँदा धेरै जना निराश भए। प्रचारकार्यमा संलग्न यस संगठनका पवित्र जनहरूको हत्यासँगसँगै अन्धकारमय युगको अन्त भएपछि के हुनेवाला थियो?

१९. प्रकाश अध्याय ११ को भविष्यवाणीले अभिषिक्‍त जनहरू धेरै समयसम्म चुपो लागेर बस्नेछैनन्‌ भनेर कसरी देखाउँछ?

१९ प्रकाश ११:३, ९, ११ को समानान्तर भविष्यवाणीले देखाएअनुसार “दुई साक्षीहरू” मारिएपछि तिनीहरू थोरै समयको लागि मात्र अर्थात्‌ साढे तीन दिनको लागि मर्छन्‌ र फेरि पुनर्जीवित हुन्छन्‌। त्यसै गरी, दानियल अध्याय १२ को भविष्यवाणीले पवित्र जनहरू चुपो लागेर बस्नेछैनन्‌ तर अझ बढी कामको लागि तयार हुनेछन्‌ भनेर देखाउँछ।

तिनीहरू ‘शुद्ध पारिन्छन्‌, दागरहित बनाइन्छन्‌ र खारिन्छन्‌’

२०. दानियल १२:१० अनुसार अभिषिक्‍त जनहरूले तितो अनुभव भोगिसकेपछि कस्ता आशिष्‌हरू पाउनेछन्‌?

२० माथि उल्लेख गरिएझैं दानियलले यी कुराहरू लेख्न त लेखे तर बुझेनन्‌। तैपनि, तिनले सतावट दिनेहरूको हातबाट पवित्र जनहरूको विनाश हुने हो कि भन्ठानेर यस्तो प्रश्‍न गरे: “यी सबै कुराको परिणाम के हुनेछ?” स्वर्गदूतले यस्तो जवाफ दिए: “हे दानियल, तिमी आफ्नो बाटो लाग, किनभने यी वचनहरू अन्तको समयसम्मको लागि बन्द गरी मोहोर लगाइएका छन्‌। धेरै जना शुद्ध पारिनेछन्‌, दागरहित बनाइनेछन्‌ र खारिनेछन्‌, तर दुष्टहरूचाहिं दुष्ट काम गर्दै जानेछन्‌। दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमानहरूले बुझ्नेछन्‌।” (दानियल १२:८-१०, नयाँ संशोधित संस्करण) पवित्र जनहरूको लागि ठोस आशा थियो! विनाश हुनुको साटो तिनीहरू दागरहित बनाइने थिए, यहोवा परमेश्‍वरसामु धर्मी ठहरिने थिए। (मलाकी ३:१-३) आध्यात्मिक कुराहरू बुझ्न पाएको अन्तर्दृष्टिले गर्दा तिनीहरू परमेश्‍वरको नजरमा स्वच्छ रहन सक्नेछन्‌। यसको विपरीत दुष्टहरूले आध्यात्मिक कुराहरू बुझ्न इन्कार गर्नेछन्‌। तर यी सबै कुरा कहिले हुनेछ?

२१. (क) दानियल १२:११ मा वर्णन गरिएको समयावधि कुन अवस्था ल्याइसकेपछि सुरु हुनेवाला थियो? (ख) “दैनिक बलिदान” के थियो र यो कहिले हटाइयो? (पृष्ठ २९८ को पेटी हेर्नुहोस्‌।)

२१ दानियललाई यसो भनियो: “दैनिक बलिदानको काम हटाएर विनाशकारी घृणित थोकको स्थापना गरिएको समयदेखि जम्मा एक हजार दुई सय नब्बे दिन हुनेछन्‌।” त्यसकारण, कुनै खास खास अवस्थाहरू भएपछि यो समयावधि सुरु हुने थियो। “दैनिक बलिदान” a अथवा “अटुट बलिदान” हटाइनुपर्ने थियो। (दानियल १२:११) यहाँ स्वर्गदूतले भन्‍न खोजेको बलिदान के थियो? पार्थिव मन्दिरमा चढाइने कुनै पशुबलि होइन। यरूशलेममा अवस्थित मन्दिर पनि यहोवाको महान्‌ आध्यात्मिक मन्दिर अर्थात्‌ “सकलीको नमूना” मात्र थियो। यो आध्यात्मिक मन्दिर सा.यु. २९ मा ख्रीष्ट प्रधान पूजाहारी हुनुभएपछि सक्रिय भयो! शुद्ध उपासनाको लागि परमेश्‍वरले गर्नुभएको प्रबन्धको प्रतिनिधित्व गर्ने यस आध्यात्मिक मन्दिरमा पापबलिहरू चढाइरहनुपर्ने खाँचो छैन। किनभने “ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नालाई एकैचोटि बलिदान” हुनुभयो। (हिब्रू ९:२४-२८) यद्यपि, सबै साँचो मसीहीहरूले यस मन्दिरमा बलिदान चढाउँछन्‌। प्रेरित पावलले यसप्रकार लेखे: “तब [ख्रीष्टद्वारानै] हामी निरन्तर स्तुतिको बलिदान परमेश्‍वरलाई चढ़ाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १३:१५) अतः यस भविष्यवाणीको पहिलो अवस्था अर्थात्‌ “दैनिक बलिदान” हटाउने कार्य, १९१८ को बीचतिर प्रचारकार्य ठप्प रोकिंदा पूरा भयो।

२२. (क) नाश गर्ने “घृणित थोक” के हो र यो कहिले स्थापना गरियो? (ख) दानियल १२:११ मा भविष्यवाणी गरिएको समयावधि कहिले सुरु भयो र कहिले अन्त भयो?

२२ त्यसोभए, दोस्रो अवस्था अर्थात्‌ “विनाशकारी घृणित थोक स्थापना” गर्ने समयबारे के भन्‍न सकिन्छ? दानियल ११:३१ को विवरणमा हामीले छलफल गरेअनुसार यो घृणित थोक सर्वप्रथम राष्ट्र संघ थियो र पछि संयुक्‍त राष्ट्र संघको रूपमा देखा पऱ्‍यो। दुवै थोक घृणित कुरा हुन्‌ किनभने यी दुवै पृथ्वीमा शान्ति ल्याउने माध्यमहरू हुन्‌ भनी प्रचारप्रसार भएका छन्‌। तसर्थ, धेरैको हृदयमा यी संगठनहरूले परमेश्‍वरको राज्यको ठाउँ लिएको छ! जनवरी १९१९ मा राष्ट्र संघ खडा गर्ने औपचारिक प्रस्ताव पेस गरिएको थियो। त्यतिबेला दानियल १२:११ को दुवै अवस्था पूरा भयो। त्यसैले, १,२९० दिन, १९१९ को सुरुतिर प्रारम्भ भएर १९२२ को शरद्‌ऋतुसम्म (उत्तरी गोलार्द्धमा) चल्यो।

२३. दानियल अध्याय १२ मा अगमवाणी गरिएअनुसार परमेश्‍वरका पवित्र जनहरूले १,२९० दिनको दौडान शुद्ध ठहरिन कस्तो प्रगति गरे?

२३ के त्यतिबेला पवित्र जनहरूले परमेश्‍वरको नजरमा शुद्ध अनि दागरहित हुन कुनै प्रगति गरे? अवश्‍य! मार्च १९१९ मा वाच टावर सोसाइटीका अध्यक्ष र तिनका निकटतम सहयोगीहरूलाई झ्यालखानाबाट मुक्‍त गरियो। पछि तिनीहरू विरुद्ध लगाइएको झूटो आरोपबाट पनि दोषमुक्‍त भए। आफ्नो काम सिद्धिएको छैन भनी थाह पाएका यी जनहरू तुरुन्तै काममा व्यस्त भएर सेप्टेम्बर १९१९ मा अधिवेशनको आयोजना गर्न जुटे। त्यही साल द वाच टावर-को सहपत्रिका पनि पहिलो चोटि प्रकाशित गरियो। सुरुमा द गोल्डेन एज (अहिले ब्यूँझनुहोस्‌!) नाउँले चिनिएको यो पत्रिकाले संसारको भ्रष्टाचार पर्दाफास गर्ने र परमेश्‍वरका जनहरूलाई शुद्ध रहन मदत गर्ने प्रहरीधरहरा-लाई सधैं समर्थन गर्दै आएको छ। भविष्यवाणी गरिएको १,२९० दिनको अन्तसम्ममा पवित्र जनहरूलाई शुद्ध पार्ने र पुनर्स्थापित गर्ने कार्य लगभग पूरा भइसकेको थियो। सेप्टेम्बर १९२२ अर्थात्‌ यो समयावधि अन्त भएको समयमै तिनीहरूले सं.रा.अ.-को सिडार प्वाइन्ट, ओहायोमा एउटा अविस्मरणीय अधिवेशनको आयोजना गरे। यसले प्रचारकार्यलाई ठूलो बल प्रदान गऱ्‍यो। तथापि, अझ बढी प्रगति गर्नु बाँकी नै थियो। त्यो, अर्को महत्त्वपूर्ण समयावधिको चिनारी थियो।

पवित्र जनहरूको लागि आनन्द

२४, २५. (क) दानियल १२:१२ मा कुन समयावधिबारे अगमवाणी गरिएको छ र प्राप्त प्रमाणअनुसार यो कहिले सुरु र अन्त भयो? (ख) यो १,३३५ दिन सुरु हुँदा अभिषिक्‍त शेषजनहरूको आध्यात्मिक अवस्था कस्तो थियो?

२४ यहोवाको स्वर्गदूतले पवित्र जनहरूसित सम्बन्धित भविष्यवाणीलाई यसरी टुंग्याए: “त्यो मानिस धन्य हो, जो पर्खन्छ र एक हजार तीन सय पैंतीस दिनको अन्तसम्म पुग्छ।” (दानियल १२:१२, नयाँ संशोधित संस्करण) यो समयावधि कहिले सुरु वा अन्त हुन्छ भन्‍ने सन्दर्भमा स्वर्गदूतले कुनै संकेत दिंदैनन्‌। इतिहासले देखाएअनुसार यो समयावधि यसअघिको समयावधि सिद्धिने बित्तिकै सुरु भयो। त्यसो हो भने उक्‍त समय १९२२ को शरद्‌ऋतुदेखि सुरु भएर १९२६ को (उत्तरी गोलार्द्धमा) वसन्तऋतु सकिने बेलामा अन्त भयो। के त्यो समयावधिको अन्ततिर पवित्र जनहरू आनन्दित अवस्थामा पुगे? तिनीहरू महत्त्वपूर्ण आध्यात्मिक तरिकामा त्यो अवस्थासम्म अवश्‍य पुगे।

२५ सन्‌ १९२२ को अधिवेशनपछि (पृष्ठ ३०२ मा देखाइएको) पनि परमेश्‍वरका कोहीकोही पवित्र जनहरूले अझै पनि अतीतका दिनहरू सम्झिरहेका थिए। तिनीहरूका सभाहरूको आधारभूत अध्ययन सामग्री अझै पनि बाइबल र सि. टि. रसलले लेखेका स्टडीज इन द स्क्रिप्चर्स-का खण्डहरू थियो। त्यतिबेलाको एउटा व्यापक धारणा के थियो भने, १९२५ मा पुनरुत्थान सुरु भएर पृथ्वीमा प्रमोदवन स्थापना हुनेछ। तसर्थ, धेरैले एउटा खास मिति मनमा राखेर सेवा गर्दैथे। कोहीकोहीले चाहिं अहंकारी भएर जनप्रचारकार्यमा भाग लिन इन्कार गरे। यो पक्कै पनि आनन्दमय अवस्था थिएन।

२६. यो १,३३५ दिनको दौडान अभिषिक्‍त शेषजनहरूको आध्यात्मिक अवस्थामा कस्तो परिवर्तन आयो?

२६ तथापि, १,३३५ दिनको दौडान अवस्था यस्तो रहेन। सबैजना क्षेत्र सेवकाईमा भाग लिने नियमित प्रबन्धहरू मिलाइँदा प्रचारकार्यले प्राथमिकता पायो। हरेक हप्ता द वाच टावर अध्ययन गर्ने तालिका बनाइयो। मार्च १, १९२५ को अंकमा “राष्ट्रको जन्म” भन्‍ने ऐतिहासिक लेख छापियो र यसले परमेश्‍वरका जनहरूलाई १९१४-१९ बीच के भयो भनेर राम्ररी बुझायो। सन्‌ १९२५ पछि पवित्र जनहरूले कुनै एउटा खास मितिलाई मनमा राखेर सेवा गरेनन्‌। बरु, यहोवाको नाउँ सर्वमहत्त्वपूर्ण भयो। जनवरी १, १९२६ वाच टावर-को अंकमा छापिएको “यहोवालाई कसले आदर गर्नेछ?” भन्‍ने लेखले यो महत्त्वपूर्ण सत्यलाई अपूर्व ढंगमा प्रकाश पाऱ्‍यो। मे १९२६ को अधिवेशनमा डेलिभरेन्स शीर्षकको पुस्तकको विमोचन गरियो। (पृष्ठ ३०२ हेर्नुहोस्‌।) यो स्टडीज इन द स्क्रिप्चर्स-को सट्टामा अध्ययन गर्न तयार पारिएको नयाँ पुस्तक थियो। अब पवित्र जनहरूले अतीतलाई फर्केर हेर्न छाडे। तिनीहरू भविष्यबारे निर्धक्क भई बाँकी काम गर्न तत्पर भए। भविष्यवाणी गरिएझैं १,३३५ दिन यसरी अन्त हुँदा पवित्र जनहरू आनन्दमय अवस्थामा थिए।

२७. दानियल अध्याय १२ लाई सरसरती हेर्दा यहोवाका अभिषिक्‍त जनहरू चिन्‍न कस्तो मदत पाउँछौं?

२७ निस्सन्देह, यो गन्जागोलपूर्ण युगमा सबैले धैर्य धारण गर्न सकेनन्‌। त्यसैले, स्वर्गदूतले ‘पर्खनुपर्ने’ महत्त्वलाई जोड दिए। धैर्य धारण गर्दै पर्खनेहरूले प्रशस्त आशिष्‌ पाए। दानियल अध्याय १२ लाई सरसरती हेर्दा यो कुरा स्पष्ट हुन्छ। अगमवाणी गरिएझैं अभिषिक्‍त जनहरूको आध्यात्मिक अर्थमा पुनर्जागरण अथवा पुनरुत्थान भयो। परमेश्‍वरको वचन बुझ्ने असामान्य अन्तर्दृष्टि पाएकाले तिनीहरू उहाँको वचनमा “यता र उता” खोज्न अनि पवित्र आत्माको डोऱ्‍याइद्वारा पुराना रहस्यहरूको अर्थ खुलाउन सक्षम भए। यहोवाले तिनीहरूलाई सफा पार्नुभएर आध्यात्मिक तवरमा ताराहरूजस्तै चम्काउनुभयो। फलस्वरूप, तिनीहरूले थुप्रैलाई यहोवा परमेश्‍वरको सामु धर्मी ठहरिन मदत गरे।

२८, २९. “अन्तको समय” झन्‌ झन्‌ नजिक हुँदै गएकोले हामीले के गर्ने पक्का निर्णय गर्नुपर्ने हो?

२८ “सर्वोच्चका पवित्र जनहरू” चिन्‍न यी सबै भविष्यसूचक चिनारीहरू पाइसकेपछि पनि तिनीहरूलाई नचिनेको वा सरसंगत गर्न नसकेको कुनै बहाना बनाउन सकिएला र? यहोवाको सेवा गरिरहेका अभिषिक्‍त जनहरूको सानो समूहलाई साथ दिइरहेको ठूलो भीडले भविष्यमा अद्‌भुत आशिष्‌हरू पाउने आशा गर्न सक्छन्‌। हामी सबै जना परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुने समयको प्रतीक्षामा बस्नुपर्छ। (हबकूक २:३) अहिले हाम्रो समयमा महान्‌ राजकुमार परमेश्‍वरका जनहरूको खातिर खडा हुनुभएको दशकौं भइसक्यो। अब चाँडै उहाँले यस रीतिरिवाजको ईश्‍वरनियुक्‍त न्यायकर्ताको हैसियतमा कदम चाल्नुहुनेछ। उहाँले त्यसो गर्नुहुँदा हाम्रो अवस्था कस्तो हुनेछ?

२९ हामी अहिले निष्ठावान्‌ हुन चाहन्छौं या चाहँदैनौं, त्यसैमा त्यो प्रश्‍नको जवाफ निर्भर हुनेछ। “अन्तको समय” झन्‌ झन्‌ नजिक हुँदै जाँदा हामी अझ निष्ठावान्‌ रहिरहनका लागि दानियलको पुस्तकको अन्तिम पदलाई विचार गरौं। यसबारे यसपछिको लेखमा छलफल गर्दा परमेश्‍वरसामु दानियलको कस्तो अडान थियो र भविष्यमा तिनको अवस्था कस्तो हुनेछ, बुझ्नेछौं।

[फुटनोट]

a युनानी सेप्टुआजिन्ट-मा यसलाई “बलिदान” भनेर मात्र अनुवाद गरिएको छ।

तपाईंले के बुझ्नुभयो?

• कुन समयावधिमा माइकल “खडा” हुनुहुन्छ अनि कहिले र कसरी उहाँ “खडा” हुनुहुनेछ?

दानियल १२:२ ले कस्तो प्रकारको पुनरुत्थानलाई संकेत गर्छ?

• यी अवधि सुरु र अन्त हुने मिति कुन कुन हुन्‌?

दानियल १२:७ मा उल्लिखित साढे तीन समय?

दानियल १२:११ मा भविष्यवाणी गरिएको १,२९० दिन?

दानियल १२:१२ मा भविष्यवाणी गरिएको १,३३५ दिन?

दानियल अध्याय १२ मा ध्यान दिंदा यहोवाका साँचो उपासकहरू चिन्‍ने कस्तो मदत पाउँछौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २९८-मा भएको पेटी]

दैनिक बलिदान हटाउने

दानियलको पुस्तकमा “दैनिक बलिदान” भन्‍ने पद पाँच चोटि प्रयोग गरिएको छ। यसले प्रशंसाको बलिदान अर्थात्‌ यहोवा परमेश्‍वरका सेवकहरूले नियमित तवरमा चढाउने “स्तुतिको बलिदानलाई” बुझाउँछ। (हिब्रू १३:१५) यो हटाइनेछ भनेर दानियल ८:११, ११:३१ र १२:११ मा भविष्यवाणी गरिएको छ।

दुवै विश्‍वयुद्धमा यहोवाका जनहरूले “उत्तरका राजा” र “दक्षिणका राजा[को]” हातबाट क्रूर सतावट भोगे। (दानियल ११:१४, १५) प्रथम विश्‍वयुद्धको अन्तमा १९१८ को बीचतिर प्रचारकार्य झन्डै ठप्प हुँदा “दैनिक बलिदान” हटाइयो। (दानियल १२:७) त्यसै गरी, दोस्रो विश्‍वयुद्धमा एंग्लो-अमेरिकी विश्‍वशक्‍तिले २,३०० दिनको लागि “दैनिक बलिदान” “खोस्यो।” (दानियल ८:११-१४; यस किताबको अध्याय १० हेर्नुहोस्‌।) नाजी “सेनाले” पनि केही समयको लागि त्यसलाई हटायो तर त्यो समयावधिबारे धर्मशास्त्रमा बताइएको छैन।—दानियल ११:३१; यस किताबको अध्याय १५ हेर्नुहोस्‌।

[पृष्ठ ३०१-मा भएको पेटी/चित्र]

दानियलको पुस्तकका भविष्यसूचक समयावधिहरू

सात काल (२,५२० वर्ष): सा.यु.पू. ६०७ अक्टोबर देखि

दानियल ४:१६, २५ सा.यु. १९१४ अक्टोबर

(मसीही राज्य स्थापित भयो।

यस किताबको अध्याय ६ हेर्नुहोस्‌।)

साढे तीन समय डिसेम्बर १९१४ देखि जून १९१८

(१,२६० दिन): (अभिषिक्‍त मसीहीहरूलाई सताइन्छ।

दानियल ७:२५; १२:७ यस किताबको अध्याय ९ हेर्नुहोस्‌।)

२,३०० साँझ र जून १ वा १५, १९३८ देखि

बिहान: अक्टोबर ८ वा २२, १९४४

दानियल ८:१४ (“ठूलो भीड” देखा पर्छ, निकै वृद्धि हुन्छ।

यस किताबको अध्याय १० हेर्नुहोस्‌।)

७० हप्ता (४९० वर्ष): सा.यु.पू. ४५५ देखि सा.यु. ३६ सम्म

दानियल ९:२४-२७ (मसीहको आगमन र तिनको

पार्थिव सेवकाई। यस किताबको

अध्याय ११ हेर्नुहोस्‌।)

१,२९० दिन: जनवरी १९१९ देखि

दानियल १२:११ सेप्टेम्बर १९२२

(अभिषिक्‍त मसीहीहरू ब्यूँझन्छन्‌ र

आध्यात्मिक प्रगति गर्छन्‌।)

१,३३५ दिन: सेप्टेम्बर १९२२ देखि मे १९२६

दानियल १२:१२ (अभिषिक्‍त मसीहीहरू

आनन्दमय अवस्थामा प्रवेश गर्छन्‌।)

[पृष्ठ २८७-मा भएका चित्रहरू]

यहोवाका प्रमुख सेवकहरूलाई अन्यायपूर्वक सं.रा.अ., एटलान्टा, जर्जियाको संघीय झ्यालखानामा थुनियो। बाँयादेखि दाँया: (बसिरहेका) ए. एच. म्याकमिलन, जे. एफ. रदरफोर्ड, डब्ल्यु. इ. भान एम्बर्ग; (उभिरहेका) जि. एच. फिशर, आर. जे. मार्टिन, जि. डिसेक्का, एफ. एच. रबिसन र सि. जे. वुडवर्थ

[पृष्ठ २९९-मा भएका चित्रहरू]

सं.रा.अ.-को सिडार प्वाइन्ट, ओहायोमा १९१९ (माथि) र १९२२ (तल) मा महत्त्वपूर्ण अधिवेशनहरू सम्पन्‍न भए

[पृष्ठ ३०२-मा भएको पृष्ठभरिको चित्र]