सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ३

“यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ”

“यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ”

१, २. भविष्यवक्‍ता यसैयाले कस्तो दर्शन पाए र त्यस दर्शनबाट हामी यहोवाबारे के सिक्छौँ?

 एकपटक भविष्यवक्‍ता यसैयाले यहोवाबाट अद्‌भुत दर्शन पाए। त्यो दर्शन देखेर तिनी आश्‍चर्यचकित भए र उहाँप्रति श्रद्धाले भरिए। तिनले ‘यहोवालाई महिमायुक्‍त सिंहासनमा विराजमान हुनुभएको देखे।’ उहाँको वस्त्रको किनारले यरुसलेमको विशाल मन्दिरलाई ढाकेको थियो। तिनलाई त्यो दृश्‍य वास्तविक लाग्यो।—यसैया ६:१, २.

यसैया अर्को कुराले पनि आश्‍चर्यचकित भएका थिए। सराफ भनिने निकै उच्च ओहदाका स्वर्गदूतहरू यहोवाको महिमा गाइरहेका थिए। तिनीहरूको जोडदार आवाजले गर्दा मन्दिरको जग नै हल्लिएको थियो। तिनीहरू सुरमा सुर मिलाई यस्तो गीत गाइरहेका थिए: “सेनाहरूका यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।” (यसैया ६:३, ४) यस गीतमा “पवित्र” शब्द तीन चोटि प्रयोग गरेर यहोवाको पवित्रतालाई जोड दिइएको छ। त्यसो गर्नु उपयुक्‍त पनि छ किनभने यहोवाजत्तिको पवित्र अरू कोही छैन। (प्रकाश ४:८) बाइबलमा यहोवाको पवित्रतालाई निकै जोड दिइएको छ। सयौँ पदमा उहाँको नामसँगसँगै “पवित्र” र “पवित्रता”-जस्ता शब्द प्रयोग भएका छन्‌।

३. कस्ता गलत सोचाइले गर्दा मानिसहरू परमेश्‍वरसित नजिकिनुको साटो उहाँदेखि तर्किन्छन्‌?

स्पष्ट छ, यहोवा हामीले उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझेको चाहनुहुन्छ। तर यही कुराले गर्दा आज थुप्रै मानिस उहाँदेखि तर्किन्छन्‌। धेरैजसो मानिसको सोचाइमा आफू पवित्र छु भनेर दाबी गर्ने व्यक्‍तिले वास्तवमा आफूलाई ज्यादै धर्मी ठानिरहेका हुन्छन्‌ वा ईश्‍वरको भक्‍ति गरेको ढोँग गरिरहेका हुन्छन्‌। अर्कोतर्फ आफूप्रति नकारात्मक सोचाइ राख्ने मानिसहरूचाहिँ परमेश्‍वर पवित्र हुनुभएकोले उहाँसित नजिकिन डराउँछन्‌। तिनीहरू आफूलाई पवित्र परमेश्‍वरसित नजिक हुन अयोग्य ठान्छन्‌। यसरी धेरैजसो मानिस यहोवाको पवित्रताले गर्दा नै उहाँदेखि तर्किने गर्छन्‌। यो दुःखलाग्दो कुरा हो किनभने यहोवा पवित्र हुनुहुन्छ भन्‍ने कुराले त हामीलाई उहाँसित नजिक हुन झकझकाउनु पो पर्ने हो। किन? यस प्रश्‍नको जवाफ पाउनुअघि साँचो पवित्रता भनेको के हो, त्यो विचार गरौँ।

पवित्रता भनेको के हो?

४, ५. (क) “पवित्र” शब्दको अर्थ के हो तर केचाहिँ होइन? (ख) यहोवा कुन दुई महत्त्वपूर्ण तरिकामा “अलग” हुनुहुन्छ?

परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍नुको अर्थ उहाँ आफूलाई बढ्‌तै महत्त्व दिने, अहङ्‌कारी वा अरूलाई तिरस्कार गर्ने परमेश्‍वर हुनुहुन्‍न। बरु उहाँ त्यस्ता दुर्गुणहरूलाई घृणा गर्नुहुन्छ। (हितोपदेश १६:५; याकुब ४:६) त्यसोभए “पवित्र” शब्दको अर्थ के हो? “पवित्र” भनी अनुवाद गरिएको मौलिक हिब्रू शब्दको अर्थ “अलग” हो। उपासनाको सन्दर्भमा कुरा गर्नुपर्दा “पवित्र” शब्दले विशेष उद्देश्‍यको लागि वा चोखो कामको लागि छुट्ट्याइएको कुरालाई जनाउँछ। साथै पवित्रताले स्वच्छता र शुद्धतालाई पनि सङ्‌केत गर्छ। त्यसोभए यहोवा कुन अर्थमा पवित्र हुनुहुन्छ? के यसको अर्थ उहाँ हामी त्रुटिपूर्ण मानिसहरूदेखि “अलग” हुनुहुन्छ वा भनौँ, धेरै टाढा हुनुहुन्छ?

पटक्कै हुनुहुन्‍न। “इस्राएलका पवित्र परमेश्‍वर” यहोवाले आफ्ना जनहरूलाई तिनीहरूमाझ रहन्छु भनेर आश्‍वासन दिनुभयो जबकि तिनीहरू पापी नै थिए। (यसैया १२:६; होसे ११:९) यसबाट स्पष्ट हुन्छ, यहोवा पवित्र हुनुहुन्छ भन्दैमा उहाँ हामीबाट टाढा हुनुहुन्‍न। त्यसोभए उहाँ कुन अर्थमा “अलग” हुनुहुन्छ? उहाँ दुई महत्त्वपूर्ण तरिकामा अलग हुनुहुन्छ। पहिलो, यहोवा मात्र सर्वोच्च परमेश्‍वर हुनुभएकोले उहाँ सबै सृष्टिभन्दा अलग हुनुहुन्छ। उहाँ पूर्ण रूपमा शुद्ध र स्वच्छ हुनुहुन्छ अनि सदाका लागि त्यस्तै रहनुहुनेछ। (भजन ४०:५; ८३:१८) दोस्रो, यहोवा पापबाट पूर्णतया अलग हुनुहुन्छ। यो हाम्रो लागि सान्त्वनादायी कुरा हो। किन?

६. यहोवा पापबाट पूर्णतया अलग हुनुहुन्छ भन्‍ने कुरा किन सान्त्वनादायी छ?

अहिलेको संसारमा साँचो पवित्रता विरलै देख्न पाइन्छ। साँचो परमेश्‍वरबाट तर्केर गएको मानव समाजको जुनसुकै कुरा कुनै न कुनै तरिकामा दूषित छ। हामी सबै मानिस पापी र त्रुटिपूर्ण छौँ। हामीले आफूभित्र बास गरेको पापविरुद्ध लडाइँ गरिरहनुपर्छ। होसियार भएनौँ भने हामीमध्ये जोकोहीलाई पनि पापले आफ्नो वशमा पार्न सक्छ। (रोमी ७:१५-२५; १ कोरिन्थी १०:१२) तर यहोवालाई भने त्यस्तो कुनै खतरा छैन। उहाँमा पापको नामोनिसान छैन। त्यसैले पापले उहाँलाई अलिकति पनि दूषित पार्न सक्दैन। यो कुरा बुझ्दा उहाँ सर्वोत्कृष्ट बुबा हुनुहुन्छ भन्‍ने कुरामा हाम्रो विश्‍वास अझ बलियो हुन्छ। हामी पूर्ण रूपमा उहाँमा भर पर्न सक्छौँ। किनभने उहाँ त्रुटिपूर्ण मानव बुबाजस्तो हुनुहुन्‍न; उहाँ कहिल्यै भ्रष्ट हुनुहुनेछैन र आफ्ना छोराछोरीलाई दुर्व्यवहार गर्नुहुनेछैन। यहोवा पवित्र हुनुभएकोले उहाँबाट त्यस्ता घिनलाग्दा काम हुनु भनेको सूर्य पश्‍चिमबाट उदाउनुजत्तिकै असम्भव कुरा हो। उहाँले धेरै पटक आफ्नो पवित्रताको नाममा कसम खानुभएको छ किनभने त्योजत्तिको भरपर्दो कुरा अरू कुनै छैन। (आमोस ४:२) के यो कुरा विचार गर्दा हामी ढुक्क महसुस गर्दैनौँ र?

७. यहोवा पवित्रताको खानी हुनुहुन्छ भन्‍नुको मतलब के हो?

यहोवा पवित्रताको खानी हुनुहुन्छ। यसको मतलब के हो? एउटा उदाहरण विचार गरौँ। यी दुई शब्दबारे सोच्नुहोस्‌: “मानिस” र “त्रुटिपूर्ण।” “मानिस” शब्द सुन्‍नेबित्तिकै हाम्रो दिमागमा “त्रुटिपूर्ण” शब्द पनि आइहाल्छ। हामी जन्मजातै त्रुटिपूर्ण छौँ र पाप हाम्रो नसा-नसामा छ। त्यसको असर हामीले गर्ने सबै काममा देखिन्छ। अब अर्को दुई शब्दबारे सोच्नुहोस्‌: “यहोवा” र “पवित्र।” यहोवा पूर्णतया पवित्र हुनुहुन्छ। त्यसैले यहोवासित सम्बन्धित सबै कुरा र उहाँको सबै काम स्वच्छ, शुद्ध र सही हुन्छ। हामीले “पवित्र” शब्दको अर्थ राम्ररी बुझेपछि मात्र यहोवालाई राम्ररी चिन्‍न सक्छौँ।

“यहोवा पवित्र हुनुहुन्छ”

८, ९. यहोवाको मदत पाएर त्रुटिपूर्ण मानिसहरूसमेत केही हदसम्म पवित्र हुन सक्छन्‌ भनेर कुन कुराले देखाउँछ?

यहोवा पूर्णतया पवित्र हुनुभएकोले सबै पवित्रताको स्रोत उहाँ नै हुनुहुन्छ भन्‍नु उचित छ। तर उहाँ यो गुण आफैमा मात्र सीमित राख्नुहुन्‍न बरु उदार भई अरूलाई पनि पवित्र हुन मदत गर्नुहुन्छ। जब उहाँ मोसासित बलिरहेको झाडीको बीचबाट कुरा गर्दै हुनुहुन्थ्यो, तब उहाँको उपस्थितिले गर्दा मोसा उभिरहेको ठाउँसमेत पवित्र भएको थियो।—प्रस्थान ३:५.

के त्रुटिपूर्ण मानिसहरू यहोवाको मदत पाएर पवित्र हुन सक्छन्‌? केही हदसम्म सक्छन्‌। परमेश्‍वरले आफ्ना जन इस्राएलीहरूलाई “पवित्र जाति” हुने सुअवसर दिनुभएको थियो। (प्रस्थान १९:६) उहाँले तिनीहरूको लागि मिलाउनुभएको उपासनाको प्रबन्ध पवित्र, स्वच्छ र शुद्ध थियो। त्यसैले मोसाको व्यवस्थामा पवित्रताबारे धेरै पटक चर्चा गरिएको छ। प्रधानपुजारीले निधारमा बाँध्ने फेटाको अगाडिपट्टि सुनको एउटा पाता हुन्थ्यो, जुन प्रकाश पर्दा चम्कने गर्थ्यो। त्यसमा यी शब्द कुँदिएका हुन्थे: “यहोवा पवित्र हुनुहुन्छ।” (प्रस्थान २८:३६) इस्राएलीहरूको उपासना गर्ने तरिका र जीवनशैली एकदमै शुद्ध र पवित्र भएकोले तिनीहरू अरू जातिभन्दा फरक देखिन्थे। यहोवाले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा पवित्र छु।” (लेवी १९:२) त्रुटिपूर्ण अवस्थाको बाबजुद इस्राएलीहरूले यहोवाको सल्लाह र नीतिनियम पालन गर्दा तिनीहरू केही हदसम्म पवित्र भइरहेका हुन्थे।

१०. प्राचीन इस्राएल पवित्रताको सन्दर्भमा कसरी वरपरका राष्ट्रहरूभन्दा फरक थियो?

१० प्राचीन इस्राएलमा पवित्रतालाई निकै जोड दिइन्थ्यो तर वरपरका राष्ट्रहरूमा भने पवित्रताको कुनै महत्त्व थिएन। ती मूर्तिपूजक राष्ट्रहरू अस्तित्वमै नभएका देवीदेवताको पूजा गर्थे। त्यसमाथि ती देवीदेवतालाई लोभी, हिंस्रक र व्यभिचारीको रूपमा चित्रण गरिन्थ्यो। तिनीहरू कुनै पनि पक्षमा पवित्र नभएकोले तिनीहरूको पूजा गर्नेहरू पनि अपवित्र हुन्थे। त्यसैले यहोवाले आफ्ना सेवकहरूलाई ती मूर्तिपूजकहरू र उनीहरूका अशुद्ध धार्मिक रीतिथितिबाट अलग रहन चेतावनी दिनुभयो।—लेवी १८:२४-२८; १ राजा ११:१, २.

११. यहोवाको सङ्‌गठनको स्वर्गमा रहेको भागको पवित्रता (क) स्वर्गदूतहरू, (ख) सराफहरू र (ग) येसुमार्फत कसरी झल्किएको छ?

११ प्राचीन इस्राएल राष्ट्रमा समृद्धि छाएको समयमा समेत इस्राएलीहरूले परमेश्‍वरको सङ्‌गठनको स्वर्गमा रहेको भागको पवित्रता पूर्ण रूपमा झल्काउन सकेन। बाइबलमा वफादार भई परमेश्‍वरको सेवा गर्ने “लाखौँलाख पवित्र स्वर्गदूत”-बारे बताइएको छ। (व्यवस्था ३३:२; यहुदा १४) तिनीहरू परमेश्‍वरको पवित्रताको उज्ज्वल अनि विशुद्ध सौन्दर्यलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्छन्‌। इजकिएलले दर्शनमा देखेका सराफहरूबारे पनि विचार गरौँ। सारा ब्रह्‍माण्डमा यहोवाको पवित्रताबारे घोषणा गर्ने काममा ती सराफहरूको महत्त्वपूर्ण भूमिका छ भनेर तिनीहरूको गीतबाट स्पष्ट हुन्छ। तर एक जना अदृश्‍य व्यक्‍ति तिनीहरू सबैभन्दा उच्च हुनुहुन्छ। उहाँ परमेश्‍वरको एक मात्र छोरा येसु हुनुहुन्छ। यहोवाको पवित्रता येसुले जत्तिको राम्ररी अरू कसैले झल्काएको छैन। त्यसैले उहाँलाई “परमेश्‍वरका पवित्र जन” भन्‍नु उचित छ।—युहन्‍ना ६:६८, ६९.

पवित्र नाम, पवित्र शक्‍ति

१२, १३. (क) परमेश्‍वरको नाम पवित्र छ भन्‍नुको अर्थ के हो? (ख) परमेश्‍वरको नाम किन पवित्र पारिनुपर्छ?

१२ परमेश्‍वरको नामबारे चाहिँ के भन्‍न सकिन्छ? हामीले अध्याय १ बाट सिकेझैँ परमेश्‍वरको नाम उहाँलाई दिइएको पदवी वा उपाधि मात्र होइन। उहाँको नामले उहाँको व्यक्‍तित्व र गुणहरू प्रकट गर्छ। त्यसैले बाइबलमा उहाँको “नाम पवित्र छ” भनी बताइएको छ। (यसैया ५७:१५) मोसाको व्यवस्थामा परमेश्‍वरको नामको निन्दा गर्नेलाई मृत्युदण्ड दिनुपर्छ भनेर बताइएको थियो। (लेवी २४:१६) साथै येसुले नमुना प्रार्थनाको सुरुमै कुन कुरा उल्लेख गर्नुभयो, याद गर्नुहोस्‌: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।” (मत्ति ६:९) कुनै कुरालाई पवित्र पार्नु भनेको त्यसलाई चोखो मानेर अलग्गै छुट्ट्याउनु, त्यसप्रति श्रद्धा व्यक्‍त गर्नु र त्यसलाई शुद्ध ठान्‍नु हो। तर परमेश्‍वरको नाम पहिल्यैदेखि पवित्र भए तापनि त्यसलाई किन पवित्र पार्नुपर्छ?

१३ अदनको बगैँचामा सैतानले यहोवाबारे झूट बोल्यो र उहाँ असल शासक हुनुहुन्‍न भनेर आरोप लगायो। (उत्पत्ति ३:१-५) यसरी झूट र निन्दाको सहारा लिएर सैतानले यहोवाको नाममा कलङ्‌क लगायो र उहाँको बदनाम गऱ्‍यो। त्यसदेखि यता यस अपवित्र संसारको शासक सैतानले परमेश्‍वरबारे झूटा कुराहरू फैलाउन कुनै कसर बाँकी छोडेको छैन। (युहन्‍ना ८:४४; १२:३१; प्रकाश १२:९) धर्महरूले परमेश्‍वर मनपरी गर्ने, हामीदेखि निकै टाढा र असाध्यै कठोर व्यक्‍ति हुनुहुन्छ भनेर सिकाउँछन्‌। तिनीहरू आफूहरूले लड्‌ने युद्धमा परमेश्‍वरको साथ छ भनी दाबी गर्छन्‌। साथै मानिसहरू हाम्रो वरपर भएका सुन्दर सृष्टिहरूको श्रेय परमेश्‍वरलाई दिँदैनन्‌ बरु ती आफसेआफ आएका हुन्‌ वा क्रमविकासको उपज हुन्‌ भन्‍ने गर्छन्‌। हो, परमेश्‍वरको नामको घोर निन्दा भएको छ। त्यसैले उहाँको नाम पवित्र पारिनुपर्छ र त्यस नामले पाउनुपर्ने आदर र महिमा दिनुपर्छ। यहोवाले आफ्नो नाममा लागेको सबै कलङ्‌क सदाको लागि मेटाउनुहुने दिनको हामी तीव्र प्रतीक्षा गर्दै छौँ। उहाँले आफ्नो राज्यमार्फत त्यसो गर्नुहुनेछ, जसको राजा उहाँको छोरा येसु हुनुहुन्छ। उहाँको त्यस महान्‌ उद्देश्‍यमा सानो योगदान दिन पाउनु हाम्रो लागि ठूलो सुअवसर हो।

१४. परमेश्‍वरको सक्रिय शक्‍तिलाई किन पवित्र भनिएको छ र पवित्र शक्‍तिको निन्दा गर्नु किन गम्भीर पाप हो?

१४ परमेश्‍वरसित भएको अर्को एउटा कुरालाई पनि बारम्बार पवित्र भनिएको छ। त्यो हो, उहाँको सक्रिय शक्‍ति अर्थात्‌ पवित्र शक्‍ति। (उत्पत्ति १:२) यहोवा आफ्ना सबै उद्देश्‍य पूरा गर्न त्यही पवित्र शक्‍ति प्रयोग गर्नुहुन्छ र योभन्दा ठूलो शक्‍ति ब्रह्‍माण्डमा अरू कुनै छैन। यहोवा जे गर्नुहुन्छ, त्यो शुद्ध, पवित्र अनि स्वच्छ हुन्छ। त्यसैले उहाँको सक्रिय शक्‍तिलाई पनि पवित्र शक्‍ति भनिएको हो। (लुका ११:१३; रोमी १:४) पवित्र शक्‍तिको निन्दा गर्नु अर्थात्‌ जानाजानी यहोवाको उद्देश्‍यविपरीत काम गर्नु भनेको कहिल्यै क्षमा नहुने पाप हो।—मर्कुस ३:२९.

यहोवाको पवित्रताले हामीलाई उहाँसित नजिक हुन मदत गर्छ

१५. यहोवाको पवित्रताबारे सोच्दा हाम्रो मन श्रद्धाले भरिनुपर्छ भन्‍नुको अर्थ के हो? हामीले त्यस्तो महसुस गर्नु किन स्वाभाविक हो?

१५ परमेश्‍वर पवित्र हुनुहुन्छ भनेर हामीले बुझ्यौँ। त्यसैले बाइबलले बताएअनुसार परमेश्‍वरको पवित्रताबारे सोच्दा मानिसहरूको मन उहाँप्रतिको श्रद्धा र डरले भरिनुपर्छ। उदाहरणको लागि, भजन ९९:३ यसो भन्छ: “तिनीहरूले तपाईँको महान्‌ नामको प्रशंसा गरून्‌ किनकि त्यो श्रद्धा जगाउने र पवित्र छ।” यहाँ चलाइएको “श्रद्धा” शब्दले परमेश्‍वरप्रति गहिरो आदरभावले भरिनुलाई बुझाउँछ। हामीले त्यस्तो महसुस गर्नु स्वाभाविक हो किनभने उहाँ हामीभन्दा कैयौँ गुणा शुद्ध, स्वच्छ अनि पवित्र हुनुहुन्छ। तर त्यसो भन्दैमा हामी उहाँसित नजिक हुनै सक्दैनौँ भन्‍ने त होइन। बरु परमेश्‍वरको पवित्रताप्रतिको उचित दृष्टिकोणले हामीलाई उहाँसित नजिक हुन मदत गर्छ। कसरी?

१६. (क) पवित्रता र सौन्दर्य कसरी एकअर्कासित सम्बन्धित छन्‌, एउटा उदाहरण दिनुहोस्‌। (ख) बाइबलमा पाइने दर्शनहरूमा यहोवाको महिमा वा सौन्दर्यलाई कसरी वर्णन गरिएको छ?

१६ पवित्रता र सौन्दर्य एकअर्कासित सम्बन्धित छन्‌ भनी बाइबल बताउँछ। यसैया ६३:१५ मा स्वर्गलाई परमेश्‍वरको “पवित्र र महिमित [वा “सुन्दर,” फुटनोट] वासस्थान” भनी वर्णन गरिएको छ। हामी सौन्दर्यप्रति आकर्षित हुन्छौँ। कृपया पृष्ठ ३३ मा भएको तस्बिर हेर्नुहोस्‌। कलकल खोला बगिरहेको छ, चारैतिर हरियाली छाएको छ, दिन पनि घमाइलो छ र हावा पनि स्वच्छ छ। के यस्तो सुन्दर ठाउँ हामीलाई मन पर्दैन र? तर अब कल्पना गर्नुहोस्‌। त्यो खोला ढल मिसिएकोले दूषित भएको छ। त्यहाँका रूखहरू सुकेर खङ्‌ग्रङ्‌ग भएका छन्‌। ढुङ्‌गाहरूमा नानाथरीका नारा लेखिएकोले फोहोर देखिन्छ। धुवाँधुलोले गर्दा हावा पनि प्रदूषित छ। त्यस्तो फोहोर अनि दुर्गन्धित ठाउँ कसलाई पो मन पर्ला? सुन्दर कुराहरू स्वच्छ, शुद्ध र उज्यालो हुन्छन्‌। यहोवाको पवित्रता पनि ठीक त्यस्तै हो। बाइबलमा उहाँबारे वर्णन गरिएका थुप्रै दर्शन पाइन्छ र ती पढ्‌दा हाम्रो मन उहाँप्रति श्रद्धाले भरिन्छ। ती विवरणहरूमा पवित्र परमेश्‍वर यहोवाको महिमा वा सौन्दर्य पनि चहकिलो ज्योति, टलटल टल्किने रत्नहरू, दनदनी बलिरहेको आगोको ज्वाला अनि चम्किला धातुहरूजस्तै देखिन्छ भनेर वर्णन गरिएको छ।—इजकिएल १:२५-२८; प्रकाश ४:२, ३.

हामी सौन्दर्यप्रति आकर्षित भएझैँ पवित्रताप्रति पनि आकर्षित हुनुपर्छ

१७, १८. (क) यहोवाबाट दर्शन पाएपछि सुरुमा यसैयाले कस्तो महसुस गरे? (ख) सराफले यसैयालाई सान्त्वना दिन के गरे र तिनले त्यसो गर्नुको अर्थ के थियो?

१७ हामीले यहोवाको पवित्रता कत्ति सुन्दर छ भनेर चर्चा गऱ्‍यौँ। त्यसैले उहाँको पवित्रताबारे सोच्दा हामी कत्ति तुच्छ छौँ जस्तो लाग्न सक्छ र त्यस्तो लाग्नु स्वाभाविक पनि हो किनभने यहोवा हामीभन्दा उच्च र महान्‌ हुनुहुन्छ। वास्तवमा हामी उहाँको अगाडि धुलोको कणजत्ति पनि छैनौँ। तर के त्यसको अर्थ हामी यहोवासित नजिक हुनै सक्दैनौँ भन्‍ने हो? त्यसको जवाफ पाउन यसैयाले देखेको दर्शनबारे फेरि विचार गरौँ। सराफहरूले यहोवाको पवित्रताबारे घोषणा गरेको दर्शन देखेपछि यसैयाले कस्तो महसुस गरे? तिनले आफ्नो भावना यसरी व्यक्‍त गरे: “तब मैले यसो भनेँ: ‘धिक्कार छ मलाई! म त मरेतुल्य भएँ किनकि म अशुद्ध ओठ भएको मानिस हुँ अनि अशुद्ध ओठ भएका मानिसहरूसित बस्छु। मेरा आँखाले सेनाहरूका यहोवा, महाराजालाई देखेका छन्‌!’” (यसैया ६:५) हो, यहोवाको पवित्रताबारे सोच्दा यसैयाले आफू कत्ति पापी र त्रुटिपूर्ण छु भनेर महसुस गरे र त्यसले गर्दा तिनी निराश भए। तर यहोवाले तिनलाई त्यत्तिकै छोड्‌नुभएन।

१८ यहोवाले तिनलाई सान्त्वना दिन तुरुन्तै एक जना सराफलाई पठाउनुभयो। ती सराफले के गरे? तिनी मन्दिरको वेदीमा गए अनि त्यहाँबाट चिम्टामा आगोको भुङ्‌ग्रो ल्याएर यसैयाको ओठमा छुवाइदिए। तर हामीलाई लाग्ला, ‘त्यसले गर्दा यसैयालाई पीडा पो भयो होला। तिनले कसरी सान्त्वना पाए होलान्‌ र?’ नबिर्सनुहोस्‌, त्यो एउटा दर्शन थियो र सराफले त्यसो गर्नुको प्रतीकात्मक अर्थ थियो। यसैया एक जना वफादार यहुदी थिए। तिनलाई मन्दिरको वेदीमा हरेक दिन पापको प्रायश्‍चितको लागि बलिहरू चढाइन्छ भनेर थाह थियो। त्यसैले ती सराफले यसैयालाई तिनी “अशुद्ध ओठ” भएको अर्थात्‌ त्रुटिपूर्ण मानिस भए तापनि यहोवासामु शुद्ध व्यक्‍तिको रूपमा खडा हुन सक्छन्‌ भनेर मायालु ढङ्‌गमा सम्झाए। a हो, यसैया पूर्णतया शुद्ध हुन नसके तापनि यहोवा ती त्रुटिपूर्ण र पापी मानिसलाई केही हदसम्म शुद्ध व्यक्‍तिको रूपमा स्विकार्न तयार हुनुहुन्थ्यो।—यसैया ६:६, ७.

१९. हामी त्रुटिपूर्ण भए तापनि कसरी केही हदसम्म पवित्र हुन सक्छौँ?

१९ आज पनि कुरा त्यही हो। इस्राएलीहरूले यरुसलेमको मन्दिरमा चढाउने बलिहरू अझ विशेष किसिमको बलिदानको पूर्वझलक थियो। त्यो हो, येसु ख्रिष्टले इ.सं. ३३ मा चढाउनुभएको त्रुटिरहित जीवनको बलिदान। (हिब्रू ९:११-१४) यदि हामीले पश्‍चात्ताप गऱ्‍यौँ, गलत मार्ग त्याग्यौँ र येसुको त्यस बलिदानमा विश्‍वास गऱ्‍यौँ भने यहोवा हामीलाई क्षमा दिनुहुन्छ अनि हामी उहाँसामु शुद्ध हुन सक्छौँ। (१ युहन्‍ना २:२) प्रेषित पत्रुसले पनि हामीलाई यो कुरा सम्झाएका छन्‌: “यस्तो लेखिएको छ: ‘तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।’” (१ पत्रुस १:१६) याद गर्नुहोस्‌, यहोवाले हामी उहाँजत्तिकै पवित्र हुनुपर्छ भन्‍नुभएको छैन किनभने त्यो असम्भव छ भनेर उहाँलाई थाह छ। (भजन १०३:१३, १४) बरु उहाँ पवित्र हुनुभएकोले हामीलाई पनि पवित्र हुन भन्दै हुनुहुन्छ। हामी त्रुटिपूर्ण भए तापनि उहाँका “प्यारा छोराछोरीझैँ उहाँको देखासिकी” गर्न हरप्रयास गर्छौँ। (एफिसी ५:१) स्पष्ट छ, पवित्र हुनु भनेको निरन्तर चलिरहने प्रक्रिया हो। हामी आध्यात्मिक रूपमा उन्‍नति गर्दै जाँदा दिनप्रतिदिन “पूर्णतया पवित्र” हुँदै जान सक्छौँ।—२ कोरिन्थी ७:१.

२०. (क) हामी यहोवाको नजरमा शुद्ध ठहरिन सक्छौँ भनेर बुझ्नु किन महत्त्वपूर्ण छ? (ख) आफ्ना पापहरू क्षमा भइसकेका छन्‌ भनेर थाह पाउँदा यसैयामा कस्तो प्रभाव पऱ्‍यो?

२० यहोवा जे सही र शुद्ध छ, त्यसलाई प्रेम गर्नुहुन्छ अनि पापलाई घृणा गर्नुहुन्छ। (हबकुक १:१३) तर उहाँ हामीलाई भने घृणा गर्नुहुन्‍न। यदि हामी खराब कुरालाई घृणा गर्छौँ, सही कुरालाई प्रेम गर्छौँ अनि येसु ख्रिष्टको पाइला पछ्याउन सक्दो कोसिस गर्छौँ भने यहोवा हाम्रा पापहरू क्षमा गर्नुहुन्छ। (आमोस ५:१५; १ पत्रुस २:२१) हामी पवित्र परमेश्‍वरको नजरमा शुद्ध ठहरिन सक्छौँ भनी थाह पाउँदा हामीमा गहिरो प्रभाव पर्छ। सम्झनुहोस्‌ त, यहोवाको पवित्रताबारे सोच्दा सुरुमा यसैयाले आफू कत्ति अशुद्ध छु भनेर महसुस गरेका थिए। तिनले यसो भने: “धिक्कार छ मलाई!” तर आफ्ना पापहरू क्षमा भइसकेका छन्‌ भनेर बुझेपछि तिनको दृष्टिकोण बदलियो। यहोवाले एउटा खास जिम्मेवारीको लागि कसलाई पठाऊँ भनेर सोध्नुहुँदा यसैया तुरुन्तै अघि सरे, जबकि त्यो जिम्मेवारी पूरा गर्न आफूले के गर्नुपर्ने हो, तिनलाई थाहै थिएन। तिनले उत्साहका साथ यसो भने: “म हाजिर छु! मलाई पठाउनुहोस्‌!”—यसैया ६:५-८.

२१. हामी सबै जना पवित्र हुन सक्छौँ भनेर किन भन्‍न सकिन्छ?

२१ हामी पवित्र परमेश्‍वरको स्वरूपमा बनिएकाले हामीमा उहाँका असल गुणहरू अनुकरण गर्ने अनि उहाँसित घनिष्ठ सम्बन्ध गाँस्ने क्षमता छ। (उत्पत्ति १:२६) त्यसैले हामी सबै जना पवित्र हुन सक्छौँ। हामीले पवित्र हुन कोसिस गर्दा यहोवाले पनि खुसीसाथ मदत गर्नुहुनेछ। नतिजास्वरूप हामी पवित्र परमेश्‍वर यहोवासित अझ घनिष्ठ हुँदै जानेछौँ। यसपछिका अध्यायहरूमा यहोवाका गुणहरूबारे सिक्दै जाँदा हामीले उहाँसित नजिक हुनुपर्ने थप कारणहरू पनि पाउनेछौँ।

a यहाँ “अशुद्ध ओठ” भन्‍ने अभिव्यक्‍ति चलाइनु उपयुक्‍त छ किनभने ओठ शब्द अक्सर बाइबलमा बोली वा वचनलाई चित्रण गर्न प्रयोग गरिएको छ। त्रुटिपूर्ण मानिसहरूले पाप गर्नुको एउटा मुख्य कारण आफ्नो बोली र वचनलाई काबूमा राख्न नसकेकोले हो।—हितोपदेश १०:१९; याकुब ३:२, ६.