सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ४

“यहोवा . . . अत्यन्तै शक्‍तिशाली परमेश्‍वर हुनुहुन्छ”

“यहोवा . . . अत्यन्तै शक्‍तिशाली परमेश्‍वर हुनुहुन्छ”

१, २. एलियाले जीवनमा के-कस्ता अद्‌भुत कुरा देखेका थिए? होरेब डाँडामा छँदा तिनले कस्तो अद्‌भुत दृश्‍य देखे?

 भविष्यवक्‍ता एलियाले जीवनमा थुप्रै अद्‌भुत कुरा देखेका थिए। कुनै समय यहोवाले तिनलाई कागहरूमार्फत दिनको दुई पटक खाना खुवाउनुभयो। लामो समय अनिकाल परे पनि एलियालाई मदत गर्ने विधवाको घ्याम्पोको पीठो र भाँडोको तेल कहिल्यै सिद्धिएन। तिनले प्रार्थना गर्दा एकपटक यहोवाले आकाशबाट आगोसमेत बर्साउनुभएको थियो। (१ राजा, अध्याय १७, १८) तर अब तिनले देख्न लागेको अद्‌भुत दृश्‍य पहिला कहिल्यै देखेका थिएनन्‌।

होरेब डाँडाको एउटा ओडारमा छँदा एलियाले एकपछि अर्को गर्दै आएका निकै आश्‍चर्यजनक कुराहरू देखे। सुरुमा एउटा शक्‍तिशाली आँधी आयो। त्यो आँधी पहाडहरू फोर्दै अनि चट्टानहरू फुटाउँदै गयो। त्यस आँधीको आवाज कत्ति चर्को अनि भयानक थियो होला! त्यसपछि एउटा भयानक भुईँचालो गयो। त्यतिबेला एलियाले पक्कै पृथ्वीको गर्भमा लुकेको अथाह शक्‍तिको अनुभूति गर्न पाए। त्यसपछि आगोको मुस्लो आयो। त्यस्तो प्रचण्ड ज्वाला आफ्नो अगाडिबाट जाँदै गर्दा एलियाले पक्कै चर्को राप महसुस गरे होलान्‌।—१ राजा १९:८-१२.

३. एलियाले अनुभव गरेका घटनाहरूमा यहोवाले कुन गुण प्रदर्शन गर्नुभयो? आज हामी त्यस गुणको स्पष्ट प्रमाण कहाँ पाउन सक्छौँ?

एलियाले अनुभव गरेका यी सबै घटनामा एउटा कुरा समान छ। त्यो हो, यहोवाको अथाह शक्‍तिको प्रदर्शन। उहाँ शक्‍तिशाली हुनुहुन्छ भन्‍ने कुरा बुझ्न आज हामीलाई कुनै चमत्कारको आवश्‍यकता छैन किनकि सृष्टिमा ‘उहाँको अनन्त शक्‍ति र ईश्‍वरत्व छर्लङ्‌गै देखिन्छ।’ (रोमी १:२०) उदाहरणको लागि, बिजुली चम्कँदा र मेघ गर्जँदाको क्षण कल्पना गर्नुहोस्‌ त! अथवा अग्लो पहाडबाट छङछङ गर्दै झरिरहेको विशाल झरनाबारे अनि रातको अन्धकारमा टिलपिल गरिरहेका असङ्‌ख्य ताराहरूबारे सोच्नुहोस्‌ त! ती सब यहोवाको अथाह शक्‍तिका स्पष्ट प्रमाणहरू हुन्‌। तर परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ भनेर मानिलिने मानिसहरू आज संसारमा थोरै छन्‌। त्यसमाथि पनि अझ थोरैले मात्र यस तथ्यलाई सही तरिकामा बुझेका छन्‌। तर यहोवाको यस विशेष गुणलाई सही तरिकामा बुझ्यौँ भने हामी उहाँसित अझ नजिक हुन सक्छौँ। यस भागमा हामी यहोवाको अतुलनीय शक्‍तिबारे विस्तृत रूपमा छलफल गर्नेछौँ।

“यहोवा परमेश्‍वर त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो”

यहोवाको एउटा विशेष गुण

४, ५. (क) बाइबलमा यहोवाको नामबारे के बताइएको छ? (ख) यहोवाको शक्‍तिलाई साँढेसित तुलना गर्नु किन उपयुक्‍त छ?

यहोवा सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ। यर्मिया १०:६ यसो भन्छ: “हे यहोवा, तपाईँजस्तो कोही छैन। तपाईँ महान्‌ हुनुहुन्छ अनि तपाईँको नाम महान्‌ र शक्‍तिशाली छ।” याद गर्नुहोस्‌, यस पदमा यहोवाको नाम महान्‌ र शक्‍तिशाली छ भनी बताइएको छ। यहोवा नामको अर्थ “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ” भन्‍ने हो। उहाँ कसरी आफूले चाहेको जुनसुकै कुरा बन्‍न र बनाउन सक्नुहुन्छ? आफ्नो शक्‍ति प्रयोग गरेर। हो, उहाँसित आफ्नो हरेक इच्छा र उद्देश्‍य पूरा गर्ने असीमित शक्‍ति छ। यस्तो शक्‍ति उहाँको एउटा विशेष गुण हो।

यहोवाको शक्‍ति कत्ति अथाह छ भनेर हामी कहिल्यै अनुमान लगाउन सक्दैनौँ। त्यसैले उहाँले आफ्नो शक्‍तिबारे बुझाउन थुप्रै उदाहरण दिनुभएको छ। हामीले अध्याय १ मा सिकेझैँ साँढेले उहाँको शक्‍तिलाई चित्रण गर्छ। (इजकिएल १:४-१०) यो तुलना उपयुक्‍त छ किनभने बाइबलकालीन प्यालेस्टाइनमा साँढेजत्तिको जब्बर र बलियो जनावर त्यत्ति पाइँदैनथ्यो। तर त्यस ठाउँका मानिसहरूलाई अर्को प्रजातिको साँढेबारे पनि थाह थियो, जुन घर पालुवा साँढेभन्दा जब्बर र भयङ्‌कर हुन्थ्यो। त्यो थियो, औरक्स अर्थात्‌ जङ्‌गली साँढे। त्यस प्रजातिका साँढेहरू अहिले लोप भइसके। (अय्युब ३९:९-१२) रोमी शासक जुलियस सिजरले बताएअनुसार ती जङ्‌गली साँढेहरू हात्तीभन्दा अलिकति मात्र साना हुन्थे। तिनले यस्तो लेखे: “तिनीहरू असाध्यै बलिया हुन्छन्‌ अनि द्रुत गतिमा दौडिन्छन्‌।” त्यत्रो अजङ्‌गको साँढेको अगाडि हामी कत्ति सानो र कमजोर देखिन्छौँ होला, कल्पना गर्नुहोस्‌ त!

६. यहोवा मात्र किन “सर्वशक्‍तिमान्‌” हुनुहुन्छ?

त्यसैगरि शक्‍तिशाली परमेश्‍वर यहोवाको अगाडि हामी मानिस असाध्यै सानो र शक्‍तिहीन छौँ। उहाँको नजरमा शक्‍तिशाली राष्ट्रहरू समेत तराजुमा टाँसिएको धुलोजस्तै छन्‌। (यसैया ४०:१५) मानिस र जनावरहरूको शक्‍ति सीमित हुन्छ तर यहोवाको शक्‍ति भने असीमित छ। त्यसैले उहाँ मात्र “सर्वशक्‍तिमान्‌” हुनुहुन्छ। a (प्रकाश १५:३) यहोवासित “अथाह शक्‍ति र विस्मयकारी सामर्थ्य” छ भनी बाइबल बताउँछ। (यसैया ४०:२६) यहोवाको शक्‍ति कहिल्यै सिद्धिँदैन। उहाँ शक्‍तिको लागि कसैमाथि निर्भर हुनुहुन्‍न किनभने सारा शक्‍तिको मूल उहाँ नै हुनुहुन्छ। बाइबल भन्छ: “शक्‍ति परमेश्‍वरकै हो।” (भजन ६२:११) त्यसोभए उहाँ आफ्नो शक्‍ति कस्ता माध्यमहरूमार्फत प्रकट गर्नुहुन्छ?

यहोवा आफ्नो शक्‍ति कसरी प्रकट गर्नुहुन्छ?

७. परमेश्‍वरको पवित्र शक्‍ति कस्तो शक्‍ति हो? मौलिक भाषाका शब्दहरूले केलाई बुझाउन सक्छ?

यहोवासित असीमित पवित्र शक्‍ति छ र यो शक्‍ति सक्रिय छ। त्यसैले उत्पत्ति १:२ मा यसलाई परमेश्‍वरको “सक्रिय शक्‍ति” भनिएको छ। “शक्‍ति” भनेर अनुवाद गरिएको मौलिक हिब्रू र ग्रीक शब्दहरूलाई प्रसङ्‌गअनुसार “हावा,” “सास,” “झोक्का” र “वेग” भनेर अनुवाद गरिएको छ। शब्दहरूको अध्ययन गर्ने कोशकारहरूले बताएअनुसार मौलिक भाषाका शब्दहरूले सक्रिय अदृश्‍य शक्‍तिलाई बुझाउन सक्छ। हामीले हावालाई देख्न नसकेझैँ पवित्र शक्‍तिलाई पनि देख्न सक्दैनौँ। तर त्यसको काम देख्न सक्छौँ र त्यो वास्तविक शक्‍ति हो भनेर विश्‍वस्त हुन सक्छौँ।

८. पवित्र शक्‍तिलाई बाइबलमा लाक्षणिक अर्थमा के भनिएको छ अनि यो तुलना किन उपयुक्‍त छ?

यहोवाको पवित्र शक्‍तिले जुनसुकै काम गर्न सक्छ। उहाँ आफ्नो हरेक उद्देश्‍य पूरा गर्न पवित्र शक्‍ति प्रयोग गर्नुहुन्छ। त्यसैले बाइबलमा पवित्र शक्‍तिलाई लाक्षणिक अर्थमा परमेश्‍वरको “औँला” अनि “शक्‍तिशाली र पराक्रमी हात” भनिएको छ। (लुका ११:२०, फुटनोट; व्यवस्था ५:१५; भजन ८:३) हामी बल वा सीपको आवश्‍यकता पर्ने विभिन्‍न काम गर्न आफ्नो हात प्रयोग गर्छौँ। त्यसैगरि यहोवा आफ्नो विभिन्‍न उद्देश्‍य पूरा गर्न पवित्र शक्‍ति प्रयोग गर्नुहुन्छ। जस्तै: सूक्ष्म परमाणु सृष्टि गर्न, विशाल लाल समुद्र दुई फ्याक पार्न अनि प्रथम शताब्दीका चेलाहरूलाई अन्य भाषामा बोल्न सक्षम बनाउन परमेश्‍वरले पवित्र शक्‍ति प्रयोग गर्नुभयो।

९. शासन गर्ने यहोवाको शक्‍ति कत्तिको विशिष्ट छ?

यहोवा ब्रह्‍माण्डको सार्वभौम शासक हुनुहुन्छ र यस अख्तियारमार्फत पनि उहाँ आफ्नो शक्‍ति प्रकट गर्नुहुन्छ। मानिलिनुहोस्‌, सोच्ने-बुझ्ने क्षमता भएका लाखौँ मानिस तपाईँको एक-एक आज्ञा पालन गर्न तम्तयार छन्‌ भने तपाईँ कस्तो महसुस गर्नुहुन्छ? यहोवासित शासन गर्ने त्यस्तै शक्‍ति छ। यहोवाका थुप्रै मानव सेवक छन्‌, जसलाई बाइबलमा अक्सर सेनासित तुलना गरिएको छ। (भजन ६८:११; ११०:३) तर यहोवाका अदृश्‍य सेवकहरू अर्थात्‌ स्वर्गदूतहरूको तुलनामा मानिस कमजोर छन्‌। एकपटक अस्सेरियाली सेनाले परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्दा एक जना स्वर्गदूतले १ लाख ८५ हजार सेनालाई सखाप पारेका थिए। (२ राजा १९:३५) हो, स्वर्गदूतहरू “शक्‍तिले भरिपूर्ण” छन्‌।—भजन १०३:१९, २०.

१०. (क) सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई किन सेनाहरूका यहोवा भनिएको हो? (ख) यहोवाका सृष्टिहरूमध्ये सबैभन्दा शक्‍तिशाली को हुनुहुन्छ?

१० ब्रह्‍माण्डमा कति स्वर्गदूतहरू छन्‌? एकपटक भविष्यवक्‍ता दानिएलले यहोवा आफ्नो सिंहासनमा विराजमान हुनुभएको र १० करोडभन्दा धेरै स्वर्गदूत उहाँसामु खडा भएको दर्शन देखे। तर दानिएलले स्वर्गदूतहरूको सम्पूर्ण दललाई देखेका थिए भन्‍ने सङ्‌केत त पाइँदैन। (दानिएल ७:१०) त्यसैले सम्भवतः ब्रह्‍माण्डमा करोडौँकरोड स्वर्गदूत छन्‌। यो विशाल अनि व्यवस्थित स्वर्गदूतीय सेना यहोवाको आज्ञाबमोजिम चल्छन्‌। त्यसैले बाइबलमा उहाँलाई सेनाहरूका यहोवा भनिएको छ। उहाँले “सारा सृष्टिको पहिलो सन्तान” र आफ्नो एक मात्र प्यारो छोरा येसु ख्रिष्टलाई त्यस विशाल सेनाको सेनापति बनाउनुभएको छ। (कलस्सी १:१५) येसु प्रधान-स्वर्गदूत हुनुभएकोले उहाँ सबै स्वर्गदूत, सराफ र करूबभन्दा उच्च हुनुहुन्छ। त्यसैले येसु नै यहोवाका सृष्टिहरूमध्ये सबैभन्दा शक्‍तिशाली हुनुहुन्छ।

११, १२. (क) परमेश्‍वरको वचन प्रबल छ भन्‍नुको अर्थ के हो? (ख) परमेश्‍वरसित अथाह शक्‍ति छ भनेर बुझाउन येसुले के भन्‍नुभयो?

११ यहोवाले आफ्नो शक्‍ति प्रकट गर्नुहुने अर्को माध्यमबारे हिब्रू ४:१२ यसो भन्छ: “परमेश्‍वरको वचन जीवित र प्रबल . . . छ।” के तपाईँले परमेश्‍वरको वचन बाइबलको अद्‌भुत शक्‍ति अनुभव गर्नुभएको छ? बाइबल परमेश्‍वरको पवित्र शक्‍तिको प्रेरणाद्वारा लेखिएको हो। यसले हाम्रो विश्‍वास बलियो बनाउँछ, हामीलाई बल दिन्छ अनि जीवनमा आमूल परिवर्तन गर्न मदत गर्छ। प्रेषित पावलले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई घोर अनैतिक जीवन बिताइरहेकाहरूसित सङ्‌गत नगर्न चेतावनी दिए। त्यसपछि तिनीहरूको विगतबारे तिनले यसो भने: “तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ।” (१ कोरिन्थी ६:९-११) हो, “परमेश्‍वरको वचन”-को शक्‍तिले तिनीहरूमा काम गरेको थियो र तिनीहरूलाई परिवर्तन गर्न मदत दिएको थियो।

१२ परमेश्‍वरसित अथाह शक्‍ति भएकोले र उहाँले एकदमै प्रभावकारी माध्यममार्फत त्यो प्रकट गर्नुहुने भएकोले त्यो शक्‍ति प्रयोग गर्नदेखि उहाँलाई कसैले रोक्न सक्दैन। येसुले भन्‍नुभयो: “परमेश्‍वरको लागि . . . सबै कुरा सम्भव छ।” (मत्ति १९:२६) यहोवा के-कस्ता उद्देश्‍य पूरा गर्न आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्छ?

यहोवा उद्देश्‍य पूरा गर्न शक्‍ति प्रयोग गर्नुहुन्छ

१३, १४. (क) यहोवा शक्‍तिको स्रोत मात्र हुनुहुन्‍न भनेर हामी किन भन्‍न सक्छौँ? (ख) यहोवा के-कस्ता उद्देश्‍य पूरा गर्न आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्छ?

१३ ब्रह्‍माण्डको कुनै पनि शक्‍ति यहोवाको पवित्र शक्‍तिको बराबरीमा आउन सक्दैन। यहोवा शक्‍तिको स्रोत मात्र हुनुहुन्‍न। बरु उहाँ भावना र सोच्ने-बुझ्ने क्षमता भएको परमेश्‍वर हुनुहुन्छ अनि आफ्नो शक्‍तिलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ। त्यसोभए यहोवा के-कस्ता उद्देश्‍य पूरा गर्न आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्छ?

१४ यहोवा आफ्नो शक्‍ति सृष्टि, विनाश, रक्षा र पुनर्स्थापना गर्न प्रयोग गर्नुहुन्छ भनेर हामी यसपछिका अध्यायहरूमा सिक्नेछौँ। छोटकरीमा भन्‍नुपर्दा यहोवा आफ्नो जुनसुकै उद्देश्‍य पूरा गर्न शक्‍ति प्रयोग गर्नुहुन्छ। (यसैया ४६:१०) कहिलेकाहीँ यहोवा आफ्नो व्यक्‍तित्व र स्तरबारे केही गहन कुरा प्रकट गर्न पनि आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्छ। अझ महत्त्वपूर्ण कुरा, यहोवा एउटा खास उद्देश्‍यको लागि आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्छ। त्यो हो, मसीही राज्यमार्फत आफ्नो शासन गर्ने तरिका सर्वोत्तम छ भनी देखाउन र आफ्नो नाम पवित्र पार्न। उहाँको यो उद्देश्‍य पूरा हुनदेखि कसैले रोक्न सक्दैन।

१५. के यहोवा आफ्ना सेवकहरूलाई मदत गर्न आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्छ? एलियाको विवरणले त्यो कुरा कसरी प्रस्ट पार्छ?

१५ यहोवा हामी व्यक्‍तिविशेषलाई मदत गर्न पनि आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्छ। दोस्रो इतिहास १६:९ यसो भन्छ: “जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति भक्‍त छन्‌, तिनीहरूको खातिर आफ्नो शक्‍ति प्रकट गर्न उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।” यस अध्यायको सुरुमा चर्चा गरिएको भविष्यवक्‍ता एलियाको विवरण पनि त्यस्तै एउटा उदाहरण हो। यहोवाले किन एलियाको अगाडि आफ्नो शक्‍तिको बेजोड प्रदर्शन गर्नुभयो? आउनुहोस्‌, त्यस घटनाको प्रसङ्‌ग विचार गरौँ। दुष्ट रानी ईजेबेलले एलियालाई मारेरै छाड्‌ने कसम खाएकी थिइन्‌। त्यसैले एलिया आफ्नो ज्यान जोगाउन भागिरहेका थिए। तिनी असाध्यै डराएका थिए, निराश भएका थिए र एक्लो महसुस गरिरहेका थिए। तिनलाई आफ्नो सबै मेहनत खेर गयो जस्तो लागेको थियो। त्यसैले ती निराश भविष्यवक्‍तालाई सान्त्वना दिन यहोवाले आफ्नो शक्‍ति प्रकट गर्नुभयो। शक्‍तिशाली आँधी, भुईँचालो अनि आगो देख्दा एलियाले ब्रह्‍माण्डका सबैभन्दा शक्‍तिशाली परमेश्‍वर आफ्नो साथमा हुनुहुन्छ भनेर बुझे। सर्वशक्‍तिमान्‌ परमेश्‍वर स्वयम्‌ एलियाको साथमा हुनुभएकोले के तिनी ईजेबेलदेखि डराउनुपर्थ्यो र?—१ राजा १९:१-१२. b

१६. यहोवाको असीमित शक्‍तिबारे मनन गर्दा हामी कस्तो आश्‍वासन पाउँछौँ?

१६ हुनत अहिले यहोवा चमत्कारहरू गर्नुहुन्‍न तर उहाँ परिवर्तन हुनुभएको छैन। (१ कोरिन्थी १३:८) यहोवा उहाँलाई प्रेम गर्नेहरूका लागि आफ्नो शक्‍ति प्रयोग गर्न एलियाको समयमा जत्ति इच्छुक हुनुहुन्थ्यो, आज पनि त्यत्ति नै इच्छुक हुनुहुन्छ। हुनत हो, यहोवा स्वर्गको सबैभन्दा उच्च स्थानमा विराजमान हुनुहुन्छ तर उहाँ हामी कसैबाट पनि टाढा हुनुहुन्‍न। उहाँको शक्‍ति असीमित भएकोले स्वर्ग र पृथ्वीबीचको दूरीले उहाँलाई आफ्नो शक्‍ति प्रयोग गर्नदेखि कुनै बाधा पुऱ्‍याउँदैन। बाइबल भन्छ: “यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌।” (भजन १४५:१८) एकपटक भविष्यवक्‍ता दानिएल मदतको लागि यहोवालाई प्रार्थना गरिरहेका थिए। तर तिनले प्रार्थना गरेर नसिद्ध्याउँदै एक जना स्वर्गदूत तिनलाई मदत गर्न आइपुगे। (दानिएल ९:२०-२३) हो, उहाँलाई प्रेम गर्नेहरूलाई मदत गर्न र बल दिन उहाँलाई कुनै कुराले रोक्न सक्दैन।—भजन ११८:६.

यहोवा शक्‍तिशाली हुनुभएकोले के हामी उहाँसित डराउनुपर्छ?

१७. यहोवाको शक्‍तिबारे विचार गर्दा हामी कुन अर्थमा उहाँसित डराउनुपर्छ? त्यसको अर्थ के चाहिँ होइन?

१७ परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ भन्दैमा के हामी उहाँसित डराउनुपर्छ? यसको जवाफ ‘पर्छ’ र ‘पर्दैन’ दुवै हो। कुन अर्थमा डराउनुपर्छ? अघिल्लो अध्यायमा चर्चा गरिएझैँ यहोवाको अथाह शक्‍तिबारे विचार गर्दा हाम्रो मनमा उहाँप्रति गहिरो आदरभाव र श्रद्धा जाग्छ। यस्तो किसिमको श्रद्धेय डर “बुद्धिको सुरुवात हो” भनी बाइबल बताउँछ। (भजन १११:१०) तर कुन अर्थमा डराउनुपर्दैन? हामी उहाँदेखि डराएर थरथर काँप्नु वा उहाँसित नजिक हुन हिचकिचाउनु भने पर्दैन।

१८. (क) धेरैजसो मानिस किन उच्च ओहदामा भएकाहरूलाई भरोसा गर्दैनन्‌? (ख) यहोवा भ्रष्ट हुनुहुन्‍न भनेर हामी किन भन्‍न सक्छौँ?

१८ सन्‌ १८८७ मा बेलायतका इतिहासकार लर्ड एक्टनले यस्तो लेखे: “थोरै शक्‍ति थोरै भ्रष्ट, धेरै शक्‍ति धेरै भ्रष्ट।” तिनको यो भनाइ पटक-पटक उद्धरण गरिन्छ किनभने मानिसहरूले यो अकाट्य सत्य हो भनी मानिलिएका छन्‌। त्रुटिपूर्ण मानिसहरूले अक्सर आफ्नो शक्‍ति वा ओहदाको दुरुपयोग गर्छन्‌ भन्‍ने कुराको इतिहास साक्षी छ। (उपदेशक ४:१; ८:९) त्यसैले धेरैजसो मानिस उच्च ओहदामा भएकाहरूलाई भरोसा गर्दैनन्‌ र तिनीहरूसित नजिक हुन चाहँदैनन्‌। यहोवासित त झन्‌ असीमित शक्‍ति छ। त्यसोभए के उहाँ पनि भ्रष्ट हुनुहुन्छ? पटक्कै हुनुहुन्‍न! हामीले सिकेझैँ यहोवा पवित्र हुनुहुन्छ र उहाँमा कुनै खोट छैन। त्यसैले उहाँ उच्च ओहदामा भएका त्रुटिपूर्ण मानिसहरूजस्तो भ्रष्ट हुनुहुन्‍न। उहाँले कहिल्यै आफ्नो शक्‍तिको दुरुपयोग गर्नुभएको छैन र भविष्यमा पनि कहिल्यै गर्नुहुनेछैन।

१९, २०. (क) यहोवा आफ्नो शक्‍ति सधैँ कस्ता गुणहरूसित तालमेल मिलाएर प्रयोग गर्नुहुन्छ? यो किन आश्‍वासनदायी छ? (ख) यहोवा आत्मसंयम देखाउनुहुन्छ भनेर बुझाउने एउटा उदाहरण दिनुहोस्‌। यो कुरा तपाईँलाई किन मन पऱ्‍यो?

१९ यहोवाको गुण शक्‍ति मात्र त होइन भन्‍ने कुरा मनमा राख्नुहोस्‌। हामीले उहाँको न्याय, बुद्धि र प्रेमबारे सिक्न बाँकी नै छ। तर हामीले के बुझ्नुपर्छ भने यहोवा आफ्ना गुणहरू देखाउने सन्दर्भमा कठोर र कुनै यन्त्रजस्तो एकोहोरो हुनुहुन्‍न। भन्‍नुको अर्थ उहाँ एक पटकमा एउटा मात्र गुण देखाउनुहुने परमेश्‍वर हुनुहुन्‍न। बरु उहाँ आफ्नो शक्‍ति सधैँ न्याय, बुद्धि र प्रेमसित तालमेल मिलाएर प्रयोग गर्नुहुन्छ। यसबारे हामी यसपछिका अध्यायहरूमा छलफल गर्नेछौँ। आउनुहोस्‌, अब हामी यहोवाको अर्को एउटा गुणबारे पनि चर्चा गरौँ, जुन आजका मानव शासकहरूमा विरलै देख्न पाइन्छ। त्यो हो, आत्मसंयम।

२० कल्पना गर्नुहोस्‌: तपाईँको भेट असाध्यै शक्‍तिशाली र अजङ्‌गको मानिससित हुन्छ। तिनलाई देखेर तपाईँलाई असाध्यै डर लाग्छ तर समय बित्दै जाँदा तिनी असल व्यक्‍ति रहेछन्‌ भनेर थाह पाउनुहुन्छ। तिनी अरूलाई मदत गर्न सधैँ तयार हुन्छन्‌, खासगरि निस्सहाय र कमजोरहरूलाई। तिनी आफ्नो बलको कहिल्यै दुरुपयोग गर्दैनन्‌। अरूले निन्दा गरे पनि तिनी आवेशमा आउँदैनन्‌ बरु शान्त रहन्छन्‌ र आफ्नो निन्दा गर्नेहरूसित पनि दयालु र मर्यादित व्यवहार गर्छन्‌। अब तपाईँ सोच्नुहुन्छ, ‘के म पनि तिनीजत्तिकै बलियो भएको भए तिनले जस्तै दया र आत्मसंयम देखाउन सक्थेँ होला?’ तिनीबारे अझ धेरै थाह पाउँदै जाँदा के तपाईँ तिनीसित अझै नजिक हुन चाहनुहुन्‍न र? सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा पनि ती व्यक्‍तिजस्तै हुनुहुन्छ अनि उहाँसित नजिक हुनुपर्ने झन्‌ धेरै कारण छन्‌। यस अध्यायको शीर्षक नहुम १:३ बाट लिइएको हो र त्यसको पूरा वाक्य यस्तो छ: “यहोवा हतपती नरिसाउने र अत्यन्तै शक्‍तिशाली परमेश्‍वर हुनुहुन्छ।” यहोवा कसैलाई पनि, यहाँसम्म कि दुष्टहरूलाई समेत आवेशमा आएर सजाय दिने गर्नुहुन्‍न। बरु उहाँ दयालु र कोमल स्वभावको हुनुहुन्छ। रिसाउने जायज कारण हुँदा पनि उहाँ “हतपती नरिसाउने” परमेश्‍वर हुनुहुन्छ भनेर धेरै पटक प्रमाणित गरिसक्नुभएको छ।—भजन ७८:३७-४१.

२१. यहोवा किन मानिसहरूलाई उहाँको सेवा गर्न जबरजस्ती गर्नुहुन्‍न? यसबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

२१ यहोवा अर्को तरिकामा पनि आत्मसंयम देखाउनुहुन्छ। यदि तपाईँसित असीमित शक्‍ति भएको भए के तपाईँमा अरूलाई तपाईँकै इच्छाअनुसार गर्न लगाउने झुकाव आउँदैनथ्यो होला र? तर सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा भने मानिसहरूलाई उहाँको सेवा गर्न कहिल्यै दबाब दिनुहुन्‍न। हुनत यहोवाको सेवा गर्दा मात्र हामी अनन्त जीवन पाउन सक्छौँ तर उहाँ कहिल्यै हामीलाई जबरजस्ती गर्नुहुन्‍न। बरु उहाँले प्रत्येक व्यक्‍तिलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। गलत छनौट गर्दा कस्तो नतिजा भोग्नुपर्छ र सही छनौट गर्दा कस्तो आशिष्‌ पाइन्छ भनेर उहाँले हामीलाई बताउनुभएको छ। तर छनौट गर्ने अधिकार भने उहाँले हामीलाई नै दिनुभएको छ। (व्यवस्था ३०:१९, २०) यहोवा कसैले पनि करकापमा परेर वा उहाँको विस्मयकारी शक्‍ति देखेर डरले थरथर काँप्दै उहाँको सेवा गरेको चाहनुहुन्‍न। बरु उहाँ प्रेमले उत्प्रेरित भएर राजीखुसीले उहाँको सेवा गर्नेहरूको कदर गर्नुहुन्छ।—२ कोरिन्थी ९:७.

२२, २३. (क) यहोवा खुसीसाथ आफ्नो शक्‍ति अरूलाई बाँड्‌नुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ? (ख) अर्को अध्यायमा हामी के सिक्नेछौँ?

२२ हामी सर्वशक्‍तिमान्‌ परमेश्‍वरसित डराउनु नपर्ने अन्तिम कारण विचार गरौँ। उच्च ओहदामा भएका मानिसहरू अरूसित आफ्नो अख्तियार बाँड्‌न डराउँछन्‌। तर यहोवा भने खुसीसाथ आफ्ना वफादार उपासकहरूलाई केही हदसम्म अख्तियार सुम्पनुहुन्छ। उहाँले आफ्नो छोरा येसुलाई पनि अख्तियार सुम्पनुभएको छ। (मत्ति २८:१८) यहोवा आफ्ना सेवकहरूलाई अर्को तरिकामा पनि शक्‍ति प्रदान गर्नुहुन्छ। बाइबल भन्छ: “हे यहोवा! महानता, पराक्रम, गौरव, वैभव र ऐश्‍वर्य तपाईँकै हुन्‌। स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्‌। . . . तपाईँको हातमा शक्‍ति र पराक्रम छ। तपाईँको हातले सबैलाई महान्‌ बनाउन र बल दिन सक्छ।”—१ इतिहास २९:११, १२.

२३ हो, तपाईँलाई बल दिन पाउँदा यहोवालाई खुसी लाग्छ। उहाँ आफ्ना सेवकहरूलाई “असाधारण शक्‍ति” दिनुहुन्छ। (२ कोरिन्थी ४:७) आफ्नो उच्च स्तरअनुसार अनि दयालु ढङ्‌गमा आफ्नो शक्‍ति प्रयोग गर्ने यस्तो शक्‍तिशाली परमेश्‍वरसित के हामी नजिक हुन चाहँदैनौ र? अर्को अध्यायमा यहोवा सृष्टि गर्ने शक्‍ति कसरी प्रयोग गर्नुहुन्छ भन्‍नेबारे सिक्नेछौँ।

a “सर्वशक्‍तिमान्‌” भनी अनुवाद गरिएको ग्रीक शब्दको शाब्दिक अर्थ “सबैका शासक; असाध्यै शक्‍तिशाली” हो।

b बाइबलमा “यहोवा परमेश्‍वर आँधीमा . . . , भुईँचालोमा . . .  अनि आगोमा हुनुहुन्‍नथ्यो” भनी बताइएको छ। थुप्रै मानिस विभिन्‍न प्राकृतिक शक्‍तिलाई देवीदेवता मान्छन्‌। तर यहोवा ती कुराहरूमा बास गर्नुहुन्‍न भनेर उहाँका सेवकहरूलाई थाह छ। उहाँ आफूले बनाएको कुनै पनि कुराभन्दा महान्‌ हुनुभएकोले ती कुराहरूमा बास गर्नुहुन्‍न।—१ राजा ८:२७.