सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ५

सृष्टि गर्ने शक्‍ति​—“आकाश र पृथ्वीको सृष्टिकर्ता”

सृष्टि गर्ने शक्‍ति​—“आकाश र पृथ्वीको सृष्टिकर्ता”

१, २. सूर्यले कसरी सृष्टि गर्ने यहोवाको शक्‍तिको प्रमाण दिन्छ?

 के तपाईँ कहिल्यै जाडो मौसममा बाहिर आगो तापेर बस्नुभएको छ? हामी ठिक्कको दूरीमा बसेर आगो ताप्छौँ। अलिकति नजिक गयौँ भने आगोको राप सहन गाह्रो हुन्छ अनि अलिकति पछाडि गयौँ भने चिसोले ठिहिऱ्‍याउन थालिहाल्छ।

हामी हरेक दिन त्यस्तै एउटा “आगोको” ताप लिने गर्छौँ। त्यो “आगो” १५ करोड किलोमिटर टाढा बलिरहेको छ। a त्यो आगो हाम्रो सूर्य हो। सूर्य असाध्यै शक्‍तिशाली भएकोले त्यो एकदमै टाढा भए तापनि हामी त्यसको राप महसुस गर्न सक्छौँ। हाम्रो पृथ्वीले ठिक्कको दूरीमा रहेर सूर्यको परिक्रमा गरिरहन्छ। पृथ्वी सूर्यको एकदम नजिक भएको भए सबै पानी बाफ बनेर उड्‌ने थियो। अर्कोतर्फ पृथ्वी सूर्यको धेरै टाढा भएको भए सबै पानी जम्ने थियो। ती दुवै अवस्थामा पृथ्वीमा जीवन सम्भव हुने थिएन। हो, जीवन धान्‍न सूर्यको किरण नभई हुँदैन। सूर्यको किरण स्वच्छ हुन्छ र यसले गर्दा कुनै किसिमको प्रदूषण हुँदैन। साथै यसको न्यानो स्पर्शले हामीलाई आनन्दित बनाउँछ।—उपदेशक ११:७.

३. सूर्यबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ?

सूर्य जीवन धान्‍न अपरिहार्य छ। तैपनि धेरैले यसबाट महत्त्वपूर्ण पाठ सिक्न सकिन्छ भन्‍ने कुरालाई बेवास्ता गर्छन्‌। बाइबलले यहोवाबारे यसो भन्छ: “ज्योति र सूर्य बनाउनुहुने तपाईँ नै हुनुहुन्छ।” (भजन ७४:१६) हो, सूर्यले “आकाश र पृथ्वीको सृष्टिकर्ता” यहोवाको महिमा गर्छ। (भजन १९:१; १४६:६) तर सूर्यबाहेक ब्रह्‍माण्डमा अन्य अनगिन्ती ताराहरू र आकाशीय पिण्डहरू पनि छन्‌, जसबाट हामी सृष्टि गर्ने यहोवाको अथाह शक्‍तिबारे धेरै कुरा सिक्न सक्छौँ। आउनुहोस्‌, तीमध्ये केही विचार गरौँ। त्यसपछि हामी पृथ्वी र यहाँ भएका विभिन्‍न जीवजन्तुबारे पनि चर्चा गर्नेछौँ।

यहोवा “ज्योति र सूर्य बनाउनुहुने” परमेश्‍वर हुनुहुन्छ

“आफ्नो आँखा उठाएर आकाशतिर हेर”

४, ५. (क) हाम्रो सूर्य कत्तिको ठूलो र शक्‍तिशाली छ? (ख) अरू ताराको तुलनामा सूर्य कत्रो छ?

हाम्रो सूर्य पनि एउटा तारा हो भनेर तपाईँलाई पक्कै थाह होला। राती आकाशमा देखिने ताराहरूभन्दा सूर्य पृथ्वीको धेरै नजिक छ। त्यसैले यो अरू ताराभन्दा ठूलो देखिन्छ। सूर्य कत्तिको शक्‍तिशाली छ? सूर्यको केन्द्रको तापक्रम १ करोड ५० लाख डिग्री सेल्सियसजति छ। यदि सूर्यको केन्द्रबाट सियोको टुप्पोजत्रो सानो टुक्रा ल्याएर पृथ्वीमा राख्ने हो भने त्यसको १४० किलोमिटर वरपर बस्न हामीलाई मुस्किल पर्नेछ। लाखौँलाख आणविक बम विस्फोट हुँदा जति उर्जा उत्पन्‍न हुन्छ, त्यति उर्जा सूर्यले एक सेकेन्डमै उत्पादन गर्छ।

सूर्य कत्रो छ? सूर्यभित्र हाम्रो पृथ्वीजत्रै १३ लाखभन्दा धेरै ग्रह सजिलै अटाउँछ। त्यसोभए के सूर्य नै सबैभन्दा ठूलो तारा हो? होइन। सूर्य केवल मध्यम आकारको तारा हो। प्रेषित पावलले यस्तो लेखे: “हरेक ताराको महिमा फरक-फरक हुन्छ।” (१ कोरिन्थी १५:४१) आफूले परमेश्‍वरको प्रेरणाद्वारा लेखेको यो कुरा कत्ति सही छ भनेर पावललाई हेक्का नै थिएन। एउटा यस्तो विशाल तारा छ, जसलाई सूर्य भएको ठाउँमा राख्ने हो भने त्यसले यत्ति ठूलो इलाका ढाक्छ कि हाम्रो पृथ्वी पनि त्यस ताराभित्रै अटाउँछ। त्यसैगरि अर्को एउटा विशाल तारालाई सूर्य भएको ठाउँमा राख्ने हो भने त्यसले यत्ति ठूलो इलाका ढाक्छ कि शनि ग्रह पनि त्यसभित्रै अटाउँछ। शनि ग्रह पृथ्वीबाट कति टाढा छ? बन्दुकबाट निस्केको गोलीभन्दा ४० गुणा छिटो उड्‌ने अन्तरिक्षयानलाई पनि पृथ्वीबाट शनि ग्रहसम्म पुग्न चार वर्ष लाग्छ।

६. ताराहरूको गन्ती गर्नु मानिसको वशको कुरा होइन भनेर बाइबलले कसरी देखाउँछ?

ताराहरूको आकारभन्दा पनि अचम्मलाग्दो कुरा त तिनीहरूको सङ्‌ख्या हो। बाइबलले बताएअनुसार आकाशमा असङ्‌ख्य ताराहरू छन्‌। त्यसैले “समुद्रको बालुवा जोख्न” नसकिएझैँ आकाशका ताराहरू पनि गन्‍न सकिँदैन। (यर्मिया ३३:२२) स्पष्ट छ, हाम्रा आँखाले देख्न सक्नेभन्दा कैयौँ गुणा धेरै तारा अस्तित्वमा छन्‌। यदि कुनै बाइबल लेखकले राती आकाशमा हेरेर तारा गन्‍न खोजेका भए तिनले तीन हजारजति मात्र गन्‍न सक्थे। कुनै उपकरणविना मानिसको आँखाले खुला आकाशमा गन्‍न सक्ने तारा त्यति नै हो। त्यति सङ्‌ख्या भनेको समुद्र किनाराको एक मुठी बालुवाजति मात्र हो। वास्तवमा ताराहरूको सङ्‌ख्या पनि समुद्रको बालुवाजत्तिकै अनगिन्ती छ। b त्यसैले ताराहरूको गन्ती गर्नु मानिसको वशको कुरा होइन।

“उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ”

७. हाम्रो आकाशगङ्‌गा तारापुञ्जका ताराहरू वा यस ब्रह्‍माण्डका तारापुञ्जको सङ्‌ख्याबारे के भन्‍न सकिन्छ?

यसैया ४०:२६ भन्छ: “आफ्नो आँखा उठाएर आकाशतिर हेर। यी सब कसले बनाएका हुन्‌? उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ? उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।” भजन १४७:४ भन्छ: “उहाँले ताराहरूको गन्ती गर्नुहुन्छ।” त्यसोभए ताराहरू कति छन्‌? यस प्रश्‍नको जवाफ पाउन सजिलो छैन। खगोलविद्‌हरूको अनुमानअनुसार हाम्रो आकाशगङ्‌गा तारापुञ्जमा (मिल्की वे ग्यालेक्सी) मात्रै १०० अरबभन्दा धेरै तारा छन्‌। c अरू कतिपयले त त्योभन्दा पनि धेरै छन्‌ भन्छन्‌। तर ब्रह्‍माण्डमा अरू थुप्रै तारापुञ्ज छन्‌ र तीमध्ये कतिपयमा आकाशगङ्‌गा तारापुञ्जमा भन्दा धेरै तारा छन्‌। ब्रह्‍माण्डमा कति तारापुञ्ज छन्‌? खगोलविद्‌हरूको अनुमानअनुसार अरबौँखरबौँ तारापुञ्ज छन्‌। यदि मानिसहरूले तारापुञ्जको सङ्‌ख्या त गन्‍न सकेका छैनन्‌ भने तीभित्रका खरबौँ ताराको सङ्‌ख्या त झन्‌ कसरी गन्‍न सक्लान्‌ र? तर यहोवालाई भने ताराहरूको सङ्‌ख्या थाह छ। त्यति मात्र होइन, उहाँले प्रत्येक तारालाई नाम समेत दिनुभएको छ।

८. (क) आकाशगङ्‌गा तारापुञ्ज कत्तिको विशाल छ भनेर व्याख्या गर्नुहोस्‌। (ख) ताराहरू अनि अन्य आकाशीय पिण्डहरूको चाल र गति तय गर्न यहोवाले के गर्नुभएको छ?

साथै तारापुञ्जहरू कत्तिको विशाल छन्‌ भन्‍नेबारे विचार गऱ्‍यौँ भने यहोवाप्रतिको हाम्रो श्रद्धा झनै बढ्‌नेछ। वैज्ञानिकहरूको अनुमानअनुसार हाम्रो आकाशगङ्‌गा तारापुञ्जको एक कुनादेखि अर्को कुनासम्मको दूरी १ लाख प्रकाश-वर्ष d छ। सोच्नुहोस्‌ त, एक सेकेन्डमा ३ लाख किलोमिटर यात्रा गर्न सक्ने प्रकाशलाई आकाशगङ्‌गा तारापुञ्जको एक कुनादेखि अर्को कुनासम्म पुग्न १ लाख वर्ष लाग्छ। अझ ब्रह्‍माण्डमा हाम्रो आकाशगङ्‌गा तारापुञ्जभन्दा कैयौँ गुणा ठूला तारापुञ्जहरू पनि छन्‌। हो, बाइबलले भनेझैँ यहोवाले “आकाशलाई पालजस्तै तन्काउनुभएको छ।” (भजन १०४:२) साथै यहोवाले ती ताराहरू र अन्य आकाशीय पिण्डहरूको चाल र गति तय गर्न नियम तोकिदिनुभएको छ। अन्तरिक्षमा भएको धुलोको सानो कण होस्‌ या विशाल तारापुञ्ज, सबै कुरा यहोवाले बनाउनुभएको भौतिक नियमअनुसार नै चल्छन्‌। (अय्युब ३८:३१-३३) त्यसैले वैज्ञानिकहरू ती आकाशीय पिण्डहरूको आपसी तालमेललाई राम्ररी अभ्यास गरिएको नृत्यसित तुलना गर्छन्‌, जसमा धेरै जना फरकफरक मुद्रामा नाचे तापनि एउटै नृत्यको भाग हुन्छन्‌। त्यसोभए अब यत्ति विशाल ब्रह्‍माण्ड सृष्टि गर्नुहुने यहोवा परमेश्‍वरबारे सोचौँ। के यी सब कुरा विचार गर्दा हाम्रो मन उहाँप्रति श्रद्धाले भरिँदैन र?

“उहाँले आफ्नो शक्‍तिले यो पृथ्वी सृष्टि गर्नुभयो”

९, १०. सौर्यमण्डल, बृहस्पति ग्रह, पृथ्वी र चन्द्रमा उपयुक्‍त स्थानमा भएको कुराबाट हामी यहोवाको शक्‍तिबारे के सिक्न सक्छौँ?

हाम्रो पृथ्वीले पनि सृष्टि गर्ने यहोवाको शक्‍तिको अकाट्य प्रमाण दिन्छ। यस विशाल ब्रह्‍माण्डमा यहोवाले पृथ्वीलाई एकदम उपयुक्‍त स्थानमा राख्नुभएको छ। केही वैज्ञानिकहरूको धारणाअनुसार थुप्रै तारापुञ्जमा पृथ्वीजस्तो जीवन धान्‍न सक्ने ग्रहको लागि उपयुक्‍त वातावरण छैन। हाम्रै आकाशगङ्‌गा तारापुञ्जको अधिकांश भागमा समेत जीवन धान्‍न सम्भव छैन। आकाशगङ्‌गा तारापुञ्जको केन्द्रमा असङ्‌ख्य ताराहरू छन्‌। त्यसैले त्यहाँ धेरै मात्रामा विकिरणहरू उत्पन्‍न हुन्छन्‌ र ताराहरू एकअर्कासित ठोक्किने सम्भावना पनि धेरै हुन्छ। त्यसैगरि आकाशगङ्‌गा तारापुञ्जको बाहिरी भागतिर जीवन धान्‍न नभई नहुने तत्वहरूको कमी छ। हाम्रो सौर्यमण्डल न आकाशगङ्‌गा तारापुञ्जको केन्द्रमा अवस्थित छ न त बाहिरी भागमा नै। यो एकदमै उपयुक्‍त स्थानमा छ।

१० पृथ्वीबाट टाढा रहेको एउटा विशाल ग्रह बृहस्पतिले पनि पृथ्वीलाई धेरै सुरक्षा दिइरहेको छ। पृथ्वीभन्दा हजार गुणा ठूलो यस ग्रहमा गुरुत्वाकर्षण शक्‍ति धेरै छ। त्यसले गर्दा के हुन्छ? अन्तरिक्षमा द्रुत गतिमा उडिरहेका उल्का पिण्डहरूलाई बृहस्पति ग्रहले या त आफूतर्फ तान्छ या अन्तै फर्काइदिन्छ। वैज्ञानिकहरूको अनुमानअनुसार बृहस्पति ग्रह नहुने हो भने पृथ्वीमा ठूलठूला उल्का पिण्डको वर्षा हुने खतरा अहिलेको भन्दा दस हजार गुणा धेरै हुने थियो। साथै पृथ्वीको नजिकै रहेको उपग्रह चन्द्रमाले गर्दा पनि पृथ्वीलाई निकै फाइदा पुगेको छ। चन्द्रमा सुन्दर देखिन्छ र यसले रातमा प्रकाश छर्छ। तर चन्द्रमाको काम त्यतिमै सीमित छैन। त्यसले गर्दा पृथ्वी एउटा निश्‍चित कोणमा ढल्केको छ। त्यस ढल्काइले गर्दा पृथ्वीमा हरेक वर्ष मौसमहरू परिवर्तन भइरहन्छ। मौसम परिवर्तनले पनि पृथ्वीमा जीवन सम्भव तुल्याउन ठूलो भूमिका खेल्छ।

११. पृथ्वीको वायुमण्डलले कसरी सुरक्षा कवचको काम गर्छ?

११ पृथ्वीको बनौटको हरेक पक्षबारे विचार गर्दा हामी सृष्टि गर्ने यहोवाको शक्‍तिको प्रमाण पाउँछौँ। उदाहरणको लागि, पृथ्वीको सुरक्षा कवचको काम गर्ने वायुमण्डलबारे विचार गरौँ। सूर्यबाट स्वस्थकर किरणहरूका साथै हानिकारक विकिरणहरू पनि निस्कन्छन्‌। हानिकारक विकिरणहरू वायुमण्डलको माथिल्लो सतहमा ठोकिँदा अक्सिजन ग्याँस ओजोनमा परिणत हुन्छ। यसरी त्यहाँ ओजोन ग्याँसको एउटा तह बन्छ र त्यस तहले अधिकांश हानिकारक विकिरणहरू सोस्छ। हो, हाम्रो पृथ्वी एउटा विशेष सुरक्षा कवचसहित रचना गरिएको छ।

१२. जलचक्रले कसरी सृष्टि गर्ने यहोवाको शक्‍तिको प्रमाण दिन्छ?

१२ यो त हाम्रो वायुमण्डलको कैयौँ विशेषतामध्ये केवल एउटा मात्र हो। हाम्रो वायुमण्डल विभिन्‍न ग्याँसहरूको यस्तो समिश्रण हो, जुन जमिनमा चलहल गर्ने जीवजन्तु र आकाशमा उड्‌ने चराचुरुङ्‌गीको लागि नभई हुँदैन। हाम्रो वायुमण्डलको अर्को एउटा विशेषता जलचक्र हो। सूर्यको तापले गर्दा हरेक वर्ष ४ लाख क्युबिक किलोमिटरभन्दा धेरै पानी बाफ बनेर उड्‌छ। बाफ मिलेर बादल बन्छ र हावाहुरीले बादललाई विभिन्‍न ठाउँमा पुऱ्‍याउँछ। यसरी त्यो पानी प्रशोधन र सफा भएर वर्षा, हिउँ वा असिनाको रूपमा पृथ्वीमा झर्छ अनि पानीका स्रोतहरू भरिन्छन्‌। उपदेशक १:७ मा बताइएको कुरा शतप्रतिशत सही हो: “सबै खोला बगेर समुद्रमा मिसिन्छन्‌ तैपनि समुद्र कहिल्यै भरिँदैन। ती जहाँबाट बग्थे, त्यतैतिर फर्कन्छन्‌ र फेरि बग्न थाल्छन्‌।” यहोवाले मात्र यस्तो विशेष चक्र बनाउन सक्नुहुन्छ!

१३. पृथ्वीमा पाइने बोटबिरूवा र माटोबाट हामी यहोवाको शक्‍तिबारे कस्तो प्रमाण पाउँछौँ?

१३ पृथ्वीमा पाइने हरेक जीवजीवातमा हामी सृष्टिकर्ता यहोवाको शक्‍तिको प्रमाण पाउँछौँ। तीस तले भवनभन्दा पनि अग्लो रेडवुड रुख होस्‌ या प्रशस्त मात्रामा अक्सिजन उत्पादन गर्ने समुद्रका सूक्ष्म बोटबिरूवा, ती सबैमा हामी सृष्टि गर्ने यहोवाको शक्‍ति देख्न सक्छौँ। माटोमा समेत विभिन्‍न किसिमका किरा र सूक्ष्म जीवजीवात पाइन्छ। जस्तै: गड्यौँला र ढुसी। यी सब मिलेर जटिल तरिकामा काम गर्ने भएकोले बोटबिरूवा सप्रिन्छ।

१४. अतिसूक्ष्म परमाणुमा समेत कति शक्‍ति लुकेको हुन्छ?

१४ स्पष्ट छ, यहोवाले “आफ्नो शक्‍तिले यो पृथ्वी सृष्टि गर्नुभयो।” (यर्मिया १०:१२) यहोवाको सानोभन्दा सानो सृष्टिमा समेत हामी उहाँको शक्‍तिको प्रमाण पाउँछौँ। उदाहरणको लागि, परमाणुबारे विचार गरौँ। हामीले १० लाख परमाणुलाई लहरै मिलाएर राख्यौँ भने त्यसले ओगट्‌ने ठाउँ हाम्रो एउटा रौँको मोटाइजति पनि हुँदैन। यदि हामीले एउटा परमाणुलाई १४ तले भवनजत्रो ठूलो बनायौँ भने पनि त्यसको केन्द्र अर्थात्‌ न्युक्लियस त्यस भवनको सातौँ तलामा हुन्छ र त्यो नुनको एउटा सानो कणजत्रो मात्र हुन्छ। हो, परमाणुको न्युक्लियस अति नै सूक्ष्म हुन्छ। तर आणविक बम बिस्फोट हुँदा यही न्युक्लियसबाट सबै कुरा सखाप पार्ने विनाशकारी शक्‍ति उत्पन्‍न हुन्छ।

“सास हुने हरेक जीव”

१५. विभिन्‍न जङ्‌गली जनावरबारे बताएर यहोवा अय्युबलाई के बुझाउन खोज्दै हुनुहुन्थ्यो?

१५ पृथ्वीमा पाइने थरीथरीका जीवजन्तुबारे विचार गर्दा पनि हामी सृष्टि गर्ने यहोवाको शक्‍तिको सशक्‍त प्रमाण पाउँछौँ। भजन १४८ अध्यायमा यहोवाको प्रशंसा गर्ने विभिन्‍न कुराबारे बताइएको छ र पद १० अनुसार ती कुराहरूमा “जङ्‌गली जनावरहरू र सबै घरपालुवा जनावर” पनि पर्छन्‌। मानिसको मनमा सृष्टिकर्ता यहोवाप्रति डर र श्रद्धा हुनुपर्छ भन्‍ने कुरा बुझाउन उहाँले एकपटक अय्युबलाई सिंह, जङ्‌गली गधा, जङ्‌गली साँढे, जलगैँडा र लेवियातानबारे (सम्भवतः गोही) बताउनुभयो। यदि हामी यस्ता डरलाग्दा र शक्‍तिशाली जङ्‌गली जनावरहरू देखेर आश्‍चर्यचकित हुन्छौँ भने तिनीहरूलाई सृष्टि गर्नुहुने परमेश्‍वर झन्‌ कत्ति शक्‍तिशाली हुनुहुन्छ होला!—अय्युब, अध्याय ३८-४१.

१६. यहोवाले बनाउनुभएका केही चराचुरुङ्‌गीका कस्ता विशेषता तपाईँलाई रोचक लाग्छ?

१६ भजन १४८:१० मा “चराचुरुङ्‌गी”-बारे पनि उल्लेख गरिएको छ। त्यसोभए एकछिन विभिन्‍न प्रजातिका चराचुरुङ्‌गीबारे सोच्नुहोस्‌! यहोवाले अय्युबलाई सुतुरमुर्ग अर्थात्‌ अस्ट्रिच “घोडा र घोडसवारलाई देखेर . . . हाँस्छ” भनी बताउनुभयो। हुन पनि साढे दुई मिटर अग्लो यो चरा उड्‌न नसके तापनि ६५ किलोमिटर प्रति घण्टाको गतिमा कुद्‌न सक्छ र एक फड्‌कोमा साढे चार मिटरको दूरी तय गर्न सक्छ। (अय्युब ३९:१३, १८) आल्बाट्रोस भनिने चराबारे पनि विचार गरौँ। यस चराले जीवनको अधिकांश समय समुद्रमाथि उडेर बिताउँछ। निकै मनमोहक तरिकामा उड्‌ने यस चराले आफ्नो पखेटा तीन मिटरसम्म फैलाउन सक्छ। यो चरा आफ्नो पखेटा नफटफटाईकन घण्टौँसम्म उडिरहन सक्छ। अर्कोतर्फ विश्‍वकै सबैभन्दा सानो चरा बि हमिङ्‌बर्डले भने एक सेकेन्डमा ८० पटकसम्म आफ्नो पखेटा फटफटाउन सक्छ र यस चराको लम्बाइ पाँच सेन्टिमिटर मात्र हुन्छ। पखेटा फटफटाउँदा हमिङ्‌बर्ड चमचम चम्किरहेको रत्नजस्तै देखिन्छ। यो चरा हेलिकप्टरजस्तै आफ्नो पखेटा फट्‌फटाउँदै एकै ठाउँमा अडिरहन र पछाडि पनि उड्‌न सक्छ।

१७. ब्लु व्हेल कत्तिको ठूलो हुन्छ र यहोवाले बनाउनुभएका जीवजन्तुहरूबारे विचार गर्दा हामी कस्तो निष्कर्षमा पुग्छौँ?

१७ भजन १४८:७ अनुसार “विशाल जलजन्तुहरू”-ले पनि यहोवाको प्रशंसा गर्छन्‌। एकैछिन संसारको सबैभन्दा ठूलो जीव भनेर चिनिने ब्लु व्हेलबारे विचार गरौँ। “गहिरा सागरहरू”-मा पाइने यस विशाल जीवको लम्बाइ ३० मिटर वा त्योभन्दा धेरै हुन सक्छ। यसको तौल ३० वटा वयस्क हात्तीबराबर हुन्छ। यसको जिब्रोको तौल मात्रै एउटा हात्तीबराबर हुन्छ र यसको मुटु एउटा सानो गाडीजत्रै हुन्छ। हमिङ्‌बर्डको मुटु एक मिनेटमा १ हजार २ सय पटक धड्‌कन्छ भने यस विशाल ब्लु व्हेलको मुटु एक मिनेटमा नौ पटक मात्र धड्‌कन्छ। ब्लु व्हेलको कम्तीमा पनि एउटा रक्‍तनली यत्ति ठूलो हुन्छ कि एउटा सानो बच्चा त्यसभित्र सजिलै बामे सर्न सक्छ। यहोवाले बनाउनुभएका यस्ता जीवजन्तुहरूबारे विचार गर्दा हामी भजनको किताबको अन्तिम पदमा लेखिएको यो कुरा भन्‍न उत्प्रेरित हुन्छौँ: “हे सास हुने हरेक जीव, याहको प्रशंसा गर।”—भजन १५०:६.

सृष्टि गर्ने यहोवाको शक्‍तिबाट के सिक्न सक्छौँ?

१८, १९. यहोवाले पृथ्वीमा कति प्रजातिका जीवजीवात सृष्टि गर्नुभएको छ र उहाँको सृष्टिलाई नियाल्दा हामी उहाँको सार्वभौमिकताबारे के सिक्न सक्छौँ?

१८ यहोवाले सृष्टि गर्ने शक्‍ति प्रयोग गर्नुभएको कुराबाट हामी के सिक्न सक्छौँ? यहोवाको सृष्टिमा पाइने विविधता देख्दा हामी छक्क पर्छौँ। एक भजनरचयिताले आश्‍चर्यचकित हुँदै यसो भने: “हे यहोवा, . . . पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ।” (भजन १०४:२४) भजनरचयिताले लेखेको यो कुरा सोह्रै आना सही छ। जीवशास्त्रीहरूले पत्ता लगाएअनुसार पृथ्वीमा १० लाखभन्दा धेरै प्रजातिका जीवजीवात पाइन्छ। तर कतिपय जीवशास्त्रीको विचारमा जीवजीवातको प्रजाति त्योभन्दा धेरै हुन सक्छ। कहिलेकाहीँ मानव कलाकारहरूलाई आफ्नो सृजनशीलता हराउँदै गएको र केही नयाँपन ल्याउन नसकेको महसुस हुन्छ। तर यहोवा परमेश्‍वर त्यस्तो हुनुहुन्‍न। उहाँसित नयाँ अनि बिलकुलै फरक कुराहरू सृष्टि गर्ने असीमित शक्‍ति छ।

१९ यहोवाले सृष्टि गर्ने शक्‍ति प्रयोग गर्नुभएको कुराबाट हामी उहाँको सार्वभौमिकताबारे पनि धेरै कुरा सिक्न सक्छौँ। “सृष्टिकर्ता” भन्‍ने पदवीले यहोवालाई ब्रह्‍माण्डका सबै कुरादेखि अलग्गै छुट्ट्याउँछ किनभने बाँकी सबै कुरा उहाँका “सृष्टि” मात्र हुन्‌। यहोवाको एक मात्र छोरा येसु ख्रिष्टलाई समेत बाइबलमा सृष्टिकर्ता वा सह-सृष्टिकर्ता भनेर चिनाइएको छैन, जबकि सृष्टिको काममा उहाँले यहोवालाई “मुख्य कारिगरको” रूपमा सघाउनुभएको थियो। (हितोपदेश ८:३०; मत्ति १९:४) बरु बाइबलमा येसुलाई “सारा सृष्टिको पहिलो सन्तान” भनिएको छ। (कलस्सी १:१५) यहोवा मात्र सृष्टिकर्ता हुनुभएकोले सारा ब्रह्‍माण्डभरि शासन गर्ने अधिकार पनि उहाँसित मात्र छ।—रोमी १:२०; प्रकाश ४:११.

२०. यहोवाले सृष्टिको काम सिद्ध्याउनुभएपछि विश्राम लिनुभयो भन्‍नुको अर्थ के हो?

२० के यहोवा अहिले पनि सृष्टि गर्ने शक्‍ति प्रयोग गर्दै हुनुहुन्छ? छ दिनसम्म सृष्टिको काम गर्नुभएपछि “सातौँ दिनमा उहाँले सबै कामबाट विश्राम लिन थाल्नुभयो” भनी बाइबल बताउँछ। (उत्पत्ति २:२) त्यो सातौँ “दिन” हजारौँ वर्षदेखि चलिरहेको छ भनेर प्रेषित पावलले सङ्‌केत गरे र तिनको समयमा पनि त्यो सातौँ दिन चलिरहेको थियो। (हिब्रू ४:३-६) तर के यहोवाले “विश्राम” लिनुभयो भन्‍नुको अर्थ उहाँले त्यसदेखि यता कुनै काम गर्नुभएको छैन भन्‍ने हो? होइन। उहाँ कहिल्यै काम गर्न छोड्‌नुहुन्‍न। (भजन ९२:४; युहन्‍ना ५:१७) त्यसैले उहाँले विश्राम लिनुभयो भन्‍नुको अर्थ उहाँले पृथ्वीमा भौतिक कुराहरू सृष्टि गर्न रोक्नुभयो भन्‍ने मात्र हो। उहाँले आफ्नो उदेश्‍य पूरा गर्न सृष्टिको सुरुदेखि अहिलेसम्म काम गरिरहनुभएको छ। त्यसमा बाइबल लेख्न प्रेरित गर्ने काम पनि पर्छ। साथै यहोवाले एउटा “नयाँ सृष्टि”-को पनि रचना गर्नुभएको छ। त्यसबारे हामी अध्याय १९ मा चर्चा गर्नेछौँ।—२ कोरिन्थी ५:१७.

२१. भविष्यमा यहोवाले सृष्टि गर्ने शक्‍ति प्रयोग गर्नुभएको देख्दा उहाँका वफादार सेवकहरूले कस्तो महसुस गर्नेछन्‌?

२१ भविष्यमा यहोवाको विश्राम सकिँदा सृष्टिको छैटौँ दिनको अन्तमा जस्तै उहाँले आफ्नो सबै काम “असाध्यै राम्रा” छन्‌ भन्‍नुहुनेछ। (उत्पत्ति १:३१) त्यसपछिको समयमा उहाँले सृष्टि गर्ने शक्‍ति कसरी प्रयोग गर्नुहुनेछ भन्‍ने कुरा हेर्न बाँकी नै छ। तर एउटा कुरा भने पक्का छ। यहोवाले सृष्टि गर्ने शक्‍ति प्रयोग गर्नुभएको देख्दा हामी सधैँ आश्‍चर्यचकित हुनेछौँ। यहोवाको सृष्टिलाई नियाल्दै हामी सधैँभरि उहाँबारे सिकिरहनेछौँ। (उपदेशक ३:११) हामी जति यहोवाबारे सिक्दै जान्छौँ, उहाँप्रतिको हाम्रो श्रद्धा त्यति नै बढ्‌नेछ र हाम्रा महान्‌ सृष्टिकर्तासित अझ नजिक हुनेछौँ।

a त्यो दूरी कति लामो हो भनेर बुझ्न एउटा उदाहरण विचार गरौँ। मानिलिनुहोस्‌, तपाईँ गाडीमा यात्रा गर्दै हुनुहुन्छ। तपाईँले गाडी १६० किलोमिटर प्रति घण्टाको गतिमा चौबीसै घण्टा कुदाउनुभयो भने पनि सूर्यसम्म पुग्न तपाईँलाई १०० वर्षभन्दा धेरै समय लाग्छ।

b कसै-कसैले के तर्क गर्छन्‌ भने बाइबलकालीन समयका मानिसहरूसित दूरबीन भएकोले तिनीहरू ताराहरूको सङ्‌ख्या गन्‍न सकिँदैन भन्‍ने निष्कर्षमा पुगे र त्यही कुरा बाइबलमा लेखे। तर यो तर्क आधारहीन छ। यस्तो तर्क गर्नेहरूले वास्तवमा बाइबलका लेखक यहोवा परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा मान्‍न इन्कार गरिरहेका हुन्छन्‌।—२ तिमोथि ३:१६.

c एक सय अरब तारा गन्‍न हामीलाई कति समय लाग्छ, हिसाब गरौँ। यदि हामीले एक सेकेन्डमा एउटा तारा गन्यौँ र चौबीसै घण्टा गनिरह्‍यौँ भने १०० अरब तारा गन्‍न हामीलाई ३,१७१ वर्ष लाग्छ।

d एक प्रकाश-वर्ष भनेको एक सेकेन्डमा ३ लाख किलोमिटर यात्रा गर्ने प्रकाशले एक वर्षमा पार गर्न सक्ने दूरी हो।