सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ७

रक्षा गर्ने शक्‍ति​—“परमेश्‍वर हाम्रो शरणस्थान . . . हुनुहुन्छ”

रक्षा गर्ने शक्‍ति​—“परमेश्‍वर हाम्रो शरणस्थान . . . हुनुहुन्छ”

१, २. ईसापूर्व १५१३ मा सिनैको इलाकामा आइपुग्दा इस्राएलीहरूसामु कस्तो खतरा थियो? यहोवाले तिनीहरूलाई कस्तो आश्‍वासन दिनुभयो?

 ईसापूर्व १५१३ को सुरुतिर इस्राएलीहरू सिनैको इलाकामा आइपुग्दा तिनीहरूको अगाडि विभिन्‍न खतराहरू थिए। तिनीहरूले “विशाल अनि भयानक निर्जनभूमिको बाटो हुँदै” यात्रा गर्नुपर्ने थियो, “जहाँ विषालु सर्प र बिच्छीहरू थिए।” (व्यवस्था ८:१५) तिनीहरूलाई वरपरका शत्रु राष्ट्रहरूबाट पनि खतरा थियो। यहोवाले नै इस्राएलीहरूलाई त्यस्तो खतराको मुखमा पर्न दिनुभएको थियो। के तिनीहरूका परमेश्‍वर यहोवाले तिनीहरूको रक्षा गर्न सक्नुहुने थियो?

उहाँले तिनीहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “मैले मिश्रीहरूलाई के गरेँ अनि चीलले आफ्नो बचेरालाई पखेटामा बोकेझैँ मैले तिमीहरूलाई कसरी बोकेर ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।” (प्रस्थान १९:४) यहोवाले तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको कुरा सम्झाउन चीलले आफ्नो बचेरालाई पखेटामा बोकेको उदाहरण चलाउनुभयो। तर यहोवाले दिनुहुने सुरक्षाबारे बुझाउन ‘चीलको पखेटाको’ उदाहरण प्रयोग गरिनुको अन्य कारण पनि छन्‌।

३. यहोवाले दिनुहुने सुरक्षाबारे बुझाउन ‘चीलको पखेटाको’ उदाहरण किन उपयुक्‍त छ?

चीलले आफ्नो बलियो र फराकिलो पखेटा माथिमाथि उड्‌नको लागि मात्र प्रयोग गर्दैन। माउ चीलले बचेराहरूलाई चर्को घामबाट जोगाउन आफ्नो सात फिटभन्दा लामो पखेटा छातासरी फैलाउँछ अनि चिसो बतासबाट जोगाउन बचेराहरूलाई पखेटाले छोप्छ। चीलले आफ्ना निस्सहाय बचेराहरूको रक्षा गरेझैँ यहोवाले भर्खरै स्थापना भएको इस्राएल राष्ट्रको कदम-कदममा रक्षा गर्नुभयो र तिनीहरूको लागि ढाल बन्‍नुभयो। तिनीहरू यहोवाप्रति वफादार रहेको खण्डमा निर्जनभूमिको खतरनाक यात्रामा पनि उहाँको बलवान्‌ पखेटामुनि शरण पाइरहने थिए। (व्यवस्था ३२:९-११; भजन ३६:७) तर के यहोवा आज हाम्रो पनि रक्षा गर्नुहुन्छ भनेर आशा गर्न सक्छौँ?

परमेश्‍वर हाम्रो रक्षा गर्ने प्रतिज्ञा गर्नुहुन्छ

४, ५. परमेश्‍वरले हाम्रो रक्षा गर्नुहुन्छ भन्‍ने प्रतिज्ञामा किन पूर्ण भरोसा गर्न सक्छौँ?

यहोवा आफ्ना सेवकहरूको रक्षा गर्न सक्नुहुन्छ। उहाँ “सर्वशक्‍तिमान्‌ परमेश्‍वर” हुनुहुन्छ। (उत्पत्ति १७:१) यस पदवीबाट उहाँसित असीमित शक्‍ति छ भन्‍ने कुरा स्पष्ट हुन्छ। जसरी उर्लिरहेको छाललाई रोक्न सकिँदैन, त्यसैगरि परमेश्‍वरले आफ्नो शक्‍ति प्रयोग गर्नुहुँदा त्यसलाई कसैले रोक्न सक्दैन। त्यसैले हाम्रो मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ: ‘के यहोवा त्यो शक्‍ति प्रयोग गरेर आफ्ना जनहरूको रक्षा गर्न चाहनुहुन्छ?’

अवश्‍यै चाहनुहुन्छ। उहाँले आफ्ना जनहरूको रक्षा गर्ने प्रतिज्ञा गर्नुभएको छ। भजन ४६:१ यसो भन्छ: “परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, दुःखको समयमा सजिलै पाइने मदतगार।” यहोवा “कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वर” हुनुहुन्छ। (तितस १:२) त्यसैले हाम्रो रक्षा गर्ने परमेश्‍वरको प्रतिज्ञामा हामी पूर्ण भरोसा गर्न सक्छौँ। उहाँले रक्षा गर्ने आफ्नो शक्‍तिबारे हामीलाई बुझाउन के-कस्ता जीवन्त उदाहरणहरू चलाउनुभएको छ, तीमध्ये केही विचार गरौँ।

६, ७. (क) बाइबलकालीन समयको गोठालोले भेडाहरूलाई कसरी जोगाउँथे? (ख) यहोवा आफ्ना भेडाहरूलाई जोगाउन असाध्यै इच्छुक हुनुहुन्छ भनेर बुझाउन बाइबलमा कस्तो उदाहरण चलाइएको छ?

यहोवा हाम्रो गोठालो हुनुहुन्छ। “हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।” (भजन २३:१; १००:३) घरपालुवा भेडाजत्तिको निस्सहाय जनावर कमै होलान्‌। बाइबलकालीन समयमा गोठालोले भेडाहरूलाई सिंह, ब्वाँसो, भालु र चोरहरूबाट जोगाउन निकै साहस देखाउनुपर्थ्यो। (१ समुएल १७:३४, ३५; युहन्‍ना १०:१२, १३) तर गोठालोले भेडाहरूलाई जोगाउन कुनै-कुनै अवस्थामा कोमलता पनि देखाउनुपर्थ्यो। उदाहरणको लागि, कुनै भेडा आफ्नो खर्कबाट टाढा ब्याउँदा गोठालोले त्यस निस्सहाय माउ भेडालाई जोगाउनुपर्थ्यो र विशेष हेरचाह गर्नुपर्थ्यो। साथै तिनले भर्खरै जन्मेको कमजोर र निरीह पाठोलाई पनि बोकेर खर्कमा ल्याउनुपर्थ्यो।

“उहाँले . . . तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ”

यहोवाले आफूलाई त्यस्तै मायालु गोठालोसित तुलना गर्नुभएको छ र हाम्रो रक्षा गर्ने आफ्नो तीव्र इच्छा व्यक्‍त गर्नुभएको छ। (इजकिएल ३४:११-१६) यस किताबको अध्याय २ मा छलफल गरिएको यसैया ४०:११ मा यस्तो लेखिएको छ: “गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ। आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछ र तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ। दूध खुवाइरहेका माउहरूलाई चाहिँ उहाँले बिस्तारै-बिस्तारै डोऱ्‍याउनुहुनेछ।” एउटा सानो पाठो कसरी गोठालोको “छाती” अर्थात्‌ पोल्टासम्म पुग्न सक्थ्यो? सायद त्यो पाठो गोठालोको नजिकै आउँथ्यो र बिस्तारै तिनको खुट्टामा कोट्याउँथ्यो। त्यसपछि ती गोठालो निहुरेर त्यस पाठोलाई उचाल्थे अनि आफ्नो छातीमा बोक्थे। यस मन छुने उदाहरणबाट हाम्रो महान्‌ गोठालो यहोवा पनि हाम्रो रक्षा गर्न कत्ति इच्छुक हुनुहुन्छ भनेर स्पष्ट हुन्छ।

८. (क) यहोवाको सुरक्षा कसले पाउँछ? यस कुरालाई हितोपदेश १८:१० ले कसरी स्पष्ट पार्छ? (ख) परमेश्‍वरको नाममा शरण लिनुको अर्थ के हो?

हामीले स्वतः परमेश्‍वरको सुरक्षा पाउने होइन। उहाँसित नजिक हुनेहरूले मात्र उहाँको सुरक्षा पाउँछन्‌। हितोपदेश १८:१० यसो भन्छ: “यहोवाको नाम बलियो धरहरा हो; धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।” बाइबलकालीन समयमा मानिसहरूले शरण लिन सकून्‌ भनेर निर्जनभूमिमा धरहराहरू बनाइएका हुन्थे। तर त्यहाँसम्म जाने जिम्मेवारी खतरामा परेको व्यक्‍ति स्वयम्‌को हुन्थ्यो। परमेश्‍वरको नाममा शरण लिनु पनि त्यस्तै हो। यसको अर्थ उहाँको नाम मन्त्र जपेझैँ जप्नु त होइन। बरु त्यो नाम धारण गर्नुहुने परमेश्‍वरलाई चिन्‍नु, उहाँमा भरोसा गर्नु र उहाँका स्तरहरूअनुसार जीवन बिताउनु हो। हामीले त्यसो गरेको खण्डमा यहोवा हाम्रो निम्ति बलियो धरहरा हुनुहुनेछ, जहाँ हामी शरण लिन सक्छौँ।

“हाम्रा परमेश्‍वर[ले] . . . हामीलाई बचाउनुहुनेछ”

९. यहोवाले आफ्ना जनहरूको रक्षा गर्ने प्रतिज्ञा कसरी पूरा गर्नुभएको छ?

यहोवाले आफ्ना जनहरूको रक्षा गर्ने प्रतिज्ञा मात्र गर्नुभएको छैन बरु त्यसअनुसार काम पनि गर्नुभएको छ। बाइबलकालीन समयमा उहाँले आफ्ना जनहरूको रक्षा गर्न धेरै चोटि आफ्नो शक्‍ति प्रयोग गर्नुभयो। इस्राएलीहरूको इतिहास हेर्ने हो भने उहाँले थुप्रै चोटि आफ्नो बलवान्‌ “हात” उठाएर शक्‍तिशाली शत्रु राष्ट्रहरूलाई परास्त गर्नुभयो। (प्रस्थान ७:४) तर उहाँले व्यक्‍तिविशेषको रक्षा गर्न पनि आफ्नो शक्‍ति प्रयोग गर्नुभयो।

१०, ११. यहोवाले रक्षा गर्ने आफ्नो शक्‍ति व्यक्‍तिविशेषको लागि पनि प्रयोग गर्नुभएको कस्ता उदाहरणहरू बाइबलमा पाइन्छ?

१० सद्रक, मेसक र अबेद्‌नेगो भनेर चिनिएका तीन हिब्रू ठिटाले सामना गर्नुपरेको परिस्थितिबारे विचार गरौँ। त्यतिबेलाका सबैभन्दा शक्‍तिशाली राजा नबुकद्‌नेजरले आफ्नो विशाल मूर्ति स्थापना गरेका थिए। ती ठिटाहरूले त्यस सुनको मूर्तिलाई दण्डवत्‌ गर्न नमान्दा राजाले तिनीहरूलाई दनदन दन्किरहेको आगोको भट्टीमा फालिदिने धम्की दिए। तिनले यसो भने: “हेरौँला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्दो रहेछ!” (दानिएल ३:१५) ती हिब्रू ठिटाहरू यहोवा परमेश्‍वरसित तिनीहरूको रक्षा गर्ने शक्‍ति छ भन्‍ने कुरामा विश्‍वस्त थिए। तर तिनीहरूले उहाँले जसरी भए पनि बचाउनुहुनेछ भनेर सोचेका थिएनन्‌। (दानिएल ३:१७, १८) त्यसपछि राजाले आगोको भट्टीलाई सदाभन्दा सात गुणा बढी दन्काउन हुकुम दिए। तर आफ्ना सेवकहरूको रक्षा गर्नदेखि सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवालाई त्यस आगोले रोक्न सकेन। त्यसैले राजा नबुकद्‌नेजर यो कुरा स्विकार्न बाध्य भए: “अरू कुनै पनि देवताले यसरी बचाउन सक्दैन।”—दानिएल ३:२९.

११ अर्को उदाहरण विचार गरौँ। यहोवाले आफ्नो एक मात्र छोरा येसुको जीवन यहुदी कन्या मरियमको गर्भमा सुरक्षितसाथ सारिदिनुहुँदा रक्षा गर्ने उहाँको शक्‍ति प्रकट भयो। एक जना स्वर्गदूतले मरियमलाई यसो भने: “तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ।” ती स्वर्गदूतले यसो पनि भने: “पवित्र शक्‍ति तिमीमाथि आउनेछ र सर्वोच्च परमेश्‍वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ।” (लुका १:३१, ३५) परमेश्‍वरको छोरा यत्तिको असुरक्षित अवस्थामा पहिला कहिल्यै पर्नुभएको थिएन। येसु मानव आमाको गर्भमा छँदा के उहाँमा पनि पाप र त्रुटिपूर्ण अवस्था सर्ने थियो? उहाँ जन्मनुअघि नै के सैतानले उहाँलाई चोट पुऱ्‍याउन वा मार्न सक्ने थियो? त्यस्तो कदापि हुने थिएन। एक अर्थमा यहोवाले मरियमको चारैतिर सुरक्षाको पर्खाल लगाइदिनुभएको थियो। त्यसैले गर्भमा हुर्किरहनुभएको येसुलाई त्रुटिपूर्ण अवस्था, कुनै विनाशकारी शक्‍ति, कुनै हत्यारा वा कुनै प्रेतले केही हानि पुऱ्‍याउन सकेन। येसु जन्मनुभएपछि पनि यहोवाले उहाँलाई जोगाइरहनुभयो। (मत्ति २:१-१५) आफूले तोकेको समय नआउन्जेल यहोवाले कसैलाई पनि आफ्नो प्यारो छोरालाई हानि पुऱ्‍याउन दिनुभएन।

१२. बाइबलकालीन समयमा यहोवाले किन कसै-कसैलाई चमत्कारपूर्ण तरिकामा रक्षा गर्नुभयो?

१२ त्यसोभए प्रश्‍न उठ्‌छ: यहोवाले किन चमत्कारपूर्ण तरिकामा कसै-कसैको रक्षा गर्नुभयो? धेरैजसो अवस्थामा उहाँले आफ्नो उद्देश्‍य पूरा गर्न त्यसो गर्नुभयो। उदाहरणको लागि, यहोवाले नवजात येसुलाई जोगाउनु आवश्‍यक थियो किनकि सम्पूर्ण मानवजातिले येसुद्वारै उद्धार पाउने थियो। उहाँले आफ्ना जनहरूको रक्षा गर्न आफ्नो शक्‍ति प्रयोग गर्नुभएको थुप्रै विवरण बाइबलमा सुरक्षित छन्‌। ती “हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌ ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।” (रोमी १५:४) हो, यस्ता विवरणहरूले सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवामाथिको हाम्रो विश्‍वास अझ बलियो बनाउँछ। त्यसोभए के आज पनि यहोवाले हामीलाई हरेक अवस्थामा चमत्कारपूर्ण तरिकामा जोगाउनुभएको आशा गर्न सक्छौँ?

परमेश्‍वरले रक्षा गर्नुहुन्छ भन्‍नुको अर्थ के होइन?

१३. यहोवाले हामीलाई हरेक अवस्थामा चमत्कारपूर्ण तरिकामा जोगाउनुभएको आशा गर्न किन मिल्दैन?

१३ यहोवाले हाम्रो रक्षा गर्ने प्रतिज्ञा गर्नुभएको छ। तर त्यसको अर्थ उहाँ सधैँ हाम्रो लागि चमत्कार गर्नुहुन्छ भन्‍ने त होइन। यस दुष्ट संसारमा यहोवाले हाम्रो जीवन समस्यामुक्‍त हुनेछ भनेर ग्यारेन्टी दिनुभएको छैन। उहाँका धेरैजसो वफादार सेवकले निकै कठिन समस्याहरू झेलिरहेका छन्‌। जस्तै: गरिबी, युद्ध, रोगबिमार र मृत्यु। साथै आफ्नो विश्‍वासको कारण चेलाहरूले मृत्यु भोग्नुपर्नेछ भनेर पनि येसुले स्पष्ट बताउनुभएको थियो। त्यसैले हामीले अन्तसम्म सहनुपर्छ भनेर उहाँले जोड दिनुभयो। (मत्ति २४:९, १३) यहोवाले हामीलाई हरेक अवस्थामा चमत्कारपूर्ण ढङ्‌गमा आफ्नो शक्‍ति प्रयोग गरेर जोगाउनुहुँदो हो त सैतानले पक्कै उहाँको खिसी गर्ने थियो र हामीले असल मनसायले उहाँको सेवा गरिरहेका छैनौँ भनेर दाबी गर्ने थियो।—अय्युब १:९, १०.

१४. यहोवा आफ्ना सबै सेवकको एउटै तरिकामा रक्षा गर्नुहुन्‍न भनेर कस्ता उदाहरणहरूले देखाउँछ?

१४ बाइबलकालीन समयमा पनि यहोवाले आफ्नो प्रत्येक सेवकलाई असामयिक मृत्युबाट जोगाउनुभएन। उदाहरणको लागि, इस्वी संवत्‌ ४४ मा हेरोदले प्रेषित याकुबको हत्या गरे। तर त्यसको केही समयपछि यहोवाले पत्रुसलाई भने “हेरोदको हातबाट” जोगाउनुभयो। (प्रेषित १२:१-११) याकुबका दाइ प्रेषित युहन्‍नाको कुरा गर्ने हो भने तिनी पत्रुस र याकुबभन्दा लामो समय बाँचे। स्पष्ट छ, यहोवाले आफ्ना सबै सेवकको एउटै तरिकामा रक्षा गर्नुभएको आशा गर्न मिल्दैन। त्यसबाहेक “कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ।” (उपदेशक ९:११) त्यसोभए आज यहोवा कसरी हाम्रो रक्षा गर्नुहुन्छ?

यहोवा शारीरिक तवरमा रक्षा गर्नुहुन्छ

१५, १६. (क) यहोवा आफ्ना उपासकहरूलाई समूहको रूपमा रक्षा गर्नुहुन्छ भन्‍ने कुराको कस्तो प्रमाण छ? (ख) यहोवाले अहिले र “महासङ्‌कष्ट”-मा आफ्ना सेवकहरूको रक्षा गर्नुहुन्छ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ?

१५ यहोवा कसरी शारीरिक तवरमा रक्षा गर्नुहुन्छ, त्यसबारे विचार गरौँ। उहाँ आफ्ना उपासकहरूलाई समूहको रूपमा रक्षा गर्नुहुन्छ नत्र त हामी सजिलै सैतानको सिकार बन्‍ने थियौँ। विचार गर्नुहोस्‌ त, “यस संसारको शासक” सैतान साँचो उपासनाको नामोनिसान मेटाउन जे गर्न पनि तयार छ। (युहन्‍ना १२:३१; प्रकाश १२:१७) पृथ्वीका केही शक्‍तिशाली सरकारहरूले हाम्रो साक्षीकार्यमा प्रतिबन्ध लगाएका छन्‌ र हामीलाई निमिट्यान्‍न पार्न लागिपरेका छन्‌। तैपनि यहोवाका सेवकहरू आफ्नो विश्‍वासमा अडिग छन्‌ र साक्षीकार्यमा लागिरहेका छन्‌। यस्ता शक्‍तिशाली राष्ट्रहरूले सानो र निस्सहाय देखिने ख्रिष्टियनहरूको यस सानो समूहलाई किन रोक्न सकेको छैन? किनभने यहोवाले हामीलाई आफ्नो बलवान्‌ पखेटामुनि सुरक्षित राख्नुभएको छ।—भजन १७:७, ८.

१६ त्यसोभए के आउँदै गरेको “महासङ्‌कष्ट”-मा यहोवाले हाम्रो रक्षा गर्नुहुनेछ? उहाँले यस दुष्ट संसारको न्याय गर्नुहुँदा हामी डराउनु पर्दैन किनभने “परमेश्‍वरको भक्‍ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने तर अधर्मीहरूलाई भने न्यायको दिनमा नाश गर्नका लागि कसरी राखिछोड्‌ने, सो यहोवा परमेश्‍वर जान्‍नुहुन्छ।” (प्रकाश ७:१४; २ पत्रुस २:९) त्यतिन्जेल हामी दुइटा कुरामा ढुक्क हुन सक्छौँ। पहिलो, यहोवाले कहिल्यै आफ्ना वफादार सेवकहरूको अस्तित्व मेटिन दिनुहुनेछैन। दोस्रो, उहाँले आफ्ना निष्ठावान्‌ सेवकहरूलाई नयाँ संसारमा अनन्त जीवन दिनुहुनेछ र मरिसकेका आफ्ना सेवकहरूलाई फेरि जीवित पार्नुहुनेछ। मृत्युको चिर निद्रामा परेकाहरूको लागि उहाँको सम्झनामा रहनुजत्तिको सुरक्षित ठाउँ अरू कुन होला र?—युहन्‍ना ५:२८, २९.

१७. यहोवा हामीलाई आफ्नो वचनमार्फत कसरी जोगाउँदै हुनुहुन्छ?

१७ अहिले पनि यहोवा हामीलाई आफ्नो जीवित “वचन” बाइबलमार्फत जोगाउँदै हुनुहुन्छ। (हिब्रू ४:१२) बाइबलमा हाम्रो मनको चोट निको पार्न सक्ने शक्‍ति छ र यसले जीवनमा आमूल परिवर्तनहरू गर्न पनि मदत गर्छ। बाइबलका सिद्धान्तहरू लागू गर्दा हामी केही हदसम्म शारीरिक तवरमा सुरक्षित हुन्छौँ। यसैया ४८:१७ यसो भन्छ: “म यहोवा . . . तिमीहरूकै भलाइ होस्‌ भनेर . . . तिमीहरूलाई सिकाउँछु।” हो, परमेश्‍वरको वचनमा पाइने निर्देशनहरू पालन गर्दा हाम्रो स्वास्थ्य राम्रो हुन्छ र आयु लम्बिन्छ। उदाहरणको लागि, बाइबलले हामीलाई अवैध यौनसम्बन्धबाट अनि तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराहरूबाट अलग रहन सल्लाह दिएको छ। यस्ता सल्लाहहरू लागू गर्दा हामीमा हानिकारक र अशुद्ध बानीहरू विकास हुन पाउँदैन, जुन बानीहरूले गर्दा परमेश्‍वरलाई नचिन्‍ने धेरै मानिसको जीवन तहसनहस भइरहेको छ। (प्रेषित १५:२९; २ कोरिन्थी ७:१) यहोवाले आफ्नो वचन बाइबलमार्फत हाम्रो रक्षा गरिरहनुभएकोमा हामी कत्ति धन्यवादी छौँ!

यहोवा आध्यात्मिक तवरमा रक्षा गर्नुहुन्छ

१८. यहोवा कसरी हामीलाई आध्यात्मिक तवरमा जोगाउनुहुन्छ?

१८ सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा आध्यात्मिक तवरमा रक्षा गर्नुहुन्छ। कसरी? हामीलाई परीक्षाहरू सहन र उहाँसितको सम्बन्ध जोगाइराख्न आवश्‍यक सबै कुरा दिएर। यहोवा हामी केही वर्ष मात्र होइन तर सधैँभरि बाँचेको चाहनुहुन्छ। त्यसैले हाम्रो आध्यात्मिक सुरक्षाको लागि उहाँले विभिन्‍न प्रबन्ध मिलाउनुभएको छ। आउनुहोस्‌, तीमध्ये केही विचार गरौँ।

१९. पवित्र शक्‍तिले हामीलाई परीक्षाहरूको सामना गर्न कसरी तयार बनाउँछ?

१९ यहोवा “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” हुनुहुन्छ। (भजन ६५:२) जीवनमा तीनथुप्रो समस्या आइपर्दा उहाँलाई प्रार्थना गऱ्‍यौँ भने हामीले राहत महसुस गर्नेछौँ। (फिलिप्पी ४:६, ७) हुनत उहाँले चमत्कारपूर्ण तरिकामा हाम्रा समस्याहरू हटाइदिनुहुन्‍न तर ती समस्याहरूको सामना गर्न आवश्‍यक समझ र बुद्धि दिनुहुन्छ। (याकुब १:५, ६) अझ महत्त्वपूर्ण कुरा, यहोवा उहाँसित पवित्र शक्‍ति माग्नेहरूलाई प्रशस्तगरि दिनुहुन्छ। (लुका ११:१३) पवित्र शक्‍तिले हामीलाई जस्तोसुकै परीक्षा वा समस्याको सामना गर्न तयार बनाउँछ। हो, यसले हामीमा “असाधारण शक्‍ति” भरिदिन्छ र हामीलाई नयाँ संसार नआएसम्म सहनशील हुन मदत गर्छ।—२ कोरिन्थी ४:७.

२०. यहोवाले हाम्रो आध्यात्मिक सुरक्षाको लागि मिलाउनुभएको अर्को प्रबन्ध के हो?

२० यहोवाले हाम्रो आध्यात्मिक सुरक्षाको लागि मिलाउनुभएको अर्को प्रबन्ध हो, दाजुभाइ दिदीबहिनीको मदत। उहाँले सबै राष्ट्रका मानिसहरूलाई आफूतर्फ खिच्नुभएको छ र तिनीहरू विश्‍वव्यापी भ्रातृत्वको भाग बनेका छन्‌। (१ पत्रुस २:१७; युहन्‍ना ६:४४) तिनीहरूमाझ परमेश्‍वरको पवित्र शक्‍तिले काम गरिरहेको हामी स्पष्ट देख्न सक्छौँ। त्यस शक्‍तिले हामीलाई प्रेम, दया र भलाइजस्ता असल गुणहरू विकास गर्न मदत गर्छ। (गलाती ५:२२, २३) हामीलाई समस्या पर्दा मण्डलीको कुनै भाइ वा बहिनीले आवश्‍यक सल्लाह-सुझाव वा प्रोत्साहन दिन सक्छन्‌। त्यतिबेला हामीले यहोवालाई धन्यवाद दिनुपर्छ किनकि यो उहाँले हाम्रो रक्षा गर्न मिलाउनुभएको प्रबन्ध हो।

२१. (क) यहोवाले “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत हाम्रो लागि कस्तो प्रबन्ध मिलाउनुभएको छ? (ख) यहोवाका प्रबन्धहरूबाट तपाईँले कस्तो लाभ उठाउनुभएको छ?

२१ यहोवाले हाम्रो रक्षा गर्न ठीकठीक समयमा आध्यात्मिक भोजनको प्रबन्ध पनि मिलाउनुभएको छ। त्यसको लागि उहाँले “विश्‍वासी र बुद्धिमान्‌ दास” नियुक्‍त गर्नुभएको छ। परमेश्‍वरको वचनबाट बल पाउन सकौँ भनेर यस विश्‍वासी दासले नियमित रूपमा विभिन्‍न प्रकाशनहरू उपलब्ध गराउँछ। जस्तै: प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिका अनि हाम्रो jw.org वेबसाइट। साथै यस दासले सभा, सम्मेलन र अधिवेशन पनि आयोजना गर्छ। यसरी हाम्रो लागि “ठीक समयमा भोजन” उपलब्ध भइरहेकोले हामीले चाहिएकै आध्यात्मिक पोषण पाइरहेका छौँ। (मत्ति २४:४५) सभामा उपस्थित हुँदा के तपाईँले कुनै टिप्पणी, भाषण वा प्रार्थनाबाट आफूलाई चाहिएकै बल र प्रोत्साहन पाउनुभएको छ? अथवा के कुनै लेखले तपाईँको जीवनलाई नयाँ मोड दिएको छ? यी सबै आध्यात्मिक प्रबन्धहरू यहोवाले हाम्रो रक्षा गर्न मिलाउनुभएको हो।

२२. यहोवा सधैँ आफ्नो शक्‍ति केको लागि प्रयोग गर्नुहुन्छ? त्यसले गर्दा कसरी मानिसजातिको भलाइ हुन्छ?

२२ यहोवा “उहाँमा शरण लिने सबैका लागि” ढाल हुनुहुन्छ। (भजन १८:३०) उहाँले अहिले नै हामीलाई सबै समस्याबाट मुक्‍त गर्न आफ्नो शक्‍ति प्रयोग गर्नुभएको हामी आशा गर्दैनौँ। जेहोस्‌, उहाँले सधैँ त्यो शक्‍ति आफ्नो उद्देश्‍य पूरा गर्न प्रयोग गर्नुहुन्छ। त्यसले गर्दा अन्ततः सबै मानिसजातिको भलाइ हुनेछ। उहाँसित नजिक भइरह्‍यौँ र आफूलाई उहाँको प्रेम पाउन लायक बनाइराख्यौँ भने उहाँले समस्यामुक्‍त नयाँ संसारमा हामीलाई अनन्त जीवन दिनुहुनेछ। त्यस आशालाई मनमा राख्दा हामीले अहिले सामना गरिरहेका सबै समस्यालाई “क्षणिक र हलुका” ठान्‍न सक्नेछौँ।—२ कोरिन्थी ४:१७.