सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ८

पुनर्स्थापना गर्ने शक्‍ति​—यहोवाले “सबै थोक नयाँ बनाउँदै” हुनुहुन्छ

पुनर्स्थापना गर्ने शक्‍ति​—यहोवाले “सबै थोक नयाँ बनाउँदै” हुनुहुन्छ

१, २. आज मानिसहरूले के-कस्ता कुराहरू गुमाउनुपरेको छ र त्यसले गर्दा हामी कस्तो महसुस गर्छौँ?

 मानिलिनुहोस्‌, एक जना बच्चाको असाध्यै मन पर्ने खेलौना बिग्रन्छ वा हराउँछ र ऊ धुरुधुरु रुन थाल्छ। उसको विचारमा त्यो खेलौना कहिल्यै बन्दैन वा भेटिँदैन। तर उसको आमा वा बुबाले त्यो खेलौना फेरि जस्ताको त्यस्तै बनाइदिँदा वा खोजिदिँदा ऊ कत्ति खुसी हुन्छ होला, कल्पना गर्नुहोस्‌ त! उसको आमा वा बुबाको लागि त्यो खेलौना बनाइदिनु वा खोजिदिनु गाह्रो कुरा नहुन सक्छ। तर त्यो बच्चा भने खेलौना पाउँदा निकै खुसी हुन्छ र दङ्‌ग पर्छ किनकि उसले त्यो खेलौना सधैँको लागि गुम्यो भन्ठानेको थियो।

तर हामीले जीवनमा खेलौनाभन्दा पनि महत्त्वपूर्ण कुराहरू गुमाउनुपर्ने हुन्छ। किनभने अहिले हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ। (२ तिमोथि ३:१-५) आज मानिसहरूले आफूलाई असाध्यै प्यारो लाग्ने कुराहरू गुमाइरहेका छन्‌। जस्तै: घर, धनसम्पत्ति, जागिर र सुस्वास्थ्य। साथै विभिन्‍न कारणले अहिले वातावरणको विनाश भइरहेको छ, जसले गर्दा थुप्रै प्रजातिका जीवजीवात लोप भइरहेका छन्‌। यसबारे सोच्दा पनि हामीलाई चिन्ता लाग्न सक्छ। त्यसमाथि मृत्युले गर्दा प्रियजन गुमाउनुपर्दाको पीडा त शब्दमा बयानै गर्न सकिँदैन। यस्ता परिस्थितिहरूले गर्दा हामी लाचार महसुस गर्छौँ तर यहोवा सर्वोत्कृष्ट बुबा हुनुहुन्छ र पृथ्वीमा भएका आफ्ना छोराछोरीलाई धेरै माया गर्नुहुन्छ। त्यसैले तिनीहरूले गुमाएका सबै कुरा उहाँ फिर्ता गरिदिन सक्नुहुन्छ।—२ समुएल १८:३३.

३. प्रेषित ३:२१ मा कस्तो सान्त्वनादायी कुरा बताइएको छ? यहोवाले त्यो कसरी पूरा गर्नुहुनेछ?

यहोवाको त्यस्तो पुनर्स्थापना गर्ने शक्‍तिबारे थाह पाउँदा हामी साँच्चै सान्त्वना पाउँछौँ, होइन र? यस अध्यायभरि हामी यहोवाले पृथ्वीमा भएका आफ्ना छोराछोरीका लागि के-के पुनर्स्थापना गरिदिनुहुनेछ भन्‍नेबारे बुझ्नेछौँ। बाइबलमा “सबै कुरा पुनर्स्थापित” हुने समय आउँदै छ भनी बताइएको छ। (प्रेषित ३:२१) यहोवाले मसीही राज्यमार्फत त्यो उद्देश्‍य पूरा गर्नुहुनेछ। उहाँले आफ्नो छोरा येसु ख्रिष्टलाई यस राज्यको राजा नियुक्‍त गर्नुभएको छ। प्रमाणहरू केलाउने हो भने त्यस राज्यले इस्वी संवत्‌ १९१४ देखि स्वर्गमा शासन गर्दै छ भनी स्पष्ट हुन्छ। a (मत्ति २४:३-१४) त्यस राज्यले के-के पुनर्स्थापना गर्नेछ? आउनुहोस्‌, यहोवाले गर्नुभएको र भविष्यमा गर्नुहुने पुनर्स्थापनाका कामहरूबारे विचार गरौँ। तीमध्ये एउटा त अहिले हामीले पनि देखिरहेका र अनुभव गरिरहेका छौँ। पुनर्स्थापनाका बाँकी कामहरू भने भविष्यमा अझ व्यापक तवरमा गरिनेछन्‌।

शुद्ध उपासनाको पुनर्स्थापना

४, ५. ईसापूर्व ६०७ मा परमेश्‍वरका जनहरूलाई के भयो अनि यहोवाले तिनीहरूलाई कस्तो आशा दिनुभयो?

यहोवाले पुनर्स्थापना गरिसक्नुभएको एउटा कुरा शुद्ध उपासना हो। के त्यसको अर्थ कुनै समय शुद्ध उपासनाको अस्तित्व मेटिएको थियो? त्यसबारे बुझ्न आउनुहोस्‌, यहुदा राष्ट्रको इतिहास छोटकरीमा विचार गरौँ। त्यसबारे बुझ्दा हामीले यहोवाको पुनर्स्थापना गर्ने शक्‍तिको प्रमाण पाउनेछौँ।—रोमी १५:४.

ईसापूर्व ६०७ मा यरुसलेम सहर विनाश भयो। त्यतिबेला वफादार यहुदीहरूले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त! तिनीहरूको प्यारो सहर तहसनहस भएको थियो। सहरका विशाल पर्खालहरू भत्किएका थिए। अझ दुःखलाग्दो कुरा, सुलेमानले बनाएको भव्य मन्दिर भग्नावशेषमा परिणत भएको थियो, जुन कुनै समय पूरै पृथ्वीमा शुद्ध उपासनाको एक मात्र केन्द्र थियो। (भजन ७९:१) त्यहाँका बासिन्दाहरूलाई कैदी बनाएर बेबिलोन लगियो, जसले गर्दा तिनीहरूको घर जङ्‌गली जनावरहरूको ओडार बन्यो। (यर्मिया ९:११) मानिसको नजरबाट हेर्ने हो भने सबै थोक भताभुङ्‌ग भएको थियो। (भजन १३७:१) तर यहोवाले नै त्यस विनाशबारे धेरै समयअघि भविष्यवाणी गर्नुभएको थियो र निकट भविष्यमा शुद्ध उपासना पुनर्स्थापित हुनेछ भनेर आशा पनि दिनुभएको थियो।

६-८. (क) हिब्रू भविष्यवक्‍ताहरूले कुन विषयमा धेरै चोटि भविष्यवाणी गरे र ती भविष्यवाणीहरूको आंशिक पूर्ति कसरी भयो? (ख) आधुनिक समयमा पुनर्स्थापनासम्बन्धी थुप्रै भविष्यवाणीहरू कसरी पूरा भइरहेको छ?

वास्तवमा भन्‍ने हो भने हिब्रू भविष्यवक्‍ताहरूले पुनर्स्थापनाकै विषयमा थुप्रै चोटि लेखे। b यहोवाले आफ्ना जनहरूलाई पुनर्स्थापित देश दिने, त्यहाँ बस्ती बसाल्ने, भूमि उर्वर बनाउने अनि तिनीहरूलाई जङ्‌गली जनावर र शत्रुहरूबाट जोगाउने प्रतिज्ञा गर्नुभएको थियो। उहाँले त्यो पुनर्स्थापित देश सुन्दर बगैँचाजस्तै हुनेछ भनी बताउनुभयो। (यसैया ६५:२५; इजकिएल ३४:२५; ३६:३५) सबैभन्दा महत्त्वपूर्ण कुरा, शुद्ध उपासना फेरि पुनर्स्थापित हुने थियो र मन्दिर पुनर्निर्माण हुने थियो। (मिका ४:१-५) यस्ता भविष्यवाणीहरूले बेबिलोनको निर्वासनमा परेका यहुदीहरूलाई आशा दियो र ७० वर्षसम्म सहनशील हुन मदत गऱ्‍यो।

आखिरमा त्यो पुनर्स्थापनाको समय आयो। यहुदीहरू बेबिलोनको निर्वासनबाट मुक्‍त भएर यरुसलेम फर्के अनि त्यहाँ यहोवाको मन्दिर पुनर्निर्माण गरे। (एज्रा १:१, २) जबसम्म तिनीहरू शुद्ध उपासनामा लागे, तबसम्म यहोवाले तिनीहरूलाई आशिष्‌ दिनुभयो अनि तिनीहरूको देशलाई उर्वर र संवृद्ध बनाउनुभयो। साथै उहाँले तिनीहरूलाई शत्रुहरूदेखि अनि दशकौँदेखि त्यहाँ अड्डा जमाएर बसेका जङ्‌गली जनावरहरूदेखि जोगाउनुभयो। यहोवाको त्यस्तो पुनर्स्थापना गर्ने शक्‍ति अनुभव गर्न पाउँदा तिनीहरू पक्कै आनन्दित भए। तर यी त पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरूको आंशिक पूर्ति मात्र थिए। ती भविष्यवाणीहरूको व्यापक पूर्ति “आखिरी समयमा” अर्थात्‌ हाम्रो समयमा हुने थियो किनकि यही समयमा दाउदको वंशबाट आउने उत्तराधिकारी मसीही राज्यको सिंहासनमा बस्ने थिए।—यसैया २:२-४; ९:६, ७.

इस्वी संवत्‌ १९१४ मा येसु स्वर्गमा राजा नियुक्‍त हुनुभएको केही समयपछि उहाँले पृथ्वीमा रहेका परमेश्‍वरका वफादार जनहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्ने कामलाई प्राथमिकता दिनुभयो। ईसापूर्व ५३७ मा फारसका सम्राट्‌ कोरेसले बेबिलोनमा बाँकी रहेका यहुदीहरूलाई मुक्‍त गरेझैँ येसुले पनि बाँकी रहेका आध्यात्मिक यहुदीहरू अर्थात्‌ उहाँका अनुयायीहरूलाई झूटो धर्मको विश्‍व साम्राज्य “महान्‌ बेबिलोनको” कैदबाट मुक्‍त गर्नुभयो। (प्रकाश १८:१-५; रोमी २:२९) इस्वी संवत्‌ १९१९ देखि यता साँचो ख्रिष्टियनहरूले शुद्ध उपासना पुनर्स्थापित भएको कुरा आफ्नो जीवनशैलीद्वारा देखाइरहेका छन्‌। (मलाकि ३:१-५) त्यस समयदेखि परमेश्‍वरका जनहरूले शुद्ध पारिएको आध्यात्मिक मन्दिरमा अर्थात्‌ परमेश्‍वरले शुद्ध उपासनाको लागि मिलाउनुभएको प्रबन्धअनुसारै उहाँलाई उपासना चढाइरहेका छन्‌। यो कुरा आज हाम्रो लागि किन महत्त्वपूर्ण छ?

आध्यात्मिक पुनर्स्थापना किन महत्त्वपूर्ण छ?

९. प्रेषितहरूको मृत्युपछि चर्चजगत्‌का पादरीहरूले यहोवाको उपासनालाई कसरी बिटुलो पारे? तर उहाँले आज हाम्रो समयमा के गर्नुभएको छ?

शुद्ध उपासना पुनर्स्थापित हुनु किन उल्लेखनीय छ? आउनुहोस्‌, यसको इतिहास छोटकरीमा केलाऔँ। प्रथम शताब्दीका ख्रिष्टियनहरूले यहोवाबाट थुप्रै आशिष्‌ पाएका थिए। तर येसु र उहाँका प्रेषितहरूले शुद्ध उपासना बिटुलो हुनेछ र हराएर जानेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। (मत्ति १३:२४-३०; प्रेषित २०:२९, ३०) प्रेषितहरूको मृत्युपछि चर्चजगत्‌ देखा पऱ्‍यो। पादरीहरूले झूटो धर्मका शिक्षाहरू र चलनहरू अपनाए। तिनीहरूले मानिसहरूलाई बुझ्नै नसकिने त्रिएकको शिक्षा सिकाए। साथै तिनीहरूले यहोवासामु नभई पादरीहरूसामु गल्ती स्विकार्न अनि यहोवालाई नभई मरियम र सन्तहरूलाई प्रार्थना गर्न पनि सिकाए। शुद्ध उपासना बिटुलो भएको अहिले शताब्दियौँ बितिसक्यो। त्यसोभए यहोवाले के गर्नुभएको छ? अहिले पूरै संसार झूटो धर्मको चङ्‌गुलमा परे तापनि र परमेश्‍वरले घृणा गर्नुहुने चलनहरू व्याप्त भए तापनि उहाँले शुद्ध उपासनाको पुनर्स्थापना गर्नुभएको छ। शुद्ध उपासनाको पुनर्स्थापना हाम्रो समयको सबैभन्दा उल्लेखनीय उपलब्धि हो भन्दा केही फरक नपर्ला।

१०, ११. (क) हाम्रो आध्यात्मिक प्रमोदवनमा के-के समावेश छन्‌ र यसले तपाईँमा कस्तो प्रभाव पारेको छ? (ख) यहोवाले आध्यात्मिक प्रमोदवनमा कस्ता मानिसहरूलाई राख्नुभएको छ र तिनीहरूले भविष्यमा के देख्न पाउनेछन्‌?

१० आज साँचो ख्रिष्टियनहरूले झन्‌झन्‌ सुन्दर हुँदै गएको आध्यात्मिक प्रमोदवनको आनन्द उठाइरहेका छन्‌। यस प्रमोदवनमा के-के समावेश छन्‌? यसमा मुख्यतया दुइटा कुरा समावेश छन्‌। पहिलो, साँचो परमेश्‍वर यहोवाको शुद्ध उपासना। यहोवाले हामीलाई उहाँको उपासना गर्न सिकाउनुभएको छ, जसमा झूटो र टेढोमेढो शिक्षाको कुनै प्रभाव छैन। साथै उहाँले हामीलाई प्रशस्तै आध्यात्मिक भोजन दिनुभएको छ। यसले गर्दा हामी स्वर्गमा बस्नुहुने बुबाबारे अझ धेरै सिक्न, उहाँलाई खुसी बनाउन अनि उहाँसित अझ नजिक हुन सक्छौँ। (युहन्‍ना ४:२४) हाम्रो आध्यात्मिक प्रमोदवनमा समावेश भएको दोस्रो कुरा हो, मानिसहरू। यसैयाले भविष्यवाणी गरेझैँ “आखिरी समयमा” यहोवाले आफ्ना उपासकहरूलाई शान्तिको मार्गमा हिँड्‌न सिकाउनुभएको छ। यसले गर्दा आध्यात्मिक प्रमोदवनमा युद्धको नामोनिसान छैन। हुनत हामी त्रुटिपूर्ण छौँ तर यहोवाले हामीलाई “नयाँ व्यक्‍तित्व धारण” गर्न मदत गर्नुहुन्छ। उहाँ हाम्रो प्रयासमा आशिष्‌ दिनुहुन्छ र पवित्र शक्‍तिको फल फलाउन मदत गर्नुहुन्छ। (एफिसी ४:२२-२४; गलाती ५:२२, २३) हामी पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्छौँ भने यस आध्यात्मिक प्रमोदवनको भाग भइरहेका हुन्छौँ।

११ यहोवाले यस आध्यात्मिक प्रमोदवनमा उहाँलाई प्रेम गर्ने, शान्तिलाई प्रेम गर्ने र “आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत” हुने मानिसहरूलाई मात्र राख्नुभएको छ। (मत्ति ५:३) उहाँ पनि तिनीहरूलाई प्रेम गर्नुहुन्छ। तिनीहरूले भविष्यमा अझ मनमोहक पुनर्स्थापना देख्न पाउनेछन्‌। त्यो हो, मानिसजाति र पूरै पृथ्वीको पुनर्स्थापना।

“हेर! म सबै थोक नयाँ बनाउँदै छु”

१२, १३. (क) पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरूको व्यापक पूर्ति हुनेछ भनेर हामी किन भन्‍न सक्छौँ? (ख) यहोवाले पृथ्वीको लागि कस्तो उद्देश्‍य राख्नुभएको थियो र हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

१२ पुनर्स्थापनासम्बन्धी थुप्रै भविष्यवाणी केवल आध्यात्मिक पुनर्स्थापनासित मात्र सम्बन्धित छैनन्‌। उदाहरणको लागि, यसैयाले अन्धा, बहिरा, लङ्‌गडालगायत सबै बिरामी निको हुने र मृत्यु समेत सदाको लागि नामेट हुने समयबारे भविष्यवाणी गरे। (यसैया २५:८; ३५:१-७) पुरातन समयका इस्राएलीहरूले यी भविष्यवाणीहरू शाब्दिक रूपमा पूरा भएको देख्न पाएनन्‌। आज हामीले यी भविष्यवाणीहरू आध्यात्मिक रूपमा पूरा भएको देखिरहेका छौँ तर भविष्यमा ती प्रतिज्ञाहरू शाब्दिक र व्यापक रूपमा पूरा हुनेछन्‌ भनेर विश्‍वस्त हुन सक्छौँ। हामी किन त्यसो भन्‍न सक्छौँ?

१३ यहोवाले अदनको बगैँचामा आफूले पृथ्वी सृष्टि गर्नुको उद्देश्‍य स्पष्ट पार्नुभएको थियो। उहाँ पूरै पृथ्वी सुखी, स्वस्थ र एकताबद्ध मानव परिवारले भरियोस्‌ भन्‍ने चाहनुहुन्थ्यो। प्रथम मानव दम्पतीले पृथ्वी र जीवजीवातको हेरचाह गर्नुपर्ने थियो अनि यसलाई सुन्दर बगैँचा बनाउनुपर्ने थियो। (उत्पत्ति १:२८) अहिले पृथ्वीको अवस्था त्यस्तो त पक्कै छैन। तर यहोवाका उद्देश्‍यहरू अवश्‍य पूरा हुनेछन्‌ भनेर हामी ढुक्क हुन सक्छौँ। (यसैया ५५:१०, ११) यहोवाले नियुक्‍त गर्नुभएको राजा येसु ख्रिष्टले चाँडै पूरै पृथ्वीलाई सुन्दर प्रमोदवन बनाउनुहुनेछ।—लुका २३:४३.

१४, १५. (क) यहोवाले कसरी “सबै थोक नयाँ” बनाउनुहुनेछ? (ख) प्रमोदवनमा हाम्रो जीवन कस्तो हुनेछ र तपाईँलाई प्रमोदवनबारे कुन कुरा रोचक लाग्यो?

१४ पूरै पृथ्वी प्रमोदवन भएको एकपटक कल्पना गर्नुहोस्‌ न! यहोवाले त्यस समयबारे यसो भन्‍नुभएको छ: “हेर! म सबै थोक नयाँ बनाउँदै छु।” (प्रकाश २१:५) यहोवाले त्यो कसरी गर्नुहुनेछ? आउनुहोस्‌, विचार गरौँ। यहोवाले चाँडै आफ्नो शक्‍ति प्रयोग गरेर यस दुष्ट युगलाई नाश गर्नुहुनेछ। त्यसपछि ‘नयाँ स्वर्ग र नयाँ पृथ्वी’ मात्र अस्तित्वमा रहनेछ। भन्‍नुको मतलब, स्वर्गमा स्थापित एउटा नयाँ सरकारले यहोवालाई प्रेम गर्ने र उहाँको इच्छाअनुसार चल्ने मानिसहरू मिलेर बनेको नयाँ समाजमाथि शासन गर्नेछ। (२ पत्रुस ३:१३) सैतान र त्यसका प्रेतहरूलाई कैद गरिनेछ अनि तिनीहरू निष्क्रिय हुनेछन्‌। (प्रकाश २०:३) हजारौँ वर्षको इतिहासमा पहिलो चोटि मानिसजातिले सैतान र त्यसका प्रेतहरूको भ्रष्ट, द्वेषपूर्ण र हानिकारक असरहरूबाट छुटकारा पाउनेछ। त्यतिबेला कत्ति हाइसन्चो हुनेछ!

१५ हामीले यस सुन्दर पृथ्वीको हेरचाह गर्न सक्नेछौँ, जुन यहोवाको सुरुको उद्देश्‍य थियो। हाम्रो पृथ्वीसित प्राकृतिक स्रोतसाधनको पुनर्स्थापना गर्ने शक्‍ति छ। उदाहरणको लागि, प्रदूषणको स्रोत हटाइने हो भने फोहोर खोलानाला र तालहरू आफै सफा हुन्छन्‌। युद्ध नहुने हो भने बन्जर जमिनहरू आफै हराभरा र उर्वर हुन्छन्‌। यस्ता प्राकृतिक नियमहरू पालन गर्दै पृथ्वीलाई सुन्दर बगैँचा बनाउन पाउँदा हामी धेरै खुसी हुनेछौँ। त्यतिबेला हाम्रो पृथ्वी थरीथरीका जीवजीवातले भरिपूर्ण हुनेछ। साथै मानिसहरूले अन्धाधुन्ध जनावर र वनस्पतिको विनाश गर्नेछैनन्‌। बरु तिनीहरू अरू सृष्टिसित शान्तिमा रहनेछन्‌, यहाँसम्म कि साना केटाकेटीसमेत जङ्‌गली जनावरहरूदेखि डराउनेछैनन्‌।—यसैया ९:६, ७; ११:१-९.

१६. प्रमोदवनमा व्यक्‍तिविशेषले कसरी पुनर्स्थापना गर्ने यहोवाको शक्‍ति अनुभव गर्नेछन्‌?

१६ पुनर्स्थापना गर्ने यहोवाको शक्‍तिले हाम्रो आफ्नै शरीरमा पनि काम गरेको हामीले अनुभव गर्नेछौँ। आरमागेडोन पार गरेकाहरूले पृथ्वीभरि नै मानिसहरू रोगबिमारबाट मुक्‍त हुँदै गएको देख्नेछन्‌। परमेश्‍वरले दिनुभएको शक्‍ति प्रयोग गर्दै येसुले अन्धाहरूलाई दृष्टि दिनुहुनेछ, बहिराहरूको कान खोलिदिनुहुनेछ अनि लुला-लङ्‌गडा र अशक्‍तहरूलाई सद्दे बनाउनुहुनेछ, जसको पूर्वझलक उहाँले पृथ्वीमा हुँदा देखाइसक्नुभएको छ। (मत्ति १५:३०) नयाँ संसारमा वृद्धहरू फेरि जवान र स्वस्थ हुनेछन्‌ अनि जवानीको बल र जोस-जाँगरले भरिनेछन्‌। (अय्युब ३३:२५) चाउरीहरू हराउनेछ, कुप्रिएको शरीर फेरि सीधा हुनेछ अनि सबै जना हट्टाकट्टा र तन्दुरुस्त हुनेछन्‌। सबै वफादार मानिसले आफ्नो शरीरबाट पाप र त्रुटिपूर्ण अवस्थाको असर हराउँदै गएको महसुस गर्नेछन्‌। यहोवाले पुनर्स्थापना गर्ने आफ्नो शक्‍ति प्रयोग गर्नुभएकोमा हामी साँच्चै कृतज्ञ हुनेछौँ। अब हामी त्यतिबेला हुने पुनर्स्थापनाको एउटा अर्को मन छुने पक्षबारे पनि विचार गरौँ।

मरेकाहरूलाई फेरि जीवित पारिनेछ

१७, १८. (क) येसुले सदुकीहरूलाई किन हप्काउनुभयो? (ख) एलियाले विधवाको छोरालाई फेरि जीवित पारिदिनुहोस्‌ भनेर किन प्रार्थना गरे?

१७ सदुकी भनेर चिनिने प्रथम शताब्दीका धर्मगुरुहरू मरेका मानिसहरू फेरि जीवित हुन्छन्‌ भन्‍ने कुरामा विश्‍वास गर्दैनथे। येसुले ती धर्मगुरुहरूलाई यसो भन्दै हप्काउनुभयो: “तिमीहरूले गलत बुझिरहेका छौ किनकि तिमीहरूले न धर्मशास्त्रलाई न त परमेश्‍वरको शक्‍तिलाई नै बुझेका छौ।” (मत्ति २२:२९) हो, यहोवासित पुनर्स्थापना गर्ने शक्‍ति छ र उहाँ मरेकाहरूलाई फेरि जीवित पार्न सक्नुहुन्छ भनेर बाइबलले स्पष्ट पार्छ। हामी किन त्यसो भन्‍न सक्छौँ?

१८ एलियाको समयको एउटा घटना विचार गरौँ। एक जना विधवाको एक मात्र छोराको मृत्यु भएको थियो र उनी आफ्नो छोरालाई काखमा राखेर रोइरहेकी थिइन्‌। भविष्यवक्‍ता एलिया त्यस विधवाको घरमा पाहुना बनेर बसेको केही समय भइसकेको थियो र तिनलाई पनि त्यस बालकको मृत्युले पक्कै गहिरो चोट पुऱ्‍यायो। यसअघि एलियाले ती आमा-छोरालाई भोकले मर्नबाट जोगाएका थिए। सम्भवतः एलिया त्यस बालकसित घनिष्ठ भइसकेका थिए। ऊ त्यस विधवाको पतिको एक मात्र निसानी थियो। सायद उनले आफ्नो छोरा ठूलो भएर बुढेसकालको सहारा बन्‍नेछ भनेर आशा गरेकी थिइन्‌। त्यसैले छोराको मृत्युले गर्दा उनको मन छियाछिया भएको थियो। उनलाई आफूले विगतमा गरेको कुनै गल्तीको सजाय भोग्दै छु भन्‍ने महसुस भएको थियो। एलिया त्यस विधवाको पीडा टुलुटुलु हेरेर बस्न सकेनन्‌। तिनले त्यस विधवाको काखबाट त्यस बालकलाई उठाए र बोकेर आफ्नो कोठामा लगे। त्यसपछि तिनले त्यस बालकलाई फेरि जीवित पारिदिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गरे।—१ राजा १७:८-२१.

१९, २०. (क) मरेकाहरूलाई जीवित पार्न सक्ने यहोवाको शक्‍तिमा विश्‍वास गरेको कुरा अब्राहामले कसरी देखाए र तिनले त्यस कुरामा विश्‍वास गर्न सक्नुको आधार के थियो? (ख) एलियाले देखाएको विश्‍वासको निम्ति यहोवाले तिनलाई कस्तो इनाम दिनुभयो?

१९ एलिया मरेकाहरू फेरि जीवित हुन सक्छन्‌ भन्‍ने कुरामा विश्‍वास गर्ने पहिलो व्यक्‍ति थिएनन्‌। शताब्दियौँअघि अब्राहामले पनि यहोवासित मरेकाहरूलाई फेरि जीवित पार्न सक्ने शक्‍ति छ भन्‍ने कुरामा विश्‍वास गरेका थिए। त्यस कुरामा विश्‍वास गर्न तिनीसित ठोस कारण थियो। तिनी १०० वर्षका र सारा ९० वर्षकी हुँदा यहोवाले चमत्कारपूर्ण ढङ्‌गमा तिनीहरूको प्रजनन क्षमता फेरि सक्रिय पारिदिनुभएको थियो। उमेर ढल्किसकेको भए तापनि साराले इसहाकलाई जन्माइन्‌। (उत्पत्ति १७:१७; २१:२, ३) इसहाक हुर्कँदै गए र लक्का जवान भए। त्यसपछि यहोवाले अब्राहामलाई आफ्नो छोरा बलि चढाउन भन्‍नुभयो। त्यतिबेला अब्राहामले यहोवासित इसहाकलाई जीवित पार्न सक्ने शक्‍ति छ भन्‍ने कुरामा विश्‍वास गरेको देखाए। (हिब्रू ११:१७-१९) त्यस्तो बलियो विश्‍वासले गर्दा अब्राहामले इसहाकसँगै डाँडा उक्लनुअघि आफ्ना दासहरूलाई म र छोरा सँगै फर्कनेछौँ भन्‍न सके।—उत्पत्ति २२:५.

“हेर! तिम्रो छोरा जिउँदो भयो”

२० यहोवाले अब्राहामलाई इसहाकको बलि चढाउनदेखि रोक्नुभयो। त्यसैले त्यतिबेला इसहाकलाई फेरि जीवित पार्न आवश्‍यक परेन। एलियाको समयमा भने विधवाको छोरा मरिसकेको थियो। तर यहोवाले उसलाई केही समयमै जीवित पार्नुभएर एलियालाई तिनले देखाएको बलियो विश्‍वासको लागि इनाम दिनुभयो। त्यसपछि एलियाले त्यस बालकलाई उसकी आमाकहाँ लगे र यसो भने: “हेर! तिम्रो छोरा जिउँदो भयो।”—१ राजा १७:२२-२४.

२१, २२. (क) बाइबलमा मरेकाहरू जीवित पारिएका विवरणहरू उल्लेख गरिनुको उद्देश्‍य के हो? (ख) मरेकाहरूलाई जीवित पार्ने काम प्रमोदवनमा कत्तिको व्यापक हुनेछ र त्यो काम कसले गर्नुहुनेछ?

२१ यहोवाले आफ्नो शक्‍ति प्रयोग गरेर मरेको मानिसलाई जीवित पार्नुभएको यो नै इतिहासको पहिलो घटना हो। पछि उहाँले एलिसा, येसु, पावल र पत्रुसलाई पनि मरेकाहरूलाई जीवित पार्न सक्ने शक्‍ति दिनुभयो। हुनत ती मानिसहरू पछि मरे तर ती घटनाहरू भविष्यमा अझ व्यापक तवरमा हुने कुराको पूर्वझलक थियो।

२२ प्रमोदवनमा येसुले ‘मरेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ र उनीहरूलाई जीवन दिनुहुनेछ।’ (युहन्‍ना ११:२५) उहाँले अरबौँ मानिसलाई फेरि जीवित पार्नुहुनेछ र तिनीहरूलाई प्रमोदवनमा सधैँभरि बाँच्ने मौका दिनुहुनेछ। (युहन्‍ना ५:२८, २९) मृत्युले गर्दा लामो समयदेखि बिछोड हुनुपरेका परिवारका सदस्यहरू अनि साथीभाइको भेट हुँदा र एकअर्कालाई अङ्‌गालो हाल्न पाउँदा तिनीहरूको खुसीको सीमा नै रहनेछैन। हो, त्यतिबेला सबै मानिसजातिले यहोवाको शक्‍तिको गुणगान गाउनेछन्‌।

२३. यहोवाको शक्‍तिको सर्वोत्कृष्ट प्रमाण के थियो र यसले भविष्यको लागि कस्तो ग्यारेन्टी दिन्छ?

२३ मरेकाहरू जीवित हुनेछन्‌ भन्‍ने प्रतिज्ञा शतप्रतिशत पूरा हुनेछ भनेर यहोवाले ग्यारेन्टी दिनुभएको छ। यहोवाले येसुलाई अदृश्‍य व्यक्‍तिको रूपमा ब्युँताउनुभयो र ब्रह्‍माण्डमा आफूपछिको दोस्रो शक्‍तिशाली व्यक्‍ति बनाउनुभयो। त्यो यहोवाको शक्‍तिको सर्वोत्कृष्ट प्रमाण थियो। येसु ब्युँतनुभएपछि सयौँ मानिसकहाँ देखा पर्नुभएको थियो। (१ कोरिन्थी १५:५, ६) येसु ब्युँतनुभएको कुरामा शङ्‌का गर्नेहरूको लागि त्यो प्रमाण पर्याप्त थियो। हो, यहोवासित मरेकाहरूलाई जीवित पार्न सक्ने शक्‍ति छ।

२४. यहोवाले मरेकाहरूलाई जीवित पार्नुहुनेछ भन्‍ने कुरामा हामी किन विश्‍वस्त हुन सक्छौँ र हाम्रो अगाडि कस्तो आशा छ?

२४ यहोवासित मरेकाहरूलाई जीवित पार्न सक्ने शक्‍ति मात्र होइन, त्यसो गर्ने इच्छा पनि छ। वास्तवमा भन्‍ने हो भने विश्‍वासी पुरुष अय्युबले यहोवाबाट प्रेरणा पाएर उहाँ मरेकाहरूलाई जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भने। (अय्युब १४:१५) पुनर्स्थापना गर्ने आफ्नो शक्‍ति यस्तो मायालु तरिकामा प्रयोग गर्न चाहनुहुने परमेश्‍वरसित के हामी अझ नजिक हुन चाहँदैनौ र? तर मरेकाहरूलाई जीवित पार्ने कुरा यहोवाले नयाँ संसारमा गर्नुहुने पुनर्स्थापनाको एउटा पक्ष मात्र हो। त्यसैले यहोवा परमेश्‍वरसित नजिक भइरह्‍यौँ भने उहाँले प्रमोदवनमा “सबै थोक नयाँ” बनाउनुभएको हामी आफैले देख्न पाउनेछौँ। हाम्रो अगाडि भएको यस्तो सुन्दर आशा सधैँ मनमा सँगालेर राखौँ।—प्रकाश २१:५.

a यहोवाले वफादार राजा दाउदसित तिनको एक जना उत्तराधिकारीले सदाको लागि शासन गर्नेछन्‌ भन्‍ने प्रतिज्ञा गर्नुभएको थियो। (भजन ८९:३५-३७) तर ईसापूर्व ६०७ मा बेबिलोनले यरुसलेम सहर विनाश गरेपछि दाउदको वंशबाट आएको कुनै पनि मानव राजा परमेश्‍वरको सिंहासनमा बसेनन्‌। पछि येसु दाउदको उत्तराधिकारीको रूपमा जन्मनुभयो। उहाँले भविष्यवाणीअनुसारै परमेश्‍वरको सिंहासनमा बसेर सदाको लागि शासन गर्नुहुने थियो। उहाँ स्वर्गमा मसीही राज्यको राजा हुनुहुँदा “सबै कुरा पुनर्स्थापित हुने समय” सुरु भयो।

b उदाहरणको लागि, मोसा, यसैया, यर्मिया, इजकिएल, होसे, योएल, आमोस, ओबदियाह, मिका र सपन्याहले पुनर्स्थापनाकै विषयमा भविष्यवाणी गरे।