सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १०

शक्‍ति प्रयोग गर्ने सन्दर्भमा ‘परमेश्‍वरको देखासिकी गर्नुहोस्‌’

शक्‍ति प्रयोग गर्ने सन्दर्भमा ‘परमेश्‍वरको देखासिकी गर्नुहोस्‌’

१. त्रुटिपूर्ण मानिसहरू सजिलै कस्तो पासोमा फस्छन्‌?

 “जहाँ शक्‍ति हुन्छ, त्यहाँ अदृश्‍य पासो पनि हुन्छ।” यो भनाइ १९ औँ शताब्दीकी एक कवयित्रीको हो। तिनले सजिलै देख्न नसकिने एउटा खतरातर्फ सङ्‌केत गर्दै थिइन्‌। त्यो हो, शक्‍तिको दुरुपयोग। दुःखको कुरा, त्रुटिपूर्ण मानिसहरू सजिलै यस पासोमा फस्छन्‌। इतिहास हेर्ने हो भने “एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि” पुऱ्‍याइरहेका छन्‌। (उपदेशक ८:९) कुनै व्यक्‍तिले आफूसित भएको शक्‍तिको प्रयोग प्रेमले उत्प्रेरित भई गर्दैनन्‌ भने अरूले दुःख पाउँछन्‌।

२, ३. (क) यहोवाले आफ्नो शक्‍ति प्रयोग गर्ने तरिका किन उल्लेखनीय छ? (ख) हामीसित शक्‍ति भएकोले हामी के-के गर्न सक्छौँ? हामीले आफ्नो शक्‍ति कसरी प्रयोग गर्नुपर्छ?

तर यहोवासित असीमित शक्‍ति भए तापनि उहाँ कहिल्यै त्यसको दुरुपयोग गर्नुहुन्‍न। यो कुरा उल्लेखनीय छ। यसअघिका अध्यायहरूमा हामीले सिकेझैँ उहाँ सृष्टि, विनाश, रक्षा र पुनर्स्थापना गर्ने शक्‍ति सधैँ आफ्नो उद्देश्‍य पूरा गर्न प्रयोग गर्नुहुन्छ। उहाँ आफ्नो शक्‍ति कसरी प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा विचार गर्दा हामी उहाँसित नजिक हुन र शक्‍ति प्रयोग गर्ने सन्दर्भमा “उहाँको देखासिकी” गर्न उत्प्रेरित हुन्छौँ। (एफिसी ५:१) तर के हामी तुच्छ मानिससित कुनै शक्‍ति छ?

“परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा” सृष्टि गर्नुभएको थियो। (उत्पत्ति १:२६, २७) त्यसैले हामीसित केही हदसम्म भए पनि शक्‍ति छ, जसले गर्दा हामी विभिन्‍न काम गर्न, अरूलाई अधीनमा राख्न वा अरूमाथि अख्तियार चलाउन सक्छौँ। साथै यही शक्‍ति प्रयोग गरेर हामी अरूलाई, अझ विशेषगरि हामीलाई माया गर्ने मानिसहरूलाई असल काम गर्न जुरमुऱ्‍याउन सक्छौँ। यसबाहेक हामीसित शारीरिक बल र भौतिक स्रोतसाधन पनि छ। यहोवाको विषयमा भजनरचयिताले यसो भने: “जीवनको मूल तपाईँसित छ।” (भजन ३६:९) त्यसैले प्रत्यक्ष रूपमा होस्‌ या अप्रत्यक्ष रूपमा, हामीसित भएको जुनसुकै शक्‍तिको स्रोत परमेश्‍वर हुनुहुन्छ। हामी यो शक्‍ति उहाँलाई खुसी तुल्याउने तरिकामा प्रयोग गर्न चाहन्छौँ। हामी कसरी त्यसो गर्न सक्छौँ?

प्रेमको महत्त्वपूर्ण भूमिका

४, ५. (क) शक्‍तिलाई सही तरिकामा प्रयोग गर्ने सन्दर्भमा कुन गुणको महत्त्वपूर्ण भूमिका छ? (ख) हामीलाई आफ्नो शक्‍ति सही तरिकामा प्रयोग गर्न प्रेमले कसरी उत्प्रेरित गर्छ?

शक्‍तिलाई सही तरिकामा प्रयोग गर्ने सन्दर्भमा प्रेमको महत्त्वपूर्ण भूमिका छ। यो कुरा परमेश्‍वर स्वयम्‌ले बसाल्नुभएको उदाहरणबाट प्रस्ट हुन्छ। हामीले यस किताबको अध्याय १ मा परमेश्‍वरका चार वटा मुख्य गुण शक्‍ति, न्याय, बुद्धि र प्रेमबारे छलफल गरेका थियौँ। तीमध्ये प्रमुखचाहिँ प्रेम हो। पहिलो युहन्‍ना ४:८ भन्छ: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” यहोवा प्रेमको मूर्तरूप हुनुहुन्छ र उहाँका सबै काममा प्रेम झल्किन्छ। उहाँ प्रेमले उत्प्रेरित भएर नै आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्छ, जसले गर्दा उहाँलाई प्रेम गर्नेहरूको भलाइ हुन्छ।

प्रेमले हामीलाई आफ्नो शक्‍ति सही तरिकामा प्रयोग गर्न उत्प्रेरित गर्छ। हुन पनि बाइबलमा “प्रेम . . . दयालु हुन्छ। . . . आफ्नै फाइदा खोज्दैन” भनिएको छ। (१ कोरिन्थी १३:४, ५) हामी आफ्नो अधीनमा भएकाहरूलाई प्रेम गर्छौँ भने तिनीहरूसित कठोर र तुच्छ व्यवहार गर्नेछैनौँ। बरु तिनीहरूसित मर्यादित व्यवहार गर्नेछौँ अनि आफ्नो भन्दा तिनीहरूको आवश्‍यकता र भावनालाई पहिलो स्थानमा राख्नेछौँ।—फिलिप्पी २:३, ४.

६, ७. (क) परमेश्‍वरको डर मान्‍नु भनेको के हो? यस गुणले हामीलाई शक्‍तिको दुरुपयोग गर्नदेखि किन जोगाउँछ? (ख) परमेश्‍वरको डर र उहाँप्रतिको प्रेम एकअर्कासित सम्बन्धित छ भनेर बुझाउन एउटा उदाहरण दिनुहोस्‌।

हामीलाई शक्‍तिको दुरुपयोग गर्नदेखि जोगाउने अर्को गुणसित पनि प्रेमको सम्बन्ध छ। त्यो हो, परमेश्‍वरको डर। यो गुण किन महत्त्वपूर्ण छ? हितोपदेश १६:६ भन्छ: “यहोवाको डर राख्ने मानिस खराब कामबाट अलग्गै बस्छ।” हामी अलग्गै बस्नुपर्ने एउटा खराब काम शक्‍तिको दुरुपयोग हो। परमेश्‍वरको डरले हामीलाई आफ्नो अधीनमा भएकाहरूसित कठोर व्यवहार गर्नदेखि जोगाउँछ। किन? किनभने हामी अरूसित कस्तो व्यवहार गर्छौँ, त्यसको लागि परमेश्‍वरप्रति जबाफदेही छौँ भनेर हामीलाई थाह छ। (नहेम्याह ५:१-७, १५) तर यही कारणले मात्र हामीले परमेश्‍वरको डर मान्‍नुपर्ने त होइन। “डर” भन्‍ने मौलिक भाषाको शब्दले अक्सर परमेश्‍वरप्रतिको गहिरो आदर र श्रद्धालाई जनाउँछ। यसरी बाइबलले परमेश्‍वरको डर र उहाँप्रतिको प्रेम एकअर्कासित सम्बन्धित छ भनेर सिकाउँछ। (व्यवस्था १०:१२, १३) परमेश्‍वरप्रतिको श्रद्धामा उहाँलाई दुःखी तुल्याउने हो कि भन्‍ने उचित डर समावेश छ। उहाँलाई दुःखी तुल्यायौँ भने नराम्रो नतिजा भोग्नुपर्ला भनेर त होइन बरु उहाँलाई मनैदेखि प्रेम गर्ने भएकोले हामी उहाँको डर मान्छौँ।

एउटा सानो केटो र बुबाबीचको सम्बन्धबारे विचार गरौँ। उसले बुबाको माया महसुस गरेको हुन्छ। तर उसलाई बुबाले आफूबाट के चाहनुहुन्छ भनेर थाह हुन्छ र बदमासी गर्दा सजाय दिनुहुन्छ भनेर पनि बुझेको हुन्छ। तर त्यो केटो बुबादेखि असाध्यै डराएर नजिकै नजाने त गर्दैन। बरु ऊ बुबालाई माया गर्छ। ऊ सधैँ बुबालाई मन पर्ने काम गर्छ र बुबा पनि खुसी हुन्छन्‌। परमेश्‍वरको डर मान्‍नु पनि त्यस्तै हो। स्वर्गमा बस्नुहुने बुबा यहोवालाई प्रेम गर्ने भएकोले हामी उहाँलाई दुःखी तुल्याउने कुनै पनि काम गर्दैनौँ। (उत्पत्ति ६:६) बरु हामी उहाँको हृदयलाई खुसी बनाउँछौँ। (हितोपदेश २७:११) त्यसैले हामी आफ्नो शक्‍ति सही तरिकामा प्रयोग गर्छौँ। हामी कसरी त्यसो गर्न सक्छौँ? आउनुहोस्‌, विचार गरौँ।

परिवारमा

८. (क) परिवारमा पतिले कस्तो अख्तियार पाएका छन्‌? तिनले यो अख्तियार कसरी प्रयोग गर्नुपर्छ? (ख) पतिले आफ्नी पत्नीको आदर गरेको कसरी देखाउन सक्छन्‌?

परिवारमा आफ्नो शक्‍ति वा अख्तियार कसरी सही तरिकामा प्रयोग गर्ने भनेर छलफल गरौँ। एफिसी ५:२३ भन्छ: “पत्नीको शिर पति हो।” पतिले कसरी परमेश्‍वरबाट पाएको अख्तियार प्रयोग गर्नुपर्छ? बाइबलमा पतिहरूलाई ‘आ-आफ्ना पत्नीको मनको कुरा राम्ररी बुझ्न र उनलाई कोमल पात्र सम्झेर आदर गर्न’ सल्लाह दिइएको छ। (१ पत्रुस ३:७) “आदर” भनी अनुवाद गरिएको ग्रीक नामपदको अर्थ “मूल्यवान्‌, अमूल्य, . . . कदरयोग्य” हो। यस शब्दको अन्य रूपलाई “उपहार” र “अनमोल” भनेर पनि अनुवाद गरिएको छ। (प्रेषित २८:१०; १ पत्रुस २:७) पतिबाट दुर्व्यवहार भोग्ने पत्नीले आफूलाई बेकामको ठान्‍न सक्छिन्‌। त्यसैले पत्नीको आदर गर्ने पतिले उनलाई कहिल्यै कुटपिट गर्दैनन्‌, होच्याउँदैनन्‌ वा अपमान गर्दैनन्‌। बरु तिनी उनलाई अनमोल ठान्छन्‌ र आदरपूर्ण व्यवहार गर्छन्‌। अरूसामु हुँदा होस्‌ वा दुई जना मात्र, तिनी बोली र कामद्वारा उनलाई अनमोल ठानेको देखाउँछन्‌। (हितोपदेश ३१:२८) यस्तो पतिले पत्नीबाट प्रेम र आदर कमाउँछन्‌ अनि अझ महत्त्वपूर्ण कुरा, परमेश्‍वरको अनुमोदन पनि पाउँछन्‌।

पतिपत्नीले एकअर्कासित मायालु र आदरपूर्ण व्यवहार गरेर आफ्नो अख्तियारको उचित प्रयोग गर्छन्‌

९. (क) पत्नीले परिवारमा कस्तो अख्तियार पाएकी छिन्‌? (ख) आफ्नो क्षमता प्रयोग गरेर पतिलाई पूरापूर साथ दिन पत्नीलाई केले मदत गर्छ? यसको नतिजा कस्तो हुन्छ?

परिवारमा पत्नीसित पनि केही हदसम्म शक्‍ति वा अख्तियार हुन्छ। बाइबलमा परमेश्‍वरको भय मान्‍ने स्त्रीहरूबारे बताइएको छ, जसले शिरत्वको प्रबन्धप्रति आदर देखाउँदै पतिलाई सही निर्णय गर्न मदत गरे वा पतिले गलत निर्णय गर्न लाग्दा तिनलाई रोके। (उत्पत्ति २१:९-१२; २७:४६–२८:२) कुनै-कुनै परिवारमा पतिको भन्दा पत्नीको सोचविचार गर्ने क्षमता राम्रो हुन सक्छ वा उनमा पतिमा नभएका अन्य क्षमताहरू पनि हुन सक्छन्‌। तैपनि उनले “पतिको गहिरो आदर गर्नुपर्छ” र “ख्रिष्टको अधीनमा बसेजस्तै आ-आफ्ना पतिको अधीनमा” बस्नुपर्छ। (एफिसी ५:२२, ३३) परमेश्‍वरलाई खुसी तुल्याउन चाहने पत्नीले आफ्नो क्षमता पतिलाई होच्याउन नभई तिनलाई पूरापूर साथ दिन प्रयोग गर्छिन्‌। यस्तो “बुद्धिमती स्त्री”-ले पतिलाई परिवारको उत्थान गर्न सघाउँछिन्‌। यसरी उनी परमेश्‍वरसित पनि शान्तिमय सम्बन्ध कायम राख्छिन्‌।—हितोपदेश १४:१.

१०. (क) परमेश्‍वरले आमाबुबालाई कस्तो अख्तियार दिनुभएको छ? (ख) “अनुशासन”-को अर्थ के हो र यो कसरी दिनुपर्छ? (फुटनोट हेर्नुहोस्‌।)

१० परमेश्‍वरले आमाबुबालाई पनि अख्तियार दिनुभएको छ। बाइबल यस्तो सल्लाह दिन्छ: “हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्‌याओ बरु यहोवा परमेश्‍वरको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।” (एफिसी ६:४) बाइबलमा प्रयोग गरिएको अनुशासन शब्दले “हुर्काउनु, तालिम दिनु र निर्देशन दिनु” भन्‍ने अर्थ पनि दिन्छ। छोराछोरीलाई अनुशासन चाहिन्छ। आमाबुबाले स्पष्ट नियम र सीमा तोकिदिएका छन्‌ भने त्यस्तो वातावरणमा छोराछोरी राम्ररी हुर्कन सक्छन्‌। बाइबलले यस्तो अनुशासन वा निर्देशन प्रेमले उत्प्रेरित भएर दिनुपर्छ भनेर सिकाउँछ। (हितोपदेश १३:२४) त्यसैले “अनुशासनको छडी” कहिल्यै भावनात्मक वा शारीरिक रूपमा सास्ती दिने किसिमको हुनु हुँदैन। a (हितोपदेश २२:१५; २९:१५) आमाबुबाले छोराछोरीलाई कठोर भई अनुशासन दिँदा तिनीहरूले आफ्नो अख्तियारको दुरुपयोग गरिरहेका हुन्छन्‌ अनि यस्तो अनुशासन पाएका छोराछोरीको भावनामा गहिरो चोट पुग्न सक्छ। (कलस्सी ३:२१) अर्कोतर्फ ठीक मात्रामा र उचित तरिकामा अनुशासन पाउँदा छोराछोरीले आमाबुबाको माया महसुस गर्न सक्छन्‌ र आमाबुबा तिनीहरू असल मानिस बनेको चाहन्छन्‌ भनेर बुझ्न सक्छन्‌।

११. छोराछोरीले आफ्नो शक्‍ति कसरी सही तरिकामा प्रयोग गर्न सक्छन्‌?

११ छोराछोरीले पनि आफ्नो शक्‍ति कसरी सही तरिकामा प्रयोग गर्न सक्छन्‌? हितोपदेश २०:२९ भन्छ: “जवान मानिसहरूको गौरव उनीहरूको बल हो।” युवाहरूले आफ्नो बल र जोस प्रयोग गर्ने सबैभन्दा राम्रो तरिका “महान्‌ सृष्टिकर्ताको” सेवा गर्नु हो। (उपदेशक १२:१) आफ्नो कामले आमाबुबालाई खुसी वा दुःखी बनाउन सक्छ भन्‍ने कुरा पनि छोराछोरीले सधैँ मनमा राख्नुपर्छ। (हितोपदेश २३:२४, २५) तिनीहरूले परमेश्‍वरको डर मान्‍ने आमाबुबाको आज्ञा पालन गर्दा र सही बाटोमा हिँड्‌दा आमाबुबाको हृदय खुसीले गद्‌गद हुन्छ। (एफिसी ६:१) त्यति मात्र होइन, तिनीहरूको यस्तो आचरण देखेर “प्रभु खुसी हुनुहुन्छ।”—कलस्सी ३:२०.

मण्डलीमा

१२, १३. (क) एल्डरहरूले मण्डलीमा आफूले पाएको अख्तियारप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (ख) तिनीहरूले बगालसित किन कोमल व्यवहार गर्नुपर्छ, उदाहरण दिनुहोस्‌।

१२ यहोवाले मण्डलीमा नेतृत्व लिन निरीक्षकहरू नियुक्‍त गर्नुभएको छ। (हिब्रू १३:१७) यी निरीक्षकहरूले परमेश्‍वरबाट पाएको अख्तियार बगालको हेरचाह गर्न र तिनीहरूको आध्यात्मिक उन्‍नतिको लागि प्रयोग गर्छन्‌। के तिनीहरूले आफूले पाएको अख्तियार भाइबहिनीमाथि हैकम जमाउन प्रयोग गर्नु हुन्छ? पक्कै हुँदैन। तिनीहरूले नम्र हुँदै मण्डलीमा पाएको जिम्मेवारीप्रति सन्तुलित दृष्टिकोण राख्नुपर्छ। (१ पत्रुस ५:२, ३) बाइबलले एल्डरहरूलाई “परमेश्‍वरले आफ्नै छोराको रगतद्वारा किन्‍नुभएको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न” निर्देशन दिएको छ। (प्रेषित २०:२८) यो नै बगालको प्रत्येक भेडासित कोमल व्यवहार गर्नुपर्ने सशक्‍त कारण हो।

१३ यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। तपाईँको साथीले तिनलाई एकदमै मन पर्ने सामान तपाईँलाई राख्न दिन्छन्‌। तिनले त्यो सामान किन्‍न ठूलो रकम तिरेका छन्‌ भनेर तपाईँलाई थाह छ। तपाईँ पक्कै त्यो सामान सुरक्षितसाथ राख्नुहुन्छ। ठीक त्यसैगरि परमेश्‍वरले एल्डरहरूलाई उहाँको बहुमूल्य सम्पत्ति अर्थात्‌ मण्डलीको हेरचाह गर्ने जिम्मेवारी दिनुभएको छ, जसका सदस्यहरूलाई भेडासित तुलना गरिएको छ। (युहन्‍ना २१:१६, १७) उहाँ आफ्ना भेडाहरूलाई यत्ति धेरै माया गर्नुहुन्छ कि उहाँले तिनीहरूलाई किन्‍न आफ्नो एक मात्र प्यारो छोरा येसु ख्रिष्टको अनमोल रगत मोलस्वरूप तिर्नुभएको छ। उहाँले आफ्ना भेडाहरूको लागि चुकाउनुभएको योजत्तिको ठूलो मोल अरू हुनै सक्दैन। यो कुरा नम्र एल्डरहरूले मनमा राख्छन्‌ र उहाँका भेडाहरूसित मायालु व्यवहार गर्छन्‌।

“जिब्रोमा . . . शक्‍ति हुन्छ”

१४. जिब्रोमा कस्तो शक्‍ति हुन्छ?

१४ बाइबल भन्छ: “जिब्रोमा जीवन र मृत्युको शक्‍ति हुन्छ।” (हितोपदेश १८:२१) हो, हाम्रो बोलीले ठूलो क्षति पुऱ्‍याउन सक्छ। कसैले सोचविचारै नगरी वा घोच्ने बोली बोल्दा त्यसले कत्ति चोट पुऱ्‍याउँछ, हामी सबैले पक्कै अनुभव गरेका छौँ। अर्कोतर्फ हितोपदेश १२:१८ भन्छ: “बुद्धिमान्‌ मानिसको बोलीले निको पार्छ।” हो, हाम्रो बोली उत्थानदायी र प्रोत्साहनदायी छ भने यसले मनको घाउमा मलहमले जस्तै काम गर्न सक्छ। आउनुहोस्‌, केही उदाहरण विचार गरौँ।

१५, १६. हामी अरूलाई प्रोत्साहन दिन कसरी आफ्नो जिब्रोको प्रयोग गर्न सक्छौँ?

१५ पहिलो थिस्सलोनिकी ५:१४ यस्तो आग्रह गर्छ: “जो निराश छन्‌, तिनीहरूसित सान्त्वनादायी कुरा गर।” हो, यहोवाका वफादार सेवकहरूसमेत कहिलेकाहीँ निराश हुन सक्छन्‌। हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ? मनैदेखि तोकेरै प्रशंसा गरेर तिनीहरू यहोवाको नजरमा अनमोल छन्‌ भनी बुझ्न मदत गर्नुहोस्‌। यहोवा “टुटेका हृदय” र “निराश भएकाहरूलाई” माया गर्नुहुन्छ र तिनीहरूको ख्याल राख्नुहुन्छ भनेर बुझाउने बाइबल पदहरू देखाउनुहोस्‌। (भजन ३४:१८) हामीले अरूलाई सान्त्वना दिन जिब्रोको प्रयोग गऱ्‍यौँ भने “निराश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्‍वर”-को अनुकरण गरिरहेका हुन्छौँ।—२ कोरिन्थी ७:६.

१६ हामी प्रोत्साहनको खाँचो परेकाहरूलाई मदत गर्न पनि जिब्रोको प्रयोग गर्न सक्छौँ। के कुनै भाइ वा बहिनीले मृत्युको कारण आफ्नो प्रियजन गुमाएका छन्‌? हामीलाई तिनको चिन्ता लाग्छ र तिनको साँच्चै ख्याल राख्छौँ भन्‍ने कुरा बताएर सान्त्वना दिन सक्छौँ। के कुनै वृद्ध दाइ वा दिदीले आफूलाई बेकामको ठानिरहेका छन्‌? हामी तिनको कदर गर्छौँ र तिनी अनमोल छन्‌ भन्‍ने कुरा बताएर तिनलाई हौसला दिन सक्छौँ। के कोही सिकिस्त बिरामी परेका छन्‌? फोन गरेर, चिठी वा मेसेज लेखेर अथवा भेट्‌न गएर दयाले भरिएका दुईचार शब्द व्यक्‍त गर्न सक्छौँ, जसले गर्दा तिनको मनोबल बढ्‌न सक्छ। हामीले “अरूको उत्थान गर्ने” तरिकामा बोलेको देख्दा हाम्रो सृष्टिकर्ता यहोवालाई पक्कै खुसी लाग्छ।—एफिसी ४:२९.

१७. जिब्रोको प्रयोग गर्ने सबैभन्दा राम्रो तरिका के हो? हामीले किन त्यसो गर्नुपर्छ?

१७ जिब्रोको प्रयोग गर्ने सबैभन्दा राम्रो तरिका अरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाएर हो। हितोपदेश ३:२७ भन्छ: “तिमीसँग अरूलाई केही दिने क्षमता छ भने खाँचोमा परेकालाई मदत गर्न पछि नहट।” जीवन बचाउने सुसमाचार सुनाउनु हाम्रो कर्तव्य हो। यहोवाले उदार भई हामीलाई सुसमाचार सुनाउने सुअवसर दिनुभएको छ। त्यसैले हामीले त्यो सन्देश आफैमा सीमित राख्नु हुँदैन। (१ कोरिन्थी ९:१६, २२) त्यसोभए हामीले यस काममा कुन हदसम्म भाग लिएको यहोवा चाहनुहुन्छ?

आफ्नो शक्‍तिको सदुपयोग गर्ने सबैभन्दा राम्रो तरिका सुसमाचार सुनाउनु हो

“सारा बलले” यहोवाको सेवा गर्नुहोस्‌

१८. यहोवा हामीले के गरेको चाहनुहुन्छ?

१८ यहोवाप्रतिको प्रेमले हामीलाई सुसमाचार सुनाउन उत्प्रेरित गर्छ। यस सन्दर्भमा यहोवा हामीबाट के चाहनुहुन्छ? उहाँ हामीबाट जे चाहनुहुन्छ, त्यो हामी सबैले गर्न सक्छौँ, चाहे हाम्रो परिस्थिति जस्तोसुकै किन नहोस्‌। त्यसबारे बाइबल यसो भन्छ: “चाहे तिमीहरू जेसुकै गर, मानिसको लागि जस्तैगरि होइन तर यहोवा परमेश्‍वरको लागि जस्तैगरि तनमनले गर।” (कलस्सी ३:२३) येसुले सबैभन्दा ठूलो आज्ञाबारे यसो भन्‍नुभयो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।” (मर्कुस १२:३०) हो, यहोवा हामीले उहाँलाई सारा ज्यानले प्रेम गरेको र उहाँको सेवा गरेको चाहनुहुन्छ।

१९, २०. (क) ज्यान शब्दमा सारा हृदय, दिमाग र बल मुछिएको भए तापनि मर्कुस १२:३० मा यी पक्षहरूलाई किन छुट्टाछुट्टै उल्लेख गरिएको छ? (ख) सारा ज्यानले परमेश्‍वरको सेवा गर्नुको अर्थ के हो?

१९ सारा ज्यानले परमेश्‍वरको सेवा गर्नुको अर्थ के हो? ज्यान भनेको व्यक्‍ति स्वयम्‌ हो र यसमा तिनको सम्पूर्ण शारीरिक र मानसिक क्षमता समावेश छ। ज्यान शब्दमा नै सारा हृदय, दिमाग र बल मुछिएको भए तापनि मर्कुस १२:३० मा यी चारै वटा पक्षलाई किन छुट्टाछुट्टै उल्लेख गरिएको छ? एउटा उदाहरण विचार गरौँ। बाइबलकालीन समयमा कुनै व्यक्‍तिले आफूलाई (आफ्नो ज्यानलाई) दासत्वमा बेच्न सक्थ्यो। तर त्यस दासले आफ्नो सारा ज्यानले मालिकको सेवा नगर्न पनि सक्थ्यो। भन्‍नुको मतलब, उसले मालिकको हितको लागि आफ्नो सारा बल वा आफ्नो सारा मानसिक क्षमता नचलाउन पनि सक्थ्यो। (कलस्सी ३:२२) त्यसैले हामीले कुनै कसर बाँकी नराखी परमेश्‍वरको सेवा गर्नुपर्छ भन्‍ने कुरालाई जोड दिन येसुले यी चार वटा पक्षलाई छुट्टाछुट्टै उल्लेख गर्नुभएको हुनुपर्छ। सारा ज्यानले परमेश्‍वरको सेवा गर्नु भनेको आफूलाई परमेश्‍वरमा सुम्पनु अनि आफ्नो सम्पूर्ण बल र शक्‍ति उहाँको सेवामा लगाउनु हो।

२० सारा ज्यानले परमेश्‍वरको सेवा गर्नुको अर्थ के हामी प्रत्येकले नै उत्तिकै समय र शक्‍ति खर्च गर्नुपर्छ भन्‍ने हो? हामी प्रत्येकको परिस्थिति र क्षमता फरक-फरक हुने भएकोले त्यसो गर्नु सम्भव छैन। शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त जवानले साक्षीकार्यमा वृद्धावस्थाले गर्दा कमजोर भइसकेका दाइ वा दिदीले भन्दा धेरै समय बिताउन सक्छन्‌। कुनै पारिवारिक जिम्मेवारी नभएको ख्रिष्टियनले पारिवारिक जिम्मेवारी भएको ख्रिष्टियनले भन्दा धेरै गर्न सक्छन्‌। हामी शारीरिक रूपमा बलियो भएकोले र हाम्रो परिस्थिति पनि अनुकूल भएकोले साक्षीकार्यमा धेरै भाग लिन सकौँला र त्यो राम्रै कुरा हो। तर यस सन्दर्भमा हामीले कहिल्यै पनि आफूलाई अरूसित तुलना गर्नु हुँदैन र साक्षीकार्यमा हामीले भन्दा कम गरिरहेकाहरूको आलोचना गर्नु हुँदैन। (रोमी १४:१०-१२) बरु हामी आफ्नो शक्‍ति अरूलाई प्रोत्साहन दिन प्रयोग गर्न चाहन्छौँ।

२१. हाम्रो शक्‍तिको सदुपयोग गर्ने सबैभन्दा राम्रो र महत्त्वपूर्ण तरिका कुन हो?

२१ आफ्नो शक्‍ति सही तरिकामा प्रयोग गर्ने सन्दर्भमा यहोवाले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। हामी त्रुटिपूर्ण भए पनि सक्दो राम्ररी उहाँको अनुकरण गर्न चाहन्छौँ। हामी आफ्नो अधीनमा भएकाहरूसित मर्यादित व्यवहार गरेर आफ्नो शक्‍ति सही तरिकामा प्रयोग गर्न सक्छौँ। साथै यहोवाले हामीलाई सुम्पनुभएको जीवन बचाउने काममा तनमनले भाग लिन चाहन्छौँ। (रोमी १०:१३, १४) तपाईँले सारा ज्यानले यहोवाको सेवा गर्नुभयो अर्थात्‌ आफ्नो तर्फबाट उत्तम सेवा चढाउनुभयो भने उहाँ पक्कै खुसी हुनुहुनेछ। के तपाईँ हाम्रो अवस्था बुझ्ने यस्तो मायालु परमेश्‍वरको सेवा गर्न जुरमुरिनुभएन र? हाम्रो शक्‍तिको सदुपयोग गर्ने योजत्तिको राम्रो र महत्त्वपूर्ण तरिका अरू कुनै छैन।

a बाइबलकालीन समयमा “छडी”-को लागि चलाइएको हिब्रू शब्दले गोठालोले बगाललाई बाटो देखाउन प्रयोग गर्ने लट्ठी वा लौरोलाई जनाउँथ्यो। (भजन २३:४) त्यसैगरि आमाबुबाले चलाउने अनुशासनको “छडी”-ले छोराछोरीलाई निर्ममतापूर्वक कुटपिट गर्नुलाई नभई मायालु डोऱ्‍याइ दिनुलाई बुझाउँछ।