सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ११

“उहाँका सबै काम न्यायसङ्‌गत छन्‌”

“उहाँका सबै काम न्यायसङ्‌गत छन्‌”

१, २. (क) युसुफले कस्तो अन्याय भोगे? (ख) यहोवाले कसरी तिनलाई न्याय दिनुभयो?

 एक सुन्दर युवकमाथि घोर अन्याय भएको थियो। तिनले कुनै अपराध नगरेको भए तापनि तिनलाई झ्यालखानामा हालियो। तिनीमाथि बलात्कार गर्न खोजेको झूटो आरोप लागेको थियो। तिनको नाम युसुफ थियो। तर तिनले यस्तो अन्याय भोगेको यो पहिलो पटक त थिएन। वर्षौँअघि तिनी १७ वर्षको छँदा तिनलाई आफ्नै दाइहरूले धोका दिएका थिए र झन्डै मार्न लागेका थिए। तिनी दासत्वमा बेचिए र अनजान ठाउँमा पुगे। त्यहाँ तिनको मालिककी पत्नीले तिनलाई पटक-पटक अवैध यौनसम्बन्ध राख्न दबाब दिइन्‌ तर तिनले हरेक पटक इन्कार गरे। जाबो एउटा दासले आफ्नो कुरा नमानेको देखेर मालिककी पत्नी असाध्यै रिसाइन्‌ र युसुफलाई झूटो आरोपमा फसाउन खोजिन्‌। दुःखको कुरा, त्यतिबेला युसुफको पक्षमा बोलिदिने कोही पनि छैन जस्तो देखिन्थ्यो।

तर “धार्मिकता र न्यायलाई प्रेम” गर्नुहुने परमेश्‍वरले यी सब देखिरहनुभएको थियो। (भजन ३३:५) उहाँले युसुफलाई न्याय दिन कदम चाल्नुभयो र घटनालाई अन्तै मोडिदिनुभयो, जसले गर्दा तिनी झ्यालखानाबाट मुक्‍त भए। त्यति मात्र होइन, तिनले उच्च पद र धेरै मानसम्मान पाए। (उत्पत्ति ४०:१५; ४१:४१-४३; भजन १०५:१७, १८) अन्तमा तिनी निर्दोष साबित भए अनि आफूले पाएको अख्तियार परमेश्‍वरको उद्देश्‍य पूरा गर्न प्रयोग गरे।—उत्पत्ति ४५:५-८.

युसुफलाई अन्यायपूर्ण तरिकामा झ्यालखानामा हालियो

३. अरूले हामीलाई न्यायपूर्ण व्यवहार गरेको चाहनु किन मनासिब छ?

के यस्तो विवरणले हाम्रो मन छुँदैन र? अन्याय भएको नदेखेको वा आफू त्यसको सिकार नभएको हामीमध्ये को नै हौँला र? हो, हामी सबै नै अरूले हामीलाई न्यायपूर्ण र निष्पक्ष व्यवहार गरेको चाहन्छौँ। यो मनासिब पनि छ किनभने यहोवाले आफूमा भएका गुणहरू हामीमा पनि हालिदिनुभएको छ अनि न्याय उहाँका प्रमुख गुणहरूमध्ये एउटा हो। (उत्पत्ति १:२७) हामीले यहोवालाई राम्ररी चिन्‍न उहाँको न्याय गर्ने तरिका पनि बुझ्नुपर्छ। यसो गर्दा हामीले उहाँको तौरतरिका अझ राम्ररी बुझ्नेछौँ र उहाँसित नजिक हुन जुरमुरिनेछौँ।

न्याय के हो?

४. मानिसको दृष्टिकोणमा न्याय भनेको के हो?

मानिसको दृष्टिकोणमा न्याय भनेको निष्पक्ष भई नियम पालन गर्नु मात्र हो। न्याय र तर्क—सिद्धान्त तथा व्यवहारको नीतिशास्त्र (अङ्‌ग्रेजी) यसो भन्छ: “न्यायको सम्बन्ध कानुन, दायित्व, अधिकार र कर्तव्यसित हुन्छ अनि यो निष्पक्षता वा कसैको असल कामको आधारमा गरिन्छ।” तर यो परिभाषा यहोवाको न्यायको लागि यथेष्ट छैन। उहाँको न्याय जिम्मेवारी वा कर्तव्य पूरा गर्न नियम पालन गर्नु मात्र त होइन।

५, ६. (क) “न्याय” भनी अनुवाद गरिएको मूल भाषाका शब्दहरूको अर्थ के हो? (ख) परमेश्‍वर न्यायी हुनुहुन्छ भन्‍नुको अर्थ के हो?

यहोवाको न्यायमा के-के समावेश छ भनेर बुझ्न बाइबलमा प्रयोग गरिएको मूल भाषाका शब्दहरू केलाउनु आवश्‍यक छ। हिब्रू धर्मशास्त्रमा न्यायलाई जनाउन तीन वटा मुख्य शब्द प्रयोग गरिएका छन्‌। अक्सर “न्याय” भनी अनुवाद गरिएको एउटा शब्दलाई “जे सही . . . छ” भनेर पनि अनुवाद गरिएको छ। (उत्पत्ति १८:१९) बाँकी दुइटा शब्दलाई चाहिँ प्रायजसो “धार्मिकता” भनेर अनुवाद गरिएको छ। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा “धार्मिकता” भनेर अनुवाद गरिएको शब्दलाई “सही वा न्यायी हुनु” भनेर परिभाषित गर्न सकिन्छ। त्यसैले धार्मिकता र न्याय एउटै सिक्काका दुई पाटा हुन्‌।—आमोस ५:२४.

बाइबलमा परमेश्‍वर न्यायी हुनुहुन्छ भन्‍नुको अर्थ हो, उहाँ सधैँ सही र उचित काम गर्नुहुन्छ र कसैको पनि पक्षपात गर्नुहुन्‍न। (रोमी २:११) उहाँले अन्याय गर्नुहुन्छ भन्‍ने कुरा हामी सोच्न पनि सक्दैनौँ। परमेश्‍वरका वफादार सेवक एलिहुले भने: “साँचो परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न, सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।” (अय्युब ३४:१०) हो, उहाँको लागि अन्याय गर्न असम्भव छ। किन? दुइटा कारण विचार गरौँ।

७, ८. (क) यहोवाबाट किन कहिल्यै अन्यायपूर्ण काम हुन सक्दैन? (ख) यहोवालाई अरूसित सही वा न्यायोचित व्यवहार गर्न केले उत्प्रेरित गर्छ?

पहिलो कारण, उहाँ पवित्र हुनुहुन्छ। हामीले अध्याय ३ मा सिकेझैँ यहोवा पूर्ण रूपमा शुद्ध र सही हुनुहुन्छ। त्यसैले उहाँबाट कहिल्यै गलत वा अन्यायपूर्ण काम हुनै सक्दैन। यसको अर्थ के हो, विचार गरौँ। स्वर्गमा बस्नुहुने हाम्रो बुबा पवित्र हुनुभएकोले उहाँले मानव छोराछोरीलाई कहिल्यै दुर्व्यवहार गर्नुहुन्‍न भनेर हामी ढुक्क हुन सक्छौँ। येसु पनि त्यो कुरामा विश्‍वस्त हुनुहुन्थ्यो। त्यसैले उहाँले आफ्नो मृत्युको अघिल्लो रात यसरी प्रार्थना गर्नुभयो: “हे पवित्र बुबा, . . . तपाईँकै नामको खातिर तिनीहरूको [चेलाहरूको] हेरचाह गर्नुहोस्‌।” (युहन्‍ना १७:११) धर्मशास्त्रमा “पवित्र बुबा” भनेर यहोवालाई मात्र सम्बोधन गरिएको छ किनभने पवित्रताको सन्दर्भमा कुनै पनि मानव बुबा उहाँको बराबरीमा आउन सक्दैन। चेलाहरू आफ्नो बुबाको हातमा सुरक्षित हुनेछन्‌ भनेर येसु पूर्णतया विश्‍वस्त हुनुहुन्थ्यो किनभने यहोवा शतप्रतिशत शुद्ध र स्वच्छ हुनुहुन्छ अनि हरेक किसिमको पापबाट पूर्णतया अलग हुनुहुन्छ।—मत्ति २३:९.

दोस्रो कारण, निःस्वार्थ प्रेम परमेश्‍वरको व्यक्‍तित्वको अभिन्‍न भाग हो। यस्तो प्रेमले उहाँलाई अरूसित सही वा न्यायोचित व्यवहार गर्न उत्प्रेरित गर्छ। तर अन्यायका विभिन्‍न रूप, जस्तै: जातिवाद, भेदभाव र पक्षपातको जड लोभ र स्वार्थ हुन्‌ अनि यी दुर्गुणहरू प्रेमको विपरीत गुणहरू हुन्‌। प्रेमको परमेश्‍वरबारे बाइबल यसो भन्छ: “यहोवा न्यायी हुनुहुन्छ; उहाँलाई न्यायोचित काम मन पर्छ।” (भजन ११:७) यहोवा स्वयम्‌ले आफूबारे यसो भन्‍नुभएको छ: “म यहोवा न्यायलाई प्रेम गर्छु।” (यसैया ६१:८) हाम्रो परमेश्‍वर सही वा न्यायोचित काम गर्न मन पराउनुहुन्छ भनेर थाह पाउनु साँच्चै सान्त्वनादायी छ नि, होइन र?—यर्मिया ९:२४.

कृपा र यहोवाको उत्कृष्ट न्याय

९-११ (क) यहोवाको न्याय र कृपाबीच कस्तो सम्बन्ध छ? (ख) यहोवाले पापी मानिसहरूसित गर्नुहुने व्यवहारमा उहाँको न्याय र कृपा कसरी झल्किन्छ?

यहोवाको व्यक्‍तित्वको अन्य बेजोड पक्षहरूजस्तै उहाँको न्याय पनि उत्कृष्ट छ र यसमा कुनै कुराको कमी छैन। मोसाले यसरी यहोवाको प्रशंसा गरे: “उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन, उहाँका सबै काम न्यायसङ्‌गत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, उहाँ कहिल्यै अन्याय गर्नुहुन्‍न; उहाँ सत्य र न्यायी हुनुहुन्छ।” (व्यवस्था ३२:३, ४) हो, यहोवाको न्यायमा कुनै खोट छैन। उहाँको न्याय न त खुकुलो छ न कठोर नै।

१० यहोवाको न्याय र कृपाबीच गहिरो सम्बन्ध छ। भजन ११६:५ भन्छ: “यहोवा दयालु र न्यायी हुनुहुन्छ; हाम्रा परमेश्‍वर कृपालु हुनुहुन्छ।” हो, यहोवा न्यायी र कृपालु दुवै हुनुहुन्छ। यी दुई गुण एकअर्कासित बाझिँदैन। उहाँको कृपाले उहाँको न्यायलाई ओझेलमा पार्दैन। उहाँ कृपालु नहुनुभएको भए उहाँको न्याय एकदमै कठोर हुने थियो। उहाँले अक्सर यी दुवै गुण एउटै समयमा र एउटै घटनामा देखाउनुभएको छ। यसको एउटा उदाहरण विचार गरौँ।

११ सबै मानिस जन्मजातै पापी छन्‌, जसले गर्दा तिनीहरूले सजायस्वरूप मृत्यु भोग्नुपर्छ। (रोमी ५:१२) तर यहोवा पापीहरूको मृत्युमा खुसी हुनुहुन्‍न। उहाँ “क्षमा दिन सधैँ तयार हुनुहुन्छ; . . . दयालु र कृपालु परमेश्‍वर हुनुहुन्छ।” (नहेम्याह ९:१७) अर्कोतर्फ उहाँ पवित्र हुनुभएकोले खराब कामलाई सहनुहुन्‍न। त्यसोभए उहाँले कसरी जन्मजातै पापी मानिसलाई कृपा देखाउनुभयो? यसको जवाफ परमेश्‍वरको वचनमा भएको एउटा अनमोल सत्यमा पाइन्छ। त्यो हो, मानिसजातिको मुक्‍तिको लागि यहोवाले मिलाउनुभएको फिरौतीको प्रबन्ध। हामी यस मायालु प्रबन्धबारे अध्याय १४ मा अझ धेरै सिक्नेछौँ। यस प्रबन्धमा उहाँको उत्कृष्ट न्याय र अपार कृपा दुवै झल्किन्छ। यस प्रबन्धमार्फत उहाँले पश्‍चात्ताप गर्ने पापीहरूलाई कोमल कृपा देखाउँदै आफ्नो उत्कृष्ट न्यायको स्तर पनि कायम राख्नुभएको छ।—रोमी ३:२१-२६.

यहोवाको न्याय मनमोहक छ

१२, १३. (क) यहोवाको न्यायले हामीलाई किन उहाँसित नजिक हुन जुरमुऱ्‍याउँछ? (ख) यहोवाको न्यायबारे दाउद कस्तो निष्कर्षमा पुगे र यसबाट हामी कस्तो आश्‍वासन पाउँछौँ?

१२ यहोवाको न्याय कठोर छैन बरु यो मनमोहक गुणले हामीलाई उहाँसित नजिक हुन जुरमुऱ्‍याउँछ। बाइबलमा यहोवाको न्याय वा धार्मिकता दयाले भरिपूर्ण छ भनेर स्पष्टसित बताइएको छ। यहोवाले न्याय गर्नुहुने केही मन छुने तरिकाबारे छलफल गरौँ।

१३ यहोवाको उत्कृष्ट न्यायले उहाँलाई आफ्ना सेवकहरूप्रति वफादारी देखाउन उत्प्रेरित गर्छ। भजनरचयिता दाउदले यहोवाको न्यायको यो पक्ष आफैले अनुभव गरे र यसको कदर गरे। यस्तो अनुभव र परमेश्‍वरको तौरतरिकाको अध्ययनबाट तिनी कस्तो निष्कर्षमा पुगे? तिनले भने: “यहोवा न्याय मन पराउनुहुन्छ; आफ्ना वफादार सेवकहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्‍न। उहाँले तिनीहरूको सधैँ रक्षा गर्नुहुन्छ।” (भजन ३७:२८) यो साँच्चै आश्‍वासनदायी कुरा हो। परमेश्‍वर आफ्ना वफादार सेवकहरूलाई कहिल्यै त्याग्नुहुन्‍न। त्यसैले उहाँ सधैँ हाम्रो साथमा हुनुहुनेछ र हाम्रो मायालु हेरचाह गर्नुहुनेछ भन्‍ने कुरामा पूर्ण भरोसा गर्न सक्छौँ। उहाँको न्यायले यस कुराको ग्यारेन्टी दिन्छ।—हितोपदेश २:७, ८.

१४. यहोवा दीनदुःखीहरूको ख्याल राख्नुहुन्छ भनेर इस्राएलीहरूलाई दिइएको व्यवस्थाबाट कसरी प्रस्ट हुन्छ?

१४ यहोवा न्यायी हुनुभएकोले दीनदुःखीहरूको आवश्‍यकता बुझ्नुहुन्छ। यो कुरा उहाँले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाबाट प्रस्ट हुन्छ। उदाहरणको लागि, व्यवस्थामा अनाथ र विधवाहरूको ख्याल राख्ने सन्दर्भमा तोकेरै नियमहरू दिइएको थियो। (व्यवस्था २४:१७-२१) यस्ता परिवारहरूलाई जीवनयापन गर्न कत्ति गाह्रो हुन्छ भनेर बुझ्नुभएकोले यहोवा आफै नै तिनीहरूको मायालु न्यायकर्ता र रक्षक हुनुभयो अनि “विधवा र अनाथहरूको पक्षमा न्याय” गर्नुभयो। (व्यवस्था १०:१८; भजन ६८:५) इस्राएलीहरूले निस्सहाय स्त्री र केटाकेटीलाई दमन गरे भने यहोवाले ती दीनदुःखीहरूको पुकारा सुन्‍नुहुने थियो र ती दमनकारीहरूमाथि ‘उहाँको क्रोध दन्कने थियो।’ (प्रस्थान २२:२२-२४) हुनत क्रोध परमेश्‍वरका मुख्य गुणहरूमा पर्दैन तर कसैले जानाजानी अरूमाथि, अझ विशेषगरि थिचोमिचोमा परेका र बेसहाराहरूमाथि अन्याय गर्छ भने त्यो उहाँ पटक्कै सहनुहुन्‍न र उहाँको क्रोध दन्कन्छ।—भजन १०३:६.

१५, १६. यहोवा निष्पक्ष हुनुहुन्छ भन्‍ने कुराको एउटा उल्लेखनीय प्रमाण के हो?

१५ यहोवाले हामीलाई उहाँ “कसैलाई पक्षपात गर्नुहुन्‍न र कसैबाट घुस लिनुहुन्‍न” भनेर पनि आश्‍वासन दिनुभएको छ। (व्यवस्था १०:१७) शक्‍ति वा उच्च ओहदामा भएका मानिसहरू अरूको भौतिक सरसम्पत्ति वा बाहिरी रूपरङ्‌ग हेरेर न्याय गर्छन्‌ तर यहोवाको न्यायलाई यस्ता कुराहरूले बिगार्न सक्दैन। उहाँ कसैलाई काखा र कसैलाई पाखा गर्नुहुन्‍न। यसको एउटा उल्लेखनीय प्रमाण विचार गरौँ। यहोवाको उपासक बन्‍ने र भविष्यमा अनन्त जीवन पाउने सुअवसर उहाँले केही विशेष मानिसहरूलाई मात्र दिनुभएको छैन। “बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।” (प्रेषित १०:३४, ३५) यो सुन्दर आशा सबैको लागि हो, चाहे तिनीहरू जुनसुकै सामाजिक ओहदा, वर्ण वा देशका किन नहोऊन्‌। के यो साँचो न्यायको उत्कृष्ट नमुना होइन र?

१६ यहोवाको उत्कृष्ट न्यायको अर्को एउटा पक्ष पनि छ, जसबारे हामीले गहिरिएर विचार गर्नुपर्छ र त्यसको कदर गर्नुपर्छ। त्यो हो, उहाँका धार्मिक स्तरहरू पालन नगर्नेहरूसित यहोवाले गर्नुहुने व्यवहार।

सजायबाट उम्कने कुनै बाटो छैन

१७. संसारमा व्याप्त अन्याय देखेर हामीले यहोवाको न्यायमाथि प्रश्‍न उठाउन किन मिल्दैन?

१७ कसै-कसैलाई लाग्ला: ‘यदि परमेश्‍वर खराब कुरालाई पटक्कै सहनुहुन्‍न भने उहाँले किन संसारमा व्याप्त अन्याय र दुष्टता टुलुटुलु हेरेर बसिरहनुभएको छ?’ यस्तो अन्याय देखेर हामीले उहाँको न्यायमाथि प्रश्‍न उठाउन कदापि मिल्दैन। यस दुष्ट संसारमा भइरहेको अन्याय हामीले आदमबाट जन्मजात पाएको पापको नतिजा हो। त्रुटिपूर्ण मानिसहरूले खराब मार्ग रोजेकाले अन्याय व्याप्त भएको हो तर यस्तो अन्याय सधैँभरि त रहँदैन।—व्यवस्था ३२:५.

१८, १९. यहोवा जानाजानी उहाँका सिद्ध नियमहरू तोड्‌ने मानिसहरूलाई सधैँ सहनुहुन्‍न भनेर केले देखाउँछ?

१८ यहोवा उहाँसित मनैदेखि नजिक हुन चाहनेहरूलाई अपार कृपा देखाउनुहुन्छ तर उहाँको पवित्र नामलाई बदनाम गर्ने कुराहरू उहाँ सधैँभरि सहेर बस्नुहुन्‍न। (भजन ७४:१०, २२, २३) न्यायी परमेश्‍वरलाई झुक्क्याउन सकिँदैन किनभने उहाँले जानाजानी पाप गर्नेहरूलाई सजायबाट उम्कन दिनुहुनेछैन। उहाँले आफूबारे यसो भन्‍नुभएको छ: “म यहोवा कृपालु र दयालु छु, म हतपती रिसाउँदिनँ अनि म अटल प्रेम र सत्यले भरिपूर्ण छु। . . . तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्‌दिनँ।” (प्रस्थान ३४:६, ७) विगतमा यहोवाले जानाजानी उहाँका सिद्ध नियमहरू तोड्‌ने मानिसहरूलाई सजाय दिनुभएको थियो।

१९ उदाहरणको लागि, यहोवाले पुरातन समयका इस्राएलीहरूसित गर्नुभएको व्यवहारबारे विचार गरौँ। प्रतिज्ञा गरिएको देशमा बसोबास गर्न थालेपछि पनि तिनीहरू बारम्बार यहोवाप्रति अनाज्ञाकारी भए। यसरी तिनीहरूले उहाँको “मन दुखाए” तर उहाँले तुरुन्तै तिनीहरूलाई त्याग्नुभएन। (भजन ७८:३८-४१) बरु उहाँले तिनीहरूलाई सुध्रने मौका दिएर कृपा देखाउनुभयो। उहाँले तिनीहरूलाई यस्तो आग्रह गर्नुभयो: “दुष्ट मर्दा म खुसी हुन्‍नँ बरु त्यसले कुकर्म त्यागेर बाँचेको म चाहन्छु। त्यसैले फर्क, कुकर्म त्यागेर आऊ। हे इस्राएलको घराना, तिमीहरू व्यर्थैमा किन मर्छौ?” (इजकिएल ३३:११) उहाँले तिनीहरूको जीवनलाई अनमोल ठान्‍नुहुने भएकोले पटक-पटक भविष्यवक्‍ताहरू पठाएर कुमार्ग त्याग्न सल्लाह दिनुभयो। तर दुःखको कुरा, ती कठोर इस्राएलीहरूले यहोवाको कुरा सुनेनन्‌ र पश्‍चात्ताप पनि गरेनन्‌। अन्तमा उहाँले आफ्नो पवित्र नाम र त्यस नामको अर्थको खातिर तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पनुभयो।—नहेम्याह ९:२६-३०.

२०. (क) यहोवाले इस्राएलीहरूसित गर्नुभएको व्यवहारबाट उहाँबारे के सिक्न सक्छौँ? (ख) बाइबलमा यहोवाको उपस्थिति र सिंहासनबारे चर्चा गरिँदा सिंहबारे उल्लेख गरिनु किन उपयुक्‍त छ?

२० यहोवाले इस्राएलीहरूसित गर्नुभएको व्यवहारबाट हामी उहाँबारे धेरै कुरा सिक्न सक्छौँ। उहाँको नजर सर्वत्र रहने भएकोले उहाँबाट कुनै पनि खराब काम लुक्न सक्दैन र यस्ता कुराहरू देख्दा उहाँलाई असाध्यै दुःख लाग्छ। (हितोपदेश १५:३) कृपा देखाउने कुनै आधार छ भने उहाँ पछि हट्‌नुहुन्‍न भनेर थाह पाउँदा पनि हामी आश्‍वासन पाउँछौँ। साथै उहाँ सजाय दिन हतार गर्नुहुन्‍न। उहाँ धीरजी हुनुभएकोले दुष्टहरूलाई कहिल्यै सजाय दिनुहुनेछैन भनेर थुप्रै मानिस गलत निष्कर्षमा पुग्छन्‌। तर यहोवा आफ्नो धार्मिक स्तरमा कहिल्यै सम्झौता गर्नुहुन्‍न बरु दृढ भई त्यसअनुसार चल्नुहुन्छ। मानिसहरू अक्सर न्याय कार्यान्वयन गर्न पछि हट्‌छन्‌। तर यहोवा भने जे सही हो, त्यसको पक्षमा साहसी भई खडा रहनुहुन्छ। बाइबलमा यहोवाको उपस्थिति र सिंहासनबारे चर्चा गरिँदा सिंहबारे उल्लेख गरिनु उपयुक्‍त छ किनभने सिंह यहोवाले साहसी भई न्याय गर्नुहुन्छ भन्‍ने कुराको प्रतीक हो। a (इजकिएल १:१०; प्रकाश ४:७) त्यसैले यस संसारबाट अन्याय हटाउने यहोवाको प्रतिज्ञा अवश्‍य पूरा हुनेछ भनेर हामी विश्‍वस्त हुन सक्छौँ। छोटकरीमा भन्‍ने हो भने आवश्‍यक पर्दा यहोवा दृढ भई न्याय गर्नुहुन्छ तर सम्भव भएसम्म कृपा देखाउनुहुन्छ।—२ पत्रुस ३:९.

न्यायका परमेश्‍वरसित नजिक हुनुहोस्‌

२१. यहोवाको न्याय गर्ने तरिकाबारे मनन गर्दा हामीले उहाँलाई कस्तो व्यक्‍तिको रूपमा हेर्नुपर्छ र किन?

२१ यहोवाको न्याय गर्ने तरिकाबारे मनन गर्दा उहाँ भावना नै नभएको कठोर र अपराधीहरूलाई सजाय दिनुलाई नै महत्त्वपूर्ण ठान्‍ने न्यायाधीश हुनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नु हुँदैन। बरु उहाँलाई आफ्ना छोराछोरीको हित चाहने एक जना मायालु तर दृढ बुबाको रूपमा हेर्नुपर्छ। उहाँ न्यायी र असल बुबा हुनुभएकोले जे सही छ, त्यसको लागि दृढ अडान लिनुहुन्छ। अर्कोतर्फ उहाँ पृथ्वीमा भएका आफ्ना छोराछोरीले मदत र क्षमा माग्दा तिनीहरूलाई कोमल कृपा पनि देखाउनुहुन्छ।—भजन १०३:१०, १३.

२२. यहोवाले हामीलाई कस्तो आशा दिनुभएको छ र किन?

२२ यहोवाको न्यायमा दोषीलाई सजाय दिनु मात्र समावेश छैन भनेर थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ। उहाँ न्यायी हुनुभएकोले नै हामीलाई “धार्मिकताले बास गर्ने” नयाँ संसारमा त्रुटिरहित भएर सधैँभरि बाँच्ने सुन्दर आशा दिनुभएको छ। (२ पत्रुस ३:१३) किनभने उहाँलाई न्याय भन्‍ने गुणले मानिसहरूलाई दोषी ठहराउन नभई तिनीहरूको जीवन बचाउन उत्प्रेरित गर्छ। यहोवाको न्यायमा के-के समावेश छ भनेर राम्ररी बुझ्दा हामी उहाँसित नजिक हुनेछौँ। यसपछिका अध्यायहरूमा उहाँले यो उत्कृष्ट गुण कसरी देखाउनुभएको छ भनेर बुझ्नेछौँ।

a रोचक कुरा, यहोवाले विश्‍वासघाती इस्राएलीहरूलाई सजाय दिनुहुँदा आफूलाई सिंहसित तुलना गर्नुभएको छ।—यर्मिया २५:३८; होसे ५:१४.