सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १६

परमेश्‍वरजस्तै “निष्पक्ष” हुनुहोस्‌

परमेश्‍वरजस्तै “निष्पक्ष” हुनुहोस्‌

१-३. (क) हामी यहोवाप्रति किन ऋणी छौँ? (ख) हाम्रो मायालु उद्धारक हामीबाट के चाहनुहुन्छ?

 मानिलिनुहोस्‌, तपाईँ डुब्न लागेको जहाजमा हुनुहुन्छ। अब बाँच्ने कुनै उपाय छैन जस्तो लाग्दा एक जना उद्धारकर्मी आएर तपाईँलाई जहाजबाट निकाल्छन्‌ र सुरक्षित ठाउँमा लैजान्छन्‌। तिनले यसो भन्दा तपाईँ एकदमै ढुक्क महसुस गर्नुहुन्छ: “अब तपाईँ सुरक्षित हुनुहुन्छ।” के तपाईँ तिनीप्रति आभारी हुनुहुन्‍न र? साँच्चै भन्‍नुपर्दा तपाईँ तिनीप्रति ऋणी महसुस गर्नुहुन्छ।

यस उदाहरणबाट यहोवाले हाम्रो लागि के गर्नुभएको छ भन्‍ने कुरा केही हदसम्म बुझ्न सकिन्छ। हामी उहाँप्रति ऋणी छौँ किनभने उहाँले फिरौतीको प्रबन्ध मिलाएर हामीलाई पाप र मृत्युको दासत्वबाट मुक्‍त गर्नुभएको छ। येसुको अमूल्य बलिदानमा विश्‍वास गऱ्‍यौँ भने हाम्रो पाप क्षमा हुन्छ र हामी सुरक्षित भविष्य पाउन सक्छौँ। (१ युहन्‍ना १:७; ४:९) हामीले अध्याय १४ मा छलफल गरेझैँ फिरौतीको प्रबन्ध यहोवा परमेश्‍वरको प्रेम र न्यायको उत्कृष्ट अभिव्यक्‍ति हो। त्यसोभए हाम्रो कर्तव्य के हो?

हाम्रो मायालु उद्धारक स्वयम्‌ले उहाँ हामीबाट के चाहनुहुन्छ भनेर बताउनुभएको छ। उहाँले भविष्यवक्‍ता मिकामार्फत यसो भन्‍नुभएको छ: “हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ। अनि यहोवा तिमीबाट के चाहनुहुन्छ? केवल यति होइन र? निष्पक्ष हुनू, वफादार भई प्रेम गरिरहनू अनि मर्यादामा रहेर आफ्ना परमेश्‍वरसित हिँड्‌नू।” (मिका ६:८) यहोवाले हामीबाट चाहनुभएको एउटा कुरा के तपाईँले याद गर्नुभयो? हो, उहाँ हामीले “निष्पक्ष” अर्थात्‌ न्यायोचित व्यवहार गरेको चाहनुहुन्छ। हामी कसरी त्यसो गर्न सक्छौँ?

“धार्मिकता”-को पछि लाग्नुहोस्‌

४. यहोवा हामी उहाँका धार्मिक स्तरहरूअनुसार चलेको चाहनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

यहोवा हामी उहाँको सही र गलतसम्बन्धी स्तरहरूअनुसार चलेको चाहनुहुन्छ। किनभने उहाँका स्तरहरू सही र न्यायोचित छन्‌ अनि ती स्तरहरूअनुसार चल्दा हामी धार्मिकता र न्यायको पछि लागिरहेका हुन्छौँ। यसैया १:१७ यसो भन्छ: “असल काम गर्न सिक, न्याय गर।” परमेश्‍वरको वचनले “धार्मिकता खोज” भनेर पनि प्रोत्साहन दिन्छ। (सपन्याह २:३) साथै यसले हामीलाई “नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ” भनेर सिकाउँछ, ‘जुन धार्मिकताको [“साँचो धार्मिकताको,” नयाँ संशोधित संस्करण] मागबमोजिम परमेश्‍वरको इच्छाअनुसार सृष्टि भएको थियो।’ (एफिसी ४:२४) साँचो धार्मिकता अर्थात्‌ साँचो न्यायमा हिंसा, अशुद्धता र अनैतिकताको लागि कुनै ठाउँ छैन किनभने यस्ता खराब कामहरूले जे पवित्र छ, त्यसलाई भ्रष्ट बनाउँछ।—भजन ११:५; एफिसी ५:३-५.

५, ६. (क) यहोवाका धार्मिक स्तरहरूअनुसार चल्नु किन बोझिलो छैन? (ख) धार्मिकताको पछि लाग्नु नियमित चलिरहने प्रक्रिया हो भनेर बाइबलले कसरी देखाउँछ?

के यहोवाका धार्मिक स्तरहरूअनुसार चल्नु हाम्रो लागि बोझिलो छ? छैन। यहोवालाई मनैदेखि प्रेम गर्ने व्यक्‍तिलाई उहाँका स्तरहरू पक्कै पनि बोझिलो लाग्दैन। हामी परमेश्‍वर र उहाँसित सम्बन्धित सबै कुरालाई प्रेम गर्ने भएकोले उहाँलाई खुसी बनाउने तरिकामा जीवन बिताउँछौँ। (१ युहन्‍ना ५:३) यहोवालाई “न्यायोचित काम मन पर्छ” भन्‍ने कुरा सम्झनुहोस्‌। (भजन ११:७) हामी उहाँको न्याय अर्थात्‌ धार्मिकताको अनुकरण गर्न चाहन्छौँ भने उहाँले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नुपर्छ र उहाँले घृणा गर्नुहुने कुरालाई घृणा गर्नुपर्छ।—भजन ९७:१०.

हामी त्रुटिपूर्ण मानिसहरूको लागि धार्मिकताको पछि लाग्न सजिलो छैन। त्यसको लागि हामीले पुरानो व्यक्‍तित्वलाई त्यसका पापपूर्ण कामहरूसहित फुकालेर मिल्काइदिनुपर्छ अनि नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ। बाइबलले हामीलाई नयाँ व्यक्‍तित्वलाई सही ज्ञानद्वारा “नयाँ बनाउँदै जाओ” भनेर प्रोत्साहन दिन्छ। (कलस्सी ३:९, १०) “नयाँ बनाउँदै जाओ” भन्‍ने अभिव्यक्‍तिले नयाँ व्यक्‍तित्व धारण गर्ने काम नियमित चलिरहने प्रक्रिया हो र यसो गर्न लगनशील प्रयास चाहिन्छ भनेर सङ्‌केत गर्छ। सही काम गर्न हामीले जति नै प्रयास गरे तापनि हामी त्रुटिपूर्ण भएकोले कहिलेकाहीँ आफ्नो सोचाइ, काम र बोलीमा चुक्छौँ।—रोमी ७:१४-२०; याकुब ३:२.

७. धार्मिकताको पछि लाग्नदेखि बारम्बार चुक्दा हामीले कस्तो सोचाइ राख्नु हुँदैन?

धार्मिकताको पछि लाग्नदेखि चुक्दा हामीले कस्तो सोचाइ राख्नु हुँदैन? हामीले कुनै पाप गऱ्‍यौँ भने त्यसलाई हल्कासित लिँदैनौँ। तर आफ्नो कमीकमजोरीले गर्दा यहोवाको सेवा गर्न अयोग्य छु भनी सोचेर हरेस खाने हदसम्म पनि पुग्दैनौँ किनभने हाम्रो कृपालु परमेश्‍वरले मनैदेखि पश्‍चात्ताप गर्नेहरूलाई क्षमा दिन एउटा प्रबन्ध मिलाउनुभएको छ। प्रेषित युहन्‍नाले हामीलाई यस्तो आश्‍वासन दिए: “म तिमीहरूलाई यी कुराहरू लेख्दै छु ताकि तिमीहरूले पाप नगर।” तिनले वास्तविकता स्विकार्दै यसो पनि भने: “तर यदि कसैले [जन्मजातै त्रुटिपूर्ण भएकोले] पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार हुनुहुन्छ अर्थात्‌ येसु ख्रिष्ट।” (१ युहन्‍ना २:१) हो, मानिसजाति पापी भए पनि यहोवालाई स्वीकार्य हुने तरिकामा उपासना चढाउन सकून्‌ भनेर उहाँले येसुको फिरौतीको बलिदानको प्रबन्ध मिलाउनुभयो। यो कुरा विचार गर्दा के हामी यहोवालाई खुसी बनाउनको लागि हरप्रयास गर्न उत्प्रेरित हुँदैनौँ र?

सुसमाचार र परमेश्‍वरको न्याय

८, ९. सुसमाचार घोषणा गर्ने काममा यहोवाको न्याय कसरी झल्किन्छ?

हामी अरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने काममा पूरापूर भाग लिएर परमेश्‍वरको न्यायको अनुकरण गर्न सक्छौँ। परमेश्‍वरको न्याय र सुसमाचार सुनाउनुबीच कस्तो सम्बन्ध छ?

यहोवाले अग्रिम चेतावनीविनै यस दुष्ट संसारमाथि विनाश ल्याउनुहुनेछैन। अन्तको दिनमा के हुनेछ भन्‍ने भविष्यवाणीमा येसुले यसो भन्‍नुभयो: “सारा जातिहरूलाई पहिला सुसमाचार प्रचार गरिनुपर्छ।” (मर्कुस १३:१०; मत्ति २४:३) यहाँ प्रयोग गरिएको “पहिला” भन्‍ने शब्दले विश्‍वभरि सुसमाचार सुनाउने काम सकिएपछि अन्य घटनाहरू हुनेछन्‌ भनेर सङ्‌केत गर्छ। ती घटनाहरूमा भविष्यवाणी गरिएको महासङ्‌कष्ट पनि समावेश छ। त्यतिबेला दुष्टहरू नाश हुनेछन्‌ र धार्मिकताले बास गर्ने नयाँ संसारको बाटो खुल्नेछ। (मत्ति २४:१४, २१, २२) यहोवाले दुष्टहरूलाई सजाय दिएर अन्याय गर्नुभयो भनेर कसैले पनि औँला ठड्याउन सक्नेछैन किनभने उहाँले तिनीहरूलाई अग्रिम चेतावनी दिनुभएको थियो र तिनीहरूले कुमार्ग त्याग्ने र विनाशबाट जोगिने पर्याप्त मौका पाएका थिए।—योना ३:१-१०.

१०, ११. हामीले सुसमाचार सुनाउँदा कसरी यहोवाको न्याय प्रकट गरिरहेका हुन्छौँ?

१० सुसमाचार सुनाउने काममा यहोवाको न्याय कसरी झल्किन्छ? पहिलो कुरा, मानिसहरूको उद्धारको लागि हामी आफ्नो तर्फबाट हरप्रयास गर्छौँ भने त्योजत्तिको असल काम अरू कुनै हुन सक्दैन। डुब्न लागेको जहाजको उदाहरण फेरि विचार गर्नुहोस्‌। तपाईँ उद्धार गर्न आएको डुङ्‌गामा चढेपछि पक्कै पनि त्यस जहाजमा भएका अरू मानिसहरूलाई बचाउन चाहनुहुन्छ। त्यसैगरि विनाश हुनै लागेको यस दुष्ट संसारबाट मानिसहरूको उद्धार गर्नु हाम्रो कर्तव्य हो। धेरै मानिसले हाम्रो सन्देश सुन्दैनन्‌। तैपनि यहोवाले धीरजी हुँदै सबैलाई ‘पश्‍चात्ताप गर्ने’ र उद्धार पाउनेहरूमध्ये हुने मौका दिँदै हुनुहुन्छ। त्यसैले उहाँले पुग्यो नभन्‍नुभएसम्म सुसमाचार सुनाउनु हाम्रो जिम्मेवारी हो।—२ पत्रुस ३:९.

११ आफूले भेटेका सबै मानिसलाई सुसमाचार सुनाएर हामी अर्को महत्त्वपूर्ण तरिकामा पनि यहोवाको न्याय प्रकट गर्छौँ: हामी निष्पक्ष भएको देखाउँछौँ। याद गर्नुहोस्‌, “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।” (प्रेषित १०:३४, ३५) हामी यहोवाको न्यायको अनुकरण गर्न चाहन्छौँ भने भेदभाव नगरी सबैलाई सुसमाचार सुनाउनुपर्छ, चाहे तिनीहरू जुनसुकै जातिको अनि जस्तोसुकै सामाजिक र आर्थिक स्तरको किन नहोऊन्‌। यसरी हामीले सबैलाई सुसमाचार सुन्‍ने र त्यो स्विकार्ने मौका दिइरहेका हुन्छौँ।—रोमी १०:११-१३.

हामीले अरूसित गर्ने व्यवहार

१२, १३. (क) हामीले किन अरूको न्याय गर्न हतार गर्नु हुँदैन? (ख) “न्याय गर्न छोडिहाल” र “दोष लगाउन छोडिहाल” भन्‍ने येसुको आज्ञाको अर्थ के हो? (फुटनोट पनि हेर्नुहोस्‌।)

१२ यहोवा हामीसित जस्तो व्यवहार गर्नुहुन्छ, हामीले अरूसित पनि त्यस्तै व्यवहार गरेर उहाँको न्यायको अनुकरण गर्नुपर्छ। हामीमा अरूको कमीकमजोरी कोट्ट्याउने, अरूलाई दोषी ठहराउने र अरूको मनसायमा शङ्‌का गर्ने झुकाव छ। तर विचार गर्नुहोस्‌, यहोवाले हाम्रो मनसायमा शङ्‌का गर्नुभएको भए र हाम्रो कमीकमजोरी कोट्ट्याउनुभएको भए हामीलाई कस्तो लाग्थ्यो होला? तर उहाँ कदापि त्यस्तो गर्नुहुन्‍न। भजनरचयिताले यसो भने: “हे याह, तपाईँले हाम्रा गल्तीहरूमा ध्यान दिनुभयो भने हे यहोवा, को खडा रहन सक्ला र?” (भजन १३०:३) हाम्रा न्यायी र कृपालु परमेश्‍वरले हाम्रो कमीकमजोरी मात्र हेरेर बस्नुहुन्‍न भनेर थाह पाउँदा के हामी उहाँप्रति कृतज्ञ हुँदैनौँ र? (भजन १०३:८-१०) त्यसोभए हामीले अरूसित कस्तो व्यवहार गर्नुपर्छ?

१३ परमेश्‍वरको न्यायमा उहाँको कृपा झल्किन्छ भन्‍ने कुरा मनमा राख्यौँ भने हामीसित सरोकारै नभएको वा कम महत्त्वपूर्ण विषयमा अरूको न्याय गर्न हतार गर्नेछैनौँ। डाँडाको उपदेशमा येसुले यस्तो चेतावनी दिनुभयो: “अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌।” (मत्ति ७:१) लुकाको विवरणअनुसार येसुले यसो पनि भन्‍नुभयो: “दोष लगाउन छोडिहाल र तिमीहरूलाई पनि कुनै हालतमा दोष लगाइनेछैन।” a (लुका ६:३७) त्रुटिपूर्ण मानिसहरूमा अरूलाई दोष लगाउने झुकाव हुन्छ भनेर येसुलाई थाह थियो। त्यसैले उहाँले आफ्ना श्रोताहरूमध्ये कसैमा अरूलाई दोष लगाउने बानी छ भने त्यस्तो बानी तुरुन्तै हटाउन सल्लाह दिनुभयो।

हामीले पक्षपात नगरी सुसमाचार सुनाउँदा यहोवाको न्यायको अनुकरण गरिरहेका हुन्छौँ

१४. हामीले किन ‘अरूको न्याय गर्न छोडिहाल्नुपर्छ’?

१४ हामीले किन ‘अरूको न्याय गर्न छोडिहाल्नुपर्छ’? एउटा कारण, हाम्रो अख्तियार सीमित छ। चेला याकुबले “व्यवस्थाको दाता र न्यायकर्ता एकै जना हुनुहुन्छ” अर्थात्‌ यहोवा हुनुहुन्छ भनेर लेखे। उनले यस्तो प्रश्‍न पनि उठाए: “आफ्नो छिमेकीको न्याय गर्ने तिमी को हौ?” (याकुब ४:१२; रोमी १४:१-४) साथै हाम्रो पापपूर्ण झुकावले गर्दा हामी सही तरिकामा न्याय गर्न सक्दैनौँ। हामीमा द्वेषभाव हुन सक्छ, हाम्रो आत्मसम्मानमा चोट पुगेको हुन सक्छ अनि हामी ईर्ष्यालु र आत्मधर्मी भइरहेका हुन सक्छौँ। यस्ता गलत मनोवृत्ति र मनसायले अरूलाई हेर्ने हाम्रो दृष्टिकोणमा असर गर्न सक्छ। हामीमा अरू थुप्रै सीमितता पनि छन्‌ र यो कुरा मनमा राख्दा हामी अरूको कमीकमजोरीमा मात्र ध्यान दिनदेखि जोगिन सक्छौँ। हामी अरूको हृदय पढ्‌न सक्दैनौँ अनि उनीहरू कस्तो अवस्थाबाट गुज्रिरहेका छन्‌ भनेर राम्ररी बुझ्न पनि सक्दैनौँ। त्यसोभए भाइबहिनीको मनसायमा शङ्‌का गर्ने र तिनीहरूले यहोवाको सेवाको लागि गरेको प्रयासमा खोट निकाल्ने हामी को हौँ र? त्यसैले भाइबहिनीको कमीकमजोरीमा नभई असल गुणहरूमा ध्यान दिएर यहोवाको अनुकरण गरौँ।

१५. परमेश्‍वरका उपासकहरूमाझ कस्ता कुराहरूको लागि कुनै ठाउँ छैन र किन?

१५ परिवारका सदस्यहरूबारे के भन्‍न सकिन्छ? हाम्रो घर सुख-शान्ति छाएको ठाउँ हुनुपर्ने हो। तर दुःखको कुरा, अहिले संसारमा परिवारका सदस्यहरूले एकअर्कासित अन्यायपूर्ण व्यवहार गरेको पाइन्छ। पतिपत्नीले एकअर्कालाई र आमाबुबाले छोराछोरीलाई मौखिक वा शारीरिक दुर्व्यवहार गर्नु सामान्य भइसकेको छ। तर परमेश्‍वरका उपासकहरूमाझ दुर्वचन, घोचपेच र दुर्व्यवहारको लागि कुनै ठाउँ छैन। (एफिसी ४:२९, ३१; ५:३३; ६:४) “न्याय गर्न छोडिहाल” र “दोष लगाउन छोडिहाल” भन्‍ने येसुको सल्लाह हामीले घरमा पनि लागू गर्नुपर्छ। यो कुरा सम्झनुहोस्‌: यहोवाको न्यायको अनुकरण गर्नुमा उहाँ हामीसित जस्तो व्यवहार गर्नुहुन्छ, हामीले पनि अरूसित त्यस्तै व्यवहार गर्नु समावेश छ। परमेश्‍वर हामीसित कहिल्यै कठोर व्यवहार गर्नुहुन्‍न बरु हामीप्रति “कोमल स्नेहले भरिपूर्ण” हुनुहुन्छ। (याकुब ५:११) हामीले अनुकरण गर्नुपर्ने कत्ति उत्कृष्ट उदाहरण!

“न्यायसित” सेवा गर्ने एल्डरहरू

१६, १७. (क) यहोवा एल्डरहरूबाट कस्तो आशा गर्नुहुन्छ? (ख) पाप गर्ने व्यक्‍तिले साँचो पश्‍चात्ताप गरेनन्‌ भने तिनलाई के गरिनुपर्छ र किन?

१६ यहोवाको न्यायको अनुकरण गर्नु हामी सबैको जिम्मेवारी हो तर एल्डरहरूले त्यसो गर्नु झनै महत्त्वपूर्ण छ। यसैयाले भविष्यसूचक ढङ्‌गमा “राजकुमारहरू” अर्थात्‌ एल्डरहरूबारे यसो भने: “हेर! राजाले न्यायोचित शासन गर्नेछन्‌; राजकुमारहरूले न्यायसित शासन गर्नेछन्‌।” (यसैया ३२:१) हो, एल्डरहरूले यहोवाको न्यायको अनुकरण गर्दै सेवा गरेको उहाँ चाहनुहुन्छ। तिनीहरूले कसरी त्यसो गर्न सक्छन्‌?

१७ यहोवाको न्याय र धार्मिकताको स्तर कायम राख्न मण्डलीलाई नैतिक र आध्यात्मिक रूपमा स्वच्छ राख्नुपर्छ भनेर यी आध्यात्मिक पुरुषहरूले राम्ररी बुझेका हुन्छन्‌। कहिलेकाहीँ तिनीहरूले गम्भीर गलत कामसम्बन्धी मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ। त्यतिबेला तिनीहरू यो कुरा मनमा राख्छन्‌: यहोवाको न्यायमा सम्भव भएसम्म कृपा देखाउनु पनि समावेश छ। त्यसैले तिनीहरू पाप गर्ने व्यक्‍तिलाई पश्‍चात्ताप गर्न मदत गर्छन्‌। तैपनि तिनले साँचो पश्‍चात्ताप गर्दैनन्‌ भने नि? त्यस्तो अवस्थामा एल्डरहरूले यहोवाको सिद्ध न्यायअनुसार यस्तो ठोस कदम चाल्नुपर्ने हुन्छ: “त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।” यसको अर्थ हो, त्यस्तो व्यक्‍तिलाई मण्डलीबाट बहिष्कार गरिनुपर्छ। (१ कोरिन्थी ५:११-१३; २ युहन्‍ना ९-११) यस्तो कदम चाल्दा एल्डरहरूलाई पक्कै दुःख लाग्छ तर मण्डलीलाई नैतिक र आध्यात्मिक रूपमा स्वच्छ राख्न त्यसो गर्नु जरुरी छ भनेर तिनीहरूलाई थाह छ। तैपनि तिनीहरू पाप गर्ने त्यस व्यक्‍तिले कुनै न कुनै दिन आफ्नो गल्ती महसुस गर्नेछन्‌ र मण्डलीमा फर्कनेछन्‌ भनेर आशा गर्छन्‌।—लुका १५:१७, १८.

१८. एल्डरहरूले अरूलाई बाइबलआधारित सल्लाह दिँदा कुन कुरा मनमा राख्नुपर्छ?

१८ यहोवाको न्यायको अनुकरण गर्नुमा आवश्‍यक पर्दा बाइबलआधारित सल्लाह दिनु पनि समावेश छ। एल्डरहरूले पक्कै पनि भाइबहिनीको गल्ती खोज्ने गर्दैनन्‌ अनि मौका पाउनेबित्तिकै सल्लाह दिइहाल्ने गर्दैनन्‌। तर कहिलेकाहीँ भाइबहिनीले ‘अनजानमा कुनै गलत कदम चाल्न’ सक्छन्‌। त्यतिबेला एल्डरहरूले यहोवाको न्याय क्रूर वा कठोर छैन भन्‍ने कुरा मनमा राख्दा तिनीहरूलाई ‘कोमलताको भावले सच्याउन’ उत्प्रेरित हुन्छन्‌। (गलाती ६:१) एल्डरहरूले गल्ती गर्ने व्यक्‍तिलाई हप्कीदप्की गर्ने वा वचन लगाउने गर्दैनन्‌ बरु तिनीहरूलाई मायालु र प्रोत्साहनदायी तरिकामा सल्लाह दिन्छन्‌। कहिलेकाहीँ भने तिनीहरूलाई सुधार्नुपर्ने हुन्छ र तिनीहरूले गरेको गलत निर्णयको नतिजाबारे स्पष्ट रूपमा बताइदिनुपर्ने हुन्छ। तर त्यतिबेला पनि एल्डरहरूले ती भाइबहिनी यहोवाको बगालका भेडा हुन्‌ भन्‍ने कुरा मनमा राख्छन्‌। b (लुका १५:७) प्रेमले उत्प्रेरित भएर सल्लाह दिँदा वा सुधार्दा गल्ती गर्ने व्यक्‍तिले आफ्नो गल्ती सच्याउने सम्भावना धेरै हुन्छ।

१९. एल्डरहरूले कस्तो निर्णय गर्नुपर्ने हुन्छ र त्यतिबेला तिनीहरूले कुन कुरा विचार गर्छन्‌?

१९ एल्डरहरूले अक्सर भाइबहिनीलाई असर गर्ने निर्णयहरू गर्नुपर्ने हुन्छ। तिनीहरू मण्डलीको कुनै भाइ एल्डर वा सहायक सेवकको रूपमा सेवा गर्न योग्य छन्‌ कि छैनन्‌ भनेर बेलाबेलामा छलफल गर्छन्‌। तिनीहरूले निष्पक्ष हुनुको महत्त्व राम्ररी बुझेका हुन्छन्‌। नियुक्‍तिसम्बन्धी यस्ता निर्णयहरू गर्दा तिनीहरू भावनामा बहँदैनन्‌ बरु कुनै भाइले परमेश्‍वरले तोकिदिनुभएका योग्यताहरू पूरा गरेका छन्‌ कि छैनन्‌ भनेर राम्ररी विचार गर्छन्‌। यसरी तिनीहरू “कुनै पूर्वाग्रह नराखी वा पक्षपात नगरी” निर्णय गर्छन्‌।—१ तिमोथि ५:२१.

२०, २१. (क) एल्डरहरू के गर्न मेहनत गर्छन्‌ र किन? (ख) एल्डरहरूले “निराश” भएकाहरूलाई सान्त्वना दिन के गर्न सक्छन्‌?

२० एल्डरहरू अरू तरिकामा पनि यहोवाको न्याय झल्काउँछन्‌। एल्डरहरूले “न्यायसित” सेवा गर्नेछन्‌ भनेर भविष्यवाणी गरेपछि यसैयाले यसो पनि भने: “तिनीहरू हरेक हुरीबतास चल्दा लुक्ने ठाउँ अनि आँधीबेहरी आउँदा आड लिने ठाउँ हुनेछन्‌। निर्जल भूमिमा खोलाझैँ र सुक्खा ठाउँमा ठूलो चट्टानको छायाझैँ हुनेछन्‌।” (यसैया ३२:१, २) त्यसैले एल्डरहरू भाइबहिनीको लागि सान्त्वना र स्फूर्तिको स्रोत बन्‍न निकै मेहनत गर्छन्‌।

२१ अहिले धेरैजसो भाइबहिनीले निराश बनाउने विभिन्‍न समस्याको सामना गर्दै छन्‌। एल्डरहरू हो, तपाईँहरू “निराश” भएकाहरूलाई सान्त्वना दिन के गर्न सक्नुहुन्छ? (१ थिस्सलोनिकी ५:१४) तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌ र आफूलाई तिनीहरूको ठाउँमा राखेर हेर्नुहोस्‌। (याकुब १:१९) तिनीहरूलाई आफ्नो चिन्ताफिक्री आफूले भरोसा गरेको कसैलाई पोखाउन मन लागिरहेको हुन सक्छ। (हितोपदेश १२:२५) यहोवा र भाइबहिनीलाई तिनीहरूको आवश्‍यकता छ अनि तिनीहरूलाई अनमोल ठान्‍नुहुन्छ र माया गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क बनाउनुहोस्‌। (१ पत्रुस १:२२; ५:६, ७) साथै तपाईँ तिनीहरूको लागि प्रार्थना गर्न सक्नुहुन्छ अनि तिनीहरूसँगै बसेर पनि प्रार्थना गर्न सक्नुहुन्छ। तपाईँले तिनीहरूको लागि मनैदेखि प्रार्थना गरेको सुन्दा तिनीहरूले धेरै सान्त्वना पाउँछन्‌। (याकुब ५:१४, १५) निराश भएका भाइबहिनीलाई मदत गर्न तपाईँले गर्नुभएको प्रयास न्यायका परमेश्‍वरको नजरबाट लुक्नेछैन।

एल्डरहरूले निराश भएकाहरूलाई सान्त्वना दिँदा यहोवाको न्याय झल्काइरहेका हुन्छन्‌

२२. हामी कसरी यहोवाको न्यायको अनुकरण गर्न सक्छौँ र यसो गर्दा नतिजा कस्तो हुन्छ?

२२ हामीले यहोवाको न्यायको अनुकरण गर्दा उहाँसित अझ नजिक हुन सक्छौँ। हामी परमेश्‍वरको धार्मिक स्तरअनुसार चल्दा, अरूलाई जीवन बचाउने सुसमाचार सुनाउँदा अनि अरूको कमीकमजोरी कोट्ट्याउनुको साटो तिनीहरूका असल गुणहरूमा ध्यान दिँदा यहोवाको न्यायको अनुकरण गरिरहेका हुन्छौँ। एल्डरहरू हो, तपाईँहरूले मण्डलीको स्वच्छता कायम राख्न मेहनत गर्दा, धर्मशास्त्रबाट प्रोत्साहनदायी सल्लाह-सुझाव दिँदा, निष्पक्ष भई निर्णय गर्दा अनि निराश भएकाहरूलाई सान्त्वना दिँदा परमेश्‍वरको न्याय झल्काइरहनुभएको हुन्छ। आफ्ना सेवकहरूले अरूसित “निष्पक्ष” अर्थात्‌ न्यायोचित व्यवहार गर्दा यहोवालाई कत्ति खुसी लाग्छ होला!

a कुनै-कुनै बाइबलमा यी अभिव्यक्‍तिहरूलाई “न्याय नगर” र “दोष नलगाऊ” भनेर अनुवाद गरिएको छ। यस्ता अभिव्यक्‍तिहरूले “न्याय गर्न नथाल” र “दोष लगाउन नथाल” भन्‍ने अर्थ दिन्छ। तर बाइबल लेखकहरूले यहाँ येसुको आज्ञालाई (अपूर्ण) वर्तमानकालमा लेखेका छन्‌। यसको अर्थ त्यतिबेलाका मानिसहरूले यस्ता कामहरू गरिरहेका थिए तर अब तिनीहरूले त्यसो गर्न छोड्‌नुपर्थ्यो।

b दोस्रो तिमोथि ४:२ अनुसार कहिलेकाहीँ एल्डरहरूले भाइबहिनीलाई ‘सुधार्नुपर्ने, हप्काउनुपर्ने र अर्ती दिनुपर्ने’ हुन्छ। “अर्ती दिनु” भनेर अनुवाद गरिएको ग्रीक शब्दले (पाराकालेओ) “प्रोत्साहन दिनु” भन्‍ने अर्थ दिन्छ। यसैसित सम्बन्धित अर्को ग्रीक शब्द पाराक्लेतोस्‌-ले कानुनी मामिलामा वकालत गर्ने व्यक्‍तिलाई बुझाउँछ। त्यसैले एल्डरहरूले गल्ती गर्ने व्यक्‍तिलाई कडा रूपमा सुधार्दा समेत तिनीहरूको मुख्य उद्देश्‍य तिनलाई आध्यात्मिक मदत दिने हुनुपर्छ।