सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १८

“परमेश्‍वरको वचन”—उहाँको बुद्धिको उपज

“परमेश्‍वरको वचन”—उहाँको बुद्धिको उपज

१, २. यहोवाले हाम्रो लागि कुन “चिठी” लेख्नुभएको छ र किन?

 तपाईँले टाढा बस्ने घनिष्ठ साथीबाट अन्तिम चोटि कहिले चिठी पाउनुभएको थियो, के तपाईँलाई सम्झना छ? आफूले माया गर्ने व्यक्‍तिबाट मनै छुने चिठी पाउँदा हाम्रो खुसीको सीमा नै रहँदैन र यस्तो खुसी अरू कुनै पनि कुराले दिन सक्दैन। तिनको नयाँ-नौलो हालखबर र योजनाहरूबारे थाह पाउँदा हामी खुसी हुन्छौँ। यसरी कुराकानी गर्दा तिनी हामीबाट धेरै टाढा भए पनि नजिकै भएको महसुस गर्छौँ।

त्यसैगरि हामीले प्रेम गर्ने परमेश्‍वरबाट लिखित सन्देश पाउनुजत्तिको खुसीको कुरा अरू कुनै हुन सक्दैन। एक अर्थमा उहाँले हाम्रो लागि एउटा “चिठी” लेख्नुभएको छ। त्यो उहाँको वचन बाइबल हो। यसमा यहोवाले उहाँ को हुनुहुन्छ, उहाँले के-के गर्नुभएको छ, उहाँको उद्देश्‍य के हो र यस्तै अरू थुप्रै विषयमा बताउनुभएको छ। यहोवाले हामीलाई आफ्नो वचन दिनुभएको छ किनकि हामी उहाँसित नजिक भएको उहाँ चाहनुहुन्छ। हाम्रा बुद्धिमान्‌ परमेश्‍वरले हामीसित कुराकानी गर्न सबैभन्दा राम्रो तरिका रोज्नुभयो। उहाँले बाइबल लेख्नुभएको तरिका र यसमा पाइने कुराहरूमा उहाँको अथाह बुद्धि झल्किन्छ।

लिखित वचन नै किन?

३. यहोवाले मोसालाई व्यवस्थाका नियमहरू कसरी दिनुभयो?

कसै-कसैलाई यस्तो लाग्ला, ‘मानिसहरूसित कुराकानी गर्न यहोवाले आकाशवाणीजस्तै अरू कुनै अद्‌भुत तरिका चलाउन सक्नुहुन्थ्यो नि!’ विगतमा यहोवाले कहिलेकाहीँ आफ्नो प्रतिनिधिको रूपमा स्वर्गदूतहरू चलाएर मानिसहरूसित कुरा गर्नुभएको थियो। उहाँले इस्राएल राष्ट्रलाई व्यवस्था दिनुहुँदा त्यसै गर्नुभयो। (गलाती ३:१९) तर स्वर्गबाट आएको आवाज यत्ति जोडदार थियो कि त्यो सुनेर इस्राएलीहरू डरले थरथर कामे। त्यसैले तिनीहरूले “परमेश्‍वर आफैचाहिँ हामीसित नबोलून्‌” बरु मोसामार्फत बोलून्‌ भनेर बिन्ती गरे। (प्रस्थान २०:१८-२०) त्यसकारण यहोवाले मोसालाई व्यवस्थाका लगभग ६०० नियम मौखिक रूपमा दिनुभयो।

४. परमेश्‍वरको व्यवस्था मौखिक रूपमा हस्तान्तरण गर्ने तरिका किन भरपर्दो हुने थिएन?

मोसाको व्यवस्था लिखित रूपमा नभएको भए के हुने थियो? के मोसाले विस्तृत रूपमा दिइएका ती नियमहरूको एक-एक शब्द सम्झन सक्ने थिए र इस्राएल राष्ट्रलाई जस्ताको तस्तै सुनाउन सक्ने थिए? भावी पुस्ताहरूलाई व्यवस्था कसरी हस्तान्तरण गरिने थियो? सायद तिनीहरूले व्यवस्थाका नियमहरू मौखिक रूपमा नै सुन्‍ने थिए। तर यो तरिका पक्कै भरपर्दो हुने थिएन। मानौँ, तपाईँले लामो लाइनमा उभिरहेका मानिसहरूलाई एउटा कथा सुनाउनुपर्ने भयो। तपाईँ लाइनको सुरुको व्यक्‍तिलाई कथा सुनाउनुहुन्छ। त्यसपछि तिनले आफूपछिको व्यक्‍तिलाई सुनाउँछन्‌। यसरी नै त्यो कथा लाइनको अन्तमा उभिएको व्यक्‍तिसम्म पुग्छ। तर त्यस व्यक्‍तिले सुनेको कथा तपाईँले सुरुमा सुनाउनुभएको भन्दा बिलकुलै फरक हुन्छ नि, होइन र? परमेश्‍वरको व्यवस्था भने लिखित रूपमा दिइएकोले त्यस्तो हुने सम्भावना थिएन।

५, ६. यहोवाले मोसालाई आफ्नो वचनको सन्दर्भमा कस्तो निर्देशन दिनुभयो र परमेश्‍वरको वचन लिखित रूपमा पाएकोले हामीलाई कस्तो फाइदा भएको छ?

यहोवाले मानिसजातिलाई आफ्नो वचन लिखित रूपमा दिनुभएको तरिकामा उहाँको बुद्धि झल्किन्छ। उहाँले मोसालाई यस्तो निर्देशन दिनुभयो: “यी सबै कुरा लेख किनकि यी वचनहरूअनुसारै म तिमी र इस्राएलसित करार गर्नेछु।” (प्रस्थान ३४:२७) यसरी ईसापूर्व १५१३ मा बाइबल लेख्ने काम सुरु भयो। त्यसपछिको १,६१० वर्षको दौडान यहोवा लगभग ४० जना मानव लेखकसित “थुप्रै पटक अनि विभिन्‍न तरिकामा . . . बोल्नुभयो” र तिनीहरूले परमेश्‍वरको वचन लेखे। (हिब्रू १:१) साथै दक्ष प्रतिलिपिकहरूले परमेश्‍वरको वचन सुरक्षित रहोस्‌ भनेर होसियारीसाथ धर्मशास्त्रका प्रतिलिपिहरू तयार पारे।—एज्रा ७:६; भजन ४५:१.

 यहोवाले हामीसित आफ्नो लिखित वचनमार्फत कुरा गर्नुभएकोले हामीलाई धेरै फाइदा भएको छ। सायद तपाईँले आफ्नो घनिष्ठ साथीले पठाएको चिठीबाट चाहिएकै सान्त्वना पाउनुभएको थियो होला। त्यसैले तपाईँले त्यो चिठी सम्हालेर राख्नुभएको छ भने बेलाबेलामा पढ्‌ने गर्नुहुन्छ होला। यहोवाले हामीलाई दिनुभएको “चिठी” पनि त्यस्तै हो। उहाँले आफ्नो वचन लिखित रूपमा दिनुभएकोले हामीले उहाँको वचन नियमित रूपमा पढ्‌न र मनन गर्न सकेका छौँ। (भजन १:२) हामी चाहिएकै बेला “धर्मशास्त्रबाट . . . सान्त्वना” पाउन सक्छौँ।—रोमी १५:४.

मानव लेखक नै किन?

७. परमेश्‍वरले आफ्नो वचन लेख्न मानिसहरूलाई चलाउनुभएको कुरामा कसरी उहाँको बुद्धि झल्किन्छ?

परमेश्‍वरले आफ्नो वचन लेख्न मानिसहरूलाई चलाउनुभएको कुरामा पनि उहाँको बुद्धि झल्किन्छ। यो कुरा विचार गर्नुहोस्‌: यदि यहोवाले बाइबल लेख्न स्वर्गदूतहरूलाई चलाउनुभएको भए के उहाँको वचनले हाम्रो मन छुन सक्थ्यो? तिनीहरूले बाइबल लेखेका भए सायद तिनीहरूले यहोवा, उहाँप्रतिको आफ्नो भक्‍ति अनि उहाँका वफादार मानव सेवकहरूबारे आफ्नै दृष्टिकोणबाट बयान गर्ने थिए। तर ती त्रुटिरहित स्वर्गदूतहरूको ज्ञान, अनुभव र बल हाम्रो भन्दा कैयौँ गुणा उत्कृष्ट भएकोले तिनीहरूले लेखेको कुरा बुझ्न हामीलाई पक्कै गाह्रो हुने थियो।—हिब्रू २:६, ७.

८. परमेश्‍वरले बाइबल लेखकहरूलाई आफ्नो सोच्ने क्षमता चलाउन दिनुभयो भनेर किन भन्‍न सक्छौँ? (फुटनोट पनि हेर्नुहोस्‌।)

यहोवाले आफ्नो वचन लेख्न मानव लेखकहरूलाई चलाउनुभएर हामीलाई चाहिएकै कुरा दिनुभएको छ। हो, हामीले “परमेश्‍वरको प्रेरणाद्वारा” तर मानिसकै दृष्टिकोणबाट लेखिएको वचन पढ्‌न पाएका छौँ। (२ तिमोथि ३:१६) उहाँले यो कसरी सम्भव तुल्याउनुभयो? थुप्रै अवस्थामा उहाँले ती लेखकहरूलाई आफ्नो सोच्ने क्षमता चलाउन दिनुभयो; तिनीहरूले “मीठामीठा शब्दहरू छाने र सत्य कुराहरू लेख्न ठीकठीक शब्द चलाए।” (उपदेशक १२:१०, ११) त्यसैले बाइबलमा फरक-फरक लेखनशैली पाइन्छ। ती लेखनशैलीहरूले लेखकको पृष्ठभूमि र व्यक्‍तित्वबारे थुप्रै कुरा बताउँछ। a तर जेहोस्‌, तिनीहरू “पवित्र शक्‍तिबाट उत्प्रेरित भएर . . . परमेश्‍वरको तर्फबाट बोल्थे।” (२ पत्रुस १:२१) त्यसैले बाइबल मानिसको नभई “परमेश्‍वरको वचन” हो।

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो”

९, १०. बाइबल मानिसहरूले लेखेका हुनाले हामीले कस्तो लाभ उठाउन सकेका छौँ? किन?

बाइबल मानिसहरूले लेखेका हुनाले यसमा भएका कुराहरू हाम्रै लागि हो भनेर हामी महसुस गर्छौँ र यसको सन्देशले हाम्रो मन छुन्छ। यसका लेखकहरू हाम्रो जस्तै भावना भएका पुरुषहरू थिए। तिनीहरू त्रुटिपूर्ण भएकाले हामीले जस्तै परीक्षा र दबाबको सामना गरे। त्यसैले कतिपय अवस्थामा यहोवाको पवित्र शक्‍तिले तिनीहरूलाई आफ्नो भावना र सङ्‌घर्षबारे लेख्न उत्प्रेरित गऱ्‍यो। (२ कोरिन्थी १२:७-१०) तिनीहरूले आफ्नो भावना र विचार जसरी व्यक्‍त गरे, त्यसरी त कुनै पनि स्वर्गदूतले गर्न सक्दैन थिए।

१० उदाहरणको लागि, इस्राएलको राजा दाउदलाई विचार गर्नुहोस्‌। तिनले केही गम्भीर गल्तीहरू गरेपछि पश्‍चात्ताप गर्दै एउटा भजन रचे। त्यसमा तिनले आफ्नो मनभित्रको भावना पोखे अनि यहोवासित क्षमा मागे। तिनले यस्तो लेखे: “मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्‌। किनकि मलाई थाह छ, मैले पाप गरेको छु र मेरो पाप सधैँ मेरै सामुन्‍ने छ। हेर्नुहोस्‌! म त जन्मँदै पापी थिएँ, पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्‌। तपाईँको सामुन्‍नेबाट मलाई ननिकाल्नुहोस्‌; तपाईँको पवित्र शक्‍ति मबाट नखोस्नुहोस्‌। टुटेको हृदय परमेश्‍वरलाई खुसी तुल्याउने बलिदान हो; हे परमेश्‍वर, तपाईँ टुटेको र चूर्ण हृदयलाई तिरस्कार गर्नुहुन्‍न।” (भजन ५१:२, ३, ५, ११, १७) के तपाईँ यी भजनरचयिताको वेदना महसुस गर्न सक्नुहुन्छ? के कुनै स्वर्गदूतले एक जना त्रुटिपूर्ण मानिसको यस्तो गहिरो भावना व्यक्‍त गर्न सक्थे होलान्‌?

मानिसहरूबारे नै किन?

११. बाइबलका कस्ता जीवनकथा “हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌”?

११ बाइबलको सन्देशले हाम्रो मन छुनुको अर्को कारण हो, यसमा परमेश्‍वरको सेवा गर्ने र नगर्ने वास्तविक मानिसहरूको जीवनकथा छ। यसमा हामी तिनीहरूको अनुभव, तिनीहरूले भोगेका कठिनाइहरू, तिनीहरूले महसुस गरेको आनन्द अनि तिनीहरूले जीवनमा गरेका निर्णयहरूको नतिजाबारे पढ्‌छौँ। यस्ता विवरणहरू “हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌।” (रोमी १५:४) यहोवा हामीलाई वास्तविक मानिसहरूका यस्ता अनुभवहरूमार्फत मन छुने तरिकामा सिकाउनुहुन्छ। आउनुहोस्‌, केही उदाहरण विचार गरौँ।

१२. विश्‍वासघाती मानिसहरूको विवरणबाट हामी के सिक्न सक्छौँ?

१२ बाइबलमा विश्‍वासघातीहरू र दुष्टहरूबारे अनि तिनीहरूको दुष्कर्मको नतिजाबारे बताइएको छ। यस्ता विवरणहरूबाट मानिसहरूले कसरी आफ्नो व्यवहारमा दुर्गुणहरू देखाउँछन्‌ भनेर सजिलै बुझ्न सक्छौँ। उदाहरणको लागि, यहुदाले येसुलाई विश्‍वासघात गरेको जीवन्त विवरणले हामीलाई विश्‍वासघात भनेको के हो भनेर राम्ररी बुझ्न मदत गर्छ। तर विश्‍वासघात नगर्नू भन्‍ने आज्ञा मात्र दिइएको भए त्यो यत्तिको प्रभावकारी हुने थिएन। (मत्ति २६:१४-१६, ४६-५०; २७:३-१०) यस्ता विवरणहरू हाम्रो मनसम्म पुग्छ अनि हामीलाई दुर्गुणहरू चिन्‍न र तीबाट टाढा रहन मदत गर्छ।

१३. बाइबलले हामीलाई असल गुणहरू विकास गर्न कसरी मदत गर्छ?

१३ बाइबलले परमेश्‍वरका थुप्रै वफादार सेवकहरूबारे पनि बताउँछ। हामी तिनीहरूको भक्‍ति र वफादारीबारे पढ्‌न सक्छौँ। हामीले परमेश्‍वरसित नजिक हुन कस्ता असल गुणहरू विकास गर्नुपर्छ भन्‍ने कुरा तिनीहरूको जीवनीबाट थाह पाउँछौँ। उदाहरणको लागि, विश्‍वासबारे विचार गर्नुहोस्‌। बाइबलले विश्‍वास के हो र परमेश्‍वरलाई खुसी बनाउन यो गुण कत्तिको महत्त्वपूर्ण छ भन्‍ने कुरा बताउँछ। (हिब्रू ११:१, ६) साथै बाइबलमा कामद्वारै विश्‍वास देखाइएका थुप्रै असल उदाहरण पाइन्छ। अब्राहामले आफ्नो छोरा इसहाकलाई बलि चढाउने बेला देखाएको विश्‍वास एकदमै उल्लेखनीय थियो। (उत्पत्ति, अध्याय २२; हिब्रू ११:१७-१९) यस्ता विवरणहरूबाट हामी “विश्‍वास”-को गहिरो अर्थ बुझ्न सक्छौँ। हो, यहोवाले असल गुणहरू विकास गर्नुपर्छ भनेर जोड मात्र दिनुभएन बरु ती गुणहरू काममा झल्किएका उदाहरणहरू पनि लेख्न लगाउनुभयो। के यसमा उहाँको बुद्धि देखिँदैन र?

१४, १५. मन्दिरमा आएकी एक विधवाबारे बाइबलले के बताउँछ र यस विवरणबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

१४ बाइबलमा लेखिएका वास्तविक मानिसहरूको जीवनकथाले हामीलाई यहोवा परमेश्‍वरबारे केही न केही कुरा सिकाउँछ। येसुले मन्दिरमा देख्नुभएको एउटी गरिब विधवाको विवरण विचार गरौँ। उहाँले मन्दिरको दानपात्रनजिकै बसेर मानिसहरूले दान खसालिरहेको हेरिरहनुभएको थियो। धेरैजसो धनी मानिसले “आफ्नो प्रशस्तताबाट भेटी खसाले।” तर येसुले “असाध्यै थोरै मोलका दुई साना सिक्का खसालेकी” एउटी गरिब विधवालाई याद गर्नुभयो। b ऊसित पैसाको नाममा त्यति मात्र थियो। हरेक मामिलामा यहोवाको जस्तै सोचाइ राख्ने येसुले यसो भन्‍नुभयो: “यस गरिब विधवाले दानपात्रहरूमा पैसा खसाल्ने अरू सबैले भन्दा धेरै खसाली।” भन्‍नुको मतलब, त्यहाँ धनी मानिसहरूले खसालेका सम्पूर्ण भेटीको तुलनामा त्यस विधवाले खसालेको भेटी धेरै थियो।—मर्कुस १२:४१-४४; लुका २१:१-४; युहन्‍ना ८:२८.

१५ त्यस दिन मन्दिरमा अरू पनि थुप्रै मानिस आएका थिए। तर बाइबलमा यस गरिब विधवाबारे मात्र लेखिनु उल्लेखनीय छ। यहोवाले यस उदाहरणमार्फत उहाँ अरूको कदर गर्नुहुने परमेश्‍वर हुनुहुन्छ भनेर सिकाउनुभएको छ। उहाँ हामीले मनैदेखि चढाएको भेटी खुसीसाथ स्विकार्नुहुन्छ, चाहे हाम्रो भेटी अरूको तुलनामा थोरै नै किन नदेखियोस्‌! यस्तो मन छुने सत्य सिकाउन यहोवाले बाइबलमा यो विवरण लेख्न लगाउनु साँच्चै उपयुक्‍त छ!

बाइबलमा एक-एक कुरा उल्लेख गरिएको छैन

१६, १७. आफ्नो वचनमा केही कुराहरू समावेश नगर्ने यहोवाको छनौटमा उहाँको बुद्धि कसरी झल्किन्छ?

१६ तपाईँ आफ्नो घनिष्ठ साथीलाई चिठी लेख्दा सायद त्यसमा सीमित कुरा मात्र लेख्न सक्नुहुन्छ होला। त्यसैले के लेख्ने भनेर निकै सोचविचार गर्नुहुन्छ। त्यसरी नै यहोवाले पनि आफ्नो वचनमा केही खास व्यक्‍ति र घटनाबारे मात्र उल्लेख गर्नुभएको छ तर उक्‍त व्यक्‍ति वा घटनाबारे एक-एक कुरा भने बताउनुभएको छैन। (युहन्‍ना २१:२५) उदाहरणको लागि, परमेश्‍वरको न्यायबारे बाइबलमा जे-जति बताइएको छ, त्यसले हाम्रो मनमा उठ्‌ने हरेक प्रश्‍नको जवाफ नदिन सक्छ। यहोवाले आफ्नो वचनमा केही कुराहरू समावेश नगर्ने छनौट गर्नुभयो र यसमा पनि उहाँको बुद्धि झल्किन्छ। तर कसरी?

१७ बाइबल हाम्रो हृदय जाँच्न सक्ने तरिकामा लेखिएको छ। हिब्रू ४:१२ यसो भन्छ: “परमेश्‍वरको वचन [वा सन्देश] जीवित र प्रबल अनि कुनै दुईधारे तरबारभन्दा धारिलो छ। यसले भित्रसम्मै छेडेर मानिसको बाहिरी रूप र भित्री रूपलाई अलग पार्छ . . . अनि हृदयको विचार र आशय जाँच्न सक्छ।” बाइबलको सन्देशले हामीमा गहिरो प्रभाव पार्छ; यसले हाम्रो सोचाइ र मनोवृत्ति कस्तो छ भनेर प्रकट गरिदिन्छ। तर आलोचनात्मक भएर बाइबल पढ्‌नेहरूले कुनै-कुनै विवरणमा एक-एक जानकारी नभएकोले ठेस खान्छन्‌। त्यस्ता मानिसहरू यहोवा मायालु, बुद्धिमान्‌ र न्यायी हुनुहुन्छ भन्‍ने कुरामा शङ्‌का समेत गर्छन्‌।

१८, १९. (क) बाइबलको कुनै विवरणबारे उठेको प्रश्‍नको जवाफ तुरुन्तै नपाउँदा पनि हामीले किन बाइबलमा शङ्‌का गर्नु हुँदैन? (ख) परमेश्‍वरको वचन राम्ररी बुझ्न हामीले के गर्नुपर्छ र यसले कसरी यहोवाको अथाह बुद्धिको प्रमाण दिन्छ?

१८ अर्कोतर्फ हामीले निष्कपट मनले बाइबल अध्ययन गऱ्‍यौँ भने यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर हाम्रो मनमा स्पष्ट चित्र कोरिन्छ। त्यसैले बाइबलको कुनै विवरणबारे हाम्रो मनमा प्रश्‍न उठ्‌दा तुरुन्तै त्यसको जवाफ पाएनौँ भने पनि हामी बाइबलमा शङ्‌का गर्दैनौँ। मानौँ, तपाईँको अगाडि एउटा सिङ्‌गो चित्रका विभिन्‍न टुक्राहरू छन्‌। सुरुमा त तपाईँलाई कुनचाहिँ टुक्रा कहाँ राख्ने भनेर थाह हुँदैन। तैपनि तपाईँ ती टुक्राहरू जोड्‌दै जानुहुन्छ र सबै टुक्रा जोडेर नसिद्धिँदै त्यो केको चित्र हो भनेर स्पष्ट हुँदै जान्छ। त्यसैगरि हामीले बाइबल पढ्‌दै जाँदा यहोवा कस्तो किसिमको परमेश्‍वर हुनुहुन्छ भनेर अलिअलि गर्दै बुझ्दै जानेछौँ र हाम्रो मनमा उहाँबारे चित्र कोरिँदै जान्छ। हामीले बाइबलको कुनै विवरण पढ्‌दा सुरुमा बुझ्न नसकौँला वा त्यस परिस्थितिमा यहोवाले जे गर्नुभयो, त्यो ठीक थियो कि थिएन भनेर ठम्याउन नसकौँला। तर हामीले बाइबलबाट यहोवाबारे जे-जति सिकिसकेका छौँ, त्यसले उहाँ माया देखाउन, सही कदम चाल्न र न्याय गर्न कदापि चुक्नुहुन्‍न भन्‍ने कुरामा हामीलाई ढुक्क बनाउँछ।

१९ परमेश्‍वरको वचनमा लेखिएका कुराहरू राम्ररी बुझ्न हामीले निष्कपट र निष्पक्ष भई पढ्‌नुपर्छ र अध्ययन गर्नुपर्छ। संसारका विद्वान्‌हरूले “बुद्धिमान्‌ र बुद्धिजीवीहरू”-ले मात्र बुझ्न सक्नेगरि किताबहरू लेख्छन्‌। तर बाइबल असल मनसाय भएका जोसुकैले बुझ्न सक्नेगरि तयार पारिएको छ। के यसमा यहोवाको बुद्धि झल्किँदैन र?—मत्ति ११:२५.

“बुद्धि”-का कुराहरूले भरिएको किताब

२०. यहोवाले मात्र किन जीवन बिताउने सर्वोत्तम तरिका सिकाउन सक्नुहुन्छ? बाइबलमा के पाइन्छ र त्यसले हामीलाई कसरी मदत गर्छ?

२० यहोवाले हामीलाई आफ्नो वचनमार्फत जीवन बिताउने सर्वोत्तम तरिका सिकाउनुभएको छ। उहाँ हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँलाई हाम्रा आवश्‍यकताहरूबारे हामी आफैलाई भन्दा राम्ररी थाह छ। मानिसको आधारभूत आवश्‍यकताहरू कहिल्यै परिवर्तन भएको छैन, जसमा अरूको माया पाउने, आनन्दित हुने र अरूसित घनिष्ठ सम्बन्ध विकास गर्ने चाहना पनि पर्छ। बाइबलमा पाइने “बुद्धि”-का कुराहरूले हामीलाई अर्थपूर्ण जीवन बिताउन मदत गर्छ। (हितोपदेश २:७) यस अध्ययन सामग्रीको प्रत्येक भागको एउटा अध्यायमा बुद्धिले भरिएका बाइबलका सल्लाहहरू लागू गर्ने तरिकाबारे छलफल गरिएको छ। आउनुहोस्‌, त्यस्तै एउटा उदाहरण विचार गरौँ।

२१-२३. मनमा द्वेष नपाल्न कुन सल्लाहले मदत गर्छ?

२१ के तपाईँले मनमा द्वेष वा रिस पाल्दा आफैलाई हानि पुगेको याद गर्नुभएको छ? द्वेष पाल्नु भनेको गह्रौँ भारी बोक्नुजस्तै हो। यसो गर्दा हामी सुझबुझ चलाउन सक्दैनौँ अनि हाम्रो शान्ति र आनन्द पनि खोसिन्छ। वैज्ञानिकहरूको अध्ययनले देखाएअनुसार रिस पाल्ने व्यक्‍तिमा मुटुको समस्या हुने सम्भावना बढ्‌छ र अरू गम्भीर रोगहरू पनि देखिन सक्छ। यो कुरा पत्ता लाग्नुभन्दा धेरै अघि नै बाइबलमा बुद्धिले भरिएको यस्तो सल्लाह दिइएको थियो: “रिसाउन छोड र क्रोध त्यागिदेऊ।” (भजन ३७:८) तर हामी कसरी त्यसो गर्न सक्छौँ?

२२ परमेश्‍वरको वचनले यस्तो सल्लाह दिन्छ: “अन्तर्दृष्टि भएको मानिसले रिसलाई काबूमा राख्छ अनि दोषको वास्ता नगरेर उसले आफ्नो इज्जत बढाउँछ।” (हितोपदेश १९:११) अन्तर्दृष्टि भनेको कुनै मामिलालाई सतही रूपमा हेर्नुको सट्टा त्यसको गहिराइसम्म पुग्ने क्षमता हो। अन्तर्दृष्टिले हामीलाई समझदार बनाउँछ। यसले हामीलाई कसैले हामीसित नमीठो बोली बोल्दा वा नराम्रो व्यवहार गर्दा तिनले त्यसो गर्नुको कारण बुझ्न मदत गर्छ। तिनको सोचाइ, भावना र अवस्था बुझ्ने कोसिस गऱ्‍यौँ भने हामी तिनीप्रति नकारात्मक नहुन र मनमा रिस नपाल्न मदत पाउँछौँ।

२३ बाइबलमा यस्तो सल्लाह पनि पाइन्छ: “एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।” (कलस्सी ३:१३) “एकअर्कालाई सहिरहो” भन्‍ने अभिव्यक्‍तिले अरूप्रति धीरजी हुनु र तिनको कुनै बानीबेहोरा मन नपरे पनि सहनु भन्‍ने अर्थ दिन्छ। यसरी धीरजी हुँदा तिनीप्रति रिस नपाल्न मदत पाउँछौँ। “क्षमा गरिरहो” भन्‍ने अभिव्यक्‍तिले मनबाट द्वेष हटाउनु भन्‍ने अर्थ दिन्छ। कुनै ठोस आधार छ भने हामीले अरूलाई क्षमा दिएको हाम्रा बुद्धिमान्‌ परमेश्‍वर चाहनुहुन्छ किनकि त्यसो गर्दा तिनको भलो हुनुका साथै हामी आफैले पनि मनोशान्ति पाउँछौँ। (लुका १७:३, ४) साँच्चै, परमेश्‍वरको वचन बुद्धिका कुराहरूले भरिएको छ!

२४. यहोवाको बुद्धिले भरिएका कुराहरूअनुसार जीवन बिताउँदा नतिजा कस्तो हुन्छ?

२४ यहोवा हामीलाई अपार प्रेम गर्नुहुन्छ। त्यसैले उहाँ हामीसित कुरा गर्न चाहनुहुन्छ अनि यसको लागि उहाँले सबैभन्दा राम्रो तरिका रोज्नुभयो। उहाँले पवित्र शक्‍ति चलाएर मानव लेखकहरूलाई एउटा “चिठी” अर्थात्‌ बाइबल लेख्न लगाउनुभयो। त्यसैले बाइबल पढ्‌दा हामीले स्वयम्‌ यहोवाको बुद्धिका कुराहरू पढिरहेका हुन्छौँ, जुन “अत्यन्तै भरपर्दा” छन्‌। (भजन ९३:५) त्यसअनुसार जीवन बितायौँ र अरूलाई पनि त्यसबारे बतायौँ भने हामी सबैभन्दा बुद्धिमान्‌ परमेश्‍वरसित नजिक भइरहेका हुन्छौँ। अर्को लेखमा यहोवाको दूरदर्शी बुद्धिको अर्को उल्लेखनीय पक्ष छलफल गर्नेछौँ। त्यो हो, भविष्यबारे बताउन सक्ने र आफ्नो उद्देश्‍य पूरा गर्न सक्ने उहाँको क्षमता।

a उदाहरणको लागि, दाउद गोठालो थिए र तिनले गोठालो जीवनबारे थुप्रै उदाहरण चलाए। (भजन २३) मत्ति कर उठाउने काम गर्थे र तिनले आफ्नो लेखोटमा सङ्‌ख्या र पैसाबारे थुप्रै चोटि उल्लेख गरे। (मत्ति १७:२७; २६:१५; २७:३) लुका एक जना वैद्य थिए र तिनले चलाएका शब्दहरूमा चिकित्सासम्बन्धी तिनको ज्ञान झल्किन्छ।—लुका ४:३८; १४:२; १६:२०.

b ती दुई सिक्का दुई लेप्टा थिए। त्यो सिक्का त्यस समयका यहुदीहरूले चलाउने सबैभन्दा सानो मोलको सिक्का थियो। दुई लेप्टा एक जना कामदारले जम्मा १५ मिनेटमा कमाउने ज्याला थियो। यी दुई सिक्का एउटा भँगेरा किन्‍न पनि पुग्दैन थियो, जुन एकदमै सस्तो हुने भएकोले गरिबहरूले खाने गर्थे।