सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २१

“येसुले परमेश्‍वरको बुद्धि प्रकट गर्नुहुन्छ”

“येसुले परमेश्‍वरको बुद्धि प्रकट गर्नुहुन्छ”

१-३. येसुका पुराना छिमेकीहरूले उहाँको शिक्षा सुनेर कस्तो प्रतिक्रिया देखाए? तिनीहरूले येसुबारे कुन कुरा बुझ्न सकेनन्‌?

 जवान येसु सभाघरमा उभिएर सिकाउँदै हुनुहुन्थ्यो। उहाँको कुरा सुनेर श्रोताहरू तीनछक परिरहेका थिए। तिनीहरूको लागि उहाँ अपरिचित व्यक्‍ति हुनुहुन्‍नथ्यो किनभने उहाँ त्यही सहरमा हुर्कनुभएको थियो र त्यहाँ वर्षौँसम्म सिकर्मीको काम गर्नुभएको थियो। सायद येसुले तिनीहरूमध्ये थुप्रैको घर बनाउन सहयोग गर्नुभएको थियो। तिनीहरूले खेत जोत्न उहाँले नै बनाउनुभएको हलो र जुवा प्रयोग गरिरहेका थिए होलान्‌। a त्यसोभए ती मानिसहरूले पहिलेका यी सिकर्मीको कुरा सुनेर कस्तो प्रतिक्रिया देखाउने थिए?

उहाँका धेरैजसो श्रोताले छक्क पर्दै यसो भने: “यस मानिसले यस्तो बुद्धि . . . कहाँबाट पायो?” तर तिनीहरूले यसो पनि भने: “के यो त्यही सिकर्मी होइन? के यो मरियमको छोरा . . . होइन र?” (मत्ति १३:५४-५८; मर्कुस ६:१-३) दुःखको कुरा, येसुका ती पुराना छिमेकीहरूले यसो भन्‍न खोजिरहेका थिए, ‘यो सिकर्मी हाम्रै गाउँ-ठाउँमा हुर्केको हामीजस्तै साधारण मान्छे त हो नि!’ उहाँले भन्‍नुभएका कुराहरूमा बुद्धि झल्किने भए पनि तिनीहरूले उहाँलाई तिरस्कार गरे। उहाँले सिकाउनुभएका बुद्धिका कुराहरू उहाँको आफ्नै होइन भनेर तिनीहरूलाई हेक्कै थिएन।

येसुले यस्तो बुद्धि कहाँबाट पाउनुभयो? उहाँले यसो भन्‍नुभयो: “म जे सिकाउँछु, त्यो मेरो होइन तर मलाई पठाउनुहुनेको शिक्षा हो।” (युहन्‍ना ७:१६) प्रेषित पावलले “येसुले परमेश्‍वरको बुद्धि प्रकट गर्नुहुन्छ” भनेर बताए। (१ कोरिन्थी १:३०) यहोवाले आफ्नो बुद्धि उहाँको छोरा येसुमार्फत प्रकट गर्नुभयो। यो कुरा शतप्रतिशत सत्य भएकोले येसुले यसो भन्‍न सक्नुभयो: “म र बुबा एक हौँ।” (युहन्‍ना १०:३०) आउनुहोस्‌, येसुले “परमेश्‍वरको बुद्धि” प्रकट गर्नुभएको तीन वटा क्षेत्र विचार गरौँ।

उहाँको शिक्षा

४. (क) येसुको सन्देशको मूल विषय के थियो र त्यो सन्देश किन एकदमै महत्त्वपूर्ण थियो? (ख) येसुको सल्लाह किन सधैँ व्यावहारिक र अरूलाई फाइदा पुऱ्‍याउने किसिमको हुन्थ्यो?

पहिलो क्षेत्र हो, येसुको शिक्षा। उहाँको सन्देशको मूल विषय “परमेश्‍वरको राज्यको सुसमाचार” थियो। (लुका ४:४३) यो सन्देश एकदमै महत्त्वपूर्ण थियो किनभने यस राज्यले नै यहोवाको नाम पवित्र पार्ने थियो अनि उहाँले मात्र सही तरिकामा शासन गर्नुहुन्छ भनेर प्रमाणित गर्ने थियो। साथै यस राज्यमार्फत मानिसजातिले थुप्रै आशिष्‌ पाउने थिए। येसुले दैनिक जीवनमा लागू हुने थुप्रै बुद्धिमानी सल्लाह पनि दिनुभयो। यसरी उहाँले आफू भविष्यवाणी गरिएको “बुद्धिमान्‌ सल्लाहकार” भएको देखाउनुभयो। (यसैया ९:६) हुन पनि येसुको सल्लाहमा बुद्धि झल्किनु छक्कलाग्दो कुरा होइन। किनभने उहाँसित परमेश्‍वरको वचन र इच्छाबारे गहिरो ज्ञान थियो, उहाँ मानव स्वभाव राम्ररी बुझ्नुहुन्थ्यो र मानिसहरूलाई अपार प्रेम गर्नुहुन्थ्यो। त्यसैले उहाँको सल्लाह सधैँ व्यावहारिक हुन्थ्यो र त्यसले उहाँका श्रोताहरूलाई धेरै फाइदा पुऱ्‍याउँथ्यो। येसुले मानिसहरूलाई “अनन्त जीवनका वचनहरू” सुनाउनुभयो। हामीले ती पालन गऱ्‍यौँ भने उद्धार पाउनेछौँ।—युहन्‍ना ६:६८.

५. येसुले डाँडाको उपदेशमा के-कस्ता विषयहरू समेट्‌नुभयो?

येसुको शिक्षामा पाइने अथाह बुद्धिको उल्लेखनीय उदाहरण डाँडाको उपदेश हो। मत्ति ५:३–७:२७ मा पाइने डाँडाको उपदेश दिन येसुलाई सायद २० मिनेट मात्र लागेको हुन सक्छ। तैपनि त्यसका सल्लाहहरू त्यतिबेला जत्ति उपयोगी थिए, आज पनि त्यत्ति नै उपयोगी छन्‌। येसुले डाँडाको उपदेशमा अरूसितको सम्बन्ध कसरी राम्रो बनाउने (५:२३-२६, ३८-४२; ७:१-५, १२), नैतिक रूपमा कसरी स्वच्छ रहने (५:२७-३२), आफ्नो जीवन कसरी सफल बनाउने (६:१९-२४; ७:२४-२७) जस्ता विभिन्‍न विषय समेट्‌नुभयो। उहाँले आफ्ना श्रोताहरूलाई बुद्धिको मार्ग के हो भनेर बताउनु मात्र भएन बरु व्याख्या गरेर, तर्क गरेर र प्रमाण दिएर बुद्धिको मार्गमा हिँड्‌नुको अर्थ प्रस्ट पार्नुभयो।

६-८. (क) येसुले अचाक्ली चिन्ता नगर्नेबारे कस्तो चित्तबुझ्दो तर्क चलाउनुभयो? (ख) येसुको सल्लाहमा परमेश्‍वरको बुद्धि झल्किन्थ्यो भनेर केले देखाउँछ?

एउटा उदाहरण विचार गरौँ। येसुले मत्ति अध्याय ६ मा गाँस, बास र कपास जुटाउनेबारे अचाक्ली चिन्ता लाग्दा कसरी त्यसको सामना गर्ने भनेर बुद्धिमानी सल्लाह दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “के खाऔँला वा के पिऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।” (पद २५) खानेकुरा र लुगाफाटा हाम्रा आधारभूत आवश्‍यकताहरू हुन्‌ र त्यसको बन्दोबस्त मिलाउनेबारे चिन्ता लाग्नु स्वाभाविकै हो। तर येसुले हामीलाई त्यस्ता कुराहरूको “चिन्ता गर्न छोडिहाल” भन्‍नुभयो। b किन?

येसुले कसरी चित्तबुझ्दो तरिकामा तर्क गर्नुभयो, याद गर्नुहोस्‌। यहोवाले नै हामीलाई जीवन र शरीर दिनुभएकोले के उहाँले हाम्रो जीवन धान्‍न खानेकुरा र शरीर ढाक्न लुगाफाटा दिन सक्नुहुन्‍न होला र? (पद २५) उहाँले चराहरूलाई खुवाउनुहुन्छ र फूलहरूलाई त सिँगार्नुहुन्छ भने उहाँ आफ्ना उपासकहरूको झन्‌ कत्ति धेरै ख्याल राख्नुहुन्छ होला! (पद २६, २८-३०) हुन पनि अनावश्‍यक चिन्ता गरेर केही फाइदा हुँदैन। चिन्ता गर्दैमा हाम्रो आयु एक सेकेन्ड पनि लम्बिँदैन। c (पद २७) त्यसोभए हामी अचाक्ली चिन्ता गर्नदेखि कसरी जोगिन सक्छौँ? येसुले परमेश्‍वरको उपासनालाई पहिलो स्थान दिइरहन सल्लाह दिनुभयो। हामीले यो सल्लाह लागू गऱ्‍यौँ भने स्वर्गमा हुनुहुने हाम्रा बुबाले हामीलाई जीवन धान्‍न नभई नहुने ‘सबै कुरा दिनुहुनेछ’ भनेर विश्‍वस्त हुन सक्छौँ। (पद ३३) येसुले अन्तमा एउटा अत्यन्तै व्यावहारिक सुझाव दिनुभयो। त्यो हो, आज एक दिनको मात्र चिन्ता गर्ने। हुन पनि आजको चिन्तामा भोलिको चिन्ता थपेर के नै फाइदा होला र? (पद ३४) अर्कोतर्फ हामीलाई चिन्ता लाग्ने कतिपय कुराहरू हाम्रो जीवनमा कहिल्यै आइपर्दैन। त्यसैले त्यस्ता कुराहरूको किन चिन्ता गर्ने? येसुले दिनुभएको यो बुद्धिमानी सल्लाह लागू गऱ्‍यौँ भने अनावश्‍यक तनाव र थुप्रै दुःखदायी नतिजा भोग्नदेखि जोगिन्छौँ।

येसुले करिब २,००० वर्षअघि दिनुभएको यो सल्लाह आज पनि उत्तिकै उपयोगी छ। के यसले परमेश्‍वरको बुद्धिको प्रमाण दिँदैन र? मानव सल्लाहकारहरूले दिने सर्वोत्तम सुझाव पनि समयसँगै पुरानो हुन्छ अनि त्यसलाई संशोधन वा पूरै परिवर्तन गर्नुपर्ने हुन्छ। तर येसुका सल्लाहहरू सधैँ लाभदायी हुन्छन्‌। यसमा हामी अचम्म मान्‍नु पर्दैन किनभने यी बुद्धिमान्‌ सल्लाहकारले सधैँ “परमेश्‍वरकै कुराहरू” बोल्नुहुन्थ्यो।—युहन्‍ना ३:३४.

उहाँको सिकाउने तरिका

९. केही सिपाहीहरूले येसुको सिकाउने तरिकाबारे के भने र तिनीहरूले बढाइचढाइ गरिरहेका थिएनन्‌ भनेर किन भन्‍न सक्छौँ?

येसुले परमेश्‍वरको बुद्धि प्रकट गर्नुभएको दोस्रो क्षेत्र हो, उहाँको सिकाउने तरिका। एकचोटि उहाँलाई गिरफ्तार गर्न पठाइएका केही सिपाहीहरू रित्तै हात फर्के अनि यसो भने: “यो मानिसले जस्तो त कसैले बोलेको छैन।” (युहन्‍ना ७:४५, ४६) तिनीहरूले पक्कै पनि बढाइचढाइ गरिरहेका थिएनन्‌। यस धर्तीमा जन्मेका कुनै पनि मानिससित येसुको जस्तो ज्ञान र अनुभवको भण्डार छैन किनभने उहाँ “माथिको” अर्थात्‌ स्वर्गको हुनुहुन्थ्यो। (युहन्‍ना ८:२३) उहाँले जुन तरिकामा सिकाउनुभयो, त्यसरी त कुनै पनि मानिसले सिकाउन सक्दैन। यी बुद्धिमान्‌ शिक्षकको सिकाउने दुई वटा तरिका विचार गरौँ।

“उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्‍यो”

१०, ११. (क) येसुले चलाउनुभएका उदाहरणहरू किन प्रभावकारी थिए? (ख) येसुका कथाहरूले उहाँले सिकाउन खोज्नुभएको कुरा सम्झन मदत गर्छ भनेर कुन उदाहरणले देखाउँछ?

१० उहाँ प्रभावकारी उदाहरणहरू चलाउनुहुन्थ्यो। बाइबलमा यस्तो लेखिएको छ: “येसुले यी सबै कुरा उदाहरण चलाएर भीडलाई बताउनुभयो। वास्तवमा उदाहरण नचलाई उहाँ तिनीहरूसित कुरा गर्नुहुन्‍नथ्यो।” (मत्ति १३:३४) हरेक दिन देखिरहेका कुराहरू चलाएर गहिरो सत्य सिकाउने येसुको क्षमता साँच्चै उल्लेखनीय छ। जस्तै: किसानले बिउ छरिरहेको, एउटी स्त्रीले रोटी पकाउन तयारी गरिरहेको, बजारमा केटाकेटी खेलिरहेको, जलारीले समुद्रमा जाल हानिरहेको र गोठालोले हराएको भेडा खोजिरहेको। यस्ता दृश्‍यहरू उहाँका श्रोताहरूले दिनदिनै देख्थे। यस्ता चिरपरिचित कुराहरू चलाएर महत्त्वपूर्ण सत्यहरू सिकाउँदा तिनीहरूले ती सत्यहरू झट्टै बुझ्थे र मन-मस्तिष्कमा ठप्प बस्थ्यो।—मत्ति ११:१६-१९; १३:३-८, ३३, ४७-५०; १८:१२-१४.

११ येसु आफ्ना श्रोताहरूलाई नैतिक वा आध्यात्मिक सत्य सिकाउन अक्सर छोटा कथाहरू बताउने गर्नुहुन्थ्यो। कथाहरू सजिलै बुझ्न र मनमा ठप्प राख्न सकिने भएकोले येसुका कथाहरूले पनि उहाँले सिकाउन खोज्नुभएको कुरा सम्झन मदत गर्छ। येसुले आफ्नो बुबा कस्तो हुनुहुन्छ भनेर बुझाउन पनि थुप्रै कथा सुनाउनुभयो। ती सुनेर उहाँका श्रोताहरूले आफ्नो मनमा यहोवाबारे सजिलै चित्र कोर्न सक्थे र सिकेको कुरा सम्झिरहन सक्थे। उदाहरणको लागि, हराएको छोराबारे येसुले बताउनुभएको कथाले सिकाउन खोजेको पाठ सबैले बुझ्न सक्छन्‌। त्यो हो, यहोवालाई त्यागेर गएका व्यक्‍तिले साँचो पश्‍चात्ताप गर्छन्‌ भने उहाँ तिनीप्रति टिठाउनुहुन्छ र मनैदेखि स्विकार्नुहुन्छ।—लुका १५:११-३२.

१२. (क) येसु कसरी प्रभावकारी प्रश्‍नहरू चलाउनुहुन्थ्यो? (ख) उहाँको अख्तियारमाथि प्रश्‍न उठाउनेहरूलाई उहाँले कसरी नाजवाफ पारिदिनुभयो?

१२ उहाँ प्रभावकारी प्रश्‍नहरू चलाउनुहुन्थ्यो। येसु आफ्ना श्रोताहरूलाई सही निष्कर्षमा पुग्न, आफ्नो मनसाय जाँच्न वा सही निर्णय गर्न मदत दिने उद्देश्‍यले प्रश्‍नहरू सोध्ने गर्नुहुन्थ्यो। (मत्ति १२:२४-३०; १७:२४-२७; २२:४१-४६) एकचोटि धर्मगुरुहरूले येसुलाई “तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ?” भनेर सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो: “युहन्‍नाले बप्तिस्मा गराउने अख्तियार परमेश्‍वरबाट पाए कि मानिसहरूबाट?” उहाँको प्रश्‍न सुनेर तिनीहरू अक्क न बक्क परे अनि आपसमा यसो भन्दै तर्क गर्न थाले: “‘परमेश्‍वरबाट’ भनौँ भने ‘उसोभए तिमीहरूले किन ऊमाथि विश्‍वास गरेनौ त’ भनेर उसले सोध्नेछ। तर ‘मानिसहरूबाट’ भन्‍ने आँट कसरी गरौँ?” कुरा के हो भने “तिनीहरू भीडसित डराउँथे किनकि युहन्‍ना वास्तवमै भविष्यवक्‍ता थिए भनी सबै मानिसले मान्थे।” अन्तमा तिनीहरूले येसुलाई यस्तो जवाफ दिए: “हामीलाई थाह छैन।” (मर्कुस ११:२७-३३; मत्ति २१:२३-२७) येसुले यस्तो सरल प्रश्‍न सोधेर तिनीहरूको मुखमा बुजो लगाइदिनुभयो र तिनीहरूको हृदय कत्ति भ्रष्ट छ भनेर उदाङ्‌ग पारिदिनुभयो।

१३-१५. दयालु सामरियालीको कथामा येसुको बुद्धि कसरी प्रकट भयो?

१३ येसु मानिसहरूलाई सिकाउन कहिलेकाहीँ यी दुवै तरिका एकै चोटि प्रयोग गर्नुहुन्थ्यो। उहाँ आफ्ना उदाहरणहरूमा सोच्न लगाउने प्रश्‍नहरू पनि चलाउनुहुन्थ्यो। व्यवस्थामा पोख्त एक जना यहुदीले “अनन्त जीवन पाउन मैले के गर्नुपर्छ” भनेर सोध्दा येसुले परमेश्‍वर र छिमेकीलाई प्रेम गर्नू भन्‍ने व्यवस्थाको आज्ञामा जोड दिनुभयो। आफूलाई धर्मी साबित गर्ने मनसायले उसले येसुलाई सोध्यो: “वास्तवमा मेरो छिमेकी को हो?” जवाफमा येसुले उसलाई एउटा कथा सुनाउनुभयो। एक जना यहुदी यात्रा गरिरहेको बेला डाँकुहरूले उसलाई हमला गरे अनि अधमरो छोडेर गए। त्यही बाटो हुँदै एक जना पुजारी र एकछिनपछि एक जना लेवी आए तर तिनीहरूले उसलाई मदत गरेनन्‌। पछि त्यही बाटो हुँदै एक जना सामरियाली आइपुग्यो र उसलाई देखेर टिठायो। त्यसपछि त्यस सामरियालीले उसको घाउमा पट्टी बाँधिदियो र पौवामा लगेर स्याहारसुसार गऱ्‍यो। येसुले कथाको अन्तमा व्यवस्थामा पोख्त त्यस यहुदीलाई यस्तो प्रश्‍न सोध्नुभयो: “अब भन, यी तीन जनामध्ये कोचाहिँ डाँकुहरूको फेला पर्ने त्यस मानिसको छिमेकी ठहरियो?” ऊ यस्तो जवाफ दिन बाध्य भयो: “जसले ऊसित कृपालु व्यवहार गऱ्‍यो, त्यहीचाहिँ।”—लुका १०:२५-३७.

१४ येसुले सुनाउनुभएको कथामा उहाँको बुद्धि कसरी प्रकट भयो? उहाँको समयमा यहुदीहरूले तिनीहरूको परम्पराअनुसार चल्नेहरूलाई मात्र “छिमेकी” ठान्थे। त्यसैले तिनीहरूले सामरियालीहरूलाई आफ्नो छिमेकी ठान्‍ने त कुरै भएन। (युहन्‍ना ४:९) यदि येसुको कथामा घाइतेचाहिँ सामरियाली र मदत गर्नेचाहिँ यहुदी भएको भए के व्यवस्थामा पोख्त त्यस यहुदीको मनबाट भेदभावको भावना हट्‌ने थियो होला र? तर उहाँले आफ्नो कथामा सामरियालीले यहुदीलाई मदत गरेको कुरा बताउनुभएर बुद्धि प्रकट गर्नुभयो। उहाँले कथाको अन्तमा सोध्नुभएको प्रश्‍नमा पनि ध्यान दिनुहोस्‌। उहाँले यहुदीहरूको मनमा “छिमेकी” शब्दले बोकेको अर्थ नै बदलिदिनुभयो। त्यस यहुदीले येसुलाई एक अर्थमा यस्तो प्रश्‍न सोधिरहेको थियो: “छिमेकीको नाताले मेरो प्रेम पाउन लायकको को छ?” तर उहाँले सोध्नुभयो: “यी तीन जनामध्ये कोचाहिँ डाँकुहरूको फेला पर्ने त्यस मानिसको छिमेकी ठहरियो?” येसुले दया पाउने व्यक्‍ति अर्थात्‌ घाइतेतर्फ नभई दया देखाउने व्यक्‍ति अर्थात्‌ सामरियालीतर्फ ध्यान खिच्नुभयो। एक जना असल छिमेकी जातभातको वास्ता नगरी अरूलाई प्रेम देखाउन अग्रसर हुन्छ। यस्तो पाठ सिकाउने योजत्तिको प्रभावकारी तरिका अरू कुन होला र?

१५ मानिसहरू येसुको “सिकाउने तरिका” देखेर छक्क पर्नु र उहाँको पछि लाग्नु अचम्मलाग्दो कुरा होइन। (मत्ति ७:२८, २९) एकचोटि त “एउटा ठूलो भीड” उहाँको शिक्षा सुन्‍न केही नखाई तीन दिनसम्म उहाँसँगै बसेको थियो।—मर्कुस ८:१, २.

उहाँको जीवनशैली

१६. येसुले परमेश्‍वरको बुद्धिअनुसार चलेको कसरी ‘देखाउनुभयो’?

१६ येसुले यहोवाको बुद्धि प्रकट गर्नुभएको तेस्रो क्षेत्र हो, उहाँको जीवनशैली। बुद्धि व्यावहारिक हुन्छ र काममा देखिन्छ। चेला याकुबले यस्तो सोधे: “तिमीहरूमध्ये बुद्धिमान्‌ . . . को छ?” तिनी आफैले यस्तो जवाफ दिए: “जो छ, उसले यो कुरा आफ्नो असल चालचलनद्वारा देखाओस्‌।” (याकुब ३:१३) येसुले परमेश्‍वरको बुद्धिअनुसार चलेको आफ्नो ‘असल चालचलनद्वारा देखाउनुभयो।’ उहाँले आफ्नो जीवनशैली र अरूसितको व्यवहारमा सुझबुझ चलाएको कसरी देखाउनुभयो, अब विचार गरौँ।

१७. येसुले आफ्नो जीवनमा सन्तुलन कायम गर्नुभएको थियो भनेर केले देखाउँछ?

१७ सुझबुझ नचलाउने व्यक्‍ति अक्सर आफ्नो जीवनमा सन्तुलन कायम गर्न चुकेको हामीले याद गरेका छौँ। यस्तो सन्तुलन कायम गर्न बुद्धि चाहिन्छ। येसु परमेश्‍वरको बुद्धिअनुसार चल्नुभएकोले आफ्नो जीवनमा सन्तुलन कायम गर्न कहिल्यै चुक्नुभएन। उहाँले आध्यात्मिक कुरालाई पहिलो स्थान दिनुभयो। उहाँ सुसमाचार सुनाउन व्यस्त हुनुहुन्थ्यो। येसु आफैले यसो भन्‍नुभयो: “म यसैको लागि आएको हुँ।” (मर्कुस १:३८) येसुले आफ्नो जीवनमा भौतिक कुराहरूलाई बढ्‌तै महत्त्व दिनुभएन; उहाँसित भौतिक कुराहरू खासै थिएन जस्तो देखिन्छ। (मत्ति ८:२०) तर यसको अर्थ उहाँको जीवन जोगीको जस्तो थियो भन्‍ने त होइन। उहाँको बुबा “आनन्दित परमेश्‍वर” हुनुभएकोले उहाँ पनि आनन्दित व्यक्‍ति हुनुहुन्थ्यो र उहाँ अरूको खुसीमा खुसी थपिदिनुहुन्थ्यो। (१ तिमोथि १:११; ६:१५) एकचोटि उहाँ विवाह-भोजमा जानुभयो, जहाँ अक्सर नाच-गान र रमाइलो हुन्थ्यो। तर येसु त्यस्तो खुसीको माहोललाई बिथोल्न जानुभएको त थिएन। बरु त्यहाँ दाखमद्य सिद्धिँदा उहाँले पानीलाई असल दाखमद्यमा परिणत गरिदिनुभयो, जसले “मानिसको हृदयलाई प्रसन्‍न” पार्छ। (भजन १०४:१५; युहन्‍ना २:१-११) उहाँ अरूको निम्तो स्विकार्नुहुन्थ्यो र त्यस मौकामा शिक्षा पनि दिनुहुन्थ्यो।—लुका १०:३८-४२; १४:१-६.

१८. येसुले चेलाहरूसित व्यवहार गर्नुहुँदा मानव स्वभाव बुझेको कसरी देखाउनुभयो?

१८ येसुले अरूसित व्यवहार गर्नुहुँदा मानव स्वभाव राम्ररी बुझेको देखाउनुभयो। उहाँ आफ्ना चेलाहरूलाई पनि राम्ररी चिन्‍नुहुन्थ्यो। उहाँलाई तिनीहरू त्रुटिपूर्ण छन्‌ भनेर थाह थियो। तैपनि उहाँले तिनीहरूमा असल गुणहरू हेर्नुभयो। यहोवाले आफूतर्फ खिच्नुभएका ती पुरुषहरूमा भएको क्षमता उहाँले देख्नुभयो। (युहन्‍ना ६:४४) तिनीहरूको कमीकमजोरीको बाबजुद उहाँले तिनीहरूलाई भरोसा गर्नुभयो अनि सुसमाचार सुनाउने गहन जिम्मेवारी सुम्पनुभयो। तिनीहरूले त्यो जिम्मेवारी राम्ररी पूरा गर्नेछन्‌ भनेर उहाँ ढुक्क हुनुहुन्थ्यो। (मत्ति २८:१९, २०) तिनीहरूले त्यो जिम्मेवारी वफादार भई पूरा गरे भनेर प्रेषितको किताबले देखाउँछ। (प्रेषित २:४१, ४२; ४:३३; ५:२७-३२) येसुले तिनीहरूमाथि भरोसा गर्नुभएको कुरामा पनि उहाँको बुद्धि झल्किन्छ।

१९. येसुले आफू “कोमल स्वभावको र नम्र हृदयको” भएको कसरी देखाउनुभयो?

१९ हामीले अध्याय २० मा सिकेझैँ बाइबलले बुद्धिमान्‌ व्यक्‍ति नम्र र कोमल पनि हुन्छ भनेर देखाउँछ। यस सन्दर्भमा यहोवाले सर्वोत्कृष्ट उदाहरण बसाल्नुभएको छ। तर येसुले नि? उहाँले चेलाहरूसित व्यवहार गर्नुहुँदा देखाउनुभएको नम्रता साँच्चै उल्लेखनीय छ। उहाँ त्रुटिरहित हुनुभएकोले चेलाहरूभन्दा श्रेष्ठ हुनुहुन्थ्यो। तैपनि उहाँले तिनीहरूलाई तुच्छ ठान्‍नुभएन वा तिनीहरू बेकामका छन्‌ भनेर कहिल्यै महसुस गराउनुभएन। बरु उहाँले तिनीहरूको सीमितता बुझ्नुभयो र तिनीहरूबाट भुलत्रुटि हुँदा धीरजी हुनुभयो। (मर्कुस १४:३४-३८; युहन्‍ना १६:१२) साना केटाकेटीसमेत उहाँको नजिक आउन अप्ठ्यारो मान्दैनथे किनकि तिनीहरूले उहाँ “कोमल स्वभावको र नम्र हृदयको” हुनुहुन्छ भनेर महसुस गर्थे।—मत्ति ११:२९; मर्कुस १०:१३-१६.

२०. येसुले एउटा घटनामा आफू व्यावहारिक भएको कसरी देखाउनुभयो?

२० येसुले अर्को एउटा महत्त्वपूर्ण तरिकामा पनि यहोवाले जस्तै नम्रता देखाउनुभयो। उहाँ व्यावहारिक हुनुहुन्थ्यो; कृपा देखाउन सकिने कुनै ठाउँ छ भने उहाँ त्यसो गर्न पछि हट्‌नुहुन्‍नथ्यो। एउटी अन्यजाति स्त्रीले प्रेतले सताएको आफ्नी छोरीलाई निको पारिदिन येसुलाई बिन्ती गरेको घटना सम्झनुहोस्‌। सुरुमा येसुले तिनलाई मदत गर्न नचाहेको कुरा तीन वटा तरिकामा देखाउनुभयो। पहिलो, ती स्त्रीले त्यस्तो आग्रह गर्दा उहाँले तिनलाई केही जवाफ दिनुभएन। दोस्रो, आफू अन्यजातिको निम्ति नभई यहुदीहरूको निम्ति पठाइएको हुँ भनेर उहाँले स्पष्ट बताउनुभयो। तेस्रो, उहाँले त्यही कुरा दयालुपूर्वक बुझाउन एउटा उदाहरण दिनुभयो। तैपनि ती स्त्रीले हार मानिनन्‌ र तिनले आफूमा ठूलो विश्‍वास भएको देखाइन्‌। यस्तो असाधारण अवस्थामा येसुले कस्तो प्रतिक्रिया देखाउनुभयो? सुरुमा उहाँले तिनलाई मदत गर्न नचाहे पनि पछि मदत गर्नुभयो। उहाँले तिनकी छोरीलाई निको पार्नुभयो। (मत्ति १५:२१-२८) कत्ति उल्लेखनीय नम्रता! यो कुरा पनि नबिर्सनुहोस्‌, साँचो बुद्धिको जग नम्रता हो।

२१. हामीले येसुको व्यक्‍तित्व, बोली र व्यवहारको अनुकरण गर्न किन हरप्रयास गर्नुपर्छ?

२१ सुसमाचारको किताबमा यस धर्तीमा जन्मेकाहरूमध्ये सबैभन्दा बुद्धिमान्‌ पुरुषले भन्‍नुभएका कुराहरू र गर्नुभएका कामहरूबारे लेखिएका छन्‌। तीबारे पढ्‌न पाउनु हाम्रो लागि ठूलो सुअवसर हो। यो कुरा पनि नबिर्सनुहोस्‌, येसु आफ्नो बुबाको प्रतिरूप हुनुहुन्छ। त्यसैले उहाँको व्यक्‍तित्व, बोली र व्यवहारको अनुकरण गर्दा हामीले परमेश्‍वरकै बुद्धि झल्काइरहेका हुनेछौँ। अर्को अध्यायमा हामी आफ्नो जीवनमा परमेश्‍वरको बुद्धि कसरी प्रकट गर्न सक्छौँ भनेर सिक्नेछौँ।

a बाइबलकालीन समयमा सिकर्मीहरूले घर, फर्निचर र खेतीपातीमा प्रयोग हुने औजारहरू बनाउँथे। इस्वी संवत्‌ दोस्रो शताब्दीका जस्टिन मार्टरले येसुबारे यस्तो लेखे: “उहाँ मानिसहरूमाझ हुनुहुँदा सिकर्मीको काम गर्नुहुन्थ्यो अनि तिनीहरूको लागि हलो र जुवा बनाउनुहुन्थ्यो।”

b “चिन्ता गर्नु” भनेर अनुवाद गरिएको ग्रीक क्रियाको अर्थ “मन खलबलिनु” भन्‍ने हो। मत्ति ६:२५ मा यस अभिव्यक्‍तिले डर र चिन्ताले गर्दा मन खलबलिएको वा विभाजित भएको अवस्थालाई बुझाउँछ, जसले गर्दा हाम्रो सुख-चैन गुम्छ।

c वास्तवमा वैज्ञानिक अनुसन्धानले देखाएअनुसार अचाक्ली चिन्ता र तनावले गर्दा मुटुसम्बन्धी रोग र अन्य रोगहरू निम्तिन सक्छ र हाम्रो आयु घट्‌न सक्छ।