सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २६

“क्षमा गर्न सधैँ तयार” परमेश्‍वर

“क्षमा गर्न सधैँ तयार” परमेश्‍वर

१-३. (क) भजनरचयिता दाउदले कस्तो बोझ बोकेका थिए? तिनले कसरी सान्त्वना पाए? (ख) हामीले पाप गर्दा कस्तो बोझ बोकिरहेका हुन सक्छौँ? यहोवाले कस्तो आश्‍वासन दिनुभएको छ?

 भजनरचयिता दाउदले यस्तो लेखे: “मेरा गल्तीहरू मेरो शिरभन्दा माथि चुलिएका छन्‌; ती मेरो लागि गह्रौँ भारीजस्तै भएका छन्‌, म ती बोक्नै सक्दिनँ। म मुर्छित भएको छु र चूर्ण भएको छु।” (भजन ३८:४, ८) दोषी अन्तस्करण कत्ति बोझिलो हुन्छ भन्‍ने कुरा दाउद आफैले अनुभव गरेका थिए। तिनको मन बेचैन भएको बेला तिनले यहोवाबाट सान्त्वना पाए। उहाँ पाप गर्ने व्यक्‍तिलाई नभई उसको पापलाई घृणा गर्नुहुन्छ अनि उसले साँचो पश्‍चात्ताप गर्छ र आफ्नो खराब मार्ग त्याग्छ भने उसलाई क्षमा गर्नुहुन्छ भनेर तिनले बुझेका थिए। पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई यहोवा कृपा देखाउन इच्छुक हुनुहुन्छ भन्‍ने कुरामा पूर्ण भरोसा राख्दै तिनले यसो भने: “हे यहोवा, तपाईँ . . . क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।”—भजन ८६:५.

हामीले पाप गर्दा दोषी अन्तस्करणले हामीलाई असाध्यै सताउन सक्छ र त्यो एकदमै बोझिलो हुन सक्छ। यस्तो महसुस हुनु एक अर्थमा राम्रो पनि हो किनकि यस्तो भावनाले हामीलाई आफ्ना गल्तीहरू सुधार्न उत्प्रेरित गर्छ। अर्कोतर्फ अचाक्ली दोषी महसुस गर्नु खतरनाक पनि छ। हामीले जति नै पश्‍चात्ताप गरे पनि हाम्रो दोषी अन्तस्करणले यहोवा हामीलाई क्षमा गर्नुहुन्‍न भन्‍ने आवाज दिइरहन सक्छ। हामी ‘अति दुःखी भएर शोकमा डुब्यौँ’ भने सैतानले यसको नाजायज फाइदा उठाउन सक्छ। (२ कोरिन्थी २:५-११) त्यो हामीले हार मानेको चाहन्छ अनि हामी यहोवाको नजरमा बेकामका छौँ र उहाँको सेवा गर्न लायकका छैनौँ भनेर महसुस गरेको चाहन्छ।

के यहोवा हामीप्रति त्यस्तै महसुस गर्नुहुन्छ? कदापि गर्नुहुन्‍न। उहाँको अपार प्रेमको एउटा पक्ष क्षमा हो। हामीले मनैदेखि साँचो पश्‍चात्ताप गऱ्‍यौँ भने उहाँ क्षमा गर्न इच्छुक हुनुहुन्छ भनेर आश्‍वासन दिनुभएको छ। (हितोपदेश २८:१३) त्यसैले यहोवाको क्षमा पाउन सकिँदैन भन्‍ने सोचाइ राख्नदेखि जोगिन उहाँ हामीलाई किन र कसरी क्षमा गर्नुहुन्छ भनेर बुझ्नुपर्छ। आउनुहोस्‌, त्यसबारे विचार गरौँ।

यहोवा किन “क्षमा गर्न सधैँ तयार हुनुहुन्छ”?

४. यहोवा हामीबारे कुन कुरा बिर्सनुहुन्‍न र यसले हामीसित उहाँले गर्नुहुने व्यवहारमा कस्तो प्रभाव पार्छ?

यहोवा हाम्रा सीमितताहरू बुझ्नुहुन्छ। भजन १०३:१४ यसो भन्छ: “हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्‍नुहुन्छ; हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।” हामी माटोबाट बनिएका हौँ अनि त्रुटिपूर्ण भएकोले हामीमा कमीकमजोरी छन्‌ भन्‍ने कुरा उहाँ बिर्सनुहुन्‍न। “हामी कसरी बनिएका हौँ” भनेर यहोवा जान्‍नुहुन्छ भन्‍ने अभिव्यक्‍तिले बाइबलमा उहाँलाई कुमालेसित अनि हामीलाई उहाँले बनाउनुभएको माटोको भाँडोसित तुलना गरिएको कुरा सम्झाउँछ। (यर्मिया १८:२-६) महान्‌ कुमाले यहोवाले हाम्रो पापपूर्ण अवस्था र कमीकमजोरीलाई अनि हामी उहाँको डोऱ्‍याइअनुसार चल्छौँ कि चल्दैनौँ भन्‍ने कुरालाई विचार गर्दै हामीसित व्यवहार गर्नुहुन्छ।

५. रोमीको किताबमा पापको पकडबारे के बताइएको छ?

पाप कत्ति शक्‍तिशाली छ भनेर यहोवा बुझ्नुहुन्छ। उहाँको वचनमा पापलाई एउटा यस्तो शक्‍तिसित तुलना गरिएको छ, जसले मानिसजातिलाई आफ्नो कब्जामा जकडेर राखेको छ। पाप कत्तिको शक्‍तिशाली छ? यसबारे प्रेषित पावलले रोमीको किताबमा यस्ता कुराहरू बताए: सिपाहीहरू सेनापतिको अधीनमा भएझैँ हामी “पापको अधीनमा” छौँ (रोमी ३:९); पापले मानिसजातिमाथि “राजाले झैँ राज” गरेको छ (रोमी ५:२१); यो हामीभित्र “बास” गर्छ (रोमी ७:१७, २०); यसको “व्यवस्थाले” हामीमा निरन्तर काम गर्छ र हामीलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छ। (रोमी ७:२३, २५) हाम्रो त्रुटिपूर्ण शरीरमाथि पापको पकड साँच्चै बलियो छ!—रोमी ७:२१, २४.

६, ७. (क) यहोवा मनैदेखि पश्‍चात्ताप गरेर उहाँको कृपा खोज्नेहरूलाई कस्तो ठान्‍नुहुन्छ? (ख) हामीले किन परमेश्‍वरको कृपाको नाजायज फाइदा उठाउन मिल्दैन?

हामीले जति नै प्रयास गरे पनि उहाँका आज्ञाहरू पूर्णतया पालन गर्न सक्दैनौँ भनेर यहोवालाई थाह छ। हामीले मनैदेखि पश्‍चात्ताप गरेर उहाँको कृपा खोज्यौँ भने क्षमा पाउन सक्छौँ भनेर उहाँ हामीलाई आश्‍वासन दिनुहुन्छ। भजन ५१:१७ यसो भन्छ: “टुटेको हृदय परमेश्‍वरलाई खुसी तुल्याउने बलिदान हो; हे परमेश्‍वर, तपाईँ टुटेको र चूर्ण हृदयलाई तिरस्कार गर्नुहुन्‍न।” दोषी भावनाको बोझको कारण “टुटेको र चूर्ण” भएको हृदयलाई यहोवा कहिल्यै बेवास्ता गर्नुहुन्‍न।

तर के यसको अर्थ हामीले आफ्नो पापपूर्ण अवस्थालाई बहाना बनाएर पाप गरिरहन र परमेश्‍वरको कृपाको नाजायज फाइदा उठाउन मिल्छ भन्‍ने हो? पटक्कै होइन। यहोवा भावनामा बहनुहुन्‍न। उहाँको कृपाको सीमा छ। उहाँ जानाजानी पाप गर्ने तर पश्‍चात्ताप नगर्ने मानिसलाई कुनै पनि हालतमा क्षमा गर्नुहुन्‍न। (हिब्रू १०:२६) अर्कोतर्फ उहाँ मनैदेखि पश्‍चात्ताप गर्ने मानिसलाई भने क्षमा गर्न सधैँ तयार हुनुहुन्छ। उहाँको प्रेमको यस अद्‌भुत पक्षलाई बुझाउन बाइबलमा चलाइएका केही मन छुने अभिव्यक्‍तिहरू अब विचार गरौँ।

यहोवा कुन हदसम्म क्षमा दिनुहुन्छ?

८. यहोवाले हाम्रा पापहरू क्षमा गर्नुहुँदा एक अर्थमा के गरिरहनुभएको हुन्छ र हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौँ?

पश्‍चात्तापी दाउदले यसो भने: “आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ; मैले आफ्नो गल्ती लुकाइनँ। . . . अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।” (भजन ३२:५) यहाँ “क्षमा” भनेर अनुवाद गरिएको हिब्रू शब्दले साधारणतया “उचाल्नु” वा “बोक्नु” भन्‍ने अर्थ दिन्छ। यहाँ यो शब्द “दोष, पाप वा अपराध” उचालेर टाढा लैजानु भन्‍ने कुरा बुझाउन प्रयोग गरिएको हो। एक अर्थमा यहोवाले दाउदका पापहरू उचालेर टाढा लैजानुभयो। यसले गर्दा तिनले पक्कै पनि आफ्नो मनबाट दोषी भावना हटाउन सके। (भजन ३२:३) फिरौतीको बलिदानमाथि विश्‍वास गरेको आधारमा क्षमा माग्नेहरूको पाप यहोवा टाढा लैजानुहुन्छ भन्‍ने कुरामा हामी पनि पूर्णतया विश्‍वस्त हुन सक्छौँ।—मत्ति २०:२८.

९. यहोवाले हाम्रो पाप हामीबाट कति टाढा लैजानुहुन्छ?

यहोवाको क्षमाबारे बुझाउन दाउदले अर्को एउटा सशक्‍त अभिव्यक्‍ति चलाए। तिनले यस्तो लेखे: “पूर्वबाट पश्‍चिम जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।” (भजन १०३:१२) सूर्य पूर्वबाट उदाउँछ र पश्‍चिममा अस्ताउँछ। पूर्वदेखि पश्‍चिम कति टाढा छ? वास्तवमा पूर्व र पश्‍चिमबीचको दूरी कति छ भनेर हामी कल्पना समेत गर्न सक्दैनौँ। यी दुई बिन्दुको आपसमा कहिल्यै मिलन हुँदैन। एक बाइबलविद्‌अनुसार यस अभिव्यक्‍तिको अर्थ “यथासम्भव टाढा; हामीले सोच्न सक्नेभन्दा टाढा” भन्‍ने हुन्छ। दाउदले परमेश्‍वरको प्रेरणा पाएर लेखेको कुराबाट के स्पष्ट हुन्छ भने परमेश्‍वरले हामीलाई क्षमा गर्नुहुँदा उहाँले हाम्रा पापहरू हामीबाट यत्ति टाढा लैजानुहुन्छ कि हामी कल्पना समेत गर्न सक्दैनौँ।

“तिमीहरूका पापहरू . . . हिउँजस्तै सेता हुनेछन्‌”

१०. यहोवाले क्षमा दिनुभएपछि त्यो पापको दाग जिन्दगीभर मेटिँदैन भनेर किन सोच्नु पर्दैन?

१० के तपाईँले कहिल्यै फिका रङ्‌गको लुगाबाट दाग हटाउने कोसिस गर्नुभएको छ? तपाईँले जति नै कोसिस गरे पनि त्यो दाग पूरै हटेन होला। यहोवाले कुन हदसम्म हाम्रो पाप क्षमा गर्न सक्नुहुन्छ? उहाँ यसो भन्‍नुहुन्छ: “तिमीहरूका पापहरू सिन्दूरे रङ्‌गका भए पनि ती हिउँजस्तै सेता हुनेछन्‌। तिमीहरूका पापहरू गाढा राता रङ्‌गका कपडाजस्तै भए पनि ती ऊनजस्तै सेता हुनेछन्‌।” (यसैया १:१८) यहाँ चलाइएको “सिन्दूरे” शब्दले उज्यालो रातो रङ्‌गलाई बुझाउँछ। a हामी आफ्नै क्षमतामा कहिल्यै पनि पापको दाग हटाउन सक्दैनौँ। तर यहोवाले हाम्रा पापहरू सिन्दूरे र गाढा रातो रङ्‌गको भए पनि त्यसलाई हिउँ वा ऊनजस्तै सेतो बनाइदिन सक्नुहुन्छ। उहाँले हामीलाई क्षमा दिइसक्नुभएपछि त्यो पापको दाग जिन्दगीभर मेटिँदैन होला भनेर सोच्नु पर्दैन।

११. यहोवाले हाम्रा पापहरू कुन अर्थमा आफ्नो पिठ्यूँपछाडि फालिदिनुहुन्छ?

११ एकचोटि हिजकियाहलाई ज्यानै जान सक्ने रोग लागेको थियो तर यहोवाले तिनलाई निको पारिदिनुभयो। त्यसपछि उहाँप्रतिको कृतज्ञता व्यक्‍त गर्दै तिनले यस्तो गीत रचे: “मेरा सबै पापहरूलाई तपाईँले आफ्नो पिठ्यूँपछाडि फालिदिनुभयो।” (यसैया ३८:१७, फुटनोट) यस पदअनुसार यहोवाले पश्‍चात्ताप गर्ने व्यक्‍तिको पापलाई उठाएर आफ्नो पिठ्यूँपछाडि फालिदिनुहुन्छ। त्यसपछि उहाँले त्यस पापलाई न हेर्नुहुन्छ न त त्यसको वास्ता नै गर्नुहुन्छ। एउटा किताबअनुसार यस कुरालाई यसरी पनि व्यक्‍त गर्न सकिन्छ: “तपाईँले [मेरा पापहरूलाई] मैले कहिल्यै नगरेको सरह तुल्याइदिनुभएको छ।” के यो आश्‍वासनदायी कुरा होइन र?

१२. मिकाका शब्दहरूबाट यहोवाले पापहरू क्षमा गर्नुभएपछि ती सदाका लागि हटाइदिनुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ?

१२ साथै इस्राएलको पुनर्स्थापनाबारे गरिएको एउटा प्रतिज्ञाबारे विचार गरौँ। भविष्यवक्‍ता मिकाले यहोवा आफ्ना पश्‍चात्तापी मानिसहरूलाई क्षमा गर्नुहुन्छ भनेर विश्‍वस्त भएको कुरा यसरी व्यक्‍त गरे: “तपाईँजस्तो परमेश्‍वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरू[का] . . . अपराधहरू सम्झनुहुन्‍न? . . . तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराइमा मिल्काइदिनुहुनेछ।” (मिका ७:१८, १९) यस प्रतिज्ञाले ती इस्राएलीहरूको लागि कस्तो अर्थ राख्थ्यो? कुनै कुरालाई एक चोटि “समुद्रको गहिराइमा” मिल्काएपछि त्यो फिर्ता पाउने कुनै सम्भावना हुँदैन। त्यसैले मिकाका यी शब्दहरूबाट यहोवाले पापहरू क्षमा गर्नुभएपछि ती सदाका लागि हटाइदिनुहुन्छ भनेर बुझ्न सक्छौँ।

१३. येसुले “हाम्रो ऋण क्षमा गर्नुहोस्‌” भन्‍नुको अर्थ के हो?

१३ येसुले यहोवाको क्षमाबारे बुझाउन ऋणदाता र ऋणीको उदाहरण चलाउनुभयो। उहाँले हामीलाई यसरी प्रार्थना गर्न आग्रह गर्नुभयो: “हाम्रो ऋण क्षमा गर्नुहोस्‌।” (मत्ति ६:१२) येसुले हाम्रो पापलाई ऋणसित तुलना गर्नुभयो। (लुका ११:४) हामीले पाप गर्दा यहोवाप्रति “ऋणी” भइरहेका हुन्छौँ। “क्षमा” भनेर अनुवाद गरिएको ग्रीक क्रियाको अर्थबारे एउटा स्रोतसामग्री यसो भन्छ: “ऋण फिर्ता नमाग्नु वा मिनाहा गरिदिनु।” एक अर्थमा भन्‍ने हो भने यहोवाले हामीलाई क्षमा दिनुभएपछि हाम्रो पापको ऋण मिनाहा हुन्छ। त्यसैले पश्‍चात्ताप गर्ने व्यक्‍तिले राहत पाउन सक्छन्‌। यहोवाले एक चोटि हाम्रो पापको ऋण मिनाहा गरिदिनुभएपछि उहाँ हामीलाई त्यो ऋण फेरि कहिल्यै तिर्न लगाउनुहुन्‍न।—भजन ३२:१, २.

१४. “पाप मेटियोस्‌” भन्‍ने अभिव्यक्‍तिले हाम्रो दिमागमा कस्तो चित्र कोर्छ?

१४ प्रेषित ३:१९ मा यहोवाको क्षमाबारे थप यस्तो कुरा बताइएको छ: “त्यसैले पश्‍चात्ताप गर्नुहोस्‌ अनि फर्केर परमेश्‍वरकहाँ आउनुहोस्‌ ताकि तपाईँहरूको पाप मेटियोस्‌।” यहाँ “मेटियोस्‌” भनेर अनुवाद गरिएको ग्रीक क्रियाले “पुछ्‌नु, . . . रद्द गर्नु वा नष्ट गर्नु” भन्‍ने अर्थ दिन्छ। केही बाइबलविद्‌अनुसार यस शब्दले हातले लेखिएका अक्षरहरू मेटाउने कुराको चित्र कोर्छ। पुरातन समयमा प्रयोग गरिने प्रायजसो मसी कोइला, चोप र पानी मिसाएर बनाइन्थ्यो। त्यस्तो मसी प्रयोग गरेर केही कुरा लेखेपछि त्यसलाई भिजेको स्पन्जले पुछेर मेटाउन सकिन्थ्यो। यस उदाहरणले यहोवाको कृपाको सुन्दर चित्र कोर्छ। उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुँदा एक अर्थमा स्पन्जले पुछेर ती पापहरू मेटाइदिनुहुन्छ।

१५. यहोवा हामीले कुन कुरा बुझेको चाहनुहुन्छ?

१५ यहोवाको क्षमालाई बुझाउन प्रयोग गरिएको यस्ता सशक्‍त अभिव्यक्‍तिहरूबाट के स्पष्ट हुन्छ भने मनैदेखि पश्‍चात्ताप गर्नेहरूलाई उहाँ क्षमा दिन सधैँ तयार हुनुहुन्छ भनेर हामीले बुझेको उहाँ चाहनुहुन्छ। त्यसैले उहाँले हाम्रा पापहरूको हिसाबकिताब राखेर भविष्यमा सजाय दिनुहुनेछ भनेर डराउनु पर्दैन किनभने बाइबलमा उहाँको अथाह कृपाबारे अर्को एउटा कुरा पनि बताइएको छ। त्यो हो, उहाँले हामीलाई एक चोटि क्षमा दिनुभएपछि हामीले गरेको त्यो पाप फेरि कहिल्यै सम्झनुहुन्‍न।

यहोवा “क्षमा गर्न सधैँ तयार” हुनुहुन्छ भनेर हामीले थाह पाएको उहाँ चाहनुहुन्छ

“म . . . फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ”

१६, १७. यहोवाले हाम्रा पापहरू सम्झनुहुन्‍न भन्‍नुको अर्थ के हो? तपाईँलाई किन त्यस्तो लाग्छ?

१६ यहोवाले नयाँ करारमा बाँधिएकाहरूबारे यस्तो प्रतिज्ञा गर्नुभयो: “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।” (यर्मिया ३१:३४) के यसको अर्थ यहोवाले हामीलाई क्षमा गर्नुभएपछि हामीले गरेको पाप उहाँको स्मरणबाटै हराएर जान्छ भन्‍ने हो? त्यसो त पटक्कै होइन। बाइबलमा दाउदलगायत यस्ता थुप्रै व्यक्‍तिहरूको पापबारे उल्लेख गरिएको छ, जसले परमेश्‍वरबाट क्षमा पाए। (२ समुएल ११:१-१७; १२:१३) स्पष्ट छ, यहोवालाई तिनीहरूले गरेको गल्तीहरूबारे अहिले पनि राम्ररी थाह छ। बाइबलमा हाम्रै शिक्षाको लागि तिनीहरूले गरेको पाप, तिनीहरूको पश्‍चात्ताप र तिनीहरूले परमेश्‍वरबाट पाएको क्षमाबारे उल्लेख गरिएको छ। (रोमी १५:४) त्यसोभए यहोवाले हामीलाई क्षमा गर्नुभएपछि हाम्रा पापहरू फेरि कहिल्यै ‘सम्झनुहुन्‍न’ भन्‍नुको अर्थ के हो?

१७ “सम्झनु” भनी अनुवाद गरिएको हिब्रू क्रियाको अर्थ विगतका कुराहरू याद गर्नु मात्र त होइन। पुरानो नियमको धर्मविज्ञानकोश (अङ्‌ग्रेजी) किताबअनुसार यसमा “उचित कदम चाल्नु” पनि समावेश छ। त्यसैले कसैको पाप “सम्झनु” भनेको तिनीविरुद्ध कदम चाल्नु पनि हो। (होसे ९:९) तर परमेश्‍वरले “म . . . फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ” भन्‍नुहुँदा के आश्‍वासन दिँदै हुनुहुन्थ्यो भने उहाँले पश्‍चात्तापी पापीलाई एक चोटि क्षमा दिनुभएपछि भविष्यमा फेरि उसलाई त्यस पापको सजाय दिनुहुन्‍न। (इजकिएल १८:२१, २२) उहाँ हामीलाई दोषी ठहराउन वा सजाय दिन हाम्रा गल्तीहरू बारम्बार कोट्ट्याइरहनुहुन्‍न। बरु उहाँ ती गल्तीहरू सदाको लागि बिर्सनुहुन्छ। के यो कुरा सान्त्वनादायी छैन र?

पापको नतिजाबारे के भन्‍न सकिन्छ?

१८. यहोवाले क्षमा दिनुको अर्थ पश्‍चात्तापी पापीले आफ्नो गलत कामको नतिजा नै भोग्नु पर्दैन भन्‍ने किन होइन?

१८ यहोवा क्षमा गर्न तयार हुनुहुन्छ भन्‍नुको अर्थ के पश्‍चात्तापी पापीले आफ्नो गलत कामको नतिजा नै भोग्नु पर्दैन भन्‍ने हो? त्यस्तो त होइन। पावलले यस्तो लेखे: “मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) त्यसैले हामीले आफ्नो गलत कामको नतिजा भोग्नुपर्ने हुन्छ। तर यसको अर्थ यहोवाले हामीलाई क्षमा दिनुभएपछि त्यही पापको कारण हामीमाथि विपत्ति ल्याउनुहुन्छ भन्‍ने त होइन। कुनै समस्या आइपर्दा हामीले यस्तो सोच्नु हुँदैन, ‘सायद यहोवाले विगतका मेरा पापहरूको सजाय दिइरहनुभएको छ।’ (याकुब १:१३) अर्कोतर्फ उहाँ हामीलाई गलत कदमले निम्त्याउने नतिजाबाट जोगाउनुहुन्‍न। सम्बन्धविच्छेद हुने, नचाहँदा-नचाहँदै गर्भ बस्ने, यौनजन्य रोग लाग्ने अथवा भरोसा वा आदर गुम्ने जस्ता दुःखदायी नतिजाबाट हामी जोगिन सक्दैनौँ। उदाहरणको लागि, दाउदले बेतसेबा र उरियाहविरुद्ध पाप गरेपछि यहोवाले तिनलाई क्षमा दिनुभयो तर उहाँले तिनलाई त्यसका भयावह नतिजाहरूबाट भने जोगाउनुभएन।—२ समुएल १२:९-१२.

१९-२१. (क) लेवी ६:१-७ मा उल्लेख गरिएको नियमले पीडित र दोषी दुवैलाई कस्तो फाइदा पुऱ्‍याउँथ्यो? (ख) यदि हाम्रो पापले गर्दा कसैलाई ठेस पुगेको छ भने कस्तो कदम चाल्दा यहोवालाई खुसी लाग्छ?

१९ हामीले आफ्नो पापको अरू नतिजा पनि भोग्नुपर्ने हुन सक्छ, अझ विशेषगरि हाम्रो गल्तीले गर्दा अरूलाई चोट पुगेको छ भने। लेवी अध्याय ६ मा उल्लेख गरिएको एउटा अवस्थाबारे विचार गरौँ। एक जना इस्राएलीले अर्को इस्राएलीको सामान चोरेर, लुटेर वा ठगेर गम्भीर गल्ती गर्छ। तर त्यस पापीले आफ्नो गल्ती स्विकार्नुको साटो आफूले त्यस्तो गरेकै होइनँ भनेर झूटो कसम खान्छ। पछि त्यस दोषीको अन्तस्करणले घोच्छ र उसले आफ्नो पाप स्विकार्छ। तर परमेश्‍वरको क्षमा पाउन अब उसले अरू तीन वटा काम गर्नुपर्ने हुन्छ: उसले पीडितलाई आफूले चोरेको सामान फिर्ता गर्नुपर्छ, क्षतिपूर्तिस्वरूप उक्‍त सामानको कुल मूल्यको २० प्रतिशत थपेर दिनुपर्छ र दोषभेटीको रूपमा एउटा थुमा चढाउनुपर्छ। त्यसपछि के हुन्छ? व्यवस्था यसो भन्छ: “पुजारीले यहोवा परमेश्‍वरसामु उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र ऊ यीमध्ये जुनसुकै गल्तीको लागि दोषी ठहरिएको भए पनि उसले क्षमा पाउनेछ।”—लेवी ६:१-७.

२० व्यवस्थाको यो नियम परमेश्‍वरले मिलाउनुभएको एउटा दयालु प्रबन्ध थियो। यस नियमले पिडितलाई फाइदा पुऱ्‍याउँथ्यो। उसले आफ्नो सामान फिर्ता पाउँथ्यो र ढिलै भए पनि दोषीले आफ्नो पाप स्विकारेको देख्दा राहत महसुस गर्थ्यो। अर्कोतर्फ यस नियमले दोषीलाई पनि फाइदा पुऱ्‍याउँथ्यो। उसको अन्तस्करणले उसलाई गल्ती स्विकार्न र त्यो सच्याउन झकझक्याउँथ्यो। तर उसले त्यसो नगरेको भए परमेश्‍वरबाट क्षमा पाउने थिएन।

२१ हुनत अहिले हामी मोसाको व्यवस्थाको अधीनमा छैनौँ तैपनि यसले क्षमालगायत अन्य विषयमा यहोवाको सोचाइ बुझ्न मदत गर्छ। (कलस्सी २:१३, १४) हाम्रो गल्तीले गर्दा कसैलाई ठेस पुगेको छ र त्यो गल्ती सच्याउन हामीले कदम चाल्यौँ भने परमेश्‍वर पक्कै खुसी हुनुहुनेछ। (मत्ति ५:२३, २४) ती कदममा आफ्नो गल्ती महसुस गर्नु, पाप स्विकार्नु र पीडितसित क्षमा माग्नु समावेश छ। त्यसपछि हामी येसुको बलिदानको आधारमा यहोवासित क्षमा माग्न सक्छौँ अनि उहाँले क्षमा दिनुभयो भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौँ।—हिब्रू १०:२१, २२.

२२. यहोवाको क्षमामा कुन कुरा समावेश छ?

२२ आमाबुबाले जस्तै यहोवाले पनि हामीलाई क्षमा दिनुका साथै केही हदसम्म अनुशासन पनि दिनुहुन्छ। (हितोपदेश ३:११, १२) पश्‍चात्तापी ख्रिष्टियनले एल्डर, सहायक सेवक वा पूर्ण-समय सेवकको रूपमा सेवा गर्ने सुअवसर गुमाउनुपर्ने हुन सक्छ। आफूले एकदमै अनमोल ठानेको यस्ता सुअवसरहरू केही समयको लागि छोड्‌नुपर्दा तिनलाई पक्कै पनि दुःख लाग्छ। तर यहोवाले यस्तो अनुशासन दिनुको मतलब उहाँले तिनलाई क्षमा दिनुभएन भन्‍ने त होइन। उहाँले दिनुहुने अनुशासन हामीप्रतिको उहाँको प्रेमको प्रमाण हो भन्‍ने कुरा सधैँ मनमा राख्नुपर्छ। अनुशासन स्विकार्दा र लागू गर्दा सधैँ हाम्रै हित हुन्छ।—हिब्रू १२:५-११.

२३. हामी यहोवाको क्षमा पाउन लायकका छैनौँ भन्‍ने निष्कर्षमा किन पुग्नु हुँदैन? हामी किन उहाँजस्तै क्षमाशील हुनुपर्छ?

२३ हाम्रो परमेश्‍वर “क्षमा गर्न सधैँ तयार” हुनुहुन्छ भनेर थाह पाउनु साँच्चै स्फूर्तिदायी छ। हामीले विगतमा कुनै गल्ती गरेका थियौँ भने पनि यहोवाको कृपा पाउन लायकका छैनौँ भन्‍ने निष्कर्षमा कहिल्यै पुग्नु हुँदैन। हामीले साँचो पश्‍चात्ताप गऱ्‍यौँ, आफ्नो गल्ती सुधार्न कदम चाल्यौँ अनि येसुको रगतको आधारमा यहोवासित क्षमा माग्यौँ भने उहाँले हामीलाई क्षमा गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौँ। (१ युहन्‍ना १:९) त्यसैले अरूसित व्यवहार गर्दा यहोवाजस्तै क्षमाशील होऔँ। कहिल्यै पाप नगर्नुहुने परमेश्‍वरले त हामीलाई क्षमा दिनुहुन्छ भने के हामी त्रुटिपूर्ण मानिसहरूले एकअर्कालाई क्षमा दिनु पर्दैन होला र?

a एक जना बाइबलविद्‌को भनाइअनुसार सिन्दूरे रङ्‌ग “लामो समय रहिरहने वा नखुइलिने रङ्‌ग थियो। यो रङ्‌ग शीत, वर्षा वा धुलाइले अनि लामो समयसम्म प्रयोग गरे पनि खुइलिँदैनथ्यो।”