सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २७

“उहाँ कत्ति भला हुनुहुन्छ!”

“उहाँ कत्ति भला हुनुहुन्छ!”

१, २. परमेश्‍वरको भलाइ कत्तिको व्यापक छ र बाइबलले यस गुणबारे के भन्छ?

 डुब्दै गरेको घामको लाली क्षितिजमा छरिएको छ। केही पुराना साथीहरू खुला आकाशमुनि बसेर रमाइलो कुराकानी गर्दै, हाँस्दै र मीठा-मीठा खानेकुरा खाँदै त्यस मनमोहक दृश्‍यको आनन्द उठाइरहेका छन्‌। कतै टाढा एक किसान आफ्नो खेततिर हेर्दै मुस्कुराइरहेको छ किनभने उसले आकाशमा कालो बादल मडारिरहेको देख्छ अनि उसको बालीमा पहिलो वर्षाको पानी बर्सनै लागेको छ। अन्त कतै एक दम्पती आफ्नो बच्चाले लरखराउँदै पहिलो पाइला चालेको देखेर खुसीले गद्‌गद भइरहेका छन्‌।

माथि उल्लिखित अवस्थाहरूमा सबैले एउटै कुराबाट लाभ उठाइरहेका छन्‌। त्यो हो, यहोवा परमेश्‍वरको भलाइ। धर्ममा आस्था राख्ने मानिसहरू अक्सर “ईश्‍वर भलो हुनुहुन्छ” भन्‍ने गर्छन्‌। बाइबलले पनि यहोवाबारे जोडदार तरिकामा यसो भन्छ: “उहाँ कत्ति भला हुनुहुन्छ!” (जकरिया ९:१७) आज थोरैले मात्र यस भनाइको अर्थ बुझेका छन्‌ जस्तो देखिन्छ। परमेश्‍वरको भलाइमा के-के समावेश छ अनि यस गुणले हामी प्रत्येकमा कस्तो प्रभाव पार्छ?

यहोवाको प्रेमको उल्लेखनीय पक्ष

३, ४. भलाइ भनेको के हो र यसलाई यहोवाको प्रेमको एउटा उल्लेखनीय पक्ष भन्‍नु किन उचित छ?

धेरैजसो आधुनिक भाषाहरूमा “भलाइ” वा “असल” शब्द साधारण तरिकामा प्रयोग गरिन्छ। तर बाइबलमा प्रयोग गरिएको “भलाइ” शब्दको अर्थ गहिरो छ। भलो वा असल मानिसमा सद्‌गुणहरू हुन्छ र ऊ उच्च नैतिक स्तरअनुसार चल्छ। यस अर्थमा हामी यहोवा भलाइले भरिपूर्ण हुनुहुन्छ भन्‍न सक्छौँ। हुनत शक्‍ति, न्याय र बुद्धिलगायत उहाँका सबै गुणमा भलाइ झल्किन्छ तर भलाइलाई यहोवाको प्रेमको एउटा उल्लेखनीय पक्ष भन्‍नु उचित छ। किन?

भलाइ एउटा सक्रिय गुण हो र यो काममा देखिन्छ। प्रेषित पावलले बताएअनुसार मानिसहरू धर्मी मानिसतर्फ भन्दा असल मानिसतर्फ आकर्षित हुन्छन्‌। (रोमी ५:७) धर्मी मानिसले वफादार भई नियमहरू पालन गर्छ तर असल मानिसले भने त्योभन्दा पनि धेरै गर्छ। ऊ आफै अग्रसर भएर अरूको फाइदा हुने काम गर्न मौका खोजिरहन्छ। यहोवा यस अर्थमा पनि भला हुनुहुन्छ भनेर हामी बुझ्नेछौँ। स्पष्ट छ, यहोवाको यस्तो भलाइको स्रोत उहाँको अपार प्रेम हो।

५-७. येसुलाई “असल गुरु” भनेर सम्बोधन गरिँदा उहाँले किन आपत्ति जनाउनुभयो र उहाँले कुन महत्त्वपूर्ण सत्यलाई जोड दिनुभयो?

यहोवाले जस्तो भलाइ अरू कसैले देखाउन सक्दैन। येसुको मृत्यु हुनुभन्दा केही समयअघि एक जना मानिस एउटा प्रश्‍न सोध्न उहाँकहाँ आयो र उहाँलाई “असल गुरु” भनेर सम्बोधन गऱ्‍यो। उहाँले यस्तो जवाफ दिनुभयो: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्‍वरबाहेक अरू कोही छैन।” (मर्कुस १०:१७, १८) उहाँको जवाफ सुनेर तपाईँलाई अचम्म लाग्यो होला। उहाँले त्यस मानिसलाई किन सच्याउनुभयो? के उहाँ “असल गुरु” हुनुहुन्‍नथ्यो र?

स्पष्ट छ, त्यस मानिसले येसुको चापलुसी गर्न उहाँलाई “असल गुरु” भनिरहेको थियो। तर उहाँले मर्यादामा रहेर त्यस्तो महिमा स्वर्गमा बस्नुहुने आफ्नो बुबालाई दिनुभयो, जो भलाइ गर्ने सन्दर्भमा सर्वोत्कृष्ट उदाहरण हुनुहुन्छ। (हितोपदेश ११:२) तर त्यतिबेला येसुले एउटा महत्त्वपूर्ण सत्यलाई पनि जोड दिँदै हुनुहुन्थ्यो। यहोवा नै भलाइको सर्वोत्तम स्तर हुनुहुन्छ। उहाँसित मात्र असल र खराबको स्तर तोक्ने अधिकार छ। तर आदम र हव्वाले असल र खराबको ज्ञान दिने रूखको फल खाएर त्यो अधिकार आफैले लिन खोजे। अर्कोतर्फ येसुले त्यस्तो स्तर तोक्ने अधिकार यहोवासित मात्र छ भन्‍ने कुरा नम्र भई स्विकार्नुभयो।

साथै येसुलाई सबै असल कुराको स्रोत यहोवा नै हुनुहुन्छ भनेर थाह थियो। “हरेक असल वरदान र हरेक उत्तम उपहार” उहाँबाटै आउँछ। (याकुब १:१७) यहोवाको उदारतामा भलाइ कसरी झल्किन्छ, अब छलफल गरौँ।

यहोवाको प्रचुर भलाइको प्रमाण

८. यहोवाले कसरी सबैको लागि भलाइको काम गर्नुभएको छ?

यस धर्तीमा जन्म लिएका सबैले यहोवाको भलाइबाट लाभ उठाएका छन्‌। भजन १४५:९ भन्छ: “यहोवा सबैको भलाइ गर्नुहुन्छ।” उहाँले सबैको भलाइ गर्नुभएको केही उदाहरण विचार गरौँ। बाइबल भन्छ: “भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो अर्थात्‌ उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।” (प्रेषित १४:१७) मीठो खानेकुरा खाँदा के तपाईँले आनन्द र सन्तुष्ट महसुस गर्नुभएको छ? यदि उहाँले यस पृथ्वीमा स्वच्छ र ताजा पानीको आपूर्ति गर्न जलचक्र अनि प्रशस्त बाली दिने “ऋतु” नै नबनाउनुभएको भए हामीसित एक छाक खानेकुरा पनि हुने थिएन। यहोवाले उहाँलाई प्रेम गर्नेहरूको लागि मात्र नभई सबैको लागि यस्तो भलाइको काम गर्नुभएको छ। यसबारे येसुले भन्‍नुभयो: “उहाँले दुष्ट र सज्जन दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मी दुवैमाथि पानी बर्साउनुहुन्छ।”—मत्ति ५:४५.

९. स्याउले कसरी यहोवाको भलाइको प्रमाण दिन्छ?

यहोवाले हामीलाई उदार भई घाम, पानी र प्रशस्त बाली दिने ऋतु दिनुभएको छ। तर मानिसहरूले यस्ता कुराहरूको कदर गर्दैनन्‌। उदाहरणको लागि, स्याउलाई लिनुहोस्‌। यो ठिक्कको चिसो हुने सबै ठाउँमा फल्ने एउटा साधारण फल हो। तर यो फल रहरलाग्दो देखिन्छ अनि खाँदा स्वादिलो र रसिलो हुन्छ। यसमा जरुरी पौष्टिक तत्त्वहरू पनि पाइन्छ। संसारभरि लगभग ७ हजार ५ सय प्रजातिको स्याउ पाइन्छ। यो रातो, सुनौलो, पहेँलो र हरियो रङ्‌गको हुन्छ। यो अङ्‌गुरको दानाजत्रो सानोदेखि लिएर भोगटेजत्रो ठूलोसम्म हुन्छ। तपाईँले स्याउको बियाँ हातमा लिएर हेर्नुभयो भने त्यो निकै सानो हुन्छ। तर त्यस बियाँबाट नै प्रशस्त फल दिने एउटा सुन्दर बोट बन्छ। (श्रेष्ठगीत २:३) हरेक वर्ष वसन्त ऋतुमा स्याउको बोटमा ढकमक्क फूल फुल्छ अनि शरद्‌ ऋतुमा फल लाग्छ। एउटा स्याउको बोटले लगभग ७५ वर्षसम्म फल दिन्छ। प्रत्येक वर्ष एउटा साधारण स्याउको बोटले झन्डै ३८० किलोसम्म फल फलाउँछ!

यहोवाले “आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली” दिइरहनुभएको छ

यो सानो बियाँबाट एउटा बोट बन्छ र त्यसले मानिसहरूलाई वर्षौँसम्म प्रशस्त फल दिन्छ

१०, ११. हाम्रा ज्ञानेन्द्रियहरूले कसरी भलाइको प्रमाण दिन्छ?

१० यहोवाले आफ्नो असीम भलाइको कारण हामीलाई “अचम्मलाग्दो तरिकामा बनिएको” शरीर अनि उहाँका कामहरू राम्ररी बुझ्न र त्यसबाट आनन्द उठाउन सक्ने ज्ञानेन्द्रिय दिनुभएको छ। (भजन १३९:१४) यस अध्यायको सुरुमा चर्चा गरिएका दृश्‍यहरू फेरि विचार गर्नुहोस्‌। यस्ता पलहरूमा देखिने कस्ता कुराहरूले हामीलाई खुसी बनाउँछ? खित्का छोडेर हाँसिरहेको बच्चाको रातो-रातो गाला। खेतमा झमझम परिरहेको पानी। घाम अस्ताउनै लाग्दा रातो, सुनौलो र प्याजी रङ्‌गहरू छरिएको क्षितिज। हाम्रो आँखाले लाखौँलाख फरक-फरक रङ्‌गहरू चिन्‍न सक्छ। हाम्रो सुन्‍ने क्षमताले गर्दा हामीलाई माया गर्ने व्यक्‍तिहरूको आवाज, रूखहरूबाट सर्र बहिरहेको हावाको आवाज अनि बच्चाले खित्का छोडेर हाँसेको आवाज ठम्याउन सक्छौँ। हामीलाई यस्ता सुन्दर दृश्‍यहरू र आवाजहरू किन मन पर्छ? बाइबल भन्छ: “सुन्‍ने कान र हेर्ने आँखा—दुवै बनाउने यहोवा नै हुनुहुन्छ।” (हितोपदेश २०:१२) तर यी त हाम्रा दुई वटा ज्ञानेन्द्रिय मात्र हुन्‌।

११ सुँघ्ने क्षमता यहोवाको भलाइको अर्को प्रमाण हो। मानिसको नाकले अनगिन्ती बास्ना र गन्ध छुट्ट्याउन सक्छ, हजारौँदेखि लगभग १० खरबसम्म। केही उदाहरण विचार गरौँ। पाक्दै गरेको मीठो परिकार, फूलहरू, सुकेका पत्करहरू र मधुरो आगोबाट निस्किरहेको धुवाँको बास्ना। स्पर्श गर्ने क्षमताले गर्दा हाम्रो मुहारलाई सुमसुम्याउँदै बहिरहेको मन्दमन्द हावा, माया गर्ने व्यक्‍तिको न्यानो अङ्‌कमाल र ताजा फल हातमा लिँदा महसुस हुने मुलायमपनको अनुभूति गर्न सक्छौँ। त्यो फल टोक्दा तपाईँको स्वाद लिने क्षमताले काम गर्न थाल्छ। तपाईँको जिब्रोले फलमा भएका रसायनहरूको मिश्रणबाट बनिने फरक-फरक स्वादको आनन्द लिन सक्छ। त्यसैले हामीसित यहोवाबारे यसो भन्‍न सक्ने सशक्‍त कारण छ: “तपाईँको भलाइ कत्ति अपार छ! त्यो तपाईँले आफ्नो डर मान्‍नेहरूका लागि साँचेर राख्नुभएको छ।” (भजन ३१:१९) तर यहोवाले उहाँको डर मान्‍नेहरूका लागि कसरी भलाइ साँचेर राख्नुभएको छ?

सदाको लागि फाइदा पुऱ्‍याउने भलाइको काम

१२. यहोवाले गर्नुभएको सबैभन्दा महत्त्वपूर्ण प्रबन्ध कुन हो र किन?

१२ येसुले यसो भन्‍नुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा परमेश्‍वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’” (मत्ति ४:४) यहोवाले गर्नुभएको भौतिक प्रबन्धले भन्दा आध्यात्मिक प्रबन्धले धेरै फाइदा पुऱ्‍याउँछ किनभने त्यसले हामीलाई अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। यहोवाले यस अन्तको समयमा पुनर्स्थापना गर्ने आफ्नो शक्‍ति प्रयोग गरेर आध्यात्मिक प्रमोदवन बनाउँदै हुनुहुन्छ भनेर यस किताबको अध्याय ८ मा सिक्यौँ। यस प्रमोदवनको एउटा विशेषता प्रशस्त मात्रामा पाइने आध्यात्मिक खानेकुरा हो।

१३, १४. (क) भविष्यवक्‍ता इजकिएलले दर्शनमा के देखे र यस दर्शनको अर्थ के हो? (ख) यहोवाले आफ्ना वफादार सेवकहरूको लागि कस्ता आध्यात्मिक प्रबन्धहरू मिलाउनुभएको छ?

१३ बाइबलमा गरिएको पुनर्स्थापनाको एउटा महत्त्वपूर्ण भविष्यवाणीमा यहोवाले भविष्यवक्‍ता इजकिएललाई पुनर्स्थापित र महिमित मन्दिरको दर्शन दिनुभयो। त्यस मन्दिरबाट पानीको सानो धारा बगिरहेको थियो, जुन बिस्तारै फराकिलो र गहिरो हुँदै गयो। अन्ततः पानी बढेर ठूलो नदी बन्यो। त्यो नदी जहाँ-जहाँ बग्यो, त्यहाँ-त्यहाँ त्यसले आशिष्‌ ल्यायो। नदीको दुवै किनारामा फल दिने र रोगबिमार निको पार्ने हरकिसिमका रूखहरू फस्टाए। त्यस नदीले नुनिलो र कुनै जीव नभएको मृतसागरलाई समेत जीवन दियो अनि त्यहाँ अनगिन्ती जीवहरू पाइन थाले। (इजकिएल ४७:१-१२) यस भविष्यवाणीको अर्थ के हो?

१४ मन्दिरको दर्शनले यहोवाले शुद्ध उपासना पुनर्स्थापना गर्नुहुनेछ भनेर देखायो। यसले गर्दा मानिसहरू फेरि पनि परमेश्‍वरको धार्मिक स्तरअनुसार चल्न सक्ने भए। दर्शनको नदीजस्तै जीवन दिन परमेश्‍वरले मिलाउनुभएका प्रबन्धहरू पनि उहाँका मानिसहरूसम्म पुग्ने थियो र त्यो झन्‌झन्‌ प्रशस्त हुँदै जाने थियो। सन्‌ १९१९ मा शुद्ध उपासना पुनर्स्थापना भएदेखि यहोवाले आफ्ना मानिसहरूलाई जीवन दिन थुप्रै प्रबन्ध मिलाइरहनुभएको छ। कसरी? बाइबल, बाइबलआधारित प्रकाशनहरू, सभाहरू र अधिवेशनहरूले लाखौँ मानिसलाई महत्त्वपूर्ण सत्यहरू सिक्न मदत गरेको छ। यस्ता माध्यमहरूद्वारा यहोवाले आफ्ना मानिसहरूलाई जीवन दिने सबैभन्दा महत्त्वपूर्ण प्रबन्धबारे पनि सिकाउनुभएको छ। त्यो हो, ख्रिष्टको फिरौतीको बलिदान। यसले गर्दा यहोवालाई मनैदेखि प्रेम गर्ने र उहाँको डर मान्‍ने सबैले उहाँसामु शुद्ध ठहरिन र अनन्त जीवनको आशा राख्न सक्ने भए। a त्यसैले आध्यात्मिक अनिकाल परेको यस अन्तको दिनमा यहोवाका सेवकहरूले आध्यात्मिक भोजको आनन्द उठाइरहेका छन्‌।—यसैया ६५:१३.

१५. ख्रिष्टको हजार वर्षीय शासनको दौडान दर्शनको नदी कुन अर्थमा बगिरहनेछ?

१५ इजकिएलले दर्शनमा देखेको नदी यस दुष्ट संसारको विनाशपछि पनि बगिरहनेछ। यो नदी ख्रिष्टको हजार वर्षीय शासनको दौडान अझ तीव्र गतिमा बग्नेछ। त्यसपछि यहोवाले मसीही राज्यमार्फत येसुको बलिदानको मूल्य पूरापूर लागू गर्दै मानिसहरूलाई बिस्तारै त्रुटिरहित अवस्थामा पुऱ्‍याउनुहुनेछ। त्यतिबेला हामी यहोवाको भलाइको कत्ति महिमा गाउनेछौँ, कल्पना गर्नुहोस्‌ त!

यहोवाको भलाइको थप पक्षहरू

१६. यहोवाको भलाइमा अरू गुणहरू पनि समावेश छन्‌ भनेर बाइबलले कसरी देखाउँछ र तीमध्ये केही के-के हुन्‌?

१६ यहोवाको भलाइमा उदारता मात्र समावेश छैन। परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो: “म तिम्रै सामने मेरा सारा वैभव [“भलाइ,” ट्रिनिटेरियन बाइबल सोसाइटी] देखाउनेछु अनि तिम्रै सामने यहोवा भन्‍ने मेरो नाम प्रकट गर्नेछु।” विवरण अझै यसो भन्छ: “यहोवा परमेश्‍वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: ‘यहोवा, हो म यहोवा कृपालु र दयालु छु, म हतपती रिसाउँदिनँ अनि म अटल प्रेम र सत्यले भरिपूर्ण छु।’” (प्रस्थान ३३:१९; ३४:६) त्यसैले यहोवाको भलाइमा थुप्रै असल गुणहरू समावेश छन्‌। तीमध्ये दुइटा विचार गरौँ।

१७. यहोवाले तुच्छ र त्रुटिपूर्ण मानिससित कसरी दयालु व्यवहार गर्नुभएको छ?

१७ “दयालु।” यस गुणलाई “करुणामय” भनेर पनि अनुवाद गर्न सकिन्छ। यसले यहोवा आफ्नो सृष्टिसित कस्तो व्यवहार गर्नुहुन्छ भन्‍नेबारे धेरै कुरा बताउँछ। उहाँ शक्‍तिशाली शासकहरूजस्तो क्रूर, कठोर र तानासाही हुनुहुन्‍न बरु कोमल हुन्छ र हितैषी मित्रले जस्तै व्यवहार गर्नुहुन्छ। उदाहरणको लागि, यहोवाले मोसालाई यसो भन्‍नुभयो: “कृपया तिम्रो हात आफ्नो लुगाभित्र हाल।” (प्रस्थान ४:६) थुप्रै बाइबलमा यस पदबाट “कृपया” भन्‍ने शब्द हटाइएको छ। तर बाइबलविद्‌हरूको भनाइअनुसार यहाँ मौलिक हिब्रू भाषामा आज्ञा नभई विनम्र अनुरोध जनाउने शब्द प्रयोग गरिएको थियो। अरू थुप्रै पदमा यहोवाले यसरी नै आग्रह गर्नुभएको छ। (उत्पत्ति १३:१४; गन्ती १२:६) कल्पना गर्नुहोस्‌, ब्रह्‍माण्डका मालिक हामीजस्तो तुच्छ मानिसलाई “कृपया” भनेर विनम्र अनुरोध गर्नुहुन्छ। अहिलेको संसारमा अरूसित रुखो वा कठोर व्यवहार गर्नु र आफ्नै कुरामा ढिपी कस्नु सामान्य भइसकेको छ। तर हाम्रा परमेश्‍वर यहोवा हामीसित यस्तो दयालु व्यवहार गर्नुहुन्छ भनेर थाह पाउनु स्फूर्तिदायी छैन र?

१८. यहोवा कुन अर्थमा “सत्यले भरिपूर्ण” हुनुहुन्छ र यो कुरा किन आश्‍वासनदायी छ?

१८ “सत्यले भरिपूर्ण।” आजको संसारमा बेइमानी गर्नु मानिसको जीवनशैली नै बनिसकेको छ। तर बाइबल भन्छ: “परमेश्‍वर झूट बोल्नुहुन्‍न किनकि उहाँ मानिस हुनुहुन्‍न।” (गन्ती २३:१९) वास्तवमा तितस १:२ मा यहोवालाई “कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वर” भनिएको छ। उहाँ भला हुनुभएकोले झूटबाट कोसौँ टाढा बस्नुहुन्छ। त्यसैले उहाँका प्रतिज्ञाहरू भरपर्दा छन्‌। उहाँको वचन सधैँ पूरा हुन्छ। उहाँलाई “सत्यका परमेश्‍वर” समेत भनिएको छ। (भजन ३१:५) त्यसैले उहाँ मानिसहरूलाई प्रशस्त गरी सत्य प्रकट गर्नुहुन्छ। उहाँ कसैलाई केही नबताई लुकीछिपी वा गोप्य तरिकामा काम गर्नुहुन्‍न। बरु आफ्ना सेवकहरूलाई आफ्नो बुद्धिको अथाह भण्डारबाट ज्ञानको ज्योति दिनुहुन्छ। b साथै तिनीहरू ‘सत्यमा हिँडिरहन’ सकून्‌ भनेर तिनीहरूलाई सत्यअनुसार जीवन बिताउन सिकाउनुहुन्छ। (३ युहन्‍ना ३) त्यसोभए यहोवाको भलाइले हामी प्रत्येकमा कस्तो प्रभाव पार्नुपर्छ?

“यहोवाले दिनुभएका असल-असल कुराले तिनीहरूको अनुहार धपक्क बल्नेछ”

१९, २०. (क) सैतानले कसरी हव्वाको मनमा यहोवाको भलाइमाथि शङ्‌का उब्जाउन खोज्यो र नतिजा कस्तो भयो? (ख) यहोवाको भलाइले हामीमा कस्तो प्रभाव पार्नुपर्छ र किन?

१९ अदनको बगैँचामा सैतानले हव्वालाई प्रलोभनमा पार्दा त्यसले सुरुमा चलाखीपूर्ण तरिकामा उनको मनमा यहोवाको भलाइमाथि शङ्‌का उब्जाउन खोज्यो। यहोवाले आदमलाई यसो भन्‍नुभएको थियो: “बगैँचाको हरेक रूखबाट चाहेजति फल खान सक्छौ।” त्यस बगैँचामा भएका हजारौँ रूखमध्ये एउटा रूखको फल मात्र नखानू भनेर उहाँले आज्ञा दिनुभएको थियो। तर सैतानले हव्वालाई सुरुमा कस्तो प्रश्‍न सोध्यो, याद गर्नुहोस्‌: “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्‍नुभएको हो?” (उत्पत्ति २:९, १६; ३:१) सैतानले यहोवाको कुरालाई बङ्‌ग्यायो अनि उहाँले हव्वालाई केही असल कुराबाट वञ्चित गराउनुभएको छ भनेर सोच्न लगायो। नभन्दै त्यसको चाल सफल भयो। हव्वासित भएका सबै कुरा यहोवाले नै दिनुभएको थियो। तर उनले यहोवाको भलाइमा शङ्‌का गरिन्‌ र उनका थुप्रै सन्तानले उनकै पाइला पछ्याए।

२० हव्वाले यहोवाको भलाइमाथि शङ्‌का गरेकीले निम्तिएको दुःख र पीडाबाट हामी कोही पनि अछुतो छैनौँ। त्यसैले यर्मिया ३१:१२ मा लेखिएको यो कुरा सधैँ मनमा राखौँ: “यहोवाले दिनुभएका असल-असल कुराले तिनीहरूको अनुहार धपक्क बल्नेछ।” हो, यहोवाको भलाइका कामहरूबारे सोच्दा हाम्रो मुहारमा खुसीको बहार छाउनुपर्छ। भलाइले भरिपूर्ण परमेश्‍वरको मनसायमाथि हामीले कहिल्यै शङ्‌का गर्नु हुँदैन। हामी उहाँमा पूर्णतया भरोसा गर्न सक्छौँ किनभने उहाँ आफूलाई प्रेम गर्ने सबैको सधैँ भलो चाहनुहुन्छ।

२१, २२. (क) तपाईँ कसरी यहोवाले देखाउनुभएको भलाइको लागि धन्यवाद दिन सक्नुहुन्छ? (ख) अर्को अध्यायमा हामी कुन गुणबारे छलफल गर्नेछौँ र यो गुण कुन अर्थमा भलाइभन्दा फरक छ?

२१ परमेश्‍वरको भलाइबारे अरूलाई बताउने मौका पाउँदा पनि हामी खुसी हुन्छौँ। यहोवाका सेवकहरूबारे भजन १४५:७ यसो भन्छ: “मुहानबाट पानी निस्केझैँ तपाईँको अपार भलाइ देखेर तिनीहरूको मुखबाट प्रशंसा निस्कनेछ।” हामीले हरेक दिन यहोवाको भलाइबाट कुनै न कुनै तरिकामा लाभ उठाउँछौँ। त्यसैले हरेक दिन यहोवाले तपाईँको निम्ति गर्नुभएको भलाइको कुनै कामबारे सोच्नुहोस्‌ र त्यसको लागि उहाँलाई धन्यवाद दिनुहोस्‌। उहाँको यस गुणबारे मनन गर्दा, यसको लागि उहाँलाई हरेक दिन धन्यवाद दिँदा र यसबारे अरूलाई बताउँदा हामीले भला परमेश्‍वरको अनुकरण गरिरहेका हुन्छौँ। साथै हामी यहोवाले जस्तै अरूको लागि भलाइको काम गर्ने मौका खोजिरहन्छौँ भने उहाँसित झन्‌ नजिक हुन सक्छौँ। वृद्ध भइसकेका प्रेषित युहन्‍नाले यस्तो लेखे: “प्रिय भाइ, जे खराब छ, त्यसको होइन तर जे असल छ, त्यसको अनुकरण गर। जसले असल काम गर्छ, ऊ परमेश्‍वरको हो।”—३ युहन्‍ना ११.

२२ यहोवाको भलाइ उहाँका अन्य गुणहरूसित पनि सम्बन्धित छ। उदाहरणको लागि, उहाँ ‘अटल प्रेमले भरिपूर्ण’ हुनुहुन्छ। (प्रस्थान ३४:६) उहाँ सबैलाई भलाइ देखाउनुहुन्छ तर अटल प्रेमचाहिँ आफ्ना वफादार सेवकहरूलाई मात्र देखाउनुहुन्छ। अर्को अध्यायमा यहोवा कसरी अटल प्रेम देखाउनुहुन्छ भनेर छलफल गर्नेछौँ।

a फिरौतीको बलिदान यहोवाको भलाइको सर्वोत्कृष्ट प्रमाण हो। हाम्रो निम्ति आफ्नो ज्यान दिन यहोवाले लाखौँ स्वर्गदूतमध्ये कसैलाई रोज्न सक्नुहुन्थ्यो तर उहाँले आफ्नो एक मात्र प्यारो छोरालाई रोज्नुभयो।

b बाइबलले सत्यलाई ज्योतिसित तुलना गर्नु उपयुक्‍त छ। भजनरचयिताले यसरी गाए: “तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्‌।” (भजन ४३:३) यहोवा उहाँबाट सिक्न चाहनेहरूलाई प्रशस्त मात्रामा आध्यात्मिक ज्योति प्रदान गर्नुहुन्छ।—२ कोरिन्थी ४:६; १ युहन्‍ना १:५.