सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २९

“ख्रिष्टको प्रेम जान”

“ख्रिष्टको प्रेम जान”

१-३. (क) येसुलाई आफ्नो बुबाजस्तै बन्‍न कुन कुराले उत्प्रेरित गऱ्‍यो? (ख) हामी येसुको प्रेमको कुन तीन वटा पक्षबारे छलफल गर्नेछौँ?

 के तपाईँले सानो छोरा आफ्नो बुबाजस्तै बन्‍न खोजेको देख्नुभएको छ? सायद उसले आफ्नो बुबाको हिँडाइ, बोली र हाउभाउको नक्कल गर्न खोज्छ। केही समयपछि उसले बुबाको नैतिक र आध्यात्मिक मूल्यमान्यता पनि अँगाल्छ होला। हो, छोराले बुबालाई असाध्यै माया गर्ने भएकोले ऊ आफ्नो बुबाजस्तै बन्‍न चाहन्छ।

येसु र स्वर्गमा बस्नुहुने उहाँको बुबाबीचको सम्बन्धबारे चाहिँ के भन्‍न सकिन्छ? येसुले एकपटक “म बुबालाई प्रेम गर्छु” भन्‍नुभयो। (युहन्‍ना १४:३१) यहोवालाई येसुले जत्तिको प्रेम अरू कसैले गर्न सक्दैन किनकि उहाँ अरू कुनै पनि सृष्टि अस्तित्वमा आउनुभन्दा धेरै अघिदेखि नै आफ्नो बुबासँग हुनुहुन्थ्यो। त्यस प्रेमले गर्दा नै यी छोरा आफ्नो बुबाजस्तै बन्‍न उत्प्रेरित हुनुभयो।—युहन्‍ना १४:९.

यस किताबको अघिल्ला अध्यायहरूमा येसुले कसरी यहोवाको शक्‍ति, न्याय र बुद्धि हुबहु झल्काउनुभयो भनेर हामीले छलफल गऱ्‍यौँ। तर उहाँले आफ्नो बुबाको प्रेम भन्‍ने गुण कसरी झल्काउनुभयो? आउनुहोस्‌, येसुको प्रेमको तीन वटा पक्षबारे छलफल गरौँ। ती हुन्‌: उहाँको आत्मत्यागी मनोभाव, कोमल करुणा र क्षमा दिने इच्छुकता।

“आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन”

४. आत्मत्यागी प्रेम देखाउने सन्दर्भमा येसुले कस्तो उदाहरण बसाल्नुभयो?

येसुले आत्मत्यागी प्रेम देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण बसाल्नुभयो। आत्मत्यागी हुनुमा निःस्वार्थ भई आफ्नो भन्दा अरूको आवश्‍यकता र चाहनालाई प्राथमिकता दिनु समावेश छ। येसुले कसरी यस्तो प्रेम देखाउनुभयो? उहाँ आफैले यसो भन्‍नुभयो: “आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन।” (युहन्‍ना १५:१३) उहाँले राजीखुसी आफ्नो त्रुटिरहित जीवन हाम्रो लागि अर्पण गर्नुभयो। यस्तो उत्कृष्ट प्रेम अहिलेसम्म कुनै पनि मानिसले देखाएको छैन। तर येसुले आत्मत्यागी प्रेम अरू पनि थुप्रै तरिकामा देखाउनुभएको छ।

५. परमेश्‍वरको एक मात्र छोरा स्वर्ग छोडेर पृथ्वीमा आउनु किन ठूलो त्याग हो?

पृथ्वीमा आउनुअघि परमेश्‍वरको छोरा स्वर्गमा उच्च ओहदामा हुनुहुन्थ्यो। यहोवा र लाखौँलाख स्वर्गदूतसित उहाँको घनिष्ठ सम्बन्ध थियो। तर परमेश्‍वरका यी प्यारो छोरा येसुले स्वर्गमा यस्ता अनमोल सुअवसरहरू पाउनुभए तापनि “आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर मानिसको रूपमा जन्मनुभयो।” (फिलिप्पी २:७) उहाँ “[सैतानको] हातमा परेको” यस संसारमा पापी मानिसहरूबीच राजीखुसीले बस्न तयार हुनुभयो। (१ युहन्‍ना ५:१९) के परमेश्‍वरको छोराले हामीप्रतिको प्रेमले गर्दा नै यत्ति ठूलो त्याग गर्नुभएको होइन र?

६, ७. (क) पृथ्वीमा सेवाको काम गर्नुहुँदा येसुले कुन-कुन तरिकामा आत्मत्यागी प्रेम देखाउनुभयो? (ख) युहन्‍ना १९:२५-२७ मा येसुको आत्मत्यागी प्रेमको कस्तो मन छुने उदाहरण पाइन्छ?

पृथ्वीमा सेवाको काम गर्नुहुँदा येसुले विभिन्‍न तरिकामा आत्मत्यागी प्रेम देखाउनुभयो। उहाँमा स्वार्थ भन्‍ने कुरै थिएन। उहाँ सेवाको काममा तल्लीन हुनुभएकोले साधारणतया मानिसहरूले खोज्ने सुखसुविधाको चाह गर्नुभएन। उहाँले यसो भन्‍नुभयो: “फ्याउराहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्‌गीको गुँड तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।” (मत्ति ८:२०) उहाँ सिपालु सिकर्मी हुनुभएकोले समय निकालेर आफ्नो लागि आरामदायी घर बनाउन वा दामी-दामी फर्निचर बनाएर पैसा कमाउन पनि सक्नुहुन्थ्यो। तर उहाँले आफ्नो सीप भौतिक धनसम्पत्ति थुपार्न प्रयोग गर्नुभएन।

येसुको आत्मत्यागी प्रेमको एउटा मन छुने उदाहरण युहन्‍ना १९:२५-२७ मा पाइन्छ। येसुलाई मृत्युदण्ड दिइएको त्यस साँझ उहाँको मन र दिमागमा कत्ति धेरै कुरा खेलिरहेको थियो होला, कल्पना गर्नुहोस्‌ त! यातनाको खम्बामा तड्‌पिरहनुभएको बेला पनि उहाँ आफ्ना चेलाहरू र साक्षीकार्यबारे सोचिरहनुभएको थियो। उहाँले अझ विशेषगरि आफ्नो सत्यनिष्ठा कायम राख्नेबारे अनि सत्यनिष्ठ रहन सकिनँ भने आफ्नो बुबाको नाममा कलङ्‌क लाग्ला भन्‍नेबारे सोचिरहनुभएको थियो। हो, सारा मानिसजातिको उज्ज्वल भविष्य उहाँमै निर्भर थियो। साथै उहाँले आफ्नो मृत्युको केही बेरअघि आफ्नी आमा मरियमबारे पनि चिन्ता व्यक्‍त गर्नुभयो, जो सायद विधवा भइसकेकी थिइन्‌। उहाँले प्रेषित युहन्‍नालाई आफ्नै आमालाई जस्तै मरियमको हेरविचार गर्नू भन्‍नुभयो अनि तिनले मरियमलाई आफ्नो घरमा लगे। यसरी उहाँले आफ्नी आमाको भौतिक र आध्यात्मिक आवश्‍यकता पूरा गर्ने प्रबन्ध मिलाइदिनुभयो। निःस्वार्थ प्रेमको कत्ति हृदयस्पर्शी अभिव्यक्‍ति!

“तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो”

८. येसुको करुणालाई बुझाउन बाइबलमा प्रयोग गरिएको ग्रीक शब्दको अर्थ के हो?

येसु आफ्नो बुबाजस्तै करुणामय हुनुहुन्थ्यो। बाइबलमा येसुलाई सङ्‌कष्टमा परेकाहरूलाई तुरुन्तै मदत गर्ने व्यक्‍तिको रूपमा वर्णन गरिएको छ किनभने उहाँलाई तिनीहरूको अवस्था देखेर धेरै दुःख लाग्थ्यो। उहाँको करुणालाई बुझाउन बाइबलमा प्रयोग गरिएको ग्रीक शब्दलाई “टिठाउनु” भनेर अनुवाद गरिएको छ। एक बाइबलविद्‌ले यसो भने: “यस शब्दले कुनै व्यक्‍तिलाई कदम चाल्न भित्रैदेखि उत्प्रेरित गर्ने भावनालाई बुझाउँछ। यो नै करुणाको भावलाई बुझाउने सबैभन्दा सशक्‍त ग्रीक शब्द हो।” येसुको करुणाले उहाँलाई कदम चाल्न उत्प्रेरित गरेको केही अवस्था विचार गरौँ।

९, १०. (क) येसु र उहाँका प्रेषितहरू किन एकान्त ठाउँमा जान खोज्नुभएको थियो? (ख) भीडको कारण आराम गर्न नपाउँदा येसुले कस्तो प्रतिक्रिया देखाउनुभयो र किन?

अरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्न उत्प्रेरित। मर्कुस ६:३०-३४ को विवरणले येसु अरूप्रति टिठाउनुको खास कारण के हो भनेर देखाउँछ। यो दृश्‍य कल्पना गर्नुहोस्‌। येसुका प्रेषितहरू भर्खरै एउटा व्यापक साक्षीकार्यमा भाग लिएर फर्केका छन्‌ र असाध्यै खुसी छन्‌। उनीहरू येसुलाई आफूले देखेका र सुनेका सबै कुराबारे उत्सुक भएर बताउँदै छन्‌। तर त्यहाँ मानिसहरूको एउटा ठूलो जमात भेला हुन्छ, जसले गर्दा उहाँहरूले खाने फुर्सतसमेत पाउनुहुन्‍न। येसु अवलोकी हुनुभएकोले आफ्ना प्रेषितहरू थाकेको याद गर्नुहुन्छ। त्यसैले उहाँ उनीहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र केहीबेर आराम गर।” उहाँहरू डुङ्‌गा चढेर गालिल समुद्रको उत्तरी तटमा शान्त ठाउँतर्फ लाग्नुहुन्छ। तर भीडले उहाँहरू जाँदै गरेको देख्छ र त्यो कुरा ‘एक कान दुई कान मैदान’ हुन्छ। त्यसैले तिनीहरू सबै दौडेर उहाँहरूभन्दा अगाडि नै उत्तरी तटमा पुग्छन्‌।

१० के येसु एकछिन पनि आराम गर्न नपाएकोले चिढिनुभयो? अहँ बरु हजारौँ मानिस उहाँको कुरा सुन्‍न पर्खिरहेको देखेर उहाँको मन छोयो। मर्कुसले लेखे: “उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए।” उहाँले प्रत्येक व्यक्‍तिको आध्यात्मिक आवश्‍यकता बुझ्नुभयो। तिनीहरू निस्सहाय भेडाजस्तै थिए; तिनीहरूलाई डोऱ्‍याउने र सुरक्षा दिने कोही थिएन। तिनीहरूको ख्याल राख्नुपर्ने जिम्मेवारी पाएका धर्मगुरुहरूले नै तिनीहरूलाई बेवास्ता गरिरहेका छन्‌ भनेर येसुलाई राम्ररी थाह थियो। (युहन्‍ना ७:४७-४९) त्यसैले तिनीहरूको अवस्था देखेर उहाँको मनमा दया जाग्यो र तिनीहरूलाई “परमेश्‍वरको राज्यबारे सिकाउन थाल्नुभयो।” (लुका ९:११) याद गर्नुहोस्‌, त्यस भीडलाई देख्नेबित्तिकै उहाँ टिठाउनुभयो, जबकि तिनीहरूले उहाँको कुरा सुनेर कस्तो प्रतिक्रिया देखाउलान्‌ भनेर उहाँलाई थाहै थिएन। भन्‍नुको मतलब, भीडलाई सिकाएपछि उहाँको मनमा कोमल करुणा जागेको त होइन बरु तिनीहरूप्रति करुणाले भरिएको कारण तिनीहरूलाई सिकाउन उत्प्रेरित हुनुभयो।

उहाँले “आफ्नो हात पसारेर उसलाई छुनुभयो”

११, १२. (क) बाइबलकालीन समयमा कुष्ठरोगीहरूलाई कस्तो दृष्टिकोणले हेरिन्थ्यो तर “पूरै शरीरभरि कुष्ठरोग लागेको” एक मानिस येसुकहाँ आउँदा उहाँले के गर्नुभयो? (ख) येसुले छुनुहुँदा कुष्ठरोगीले कस्तो महसुस गरे र यो कुरा एक जना डाक्टरको अनुभवले कसरी प्रस्ट पार्छ?

११ अरूको दुःख हटाउन उत्प्रेरित। येसु करुणामय हुनुहुन्छ भनेर थाह भएकोले विभिन्‍न किसिमको रोग लागेका मानिसहरू पनि उहाँको नजिक आउन अप्ठ्यारो मान्दैनथे। यो कुरा एउटा भीड उहाँको पछि लागिरहेको बेला “पूरै शरीरभरि कुष्ठरोग लागेको एक जना मानिस” उहाँको नजिक आउँदा प्रस्ट भयो। (लुका ५:१२) बाइबलकालीन समयमा अरूलाई कुष्ठरोग नसरोस्‌ भनेर कुष्ठरोगीहरूलाई छाउनीबाहिर राखिन्थ्यो। (गन्ती ५:१-४) तर पछि धर्मगुरुहरूले कुष्ठरोगीहरूसित कठोर व्यवहार गर्नुपर्छ भन्‍ने शिक्षा फैलाए र त्यस्ता रोगीहरूको सन्दर्भमा कडा नियमहरू बनाए। a तर येसुले कुष्ठरोगीहरूसित कस्तो व्यवहार गर्नुभयो, याद गर्नुहोस्‌: “त्यहाँ एक जना कुष्ठरोगी पनि आयो र उसले घुँडा टेकेर बिन्ती गर्दै यसो भन्यो: ‘तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।’ यो सुनेर उहाँ टिठाउनुभयो अनि आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्‍नुभयो: ‘म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।’ अनि तुरुन्तै उसको कुष्ठरोग हरायो।” (मर्कुस १:४०-४२) ऊ त्यहाँ मानिसहरूमाझ आउनु व्यवस्थाविपरीत छ भनेर येसुलाई थाह थियो। तर उहाँले उसलाई त्यहाँबाट लघार्नुभएन बरु ऊप्रति टिठाउनुभयो र कसैले सोच्नै नसक्ने एउटा काम गर्नुभयो। हो, उहाँले त्यस कुष्ठरोगीलाई छुनुभयो!

१२ येसुले त्यस कुष्ठरोगीलाई छुनुहुँदा उसले कस्तो महसुस गऱ्‍यो होला भनेर के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? यो कुरा बुझ्न एउटा अनुभव विचार गरौँ। कुष्ठरोग विशेषज्ञ डाक्टर पल ब्रान्डले भारतका एक कुष्ठरोगीबारे बताए। ती कुष्ठरोगीको जाँच गर्ने बेला डाक्टरले तिनको काँधमा हात राखे अनि उपचार कसरी गरिनेछ भनेर दोभासेमार्फत बताए। अचानक ती कुष्ठरोगी रुन थाले। डाक्टरले सोधे: “मैले भनेको कुनै कुराले तपाईँको चित्त दुखेको हो?” दोभासेले त्यस युवकलाई त्यो प्रश्‍न सोधे अनि डाक्टरलाई यस्तो जवाफ दिए: “होइन रहेछ डाक्टरसाब। तपाईँले उसको काँधमा हात राख्नुभएकोले रोएको रहेछ। उसलाई कसैले नछोएको वर्षौँ भइसकेको थियो रे।” तर येसुकहाँ आएको कुष्ठरोगीको लागि भने उहाँको स्पर्श अझ विशेष थियो। किनभने जुन रोगले गर्दा समाजले उसलाई घृणा गर्थ्यो, त्यो रोग येसुले उसलाई छुनेबित्तिकै निको भयो।

१३, १४. (क) नाइन सहरनजिकै पुग्नुहुँदा येसुले के देख्नुभयो र यो किन दुःखदायी घटना थियो? (ख) येसुको करुणाले उहाँलाई नाइनकी विधवाको लागि के गरिदिन उत्प्रेरित गऱ्‍यो?

१३ अरूको शोक हटाउन उत्प्रेरित। अरू शोकमा परेको देख्दा येसुलाई पनि पीडा हुन्थ्यो। लुका ७:११-१५ को विवरण विचार गरौँ। यो घटना पृथ्वीमा येसुले गर्नुभएको सेवाको बीचतिर घटेको थियो। उहाँ गालिलको नाइन सहरमा पुग्नै लाग्नुभएको थियो। सहरको मूलढोकानजिक पुग्नुहुँदा उहाँले मानिसहरू मलामी गइरहेको देख्नुभयो। त्यो निकै दुःखदायी घटना थियो। एउटी विधवाको एक मात्र जवान छोराको मृत्यु भएको थियो। उनी पहिला पनि आफ्नो पतिको मलामी गएकी हुनुपर्छ। तर यतिबेला भने उनी आफ्नो छोराको मलामी जाँदै थिइन्‌, जो सायद उनको एक मात्र सहारा थियो। त्यहाँ विलाप गर्नेहरू र शोकधुन बजाउनेहरू पनि थिए होलान्‌। (यर्मिया ९:१७, १८; मत्ति ९:२३) तर येसुले भने ती शोकाकुल आमालाई हेरिरहनुभएको थियो, जो सायद आफ्नो छोराको अरथीसँगै हिँडिरहेकी थिइन्‌।

१४ येसु उनलाई देखेर “टिठाउनुभयो।” उहाँले उनलाई सान्त्वना दिँदै यसो भन्‍नुभयो: “नरोऊ।” त्यसपछि उहाँ आफै अग्रसर भएर अरथीनजिक जानुभयो र त्यसलाई छुनुभयो। अरथी बोक्नेहरू र सायद त्यस भीडमा भएका सबै मानिस टक्क अडिए। अनि येसुले यसो भन्‍नुभयो: “ए युवक, म तिमीलाई भन्छु, उठ!” त्यसपछि के भयो? गहिरो निद्राबाट ब्युँझिएझैँ त्यो युवक “उठेर बस्यो र बोल्न थाल्यो।” त्यसपछि येसुले जे गर्नुभयो, त्यसले हाम्रो मन छुन्छ: “येसुले उसलाई उसकी आमाको जिम्मा लगाउनुभयो।”

१५. (क) येसु टिठाउनुभएको बाइबल विवरणहरूले करुणा देखाउनु र कदम चाल्नुबीच सम्बन्ध छ भनेर कसरी देखाउँछ? (ख) हामी यस सन्दर्भमा कसरी येसुको अनुकरण गर्न सक्छौँ?

१५ हामी यी विवरणहरूबाट के सिक्न सक्छौँ? प्रत्येक विवरणमा करुणा देखाउनु र कदम चाल्नुबीचको सम्बन्ध याद गर्नुहोस्‌। येसु अरूको दुःख देखेर टिठाउनुहुन्थ्यो र करुणाले उहाँलाई कदम चाल्न उत्प्रेरित गर्थ्यो। हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ? सुसमाचार सुनाउनु र चेला बनाउनु हामी ख्रिष्टियनहरूको दायित्व हो। मुख्यतया हामीलाई यो काम गर्न परमेश्‍वरप्रतिको प्रेमले उत्प्रेरित गर्छ। तर हामीले यो काम करुणाले भरिएर गर्नुपर्छ भन्‍ने कुरा पनि मनमा राख्नुहोस्‌। हामीमा येसुको जस्तै समानुभूति छ भने मानिसहरूलाई सुसमाचार सुनाउन सधैँ तयार हुन्छौँ। (मत्ति २२:३७-३९) हामी समस्यामा परेका वा शोकाकुल भाइबहिनीलाई कसरी करुणा देखाउन सक्छौँ? हामी चमत्कार गरेर रोग निको पार्न वा मरेकाहरूलाई जीवित बनाउन त सक्दैनौँ। तर करुणाले हामीलाई आफै अग्रसर भएर भाइबहिनीप्रति चासो देखाउन र तिनीहरूलाई व्यावहारिक मदत दिन उत्प्रेरित गर्छ।—एफिसी ४:३२.

“हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्‌”

१६. येसु यातनाको खम्बामा टाँगिनुभएको बेला समेत क्षमा दिन तयार भएको कसरी देखाउनुभयो?

१६ येसुले यहोवाको प्रेम अर्को तरिकामा पनि दुरुस्त झल्काउनुभयो। उहाँ “क्षमा गर्न सधैँ तयार” हुनुहुन्थ्यो। (भजन ८६:५) यो कुरा उहाँ यातनाको खम्बामा टाँगिनुभएको बेला स्पष्टै देखियो। उहाँलाई हातखुट्टामा किला ठोकेर अपमानजनक तरिकामा मृत्युदण्ड दिइएको थियो। के त्यतिबेला उहाँले आफूलाई मृत्युदण्ड दिनेहरूलाई सजाय दिनुहोस्‌ भनेर यहोवालाई बिन्ती गर्नुभयो? त्यस्तो त पटक्कै गर्नुभएन बरु उहाँले यसो भन्‍नुभयो: “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्‌। किनकि तिनीहरू जे गर्दै छन्‌, त्यो तिनीहरू जान्दैनन्‌।”—लुका २३:३४. b

१७-१९. येसुले प्रेषित पत्रुसलाई क्षमा गर्नुभएको कसरी देखाउनुभयो?

१७ येसुको क्षमाबारे अर्को मन छुने उदाहरण विचार गरौँ। यो घटना येसुको जीवनको अन्तिम रात अर्थात्‌ नीसान १४ को हो। पत्रुस येसुलाई धेरै माया गर्थे र उहाँलाई यसो पनि भनेका थिए: “प्रभु, म तपाईँसँगै झ्यालखानामा जान अनि मर्नसमेत तयार छु।” तर त्यसको केही घण्टा नबित्दै तिनले येसुलाई तीन पटक तिरस्कार गरे। तिनले तेस्रो पटक तिरस्कार गर्दा “प्रभुले फर्केर सीधै पत्रुसलाई हेर्नुभयो” भनी बाइबल बताउँछ। आफूले गम्भीर पाप गरेको महसुस गरेपछि “तिनी बाहिर निस्केर धुरुधुरु रोए।” त्यही दिन येसुको मृत्यु भएपछि तिनको मनमा यस्तो कुरा खेलेको हुन सक्छ, ‘के मेरो प्रभुले मलाई क्षमा गर्नुभयो होला?’—लुका २२:३३, ६१, ६२.

१८ पत्रुसले त्यस प्रश्‍नको जवाफ पाउन धेरै समय कुर्नु परेन। नीसान १६ को बिहान येसु ब्युँताइनुभयो अनि सायद त्यही दिन उहाँ पत्रुसकहाँ देखा पर्नुभयो। (लुका २४:३४; १ कोरिन्थी १५:४-८) येसुले आफूलाई तीन-तीन पटक तिरस्कार गरेका यी प्रेषितलाई किन विशेष चासो देखाउनुभयो? उहाँ पश्‍चात्ताप गरेका पत्रुसलाई अझै पनि माया गर्छु र अनमोल ठान्छु भनेर विश्‍वस्त पार्न चाहनुहुन्थ्यो होला। त्यसको लागि उहाँले तिनलाई विशेष जिम्मेवारी पनि दिनुभयो।

१९ त्यसको केही समयपछि येसु गालिल समुद्रनेर चेलाहरूकहाँ देखा पर्नुभयो। त्यतिबेला उहाँले पत्रुसलाई (जसले तीन पटक आफ्ना प्रभुलाई तिरस्कार गरेका थिए) “के तिमी मलाई माया गर्छौ?” भनेर तीन पटक नै सोध्नुभयो। उहाँले तेस्रो पटक तिनलाई प्रश्‍न सोध्नुभएपछि तिनले यस्तो जवाफ दिए: “प्रभु, तपाईँलाई सबै कुरा थाह छ; म तपाईँलाई माया गर्छु भनेर पनि तपाईँलाई थाह छँदै छ नि।” हो, मानिसको हृदय पढ्‌न सक्नुहुने येसुलाई पत्रुस उहाँलाई माया गर्छन्‌ भनेर राम्ररी थाह थियो। तैपनि उहाँले तिनलाई आफ्नो प्रेम व्यक्‍त गर्ने मौका दिनुभयो। त्यसबाहेक उहाँले पत्रुसलाई “मेरा पाठाहरूलाई खुवाऊ” अनि “गोठालोले झैँ मेरा साना भेडाहरूको हेरचाह गर” भनेर आज्ञा दिनुभयो। (युहन्‍ना २१:१५-१७) केही समयअघि तिनले साक्षी दिने जिम्मेवारी पाएका थिए। (लुका ५:१०) तर यतिबेला भने उहाँले तिनलाई भविष्यमा आफ्नो अनुयायी बन्‍न सक्ने मानिसहरूको ख्याल राख्ने गहन जिम्मेवारी दिँदै हुनुहुन्थ्यो। यसरी उहाँले तिनीमाथि पूर्णतया भरोसा गरेको देखाउनुभयो। केही समयपछि येसुले पत्रुसलाई चेला बनाउने काममा महत्त्वपूर्ण भूमिका दिनुभयो। (प्रेषित २:१-४१) येसुले तिनलाई क्षमा गर्नुभयो र अझै पनि भरोसा गर्नुहुन्छ भनेर थाह पाउँदा पत्रुसले कत्ति ढुक्क महसुस गरे होलान्‌!

“ख्रिष्टको प्रेम” जान्‍नुहोस्‌

२०, २१. हामी कसरी “ख्रिष्टको प्रेम” पूर्णतया जान्‍न सक्छौँ?

२० परमेश्‍वरको वचनले ख्रिष्टको प्रेमबारे सुन्दर तरिकामा व्याख्या गरेको छ। त्यसोभए हामीले के गर्नुपर्छ? बाइबल यस्तो आग्रह गर्छ: “ख्रिष्टको प्रेम जान, जुन प्रेम ज्ञानभन्दा पनि श्रेष्ठ छ।” (एफिसी ३:१९) हामीले सिकेझैँ येसुको जीवन र सेवाबारे लेखिएका सुसमाचारका विवरणहरूबाट ख्रिष्टको प्रेमबारे थाह पाउन सक्छौँ। तर “ख्रिष्टको प्रेम” पूर्णतया जान्‍नुमा बाइबलले उहाँबारे बताएका कुराहरू सिक्नु मात्र समावेश छैन।

२१ “जान्‍नु” भनी अनुवाद गरिएको ग्रीक शब्दको अर्थ कुनै कुरा “व्यावहारिक तरिकामा आफ्नै अनुभवद्वारा” बुझ्नु हो। अरूलाई निःस्वार्थ भई मदत गर्दा, करुणाले भरिएर अरूको आवश्‍यकता पूरा गरिदिँदा अनि मनैदेखि क्षमा दिँदा हामीले येसुको जस्तै प्रेम देखाइरहेका हुन्छौँ र सही अर्थमा उहाँको भावना महसुस गर्न सक्छौँ। यसरी हामीले आफ्नै अनुभवद्वारा “ख्रिष्टको प्रेम” जान्‍न सक्नेछौँ, “जुन प्रेम ज्ञानभन्दा पनि श्रेष्ठ छ।” त्यसैले यो कुरा कहिल्यै नबिर्सौँ: हामी ख्रिष्टजस्तै हुन जति प्रयास गर्छौँ, मायालु परमेश्‍वर यहोवासित त्यति नै नजिक हुन सक्नेछौँ किनकि येसुले हुबहु उहाँको अनुकरण गर्नुभयो।

a धर्मगुरुहरूको नियमअनुसार कुष्ठरोगीहरू मानिसहरूबाट ६ फिट टाढा बस्नुपर्थ्यो अनि हावा चलिरहेको बेलाचाहिँ १५० फिट टाढा बस्नुपर्थ्यो। मिद्रास रब्बाह भन्‍ने किताबमा एक जना रब्बीबारे बताइएको छ, जो कुष्ठरोगीहरू देखेर लुकेका थिए अनि अर्को एक जनाले चाहिँ कुष्ठरोगीहरूलाई आफ्नो नजिक आउन नदिन ढुङ्‌गाले हानेका थिए। त्यसैले अरूले छिः छिः दुरदुर गर्दा र कामै नलाग्ने ठान्दा कत्ति पीडा हुन्छ, कुष्ठरोगीहरू आफैले महसुस गरेका हुन्थे।

b केही पुराना पाण्डुलिपिहरूबाट लुका २३:३४ को पहिलो भाग हटाइएको छ। तर त्यो भाग अरू थुप्रै आधिकारिक पाण्डुलिपिहरूमा भने पाइन्छ, जुन नयाँ संसार अनुवाद र अन्य थुप्रै बाइबल अनुवादमा समावेश गरिएको छ। यस पदमा येसुले उहाँलाई खम्बामा टाँग्ने रोमी सिपाहीहरूलाई सङ्‌केत गरिरहनुभएको हुन सक्छ। तिनीहरूलाई आफूले के गर्दै छु भनेर थाह थिएन; वास्तवमा तिनीहरूलाई येसु को हुनुहुन्छ भन्‍ने कुराको हेक्कै थिएन। साथै त्यतिबेला उहाँले आफूलाई मृत्युदण्ड दिन माग गरेका यहुदीहरूबारे पनि सोच्नुभएको हुनुपर्छ, जसले पछि गएर उहाँमा विश्‍वास गर्ने थिए। (प्रेषित २:३६-३८) उहाँलाई मृत्युदण्डको सजाय सुनाउन भीडलाई उक्साउने धर्मगुरुहरू भने पक्कै क्षमा पाउन लायकका थिएनन्‌। किनभने तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन षड्यन्त्र रचेका थिए।—युहन्‍ना ११:४५-५३.