सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ३१

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ”

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ”

१-३. (क) आमाबुबा र बच्चाबीचको सम्बन्धबाट मानव स्वभावबारे के सिक्न सक्छौँ? (ख) अरूले हामीलाई प्रेम देखाउँदा हामी स्वतः के गर्छौँ र हामीले आफैलाई कुन महत्त्वपूर्ण प्रश्‍न सोध्नुपर्छ?

 आमाबुबालाई आफ्नो नवजात शिशुको मुस्कान देख्न पाउँदा असाध्यै खुसी लाग्छ। तिनीहरू उसको नजिकै जान्छन्‌ अनि आवाज र अनुहारको हाउभाउले उसलाई हँसाउन खोज्छन्‌। तिनीहरू ऊ मुस्कुराएको हेर्न चाहन्छन्‌। यसको लागि तिनीहरूले धेरै बेर कुर्नै पर्दैन। बच्चाको गालामा डिम्पल पर्छ, उसले ओठ खुम्च्याउँछ र मुसुक्क हाँस्छ। आमाबुबाको माया पाएको महसुस गरेपछि यसरी मीठो मुस्कान दिएर उसले पनि आमाबुबाप्रति माया व्यक्‍त गर्न सुरु गर्छ।

बच्चाको मुस्कानले हामीलाई मानव स्वभावबारे एउटा महत्त्वपूर्ण कुरा सम्झाउँछ। कसैले हामीलाई प्रेम देखाउँदा हामी पनि स्वतः तिनलाई प्रेम देखाउँछौँ किनकि हामी यसरी नै बनिएका हौँ। (भजन २२:९) उमेरसँगै अरूलाई प्रेम देखाउने हाम्रो क्षमता पनि बढ्‌दै जान्छ। सायद तपाईँ सानो छँदा आमाबुबा, आफन्त वा साथीभाइले माया व्यक्‍त गरेको सम्झनुहुन्छ होला। तपाईँको मनमा पनि तिनीहरूप्रति न्यानो माया पलायो, त्यो बढ्‌दै गयो र त्यसलाई तपाईँले विभिन्‍न तरिकामा व्यक्‍त गर्नुभयो। के यहोवा परमेश्‍वरसितको तपाईँको सम्बन्ध पनि यस्तै छ?

बाइबल भन्छ: “हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।” (१ युहन्‍ना ४:१९) यस किताबको भाग १ देखि ३ मा यहोवा परमेश्‍वरले आफ्नो शक्‍ति, न्याय र बुद्धि हाम्रै फाइदाको लागि मायालु तरिकामा चलाउनुहुन्छ भनेर बुझ्यौँ। अनि भाग ४ मा यहोवाले सबै मानिसजातिलाई अनि व्यक्‍तिविशेषलाई उल्लेखनीय तरिकाहरूमा प्रेम देखाउनुहुन्छ भनेर बुझ्यौँ। त्यसोभए एउटा प्रश्‍न खडा हुन्छ। वास्तवमा यो तपाईँले आफैलाई सोध्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न हो: ‘यहोवाको प्रेमप्रति कृतज्ञता देखाउन म के गर्न सक्छु?’

परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ के हो?

४. परमेश्‍वरलाई प्रेम गर्नुको अर्थबारे मानिसहरू किन अलमलमा परेका छन्‌?

प्रेमको मूल यहोवा हुनुहुन्छ र उहाँलाई प्रेममा अरूको उन्‍नति गराउने शक्‍ति हुन्छ भनेर राम्ररी थाह छ। त्यसैले विश्‍वासघाती मानिसजातिले पटक-पटक विद्रोह गरे तापनि केही मानिसले भने उहाँको प्रेमको साटो उहाँलाई पनि प्रेम गर्नेछन्‌ भन्‍ने कुरामा उहाँ ढुक्क हुनुहुन्थ्यो। लाखौँले त्यसै गरेका छन्‌। तर दुःखको कुरा, यस भ्रष्ट संसारका धर्महरूले परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ नै ओझेलमा पारिदिएका छन्‌। अनगिन्ती मानिसले परमेश्‍वरलाई प्रेम गरेको दाबी त गर्छन्‌ तर तिनीहरूले यस्तो प्रेम शब्दमा मात्र व्यक्‍त गरे पुग्छ भन्‍ने सोचाइ राखेको देखिन्छ। हुन पनि सानो बच्चाले आमाबुबाप्रतिको प्रेम सुरुमा मीठो मुस्कानबाट व्यक्‍त गरेझैँ परमेश्‍वरप्रतिको प्रेम पनि सुरुमा शब्दबाटै व्यक्‍त गरिन्छ। तर प्रेम देखाउनुमा अरू थुप्रै कुरा समावेश हुन्छ।

५. परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ के हो? यसले किन हाम्रो मन छुन्छ?

यहोवाले उहाँलाई प्रेम गर्नुको अर्थ बताउनुभएको छ। उहाँको वचन यसो भन्छ: “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो।” त्यसैले उहाँप्रतिको प्रेम कामद्वारा व्यक्‍त गर्नुपर्छ। हुनत धेरै मानिसलाई आज्ञा पालन गर्ने कुरा मन पर्दैन तर सोही पदमा यसो पनि भनिएको छ: “[परमेश्‍वरका] आज्ञाहरू बोझिला छैनन्‌।” (१ युहन्‍ना ५:३) यहोवाले हामीलाई दबाउन नभई हाम्रै फाइदाको लागि नियमहरू र सिद्धान्तहरू दिनुभएको छ। (यसैया ४८:१७, १८) बाइबलमा पाइने सिद्धान्तहरूले हामीलाई उहाँसित नजिक हुन मदत गर्छ। तर कसरी? यहोवासितको हाम्रो सम्बन्धको तीन वटा पक्ष विचार गरौँ। ती हुन्‌: कुराकानी, उपासना र अनुकरण।

यहोवासित कुराकानी गर्नुहोस्‌

६-८. (क) हामी कसरी परमेश्‍वरको कुरा सुन्‍न सक्छौँ? (ख) परमेश्‍वरको वचन पढ्‌दा त्यसलाई कसरी जीवन्त बनाउन सक्छौँ?

यस किताबको अध्याय १ को सुरुमै यस्तो प्रश्‍न सोधिएको थियो: “के तपाईँ परमेश्‍वरसित कुरा गरेको कल्पना गर्न सक्नुहुन्छ?” यो कल्पना गर्नै नसकिने कुरा होइन भनेर हामीले बुझेका थियौँ किनभने मोसाले पनि परमेश्‍वरसित कुराकानी गरेका थिए। हामी नि? आज यहोवा मानिसहरूसित कुरा गर्न स्वर्गदूत पठाउनुहुन्‍न। तर उहाँले हामीसित कुरा गर्ने एउटा राम्रो तरिका अपनाउनुभएको छ। हामी कसरी उहाँको कुरा सुन्‍न सक्छौँ?

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको” हुनाले बाइबल पढ्‌दा हामी उहाँको कुरा सुनिरहेका हुन्छौँ। (२ तिमोथि ३:१६) त्यसैले भजनरचयिताले उहाँका सेवकहरूलाई “दिनरात” बाइबल पढ्‌न आग्रह गरे। (भजन १:१, २) त्यसो गर्न अथक प्रयास चाहिन्छ तर हाम्रो प्रयास खेर जाँदैन। हामीले अध्याय १८ मा सिकेझैँ बाइबल स्वर्गमा बस्नुहुने हाम्रो बुबाले पठाउनुभएको अनमोल चिठी हो। त्यसैले हाम्रो बाइबल पढाइलाई दैनिकी मात्र बनाउनु हुँदैन। बरु यसको कुनै विवरण पढ्‌दा त्यसलाई जीवन्त बनाउनुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ?

बाइबलको कुनै विवरण पढ्‌दा त्यसलाई दृश्‍यमा उतार्नुहोस्‌। बाइबल पात्रहरूलाई वास्तविक मानिसहरूको रूपमा हेर्नुहोस्‌। तिनीहरूको पृष्ठभूमि, परिस्थिति र मनसाय बुझ्ने कोसिस गर्नुहोस्‌। त्यसपछि आफूले पढेका कुराहरू गहिरिएर विचार गर्न आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु? यसमा उहाँको कुन गुण देखिन्छ? उहाँ मैले कुन सिद्धान्त बुझेको चाहनुहुन्छ र त्यो म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु?’ यसरी परमेश्‍वरको वचन पढ्‌दा, मनन गर्दा र लागू गर्दा त्यो जीवित छ भनेर तपाईँ आफैले अनुभव गर्नुहुनेछ।—भजन ७७:१२; याकुब १:२३-२५.

९. “विश्‍वासी र बुद्धिमान्‌ दास” को हो अनि हामीले किन यस “दास”-को कुरा ध्यान दिएर सुन्‍नुपर्छ?

यहोवा हामीसित “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत पनि कुरा गर्नुहुन्छ। येसुले भविष्यवाणी गर्नुभएझैँ यस अन्तको दिनमा हामीलाई “ठीक समयमा” आध्यात्मिक भोजनको प्रबन्ध मिलाउन अभिषिक्‍त ख्रिष्टियन पुरुषहरूको एउटा सानो समूह नियुक्‍त गरिएको छ। (मत्ति २४:४५-४७) बाइबलको सही ज्ञान दिने साहित्यहरू पढ्‌दा अनि सभाहरू र अधिवेशनहरूमा उपस्थित हुँदा हामी यस दासले प्रबन्ध गरेको आध्यात्मिक भोजन खाइरहेका हुन्छौँ। यस दासलाई येसुले नियुक्‍त गर्नुभएकोले हामी उहाँले भन्‍नुभएको यो कुरा पालन गर्छौँ: “तिमीहरू कसरी सुन्छौ, ध्यान देओ।” (लुका ८:१८) यस विश्‍वासी दासको कुरा ध्यान दिएर सुन्दा वास्तवमा हामी यहोवाकै कुरा सुनिरहेका हुन्छौँ।

१०-१२. (क) प्रार्थना किन यहोवाले दिनुभएको विशेष उपहार हो? (ख) हामी कसरी यहोवालाई खुसी बनाउने तरिकामा प्रार्थना गर्न सक्छौँ र उहाँले हाम्रो प्रार्थनालाई अनमोल ठान्‍नुहुन्छ भनेर किन विश्‍वस्त हुन सक्छौँ?

१० के हामी यहोवासित सीधै कुरा गर्न सक्छौँ? यसबारे सोच्दा मात्र पनि हामीमा श्रद्धाभाव जाग्छ। मानौँ, तपाईँ आफ्नो समस्याबारे सबैभन्दा शक्‍तिशाली शासकलाई बताउन चाहनुहुन्छ। के तपाईँ सजिलै तिनलाई भेट्‌न सक्नुहुन्छ? कुनै-कुनै अवस्थामा यसरी भेट्‌न जाँदा ज्यानकै खतरा मोल्नुपर्ने हुन सक्छ। एस्तर र मोर्दकैको समयमा अनुमतिविना फारसी सम्राट्‌लाई भेट्‌न जाने मानिसलाई मृत्युदण्ड दिइन्थ्यो। (एस्तर ४:१०, ११) अब कल्पना गर्नुहोस्‌, तपाईँ ब्रह्‍माण्डका मालिकसामु खडा हुनुहुन्छ, जसको अगाडि संसारको सबैभन्दा शक्‍तिशाली शासक नै “फट्‌याङ्‌ग्राजस्तै” छन्‌। (यसैया ४०:२२) त्यसोभए के हामी उहाँसामु आफ्नो कुरा राख्न डराउनुपर्छ? पटक्कै पर्दैन।

११ यहोवासित कुरा गर्ने सबैभन्दा सजिलो तरिका प्रार्थना हो र यस प्रबन्धबाट सबैले लाभ उठाउन सक्छन्‌। सानो बालकले समेत यहोवाले प्रार्थना सुन्‍नुहुनेछ भनेर ढुक्क हुँदै येसुको नाममा प्रार्थना गर्न सक्छ। (युहन्‍ना १४:६; हिब्रू ११:६) साथै हामी प्रार्थनामा परमेश्‍वरलाई आफ्नो मनमा दबिएका र शब्दमा बयानै गर्न नसकिने पीडादायी भावना र विचार समेत पोख्न सक्छौँ। (रोमी ८:२६) तर हामीले यहोवालाई खुसी बनाउन प्रार्थनामा मीठा-मीठा र भारी-भारी शब्दहरू चलाउनुपर्छ वा लम्बेतान प्रार्थना गर्नुपर्छ भन्‍ने छैन। (मत्ति ६:७, ८) अर्कोतर्फ यहोवाले प्रार्थना कति पटक गर्नुपर्छ वा कति लामो हुनुपर्छ भनेर सीमा तोक्नुभएको पनि छैन। बरु उहाँको वचनले हामीलाई “निरन्तर प्रार्थना” गर्न आग्रह गर्छ।—१ थिस्सलोनिकी ५:१७.

१२ यो कुरा याद गर्नुहोस्‌, यहोवालाई मात्र “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” भनिएको छ र हामीले प्रार्थनामा व्यक्‍त गरेको भावना उहाँ महसुस पनि गर्नुहुन्छ। (भजन ६५:२) के उहाँ बाध्यताले मात्र आफ्ना वफादार सेवकहरूको प्रार्थना सुन्‍नुहुन्छ? त्यस्तो त होइन। बरु उहाँलाई हाम्रो प्रार्थना सुन्‍न पाउँदा खुसी लाग्छ। बाइबलमा प्रार्थनालाई सुगन्धित धूपसित तुलना गरिएको छ, जसको मीठो बास्ना उहाँकहाँ पुग्छ। (भजन १४१:२; प्रकाश ५:८; ८:४) हामीले मनैदेखि गरेको प्रार्थना ब्रह्‍माण्डको मालिककहाँ पुग्छ र उहाँलाई खुसी बनाउँछ भन्‍ने कुरा बुझ्दा के हामी सान्त्वना पाउँदैनौँ र? त्यसैले तपाईँ यहोवासित नजिक हुन चाहनुहुन्छ भने नम्र भई उहाँलाई दिनदिनै प्रार्थना गर्नुहोस्‌। केही नलुकाई उहाँलाई आफ्नो मनको बह पोख्नुहोस्‌। (भजन ६२:८) उहाँलाई आफ्नो चिन्ता र खुसी व्यक्‍त गर्नुहोस्‌। साथै उहाँलाई धन्यवाद दिनुहोस्‌ र प्रशंसा गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ र यहोवाको सम्बन्ध झन्‌झनै बलियो हुँदै जानेछ।

यहोवाको उपासना गर्नुहोस्‌

१३, १४. हामीले यहोवाको उपासना गर्दा के गरिरहेका हुन्छौँ र यसो गर्नु किन उपयुक्‍त छ?

१३ हामीले यहोवासित कुराकानी गर्नु भनेको आफ्नो कुनै साथी वा आफन्तसित कुराकानी गर्नुजस्तो मात्र त होइन। उहाँसित कुरा गर्दा हामी उहाँको उपासना गरिरहेका हुन्छौँ अनि उहाँलाई दिनुपर्ने आदर दिइरहेका हुन्छौँ। साँचो उपासना हाम्रो जीवनको अभिन्‍न भाग हो। उहाँको उपासना गरेर हामी मनैदेखि उहाँप्रतिको प्रेम र भक्‍ति प्रकट गर्छौँ अनि यस्तो उपासनाले नै स्वर्ग र पृथ्वीमा भएका वफादार सेवकहरूलाई एकतामा बाँध्छ। प्रेषित युहन्‍नाले दर्शनमा एक स्वर्गदूतले यस्तो घोषणा गरिरहेको सुने: “उहाँको उपासना गर, जसले आकाश, पृथ्वी, समुद्र र पानीका मुहानहरू बनाउनुभयो।”—प्रकाश १४:७.

१४ हामीले किन यहोवाको उपासना गर्नुपर्छ? यस किताबमा चर्चा गरिएका उहाँका यी गुणहरूबारे सोच्नुहोस्‌: पवित्रता, शक्‍ति, आत्मसंयम, न्याय, साहस, कृपा, बुद्धि, नम्रता, प्रेम, करुणा, वफादारी र भलाइ। यस्ता मनमोहक गुणहरू देखाउने सन्दर्भमा यहोवाले सर्वोच्च स्तर कायम गर्नुभएको छ भनेर पनि हामीले सिक्यौँ। हामीले उहाँका सबै गुणलाई एकमुस्ट रूपमा हेर्दा उहाँ एक जना महान्‌ र असल व्यक्‍ति मात्र त हुनुहुन्‍न बरु अत्यन्तै महिमित र सर्वोच्च हुनुहुन्छ भनेर थाह पाउँछौँ। (यसैया ५५:९) यहोवा मात्र शासन गर्न योग्य हुनुभएकोले उहाँ हाम्रो उपासनाको हकदार हुनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। त्यसोभए हामी कसरी उहाँको उपासना गर्न सक्छौँ?

१५. हामी कसरी “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम” यहोवाको उपासना गर्न सक्छौँ र सभाहरूमा के गर्ने सुअवसर पाउँछौँ?

१५ येसुले यसो भन्‍नुभयो: “परमेश्‍वर अदृश्‍य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ। उहाँको उपासना गर्नेहरूले पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ।” (युहन्‍ना ४:२४) हामीले “पवित्र शक्‍तिको निर्देशनमा” परमेश्‍वरको उपासना गर्न उहाँसित पवित्र शक्‍ति माग्नुपर्छ र त्यसको डोऱ्‍याइमा हिँड्‌नुपर्छ। साथै हामीले गर्ने उपासना सत्य अर्थात्‌ परमेश्‍वरको वचनमा पाइने सही ज्ञानअनुरूप हुनुपर्छ। हामीले भाइबहिनीसित एकसाथ भेला भएर “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना” गर्ने अनमोल सुअवसर पाएका छौँ। (हिब्रू १०:२४, २५) हामी सभाहरूमा यहोवाको प्रशंसा गर्न गीत गाउँछौँ, सँगै मिलेर प्रार्थना गर्छौँ, उहाँको वचन सुन्छौँ र छलफलमा भाग लिन्छौँ। यसरी हामीले शुद्ध उपासना चढाइरहेका हुन्छौँ र उहाँप्रतिको प्रेम व्यक्‍त गरिरहेका हुन्छौँ।

हामी सभाहरूमा यहोवाको उपासना गर्ने सुअवसर पाउँछौँ

१६. साँचो ख्रिष्टियनहरूले पाएको सबैभन्दा ठूला आज्ञाहरूमध्ये एउटा कुन हो? हामी त्यो आज्ञा पालन गर्न किन जुरमुरिन्छौँ?

१६ हामीले मानिसहरूलाई यहोवाबारे बताएर पनि उहाँको उपासना गरिरहेका हुन्छौँ। (हिब्रू १३:१५) परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनु साँचो ख्रिष्टियनहरूले पाएको सबैभन्दा ठूला आज्ञाहरूमध्ये एउटा हो। (मत्ति २४:१४) हामी यहोवालाई प्रेम गर्ने भएकोले यो आज्ञा उत्सुक भई पालन गर्छौँ। “यस युगको ईश्‍वर” सैतानले यहोवाबारे अफवाहहरू फैलाएर उहाँमा विश्‍वास नगर्ने मानिसहरूको “दिमागलाई अन्धो तुल्याइदिएको छ।” (२ कोरिन्थी ४:४; यसैया ४३:१०-१२) त्यसोभए के हामी उहाँको साक्षीको हैसियतमा त्यस्ता अफवाहहरूलाई झूटो प्रमाणित गर्न उत्प्रेरित हुँदैनौँ र? यहोवाका मनमोहक गुणहरूबारे मनन गर्दा के हामी उहाँबारे मानिसहरूलाई बताउन जुरमुरिँदैनौँ र? तिनीहरूलाई स्वर्गमा बस्नुहुने हाम्रो बुबालाई चिन्‍न मदत गर्नु र हामीले जस्तै प्रेम गर्न सिकाउनुजत्तिको ठूलो सुअवसर अरू कुनै छैन।

१७. यहोवाको उपासनामा कुन कुरा समावेश छ? हामी किन सत्यनिष्ठ भएर उहाँको उपासना गर्नुपर्छ?

१७ यहोवाको उपासनामा अरू थुप्रै कुरा समावेश छ। यसले हाम्रो जीवनको हरेक पक्षमा प्रभाव पार्छ। (कलस्सी ३:२३) हामी साँच्चै नै यहोवालाई यस ब्रह्‍माण्डको मालिकको रूपमा स्विकार्छौँ भने पारिवारिक जीवन, काम, अरूसितको व्यवहार र मनोरञ्जनजस्ता जीवनको हरेक पक्षमा उहाँको डोऱ्‍याइ खोज्छौँ। हामी “पूर्ण हृदयले” अर्थात्‌ सत्यनिष्ठ भई उहाँको सेवा गर्न भरमग्दुर प्रयास गर्छौँ। (१ इतिहास २८:९) यस्तो उपासनामा विभाजित हृदय वा दोहोरो जीवनशैलीको लागि कुनै ठाउँ छैन। एकातिर यहोवाको सेवा गरेको ढोङ गर्नु र अर्कोतिर लुकीछिपी गम्भीर पाप पनि गर्नु सरासर गलत हो। हामी सत्यनिष्ठ छौँ भने कुनै पनि हालतमा यस्तो कपटपूर्ण व्यवहार गर्दैनौँ। साथै हामी परमेश्‍वरलाई प्रेम गर्छौँ भने यस्तो काम गर्ने कुरा सोच्न समेत सक्दैनौँ। उहाँप्रतिको श्रद्धेय भयले पनि हामीलाई यस्तो कामबाट अलग रहन मदत गर्छ। यही भयले नै यहोवासितको हाम्रो मित्रतालाई बलियो बनाउँदै लैजान्छ भनेर बाइबल बताउँछ।—भजन २५:१४.

यहोवाको अनुकरण गर्नुहोस्‌

१८, १९. त्रुटिपूर्ण मानिसहरूले यहोवाको देखासिकी गर्न सक्छन्‌ भनेर किन भन्‍न सक्छौँ?

१८ यस किताबको प्रत्येक भागको अन्तिम अध्यायमा हामी कसरी “परमेश्‍वरका प्यारा छोराछोरीझैँ उहाँको देखासिकी” गर्न सक्छौँ भन्‍नेबारे चर्चा गरिएको छ। (एफिसी ५:१) यहोवाले शक्‍ति, न्याय, बुद्धि र प्रेम सर्वोत्कृष्ट तरिकामा प्रकट गर्नुभएको छ भनेर हामीले थाह पायौँ। तर हामी त्रुटिपूर्ण भए तापनि उहाँको देखासिकी गर्न सक्छौँ। सर्वोच्च परमेश्‍वरको देखासिकी गर्न सम्भव छ भनेर हामी किन भन्‍न सक्छौँ? यहोवाको नामको अर्थ नै उहाँ आफ्नो उद्देश्‍य पूरा गर्नको लागि जे पनि बन्‍न सक्नुहुन्छ भन्‍ने हो। उहाँको यस्तो क्षमताबारे सोच्दा हाम्रो हृदय पक्कै पनि उहाँप्रतिको श्रद्धाले भरिन्छ। तर के यसको अर्थ यहोवाको देखासिकी गर्न असम्भव छ भन्‍ने हो? त्यस्तो त पटक्कै होइन।

१९ हामी परमेश्‍वरको स्वरूपमा बनिएका छौँ। (उत्पत्ति १:२६) त्यसैले हामी मानिसजाति पृथ्वीका सबै सृष्टिभन्दा उत्कृष्ट छौँ। हामीलाई सहज ज्ञान, वंशानुगत गुण र स्वभाव वा वरपरको वातावरणले मात्र डोऱ्‍याउँदैन बरु यहोवाले हामीलाई उपहारस्वरूप दिनुभएको स्वतन्त्र इच्छाले पनि डोऱ्‍याउँछ। हाम्रो कमीकमजोरी र त्रुटिपूर्ण अवस्थाको बाबजुद हामी कस्तो व्यक्‍ति बन्‍ने भनेर आफैले छनौट गर्न सक्छौँ। साथै परमेश्‍वरको नामको अर्थमा उहाँ आफ्ना उपासकहरूलाई जे पनि बनाउन सक्नुहुन्छ भन्‍ने कुरा पनि समावेश छ। त्यसोभए के तपाईँ मायालु, बुद्धिमान्‌, न्यायी र आफ्नो शक्‍ति सही तरिकामा प्रयोग गर्ने व्यक्‍ति बन्‍न चाहनुहुन्‍न र? यहोवाको पवित्र शक्‍तिको मदत पाएर तपाईँ पक्कै त्यस्तो व्यक्‍ति बन्‍न सक्नुहुन्छ। यस्तो व्यक्‍ति बन्‍नुभयो भने तपाईँले भलाइका कत्ति धेरै काम गर्न सक्नुहुनेछ, सोच्नुहोस्‌ त!

२०. यहोवाको देखासिकी गर्दा हामीले कस्ता भलाइका कामहरू गर्न सक्नेछौँ?

२० तपाईँ स्वर्गमा बस्नुहुने बुबाको हृदयलाई खुसी बनाउन सक्नुहुन्छ। (हितोपदेश २७:११) वास्तवमा तपाईँ “उहाँलाई पूर्ण रूपले प्रसन्‍न बनाउन” सक्नुहुन्छ किनभने उहाँ तपाईँको सीमितता बुझ्नुहुन्छ। (कलस्सी १:९, १०) तपाईँले मायालु बुबाको देखासिकी गर्दै असल गुणहरू विकास गरिरहनुभयो भने एउटा ठूलो सुअवसर पाउनुहुनेछ। हो, तपाईँले परमेश्‍वरबाट तर्केर गएको यस अन्धकारमय संसारका मानिसहरूलाई ज्योति देखाउन सक्नुहुनेछ। (मत्ति ५:१, २, १४) तपाईँले यस संसारमा केही हदसम्म भए पनि यहोवाको महिमित व्यक्‍तित्व झल्काउन सक्नुहुनेछ। कत्ति ठूलो सम्मानको कुरा!

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ”

यहोवासित सधैँ नजिक भइरहनुहोस्‌

२१, २२. यहोवालाई प्रेम गर्ने सबै जना कस्तो यात्रामा छन्‌?

२१ याकुब ४:८ मा हामीलाई गरिएको आग्रह गन्तव्य मात्र त होइन, यो एउटा यात्रा हो। हामी यहोवाप्रति वफादार रहुन्जेल यो यात्रा चल्नेछ। हामी झन्‌झन्‌ उहाँको नजिक हुँदै जानेछौँ। उहाँबारे सिक्ने काम कहिल्यै सिद्धिँदैन। त्यसैले ‘मैले यस किताबबाट यहोवाबारे सबै कुरा सिकिसकेँ’ भनेर सोच्नु हुँदैन। किन? किनकि यस किताबमा छलफल गरिएका कुराहरू बाइबलमा यहोवाबारे बताइएका सम्पूर्ण कुराहरूको एउटा सानो झलक मात्र हो। वास्तवमा भन्‍ने हो भने बाइबलमै पनि यहोवाबारे सबै कुरा बताइएको छैन। येसुले पृथ्वीमा आफ्नो सेवाको दौडान गर्नुभएका कामहरूबारे प्रेषित युहन्‍नाले यसो भने: “मलाई लाग्छ, ती सबै एक-एक बयान गरेर लेखिएका भए ती मुठाहरू संसारमा अटाउने थिएनन्‌।” (युहन्‍ना २१:२५) हामीलाई छोराको विषयमा त सबै कुरा थाह छैन भने बुबाबारे झन्‌ सबै कुरा कहाँ थाह पाउन सक्छौँ र?

२२ हामीले नयाँ संसारमा अनन्त जीवन पाइसकेपछि पनि यहोवाबारे सिक्ने काम चलिरहनेछ। (उपदेशक ३:११) परमेश्‍वरले हामीलाई दिनुभएको त्यस आशाबारे एकछिन सोच्नुहोस्‌। नयाँ संसारमा सयौँ, हजारौँ, लाखौँ वा करोडौँ वर्ष बिताइसकेपछि हामीलाई यहोवाबारे अहिलेभन्दा धेरै कुरा थाह भइसकेको हुनेछ। तर त्यतिबेला पनि हामीलाई यहोवाबारे सिक्न अझ धेरै बाँकी छ जस्तो लाग्नेछ। हामी उहाँबारे अझ धेरै सिक्न उत्सुक हुनेछौँ किनकि त्यतिबेला हामीसित भजनरचयिताले जस्तै यस्तो महसुस गर्नुपर्ने हरकारण हुनेछ: “मेरो लागि . . . परमेश्‍वरको नजिक जानु उत्तम छ।” (भजन ७३:२८) हामीले नयाँ संसारमा पाउने अनन्त जीवन एकदमै रमाइलो र अर्थपूर्ण हुनेछ। त्यतिबेला यहोवासित झन्‌झन्‌ नजिक हुँदै जान पाउनु हाम्रो लागि सबैभन्दा ठूलो आशिष्‌ हुनेछ।

२३. तपाईँ के गर्न उत्प्रेरित हुनुभयो?

२३ यहोवाले तपाईँलाई असाध्यै प्रेम गर्नुहुने भएकोले तपाईँ पनि उहाँलाई आफ्नो सारा हृदय, सारा ज्यान, सारा दिमाग र सारा बलले प्रेम गर्नुहोस्‌। (मर्कुस १२:२९, ३०) उहाँप्रतिको तपाईँको प्रेम सधैँ स्थिर र अटल रहोस्‌। तपाईँले हरेक दिन गर्ने सानादेखि ठूला निर्णयहरूमा तपाईँ स्वर्गमा हुनुहुने बुबासित अझ नजिक हुन चाहनुहुन्छ भन्‍ने कुरा प्रस्ट झल्कियोस्‌। तपाईँ यहोवासित झन्‌झन्‌ नजिक हुँदै जानुहोस्‌ भनेर हामी कामना गर्छौँ। यसो गर्नुभयो भने उहाँ पनि तपाईँसित झन्‌झन्‌ नजिक हुनुहुनेछ, अहिले र सदासर्वदा!