सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २

मायालु परमेश्‍वरबाट पाएको चिठ्ठी

मायालु परमेश्‍वरबाट पाएको चिठ्ठी

तिमीलाई सबैभन्दा मनपर्ने किताब कुन हो, लौ भन त!— केही केटाकेटीले जनावरहरूको किताब मनपराउँछन्‌। अरूलाई चाहिं चित्रै-चित्र भएको किताब मनपर्छ। ती किताबहरू पढ्‌नु रमाइलो हुन सक्छ।

तर संसारमा पाइने किताबहरूमध्ये सबैभन्दा राम्रा किताबहरू त हामीलाई परमेश्‍वरबारे सत्य कुरा सिकाउने किताबहरू हुन्‌। ती किताबहरूमध्ये पनि एउटा किताब अझै बहुमूल्य छ। त्यो किताब कुन हो, तिमीलाई थाह छ?— त्यो किताब बाइबल हो।

बाइबल किन एकदमै महत्त्वपूर्ण छ?— किनभने यो परमेश्‍वरबाट आएको किताब हो। बाइबलले परमेश्‍वर र उहाँले हाम्रो लागि गर्ने असल कुराहरूबारे बताउँछ। अनि उहाँलाई खुसी पार्न हामीले के गर्नुपर्छ, त्यो पनि बताउँछ। यो परमेश्‍वरबाट पाएको चिठ्ठीजस्तै हो।

हुन त परमेश्‍वरले नै स्वर्गमा बसेर पूरै बाइबल लेख्न र त्यसपछि मानिसहरूलाई दिन सक्नुहुन्थ्यो। तर उहाँले त्यसो गर्नुभएन। बाइबलमा के-के लेख्ने भनेर उहाँ आफैले बताउनुभए तापनि त्यो लेख्नको लागिचाहिं उहाँले पृथ्वीमा भएका आफ्ना सेवकहरूलाई चलाउनुभयो।

परमेश्‍वरले कसरी त्यसो गर्नुभयो?— त्यो बुझ्न अब हामी यो कुरा विचार गरौं। हामी रेडियोमा कसैले बोलिरहेको सुन्छौं, तर त्यो बोल्ने मान्छेचाहिं धेरै टाढा हुन सक्छ। टिभीमा त झन्‌ हामी अरू देशमा बस्ने मानिसहरूसमेत देख्न सक्छौं र तिनीहरूले के भनिरहेका छन्‌, त्यो पनि सुन्‍न सक्छौं।

अन्तरिक्षयान अर्थात्‌ रकेटमा बसेर मानिस चन्द्रमामा समेत जान सक्छन्‌ र त्यति टाढाबाट पनि पृथ्वीमा खबर पठाउन सक्छन्‌। के तिमीलाई यो कुरा थाह थियो?— लौ अब भन त, मानिसहरूले त त्यसो गर्न सक्छन्‌ भने के परमेश्‍वरले स्वर्गबाट खबर पठाउन सक्नुहुन्‍न होला र?— पक्कै सक्नुहुन्छ! अनि मानिसले रेडियो वा टिभी बनाउनुभन्दा धेरैअघि नै उहाँले त्यसो गरिसक्नुभएको थियो।

एकदमै टाढाबाट पनि परमेश्‍वर हामीसित कुरा गर्न सक्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छौं?

साँच्चै परमेश्‍वरको आवाज सुन्‍ने व्यक्‍ति मोशा थिए। मोशाले परमेश्‍वरलाई देख्न सकेनन्‌ तर तिनले परमेश्‍वरको आवाज भने सुन्‍न सके। यो कुरा हुँदा अरू लाखौं व्यक्‍ति पनि त्यहीं थिए। त्यो दिन परमेश्‍वरले पूरै पहाड हल्लाउनुभयो। बिजुली चम्क्यो अनि गड्याङगुडुङ भयो। मानिसहरूलाई परमेश्‍वरले बोल्नुभएको हो भनेर थाह थियो तर उनीहरू निकै डराए। त्यसैले उनीहरूले मोशालाई यसो भने: “परमेश्‍वर हामीसित नबोलून्‌, नत्रता हामी मर्नेछौं।” पछि मोशाले परमेश्‍वरले जे-जे भन्‍नुभयो, ती सबै लेखे। अनि मोशाले त्यतिबेला जे लेखे ती सबै बाइबलमा पाइन्छन्‌।—प्रस्थान २०:१८-२१.

मोशाले बाइबलको सुरुका पाँचवटा पुस्तक लेखे। तर बाइबल लेख्ने मानिस तिनी मात्र थिएनन्‌। बाइबलका पुस्तकहरू लेख्न परमेश्‍वरले लगभग ४० जना पुरुषलाई चलाउनुभयो। तिनीहरू धेरै पहिलेका मानिस हुन्‌। पूरै बाइबल लेख्न निकै वर्ष लाग्यो। हो, बाइबल लेख्न लगभग १,६०० वर्ष लाग्यो! बाइबल लेख्ने कतिपय मानिसले एकअर्कालाई कहिल्यै भेटेनन्‌। तर पनि तिनीहरूले लेखेका एक-एक कुरा आपसमा मेल खान्छन्‌, पटक्कै बाझिंदैनन्‌। कस्तो अचम्मको कुरा नि, होइन र?

बाइबल लेख्ने यी मानिसहरूका नाम के-के हुन्‌?

बाइबल लेख्नको लागि परमेश्‍वरले चलाएका केही मानिसलाई धेरैले चिन्थे। मोशा पहिला गोठाला थिए तर पछि तिनी इस्राएल देशको नेता बने। सुलेमान भन्‍ने राजा त्यतिबेलाका सबैभन्दा बुद्धिमान्‌ अनि धनी मानिस थिए। तर बाइबल लेख्ने अरू कतिपयलाई चाहिं धेरैले चिन्दैनथे। बाइबल लेख्ने आमोस भन्‍ने एक जना मानिस किम्बूका रूखहरूको हेरचाह गर्थे।

साथै, बाइबल लेख्ने अर्का एक जना मानिस डाक्टर थिए। के तिमीलाई तिनको नाम थाह छ?— तिनी लूका थिए। बाइबल लेख्ने अर्का मानिसचाहिं पहिला कर उठाउने काम गर्थे। तिनको नाम मत्ती थियो। अर्का लेखक वकिल थिए। तिनी यहूदी धर्मका नियमहरूमा खप्पिस थिए। सबैभन्दा धेरै बाइबल पुस्तक लेख्ने मानिस पनि तिनी नै हुन्‌। के तिमीलाई तिनको नाम थाह छ?— तिनको नाम पावल हो। येशूका चेलाहरू पत्रुस र यूहन्‍ना पनि बाइबल लेखक थिए अनि तिनीहरू पहिला माछा मार्ने काम गर्थे।

यी बाइबल लेखकहरूमध्ये धेरैले भविष्यमा परमेश्‍वरले के-के गर्नुहुनेछ, त्यसबारे लेखे। बाइबल लेखकहरूले ती कुराहरू हुनुभन्दा अगाडि नै कसरी थाह पाए?— ठीक भन्यौ, परमेश्‍वरले तिनीहरूलाई जानकारी दिनुभएको थियो। के हुनेछ भनेर उहाँले तिनीहरूलाई बताउनुभएको थियो।

महान्‌ शिक्षक येशू पृथ्वीमा जन्मने बेलासम्ममा बाइबलको धेरैजसो पुस्तक लेखिसिद्धिएको थियो। महान्‌ शिक्षक पृथ्वीमा आउनुभन्दा अगाडि स्वर्गमा हुनुहुन्थ्यो भन्‍ने कुरा सम्झ त! हो, उहाँलाई परमेश्‍वरले गरेका कुराहरूबारे थाह थियो। बाइबल परमेश्‍वरले दिएको किताब हो भनी के उहाँ विश्‍वास गर्नुहुन्थ्यो?— अवश्‍य गर्नुहुन्थ्यो।

मानिसहरूसित परमेश्‍वरका कार्यहरूबारे कुरा गर्दा येशूले बाइबलबाट पढेर सुनाउनुहुन्थ्यो। कहिलेकाहींचाहिं बाइबलको कुरा कण्ठ बताउनुहुन्थ्यो। साथै, येशूले परमेश्‍वरबाट सुनेको अझै धेरै कुरा हामीलाई बताउनुभयो। येशूले भन्‍नुभयो: “उहाँबाट मैले जे सुनें, संसारमा त्यही कुरा बोल्दैछु।” (यूहन्‍ना ८:२६) येशूले परमेश्‍वरबाट धेरै कुरा सुन्‍नुभएको थियो किनभने येशू पहिला उहाँसितै बस्नुभएको थियो। येशूले भनेका कुराहरू हामी कहाँ पढ्‌न सक्छौं?— बाइबलमा। हामीले पढ्‌न सकोस्‌ भनेर यी सबै कुरा बाइबलमा लेखिएका थिए।

पक्कै पनि, बाइबल लेख्न परमेश्‍वरले चलाएका मानिसहरूले बोलीचालीको भाषामा बाइबल लेखे। त्यसैले धेरैजसो बाइबल पुस्तक हिब्रू भाषामा लेखिए। केही पुस्तकचाहिं अरामी भाषामा लेखिए भने धेरैजसो ग्रीक भाषामा लेखिए। तर अहिलेका प्रायजसो मानिसले यी भाषाहरू बुझ्दैनन्‌। त्यसैले बाइबललाई अरू भाषामा अनुवाद गरिएको छ। आज २,२६० भन्दा धेरै भाषामा बाइबलका केही पुस्तकहरू पढ्‌न सकिन्छ। ओहो! कत्ति धेरै भाषामा हगि! हो, बाइबल सबै ठाउँका मानिसले परमेश्‍वरबाट पाएको चिठ्ठी हो। बाइबल जति नै पटक अनुवाद गरिए तापनि यसमा भएका कुराहरू परमेश्‍वरकै कुराहरू हुन्‌।

बाइबलमा भएका कुराहरू हाम्रो लागि महत्त्वपूर्ण छन्‌। यो धेरै समय पहिला लेखिएको किताब हो। तर यसमा आज हाम्रो समयमा भइरहेका कुराहरूबारे लेखिएको छ। अनि छिट्टै नै परमेश्‍वरले के गर्दै हुनुहुन्छ, त्यसबारे पनि बाइबल बताउँछ। साँच्चै, बाइबलमा एकदमै रोचक कुरा बताइएको छ! यसले हामीलाई निकै राम्रो आशाबारे बताउँछ।

बाइबल पढेर तिमी कस्ता-कस्ता कुराहरू सिक्न सक्छौ?

हामीले कस्तो जीवन बिताएको परमेश्‍वरलाई मनपर्छ, त्यसबारे पनि बाइबलमा बताइएको छ। कुन कुरा सही हो अनि कुन कुरा गलत हो, त्यो पनि यसले बताउँछ। सही-गलत के हो, तिमीले थाह पाउनुपर्छ अनि मैले पनि। बाइबलमा खराब काम गर्ने मानिसहरू अनि तिनीहरूले भोगेका नतिजाहरूबारे बताइएको छ। यसरी बताउनुको कारण हामी तिनीहरूले भोगेका समस्याहरूबाट जोगिन सकोस्‌ भनेर हो। सही काम गर्ने मानिसहरू अनि तिनीहरूले पाएका राम्रा नतिजाहरूबारे पनि बाइबलमा बताइएको छ। यी सबै कुरा हाम्रै फाइदाका लागि लेखिएका हुन्‌।

बाइबल पढेर धेरैभन्दा धेरै फाइदा उठाउने हो भने हामीले एउटा प्रश्‍नको जवाफ थाह पाउनु आवश्‍यक छ। त्यो प्रश्‍न हो: हामीलाई बाइबल कसले दिनुभयो? तिमीलाई कस्तो लाग्छ?— हो, हामीलाई पूरै बाइबल दिनुहुने व्यक्‍ति परमेश्‍वर हुनुहुन्छ। त्यसोभए हामी साँच्चै नै बुद्धिमान्‌ छौं भनेर कसरी देखाउन सक्छौं?— परमेश्‍वरको कुरा सुनेर अनि उहाँले जे भन्‍नुभयो त्यही गरेर।

त्यसैले हामीले सँगै बसेर बाइबल पढ्‌ने समय निकाल्नुपर्छ। आफूले असाध्यै माया गर्ने व्यक्‍तिले पठाएको चिठ्ठी पाउँदा हामी त्यसलाई दोहोऱ्‍याइ-तेहऱ्‍याइ पढ्‌छौं नि, होइन र? त्यो हाम्रो लागि धेरै बहुमूल्य हुन्छ। हामीले बाइबललाई पनि एकदमै बहुमूल्य सम्झनुपर्छ किनभने यो हामीलाई सबैभन्दा धेरै माया गर्ने व्यक्‍तिले पठाएको चिठ्ठी हो। हो, बाइबल मायालु परमेश्‍वरबाट पाएको चिठ्ठी हो।

अझै केही मिनेट निकालेर बाइबल साँच्चै परमेश्‍वरको वचन हो अनि हाम्रै फाइदाको लागि लेखिएको हो भनेर देखाउने यी बाइबल पदहरू पढौं: रोमी १५:४; २ तिमोथी ३:१६, १७ अनि २ पत्रुस १:२०, २१.