सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ६

महान्‌ शिक्षकले अरूको सेवा गर्नुभयो

महान्‌ शिक्षकले अरूको सेवा गर्नुभयो

अरूले तिम्रो लागि केही राम्रो काम गरिदिएको के तिमीलाई मनपर्छ?— अरू मानिसलाई पनि कसैले तिनीहरूको लागि राम्रो काम गरिदिएको मनपर्छ। हामी सबैलाई त्यसो गरेको मनपर्छ। महान्‌ शिक्षकलाई यो कुरा थाह थियो र उहाँले मानिसहरूका लागि सधैं केही न केही गरिदिनुहुन्थ्यो। उहाँले भन्‍नुभयो: ‘म सेवा पाउन होइन तर सेवा गर्न आएँ।’—मत्ती २०:२८.

येशूका चेलाहरू कुन विषयमा बहस गर्दै थिए?

त्यसोभए महान्‌ शिक्षकजस्तै बन्‍न चाहन्छौं भने हामीले के गर्नै पर्छ?— हामीले अरूको सेवा गर्नै पर्छ। अरूको लागि हामीले असल कामहरू गरिदिनै पर्छ। हो, थुप्रै मानिसले त्यसो गर्दैनन्‌। वास्तवमा धेरैजसो मानिस सधैं नै अरूले आफ्नो सेवा गरेको चाहन्छन्‌। एकचोटि येशूका चेलाहरूलाई पनि त्यस्तै लागेको थियो। तिनीहरू सबै जना अरूभन्दा ठूलो वा अरूभन्दा महत्त्वपूर्ण व्यक्‍ति हुन चाहन्थे।

एक दिनको कुरा हो, येशू आफ्ना चेलाहरूसित यात्रा गरिरहनुभएको थियो। गालील समुद्र नजिकैको कफर्नहुम सहरमा पुगेपछि उहाँहरू एउटा घरमा पस्नुभयो। त्यहाँ येशूले आफ्ना चेलाहरूलाई यस्तो प्रश्‍न गर्नुभयो: “बाटोमा तिमीहरू के बहस गर्दै थियौ?” तिनीहरू चुप लागे किनभने बाटोमा तिनीहरू आफूहरूमध्ये को ठूलो भनी बहस गरिरहेका थिए।—मर्कूस ९:३३, ३४.

चेलाहरूमध्ये कसैले पनि आफूलाई सबैभन्दा ठूलो सम्झनु ठीक होइन भनेर येशूलाई थाह थियो। त्यसैले यस किताबको सुरुको अध्यायमा सिकेझैं उहाँले एक जना सानो बालकलाई तिनीहरूसामु उभ्याउनुभयो र यो बालकजस्तै नम्र हुनुपर्छ भनेर बताउनुभयो। तैपनि तिनीहरूले पाठ सिकेनन्‌। त्यसैले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि तिनीहरूले कहिल्यै नबिर्सने एउटा पाठ येशूले सिकाउनुभयो। उहाँले के गर्नुभयो?—

सबै जना सँगै बसेर खाइरहेको ठाउँबाट येशू उठ्‌नुभयो र आफ्नो खास्टो छेउमा राख्नुभयो। अनि एउटा तौलिया लिएर कम्मरमा बेर्नुभयो। त्यसपछि उहाँले एउटा बाटामा पानी हाल्नुभयो। के गर्न लाग्नुभएको होला भनेर छक्क पर्दै चेलाहरू येशूलाई हेरिरहेका थिए। उहाँ तिनीहरू सबैकोमा पालैपालो जानुभयो अनि टुक्रुक्क बसेर तिनीहरूको खुट्टा धोइदिनुभयो। त्यसपछि तौलियाले पुछिदिनुभयो। एक छिन सोच त! तिमी त्यहाँ भएको भए के गर्थ्यौ? तिमीलाई कस्तो लाग्थ्यो?—

येशू आफ्ना चेलाहरूलाई के सिकाउँदै हुनुहुन्थ्यो?

महान्‌ शिक्षकले यसरी तिनीहरूको सेवा गर्नु ठीक होइन भन्‍ने उहाँका चेलाहरूलाई लागेको थियो। तिनीहरूलाई अप्ठ्यारो लागेको थियो। साँच्चै भन्‍ने हो भने पत्रुसले येशूलाई यस्तो तुच्छ काम गर्नदेखि रोक्न खोजेका थिए। तर आफूले यसो गर्नु महत्त्वपूर्ण छ भनी येशूले बताउनुभयो।

प्रायजसो आज हामी अरूको खुट्टा धोइदिंदैनौं। तर येशूको पालामा भने अरूको खुट्टा धोइदिने चलन थियो। किन, थाह छ?— येशू अनि उहाँका चेलाहरू बस्ने इलाकामा मानिसहरू चप्पल लगाउने गर्थे। त्यसैले धुलै-धुलो भएको बाटोमा हिंड्‌दा उनीहरूको खुट्टा एकदमै फोहोर हुन्थ्यो। आफ्नो घरमा आएको पाहुनाको फोहोर खुट्टा धोइदिनु दयालु काम थियो।

तर यस पटक भने येशूका चेलाहरूमध्ये कोही पनि ‘म तपाईंहरूको खुट्टा धोइदिन्छु’ भनेर अघि सरेनन्‌। त्यसैले येशू आफै अघि सर्नुभयो। यसो गरेर येशूले आफ्ना चेलाहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउनुभयो। तिनीहरूले यो पाठ सिक्नै पर्ने थियो र आज हामीले पनि सिक्नै पर्छ।

हामीले सिक्नुपर्ने पाठ के हो, तिमीलाई थाह छ?— येशूले आफ्नो खास्टो ओढ्‌नुभयो र फेरि टेबुलमा बसेर यसो भन्‍नुभयो: “मैले तिमीहरूका निम्ति के गरें, तिमीहरूलाई थाह छ? तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ। तिमीहरूले ठीकै भनेका हौ, किनकि म त्यही हुँ। यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ।”—यूहन्‍ना १३:२-१४.

तिमी अरूलाई कसरी मदत गर्न सक्छौ?

महान्‌ शिक्षक आफ्ना चेलाहरूले एक-अर्काको सेवा गरेको चाहनुहुन्थ्यो भन्‍ने कुरा यसबाट स्पष्ट हुन्छ। तिनीहरूले आफ्नै बारेमा मात्र सोचेको, आफूलाई एकदमै ठूलो ठान्दै ‘अरूले मेरो सेवा गर्नुपर्छ’ भनेर सोचेको येशू चाहनुहुन्‍न थियो। तिनीहरू अरूको सेवा गर्न इच्छुक भएको उहाँ चाहनुहुन्थ्यो।

के यो एउटा राम्रो पाठ होइन र?— के तिमी पनि महान्‌ शिक्षकजस्तै हुनेछौ अनि अरूको सेवा गर्नेछौ?— हामी सबैले अरूको लागि केही न केही गरिदिन सक्छौं। यसो गर्दा अरूहरू खुसी हुनेछन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा त येशू अनि उहाँको बुबा खुसी हुनुहुनेछ।

अरूको सेवा गर्नु गाह्रो छैन। यदि तिमीले राम्ररी हेऱ्‍यौ भने अरूको लागि गरिदिन सक्ने थुप्रै कुरा देख्नेछौ। अब एकछिन सोच त: के तिमी आफ्नी आमाको लागि केही गरिदिन सक्छौ? उहाँले तिम्रो लागि अनि पूरै परिवारको लागि धेरै काम गरिदिनुहुन्छ भन्‍ने कुरा तिमीलाई थाह छ। के तिमी उहाँलाई मदत गर्न सक्छौ?— आमालाई सोध्ने हो कि?

तिमी आफ्नी आमालाई खाना पस्किन मदत गर्न सक्छौ होला। अथवा खाना खाइसकेपछि सफा गरिदिन सक्छौ कि? केही केटाकेटी दिनदिनै फोहोर फालिदिएर मदत गर्छन्‌। आफूले सक्ने कुनै पनि काम गरेर तिमीले येशूले जस्तै अरूको सेवा गरिरहेका हुनेछौ।

तिम्रा साना भाइबहिनी छन्‌ भने उनीहरूलाई मदत गर्न सक्छौ कि? महान्‌ शिक्षक येशूले पनि आफ्ना चेलाहरूको सेवा गर्नुभयो भन्‍ने कुरा नबिर्स है! साना भाइबहिनीलाई मदत गर्दा तिमीले येशूले जस्तै गर्न खोजिरहेका हुन्छौ। तिमी उनीहरूका लागि के गरिदिन सक्छौ?— भाइबहिनीहरू खेलिसकेपछि खेलौनाहरू ठीक-ठीक ठाउँमा राख्न सिकाउन, लुगा लगाउन अथवा ओछ्यान मिलाउन मदत गर्न सक्छौं होला। तिमी उनीहरूका लागि अरू के-के गरिदिन सक्छौ, सोच त!— तिमीले उनीहरूलाई मदत गऱ्‍यौ भने उनीहरूले तिमीलाई माया गर्नेछन्‌, येशूका चेलाहरूले उहाँलाई गरेझैं।

स्कूलमा पनि तिमी अरूलाई मदत गर्न सक्छौ। सायद तिमी कक्षाका साथीहरूलाई वा सर-मिसलाई मदत गर्न सक्छौ। यदि कसैले आफ्नो किताब खसाल्यो भने टिपिदिनु दयालु कुरा हो। सायद तिमी सर-मिसको लागि भनेर ब्ल्याकबोर्ड सफा गरिदिन वा अरू केही गरिदिन सक्छौ। अरूलाई कलम वा सिसाकलम सापटी दिनु पनि दयालु कुरा हो।

कहिलेकाहीं कसैलाई मदत गर्दा उनीहरूले हामीलाई धन्यवाद नभनेको हामीले याद गरेका छौं होला। के त्यसोभए हामीले राम्रो काम गर्नै छोड्‌ने त?— अहँ, होइन। येशूले राम्रो काम गर्दा थुप्रै मानिसले उहाँलाई धन्यवाद भनेनन्‌। तैपनि उहाँले राम्रो काम गर्न छोड्‌नुभएन।

त्यसैले अरूको सेवा गर्न कहिल्यै पछि नपरौं। महान्‌ शिक्षक येशूलाई सम्झिरहौं र सधैं उहाँले जस्तै गर्ने कोसिस गरौं।

अरूलाई मदत गर्ने विषयमा लेखिएका अझै अरू बाइबल पदहरू छन्‌। अब, हितोपदेश ३:२७, २८; रोमी १५:१, २ अनि गलाती ६:२ पढौं।