सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १४

हामीले किन क्षमा दिनुपर्छ?

हामीले किन क्षमा दिनुपर्छ?

के कसैले तिमीलाई कहिल्यै नराम्रो व्यवहार गरेको छ?— उसले तिमीलाई चोट पुऱ्‍याएको थियो कि रूखो बोली बोलेको थियो?— उसले जस्तै तिमीले पनि नराम्रो व्यवहार गर्नु ठीक हो?—

कसैले चोट पुऱ्‍यायो भने थुप्रै व्यक्‍तिले त्यसको जवाफमा नराम्रै गर्छन्‌। तर हामीलाई नराम्रो व्यवहार गर्नेहरूलाई क्षमा दिनुपर्छ भनेर येशूले सिकाउनुभयो। (मत्ती ६:१२) कसैले हामीसित पटक-पटक नराम्रो व्यवहार गर्छ भने नि? हामीले उसलाई कति पटक क्षमा दिनुपर्छ?—

पत्रुस यही कुरा जान्‍न चाहन्थे। त्यसैले एक दिन तिनले येशूलाई यसरी सोधे: “मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” सात पटक क्षमा दिएर पुग्दैन। कुनै व्यक्‍तिले तिमीविरुद्ध सतहत्तर पटकसम्म पाप गर्छ भने ‘सतहत्तर पटक नै क्षमा दिनुपर्छ’ भनेर येशूले भन्‍नुभयो।

क्षमा दिनेबारे पत्रुस के बुझ्न चाहन्थे?

यो त धेरै पटक हो नि, होइन र? कुनै व्यक्‍तिले हामीलाई त्यति धेरै पटक नराम्रो व्यवहार गरेको छ भने सबै सम्झन सक्दैनौं नि, सक्छौं र? येशूले भन्‍न खोज्नु भएको कुरा यही हो: अरूले हामीलाई कति पटक नराम्रो व्यवहार गर्छन्‌, त्यो हामीले बिर्सिने कोसिस गर्नुपर्छ। तिनीहरूले क्षमा माग्दा हामीले क्षमा दिनुपर्छ।

क्षमा दिनु एकदमै महत्त्वपूर्ण छ भनी येशू आफ्ना चेलाहरूलाई बुझाउन चाहनुहुन्थ्यो। त्यसैले पत्रुसको प्रश्‍नको जवाफ दिइसकेपछि उहाँले चेलाहरूलाई एउटा कथा भन्‍नुभयो। के तिमी सुन्‍न चाहन्छौ?—

कुनै समय, एक असल राजा थिए। तिनी धेरै दयालु थिए। आफ्ना दासहरूलाई मदतको खाँचो पर्दा तिनले उनीहरूलाई पैसा सापटीसमेत दिन्थे। अब दासहरूले ऋणमा लिएको पैसा राजालाई फिर्ता दिने समय आयो। अनि छ करोड पैसा ऋण लिने दासलाई तिनीकहाँ बोलाइयो। यो कत्ति धेरै पैसा हो नि, होइन र?

दासले ऋण तिर्न समय माग्दा राजाले के गरे?

तर त्यो दासले राजाबाट लिएको सबै पैसा खर्च गरिसकेको थियो र फिर्ता गर्न सकेन। त्यसकारण राजाले त्यो दासलाई बेच्न हुकुम गरे। त्यो दासकी श्रीमती, छोराछोरी अनि उसको सम्पूर्ण सम्पत्ति बेच्न पनि राजाले भने। त्यसरी बेचेर उठेको सबै पैसाबाट राजाको ऋण फिर्ता गरिनेथियो। त्यो दासलाई कस्तो भयो होला, सोच त?—

त्यो दास राजासामु घोप्टो परेर बिन्तीभाउ गर्न लाग्यो: ‘हजुर, मलाई समय दिनुहोस्‌ र म तपाईंको जम्मै ऋण फिर्ता गरिदिन्छु।’ तिमी ती राजा भएको भए उसलाई के गर्थ्यौ?— राजाको मनमा दया जाग्यो। तिनले उसलाई माफ गरिदिए। तिनले त्यो दासलाई छ करोड पैसामा एक सुको पनि तिर्नुपर्दैन भने। यो सुनेर त्यो दास कत्ति खुसी भयो होला, हगि!

तर त्यसपछि त्यो दासले के गऱ्‍यो? त्यो दास आफूसित केवल एक सय पैसा सापटी लिने सँगी दासलाई खोज्न निस्क्यो। त्यो दासले तिनलाई घोक्रो अँठ्याउँदै भन्यो: ‘मेरो एक सय पैसा फिर्ता गरिहाल्‌!’ कुनै व्यक्‍तिले त्यस्तो व्यवहार गर्नु राम्रो होला त, विशेषगरि राजाबाट त्यति धेरै ऋण क्षमा पाइसकेको व्यक्‍तिले?—

सँगी दासले आफ्नो ऋण तिर्न नसक्दा एक जना दासले तिनीसित कस्तो व्यवहार गऱ्‍यो?

तर एक सय पैसा ऋण लिने दास गरिब थिए। तिनले तुरुन्तै ऋण फिर्ता गर्न सक्दैन थिए। त्यसैले तिनले त्यो दाससामु घोप्टो परेर बिन्ती गर्न लागे: ‘मलाई समय देऊ, म तिम्रो पैसा फिर्ता गरिदिनेछु।’ के त्यो दासले आफ्नो सँगी दासलाई समय दिनुपर्थ्यो?— तिमी भएको भए के गर्थ्यौ?—

त्यो दास राजाजस्तै दयालु भएन। ऊ आफ्नो पैसा तुरुन्तै चाहन्थ्यो। अनि सँगी दासले पैसा तिर्न नसकेकोले उसले तिनलाई झ्यालखानामा थुन्‍न लगायो। अरू दासहरूले यो सब देखे र उनीहरू असाध्यै दुःखी भए। त्यसैले जे-जे भयो उनीहरूले गएर राजालाई सुनाए।

त्यो कुरा सुनेर राजा पनि दुःखी भए। क्षमा नदिने त्यो दास देखेर तिनलाई धेरै रिस उठ्यो। त्यसैले तिनले त्यो दासलाई बोलाएर यसो भने: ‘ए दुष्ट दास, तैंले मसित बिन्ती गर्दा मैले तेरो सबै ऋण माफ गरिदिएँ। तब मैले तँलाई क्षमा दिएझैं के तैंले पनि आफ्नो सँगी दासलाई क्षमा दिनु पर्दैन्थ्यो?’

क्षमा नदिने दासलाई राजाले के गरे?

क्षमा नदिने त्यो दासले असल राजाबाट पाठ सिक्नुपर्ने थियो। तर उसले सिकेन। त्यसैले छ करोड पैसाको ऋण नतिरेसम्म त्यो दासलाई राजाले झ्यालखानामा थुन्‍न लगाए। झ्यालखानामा थुनिएपछि पक्कै पनि उसले राजालाई तिर्नुपर्ने पैसा कमाउन सक्ने थिएन र उसको बाँकी जिन्दगी त्यहीं बित्ने थियो।

यो कथा भनिसकेपछि येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “त्यसैगरि तिमीहरू हरेकले आफ्नो भाइलाई मनैदेखि क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने मेरो बुबाले पनि तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”—मत्ती १८:२१-३५.

हामी परमेश्‍वरप्रति धेरै ऋणी छौं भनेर तिमीले बुझ्नुपर्छ। साँच्चै, हामीलाई जीवन उहाँले नै दिनुभएको हो! त्यसैले हामी परमेश्‍वरप्रति जति ऋणी छौं त्यसको तुलनामा अरू हामीप्रति त्यति ऋणी छैनन्‌। अरूले हामीलाई दिनुपर्ने कुरा त एउटा दासले अर्को दासलाई तिर्नुपर्ने एक सय पैसाजति मात्रै हो। तर हामीले खराब काम गरेको कारण परमेश्‍वरलाई तिर्नुपर्ने ऋण, दासले राजालाई तिर्नुपर्ने छ करोड पैसा बराबर हो।

परमेश्‍वर धेरै दयालु हुनुहुन्छ। हामीले गल्तीहरू गरेका छौं तैपनि उहाँ हामीलाई क्षमा दिनुहुन्छ। हाम्रो जीवन सदाका लागि खोसेर उहाँ हामीलाई मोल चुकाउन लगाउनुहुन्‍न। तर हामीले सम्झनुपर्ने पाठ यो हो: हामीविरुद्ध गल्ती गर्नेहरूलाई क्षमा दियौं भने मात्र परमेश्‍वर हामीलाई क्षमा दिनुहुन्छ। यो एउटा महत्त्वपूर्ण पाठ हो, होइन र?—

कसैले तिमीलाई ‘मलाई माफ गर’ भन्छ भने तिमी के गर्छौ?

त्यसोभए कसैले तिमीलाई नराम्रो व्यवहार गर्छ, तर पछि ‘मलाई माफ गर’ भन्छ भने तिमी के गर्छौ? के तिमी उसलाई क्षमा दिन्छौ?— उसले पटक-पटक यस्तै गर्छ भने नि? के तिमी उसलाई अझै पनि क्षमा दिन्छौ?—

यदि क्षमा माग्ने व्यक्‍ति हामी आफै हौं भने अरूले क्षमा देओस्‌ भन्‍ने चाहन्छौं नि, होइन र?— त्यसैले हामीले पनि अरूलाई क्षमा दिनुपर्छ। हामीले मुखले मात्र होइन मनदेखि नै क्षमा दिनुपर्छ। त्यसो गर्दा हामी साँच्चै महान्‌ शिक्षकका चेला बन्‍न चाहन्छौं भनी देखाइरहेका हुन्छौं।

क्षमा दिनुको महत्त्वबारे बुझ्न हामी हितोपदेश १९:११; मत्ती ६:१४, १५ अनि लूका १७:३, ४ पढौं।