सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १८

के तिमी धन्यवाद भन्‍न सम्झन्छौ?

के तिमी धन्यवाद भन्‍न सम्झन्छौ?

तिमीले खाना खाइसक्यौ?— खाना कसले पकाउनुभएको थियो?— सायद तिम्री आमा अथवा अरू कसैले पकाउनुभएको होला तर खानाको लागि हामीले किन परमेश्‍वरलाई धन्यवाद भन्‍नुपर्छ?— किनभने जुन बोटबिरुवाबाट हामी खानेकुरा पाउँछौं, त्यसलाई परमेश्‍वरले नै बढाउनुभएको हो। तर हामीले खाना पकाइदिने अथवा खाना पस्किदिने व्यक्‍तिलाई पनि धन्यवाद भन्‍नुपर्छ।

अरूले दयालु कार्यहरू गरिदिंदा कहिलेकाहीं हामी धन्यवाद भन्‍न बिर्सन्छौं नि, होइन र? महान्‌ शिक्षक पृथ्वीमा हुनुहुँदा केही कुष्ठरोगीले उहाँलाई धन्यवाद भन्‍न बिर्सेका थिए।

कुष्ठरोग भनेको के हो, तिमीलाई थाह छ?— यो एउटा यस्तो किसिमको रोग हो जसले गर्दा कोही-कोही मानिसको मासुसमेत झर्छ। येशू पृथ्वीमा हुनुहुँदा कुष्ठरोगीहरू अरू मानिससित नबसी छुट्टै ठाउँमा बस्नुपर्थ्यो। अनि कुनै कुष्ठरोगीले अरू कोही मानिस आउँदै गरेको देख्यो भने ठूलो स्वरले त्यो व्यक्‍तिलाई टाढै बस्न भन्‍नुपर्थ्यो। यसो गर्नुको कारण अरू मानिस आफ्नो नजिक नआओस्‌ अनि तिनीहरूलाई कुष्ठरोग नसरोस्‌ भनेर हो।

येशूले कुष्ठरोगीहरूसित दयालु व्यवहार गर्नुभयो। एक दिनको कुरा हो, यरूशलेम जाँदा येशू एउटा सानो सहर भएर जानुपऱ्‍यो। त्यो सहरको नजिक पुग्दा दस जना कुष्ठरोगी उहाँलाई भेट्‌न आए। येशूले परमेश्‍वरबाट हरेक किसिमको रोगबिमार निको पार्ने शक्‍ति पाउनुभएको छ भनेर तिनीहरूले सुनेका थिए।

ती कुष्ठरोगीहरू येशूको नजिक आएनन्‌। तिनीहरू टाढै उभिए। तर उहाँले तिनीहरूको रोग निको पार्न सक्नुहुन्छ भनी तिनीहरू विश्‍वास गर्थे। त्यसैले महान्‌ शिक्षकलाई देखेपछि ती कुष्ठरोगीहरूले ठूलो स्वरमा यसो भने: ‘हे येशू, हे गुरुज्यू, हामीलाई मदत गर्नुहोस्‌!’

बिरामी मानिस देख्दा के तिमीलाई दया लाग्छ?— येशूलाई लाग्थ्यो। कुष्ठरोगी हुनु कत्ति दुःखको कुरा हो, उहाँलाई थाह थियो। त्यसैकारण उहाँले तिनीहरूलाई जवाफ दिएर यसो भन्‍नुभयो: “जाओ, गएर पुजारीहरूलाई देखाओ।”—लूका १७:११-१४.

येशू यी कुष्ठरोगीहरूलाई के गर्न भन्दै हुनुहुन्छ?

येशूले तिनीहरूलाई किन त्यसो भन्‍नुभयो? किनभने यहोवाले आफ्ना मानिसहरूलाई कुष्ठरोगीहरूको विषयमा त्यस्तै नियम दिनुभएको थियो। त्यो नियमअनुसार परमेश्‍वरका पुजारीले कुष्ठरोगीको मासुलाई राम्ररी हेर्नुपर्थ्यो। कुष्ठरोगीको रोग पूरै निको भएपछि पुजारीले तिनलाई यसबारे बताउँथे। अनि ती व्यक्‍ति फेरि स्वस्थ मानिसहरूसँग बस्न सक्थे।—लेवी १३:१६, १७.

तर यी कुष्ठरोगीहरू निको भएका थिएनन्‌। त्यसोभए येशूले भन्‍नुभएझैं के तिनीहरू पुजारीकहाँ गए?— हो, तिनीहरू तुरुन्तै गए। येशूले तिनीहरूको रोग निको पार्नुहुन्छ भन्‍ने कुरामा यी पुरुषहरूले विश्‍वास गरेको हुनुपर्छ। त्यसपछि के भयो?

तिनीहरू पुजारीकहाँ जाँदाजाँदै निको भइहाले। तिनीहरू स्वस्थ भए! निको पार्ने येशूको शक्‍तिमा विश्‍वास गरेको कारण तिनीहरूले इनाम पाए। तिनीहरू कत्ति आनन्दित भए! तर अब तिनीहरूले आफू धन्यवादी छु भनेर देखाउन के गर्नुपर्थ्यो? तिमी भएको भए के गर्थ्यौ?—

यो कुष्ठरोगीले के गर्न सम्झ्यो?

निको भएकाहरूमध्ये एक जना येशूकहाँ फर्क्यो। उसले यहोवाबारे असल कुरा गऱ्‍यो र उहाँलाई महिमा दिन थाल्यो। यसो गर्नु ठीक थियो किनभने परमेश्‍वरको शक्‍तिले गर्दा नै ऊ निको भएको थियो। साथै त्यो मानिसले महान्‌ शिक्षकको पाउमा घोप्टो परेर उहाँलाई पनि धन्यवाद दियो। येशूले जे गर्नुभयो त्यसको लागि ऊ एकदमै धन्यवादी थियो।

बाँकी नौ जना पुरुष नि? येशूले सोध्नुभयो: ‘निको हुने त दस जना थिए नि, होइन र? बाँकी नौ जना खै त? के एक जना मात्र परमेश्‍वरको महिमा गर्न फर्किआयो?’

हो, दस जनामध्ये केवल एक जनाले परमेश्‍वरको महिमा वा प्रशंसा गऱ्‍यो र येशूलाई धन्यवाद दिन फर्क्यो। अनि त्यो मानिस सामरी थियो, अर्कै देशको मानिस। बाँकी नौ जनाले न परमेश्‍वरलाई न त येशूलाई नै धन्यवाद दिए।—लूका १७:१५-१९.

तिमी ती मानिसहरूमध्ये को जस्ता छौ? हामी त्यो सामरी मानिसजस्तो हुन चाहन्छौं नि, होइन र?— त्यसकारण कसैले हाम्रो लागि दयालु कार्यहरू गरिदिंदा हामीले के भन्‍न बिर्सनु हुँदैन?— हो, धन्यवाद भन्‍न बिर्सनु हुँदैन। मानिसहरूले अक्सर धन्यवाद भन्‍न बिर्सन्छन्‌। तर धन्यवाद भन्‍नु राम्रो हो। हामीले धन्यवाद व्यक्‍त गर्दा यहोवा परमेश्‍वर र उहाँको छोरा येशूलाई खुसी लाग्छ।

तिमी कसरी येशूकहाँ फर्कने कुष्ठरोगीजस्तै हुन सक्छौ?

यसो सोच्यौ भने मानिसहरूले तिम्रो लागि थुप्रै दयालु कार्यहरू गरेको सम्झन सक्नेछौ। उदाहरणका लागि, तिमी कहिल्यै बिरामी परेका छौ?— ती दस जना कुष्ठरोगीलाई जस्तै तिमीलाई कहिल्यै गम्भीर रोग लागेको छैन होला तर तिमीलाई रुघा लागेको वा पेट दुखेको छ होला। त्यतिबेला के कसैले तिम्रो हेरविचार गऱ्‍यो?— सायद उनीहरूले तिमीलाई औषधी खुवाए वा तिम्रो लागि अरू काम पनि गरिदिए होलान्‌। उनीहरूले तिमीलाई निको हुन मदत गरेकोमा के तिमी खुसी भयौ?—

आफूलाई निको पारेकोले त्यो सामरीले येशूलाई धन्यवाद दियो र यसले गर्दा उहाँ खुसी हुनुभयो। आमाबाबुले तिम्रो लागि केही गरिदिनुहुँदा धन्यवाद भन्यौ भने उहाँहरू खुसी हुनुहुनेछ जस्तो के तिमीलाई लाग्छ?— हो, उहाँहरू खुसी हुनुहुनेछ।

धन्यवाद भन्‍न सम्झनु किन महत्त्वपूर्ण छ?

कोही-कोही मानिसले तिम्रो लागि हरेक दिन वा हरेक हप्ता थुप्रै कुरा गरिदिन्छन्‌। त्यो उनीहरूको कामै हुन सक्छ र त्यसो गर्दा सायद उनीहरू खुसी पनि हुन्छन्‌। तर तिमीले धन्यवाद भन्‍न बिर्सन्छौ होला। स्कूलको सर-मिसले तिमीलाई पढाउन कडा मेहनत गर्नुहुन्छ होला। हुन त यो उहाँहरूको कामै हो। तर तिमीलाई पढाउनुभएकोमा उहाँहरूलाई धन्यवाद दियौ भने उहाँहरू खुसी हुनुहुनेछ।

कहिलेकाहीं मानिसहरूले तिम्रो लागि सानातिना कार्यहरू गरिदिन्छन्‌। कसैले तिम्रो लागि ढोका खोलिदिन्छ कि? अथवा खाना पस्केर ल्याइदिन्छ कि? यस्ता सानातिना कार्यहरूका लागि पनि हामीले धन्यवाद भन्‍नु राम्रो हो।

मानिसहरूलाई धन्यवाद भन्‍न सम्झ्यौं भने स्वर्गमा बस्नुहुने हाम्रा बुबालाई पनि धन्यवाद भन्‍न सम्झिनेछौं। अनि हामीले यहोवालाई धन्यवाद दिन सक्ने थुप्रै कारण छन्‌ नि, होइन र? उहाँले हामीलाई जीवन र त्यसलाई रमाइलो पार्ने सबै असल कुरा दिनुभएको छ। त्यसैले हरेक दिन परमेश्‍वरबारे राम्रा-राम्रा कुराहरू गरेर उहाँलाई महिमा दिने हामीसित हर कारण छ।

धन्यवाद व्यक्‍त गर्ने विषयमा भजन ९२:१; एफिसी ५:२०; कलस्सी ३:१७ अनि १ थिस्सलोनिकी ५:१८ पढौं।