सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २३

मानिसहरू बिरामी हुनुको कारण

मानिसहरू बिरामी हुनुको कारण

के तिमीले कुनै बिरामीलाई चिनेका छौ?— तिमी आफै पनि कहिलेकाहीं बिरामी पर्छौ होला। तिमीलाई रूघा लाग्न वा पेट दुख्न सक्छ। तर कोही-कोही मानिस भने धेरै बिरामी छन्‌। तिनीहरू अरूको मदतविना उभिनसमेत सक्दैनन्‌। प्रायजसो, मानिसहरू बूढाबूढी हुँदा यस्तो हुन्छ।

जो-कोही पनि कहिलेकाहीं बिरामी पर्छन्‌। मानिसहरू किन बिरामी हुन्छन्‌, बूढाबूढी हुन्छन्‌ अनि मर्छन्‌, के तिमीलाई थाह छ?— एक दिनको कुरा हो, हिंड्‌न नसक्ने एक जना मानिसलाई येशूकहाँ ल्याइयो। अनि त्यतिबेला येशूले मानिसहरू किन बिरामी हुन्छन्‌ र मर्छन्‌ भनेर बताउनुभयो। यो विषयमा म तिमीलाई बताउँछु है!

येशू गालील समुद्र नजिकैको सहरको एउटा घरमा बसिरहनुभएको थियो। मानिसहरूको भीड उहाँलाई हेर्न आयो। यति धेरै मानिस आए कि घरमा छिर्ने ठाउँ नै भएन। मानिसहरू ढोकाको नजिकसमेत पुग्न सकेनन्‌। तैपनि मानिसहरू आउन छोडेनन्‌। एउटा समूहले एक जना पक्षाघात भएको मानिसलाई ल्याए। ती मानिस हिंड्‌नसमेत सक्दैनथे। चार-चार जनाले तिनलाई खाटमा बोकेर ल्याए।

त्यो समूहले किन ती मानिसलाई येशूकहाँ ल्याउन चाहेको तिमीलाई थाह छ?— किनभने येशू ती मानिसलाई मदत गर्न सक्नुहुन्छ भनी उनीहरू विश्‍वास गर्थे। येशूले तिनलाई निको पार्न सक्नुहुन्छ भनी उनीहरू विश्‍वस्त थिए। मानिसहरूले खचाखच भरिएको घरमा त्यो समूहले पक्षाघात भएका ती मानिसलाई येशूकहाँ कसरी ल्याए होलान्‌, तिमीलाई थाह छ?—

उनीहरूले कसरी ल्याए, यो चित्र हेरेर पनि थाह पाउन सक्छौ। सबैभन्दा पहिले, त्यो समूहले तिनलाई घरको छानामा पुऱ्‍याए। त्यो छाना सम्म परेको थियो। त्यसपछि उनीहरूले त्यो छानामा एउटा ठूलो प्वाल बनाए। अन्तमा पक्षाघात भएका ती मानिसलाई उनीहरूले खाटसमेत त्यहाँबाट तल ओह्राले। उनीहरूको कत्ति ठूलो विश्‍वास, हगि!

यो देखेर त्यहाँ भएका सबै जना छक्क परे। ती पक्षाघात भएका मानिसलाई भीडको बीचमा ओह्रालियो। त्यो समूहको काम देखेर के येशू रिसाउनुभयो?— अहँ, रिसाउनुभएन! उनीहरूको विश्‍वास देखेर उहाँ खुसी हुनुभयो। उहाँले पक्षाघात भएका मानिसलाई भन्‍नुभयो: “तिम्रो पाप क्षमा भयो।”

पक्षाघात भएका मानिसलाई येशूले के गर्न भन्‍नुभयो?

येशूले त्यसो भन्‍नु ठीक होइन भनेर कोही-कोहीले सोचेका थिए। उहाँले पापको क्षमा गर्न सक्नुहुन्छ भन्‍ने तिनीहरूलाई लागेको थिएन। त्यसैकारण आफूले साँच्चै पापको क्षमा गर्न सक्छु भनेर देखाउन येशूले ती मानिसलाई भन्‍नुभयो: “म तिमीलाई भन्छु, उठ, तिम्रो खाट बोक अनि आफ्नो घर जाऊ।”

येशूले यसो भन्‍नुभएपछि ती मानिस निको भए! तिनी अब पक्षाघाती रहेनन्‌। तिनी आफै उभिन र हिंड्‌न सक्ने भए। यो चमत्कार देख्नेहरू छक्क परे। तिनीहरूले आफ्नो जीवनमा यो जत्तिको अचम्मको कुरा कहिल्यै देखेका थिएनन्‌। रोग निको पार्न सक्ने महान्‌ शिक्षक दिनुभएकोमा तिनीहरूले यहोवालाई धन्यवाद चढाए।—मर्कूस २:१-१२.

यो चमत्कारबाट हामीले के सिक्यौं?

यो चमत्कारबाट हामी के सिक्न सक्छौं?— हो, येशूसित पाप क्षमा गर्ने र बिरामीहरूलाई निको पार्ने शक्‍ति छ। तर यो चमत्कारबाट अर्को एउटा कुरा पनि सिक्न सक्छौं जुन एकदमै महत्त्वपूर्ण छ। त्यो हो: पापको कारण मानिसहरू बिरामी पर्छन्‌।

हामी सबै कहिलेकाहीं बिरामी पर्छौं, के यसको मतलब हामी सबै पापी छौं भन्‍ने हो?— हो, हामी सबै पापी भएर जन्मेका छौं भनी बाइबल बताउँछ। पापी भएर जन्मनुको अर्थ के हो, तिमीलाई थाह छ?— त्यसको मतलब हो, हामी सबै नै त्रुटिपूर्ण भएर जन्मेका छौं। त्यसैले त हामी कहिलेकाहीं नचाहँदा-नचाहँदै गल्ती गर्न पुग्छौं। हामी सबै कसरी पापी भयौं, के तिमीलाई थाह छ?—

सुरुको लोग्नेमान्छे आदमले परमेश्‍वरको आज्ञा नमानेकोले नै हामी पापी भएका हौं। परमेश्‍वरको नियम तोडेर तिनले पाप गरे। अनि हामी सबैले आदमबाटै पाप पाएका हौं। तिनको कारण हामी कसरी पापी भयौं, के तिमी भन्‍न सक्छौ? अब म तिमीले बुझ्ने तरिकामा बताउँछु है!

हामी सबै कसरी पापी भयौं?

तिमीले तावामा रोटी बनाउन अरूलाई मदत गरेका छौ होला। तावामा खोपिल्टा छ भने रोटी कस्तो हुन्छ?— तावामा जस्तो खोपिल्टा छ त्यस्तै खोपिल्टा अथवा दाग सबै रोटीमा पनि देखिन्छ नि, होइन र?—

आदम त्यो तावाजस्तै हुन्‌ भने हामीचाहिं त्यो रोटीजस्तै। परमेश्‍वरको नियम तोडेपछि तिनी त्रुटिपूर्ण व्यक्‍ति भए। त्यसको मतलब तिनमा खोपिल्टा परेसरह वा दाग लागेसरह थियो। तिनीबाट जन्मने छोरीछोरी कस्ता हुनेथिए?— तिनका सबै छोराछोरीले तिनको त्यो त्रुटिपूर्ण दाग पाउनेथिए।

धेरैजसो केटाकेटी हात-खुट्टा नै नहुने गरी ठूलो त्रुटिसहित जन्मेका हुँदैनन्‌। तिनीहरूको हात-खुट्टा सबै हुन्छ। तैपनि तिनीहरूमा भएको त्रुटि यति गम्भीर प्रकारको छ कि तिनीहरू बिरामी हुन्छन्‌ र पछि गएर मर्छन्‌।

पक्कै पनि, कोही-कोही मानिस अरूभन्दा धेरै बिरामी हुने गर्छन्‌। किन? तिनीहरू धेरै पापसहित जन्मेकाले हुन्‌ कि?— अहँ, त्यसो होइन। सबै मानिस उत्तिकै पापसहित जन्मेका हुन्छन्‌। हामी सबै त्रुटिपूर्ण छौं। त्यसैले ढिलो-चाँडो कुनै न कुनै रोगले हामीलाई सताउनेछ। परमेश्‍वरको नियम मान्‍न प्रयास गर्ने अनि खासै खराब काम नगर्ने मानिसहरूसमेत बिरामी पर्न सक्छन्‌।

पाप हटेपछि हामीले कस्तो स्वास्थ्य पाउनेछौं?

त्यसोभए कोही-कोही मानिस किन अरूभन्दा धेरै बिरामी हुन्छन्‌?— यसका विभिन्‍न कारण छन्‌। तिनीहरूसित पर्याप्त खानेकुरा नहुन सक्छ। अथवा तिनीहरूले पोषिलो खानेकुरा नखाएका हुन सक्छन्‌। तिनीहरू धेरै केक अनि चकलेट खान्छन्‌ होला। राती ढिलो सुतेर निद्रा नपुगेकोले पनि तिनीहरू बिरामी परेका हुन सक्छन्‌। अथवा जाडोमा बाहिर निस्कँदा तिनीहरूले न्यानो लुगा नलगाएका हुन सक्छन्‌। कसै-कसैको शरीर साह्रै कमजोर हुन्छ, तिनीहरूले आफ्नो हेरविचार गरे तापनि तिनीहरूलाई रोग लाग्न सक्छ।

हामी कहिल्यै बिरामी नहुने समय आउला र? के हामी कहिल्यै पापबाट मुक्‍त हुनेछौं?— येशूले पक्षाघात भएको मानिसलाई के गर्नुभयो?— उहाँले तिनको पाप क्षमा गर्नुभयो र तिनलाई निको पार्नुभयो। यसरी उहाँले असल काम गर्न कडा प्रयास गर्नेहरूका लागि भविष्यमा के गर्नेछु भनेर देखाउनुभयो।

हामी पापी हुन चाहँदैनौं र गलत कुरालाई घृणा गर्छौं भनेर देखाउँछौं भने येशूले हामीलाई निको पार्नुहुनेछ। अहिले हामीमा भएको त्रुटिलाई उहाँले भविष्यमा हटाउनुहुनेछ। परमेश्‍वरको राज्यको राजाको रूपमा उहाँले यसो गर्नुहुनेछ। हाम्रो पाप सबै एकैचोटि हटाइनेछैन, बिस्तारै हटाइनेछ। हाम्रो पाप पूरै हटेपछि चाहिं हामी फेरि कहिल्यै बिरामी पर्नेछैनौं। हामी सबै स्वस्थ हुनेछौं। यो कत्ति खुसीको कुरा हो नि, होइन र?

पापले प्रत्येक व्यक्‍तिलाई कसरी असर गर्छ भन्‍ने विषयमा अझै बुझ्न अय्यूब १४:४; भजन ५१:५; रोमी ३:२३; ५:१२ अनि ६:२३ पढौं।