सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २८

कसको आज्ञा पालन गर्ने भनेर कसरी थाह पाउने

कसको आज्ञा पालन गर्ने भनेर कसरी थाह पाउने

कहिलेकाहीं कसको आज्ञा पालन गर्ने हो, थाह पाउन गाह्रो हुन्छ। आमा वा बुबाले तिमीलाई एउटा कुरा गर्न भन्‍नुहुन्छ होला तर स्कूलका सर-मिस वा प्रहरीले अर्कै कुरा गर्न भन्‍न सक्छन्‌। त्यसो भयो भने तिमी कसको आज्ञा पालन गर्छौ?—

यो किताबको सुरु-सुरुतिर अध्याय ७ छलफल गर्दा हामीले बाइबलबाट एफिसी ६:१-३ पढेका थियौं। त्यस पदमा छोराछोरीले आमाबाबुको आज्ञा पालन गर्नुपर्छ भनेर लेखिएको छ। त्यस पदमा भनिएको छ: “परमेश्‍वरको इच्छाबमोजिम आफ्ना आमाबाबुप्रति आज्ञाकारी होओ।” “परमेश्‍वरको इच्छाबमोजिम” गर्नु भनेको के हो, तिमीलाई थाह छ?— परमेश्‍वरको इच्छाबमोजिम गर्ने आमाबाबुहरू आफ्ना छोराछोरीलाई परमेश्‍वरका नियमहरू पालन गर्न सिकाउँछन्‌।

तर केही वयस्कहरू यहोवामा विश्‍वास गर्दैनन्‌। त्यसैले तिनीहरूमध्ये कसैले ‘जाँचमा चिट चोरे पनि हुन्छ’ वा ‘पैसा नतिरी कुनै पसलबाट सामान सुटुक्क लिए पनि हुन्छ’ भन्छ भने तिमी के गर्छौ?— साना केटाकेटीले चिट चोर्नु वा अरू सामान सुटुक्क लिनु ठीक होला त?—

एक पटक, राजा नबूकदनेसरले सुनको मूर्ति खडा गरेर सबैलाई त्यससामु दण्डवत्‌ गर्न हुकुम गरेको कुरा सम्झ त! शद्रक, मेशेक र अबेद्‌नगोले दण्डवत्‌ गर्न मानेनन्‌। किन, तिमीलाई थाह छ?— किनभने बाइबलले यहोवाको मात्र उपासना गर्नुपर्छ भन्छ।—प्रस्थान २०:३; मत्ती ४:१०.

पत्रुस कैयाफालाई के भन्दैछन्‌?

येशूको मृत्युपछि उहाँका प्रेषितहरूलाई न्यायपरिषद्‌सामु ल्याइयो। न्यायपरिषद्‌ भनेको यहूदीहरूको मुख्य अदातल हो। प्रधान पुजारी कैयाफाले यसो भने: “[येशूको] नाममा सिकाउँदै नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आज्ञा दिएका थियौं तर हेर, तिमीहरूले आफ्नो शिक्षाले सारा यरूशलेम भरिसक्यौ।” प्रेषितहरूले न्यायपरिषद्‌को कुरा किन मानेनन्‌?— सबै प्रेषितका तर्फबाट पत्रुसले कैयाफालाई यस्तो जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”—प्रेषित ५:२७-२९.

त्यतिबेला यहूदीहरूका धर्म-गुरुहरू धेरै प्रभावशाली हुन्थे। तर तिनीहरूको देश रोमी सरकारको अधीनमा थियो। त्यस सरकारको मुख्य व्यक्‍तिलाई सम्राट्‌ भनिन्थ्यो। सम्राट्‌ले आफूहरूमाथि शासन गरेको यहूदीहरूले नचाहे तापनि रोमी सरकारले मानिसहरूका लागि थुप्रै राम्रा कामहरू गरिदिएको थियो। अनि आज पनि विभिन्‍न ठाउँका सरकारले जनताका लागि राम्रा कामहरू गरिदिन्छन्‌। तिनीहरूले के-के काम गरिदिन्छन्‌, तिमीलाई थाह छ?—

यात्रा गर्न सकियोस्‌ भनी सरकारहरूले बाटोघाटो बनाइदिन्छन्‌ अनि हाम्रो सुरक्षाको लागि प्रहरी र आगो निभाउने कामदारहरूलाई पैसा दिन्छन्‌। साना केटाकेटीका लागि स्कूल र बूढाबूढीका लागि स्वास्थ्य सेवाको प्रबन्ध मिलाइदिन्छन्‌। यी सबै कुरा गर्न सरकारले पैसा खर्च गर्नुपर्ने हुन्छ। यसको लागि सरकारले कहाँबाट पैसा पाउँछ, तिमीलाई थाह छ?— हो, मानिसहरूबाट। मानिसहरूले सरकारलाई तिर्ने पैसालाई कर भनिन्छ।

महान्‌ शिक्षक पृथ्वीमा हुँदा थुप्रै यहूदी रोमी सरकारलाई कर तिर्न चाहँदैनथे। त्यसैले एकदिन, येशूलाई फसाउन पुजारीहरूले केही मानिसलाई पैसा दिएर एउटा प्रश्‍न सोध्न लगाए। त्यो प्रश्‍न थियो: ‘हामीले सम्राट्‌लाई कर तिर्नुपर्छ कि पर्दैन?’ त्यो छक्याउने प्रश्‍न थियो। येशूले ‘तिर्नुपर्छ’ भन्‍नुभएको भए थुप्रै यहूदीलाई त्यो मन पर्दैनथ्यो। तर येशूले ‘तिर्नुपर्दैन’ भन्‍न पनि सक्नुहुन्‍नथ्यो। त्यसो भन्‍नु गलत हुनेथियो।

त्यसोभए येशूले के गर्नुभयो? उहाँले भन्‍नुभयो: ‘मलाई एउटा सिक्का देखाओ।’ तिनीहरूले त्यो ल्याएपछि उहाँले सोध्नुभयो: “यसमा कसको चित्र र नाम छ?” तिनीहरूले जवाफ दिए: “सम्राट्‌को।” त्यसपछि येशूले भन्‍नुभयो: “त्यसैले हर हालतमा जे-जे सम्राट्‌का हुन्‌, सम्राट्‌लाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”—लूका २०:१९-२६.

यी मानिसहरूले गरेको छक्याउने प्रश्‍नको जवाफ येशूले कसरी दिनुभयो?

त्यो जवाफमा कसैले पनि गल्ती भेट्टाउन सकेन। सम्राट्‌ले मानिसहरूको सेवा गर्छन्‌ भने तिनले चलनचल्तीमा ल्याएको पैसा तिनले पुऱ्‍याएको सेवाको लागि नै तिर्नु ठीक हुन्छ। यसरी हामीले पाउने सेवाहरूका लागि सरकारलाई कर तिर्नु ठीक हो भनी येशूले देखाउनुभयो।

हुन त तिमी कर तिर्ने उमेरको भइसकेका छैनौ होला। तर तिमीले सरकारलाई दिनुपर्ने एउटा कुरा छ। त्यो के हो, तिमीलाई थाह छ?— सरकारका नियम-कानुनप्रतिको आज्ञाकारिता। बाइबल यसो भन्छ: ‘उच्च अख्तियारवालाहरूको अधीनमा बस।’ यी अख्तियारवालाहरू भनेको सरकारमा भएका मानिसहरू हुन्‌। त्यसैले परमेश्‍वरले नै सरकारका नियमहरू पालन गर्न भन्‍नुहुन्छ।—रोमी १३:१, २.

सडकमा जथाभाबी कागज वा अरू कुरा नफ्याँक्नू भन्‍ने नियम छ होला। के तिमीले त्यो नियम पालन गर्नुपर्छ?— हो, तिमीले पालन गरेको परमेश्‍वर चाहनुहुन्छ। के तिमीले प्रहरीको पनि कुरा मान्‍नुपर्छ?— मानिसहरूको सुरक्षा गर्न प्रहरीलाई सरकारले पैसा दिन्छ। प्रहरीको कुरा मान्‍नु भनेको सरकारको कुरा मान्‍नुसरह हो।

त्यसैले, तिमीले बाटो काट्‌नै लाग्दा एक जना प्रहरीले “पख!” भन्छन्‌ भने तिमीले के गर्नुपर्छ?— अरूले अटेर गरी बाटो काट्‌छन्‌ भने के तिमीले पनि तिनीहरूसँगसँगै बाटो काट्‌नु हुन्छ?— होइन, तिमीले पर्खनुपर्छ, चाहे तिमी एक्लै किन नहोस्‌! परमेश्‍वर तिमीलाई प्रहरीको कुरा मान भन्‍नुहुन्छ।

तिम्रो घर वरिपरि समस्या भएकोले एक जना प्रहरीले यसो भन्‍न सक्छन्‌: “घरबाहिर ननिस्कनू! सडकहरूमा नजानू!” तर मानिसहरूको होहल्ला सुन्दा के भयो भनेर जान्‍न तिमीलाई सकसक लाग्न सक्छ। के तिमी बाहिर निस्कनु हुन्छ?— त्यसो गर्दा के “उच्च अख्तियारवालाहरूको” कुरा मानेको हुन्छ?—

थुप्रै ठाउँमा, सरकारले स्कूल बनाइदिन्छ र त्यहाँ पढाउने शिक्षकहरूलाई पैसा पनि दिन्छ। त्यसोभए तिमीले सर-मिसको कुरा मानेको परमेश्‍वर चाहनुहुन्छ त?— त्यसबारे सोच! मानिसहरूको सुरक्षा गर्न प्रहरीलाई पैसा दिएझैं तिमीलाई पढाउने सर-मिसलाई पनि सरकारले पैसा दिन्छ। त्यसैले चाहे प्रहरी होस्‌ वा सर-मिस, उनीहरूको कुरा मान्‍नु भनेको सरकारको कुरा मान्‍नुसरह हो।

हामीले प्रहरीको कुरा किन मान्‍नुपर्छ?

तर सर-मिसले तिमीलाई कुनै मानिसको वा कुनै वस्तुको प्रतिमा वा फोटोको पूजा गर्नै पर्छ भन्छन्‌ भने नि? तिमी के गर्छौ?— राजा नबूकदनेसरले हुकुम गर्दासमेत तीन जना हिब्रूले मूर्तिलाई दण्डवत्‌ गर्न मानेनन्‌। किन तिमीलाई सम्झना छ?— किनभने तिनीहरू परमेश्‍वरको आज्ञा तोड्‌न चाहँदैनथे।

इतिहासकार विल डुरान्टले सुरु-सुरुका ख्रीष्टियनहरूबारे लेखे र उनीहरू ‘सम्राट्‌प्रति पूर्णतया वफादार थिएनन्‌’ भनी बताए। उनीहरू यहोवाप्रति पूर्णतया वफादार थिए। त्यसैले परमेश्‍वरलाई जीवनमा सबैभन्दा अगाडि राख्नुपर्छ भनेर नबिर्स है!

हामी सरकारको आज्ञा पालन गर्छौं किनभने परमेश्‍वर हामीले त्यसो गरेको चाहनुहुन्छ। तर परमेश्‍वरले गर्नु हुन्‍न भन्‍नुभएको कुरा कसैले गर्न भन्छ भने हामीले के गर्नुपर्छ?— प्रेषितहरूले प्रधान पुजारीलाई भनेकै कुरा भन्‍नुपर्छ: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”—प्रेषित ५:२९.

नियम-कानुनको आदर गर्नुपर्छ भनी बाइबलमा सिकाइएको छ। मत्ती ५:४१; तीतस ३:१ अनि १ पत्रुस २:१२-१४ मा के लेखिएको छ पढौं है!