सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ३१

सान्त्वना कहाँ पाउने

सान्त्वना कहाँ पाउने

के तिमीले कहिल्यै निराश वा एक्लो महसुस गरेका छौ?— ‘मलाई कसले माया गर्छ र!’ भन्‍ने लागेको छ कि?— कोही-कोही केटाकेटीलाई त्यस्तै लाग्छ। तर परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “मता तँलाई बिर्सन सक्दिनँ।” (यशैया ४९:१५) कत्ति राम्रो कुरा, हगि!— हो, यहोवा परमेश्‍वर हामीलाई साँच्चै माया गर्नुहुन्छ!

हराएको यो सानो भेडालाई कस्तो लागिरहेको होला?

बाइबलका एक लेखकले भने: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्‌, तर परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।” (भजन २७:१०) यसले हामीलाई निकै सान्त्वना दिन्छ नि, होइन र?— हो, यहोवा हामीलाई यसो भन्‍नुहुन्छ: “नडरा, किनकि म तँसित छु . . . म तँलाई सहायता गर्नेछु।”—यशैया ४१:१०.

तर कहिलेकाहीं यहोवाले सैतानलाई हामीमाथि समस्या ल्याउन दिनुहुन्छ। उहाँ त्यसलाई आफ्ना सेवकहरूको परीक्षासमेत गर्न दिनुहुन्छ। दियाबलले एक पटक येशूलाई साह्रै दुःख दियो। त्यसैले उहाँले यहोवालाई यसरी पुकार्नुभयो: “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभयो?” (मत्ती २७:४६) आफूले दुःख भोग्दै गरे तापनि यहोवाले माया गर्न छोड्‌नुभएको छैन भनी येशूलाई थाह थियो। (यूहन्‍ना १०:१७) तर परमेश्‍वरले सैतानलाई आफ्ना सेवकहरूको परीक्षा गर्न र तिनीहरूलाई सताउन दिनुहुन्छ भनेर पनि उहाँलाई थाह थियो। परमेश्‍वरले सैतानलाई किन यसो गर्न दिनुहुन्छ भन्‍नेबारे हामी अर्को अध्यायमा सिक्नेछौं।

सानो भएकोले हामी कहिलेकाहीं डराउने गर्छौं। उदाहरणका लागि के तिमी कहिल्यै हराएका छौ?— के तिमी त्यतिबेला डराएका थियौ?— धेरैजसो केटीकेटी डराउँछन्‌। एकचोटि येशूले एउटा कथा बताउनुभयो। त्यस कथामा कुनै बच्चा नभई एउटा भेडा हराएको थियो।

तिमी र सोझो भेडाबीच कुनै-कुनै कुरा मिल्दोजुल्दो छ। ती के-के हुन्‌, तिमीलाई थाह छ? भेडाहरू एकदमै ठूला वा बलिया हुँदैनन्‌। तिनीहरूको हेरचाह अनि सुरक्षा गर्न कोही मानिस चाहिन्छ। भेडाहरूको हेरचाह गर्ने मानिसलाई गोठालो भनिन्छ।

येशूले आफ्नो कथामा एक जना गोठालोबारे बताउनुभयो। ती गोठालोका सयवटा भेडा थिए। तर एउटा भेडा हरायो। त्यो भेडा डाँडाको अर्कोतिर गएको हुन सक्छ। तर चाँडै चालै नपाई त्यो भेडा बगालबाट निकै टाढा पुग्छ। वरिपरि हेर्दा कोही पनि नदेखेपछि त्यो भेडालाई कस्तो लाग्यो होला, के तिमी कल्पना गर्न सक्छौ?—

त्यो भेडा हराएको थाह पाएपछि गोठालोले के गर्ने थिए? ‘किन यताउता बरालिनु परेको!’ भन्दै त्यसको चिन्ता गर्दैनथे कि? अथवा ९९ वटा भेडालाई सुरक्षित ठाउँमा राखेर त्यो एउटा भेडालाई खोज्न हिंड्‌थे? जाबो एउटा भेडाको लागि त्यति ठूलो कदम चाल्नुपर्थ्यो होला र?— तिमी त्यो हराएको भेडा भएको भए गोठालोले तिमीलाई खोजेको चाहन्थ्यौ कि चाहँदैनथ्यौ, भन त!—

को आफ्नो भेडालाई बचाउने गोठालोजस्तै हुनुहुन्छ?

गोठालोले आफ्ना सबै भेडालाई उत्तिकै माया गर्थे, त्यो हराएको भेडालाई पनि। त्यसैले तिनी त्यो हराएको भेडालाई खोज्न हिंडे। गोठालो आफूतिर आइरहेको देख्दा त्यो भेडा कत्ति खुसी भयो होला, सोच त! अनि हराएको भेडा भेट्टाउँदा ती गोठालो पनि रमाए भनी येशूले बताउनुभयो। बाँकी ९९ वटा भेडाका लागि भन्दा पनि ती गोठालोले त्यो हराएको भेडाको लागि रमाहट गरे। येशूको कथाका ती गोठालोजस्तै को हुनुहुन्छ? ती गोठालोले आफ्नो भेडाको हेरचाह गरे जत्तिकै हाम्रो हेरचाह कसले गर्नुहुन्छ?— येशूले भन्‍नुभयो, स्वर्गमा बस्नुहुने उहाँको बुबाले। अनि उहाँको बुबा यहोवा हुनुहुन्छ।

यहोवा परमेश्‍वर आफ्ना मानिसहरूको महान्‌ गोठालो हुनुहुन्छ। उहाँको सेवा गर्ने सबैलाई उहाँ माया गर्नुहुन्छ, तिमीजस्तो साना केटाकेटीलाई समेत। हामीमध्ये कसैलाई पनि हानि पुगेको वा हामीमध्ये कोही पनि नाश भएको उहाँ चाहनुहुन्‍न। परमेश्‍वरले हाम्रो त्यत्ति धेरै हेरचाह गर्नुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी कुरा, हगि!—मत्ती १८:१२-१४.

तिम्रा बुबा वा अरू कुनै मानिसजस्तै यहोवा पनि वास्तविक हुनुहुन्छ जस्तो तिमीलाई लाग्छ?

के तिमी यहोवा परमेश्‍वरमा साँच्चै विश्‍वास गर्छौ?— के तिमीलाई उहाँ वास्तविक व्यक्‍ति हुनुहुन्छ जस्तो लाग्छ?— हो, हामी उहाँलाई देख्न सक्दैनौं। किनभने उहाँ अदृश्‍य हुनुहुन्छ। तैपनि उहाँ वास्तविक व्यक्‍ति हुनुहुन्छ अनि हामीलाई देख्न सक्नुहुन्छ। हामीलाई कतिखेर मदत चाहिन्छ, उहाँलाई थाह छ। अनि पृथ्वीमा अरू मानिससित कुरा गरेजस्तै हामी उहाँसित प्रार्थनामा कुरा गर्न सक्छौं। हामीले त्यसरी कुरा गरेको यहोवालाई मनपर्छ।

त्यसैले दुःखी अनि एक्लो महसुस हुँदा तिमीले के गर्नुपर्छ?— यहोवासित कुरा गर्नुपर्छ। उहाँसित नजिक होऊ अनि उहाँले तिमीलाई सान्त्वना र मदत दिनुहुनेछ। ‘मेरो कोही छैन, म एक्लो छु’ भन्‍ने महसुस हुँदासमेत यहोवा तिमीलाई माया गर्नुहुन्छ भनेर सम्झ। अब हामी आफ्नो बाइबल पल्टाऔं है! भजन २३ को देखि पढ्‌दै जाने हो भने यस्तो लेखिएको पाउँछौं: ‘परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन। उहाँले मलाई हरियो चौरमा सुताउनुहुन्छ। उहाँले मलाई सुख-चैनको पानीनेर डोऱ्‍याउनुहुन्छ।’

सोही लेखक पद ४ मा के लेख्छन्‌, याद गर त: “घोर अन्धकारमा मैले हिंड्‌नुपरे तापनि, म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लौरो, तिनैले मलाई सान्त्वना दिन्छन्‌।” यहोवालाई आफ्नो परमेश्‍वर मान्‍नेहरू यस्तै महसुस गर्छन्‌। समस्यामा पर्दा तिनीहरू सान्त्वना पाउँछन्‌। के तिमी पनि त्यस्तै महसुस गर्छौ?—

मायालु गोठालोले आफ्नो बगालको हेरचाह गरेझैं यहोवा आफ्ना मानिसहरूको राम्ररी हेरचाह गर्नुहुन्छ। तिनीहरू हिंड्‌नुपर्ने सही बाटो कुन हो, त्यो उहाँ देखाउनुहुन्छ। अनि तिनीहरू खुसीसाथ उहाँको पछि-पछि लाग्छन्‌। आफू वरपर समस्या हुँदासमेत तिनीहरू डराउनुपर्ने कारण छैन। अरू जनावरले हानि गर्न खोज्दा गोठालोले आफ्नो भेडालाई जोगाउन लट्ठी वा लौरो प्रयोग गर्छन्‌। जवान गोठालो दाऊदले आफ्नो भेडालाई सिंह र भालुबाट कसरी बचाए भन्‍नेबारे बाइबलमा बताइएको छ। (१ शमूएल १७:३४-३६) अनि यहोवाले पनि आफ्ना जतिलाई बचाउनुहुनेछ भनेर उहाँका मानिसहरूलाई थाह छ। परमेश्‍वर आफ्नो साथमा हुनुभएकोले तिनीहरू सुरक्षित महसुस गर्छन्‌।

आफ्नो भेडाको सुरक्षा गर्ने गोठालोले जस्तै हामीलाई समस्या पर्दा कसले मदत गर्न सक्नुहुन्छ?

यहोवा साँच्चै नै आफ्ना भेडा खाले नम्र मानिसहरूलाई माया गर्नुहुन्छ र तिनीहरूको मायालु हेरचाह गर्नुहुन्छ। बाइबल यसो भन्छ: ‘उहाँले आफ्नो भेडालाई गोठालोले झैं चराउनुहुनेछ। उहाँले पाठोहरूलाई आफ्नै अंगालोमा लिनुहुनेछ।’—यशैया ४०:११.

यहोवा यस्तो हुनुहुन्छ भन्‍ने थाह पाउँदा के तिमीलाई खुसी लाग्दैन?— के तिमी पनि उहाँका भेडाहरूमध्ये हुन चाहन्छौ?— भेडाले आफ्नो गोठालोको सोर सुन्छ। तिनीहरू आफ्नो गोठालोको नजिक रहिरहन्छन्‌। के तिमी यहोवाको कुरा सुन्छौ?— के तिमी उहाँको नजिक रहिरहन्छौ?— त्यसो हो भने तिमी डराउनुपर्दैन। यहोवा तिम्रो साथमा हुनुहुन्छ।

यहोवाले उहाँको सेवा गर्नेहरूको मायालु हेरचाह गर्नुहुन्छ। यसबारे बाइबलले भजन ३७:२५; ५५:२२ अनि लूका १२:२९-३१ मा के बताउँछ, हामी सँगै पढौं है!