सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ३३

येशू हामीलाई बचाउन सक्नुहुन्छ

येशू हामीलाई बचाउन सक्नुहुन्छ

तिमीलाई येशू कस्तो हुनुहुन्छ जस्तो लाग्छ? शक्‍तिशाली राजा कि केही गर्न नसक्ने बच्चा?

आफूलाई सानो छँदा कसरी बचाइयो भन्‍ने कुरा थाह पाएपछि येशूले के यहोवालाई प्रार्थना गरेर धन्यवाद भन्‍नुभयो?— मरियम र यूसुफले मिश्र लगेर आफूलाई बचाएको कुरा थाह पाएपछि येशूले तिनीहरूलाई के भन्‍नुभयो होला?—

पक्कै पनि, येशू अहिले बालक हुनुहुन्‍न। पहिलाजस्तै उहाँले अहिले पृथ्वीमा जीवन बिताइरहनुभएको छैन। तर आजकल कोही-कोही मानिसले येशूलाई डुँडमा राखिएको बच्चाको रूपमा मात्र हेर्छन्‌, के तिमीले यो कुरा याद गरेका छौ?— क्रिसमसको समयतिर तिमी यस्तो कुरा देख्न सक्छौ। त्यतिबेला थुप्रै ठाउँमा बच्चा बेलाको येशूको चित्र राखिएको हुन्छ।

येशू अहिले पृथ्वीमा नभए तापनि जीवित हुनुहुन्छ भनेर के तिमी विश्‍वास गर्छौ?— हो, उहाँलाई मृत्युबाट ब्यूँताइयो र अहिले उहाँ स्वर्गमा एक शक्‍तिशाली राजा हुनुहुन्छ। आफ्नो सेवा गर्नेहरूलाई बचाउन उहाँ के-के गर्न सक्नुहुन्छ?— आफूलाई माया गर्ने व्यक्‍तिहरूलाई ‘बचाउन सक्छु’ भनेर येशूले पृथ्वीमा छँदा देखाउनुभयो। एक दिन आफ्ना चेलाहरूसित डुङ्‌गामा यात्रा गर्दा उहाँले कसरी तिनीहरूलाई बचाउनुभयो हामी हेरौं है!

साँझ पर्नै आँटेको छ। येशूले गालील समुद्रको किनारतिर सिकाउनुभएको दिनभरि भइसक्यो। यो समुद्र खासमा एउटा ताल हो। यो झन्डै २० किलोमिटर लामो र १२ किलोमिटर चौडा छ। अब येशू आफ्ना चेलाहरूलाई यसो भन्‍नुहुन्छ: “आओ, हामी तालपारि जाऔं।” यसरी उहाँहरू डुङ्‌गा चढेर जानुहुन्छ। येशू एकदमै थाक्नुभएको छ। त्यसैले डुङ्‌गाको पछिल्तिर सिरानी हालेर पल्टिनुहुन्छ र निदाइहाल्नुहुन्छ।

बतास र छाललाई येशू के भन्दै हुनुहुन्छ?

डुङ्‌गा यताउता जान नदिन चेलाहरू ननिदाई जागा रहन्छन्‌। एकछिन त केही पनि हुँदैन, तर पछि ठूलो बतास चल्छ। अनि बतास झन्‌-झनै जोडले चल्न थाल्छ र छाल पनि ठूलठूलो हुँदै जान्छ। छाल उर्लेर डुङ्‌गामा हान्‍न थाल्छ र डुङ्‌गा पानीले भरिन थाल्छ।

अब डुब्ने भइयो भनेर चेलाहरू डराउँछन्‌। तर येशू डराउनुहुन्‍न। डुङ्‌गाको पछिल्तिर उहाँ अझै निदाइरहनुभएको छ। अन्तमा, चेलाहरूले उहाँलाई उठाएर भन्छन्‌: ‘गुरुज्यू, गुरुज्यू, हामीलाई बचाउनुहोस्‌। हामी यो तुफानमा मर्नै आँट्यौं!’ तब उठेर येशूले बतास र छाललाई यसो भन्‍नुहुन्छ: “चुप लाग्‌! शान्त भइजा!”

बतास तुरुन्तै थामिन्छ र ताल शान्त हुन्छ। चेलाहरू तीनछक पर्छन्‌। यस्तो तिनीहरूले पहिला कहिल्यै देखेका छैनन्‌। तिनीहरू आपसमा यसो भन्‍न थाल्छन्‌: “यिनी साँच्चै को हुन्‌, किनकि बतास र समुद्रले समेत यिनले आज्ञा गर्दा मान्दा रहेछन्‌?”—लूका ८:२२-२५; मर्कूस ४:३५-४१.

येशू को हुनुहुन्छ, तिमीलाई थाह छ?— उहाँले त्यस्तो महान्‌ शक्‍ति कहाँबाट पाउनुहुन्छ, भन्‍न सक्छौ?— येशू आफ्नो साथमा हुँदा चेलाहरू डराउनुपर्ने थिएन किनभने उहाँ सामान्य व्यक्‍ति हुनुहुन्‍न। अरू कोही पनि मानिसले गर्न नसक्ने अचम्म-अचम्मका कुरा उहाँ गर्न सक्नुहुन्छ। अर्को एकचोटि तुफानी समुद्रमा उहाँले के गर्नुभयो, म तिमीलाई बताउँछु है!

यो केही समयपछिको अर्थात्‌ अर्कै दिनको कुरा हो। साँझ परेपछि उहाँले चेलाहरूलाई डुङ्‌गा चढेर समुद्रको अर्को छेउमा गइराख भन्‍नुहुन्छ। उहाँचाहिं एक्लै डाँडामा उक्लनुहुन्छ। त्यहाँ सुनसान भएकोले उहाँ आफ्नो बुबा यहोवा परमेश्‍वरलाई प्रार्थना गर्नुहुन्छ।

चेलाहरू डुङ्‌गा चढेर समुद्री यात्रा सुरु गर्छन्‌। तर चाँडै बतास चल्न थाल्छ। बतास झन्‌-झनै बेस्सरी चल्न थाल्छ। रात निकै छिप्पिसकेको छ। अनि तिनीहरूले डुङ्‌गाको पाल तल झार्छन्‌ र खियाउन थाल्छन्‌। तर तिनीहरू अघि बढ्‌नै सक्दैनन्‌ किनभने अघिल्तिरबाट जोडले बतास चलिरहेको छ। छालले डुङ्‌गालाई यताउता हल्लाइरहेको छ र पानी छचल्किएर भित्र पसिरहेको छ। किनारमा पुग्न चेलाहरू निकै कोसिस गर्छन्‌ तर सक्दैनन्‌।

येशू अझै पनि डाँडामा एक्लै हुनुहुन्छ। उहाँ त्यहाँ बसेको निकै बेर भइसक्यो। ठूलो छालको कारण आफ्ना चेलाहरू खतरामा परेको अब उहाँले देख्नुहुन्छ। त्यसैले उहाँ डाँडाबाट ओर्लेर समुद्र किनारमा जानुहुन्छ। येशू आफ्ना चेलाहरूलाई बचाउन चाहनुहुन्छ। त्यसैले उहाँ तुफानी समुद्रमा हिंड्‌दै तिनीहरूतर्फ जानुहुन्छ!

मलाई भन त, पानीमा हिंड्‌न खोज्यौ भने तिमीलाई के हुन्छ?— हो, तिमी डुबेर मर्न सक्छौ। तर येशू फरक हुनुहुन्छ। उहाँसित विशेष शक्‍ति छ। डुङ्‌गा धेरै पर पुगिसकेकोले येशू पानी माथि-माथि हिंड्‌दै जानुहुन्छ। चेलाहरूले येशू पानीमा हिंडेर आफूतिर आइरहेको देख्दा झिसमिसे बिहान भइसकेको हुन्छ। तर आफूले देखेको कुरामा तिनीहरू विश्‍वास गर्नै सक्दैनन्‌। तिनीहरू डराएर कराउन थाल्छन्‌। अनि येशूले तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “साहस गर, मै हुँ, नडराओ।”

येशूले किन चमत्कारहरू गर्नुभयो?

येशू डुङ्‌गामा चढ्‌नुभएपछि तुरुन्तै आँधी रोकिन्छ। चेलाहरू फेरि पनि छक्क पर्छन्‌। तिनीहरू येशूलाई दण्डवत्‌ गर्दै यसो भन्छन्‌: “तपाईं साँच्चै परमेश्‍वरको छोरा हुनुहुँदो रहेछ।”—मत्ती १४:२२-३३; यूहन्‍ना ६:१६-२१.

त्यतिबेला येशूले गरेका कामहरू तिमी आफैले हेर्न पाएको भए कत्ति रमाइलो हुन्थ्यो, हगि?— येशूले किन ती चमत्कारहरू गर्नुभयो, तिमीलाई थाह छ?— किनभने उहाँ आफ्ना चेलाहरूलाई माया गर्नुहुन्थ्यो र तिनीहरूलाई मदत गर्न चाहनुहुन्थ्यो। साथै आफूसित भएको महान्‌ शक्‍ति देखाउन र त्यो शक्‍ति भविष्यमा परमेश्‍वरको राज्यको शासकको रूपमा चलाउनुहुनेछ भनेर देखाउन पनि उहाँले ती चमत्कारहरू गर्नुभयो।

आज आफ्ना अनुयायीहरूलाई येशू कसरी सुरक्षा दिनुहुन्छ?

सैतानले येशूका अनुयायीहरूलाई अर्थात्‌ उहाँको पछि लाग्नेहरूलाई परमेश्‍वरको राज्यबारे अरूलाई बताउनदेखि रोक्न खोज्दा आज पनि उहाँले उनीहरूलाई सुरक्षा दिन आफ्नो शक्‍ति चलाउनुहुन्छ। तर आफ्ना अनुयायीहरूलाई बिरामी पर्न नदिन वा उनीहरू बिरामी पर्दा निको पार्न येशू आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्‍न। येशूका सबै प्रेषित अन्तमा मरे। यूहन्‍नाका दाइ याकूबको हत्या गरियो र यूहन्‍नालाई झ्यालखानामा हालियो।—प्रेषित १२:२; प्रकाश १:९.

आज पनि कुरा त्यस्तै हो। मानिसहरूले यहोवाको सेवा गरून्‌ वा नगरून्‌ तिनीहरू सबै बिरामी पर्छन्‌ र मर्छन्‌। तर चाँडै नै परमेश्‍वरको सरकारको राजा येशूले शासन गर्दा सबै कुरा भिन्‍न हुनेछ। त्यसपछि कोही पनि कहिल्यै डराउनुपर्ने छैन किनभने येशूको आज्ञा पालन गर्ने सबैको लाभको लागि उहाँले आफ्नो शक्‍ति प्रयोग गर्नुहुनेछ।—यशैया ९:६, ७.

परमेश्‍वरले आफ्नो राज्यको शासक छान्‍नुभएको येशूसित धेरै शक्‍ति छ भनेर देखाउने अरू पद यसप्रकार छन्‌: दानियल ७:१३, १४; मत्ती २८:१८ अनि एफिसी १:२०-२२.