सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ३८

हामीले येशूलाई किन प्रेम गर्नुपर्छ

हामीले येशूलाई किन प्रेम गर्नुपर्छ

कल्पना गर, तिमी डुब्नै लागेको एउटा डुङ्‌गामा छौ। कोही आएर बचाएको तिमी चाहँदैनौं र?— तिमीलाई बचाउन कसैले आफ्नो ज्यान दियो भने नि?— येशू ख्रीष्टले त्यस्तै गर्नुभयो। अध्याय ३७ मा सिकेझैं हामीलाई बचाउन उहाँले आफ्नो जीवन फिरौतीको रूपमा दिनुभयो।

पक्कै पनि येशूले हामीलाई डुब्नुभन्दा नि अझै ठूलो खतराबाट बचाउनुभएको छ। उहाँले हामीलाई केबाट बचाउनुभएको छ, तिमीलाई सम्झना छ?— हो, आदमबाट हामी सबैले पाएको पाप र मृत्युबाट। कोही-कोही मानिसले एकदमै खराब काम गरेका छन्‌। तैपनि येशू तिनीहरूका लागि मर्नुभयो। के तिमी त्यस्ता मानिसहरूलाई बचाउन आफ्नो ज्यान जोखिममा हाल्छौ?—

बाइबल भन्छ: ‘भला मानिसको निम्ति ज्यान दिन हिम्मत गर्ने कोही निस्के तापनि कर्तव्य पालन गर्ने मानिसको निम्ति आफ्नो ज्यान दिने सायदै कोही होला।’ तैपनि येशू “अभक्‍त मानिसहरूको निम्ति” मर्नुभयो भनी बाइबल बताउँछ। त्यसमा परमेश्‍वरको सेवा नगर्नेहरू समेत पर्छन्‌! बाइबल अझै यसो भन्छ: “हामी पापी छँदै [अर्थात्‌ हामीले खराब काम गर्दा नै] ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो।”—रोमी ५:६-८.

पहिला एकदमै खराब काम गरेका एक जना प्रेषित को हुन्‌, तिमीलाई थाह छ?— तिनले यस्तो लेखे: “ख्रीष्ट येशू यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो। यिनीहरूमध्ये मचाहिं मुख्य हुँ।” त्यसो भन्‍ने प्रेषित, पावल हुन्‌। तिनले कुनै समय आफूलाई “अबुझ” र “खराबी” गर्ने मानिस भनी बताए।—१ तिमोथी १:१५; तीतस ३:३.

परमेश्‍वरले त्यस्ता मानिसहरूका लागि आफ्नो छोरा मर्न पठाउनुभयो। परमेश्‍वर कत्ति मायालु हुनुहुन्छ, सोच त! यसबारे बुझ्न, हामी बाइबल खोलेर यूहन्‍ना अध्याय ३ को पद १६ पढौं है! यहाँ यस्तो लेखिएको छ: “परमेश्‍वरले संसारलाई [अर्थात्‌ पृथ्वीमा बस्ने मानिसहरूलाई] यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।”

हाम्रो लागि जीवन दिंदा येशूले के-कस्तो दुःखकष्ट भोग्नुभयो?

यहोवाले जस्तै आफूले पनि मानिसहरूलाई प्रेम गरेको कुरा येशूले देखाउनुभयो। येशू पक्राउ परेको रात उहाँले के-कस्तो दुःख भोग्नुभयो, त्यसबारे हामीले अध्याय ३० मा पढेका थियौं। उहाँलाई मुख्य पुजारी कैयाफाको घरमा लगिएको थियो। त्यहाँ येशूविरुद्ध मुद्दा चलाइयो। झूटा साक्षीहरू ल्याइए जसले येशूबारे गलत कुरा बोले र मानिसहरूले उहाँलाई मुक्का हाने। अनि त्यति नै बेला पत्रुसले येशूलाई चिनेको छैन भने। अब कल्पना गर, हामी पनि त्यहीं छौं र अरू के-के हुन्छ हेर्दैछौं!

बिहान हुन्छ। येशू रातभरि सुत्नुभएको छैन। राती उहाँविरुद्ध चलाइएको मुद्दा कानुनबमोजिम थिएन। त्यसैले पुजारीहरूले तुरुन्तै न्यायपरिषद्‌ वा यहूदीहरूको महासभा बोलाउँछन्‌ र उहाँविरुद्ध अर्को मुद्दा चलाउँछन्‌। फेरि पनि, परमेश्‍वरविरुद्ध येशूले अपराध गरेको अभियोग तिनीहरूले लगाउँछन्‌।

त्यसपछि पुजारीहरूले येशूलाई बाँधेर रोमी राज्यपाल पिलातसकहाँ लान्छन्‌। तिनीहरूले पिलातसलाई भन्छन्‌: ‘येशू सरकारविरुद्ध खडा छ। उसलाई मार्नुपर्छ।’ तर पुजारीहरूले झूटो बोलिरहेका छन्‌ भनी पिलातसले बुझ्छन्‌। त्यसैले पिलातसले तिनीहरूलाई यसो भन्छन्‌: ‘मैले यस मानिसमा केही खराबी फेला पारिनँ। त्यसैले म उसलाई छोडिदिन्छु।’ तर पुजारीहरू र अरू यसो भनेर कराउँछन्‌: ‘होइन, उसलाई मार्नुपर्छ!’

येशूलाई छोडिदिन्छु भनेर पिलातस मानिसहरूलाई फेरि बताउन खोज्छन्‌। तर पुजारीहरूले भीडलाई यसो भनेर कराउन लगाउँछन्‌: ‘यदि तपाईंले यस मानिसलाई मुक्‍त गर्नुहुन्छ भने तपाईं पनि सरकारविरुद्ध हुनुहुन्छ! उसलाई मार्नै पर्छ!’ भीड एकदमै कराउन थाल्छ। पिलातस के गर्छन्‌, तिमीलाई थाह छ?—

दबाबमा परेर तिनी हार मान्छन्‌। पहिला तिनी येशूलाई कोर्रा लगाउने आदेश दिन्छन्‌। त्यसपछि उहाँलाई मार्न सिपाहीहरूको हातमा सुम्पिदिन्छन्‌। तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको शिरमा पहिराइदिन्छन्‌ र उहाँसामु घुँडा टेकेर गिज्याउँछन्‌। त्यसपछि येशूलाई एउटा ठूलो खम्बा बोक्न लगाएर खप्पर भन्‍ने ठाउँमा लान्छन्‌। त्यहाँ पुगेपछि तिनीहरूले येशूलाई त्यो खम्बामा राखेर हातखुट्टामा किला ठोक्छन्‌। त्यसपछि खम्बालाई ठाडो पारेर येशूलाई झुन्ड्याउँछन्‌। उहाँको रगत बगिरहेको छ। उहाँलाई असह्‍य पीडा भइरहेको छ।

येशू तुरुन्तै मर्नुहुन्‍न। उहाँ त्यही खम्बामा झुन्डिरहनुहुन्छ। मुख्य पुजारीहरूले उहाँको खिसी गर्छन्‌। त्यो बाटोमा हिंड्‌नेहरूले भन्छन्‌: “तँ परमेश्‍वरको छोरा होस्‌ भने यातनाको खम्बाबाट ओर्लेर आइज!” तर बुबाले आफूलाई केको लागि पठाउनुभएको हो, येशूलाई थाह छ। अरूलाई अनन्त जीवनको मौका दिने हो भने आफूले त्रुटिरहित जीवन दिनै पर्छ भनी येशूलाई थाह छ। अन्तमा दिउँसो तीन बजेतिर येशू आफ्ना बुबालाई पुकार्नुहुन्छ र मर्नुहुन्छ।—मत्ती २६:३६–२७:५०; मर्कूस १५:१; लूका २२:३९–२३:४६; यूहन्‍ना १८:१–१९:३०.

येशू आदमभन्दा कत्ति भिन्‍न हुनुहुन्थ्यो! आदमले परमेश्‍वरप्रति प्रेम देखाएनन्‌। तिनले परमेश्‍वरको आज्ञा पालन गरेनन्‌। न त आदमले हामीप्रति नै प्रेम देखाए। तिनले पाप गरेको कारण हामी सबै पापसहित जन्मेका छौं। तर येशूले परमेश्‍वर र हामीप्रति प्रेम देखाउनुभयो। उहाँले परमेश्‍वरको आज्ञा पालन गर्नुभयो। अनि आदमका कारण हामीलाई भएको हानि हटाउन आफ्नो जीवन दिनुभयो।

येशूलाई प्रेम गर्छौं भनी देखाउन हामी के गर्न सक्छौं?

येशूको त्यो महान्‌ कामको लागि के तिमी उहाँलाई धन्यवाद भन्छौ?— परमेश्‍वरलाई प्रार्थना गर्दा के तिमी उहाँलाई आफ्नो छोरा दिनुभएकोमा धन्यवाद भन्छौ?— प्रेषित पावलले आफ्नो लागि ख्रीष्टले गरेको कामको मोल गरे। परमेश्‍वरको छोराले “मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो” भनी तिनले बताए। (गलाती २:२०) येशू तिम्रो र मेरो लागि पनि मर्नुभयो। हामीले अनन्त जीवन पाओस्‌ भनेर उहाँले आफ्नो त्रुटिरहित जीवन दिनुभयो। हामीले येशूलाई प्रेम गर्नुपर्ने पक्कै पनि यो एउटा राम्रो कारण हो।

कोरिन्थका ख्रीष्टियनहरूलाई प्रेषित पावलले यस्तो लेखे: “ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ।” उहाँको प्रेमले हामीलाई के गर्न बाध्य पार्छ?— पावलले दिएको यो जवाफ याद गर: ‘ख्रीष्ट सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्‌।’—२ कोरिन्थी ५:१४, १५.

ख्रीष्टलाई खुसी पार्न बाँचिरहेका छौ भनी तिमी कुन-कुन तरिकामा देखाउन सक्छौ?— एउटा तरिका उहाँबारे सिकेको कुरा अरूलाई बताउनु हो। अथवा यसबारे सोच त: तिमी एक्लै छौ। तिम्रो आमा वा बुबाले तिमी के गर्दैछौ त्यो देख्न सक्नुहुन्‍न न त अरू कुनै मानिसले नै देख्न सक्छ। त्यतिबेला के तिमी येशूलाई मन नपर्ने टिभी कार्यक्रम वा इन्टरनेटका साइटहरू हेर्छौ?— येशू अहिले जीवित हुनुहुन्छ र हामीले गर्ने हरेक कुरा देख्न सक्नुहुन्छ भनी नबिर्स!

हामीले गर्ने सबै काम कसले देख्न सक्नुहुन्छ?

हामी यहोवाको नक्कल गर्न चाहन्छौं। त्यसैले पनि हामीले येशूलाई प्रेम गर्नुपर्छ। ‘बुबाले मलाई प्रेम गर्नुहुन्छ’ भनी येशूले भन्‍नुभयो। यहोवाले येशूलाई किन प्रेम गर्नुहुन्छ र हामीले पनि येशूलाई किन प्रेम गर्नुपर्छ, तिमीलाई थाह छ?— किनभने परमेश्‍वरको इच्छा पूरा होस्‌ भनी उहाँ मर्न तयार हुनुभयो। (यूहन्‍ना १०:१७) त्यसैकारण बाइबलले भनेको यो कुरा हामी गरौं: “प्यारा केटाकेटीहरूझैं परमेश्‍वरको देखासिकी गर्नेहरू होओ, अनि जसरी ख्रीष्टले तिमीहरूलाई प्रेम गर्नुभयो र तिमीहरूको निम्ति आफूलाई . . . अर्पण गर्नुभयो, त्यसरी नै तिमीहरू पनि प्रेमको बाटोमा हिंडिरहो।”—एफिसी ५:१, २.

येशू र उहाँले हाम्रो लागि गरेको कामप्रति अझै धन्यवादी हुन यूहन्‍ना ३:३५; १५:९, १० अनि १ यूहन्‍ना ५:११, १२ पढौं।