सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ४४

परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई मात्र हामीले साथी बनाउनुपर्छ

परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई मात्र हामीले साथी बनाउनुपर्छ

साथीहरूसित हामी कुरा गर्न र समय बिताउन मन पराउँछौं। तर सही प्रकारका साथीहरू रोज्नु महत्त्वपूर्ण छ। हाम्रो सबैभन्दा मिल्ने साथी को हुन सक्छ जस्तो तिमीलाई लाग्छ?— हो, यहोवा परमेश्‍वर।

के हामी साँच्चै परमेश्‍वरको साथी बन्‍न सक्छौं?— धेरैअघिका मानिस अब्राहाम ‘यहोवाका मित्र’ अर्थात्‌ साथी थिए भनी बाइबल बताउँछ। (याकूब २:२३) किन, तिमीलाई थाह छ?— अब्राहामले यहोवाको आज्ञा पालन गरे भनी बाइबल जवाफ दिन्छ। गाह्रो काम गर्न अह्राइँदासमेत तिनले यहोवाको कुरा सुने। त्यसैले यहोवाको साथी हुन अब्राहामले जस्तै र महान्‌ शिक्षकले गर्दै आउनुभएझैं परमेश्‍वरलाई खुसी पार्ने काम हामीले गर्नै पर्छ।—उत्पत्ति २२:१-१४; यूहन्‍ना ८:२८, २९; हिब्रू ११:८, १७-१९.

अब्राहाम किन ‘यहोवाका मित्र’ थिए?

येशूले आफ्ना प्रेषितहरूलाई भन्‍नुभयो: “मैले तिमीहरूलाई दिएको आज्ञा पालन गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ।” (यूहन्‍ना १५:१४) येशूले भनेको सबै कुरा यहोवाबाट आएको कारण येशूले यहाँ उहाँका मित्रहरू अर्थात्‌ साथीहरू भन्‍नुको मतलब परमेश्‍वरले अह्राएको काम गर्ने मानिसहरू हुन्‌। हो, उहाँका सबै साथीले परमेश्‍वरलाई प्रेम गर्थे।

प्रेषितहरू महान्‌ शिक्षकका असाध्यै मिल्ने साथीहरूमध्ये थिए। तिनीहरूको फोटो तिमी पृष्ठ ७५ मा देख्न सक्छौ। तिनीहरूले उहाँसँगै यात्रा गरे र उहाँलाई प्रचारकार्यमा मदत गरे। येशूले आफ्नो धेरैभन्दा धेरै समय तिनीहरूसँग बिताउनुभयो। उहाँहरू सँगै बसेर खाना खानुहुन्थ्यो, सँगै बसेर परमेश्‍वरबारे कुरा गर्नुहुन्थ्यो। अनि अरू काम पनि सँगै मिलेर गर्नुहुन्थ्यो। तर येशूका अरू थुप्रै साथी पनि थिए। उहाँ उनीहरूसँग पनि बस्नुहुन्थ्यो र रमाइलो गर्नुहुन्थ्यो।

येशूलाई समय बिताउन मनपर्ने एउटा परिवार बेथानी भन्‍ने एउटा सानो सहरमा बस्थ्यो। बेथानी ठूलो सहर यरूशलेम नजिकै पर्थ्यो। त्यस परिवारमा को-को थिए, याद छ?— हो, मरियम, मार्था र उनीहरूको भाइ लाजरस। येशूले लाजरसलाई आफ्नो साथी भन्‍नुभयो। (यूहन्‍ना ११:१, ५, ११) येशूले उनीहरूको परिवारलाई माया गर्नुको अनि उनीहरूसँग समय बिताउन मन पराउनुको कारण उनीहरूले यहोवालाई माया गरेकोले अनि उहाँको सेवा गरेकोले हो।

यरूशलेममा जाँदा येशू किन अक्सर यो परिवारसित बस्नुहुन्थ्यो? तिमीलाई उनीहरूको नाम थाह छ?

तर यसको मतलब परमेश्‍वरको सेवा नगर्नेहरूलाई येशू दयालु व्यवहार गर्नुहुन्‍न थियो भन्‍ने होइन। उहाँले तिनीहरूलाई पनि दयालु व्यवहार गर्नुहुन्थ्यो। उहाँ तिनीहरूको घरमा समेत जानुहुन्थ्यो र सँगै बसेर खाना खानुहुन्थ्यो। यसले गर्दा कोही-कोहीले उहाँलाई “कर उठाउने र पापीहरूको साथी” भन्‍ने गर्थे। (मत्ती ११:१९) ती मानिसहरूको जीवन बिताउने तरिका मन परेकोले येशू तिनीहरूको घर जानुभएको थिएन। बरु तिनीहरूलाई यहोवाबारे बताउन सकियोस्‌ भनेर जानुभएको थियो। उहाँले तिनीहरूलाई खराबी गर्न छोडेर परमेश्‍वरको सेवा गरोस्‌ भनी मदत गर्न खोज्नुभयो।

जक्कै किन रूख चढेका?

एकदिन यरीहो भन्‍ने सहरमा यस्तै एउटा घटना भयो। येशू त्यही सहरको बाटो भएर यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो। त्यहाँ मानिसहरूको भीड थियो र त्यसमध्ये जक्कै नाम गरेका एक जना मानिस थिए। तिनी येशूलाई हेर्न चाहन्थे। तर तिनी पुड्‌का थिए र भीडले गर्दा तिनले येशूलाई देख्न सकेनन्‌। त्यसैले तिनी दौडेर अरूभन्दा अगाडि गए र येशू त्यहाँबाट जानुहुँदा उहाँलाई हेर्न रूख चढे।

अनि त्यो रूखनिर पुगेपछि येशूले मास्तिर हेरेर तिनलाई भन्‍नुभयो: “झट्टै तल ओर्ल। किनकि आज मलाई तिम्रो घरमा बस्नुछ।” तर जक्कै धनी थिए र तिनले खराब कामहरू गरेका थिए। येशू किन यस्तो मानिसको घरमा जान चाहनुभयो?—

येशूलाई तिनको जीवन बिताउने तरिका मन परेकोले त होइन। येशू तिनलाई परमेश्‍वरबारे बताउन चाहनुहुन्थ्यो। आफूलाई हेर्न जक्कैले गरेको प्रयास येशूले देख्नुभएको थियो। त्यसैले जक्कैले आफ्नो कुरा सुन्छन्‌ भनेर येशूलाई थाह थियो। मानिसहरूले कस्तो जीवन बिताउनुपर्छ भन्‍नेबारे परमेश्‍वरले के बताउनुभएको छ, त्यो बताउने राम्रो मौका अहिल्यै थियो।

येशू किन जक्कैको घरमा जानुहुन्छ? जक्कै के गर्ने कसम खाँदैछन्‌?

यसको नतिजा कस्तो हुन्छ?— जक्कैलाई येशूको शिक्षा मनपर्छ। मानिसहरूलाई ठगेकोले तिनलाई एकदमै पछुतो लाग्छ र तिनले उनीहरूको पैसा फिर्ता गर्ने कसम खान्छन्‌। पछि तिनी येशूको चेला बन्छन्‌। अनि मात्र येशू र जक्कै साथी हुन्छन्‌।—लूका १९:१-१०.

महान्‌ शिक्षकको उदाहरण नक्कल गर्दै के हामी त्यस्ता मानिसहरूको घरमा पनि जान्छौं, जो हाम्रा साथी होइनन्‌?— हो, जान्छौं। तर हामी जानुको कारण उनीहरूको जीवन बिताउने तरिका मन परेकोले होइन। अनि हामी उनीहरू सँगसँगै गलत काम गर्नेछैनौं। हामी उनीहरूको घरमा जानुको कारण उनीहरूलाई परमेश्‍वरबारे बताउन सकियोस्‌ भनेर हो।

तर हाम्रा मिल्ने साथी भनेका त्यस्ता साथी हुन्‌, जोसँग हामी समय बिताउन मन पराउँछौं। सही प्रकारका साथीहरू भनेको परमेश्‍वरलाई मनपर्ने खालका साथीहरू नै हुन्‌। कसै-कसैलाई यहोवा को हुनुहुन्छ भनेर समेत थाह नहुन सक्छ। तर तिनीहरू उहाँबारे सिक्न चाहन्छन्‌ भने हामी तिनीहरूलाई मदत गर्न सक्छौं। अनि तिनीहरूले पनि हामीले जस्तै यहोवालाई प्रेम गर्न थालेपछि मात्र हामी तिनीहरूको मिल्ने साथी बन्‍न सक्छौं।

कुनै व्यक्‍ति असल साथी हुन सक्छ कि सक्दैन भनेर थाह पाउने अर्को तरिका पनि छ। उसले के-के गर्छ, त्यो याद गर्न सक्छौं। के उसले अरूलाई नराम्रो व्यवहार गर्छ र उनीहरूको खिल्ली उडाउँछ? त्यसो गर्नु ठीक होइन नि, हो र?— के ऊ सधैं समस्यामा फसिरहन्छ? हामी ऊसँगै समस्यामा फस्न चाहँदैनौं नि, होइन र?— अथवा के उसले जानाजानी खराब काम गर्छ र कसैले थाह नपाएकोमा गर्व गर्छ? उसले गरेको काम अरूले नदेखे तापनि परमेश्‍वरले त देख्नुहुन्छ नि, होइन र?— के यस्ता काम गर्ने मानिसहरू हाम्रा असल साथी बन्‍न सक्छन्‌?—

अब आ-आफ्नो बाइबल लिऔं। अनि हाम्रा साथीहरूले हाम्रो जीवनमा कस्तो असर पार्छन्‌ भनेर हेरौं है! ल अब, १ कोरिन्थी अध्याय १५ को पद ३३ पल्टाऔं त! तिमीले भेट्टायौ?— यहाँ यस्तो लेखिएको छ: “नबहकिओ। नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।” यसको मतलब हो, यदि हामी खराब साथीहरूको सङ्‌गत गर्छौं भने हामी पनि खराब हुनेछौं। अनि यो कुरा पनि साँचो हो कि असल साथीहरूले हामीलाई असल आनीबानी विकास गर्न मदत गर्छन्‌।

हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति यहोवा हुनुहुन्छ भनेर कहिल्यै नबिर्सौं। हामी उहाँसँगको मित्रता बिगार्न चाहँदैनौं नि, होइन र?— त्यसैले परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई मात्र साथी बनाउन हामी होसियार हुनै पर्छ।

सही प्रकारका साथीहरू रोज्नु कत्तिको महत्त्वपूर्ण छ भनेर भजन ११९:११५; हितोपदेश १३:२०; २ तिमोथी २:२२ अनि १ यूहन्‍ना २:१५ मा बताइएको छ।