सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ४६

पानीले संसारलाई नष्ट गऱ्‍यो​—⁠के फेरि त्यस्तो हुनेछ?

पानीले संसारलाई नष्ट गऱ्‍यो​—⁠के फेरि त्यस्तो हुनेछ?

संसारको अन्तबारे अरूले कुरा गरेको के तिमीले सुनेका छौ?—आज थुप्रैले त्यसबारे कुरा गर्छन्‌। कसै-कसैले आणविक हातहतियारहरू प्रयोग हुने युद्धमा यो संसारको अन्त हुनेछ भन्‍ने सोचाइ राख्छन्‌। भन त, परमेश्‍वरले मानिसहरूलाई यो सुन्दर पृथ्वी नाश गर्न दिनुहुन्छ होला?—

हामीले सिकेझैं बाइबलले संसारको अन्तबारे बताउँछ। “संसार बितेर जाँदैछ” भनी बाइबल बताउँछ। (१ यूहन्‍ना २:१७) संसारको अन्त भनेको पृथ्वीको नै अन्त हो जस्तो तिमीलाई लाग्छ कि?— त्यसो होइन। बाइबल बताउँछ, परमेश्‍वरले मानिसहरू बसून्‌ र तिनीहरू आनन्दित होऊन्‌ भनी पृथ्वीलाई “आवाद गर्नलाई बनाउनुभयो।” (यशैया ४५:१८) भजन ३७:२९ यसो भन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” त्यसैकारण बाइबलले यो पृथ्वी सधैंभरि रहिरहन्छ भन्छ।—भजन १०४:५; उपदेशक १:४.

संसारको अन्त भनेको पृथ्वीको अन्त होइन भने के हो त?— नूहको समयमा के भयो भनी राम्ररी जाँच्यौं भने हामी त्यसको जवाफ पत्ता लगाउन सक्छौं। बाइबल बताउँछ: “त्यसबेलाको संसार जलप्रलय हुँदा डुबेर नाश भयो।”२ पत्रुस ३:६.

नूहको दिनमा जलप्रलयद्वारा संसारको अन्त हुँदा कोही बाँचे कि?— ‘भक्‍तिहीन मानिसहरूको संसारमाथि जलप्रलय ल्याउँदा परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार गर्ने नूह अनि अरू सात जनालाई उहाँले बचाउनुभयो’ भनी बाइबल बताउँछ।—२ पत्रुस २:५.

नूहको समयमा नाश भएको संसारले केलाई बुझाउँछ?

त्यसो भए त्यतिबेला कुन संसारको अन्त भएको थियो? त्यसबेला पृथ्वीको अन्त भएको थियो कि खराब मानिसहरूको?— बाइबलले त्यो “भक्‍तिहीन मानिसहरूको संसार” थियो भनी बताउँछ। याद गर त, नूहलाई “प्रचार गर्ने” व्यक्‍ति भनिएको छ। तिनले केबारे प्रचार गरे?— तिनले “त्यसबेलाको संसार”-को अन्तबारे मानिसहरूलाई चेतावनी दिए।

येशूले जलप्रलयबारे कुरा गर्नुहुँदा त्यसअघि मानिसहरूले के गरिरहेका थिए भनी उहाँले आफ्ना चेलाहरूलाई बताउनुभयो। उहाँले उनीहरूलाई यसो भन्‍नुभयो: “ती दिनहरूमा नूह जलप्रलयअघि जहाजभित्र नपसेको दिनसम्म [मानिसहरू] खाँदै अनि पिउँदै थिए, विवाह गर्दै अनि गराउँदै थिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगेसम्म तिनीहरूले यादै गरेनन्‌।” अनि येशूले यो संसारको अन्तअघि पनि मानिसहरूको व्यवहार त्यस्तै हुनेछ भनी बताउनुभयो।—मत्ती २४:३७-३९.

हामीले जलप्रलयअघिका मानिसहरूको क्रियाकलापबाट पाठ सिक्न सक्छौं भनी येशूका शब्दहरूबाट थाह पाउन सक्छौं। अध्याय १० मा ती मानिसहरूले के गरे भनेर हामीले पढेका थियौं, तिमीलाई याद छ?— तिनीहरूमध्ये कोही-कोहीले दादागिरी देखाए र हिंस्रक काम गरे। तर परमेश्‍वरले नूहलाई प्रचार गर्न पठाउनुहुँदा थुप्रैले सुनेनन्‌ भनी येशूले भन्‍नुभयो।

जलप्रलयद्वारा खराब मानिसहरूलाई नाश गर्छु भनी यहोवाले नूहलाई भनेको समय आयो। पानीले पूरै पृथ्वी, यहाँसम्म कि पहाडहरूसमेत ढाक्ने थियो। यहोवाले नूहलाई एउटा ठूलो जहाज बनाउन भन्‍नुभयो। त्यो जहाज बाकसजस्तो आकारको ठूलो थियो। यो तिमीले पृष्ठ २३८ मा पल्टाएर हेऱ्‍यौ भने देख्नेछौ।

परमेश्‍वरले नूहलाई तिनको परिवार र विभिन्‍न जातजातिका पशुपक्षीहरू अट्‌ने जहाज बनाउन भन्‍नुभयो। त्यसभित्र तिनीहरू सुरक्षित रहन सक्थे। नूह र तिनको परिवारले धेरै मेहनत गरे। तिनीहरूले ठूलठूला रूख ढाले र त्यसको काठबाट जहाज बनाउन सुरु गरे। त्यो जहाज एकदमै ठूलो भएकोले तिनीहरूलाई त्यो बनाउन धेरै वर्ष लाग्यो।

ती वर्षहरूमा नूहले जहाज बनाउँदै अर्को कुन काम पनि गरे, तिमीलाई याद छ?— तिनले मानिसहरूलाई आउनै लागेको जलप्रलयबारे चेतावनी दिंदै प्रचार गरे। के मानिसहरूले तिनको कुरा सुने? नूहको परिवारबाहेक अरू कसैले पनि सुनेनन्‌। बाँकी सबै आ-आफ्नै काममा व्यस्त रहे। तिनीहरू के गर्दै थिए भनेर येशूले भन्‍नुभयो, तिमीले सम्झेका छौ?— तिनीहरू खाँदै, पिउँदै अनि विवाह गर्दै थिए। तिनीहरूलाई आफू खराब मानिस हुँ जस्तो लागेको थिएन र तिनीहरूले नूहको कुरा सुन्‍न समय निकालेनन्‌। तिनीहरूले कस्तो नतिजा भोगे, अब हामी हेरौं है!

नूह र तिनको परिवार जहाजभित्र पसेपछि यहोवाले जहाजको ढोका बन्द गरिदिनुभयो। जहाज बाहिर बसिरहेका मानिसहरूले जलप्रलय आउँछ भनेर अझै पत्याएका थिएनन्‌। तर अचानक पानी पर्न थाल्यो। त्यो साधारण वर्षा थिएन, एकदमै ठूलो पानी परेको थियो! चाँडै पानी भरिएर विशाल नदीजस्तै भयो र त्यसले डरलाग्दो आवाज निकाल्न थाल्यो। बडेमाका रूखहरू गर्ल्यामगुर्लुम ढले, नदीका ठूलठूला ढुङ्‌गालाई स-साना ढुङ्‌गासरी बगाएर लग्यो। अनि जहाज बाहिरका मानिसहरू नि? येशू भन्‍नुहुन्छ: “जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै” लग्यो। जहाज बाहिरका सबै मानिस मरे। किन? येशूले भन्‍नुभएझैं “तिनीहरूले यादै गरेनन्‌।” हो, तिनीहरूले सुन्‍न इन्कार गरे! —मत्ती २४:३९; उत्पत्ति ६:५-७.

हामीले किन मोजमजा गर्नेबारे मात्र सोच्नुहुन्‍न?

ती मानिसहरूले भोगेको नतिजा आज हाम्रो लागि पाठ हो भनेर येशूले भन्‍नुभएको कुरा नबिर्स है! हामी कस्तो पाठ सिक्न सक्छौं?— मानिसहरू नाश हुनुको कारण तिनीहरू खराब भएकोले मात्र थिएन। तिनीहरूमध्ये धेरैसित परमेश्‍वरबारे र उहाँले के गर्दै हुनुहुन्छ भन्‍नेबारे सिक्ने फुर्सत नै थिएन। हामी पनि तिनीहरूजस्तै नहुन होसियार हुनुपर्छ नि, होइन र?—

परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा फेरि नाश गर्नुहुनेछ जस्तो के तिमीलाई लाग्छ?— परमेश्‍वरले अब त्यसरी नाश गर्दिनँ भनेर प्रतिज्ञा गर्नुभएको छ। उहाँले भन्‍नुभयो: ‘म बादलमा मेरो इन्द्रेनी राख्तछु अनि त्यो एउटा करारको चिन्ह हुनेछ।’ “पानीले फेरि कहिल्यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउनेछैन” भन्‍ने कुराको चिन्ह इन्द्रेनी हुनेछ भनी यहोवाले भन्‍नुभयो।—उत्पत्ति ९:११-१७.

त्यसैले परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा अब फेरि कहिल्यै नाश गर्नुहुनेछैन भनी हामी पक्का हुन सक्छौं। तर हामीले पहिला पनि छलफल गरेझैं बाइबलले संसारको अन्त हुनेछ भनेर बताउँछ। परमेश्‍वरले संसारको नाश गर्नुहुँदा उहाँले कसलाई बचाउनुहुनेछ?— अरू कुराहरूमै व्यस्त रहेर परमेश्‍वरबारे सिक्न कहिल्यै चासो नदेखाएका मानिसहरूलाई पो हो कि? अथवा ती मानिसहरूलाई जो सधैं बाइबल अध्ययन गर्नमै व्यस्त रहन्छन्‌? तिमीलाई कस्तो लाग्छ?—

हामी परमेश्‍वरले बचाउने मानिसहरूको समूहमै पर्न चाहन्छौं नि, होइन र?— हाम्रो परिवार पनि नूहको परिवारजस्तै भयो भने परमेश्‍वरले हामी सबैलाई बचाउनुहुनेछ। यस्तो हुनु कत्ति बेस हो नि, होइन र?— संसारको अन्तबाट जोगिन हामीले यी कुराहरू बुझ्नु आवश्‍यक छ: परमेश्‍वरले संसारको नाश कसरी गर्नुहुनेछ र परमेश्‍वरको स्तरबमोजिमको नयाँ संसार उहाँले कसरी ल्याउनुहुनेछ। उहाँले यो कसरी गर्नुहुनेछ, अब हामी हेरौं है त!

बाइबलले यसको जवाफ दानियल अध्याय २ को पद ४४ मा दिन्छ। यो पदमा हेऱ्‍यौं भने हाम्रै दिनबारे यसरी कुरा गरिएको पाउँछौं: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य [अथवा, सरकार] खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिं सदासर्वदै रहिरहनेछ।”

तिमीले यो पदको अर्थ बुझ्यौ?— परमेश्‍वरको सरकारले संसारको सबै सरकारलाई नाश गर्नेछ भनी बाइबल बताउँछ। किन?— किनभने तिनीहरू परमेश्‍वरले राजा बनाउनुभएको व्यक्‍तिको कुरा सुन्दैनन्‌। अनि उहाँ को हुनुहुन्छ?— हो, येशू ख्रीष्ट।

परमेश्‍वरको नियुक्‍त राजा येशू ख्रीष्टले यस संसारलाई आरमागेडोनमा नाश गर्नुहुनेछ

कस्तो प्रकारको सरकारले शासन गर्ने भनी निर्णय गर्ने अधिकार परमेश्‍वरसित छ र उहाँले आफ्नो छोरा येशूलाई राजाको रूपमा छान्‍नुभएको छ। चाँडै नै परमेश्‍वरले नियुक्‍त गर्नुभएको शासक येशू ख्रीष्टले संसारका सबै सरकारलाई नाश गर्ने काममा नेतृत्व लिनुहुनेछ। बाइबलको प्रकाश अध्याय १९ को पद ११ देखि १६ मा यस कुराको वर्णन गरिएको छ। चित्रमा हेर त, तिमी यही कुरा देख्न सक्छौ। बाइबलमा संसारको सबै सरकारलाई नाश गर्ने परमेश्‍वरको लडाइँलाई हार-मागेडोन अथवा आरमागेडोन भनिएको छ।

आफ्नो राज्यले मानिसहरूको सरकारलाई नाश गर्नेछ भनी परमेश्‍वर बताउनुहुन्छ। तर के उहाँले हामीलाई यो काम गर्न भन्‍नुभएको छ?— अहँ, भन्‍नुभएको छैन। बाइबलमा आरमागेडोनलाई “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ” भनिएको छ। (प्रकाश १६:१४, १६) हो, आरमागेडोन परमेश्‍वरको लडाइँ हो र उहाँले त्यतिबेला येशूको नेतृत्वमा स्वर्गका सेनालाई लडाइँ गर्न पठाउनुहुनेछ। के आरमागेडोन नजिकै छ? हामी यो कुरा कसरी पत्ता लगाउन सक्छौं, हेरौं है त!

परमेश्‍वरले सबै दुष्टलाई नाश गर्ने र उहाँको सेवा गर्ने सबैलाई बचाउने समयबारे हामी सँगै मिलेर हितोपदेश २:२१, २२; यशैया २६:२०, २१; यर्मिया २५:३१-३३ अनि मत्ती २४:२१, २२ पढौं।