सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अध्याय एक

परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?

परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?
  •  के परमेश्वरले तपाईंको साँच्चै चासो राख्नुहुन्छ?

  • परमेश्वर कस्तो हुनुहुन्छ? के उहाँको नाम छ?

  • के परमेश्वरसित नजिक हुन सकिन्छ?

१, २. प्रश्न सोध्नु किन राम्रो हो?

बच्चाहरू कसरी प्रश्न सोधिरहन्छन्‌, के तपाईंले याद गर्नुभएको छ? बोली फुटेदेखि धेरैजसो बच्चाले एकपछि अर्को प्रश्न सोध्न थाल्छन्‌। एकदमै उत्सुक भएर तिनीहरू यस्ता प्रश्न सोध्छन्‌: ‘त्यो के हो? त्यो कसरी भयो? किन त्यस्तो भएको?’ तर जवाफ दिन सधैं सजिलो हुँदैन। अनि जति नै चित्तबुझ्दो जवाफ दिए पनि फेरि अर्को प्रश्न सोधिहाल्छन्‌।

तर बच्चाहरूले मात्र प्रश्न सोध्दैनन्‌। ठूलो हुँदै जाँदा हामी पनि प्रश्न सोधिरहन्छौं। बाटो पत्ता लगाउन, खतराहरूबाट जोगिन वा जिज्ञासा मेटाउन हामी प्रश्न सोध्छौं। तर थुप्रैले सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै सोध्न छोडेजस्तो देखिन्छ। प्रश्न सोधिहाले पनि जवाफचाहिं खोज्दैनन्‌।

३. किन थुप्रैले महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउन प्रयासै गर्न छोड्छन्‌?

यस किताबको आवरणमा, तेस्रो र छैटौं पानामा अनि  यस अध्यायको सुरुमा सोधिएका प्रश्नहरू विचार  गर्नुहोस्। ती महत्त्वपूर्ण प्रश्न हुन्‌। तैपनि थुप्रै मानिसले ती प्रश्नको जवाफ पाउन प्रयासै गर्न छोडेका छन्‌। किन? के ती प्रश्नको जवाफ बाइबलमा पाइन्छ? कसै-कसैलाई ती प्रश्नको जवाफ बुझ्न असाध्यै गाह्रो लाग्छ। अरू भने यस्ता प्रश्न सोध्दा लाज वा अप्ठ्यारोमा परिएला भनेर चिन्ता गर्छन्‌। अनि अरू कोहीचाहिं यस्ता प्रश्न धर्मगुरुहरूलाई नै छोडिदिनु बेस ठान्छन्‌। तपाईं नि?

४, ५. हाम्रो मनमा कस्ता प्रश्नहरू आउँछन्‌ र किन त्यसको जवाफ खोज्नुपर्छ?

तपाईं ती प्रश्नको जवाफ पाउन इच्छुक हुनुहुन्छ होला। तपाईंको मनमा कहिलेकाहीं यस्ता प्रश्न आउँछन्‌ होला: ‘जीवनको उद्देश्य के हो? के जीवन यति नै हो? परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?’ यस्ता प्रश्न सोध्नु राम्रो हो र चित्तबुझ्दो अनि भरपर्दो जवाफ नपाएसम्म खोजिरहनुपर्छ। प्रख्यात शिक्षक येशू ख्रीष्टले यसो भन्नुभयो: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको लागि उघारिनेछ।”—मत्ती ७:७.

यस्ता प्रश्नको जवाफ ‘खोजिरहनुभयो’ भने तपाईंले आफ्नो मेहनतको इनाम पाउनुहुनेछ। (हितोपदेश २:१-५) अरूले जेसुकै भनून्‌, ती प्रश्नका जवाफहरू पक्कै पनि छन्‌ र ती तपाईंले बाइबलमा भेट्टाउन सक्नुहुन्छ। अनि जवाफहरू बुझ्न गाह्रो पनि छैन। त्यस्तो जवाफले तपाईंलाई आशा दिन्छ अनि खुसी बनाउँछ। अनि यसले तपाईंलाई अहिले सुखी जीवन बिताउन पनि मदत गर्छ। सबैभन्दा पहिला, थुप्रैको मनमा खेलिरहेको प्रश्न विचार गरौं।

के परमेश्वर स्वार्थी र निष्ठुर हुनुहुन्छ?

६. थुप्रैलाई परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्न जस्तो किन लाग्छ?

थुप्रैलाई त्यस्तै लाग्छ। ‘भगवान्‌ले वास्ता गरेको भए संसारको हालत यस्तो हुन्थ्यो र?’ भनी तिनीहरू तर्क गर्छन्‌। हामी जताततै युद्ध, घृणा र दुःख मात्र देख्छौं। अनि हामी आफै पनि बिरामी हुन्छौं, दुःख भोग्छौं र मृत्युको कारण आफ्ना प्रियजन गुमाउँछौं। त्यसकारण थुप्रैले  यसो भन्छन्‌, ‘भगवान्‌ले वास्ता गरेको भए यस्तो हुने थियो र?’

७. (क) धर्मगुरुहरूले परमेश्वर निष्ठुर हुनुहुन्छ भन्ने छाप कसरी पारिदिएका छन्‌? (ख) हामीमाथि आइपर्ने खराब कुराहरूबारे बाइबलले वास्तवमा के सिकाउँछ?

धर्मगुरुहरूले पनि परमेश्वर निष्ठुर हुनुहुन्छ भन्ने छाप पारिदिएका छन्‌। कसरी? दुःखकष्ट आइपर्दा तिनीहरू ‘सब दैवको लीला हो’ भन्छन्‌। वास्तवमा त्यस्ता धर्मगुरुहरू परमेश्वरलाई नै दोषी ठहऱ्याउँछन्‌। के यो कुरा साँचो हो? बाइबलले वास्तवमा के सिकाउँछ? याकूब १:१३ यस्तो जवाफ दिन्छ: “परीक्षामा पर्दा कसैले पनि यसो नभनोस्: ‘परमेश्वरले मेरो परीक्षा लिइरहनुभएको छ।’ किनकि कुनै खराब मनसायले परमेश्वरको परीक्षा लिन सकिंदैन न त उहाँ आफैले कुनै खराब मनसायले कसैको परीक्षा लिनुहुन्छ।” त्यसैले संसारमा भइरहेका खराब कुराहरूको स्रोत परमेश्वर कदापि हुनुहुन्न। (अय्यूब ३४:१०-१२) हो, उहाँले खराब कुराहरू हुन दिनुहुन्छ। तर कुनै कुरा हुन दिनु गराउनु-बीच ठूलो फरक छ।

८, ९. (क) खराब कुरा हुन दिनु र गराउनुबीचको फरकलाई उदाहरणसहित बुझाउनुहोस्। (ख) मानिसहरू गलत बाटोमा लाग्दा पनि परमेश्वरले नरोक्नुभएकोमा किन उहाँलाई दोष दिन मिल्दैन?

उदाहरणको लागि, एक जना बुद्धिमान्‌ र मायालु बुबाबारे विचार गर्नुहोस्। तिनको छोरा लक्का जवान भइसकेको छ। बुबाको कुरा नसुनी विद्रोही भएर छोराले घर छोड्ने निर्णय गर्छ। छोराले मनपरी जीवन बिताउन थाल्छ र समस्यामा फस्छ। के छोराको समस्याको कारण बुबा हो? होइन। (लूका १५:११-१३) त्यसैगरि मानिसहरूले परमेश्वरको कुरा नसुनी गलत बाटो रोजेका छन्‌ र यसले गर्दा नतिजा नराम्रो भएको छ। के यसको कारण परमेश्वर हो? त्यसैले मानिसजातिले भोगिरहेका समस्याहरूको दोष परमेश्वरलाई दिन मिल्दैन।

मानिसहरू गलत बाटोमा लाग्दा पनि परमेश्वरले नरोक्नुका जायज कारणहरू छन्‌। उहाँ बुद्धिमान्‌ र शक्तिशाली सृष्टिकर्ता हुनुभएकोले हामीलाई कारण बताइरहनु आवश्यक छैन। तर हामीलाई माया गरेकोले उहाँले  कारण बताउनुभएको छ। यसबारे तपाईंले अध्याय ११ मा राम्ररी बुझ्नुहुनेछ। तर हामीले भोगिरहेका समस्याहरूका लागि परमेश्वर दोषी हुनुहुन्न भन्ने कुरामा चाहिं ढुक्क हुनुहोस्। बरु उहाँले नै हाम्रा समस्याहरू समाधान गर्नुहुनेछ!—यशैया ३३:२.

१०. खराब कुराको असरलाई परमेश्वरले सच्याउन सक्नुहुन्छ भनी हामी किन ढुक्क हुन सक्छौं?

१० परमेश्वर पवित्र हुनुहुन्छ। (यशैया ६:३) यसको अर्थ उहाँ शुद्ध र स्वच्छ हुनुहुन्छ। उहाँमा पटक्कै खराबी छैन। त्यसैले हामी उहाँमाथि पूरा भरोसा राख्न सक्छौं। मानिसहरूमाथि भने यत्तिको भरोसा राख्न सक्दैनौं किनभने तिनीहरू कहिलेकाहीं भ्रष्ट हुन सक्छन्‌। कुनै इमानदार मानिससित अख्तियार छ भने पनि उसले खराब मानिसहरूले पुऱ्याएको सबै हानिलाई अक्सर सच्याउन सक्दैन। तर परमेश्वर शक्तिशाली हुनुहुन्छ। खराब कुराको असरलाई उहाँले सच्याउन सक्नुहुन्छ र पक्कै सच्याउनु हुनेछ। परमेश्वरले सधैंभरिको लागि खराब कुराको अन्त गर्नुहुनेछ!—भजन ३७:९-११.

हामीले भोगिरहेको अन्याय परमेश्वरलाई कस्तो लाग्छ?

११. (क) हामीले भोगिरहेको अन्याय परमेश्वरलाई कस्तो लाग्छ? (ख) तपाईंले भोगिरहनुभएको दुःखकष्ट परमेश्वरलाई कस्तो लाग्छ?

११ अहिले संसारमा भइरहेका र तपाईंले भोगिरहेका नमीठा घटनाहरू परमेश्वरलाई कस्तो लाग्छ? पहिलो कुरा, परमेश्वर “इन्साफ प्रेम गर्नुहुन्छ” भनी बाइबल सिकाउँछ। (भजन ३७:२८) त्यसैले उहाँ अन्याय होइन, न्याय भएको चाहनुहुन्छ। उहाँ सबै प्रकारका अन्यायलाई घृणा गर्नुहुन्छ। त्यसैले प्राचीन समयमा संसार दुष्टताले भरिएको देख्दा उहाँ “मनमा साह्रै दुःखित हुनुभयो” भनी बाइबल बताउँछ। (उत्पत्ति ६:५, ६) उहाँ परिवर्तन हुनुभएको छैन। (मलाकी ३:६) संसारमा भइरहेको दुःखकष्ट देख्दा अहिले पनि उहाँलाई दुःख लाग्छ। मानिसहरूले दुःख पाएको परमेश्वर पटक्कै चाहनुहुन्न। बाइबल भन्छ, “उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

यहोवा ब्रह्माण्डको मायालु सृष्टिकर्ता हुनुहुन्छ भनी बाइबल सिकाउँछ

१२, १३. (क) प्रेमजस्तो गुण हामीले कहाँबाट पायौं र संसारमा भइरहेको अन्याय देख्दा हामीलाई कस्तो लाग्छ? (ख) परमेश्वरले संसारमा भइरहेका समस्याहरू हटाउनुहुनेछ भनी तपाईं किन ढुक्क हुन सक्नुहुन्छ?

 १२ मानिसहरूले दुःख पाएको परमेश्वरलाई पटक्कै मन पर्दैन भनेर कसरी पक्का हुन सक्छौं? यसबारे पक्का हुन सक्ने अर्को कारण छ। मानिस परमेश्वरकै स्वरूपमा बनाइएको थियो भनी बाइबल सिकाउँछ। (उत्पत्ति १:२६) त्यसकारण परमेश्वरसित भएका असल गुणहरू हामीसित पनि छन्‌। उदाहरणको लागि, निर्दोष मानिसहरूले दुःख भोगिरहेको देख्दा के तपाईंलाई नमजा लाग्दैन र? त्यस्ता अन्याय देखेर तपाईंलाई दुःख लाग्छ भने परमेश्वरलाई झन्‌ कति दुःख लाग्छ होला!

१३ मानिसको एउटा राम्रो पक्ष भनेको प्रेम गर्ने क्षमता हो। यो पनि परमेश्वरको गुण हो। बाइबल भन्छ, “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) परमेश्वर प्रेम हुनुभएकोले हामीसित पनि त्यो गुण छ। त्यसैले त हामी संसारमा भइरहेको दुःखकष्ट र अन्यायको अन्त गर्न खोज्छौं नि, होइन र? तपाईंसित शक्ति भएको भए के तपाईंले त्यसो गर्नुहुने थिएन र? अवश्य गर्नुहुने थियो! त्यसकारण परमेश्वरले दुःखकष्ट र अन्यायको अन्त गर्नुहुनेछ भन्ने कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ। यस किताबको चौथो र पाँचौं पानामा उल्लेख गरिएका प्रतिज्ञाहरू केवल सपना होइनन्‌। ती प्रतिज्ञा अवश्य पूरा हुनेछन्‌! तर त्यसमा विश्वास गर्न तपाईंले ती प्रतिज्ञा गर्नुहुने परमेश्वरलाई अझ राम्ररी चिन्नुपर्छ।

 परमेश्वरलाई चिन्नुहोस्

कसैले तपाईंलाई चिनेको चाहनुहुन्छ भने तपाईं उसलाई आफ्नो नाम बताउनुहुन्न र? बाइबलमा परमेश्वरले आफ्नो नाम बताउनुभएको छ

१४. परमेश्वरको नाम के हो र उहाँ किन हामीले यो नाम लिएर पुकारेको चाहनुहुन्छ?

१४ कसैले तपाईंलाई चिनेको चाहनुहुन्छ भने तपाईं के गर्नुहुन्छ? के तपाईं उसलाई आफ्नो नाम बताउनुहुन्न र? के परमेश्वरको नाम छ? थुप्रै धर्मले “परमेश्वर” वा “प्रभु” नै उहाँको नाम हो भन्छन्‌ तर त्यो उहाँको नाम होइन। त्यो “राजा” र “राष्ट्रपति”-जस्तै पदवी मात्र हो। परमेश्वरका थुप्रै पदवी छन्‌ भनी बाइबल सिकाउँछ। तीमध्ये “परमेश्वर” र “प्रभु” पनि हुन्‌। तर बाइबलले परमेश्वरको आफ्नै नाम छ भनेर सिकाउँछ र त्यो हो, यहोवा। मर्कूस १२:२९ यसो भन्छ: “यहोवा हाम्रा परमेश्वर एक  मात्र यहोवा हुनुहुन्छ।” तपाईंको बाइबलमा यो नाम छैन भने यसको कारण बुझ्न पृष्ठ १९५-१९७ हेर्नुहोस्। बाइबलका पुराना पाण्डुलिपिहरूमा परमेश्वरको नाम हजारौं चोटि उल्लेख गरिएका छन्‌। तपाईंले उहाँको नाम जानेको र त्यो नाम लिएर पुकारेको यहोवा चाहनुहुन्छ। यसरी बाइबलमार्फत परमेश्वरले आफूलाई चिनाउनुभएको छ।

१५. यहोवा नामको अर्थ के हो?

१५ परमेश्वरको नामको गहिरो अर्थ छ। उहाँको नामको अर्थ हो: आफूले गरेको जुनसुकै प्रतिज्ञा पूरा गर्न सक्ने र आफूले सोचेको कुनै पनि उद्देश्य हासिल गर्न सक्ने। * परमेश्वरको नाम अरूको भन्दा साँच्चै फरक छ। यो नाम उहाँलाई मात्र सुहाउँछ। यहोवा अरू देवताहरूभन्दा फरक हुनुहुन्छ। कसरी?

१६, १७. यी पदवीबाट हामी यहोवाबारे के सिक्न सक्छौं: (क) “सर्वशक्तिमान्‌”? (ख) “युगयुगका महाराजा”? (ग) “सृष्टिकर्ता”?

 १६ भजन ८३:१८ (NRV) मा यहोवाबारे यसो भनिएको छ: “तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” त्यसैगरि यहोवालाई मात्र “सर्वशक्तिमान्‌” भनिएको छ। प्रकाश १५:३ यसो भन्छ: “हे सर्वशक्तिमान्‌ परमेश्वर यहोवा, तपाईंका कामहरू महान्‌ अनि अचम्मलाग्दा छन्‌। हे युगयुगका महाराजा, तपाईंका मार्गहरू न्यायोचित अनि सत्य छन्‌।” “सर्वशक्तिमान्‌” भन्ने पदवीले उहाँ सबैभन्दा शक्तिशाली हुनुहुन्छ भनेर हामी थाह पाउँछौं। उहाँजस्तो शक्तिशाली र उत्कृष्ट अरू कोही छैन। अनि “युगयुगका महाराजा” भन्ने पदवीले यहोवा अर्को अर्थमा पनि फरक हुनुहुन्छ भनी हामीलाई सम्झाउँछ। सधैंभरि अस्तित्वमा रहने परमेश्वर उहाँ मात्रै हुनुहुन्छ। भजन ९०:२ यसो भन्छ: “अनादिदेखि अनन्तसम्म तपाईंनै परमेश्वर हुनुहुन्छ।” के यसले हाम्रो मनमा श्रद्धा जगाउँदैन र?

१७ यहोवा मात्र सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले पनि उहाँ अरूभन्दा फरक हुनुहुन्छ। प्रकाश ४:११ मा यसो भनिएको छ: “हे यहोवा हाम्रा परमेश्वर, तपाईं महिमा, आदर अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।” चाहे स्वर्गमा बस्ने अदृश्य दूतहरू होऊन्‌ वा टिलपिल गर्ने ताराले भरिएको आकाश वा रूखमा फल्ने फल वा पानीमा पौडने माछा—तपाईंले सोच्न सक्नेजति सबै कुरा यहोवाले नै सृष्टि गर्नुभएको हो!

के तपाईं परमेश्वरसित नजिक हुन सक्नुहुन्छ?

१८. कसै-कसैलाई किन परमेश्वरसित कहिल्यै नजिक हुन सकिंदैन जस्तो लाग्छ तर बाइबलले के सिकाउँछ?

१८ यहोवा उत्कृष्ट हुनुहुन्छ भनी थाह पाएपछि कसै-कसैलाई उहाँको नजिक जान अलि अप्ठ्यारो लाग्न सक्छ। उहाँ उच्च हुनुभएकोले उहाँसित कहिल्यै नजिक हुन सकिंदैन वा त्यति उच्च परमेश्वरले केही चासो राख्नुहुन्न होला भन्ने तिनीहरूलाई लाग्न सक्छ। तर के त्यसरी सोच्नु ठीक हो? होइन। यहोवाबारे बाइबल यसो भन्छ: “उहाँ हामीमध्ये कसैबाट  पनि टाढा हुनुहुन्न।” (प्रेषित १७:२७) बाइबल हामीलाई यस्तो निम्तो दिन्छ: “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकूब ४:८.

१९. (क) हामी कसरी परमेश्वरसित नजिक हुन सक्छौं र त्यसो गर्दा के फाइदा हुन्छ? (ख) परमेश्वरका कुन-कुन गुण तपाईंलाई मन पर्छ?

१९ तपाईं परमेश्वरसित कसरी नजिक हुन सक्नुहुन्छ? अहिलेजस्तै यहोवाबारे सिकिरहनुहोस्। येशूले यसो भन्नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।” (यूहन्ना १७:३) हो, यहोवा र येशूबारे सिक्दा “अनन्त जीवन” पाउन सकिन्छ भनी बाइबल सिकाउँछ। हामीले माथि सिकेझैं “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:१६) यहोवाका अरू पनि थुप्रै सुन्दर गुण छन्‌। उदाहरणका लागि, बाइबलले यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ” भनी बताउँछ। (प्रस्थान ३४:६) उहाँ “भलो र क्षमा गर्न” तयार हुनुहुन्छ। (भजन ८६:५) परमेश्वर धीरजी हुनुहुन्छ। (२ पत्रुस ३:९) उहाँ वफादार हुनुहुन्छ। (प्रकाश १५:४) बाइबल पढ्दै जाँदा यहोवासित अरू थुप्रै मनमोहक गुण छन्‌ भनेर तपाईंले थाह पाउनुहुनेछ।

२०-२२. (क) परमेश्वरलाई देख्न सकिंदैन भन्दैमा के हामी उहाँसित नजिक हुन सक्दैनौं? व्याख्या गर्नुहोस्। (ख) असल मनसाय राख्दै कसै-कसैले तपाईंलाई के भन्न सक्छन्‌ तर तपाईंले के गर्नुपर्छ?

२० परमेश्वर अदृश्य हुनुभएकोले उहाँलाई देख्न सकिंदैन। (यूहन्ना १:१८; ४:२४; १ तिमोथी १:१७) तर बाइबल पढेर सिक्दै जाँदा उहाँलाई अझ राम्ररी चिन्न सक्नुहुनेछ। भजनरचयिताले भनेझैं तपाईंले “परमप्रभुको शोभा” देख्नुहुनेछ। (भजन २७:४; रोमी १:२०) यहोवाबारे जति धेरै सिक्नुहुन्छ, उहाँ त्यति नै वास्तविक लाग्नेछ र उहाँलाई प्रेम गर्ने तथा उहाँसित नजिक हुने थप कारण पाउनुहुनेछ।

मायालु बुबाले छोराछोरीलाई प्रेम गरेझैं स्वर्गमा बस्नुहुने बुबाले पनि हामीलाई प्रेम गर्नुहुन्छ

२१ बाइबलले यहोवालाई बुबाको रूपमा हेर्न सिकाउनुको कारण पनि तपाईंले बुझ्नुहुनेछ। (मत्ती ६:९) उहाँ हाम्रो जीवनको मूल हुनुहुन्छ। (भजन ३६:९) मायालु बुबाले आफ्ना छोराछोरीको जीवन राम्रो होस् भन्ने चाहेझैं  हाम्रो जीवन पनि राम्रो भएको उहाँ चाहनुहुन्छ। मानिसहरू परमेश्वरको मित्र हुन सक्छन्‌ भनेर पनि बाइबल सिकाउँछ। (याकूब २:२३) कल्पना गर्नुहोस् त—ब्रह्माण्डको सृष्टिकर्तासित तपाईं मित्रता गाँस्न सक्नुहुन्छ!

२२ तपाईंले बाइबलको कुरा सिक्दै जाँदा कसै-कसैले असल मनसायले नै ‘यस्तो कुरा सिक्नु हुँदैन’ भन्न सक्छन्‌। तपाईंले धर्म परिवर्तन गर्नुहोला भनेर तिनीहरूलाई चिन्ता लाग्न सक्छ। तर यहोवासित मित्रता गाँस्नदेखि कसैले तपाईंलाई नरोकोस्!

२३, २४. (क) आफूले सिकिरहेको कुराबारे किन प्रश्न सोध्नुपर्छ? (ख) अर्को अध्यायको विषय के हो?

२३ सुरु-सुरुमा कुनै-कुनै कुरा बुझ्न पक्कै गाह्रो हुनेछ। नबुझेको कुरा सोध्न नम्रता चाहिन्छ तर लाज नमान्नुहोस्। आफूलाई सानो बालकजस्तै नम्र तुल्याउनुपर्छ भनी येशूले बताउनुभयो। (मत्ती १८:२-४) अनि हामीलाई थाह भएकै कुरा हो, बच्चाहरू प्रश्नको पोकै हुन्‌। तपाईंले जवाफ पाएको परमेश्वर चाहनुहुन्छ। बाइबलमा परमेश्वरबारे जान्न उत्सुक मानिसहरूको प्रशंसा गरिएको छ। आफूले सिकिरहेको कुरा सत्य हो कि होइन भनी पक्का गर्न तिनीहरूले होसियारीसाथ धर्मशास्त्र जाँचे।—प्रेषित १७:११.

२४ यहोवाबारे सिक्ने सबैभन्दा राम्रो तरिका बाइबल जाँच्नु हो। यो अरू किताबभन्दा फरक छ। कसरी? यसबारे अर्को अध्यायमा छलफल गर्नेछौं।

^ अनु. 15 परमेश्वरको नामको अर्थ र उच्चारणबारे थप जानकारी पृष्ठ १९५-१९७ मा पाउनुहुन्छ।